Tag: newsoff
-
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय तिपिटक पाठ २०८० मा मैत्रीपूर्ण सहभागी भएर पुण्य संचय गर्नहुन अखिल नेपाल भिक्षु महासंघको आव्हान
सुनीता तुलाधर शिल्पकारकाठमाण्डौ, फागुन १४ गते, आइतवार ।अखिल नेपाल भिक्षु महासंघको आयोजनामा भगवान बुद्धको जन्मस्थल लुम्बिनी उद्यानमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय तिपिटक पाठ २०८० हुन गइरहेको छ । यही फागुन २०, २१ र २२ गते त्रिदिवसीय रुपमा नेपाल, भारत, थाइल्याण्ड लगायत विश्वका अन्य मुलुकहरुका भिक्षु महासंघले भगवान बुद्धको पवित्र वचन संग्रहीत तिपिटकको वाचन हुन गइरहेको जानकारी आज एक पत्रकार सम्मेलन गरी आयोजकले दिएका छन् ।विश्वशान्ति विहार, काठमाण्डौमा भएको उक्त पत्रकार सम्मेलनमा अ.ने.भि. महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले बहुजन हित बहुजन सुखका लागि, सत्वप्राणीको कल्याणार्थ संसारमा शान्तिको सन्देश फैलाउन, बुद्ध जन्मभूमि लुम्बिनी, नेपाललाई संसारभर चिनाउने हेतु लुम्बिनीमा तिपिटकको पाठ हुन गइरहेको जानकारी दिनुभयो ।उहाँले उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबैले आ आफ्ना क्षेत्रबाट मैत्रीपूर्ण सहभागीता जनाई पुण्य संचय गर्न पनि महासंघका तर्फबाट आव्हान गर्नुभयो ।कोरोना अगाडि नेपालमा दुइपटक लुम्बिनीमा तिपिटक पाठ समारोह भइसकेको तथा कोरोना पश्चात तेस्रो पाठ समारोह हुन गइरहेको बताउनुहुँदै महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले नेपाल सरकार संस्कृति मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, थाई राजकीय विहार, लुम्बिनी, अन्तर्राष्ट्रिय तिपिटक काउन्सिल, लुम्बिनी साँस्कृतिक नगरपालिका, प्रदेश सरकारसँग सहकार्य गरेर तेस्रो पाठ समारोहको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।लुम्बिनीस्थित थेरवाद बुद्ध विहारको संघावासको उद्घाटन फागुन १९ गते नेपालका संघनायक, उपसंघनायक, लुम्बिनी विकास कोषका उपाध्यक्ष, थाइल्याण्डका भन्तेहरुको समुपस्थितिमा हुनेछ ।२० गते बिहान थेरवाद बुद्ध विहारदेखि शान्तिदीप हुँदै तिपिटकको शोभायात्रा निकाली मायादेवी परिसर लुम्बिनी पवित्र उद्यानमा नेपालका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्ययमा, नेपालका साथै विभिन्न मुलुकका महास्थविर भन्तेहरुको उपस्थितीमा तिपिटक पाठको उद्घाटन हुनेछ र तिनदिन सम्म लगातार तिपिटक पाठ हुनेछ । प्रत्येक दिन तिपिटकको विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक सम्बन्धि धर्मदेशना हुनेछ । अन्तिम दिन शिक्षा मन्त्री अशोक राईको प्रमुख आतिथ्ययमा मैत्री कामना गरी, विश्व शान्तिको कामना गरी दीप प्रज्वलन गरी कार्यक्रम गरीने जानकारी सचिव भिक्षु निग्रोध महास्थविर गराउनुभयो ।यसको लागि फागुन १८ गते सहभागीहरु सबैलाई लुम्बिनी पुर्याइने जानकारी पनि सो पत्रकार सम्मेलनमा दिइएको थियो ।अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरको उपस्थितिमा भएको उक्त सम्मेलनमा समारोहका प्रचारप्रसार उपसमितिका संयोजक भिक्षु विमलो स्थविरले स्वागत गर्नुभएको थियो भने भिक्षु मेधंकर स्थविरले कार्यक्रम संचालन गर्नुभएको थियो । -

यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न
सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते ।
यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य लगायत परिवारहरुले उक्त कथिन चीवर दानको आयोजना गरेका हुन ।
सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।
कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु सोमरत्नले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । कथिनदानसँग सम्बन्धित संयुक्त निकायको तिंसमत्तसुत्तका पालि गाथाहरु वाचन गर्नुहुँदै उहाँले उपासकउपासिकाहरुद्वारा गरिने यस कथिनदानका कारण भिक्षुहरुको श्रमणधर्म पालनामा सहजता हुने बताउनुभयो । यसदानको आनिशंस भिक्षुहरुलाई पनि ५ प्रकारले प्राप्त हुने तथा दाताहरुलाई पनि ५ प्रकारले नै फल प्राप्त हुने उहाँले धर्मदेशनाका क्रममा बताउनुभयो ।
साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।
उक्त उत्सवमा ८० जना अष्टपरिष्कारका दाताहरुले भिक्षु संघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।यसवर्षकाे कथिन समय तालिका
-
‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण
न्यूजअफ, काठमाण्डौ, श्रावण १० गते ।
भगवान बुद्धको जीवनी र व्यक्तित्वका बारेमा भिक्षु वेरगोद सरद महास्थविरले अंग्रेजी भाषामा लेख्नुभएको The Greatest Man Who Ever Lived (The Supreme Buddha) लाई भिक्षु निग्रोध महास्थविरले नेपाली भाषामा अनुवाद गर्नुभएको ‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण गरिएको छ । ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य एवं परिवारले प्रकाशन गर्नुभएको उक्त पुस्तक विश्व शान्ति विहार, मीनभवन काठमाण्डौमा हिजो सार्वजनिक गरिएको हो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र खेम्पो लार्क्याल गुरुले संयुक्त रुपमा उक्त अनुदित पुस्तक लोकार्पण गर्नुभएको थियो ।
उक्त समारोहमा अ.ने.भि.महासंघका भिक्षु धम्मशोभन महास्थविरले उक्त अनुदित पुस्तकले भगवान बुद्धलाई राम्ररी बुझ्न र जान्न एकदमै महत्वपूर्ण भएकोले सबैले पढ्नैपर्ने पुस्तकका रुपमा रहेको बताउनुभयो ।
‘महामानव सम्य्क सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण प्रकाशनार्थ आर्थिक सहयोग गर्नुहुने सुष्मा बज्राचार्य लगायत परिवार तथा पुस्तक तयार पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुहुँदै अनुवादक एवं विश्व शान्ति विहारका उप प्रमुख भिक्षु निग्रोध महास्थविरले ‘अभिञ्ञेयं अभिञ्ञातं, भावेतब्बञ्च भावितं, पहातब्बं पहीनं मे, तस्मा बुद्धोस्मि ब्राह्मण अर्थात बोध हुनुपर्ने सबै ज्ञात गरिसकेको, त्याग गर्नुपर्ने सबै त्याग गरिसकेको, साक्षात्कार गर्नुपर्ने सबै साक्षात्कार गरिसकेको, चार आर्यसत्यलाई बोध गरिसकेको’ Awaken One, Enlightened One, Blessed One नै बुद्ध हो भनेर उक्त पुस्तकमा दर्शाइएको छ भनी प्रकाश पार्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ल.पु.म.न.पा.का प्रमुख महर्जनले उक्त कार्यक्रममा बुद्ध धर्मका बारेमा विभिन्न वक्ताहरुले व्यक्त गर्नुभएका कुराहरु धेरै नबुझेकाले अब आफूले बुद्धधर्मबारे सिक्ने, अध्ययन गर्ने निश्चय गर्नुभयो ।
अर्का अतिथि खेन्पो गुरुले पुस्तक पढेर त्यसमा के छ भनेर इष्टमित्रहरुलाई बताउँदै गएमा बुद्धधर्म फैलिंदै जाने भएकाले घरमा लगि पुस्तकलाई दराजमा मात्रै थन्काउने, लाइब्रेरीमा थन्काउने मात्र नगर्न अनुरोध गर्नुभयो । साथै उहाँले खेम्पो रिम्पोछेको तर्फबाट रु. १ लाख चन्दा सोही पुस्तक नयाँ संस्करण प्रकाशनका लागि प्रदान गरेको पनि सहर्ष जानकारी दिनुभयो ।
पुस्तकको बारेमा समीक्षा गर्नुहुँदै सह–प्राध्यापक मदन रत्न मानन्धरले २५६७ वर्ष अगाडि नै भगवान बुद्ध महापरिनिर्वाण भइसक्नु भएतापनि पुस्तकमा वर्तमान काल प्रयोग गरी लेखिएको बताउनुभयो । उहाँले विगतका कुरा भएपनि भगवान बुद्धको योगदान, व्यक्तित्व, प्राणीप्रतिको महा करुणालाई मूल्यांकन गर्दा हाल सम्म पनि उहाँ जीवित नै हुनुहुन्छ भन्न कर लाग्छ, भन्नुभयो । उक्त पुस्तकमा यी सबै शीर्षकहरुमा धेरै राम्रोसँग व्याख्या गरिएको उहाँले बताउनुभयो ।
समीक्षाका क्रममा उहाँले पुस्तकमा विभिन्न ठाउँमा ९५ सचित्र वर्णन पनि गरिएकाले कमिक्स हेरेको जस्तो समेत आभाष मिल्ने र प्रामाणिक कुराहरु पनि सरल, सरस ढंगमा प्रस्तुत गरिएकाले नछोडीकन पढीरहुँ जस्ता लाग्ने बताउनुभयो । जसमा बुद्धकालिन घट्ना सहित वर्तमान सन्दर्भलाई पनि समेटिएको कुरा पनि उहाँले जानकारी दिनुभयो ।
थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य महेन्द्र रत्न शाक्यले भगवान बुद्धलाई महा मनोचिकित्सकका रुपमा, रोगलाई निदान गर्ने गुरुको रुपमा पुस्तकमा प्रस्तुत गरिएको छ । उहाँ मनोचिकित्सकै रुपमा पश्चिमा देशमा प्रख्यात हुनुहुन्छ । बुद्ध सौन्दर्यका प्रतिमूर्ति, बुद्ध जति राम्रो संसारमा अरु कोही पनि छैन भन्ने कुरा लेखिएको भन्नुहुँदै संसारका ठूल्ठूला लेखकहरुले पनि भगवान बुद्धका मूर्ति आफ्ना टेबुलमा राख्ने गरिएको तथा सौन्दर्यका पुजारी लेखकले समेत उहाँको मूर्ति टेबलमा राख्ने गरेको कुरा पनि पुस्तकमा वर्णन गरिएको छ, उहाँले भन्नुभयो ।
एकेडेमीमा भगवान बुद्ध बारे अध्यापन गराउन सो पुस्तक सान्दर्भिक रहेको कुरा पनि उहाँले उक्त कार्यक्रममा उल्लेख गर्नुभयो । बुद्धका व्यक्तित्व, विचार, धर्म र शिक्षा तथा जीवनीबारे सरल र सुमधुर भाषामा विवेचनात्मक रुपमा प्रस्तुत पुस्तकमा लेखिएको कुरा उहाँले बताउनुभयो ।
विश्व शान्ति विहारका अध्यक्ष अमिता धाख्वाले विहारका संस्थापक एवं नेपालका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरका शिष्य पुस्तकका अनुवादक भिक्षु निग्रोध महास्थविर हुनुभएको स्मरण गर्नुहुँदै अनुवादक भन्तेको संक्षिप्त परिचय पनि दिनुभयो । भन्तेले लकडाउन समयको सदुपयोग गर्नुभई पुस्तकलाई सरल, सुबोध तरीकाले भाषानुवाद गर्नुभई प्रकाशन कार्यले धर्मप्रीति उत्पन्न भएको र यस कार्यका लागि उहाँले शुभकामना दिनुभयो ।
कार्यक्रमको शुरुवातमा सबैलाई स्वागत गर्नुहुँदै प्रकाशक सुष्मा बज्राचार्यले आफ्ना दिवंगत बुबा बिष्णु बहादुर श्रेष्ठ, दिवंगत आमा बिजुली श्रेष्ठ तथा दिवंगत भिनाजु महाबीर प्रसाद श्रेष्ठको निर्वाणको कामनासहित पुस्तक प्रकाशन गरेको बताउनुभयो । भगवान बुद्ध सम्बन्धि पुस्तक प्रकाशन गर्न पाउँदा एकदमै खुशी लागेको र त्यसको बयानका लागि उहाँसँग शब्द नै नभएको भन्नुभयो ।
कार्यक्रममा भिक्षु संघ, अनागारिकाहरु तथा उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो । -
अ. धम्मवती गुरुमाको जन्मदिनको उपलक्ष्यमा साप्ताहिक अभिधम्म पाठ धर्मकिर्ति विहारमा शुभारम्भ
असार १३ गते, काठमाण्डौ ।
अ. धम्मवती गुरुमाको ९० औं जन्मदिनको उपलक्ष्यमा भिक्षुसंघद्वारा साप्ताहिक अभिधम्म पाठ आजदेखि धर्मकिर्ति विहार, श्रीघल, काठमाण्डौमा शुभारम्भ भएको छ ।
कार्यक्रमको शुरुवातमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मसोभन महास्थविरले मानिसको जन्म लिई अभिधम्म पाठ पढ्न पाउनु दुर्लभ भएको र धम्मसङ्गणी भनेको धर्मको नीति भएको र त्यसमा मनोवैज्ञानिक रुपमा व्याख्या गरिएको छ भनी धर्मदेशना दिनुभयो ।
आज अभिधम्म अन्तर्गत ‘धम्मसङ्गिणी पाठ’ नेपालका उप संघनायक भिक्षु गुणघोष महास्थविर, भिक्षु धम्मसोभन महास्थविर, भिक्षु राहुल महास्थविर, भिक्षु उपतिस्स महास्थविर, भिक्षु सद्धातिस्स महास्थविर, भिक्षु कोलित महास्थविर, भिक्षु मेधंकर, भिक्षु शान्तसिद्धार्थ, भिक्षु शान्तशोभन, भिक्षु गौतमले सामूहिक पाठ गर्नुभएको थियो ।
साप्ताहिक अभिधम्म पाठ असार १३ गतेदेखि १९ गतेसम्म र २० गते बज्रयान महायान पाठ बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

अ. धम्मवती गुरुमाले २०१८ सालमा नै तत्कालिन बर्मा (हालको म्यानमार) बाट उच्च धार्मिक शिक्षा ‘सासनधज धम्माचरिय’ उत्तीर्ण गर्नुभएको थियो । नेपाल फर्किनु भइसकेपछि उहाँले बुद्ध शासनको प्रचारप्रसारमा धेरै ठूलो योगदान दिइरहनु भएको छ । विशेष गरेर महिलाहरुलाई जागरणमूलक सशक्तिकरण गरी बुद्ध शासनमा प्रव्रजित गराउने तर्फ पनि योगदान दिनुभएको छ ।
उहाँ म्यानमार सरकारबाट ‘अग्गमहागन्थवाचक पण्डित’, नेपालभाषा परिषदबाट ‘भाषाथुवाः’, स्वयम्भू ज्ञानमाला भजनको तर्फबाट ‘ज्ञानमाला रत्नवत सिरपाः’बाट पनि सम्मानित हुनुहुन्छ ।


-
नेपाल बौद्ध परियत्ति शिक्षाको ६० औं दीक्षान्त तथा पुरस्कार वितरण
न्यूजअफ । जेठ २१ गते, काठमाण्डौ ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६६ सालको ६० औं दीक्षान्त तथा पुरस्कार वितरण समारोह हिजो विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा सम्पन्न भएको छ ।
परियत्ति सद्धम्म कोविद उपाधिमा प्रथम हुनुभएका प्रशान्त देव शाक्य र परियत्ति सद्धम्म पालक उपाधिमा बोर्डप्रथम हुनुभएका सुनीता तुलाधर शिल्पकार लगायत अन्य कक्षा १ देखि १० सम्म बोर्डमा आउन सफल भएका विद्यार्थीहरुलाई उक्त समारोहमा ने.बौ.प.शि. का शिक्षाध्यक्ष एवं अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले स्वर्ण, रजत तथा कास्य पदक प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा मन्तव्य राख्नुहुँदै शिक्षाध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले सिकेका ज्ञानहरु आचरणमा ल्याई आफ्नो जीवन सफल गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियत्ति शिक्षाको अध्ययनले सम्पूर्ण दुःख निर्मूल गर्न सिक्ने शिक्षा भगवान बुद्धले दिनुभएको उपदेश हो र यो सम्पूर्ण मानवजातिका लागि नभई नहुने शिक्षा हो भन्नुभयो ।समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले परियत्ति शिक्षाको दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा अत्यन्त सन्तोष लागेको बताउनुहुँदै प्रचलित मूल धारका शिक्षामा यति धेरै हामी डुब्यौं कि अरु शिक्षा प्राणली पनि छन् भन्ने कुरा नै हामीले बिर्सेको अवस्था छ । आफू को हो भन्ने कुरा थाहा पाएमा उसले प्राप्त गरेका ज्ञानको सही सदुपयोग गर्न सकिने तर यी कुराहरु मूलधारको शिक्षा प्रणालीले सिकाउन सकिरहेको छैन । त्यसैले बौद्ध शिक्षा लगायतका शिक्षा प्रणालीलाई कसरी सन्तुलित रुपमा पाठ्यक्रममा समावेश गरी लान सकिन्छ भनी छलफल भइरहेको र यसका लागि परियत्ति शिक्षाका पदाधिकारीहरुसँग निरन्तर सम्पर्कमा रहने वचन उहाँले दिनुभयो ।

ने.बौ.प.शि.का सचिव एवं पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक प्रकाशन उपसमितिका संयोजक भिक्षु धर्मगुप्त महास्थविरले भगवान बुद्धको उपदेश आफ्नै भाषामा अनुवाद सहित संग्रह गरेका कारण चाइनिज, बर्मीज आदि भाषाहरु धेरै विकास भएको उल्लेख गर्नुभयो । साथै कोरियामा काठमा कुँदिएको तथा म्यानमारमा सिंगमरमरमा कुँदिएको तिपिटक ग्रन्थ हेर्न विश्वबाट लाखौं पर्यटकहरु जाने गरेको, जसले ती देशहरुको आयस्रोत बढेको तर्फ औंल्याउनु हुँदै तिपिटकबाट आयआर्जन समेत गर्न सकिने उदाहरण दिनुभयो ।
यसवर्षको परियत्ति गतिविधिको प्रतिवेदन ने.बौ.प.शि.का केन्द्रीय परीक्षा नियन्त्रक तथा परीक्षा तथा दीक्षान्त उपसमितिका संयोजक भिक्षु बोधिज्ञान महास्थविरले प्रस्तुत गर्नुहुँदै यसवर्षदेखि परीक्षाको समयतालिकामा हेरफेर भएको र कक्षा २, ३ तथा ९ को पाठ्यक्रमलाई पनि परिमार्जन गरिएको बताउनुभयो ।
त्यस्तै नेपालका लागि म्यानमारका राजदूत ऊ सिन ऊले परियत्ति शिक्षा सबैको लागि आधारभूत शिक्षा रहेको र यसले मानिसको नैतिक आचरण राम्रो बनाउने भन्नुभयो भने परीक्षा तथा दीक्षान्त उपसमितिका सहसंयोजक अमिता धाख्खाले उक्त समारोहका लागि सहयोग गर्नुहुने काठमाणडाै महानगरपालिका लगायत सम्पूर्ण दाताहरू तथा सबैलाई साधुवाद दिनुभएको थियो ।
उक्त समारोहमा शिक्षाध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले पञ्चशील प्रदान गर्नुका साथै परियत्ति प्रतिज्ञाको वाचन पनि गराउनु भएको थियो भने कक्षा १ देखि कक्षा १० सम्म बोर्डमा आएकाहरुलाई पदक, प्रमाणपत्र, चैत्य, पुस्तक तथा नगद पुरस्कारहरु दिइएको थियो । साथै प्रमुख अतिथि एवं अतिथिहरूलाइ मैत्री चिन्ह पनि प्रदान गरिएकाे थियाे ।यसवर्ष परियत्ति परीक्षामा कूल सहभागी २८९९ परीक्षार्थीहरुमा २६२७ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।
परियत्ति प्रतिज्ञा
‘नेपाल बौद्ध परियत्ति शिक्षा अध्ययन गरी मैले भगवान बुद्धको उपदेशहरु सिक्ने मौका पाएँ । यसको लागि अखिल नेपाल भिक्षु महासंघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । नेपाल बौद्ध परियत्ति शिक्षाबाट प्राप्त ज्ञानलाई मैले आफ्नो शारीरिक, वाचसिक र मानसिक कर्मले पालन गर्नेछु । मैले यो ज्ञान मेरो परिवार र समुदायलाई पनि सिकाउनेछु । यसरी नै परियत्ति शिक्षाको विद्यार्थी भएको नाताले बुद्धधर्मको विकास र संरक्षणमा सदा संलग्न भई सक्दो योगदान दिने कार्यमा निरन्तर लाग्नेछु ।’ -

माझखण्ड बुद्ध विहारमा सत (१०० जना) कुलपुत्रहरूकाे अल्पकालिन श्रामणेर प्रव्रज्या हुने
सत (१००) कुलपत्रहरूकाे १० दिने अल्पकालिन श्रामणेर प्रव्रज्या यही चैत २३ गतेदेखि बैशाख २ गतेसम्म माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा सम्पन्न हुने भएकाे छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारकाे संयुक्त आयाेजनामा हुन लागेकाे उक्त कार्यकामका लागि माझखण्डमा धमाधम तयारी हुँदै गरेकाे कुरा कार्यक्रमका आयाेजकले जनाएकाे छ ।

केही दिनदेखि परिरहेकाे पानीका कारण कार्यक्रम समय तालिकामा केही फेरबदल भएकाे छ । नयाँ तय भएकाे कार्यक्रम अनुसार चैत २२ गते प्रव्रज्या लिन चाहनेहरू साे विहारमा पुग्नुपर्ने, चैत २३ गते प्रव्रज्या कार्यक्रम र वैशाख २ गते समापन हुनेछ ।
यस कार्यक्रमकाे प्रत्यक्ष प्रशारण भिक्षु बाेधिज्ञान महास्थविरकाे फेसबुक पेज https://www.facebook.com/bodhijnana4342 बाट हुनेछ ।
-
अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान
सुनीता शिल्पकार, २४ माघ, ललितपुर ।
भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ ।
धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक धार्मिक कार्यक्रम बीच उहाँ र उहाँका परिवारले उक्त प्रतिमा अखिल नेपाल भिक्षु महासंघमार्फत उक्त महासंघका कोषाध्यक्ष एवं उक्त विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरलाई दान दिनुभएको हो ।बुद्ध प्रतिमा ग्रहण गर्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले पहिले माझखण्डको पोखरी डाँडा स्थित पानीट्यांकीमा बुद्ध प्रतिमा स्थापनाका लागि भएको शोभायात्रामा सहभागी हुनुभएका उहाँहरु अहिले आफूहरुले पनि भगवान बुद्धको प्रतिमा दान दिनुभएकोमा हर्ष व्यक्त गर्नुहुँदै साधुवाद दिनुभयो ।

यस्तै बुद्ध प्रतिमा दानको महत्वबारे भिक्षु पञ्ञासार महास्थविरले बुद्ध प्रतिमा दान गर्नु भनेको महाकुशल दान हो । यो रुख रोप्ने जस्तै कुशल कर्म हो । यो कार्यले अनन्त कालसम्म बहुजन हिताय बहुजन सुखाय हुनेछ । उहाँले यसप्रकार दान कार्यले दाता परिवार पनि यस जन्ममा खुशी हुन्छन्, अनि अर्को जन्ममा पनि खुशी हुनेछन् भन्नुभयो ।
दाता अमिता शाक्यले बुद्ध प्रतिमा दान गर्नुको उद्देश्य बारे बताउनुहुँदै २ वर्ष अघि धम्मसाकच्छा संघबाट चैनपूरमा बुद्धमूर्ति दान गरिरहेको बेला आफूले पनि यस्तै दान गर्न पाए हुन्थ्यो भन्ने मनमा धर्म संवेग जागेको र सोही कुरा आफ्नो श्रीमानसँग सल्लाह गरि माझखण्ड बुद्ध विहारमा राख्ने निधो गरका थियौं ।
उहाँले गृहिणीहरु घरमा बसेर गर्न सकिने जुनसुकै काम भएपनि गरिरहनु पर्दछ । समयको सदुपयोग गरिरहनु पर्दछ । सो कुराको अवलम्वन गरि घरधन्दाबाट केही समय निकालेर सुइटर, टोपी आदि बुनी जम्मा गरेको पैसाले यो बुद्धमूर्ति किनेर दान गर्न पाएको र दान गरिसकेपछि आफू एकदम भावविभोर भएको कुरा पनि उहाँले न्यूजअफसँगको कुराकानीमा बताउनुभयो ।उक्त धार्मिक कार्यक्रममा भिक्षु सागर महास्थविर, अनागारिका अरियञाणी, दाताका तर्फबाट कुलमान शाक्य लगायत उक्त विहारका अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएका थिए ।
उक्त धार्मिक कार्यक्रमका लागि ललितपुरबाट भिक्षु, अनागारिका गुरुमा लगायत उपासकउपासिकाहरु पनि सहभागि हुनुभएकाे थियाे । -
माझखण्डका बासिन्दालाई ताइवानको झेन कुओ विहारको सहयोग वितरण
सुनीता तुलाधर, ललितपुर, मंसिर २२ .
ललितपुरको बागमती गाउँपालिकामा अवस्थित प्राचिन बौद्ध विहार माझखण्ड धातुचैत्य विहारमा बुधवार स्थानीय बासिन्दाहरुलाई ताइवानको झेन कुओ विहारका भिक्षु कुआङ्ग सिङ्गले पठाउनु भएको खाद्य सहयोग वितरण गरिएको छ ।
विश्वशान्ति विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा पुगेको विश्व शान्ति विहारका समूहले स्थानीय ११४ घरपरिवारलाई प्रति घर २५ किलोको १ बोरा चामल, २ लिटर तेल र २ किलो मास दाल सहयोग वितरण गरेको हो ।
सो अवसरमा भिक्षु बोधिज्ञान महास्थविरले ताइवानका भिक्षु कुओले विभिन्न स्थानका मानिसहरुलाई अन्न दान दिने क्रममा माझखण्डका बासिन्दालाई पनि अन्न दान पठाउनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार भिक्षु निग्रोध महास्थविर र विकास महर्जनको पहलमा ताइवानबाट प्राप्त उक्त सहयोग माझखण्डमा वितरण गरिएको हो ।
कार्यक्रममा अन्न दानको विषयमा धर्मदेशना दिनुहुँदै भिक्षु वजिरसिरिले ‘संसारको सबैभन्दा ठूलो दुःख, ठूलो रोग भनेको भोको पेट हुनु हो’ भन्नुभयो । पेट भोको भएमा आनन्द नआउने र भोजनले मात्रै शरीरमा शक्ति आउने उहाँले बताउनुभयो ।‘सब्बे सत्ता आहारा ठितिका’ अर्थात ‘सबै प्राणीहरु आहार, खानाका कारण बाँचिरहेका छन ।’ त्यसैले स्वस्थ खानाले शरीर स्वस्थ हुनुको साथै कुशल कर्महरु गर्नका लागि मद्दत पुग्दछ भने अस्वस्थ खानाले शरीर मात्र नभई दिमागलाई पनि हानी नोक्सानी पुग्छ,’ उहाँले भन्नुभयो ।
उहाँले शरीरलाई मात्र राम्रा खाना नभई मनलाई समेत राम्रा खाना दिनुपर्ने कुरा उपदेश दिनुभयो । यसको लागि विहारमा गएर राम्रा शिक्षा दिनुपर्ने बताउँदैं उहाँले उच्चकर्म गरी धर्मकर्म गर्नपनि राम्रो खाना खानुपर्ने र यही कारण ताइवानका भन्तेले अन्न सहयोग पठाउनुभएको जानकारी दिनुभयो ।
कार्यक्रममा ताइवानको नेपाली प्रतिनिधि विकास महर्जन, विहारका अध्यक्ष चन्द्रबहादुर स्याङ्गताङ्ग एवं बागमती गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष नवराज तिमिल्सिना लगायतले बुद्ध धर्म र दानको महिमाबारे चर्चा गर्नुभएको थियो । -
बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्राकाे दाेस्राे दिन ललितपुरकाे गाबहालबाट मंगलबजार पुर्याइयाे
सम्भवतः विश्वकै सबैभन्दा लामाे जात्रा बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्रा हिजाे बैशाख २१ गतेदेखि ललितपुरमा शुरू भएकाे छ । रथ यात्राकाे शुरूकाे दिन हिजाे ललितपुरकाे पुल्चाेकबाट गाबहालसम्म रथ तानेर पुर्याइएकाे थियाे ।

वर्षा र सहकालका देवताका रूपमा पुजिएका करूणामय, लाेकेश्वर अादि अनेक नामबाट पनि पुजिने यस देवतालाइ ललितपुरका विभिन्न स्थानमा पुर्याइन्छ र त्यस ठाउँका भक्तजनहरूले उक्त दिन र त्यसकाे भाेलिपल्ट जात्रा मनाउने गरिन्छ ।

मच्छिन्द्रनाथकाे रथ सँगसँगै मीननाथकाे रथ पनि तानेर नगर परिक्रमा गराउने परम्परा रहेकाे छ ।































