Tag: newar

  • ‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण

    न्यूजअफ, काठमाण्डौ, श्रावण १० गते ।
    भगवान बुद्धको जीवनी र व्यक्तित्वका बारेमा भिक्षु वेरगोद सरद महास्थविरले अंग्रेजी भाषामा लेख्नुभएको The Greatest Man Who Ever Lived (The Supreme Buddha) लाई भिक्षु निग्रोध महास्थविरले नेपाली भाषामा अनुवाद गर्नुभएको ‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण गरिएको छ । ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य एवं परिवारले प्रकाशन गर्नुभएको उक्त पुस्तक विश्व शान्ति विहार, मीनभवन काठमाण्डौमा हिजो सार्वजनिक गरिएको हो ।
    अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र खेम्पो लार्क्याल गुरुले संयुक्त रुपमा उक्त अनुदित पुस्तक लोकार्पण गर्नुभएको थियो ।


    उक्त समारोहमा अ.ने.भि.महासंघका भिक्षु धम्मशोभन महास्थविरले उक्त अनुदित पुस्तकले भगवान बुद्धलाई राम्ररी बुझ्न र जान्न एकदमै महत्वपूर्ण भएकोले सबैले पढ्नैपर्ने पुस्तकका रुपमा रहेको बताउनुभयो ।
    ‘महामानव सम्य्क सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण प्रकाशनार्थ आर्थिक सहयोग गर्नुहुने सुष्मा बज्राचार्य लगायत परिवार तथा पुस्तक तयार पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुहुँदै अनुवादक एवं विश्व शान्ति विहारका उप प्रमुख भिक्षु निग्रोध महास्थविरले ‘अभिञ्ञेयं अभिञ्ञातं, भावेतब्बञ्च भावितं, पहातब्बं पहीनं मे, तस्मा बुद्धोस्मि ब्राह्मण अर्थात बोध हुनुपर्ने सबै ज्ञात गरिसकेको, त्याग गर्नुपर्ने सबै त्याग गरिसकेको, साक्षात्कार गर्नुपर्ने सबै साक्षात्कार गरिसकेको, चार आर्यसत्यलाई बोध गरिसकेको’ Awaken One, Enlightened One, Blessed One नै बुद्ध हो भनेर उक्त पुस्तकमा दर्शाइएको छ भनी प्रकाश पार्नुभयो ।


    कार्यक्रमका प्रमुख अतिथि ल.पु.म.न.पा.का प्रमुख महर्जनले उक्त कार्यक्रममा बुद्ध धर्मका बारेमा विभिन्न वक्ताहरुले व्यक्त गर्नुभएका कुराहरु धेरै नबुझेकाले अब आफूले बुद्धधर्मबारे सिक्ने, अध्ययन गर्ने निश्चय गर्नुभयो ।
    अर्का अतिथि खेन्पो गुरुले पुस्तक पढेर त्यसमा के छ भनेर इष्टमित्रहरुलाई बताउँदै गएमा बुद्धधर्म फैलिंदै जाने भएकाले घरमा लगि पुस्तकलाई दराजमा मात्रै थन्काउने, लाइब्रेरीमा थन्काउने मात्र नगर्न अनुरोध गर्नुभयो । साथै उहाँले खेम्पो रिम्पोछेको तर्फबाट रु. १ लाख चन्दा सोही पुस्तक नयाँ संस्करण प्रकाशनका लागि प्रदान गरेको पनि सहर्ष जानकारी दिनुभयो ।
    पुस्तकको बारेमा समीक्षा गर्नुहुँदै सह–प्राध्यापक मदन रत्न मानन्धरले २५६७ वर्ष अगाडि नै भगवान बुद्ध महापरिनिर्वाण भइसक्नु भएतापनि पुस्तकमा वर्तमान काल प्रयोग गरी लेखिएको बताउनुभयो । उहाँले विगतका कुरा भएपनि भगवान बुद्धको योगदान, व्यक्तित्व, प्राणीप्रतिको महा करुणालाई मूल्यांकन गर्दा हाल सम्म पनि उहाँ जीवित नै हुनुहुन्छ भन्न कर लाग्छ, भन्नुभयो । उक्त पुस्तकमा यी सबै शीर्षकहरुमा धेरै राम्रोसँग व्याख्या गरिएको उहाँले बताउनुभयो ।
    समीक्षाका क्रममा उहाँले पुस्तकमा विभिन्न ठाउँमा ९५ सचित्र वर्णन पनि गरिएकाले कमिक्स हेरेको जस्तो समेत आभाष मिल्ने र प्रामाणिक कुराहरु पनि सरल, सरस ढंगमा प्रस्तुत गरिएकाले नछोडीकन पढीरहुँ जस्ता लाग्ने बताउनुभयो । जसमा बुद्धकालिन घट्ना सहित वर्तमान सन्दर्भलाई पनि समेटिएको कुरा पनि उहाँले जानकारी दिनुभयो ।
    थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य महेन्द्र रत्न शाक्यले भगवान बुद्धलाई महा मनोचिकित्सकका रुपमा, रोगलाई निदान गर्ने गुरुको रुपमा पुस्तकमा प्रस्तुत गरिएको छ । उहाँ मनोचिकित्सकै रुपमा पश्चिमा देशमा प्रख्यात हुनुहुन्छ । बुद्ध सौन्दर्यका प्रतिमूर्ति, बुद्ध जति राम्रो संसारमा अरु कोही पनि छैन भन्ने कुरा लेखिएको भन्नुहुँदै संसारका ठूल्ठूला लेखकहरुले पनि भगवान बुद्धका मूर्ति आफ्ना टेबुलमा राख्ने गरिएको तथा सौन्दर्यका पुजारी लेखकले समेत उहाँको मूर्ति टेबलमा राख्ने गरेको कुरा पनि पुस्तकमा वर्णन गरिएको छ, उहाँले भन्नुभयो ।
    एकेडेमीमा भगवान बुद्ध बारे अध्यापन गराउन सो पुस्तक सान्दर्भिक रहेको कुरा पनि उहाँले उक्त कार्यक्रममा उल्लेख गर्नुभयो । बुद्धका व्यक्तित्व, विचार, धर्म र शिक्षा तथा जीवनीबारे सरल र सुमधुर भाषामा विवेचनात्मक रुपमा प्रस्तुत पुस्तकमा लेखिएको कुरा उहाँले बताउनुभयो ।


    विश्व शान्ति विहारका अध्यक्ष अमिता धाख्वाले विहारका संस्थापक एवं नेपालका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरका शिष्य पुस्तकका अनुवादक भिक्षु निग्रोध महास्थविर हुनुभएको स्मरण गर्नुहुँदै अनुवादक भन्तेको संक्षिप्त परिचय पनि दिनुभयो । भन्तेले लकडाउन समयको सदुपयोग गर्नुभई पुस्तकलाई सरल, सुबोध तरीकाले भाषानुवाद गर्नुभई प्रकाशन कार्यले धर्मप्रीति उत्पन्न भएको र यस कार्यका लागि उहाँले शुभकामना दिनुभयो ।
    कार्यक्रमको शुरुवातमा सबैलाई स्वागत गर्नुहुँदै प्रकाशक सुष्मा बज्राचार्यले आफ्ना दिवंगत बुबा बिष्णु बहादुर श्रेष्ठ, दिवंगत आमा बिजुली श्रेष्ठ तथा दिवंगत भिनाजु महाबीर प्रसाद श्रेष्ठको निर्वाणको कामनासहित पुस्तक प्रकाशन गरेको बताउनुभयो । भगवान बुद्ध सम्बन्धि पुस्तक प्रकाशन गर्न पाउँदा एकदमै खुशी लागेको र त्यसको बयानका लागि उहाँसँग शब्द नै नभएको भन्नुभयो ।
    कार्यक्रममा भिक्षु संघ, अनागारिकाहरु तथा उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।

  • थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित

    सुनीता तुलाधर, ललितपुर, असार १० गते ।

    थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा उक्त एकेडेमीको ‘पालि बौद्ध अध्ययन’ मा स्नातकोत्तर तह पुरा गरेको पहिलो समूहका विद्यार्थीहरुले आयोजना गरेको ‘आचार्यहरुको सम्मानसहित कृतज्ञता ज्ञापन र पालिभाषा उत्थानको लागि छलफल’ कार्यक्रममा यसरी आफ्ना पालि भाषाका आचार्यहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा भिक्षु धर्मगुप्त महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु संकिच्च महास्थविर, भिक्षु निग्रोध महास्थविर, भिक्षु सिरि वजिर स्थविर, भिक्षु सरणंकर स्थविर, अनागरिका अग्गञाणी, अनागारिका विमलञाणी, अनागारिका मधुभाणिनी, आचरियो सुवर्ण लाल बज्राचार्य, आचरियो मदन रत्न मानन्धर, आचरियो महेन्द्र रत्न शाक्य, आचरियो त्रिरत्न मानन्धर हुनुहुन्छ ।

    दसौं वर्षदेखी पालि भाषा सिकाइरहेकोको फल आज मात्रै पाएकोमा प्रमुदित हुनुहुँदै आचार्य भिक्षु धर्मगुप्त महास्थविरले पालि भाषा अध्ययन गरेर तिपिटकलाई आफ्नै मातृभाषामा अनुवाद गरी जनमानसमा पुर्याउन सक्यौं भने यही नै पालि अध्ययनको सफलता हुने आशीर्वचन दिनुभयो ।

    त्यस्तै स्नातकोत्तर विद्यार्थीको तर्फबाट गुरु आचार्यलाई पालि भाषामै सम्मान व्यक्त गर्नुहुँदै अ. कुसलञाणी गुरुमाले बुद्धवचन संग्रहित भएको भाषा ‘पालिभाषा’ रक्षार्थ आचार्यहरुको प्रयत्न र ज्ञान अनुकरणीय रहेको बताउनुभयो । उहाँहरुको अनुग्रहले आफैले तिपिटकको सुत्त, जातक, धम्मपदट्ठकथा पढेर अर्थ समेत बुझ्न सकेकोमा कृतज्ञभाव प्रकट गर्नुभयो ।
    नेपाल बौद्ध परियत्ति शिक्षा र थेरवाद बुद्धिष्ट एकेडेमीले पालिभाषाको अभिवृद्धिमा संरहानीय कार्य गरीरहेको छ । र यसमा सबैको एकताको बलले पालिभाषाको प्रचार सँगसँगै बुद्धशासन अझ सुदृढ हुँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    समारोहमा पालि भाषामै गुरु आचार्य र गुरुमाका साथै उपस्थित सबैलाई स्वागत गर्नुहुँदै अर्का पालि विद्यार्थी सुष्मा बज्राचार्यले पालिभाषाको अभिवृद्धिको लागि सक्दो प्रयास सँधै नै गर्ने प्रतिज्ञा गर्नुभयो ।

    अर्का पालि भाषाका विद्यार्थी डा. रीना तुलाधरले १३ जना गुरु गुरुमाहरुले पालि कक्षा संचालनमा गर्नुभएको योगदानको स्मरण गर्दै कृतज्ञता ज्ञापन गर्नुभयो । थेरवाद बुद्धिष्ट एकेडेमीमा स्नातकोत्तर कक्षा संचालनका लागि प्रयास गर्नुभएका गुरुहरु तथा उक्त कक्षाका पहिलो समूहमा अध्यापन गर्नुभएका सबै गुरु तथा गुरुमाहरुले धेरै नै मेहेनत गरेर सिकाउनु भएकोमा पहिलो समूहका विद्यार्थीहरुका तर्फबाट कृतज्ञभाव उहाँले व्यक्त गर्नुभयो ।
    समारोहमा सबै गुरु आचार्य तथा गुरुमाहरुलाई पालि भाषामा नै लेखिएको ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ अर्पण गरिएको थियो ।
    उक्त समारोहमा अ. ञाणवती गुरुमा, अ. चम्पावती गुरुमा, नरेन्द्र बहादुर तण्डुकार लगायतले बोल्नुभएको थियो भने आभा अवालेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

     

  • अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान

    सुनीता शिल्पकार, २४ माघ, ललितपुर ।

    भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ ।
    धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक धार्मिक कार्यक्रम बीच उहाँ र उहाँका परिवारले उक्त प्रतिमा अखिल नेपाल भिक्षु महासंघमार्फत उक्त महासंघका कोषाध्यक्ष एवं उक्त विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरलाई दान दिनुभएको हो ।

    बुद्ध प्रतिमा ग्रहण गर्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले पहिले माझखण्डको पोखरी डाँडा स्थित पानीट्यांकीमा बुद्ध प्रतिमा स्थापनाका लागि भएको शोभायात्रामा सहभागी हुनुभएका उहाँहरु अहिले आफूहरुले पनि भगवान बुद्धको प्रतिमा दान दिनुभएकोमा हर्ष व्यक्त गर्नुहुँदै साधुवाद दिनुभयो ।

    यस्तै बुद्ध प्रतिमा दानको महत्वबारे भिक्षु पञ्ञासार महास्थविरले बुद्ध प्रतिमा दान गर्नु भनेको महाकुशल दान हो । यो रुख रोप्ने जस्तै कुशल कर्म हो । यो कार्यले अनन्त कालसम्म बहुजन हिताय बहुजन सुखाय हुनेछ । उहाँले यसप्रकार दान कार्यले दाता परिवार पनि यस जन्ममा खुशी हुन्छन्, अनि अर्को जन्ममा पनि खुशी हुनेछन् भन्नुभयो ।

    दाता अमिता शाक्यले बुद्ध प्रतिमा दान गर्नुको उद्देश्य बारे बताउनुहुँदै २ वर्ष अघि धम्मसाकच्छा संघबाट चैनपूरमा बुद्धमूर्ति दान गरिरहेको बेला आफूले पनि यस्तै दान गर्न पाए हुन्थ्यो भन्ने मनमा धर्म संवेग जागेको र सोही कुरा आफ्नो श्रीमानसँग सल्लाह गरि माझखण्ड बुद्ध विहारमा राख्ने निधो गरका थियौं ।
    उहाँले गृहिणीहरु घरमा बसेर गर्न सकिने जुनसुकै काम भएपनि गरिरहनु पर्दछ । समयको सदुपयोग गरिरहनु पर्दछ । सो कुराको अवलम्वन गरि घरधन्दाबाट केही समय निकालेर सुइटर, टोपी आदि बुनी जम्मा गरेको पैसाले यो बुद्धमूर्ति किनेर दान गर्न पाएको र दान गरिसकेपछि आफू एकदम भावविभोर भएको कुरा पनि उहाँले न्यूजअफसँगको कुराकानीमा बताउनुभयो ।

    उक्त धार्मिक कार्यक्रममा भिक्षु सागर महास्थविर, अनागारिका अरियञाणी, दाताका तर्फबाट कुलमान शाक्य लगायत उक्त विहारका अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएका थिए ।
    उक्त धार्मिक कार्यक्रमका लागि ललितपुरबाट भिक्षु, अनागारिका गुरुमा लगायत उपासकउपासिकाहरु पनि सहभागि हुनुभएकाे थियाे ।

  • मणिमण्डप महाविहारमा कथिन चीवर दानोत्सव

    सुनीता तुलाधर, ललितपुर, कार्तिक ६ गते ।

    मणिमण्डप महाविहारका विहार प्रमुख एवं अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४७ औं वर्षावास र भिक्षु गवेसकोले प्रथम वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा शनिवारका दिन उक्त विहारमा भिक्षु महासंघलाई कथिन चीवर दान गरियो ।
    ललितपुर, क्वयलाछिका ९७ वर्षिया पूर्णमाया अवाले सहित आशाराम, प्रेमरत्न, आशामाया, नानीमाया, लक्ष्मी, बिणा तथा परिवारले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरलाई कथिन चीवर दान गरेका थिए ।


    भिक्षु शीलभद्र महास्थविरले उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुका साथै बुद्धपुजा गराउनु भएको थियो भने भिक्षु सुमेध महास्थविरले कथिन दानको महत्व र आनिशंसको बारेमा धर्मदेशना गर्नुभएको थियो । धर्मदेशनाका क्रममा उहाँले भगवान बुद्धले समेत कथिन दानलाई प्रशंसा गर्नुभएको कुरा बताउनुभयो । विनयपूर्वक वर्षावास पूरा गर्नुहुने भिक्षुको कारण कथिन दातालाई कथिन चीवर दान गर्ने सौभाग्य प्राप्त हुन्छ, साथ साथै कथिन दान कसलाई किन, कहिले हुन्छ भनेर पनि भिक्षु सुमेध महास्थविरले प्रकाश पार्नुभयो ।


    उक्त कथिन दानका दिन ९८ जना उपासकउपासिकाहरुले दान गर्नुभएको अष्टपरिष्कारको सम्पूर्ण रकम लुम्बिनीमा निर्माणाधीन थेरवाद बुद्ध बिहार निर्माणका लागि आर्थिक सहयोग स्वरुप जाने जानकारी भिक्षु शीलभद्र महास्थविरले उक्त कार्यक्रममा बताउनुभयो ।
    कार्यक्रमको शुरुवातमा कथिन चीवरलाई कथिन दाताका घर च्यासल, क्वयलाछिबाट मणिमण्डप महाविहारसम्म श्रद्धालु उपासकउपासिकाहरुले कथिन जात्रा गरी ल्याई पुर्याएका थिए र अन्त्यमा विभिन्न विहारबाट आउनुभएका भिक्षु, गुरुमांहरुलाई उपासकउपासिकाहरुले दान प्रदान गरेका थिए ।

  • नेपाल संवतमा ताथलीमा भिन्तुना र्यालीसहित सांस्कृतिक कार्यक्रम हुने

    भक्तपुर, कार्तिक ४
    नेपाल संवत न्हुँ दँ ११४३ को अवसरमा चाँगुनारायण नगरपालिका ९, ताथलीमा यसवर्ष पनि भिन्तुना र्यालीसहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय प्रगति युवा समाजले नियमित रुपमा गर्दै आइरहेको भिन्तुना र्यालीसँगै सांस्कृतिक कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागेको हो ।
    कार्यक्रमका लागि आयोजक समाजले तयारी तीब्र बनाएको छ । नेपालीहरुको साझा संवत् नेपाल संवतलाई सम्वर्द्धन र प्रवर्द्धनका लागि हुँदै आएकोे भिन्तुना र्यालीलाई यो वर्षबाट फरक तरिकाले सम्पन्न गर्ने तयारी भएको समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले बताउनुभयो ।
    समाजले नेपाल संवतको अवसरमा म्हः पूजाको दिन ताथलीमा भिन्तुना र्याली गर्दै आएको जनाउँदै उहाँले यो वर्ष कार्तिक ८ गते र्याली र सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
    समाजका अध्यक्ष रवीन बासुकलाले पञ्चाङ्ग समितिले बनाएको क्यालेण्डरमा भएको गल्तीको कारण भिन्तुना र्याली गर्न र म्हः पूजा गर्न पनि अन्योल रहेको अवस्थामा ताथलीमा पनि भक्तपुरको तलेजू गुठीको निर्णय अनुसार नै कार्तिक ८ गते र्याली र म्हः पूजा गर्ने तयारी गरिरहेको बताउनुभयो ।
    यो वर्ष ताथलीको सौडोल चोक(गचा) बाट र्यालीको सुरुवात गर्ने तयारी गरिरहेको छ । सो स्थानबाट सुरु हुने र्यालीले चाँगुनारायण नगरपालिका वडा नं. ९ का विभिन्न ठाउँ र टोलमा परिक्रमा गर्ने कार्यक्रम तय गरेको छ ।
    र्यालीको समापन फैढोकाको फैढोका आधारभूत विद्यालयमा सांस्कृतिक कार्यक्रमसहित हुने छ । र्यालीलाई सफल बनाउन समाजका सदस्य जीवन त्वायनाको संयोजकत्वमा विभन्नि समिति, उपसमिति गठन गरिएको छ ।
    सांस्कृतिक कार्यक्रममा विभिन्न बाजा समूह, स्कूलका विद्यार्थीको नृत्यका साथ साहित्यिक कार्यक्रम समेत हुने जनाइएको छ ।

     

  • सुमंगल विहार, लुँखुसि ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर सहित)

    असाेज २९ गते, ललितपुर ।

    डा. भिक्षु संकिच्च महास्थविर, भिक्षु पञ्ञारतन महास्थविर, भिक्षु खेम, भिक्षु साेम र भिक्षु सुमनतिस्स विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे उपलक्ष्यमा आज भिक्षु महासंघलाइ कथिन चीवर दान गरियाे । ललितपुरकाे लुँखुसिमा रहेकाे सुमंगल विहारमा नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर समुपस्थितिमा कथिन दाता विजय बहादुर शाक्य एवं सपरिवारले भिक्षु महासंघलाइ कथिन चीवर दान गरेका थिए । (तस्वीरहरू – जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)

  • अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बुद्धनगरमा कथिन चीवर दान सम्पन्न

    सुनीता तुलाधर, असोज २९, काठमाण्डौ ।

    कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना थेरवाद बुद्धधर्ममा एकदमै महत्वको महिनाका रुपमा लिइन्छ । यो एक महिना थेरवाद परम्परा अनुसार कथिन महिना अर्थात कथिन चीवर दानको महिनाका रुपमा मनाइन्छ ।
    यसै क्रममा काठमाण्डौ, बुद्धनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा पनि आज कथिन चीवर दान सम्पन्न भयो । म्यानमारका भिक्षु सयादो ऊ इन्दक महास्थविरलगायत भिक्षुहरु विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा अष्टरत्न एवं रत्नदेवी धाख्वा तथा परिवारले भिक्षु महासंघलाई पवित्र कथिन चीवर दान गर्नुभयो ।

    उक्त भावना केन्द्रका सयादो ऊ इन्दक महास्थविरले बुद्ध पुजा एवं उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि शुरुवात भएको कार्यक्रममा उहाँले धर्मदेशना पनि दिनुभयो । उहाँले ५ प्रकारका सम्मादिठ्ठी (सम्यक दृष्टि) का बारेमा व्याख्या गर्नुहुँदै धर्मदेशना दिनुभएको थियो । सयादोले राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो प्रतिफल आउँछ, त्यसैले हामीले सँधै शरीर, वचन र मन तीनैवटा द्वारबाट राम्रो कामहरु मात्रै सम्पादन गर्नुपर्छ तथा नराम्रो कामहरुबाट अलग हुनुपर्छ भनी धर्मदेशना दिनुभयो । उहाँले म्यानमार भाषामा दिनुभएको धर्मदेशनालाई भिक्षु ञाणवुधले नेपालीमा अनुवाद गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले किताबको ज्ञानले मात्र आफ्नो चित्त वशमा राख्न नसक्ने हुनाले केन्द्रमा आएर ध्यान सिकेर ध्यान अभ्यास गर्नुभई आफूलाई चिन्न अनुरोध गर्नुभयो ।

    धर्मदेशना पश्चात नेपालका आठौं संघनायक भिक्षु बोधिसेन महास्थविरले कथिन दानको वाक्य वाचन गराउनु भएपछि कथिन दाताहरु अष्टरत्न धाख्वालगायत उहाँका छोरीहरु अनागारिका अग्गञाणी धम्मचरिय, अमिता, रमिता, सबिता, संगीता, श्रद्धा, सति र ललिता धाख्वाले संयुक्त रुपमा भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको थियो । यसपछि नेपालका संघनायकले अष्ट परिष्कारको वाक्य वाचन गराउनु भएपछि १७४ जना अष्ट परिष्कार दाताहरुले भिक्षु महासंघलाई अष्ट परिष्कार दान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा श्रद्धालु उपासकउपासिकाहरुले भिक्षुगण र अनागारिका गुरुमाहरुलाई विभिन्न वस्तुहरुसहित दान प्रदान गरेका थिए ।

    केन्द्रका सचिव ललिता धाख्वाले आजै केन्द्रको ३७ औं वार्षिक उत्सव पनि भएकोले उक्त केन्द्रले वर्षभरि गरेका विभिन्न गतिविधिहरुका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । र कार्यक्रममा सम्पूर्ण सहभागी महानुभावहरुलाई केन्द्रका उपाध्यक्ष मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गर्नुभयो ।

  • शाक्यसिंह विहार, ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

    ललितपुर, असाेज २६ गते ।

    नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविरका समपुस्थितिमा ललितपुर, थैनास्थित श्री शाक्यसिंह विहारमा आज कथिनचीवर दान सम्पन्न भएकाे छ ।

    (तस्वीरहरू – जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)

     

  • प्रातःकालिन समयमा बुंगम लाेकेश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथ

    अक्षय तृतीयाकाे भाेलिपल्टबाट शुरू भएकाे बुंगम लाेकश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथकाे रथ यात्रा आज साँझ ललितपुरकाे नुगः अर्थात सुन्धाराबाट लगनखेलतिर तानिने छ ।

    २ दिन अगाडि मंगलबजारबाट सुन्धारा पुर्याइएका यी रथ हिजाे एकदिनकाे विश्रामपछि आज पुनः तानिन लागेकाे हाे ।

    हरेक वर्ष रथ यात्राकाे क्रममा मच्छिन्द्रनाथकाे रथलाइ मुख्यतः गाबहाल, सुन्धारा, लगनखेल र जावलाखेलमा विश्राम गराइन्छ र त्यस भेगका वासिन्दाहरूकाे जात्रा हुने गर्दछ । जुन दिनमा रथ पुर्याइन्छ त्यसदिनमा ‘छ्वयला भू’ र त्यसकाे भाेलिपल्ट ‘भुजा याः’ मनाइन्छ र आफन्तहरू समेत आमन्त्रण गरी भाेज खाने परम्परा रही आएकाे छ ।

    रथ यात्रा शुरू भएदेखि मच्छिन्द्रनाथ र मीननाथकाे दर्शन गर्न हरेक दिन भक्तजनहरूकाे घुँइचाे लाग्ने गर्दछ । यसै क्रममा सुन्धारामा प्रातःकालिन चहलपहलका केही दृष्य –