सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ र सो वर्षावासपछि उक्त विहरमा भिक्षु संघलाई दाता उपासकोपासिकाले कथिन चीवर दान गर्ने परम्परा रहेको छ । यो कथिन दान कोजाग्रत पूर्णिमाको भोलिदेखि सकिमिला पूर्णिमासम्म एक महिना (१) भित्रमा सम्पन्न गर्नुपर्दछ ।
यही नियमानुसार हिजो कौलागा पारुका दिनदेखि देशभरका थेरवादी विहारहरुमा कथिन चीवर दान शुरु भएको छ । यसक्रममा हिजो ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा कथिन दान सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नुभएर पुरा गर्नुभएको उपलक्ष्यमा बुद्ध धर्म संघ जूम परिवारले उक्त दानको आयोजना गरेका हुन ।
उक्त विहारका विहारप्रमुख भिक्षु धर्मगुप्त महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी कार्यक्रम शुभारम्भ गर्नुका साथै धर्मदेशना पनि गर्नुभएको थियो भने भिक्षु नन्द महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।
उहाँले भिक्षुहरुले धारण गर्ने चीवरको रंग अरहत ध्वजाको प्रतीक, अनित्यताको स्वभाव प्रकट गरेको, आगोको प्रतीक, गाँठो नभएको – निग्रन्थ आदिको प्रतीक रहेको बताउनुहुँदै दानको महिमा, आनिशंसका बारेमा उहाँले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो ।
सो कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई चीवर दान गरेका थिए । उहाँले नै अष्टपरिष्कारको वाक्य पनि वाचन गराउनुभएको थियो ।
साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनुभएको थियो ।
उक्त उत्सवमा ८९ जना अष्टपरिष्कारका दाताहरुले भिक्षु महासंघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।
Tag: lalitpur
-
थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा सम्पन्न
-
‘कायनगर’ पुस्तक विमोचन तथा बुद्ध धर्म संघ जूम परिवारद्वारा भन्ते, गुरुमाहरु अभिनन्दित
ललितपुर, असार ९ गते ।
भिक्षु धर्मगुप्त महास्थविरद्वारा नेपालभाषा, नेपाली र अंग्रेजी तीनवटा भाषामा अनुवादित पुस्तक ‘कायनगर’ को हिजो शनिवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आयोजित उक्त कार्यक्रममा भिक्षु धर्मगुप्त महास्थविर, भिक्षु भद्दिय महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर र भिक्षु अशोक महास्थविरले संयुक्त रुपमा विमोचन गरिएको उक्त पुस्तक ‘बुद्ध धर्म संघ जूम परिवार’ ले प्रकाशित गरेको हो । यस पुस्तक थाई भाषामा लेखक प्लाय्क शोन्थिराकले लेख्नुभएको हो ।
बुद्ध धर्म संघ जूम परिवार चौथो वर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा जूम परिवारद्वारा दैनिक रुपमा संचालन गरिरहेको बुद्ध धर्मको अनलाइन जूम कार्यक्रममा बुद्ध पुजा, ध्यान निर्देशन तथा धर्मदेशना दिइरहनु भएका भन्ते, गुरुमाहरुलाई कृतज्ञता ज्ञापन–पत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा भिक्षु धर्मगुप्त महास्थविर, भिक्षु भद्दिय महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर, उपासक शाक्यरत्न, उपासिका शान्ता शाक्य लगायतले विमोचित पुस्तक तथा अनलाइन जूम कार्यक्रमका सम्बन्धमा आ – आफ्ना विचारहरु पोख्नुभएका थिए । साथै ‘कायनगर’ पुस्तक प्रकाशनका लागि सहयोग गर्ने सबै दाताहरुको मंगल कामनार्थ भिक्षु संघ र अनागारिका संघद्वारा परित्राण पाठ पनि गरिएको थियो । -

यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न
सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते ।
यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य लगायत परिवारहरुले उक्त कथिन चीवर दानको आयोजना गरेका हुन ।
सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।
कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु सोमरत्नले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । कथिनदानसँग सम्बन्धित संयुक्त निकायको तिंसमत्तसुत्तका पालि गाथाहरु वाचन गर्नुहुँदै उहाँले उपासकउपासिकाहरुद्वारा गरिने यस कथिनदानका कारण भिक्षुहरुको श्रमणधर्म पालनामा सहजता हुने बताउनुभयो । यसदानको आनिशंस भिक्षुहरुलाई पनि ५ प्रकारले प्राप्त हुने तथा दाताहरुलाई पनि ५ प्रकारले नै फल प्राप्त हुने उहाँले धर्मदेशनाका क्रममा बताउनुभयो ।
साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।
उक्त उत्सवमा ८० जना अष्टपरिष्कारका दाताहरुले भिक्षु संघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।यसवर्षकाे कथिन समय तालिका
-
माझखण्ड बुद्ध विहारमा १० दिवसीय ध्यान शिविर
न्यूजअफ, ललितपुर, कार्तिक ३ गते ।
ललितपुर जिल्लाको दक्षिण भेगमा अवस्थित माझखण्ड बुद्ध विहारमा भिक्षु बोधिज्ञान महास्थविरको निर्देशनमा यही कार्तिक १ गतेदेखि १० दिवसीय ध्यान शिविर शुरु भएको छ ।
यस शिविरमा बसेर ध्यान, चंक्रमण ध्यान, जंगल ध्यानका साथै धम्मदेशना पनि दिने गरिएको छ ।
चिहान डाँडा, सल्ले डाँडा लगायतका जंगलहरुमा चंक्रमण गएर जंगलमा ध्यान बस्ने गरिएको छ ।
विहान ५ बजेदेखि बेलुका ८ः३० बजेसम्म ध्यानको समय तालिका मिलाइएको छ ।
शिविरमा ५ जना भन्तेहरु लगायत विश्व शान्ति विहारका २३ सहित अन्य १४ जना श्रामणेरहरु तथा १२ जना ऋषिणीहरु र ३ जना गुरुमाहरु गरी जम्मा ५७ जना शिविरमा सम्मिलित छन । जसमा दक्षिण अफ्रिकी मुलुक कंगाे एकजना भिक्षु समेत सहभागी छन । -
नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू
न्यूजअफ, ललितपुर, असाेज १३ गते ।
बु. सं. २५६७ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ७ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ ।
काठमाण्डौ, वानेश्वरस्थित विश्व शान्ति विहार परीक्षा केन्द्रमा काठमाण्डौ, भक्तपुर र काभ्रेका परीक्षार्थीहरु र ललितपुरको थैनामा रहेको यशोधरा मा.वि. परीक्षा केन्द्रमा ललितपुरका परीक्षार्थीहरुले परीक्षा दिइरहेका छन । यसका साथै देशका अन्य स्थानहरुमा पनि आजैदेखि परीक्षा शुरु भएको छ ।आजदेखि शुरु भएको परीक्षाकाे प्रथम पत्रमा पालि भाषा लगायतका विषयहरू समावेश छन् ।
विश्व शान्ति विहारमा ५७ जना र यशोधरा मा.वि.मा ९० जना परीक्षार्थीहरु सहभागी छन् भने अमेरिका तथा अष्ट्रेलियाबाट समेत गरेर जम्मा २०२ जना परीक्षार्थीहरूले यसवर्षकाे कक्षा ७–१०सम्मकाे परीक्षा दिंदैछन ।
-
थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित
सुनीता तुलाधर, ललितपुर, असार १० गते ।
थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा उक्त एकेडेमीको ‘पालि बौद्ध अध्ययन’ मा स्नातकोत्तर तह पुरा गरेको पहिलो समूहका विद्यार्थीहरुले आयोजना गरेको ‘आचार्यहरुको सम्मानसहित कृतज्ञता ज्ञापन र पालिभाषा उत्थानको लागि छलफल’ कार्यक्रममा यसरी आफ्ना पालि भाषाका आचार्यहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा भिक्षु धर्मगुप्त महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु संकिच्च महास्थविर, भिक्षु निग्रोध महास्थविर, भिक्षु सिरि वजिर स्थविर, भिक्षु सरणंकर स्थविर, अनागरिका अग्गञाणी, अनागारिका विमलञाणी, अनागारिका मधुभाणिनी, आचरियो सुवर्ण लाल बज्राचार्य, आचरियो मदन रत्न मानन्धर, आचरियो महेन्द्र रत्न शाक्य, आचरियो त्रिरत्न मानन्धर हुनुहुन्छ ।
दसौं वर्षदेखी पालि भाषा सिकाइरहेकोको फल आज मात्रै पाएकोमा प्रमुदित हुनुहुँदै आचार्य भिक्षु धर्मगुप्त महास्थविरले पालि भाषा अध्ययन गरेर तिपिटकलाई आफ्नै मातृभाषामा अनुवाद गरी जनमानसमा पुर्याउन सक्यौं भने यही नै पालि अध्ययनको सफलता हुने आशीर्वचन दिनुभयो ।त्यस्तै स्नातकोत्तर विद्यार्थीको तर्फबाट गुरु आचार्यलाई पालि भाषामै सम्मान व्यक्त गर्नुहुँदै अ. कुसलञाणी गुरुमाले बुद्धवचन संग्रहित भएको भाषा ‘पालिभाषा’ रक्षार्थ आचार्यहरुको प्रयत्न र ज्ञान अनुकरणीय रहेको बताउनुभयो । उहाँहरुको अनुग्रहले आफैले तिपिटकको सुत्त, जातक, धम्मपदट्ठकथा पढेर अर्थ समेत बुझ्न सकेकोमा कृतज्ञभाव प्रकट गर्नुभयो ।
नेपाल बौद्ध परियत्ति शिक्षा र थेरवाद बुद्धिष्ट एकेडेमीले पालिभाषाको अभिवृद्धिमा संरहानीय कार्य गरीरहेको छ । र यसमा सबैको एकताको बलले पालिभाषाको प्रचार सँगसँगै बुद्धशासन अझ सुदृढ हुँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा पालि भाषामै गुरु आचार्य र गुरुमाका साथै उपस्थित सबैलाई स्वागत गर्नुहुँदै अर्का पालि विद्यार्थी सुष्मा बज्राचार्यले पालिभाषाको अभिवृद्धिको लागि सक्दो प्रयास सँधै नै गर्ने प्रतिज्ञा गर्नुभयो ।
अर्का पालि भाषाका विद्यार्थी डा. रीना तुलाधरले १३ जना गुरु गुरुमाहरुले पालि कक्षा संचालनमा गर्नुभएको योगदानको स्मरण गर्दै कृतज्ञता ज्ञापन गर्नुभयो । थेरवाद बुद्धिष्ट एकेडेमीमा स्नातकोत्तर कक्षा संचालनका लागि प्रयास गर्नुभएका गुरुहरु तथा उक्त कक्षाका पहिलो समूहमा अध्यापन गर्नुभएका सबै गुरु तथा गुरुमाहरुले धेरै नै मेहेनत गरेर सिकाउनु भएकोमा पहिलो समूहका विद्यार्थीहरुका तर्फबाट कृतज्ञभाव उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा सबै गुरु आचार्य तथा गुरुमाहरुलाई पालि भाषामा नै लेखिएको ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ अर्पण गरिएको थियो ।
उक्त समारोहमा अ. ञाणवती गुरुमा, अ. चम्पावती गुरुमा, नरेन्द्र बहादुर तण्डुकार लगायतले बोल्नुभएको थियो भने आभा अवालेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

-
संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम
सुनीता तुलाधर, ललितपुर, ११ बैशाख ।
अरिय धम्मरक्खित नेपाल बुद्धशासन वंसालंकार सिरि संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा आइतवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
बिहार प्रमुख भिक्षु चन्द्रगुप्त महास्थविरले दीप प्रज्वलन गरी शुरु भएको धार्मिक कार्यक्रममा न्यू पेनजी पुस्तकमा आधारित अभिधर्मको बारेमा अग्गञाणी गुरुमाँले धम्मसाकच्छा गर्नुभयो ।प्रज्ञानन्द वृत्तचित्रको स्क्रीप्ट लेख्नुभएका मदन रत्न मानन्धरले दिवंगत प्रज्ञानन्द महास्थविरले लेख्नुभएको ‘संसारमा के के छ ?’ नामक कितावको बारेमा धम्मसाकच्छा गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका निवर्तमान उपाध्यक्ष, पद्यसुगन्ध विहारका विहार प्रमुख सुमेध महास्थविरले धर्मदेशना दिनुहुँदै नेपालका थेरवादका अग्रज भिक्षुहरुले आफ्नो निजी स्वार्थलाई नहेरी, भगवान बुद्धको शिक्षालाई कसरी जनमानसमा सही ढंगबाट पुर्याउन सधै लागि पर्नु भएको थियो सोही अग्रज भिक्षुको कठीन परिश्रमको कारण आज भगवान बुद्धको शिक्षालाई ग्रहण गर्न सकिरहेको बताउनुभयो ।
भिक्षु महासंघका उपाध्यक्ष शीलभद्र महास्थविरले परित्राणको व्याख्या गर्नुका साथै परित्राण पाठ गरिएको कार्यक्रममा प्रज्ञानन्द भन्ते जीवित अवस्था देखि नै शाक्यसिंह विहारमा सहयोग गर्दै आउनु भएका १० जना ज्येष्ठ उपासक उपासिकाहरुलाई दोसल्ला र खादा ओढाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुका साथै अक्षय कोषको लागि सहयोग गर्नु हुनेहरुलाई पनि सम्मान गरिएको थियो ।
-

माझखण्ड बुद्ध विहारमा सत (१०० जना) कुलपुत्रहरूकाे अल्पकालिन श्रामणेर प्रव्रज्या हुने
सत (१००) कुलपत्रहरूकाे १० दिने अल्पकालिन श्रामणेर प्रव्रज्या यही चैत २३ गतेदेखि बैशाख २ गतेसम्म माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा सम्पन्न हुने भएकाे छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारकाे संयुक्त आयाेजनामा हुन लागेकाे उक्त कार्यकामका लागि माझखण्डमा धमाधम तयारी हुँदै गरेकाे कुरा कार्यक्रमका आयाेजकले जनाएकाे छ ।

केही दिनदेखि परिरहेकाे पानीका कारण कार्यक्रम समय तालिकामा केही फेरबदल भएकाे छ । नयाँ तय भएकाे कार्यक्रम अनुसार चैत २२ गते प्रव्रज्या लिन चाहनेहरू साे विहारमा पुग्नुपर्ने, चैत २३ गते प्रव्रज्या कार्यक्रम र वैशाख २ गते समापन हुनेछ ।
यस कार्यक्रमकाे प्रत्यक्ष प्रशारण भिक्षु बाेधिज्ञान महास्थविरकाे फेसबुक पेज https://www.facebook.com/bodhijnana4342 बाट हुनेछ ।
-
अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान
सुनीता शिल्पकार, २४ माघ, ललितपुर ।
भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ ।
धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक धार्मिक कार्यक्रम बीच उहाँ र उहाँका परिवारले उक्त प्रतिमा अखिल नेपाल भिक्षु महासंघमार्फत उक्त महासंघका कोषाध्यक्ष एवं उक्त विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरलाई दान दिनुभएको हो ।बुद्ध प्रतिमा ग्रहण गर्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले पहिले माझखण्डको पोखरी डाँडा स्थित पानीट्यांकीमा बुद्ध प्रतिमा स्थापनाका लागि भएको शोभायात्रामा सहभागी हुनुभएका उहाँहरु अहिले आफूहरुले पनि भगवान बुद्धको प्रतिमा दान दिनुभएकोमा हर्ष व्यक्त गर्नुहुँदै साधुवाद दिनुभयो ।

यस्तै बुद्ध प्रतिमा दानको महत्वबारे भिक्षु पञ्ञासार महास्थविरले बुद्ध प्रतिमा दान गर्नु भनेको महाकुशल दान हो । यो रुख रोप्ने जस्तै कुशल कर्म हो । यो कार्यले अनन्त कालसम्म बहुजन हिताय बहुजन सुखाय हुनेछ । उहाँले यसप्रकार दान कार्यले दाता परिवार पनि यस जन्ममा खुशी हुन्छन्, अनि अर्को जन्ममा पनि खुशी हुनेछन् भन्नुभयो ।
दाता अमिता शाक्यले बुद्ध प्रतिमा दान गर्नुको उद्देश्य बारे बताउनुहुँदै २ वर्ष अघि धम्मसाकच्छा संघबाट चैनपूरमा बुद्धमूर्ति दान गरिरहेको बेला आफूले पनि यस्तै दान गर्न पाए हुन्थ्यो भन्ने मनमा धर्म संवेग जागेको र सोही कुरा आफ्नो श्रीमानसँग सल्लाह गरि माझखण्ड बुद्ध विहारमा राख्ने निधो गरका थियौं ।
उहाँले गृहिणीहरु घरमा बसेर गर्न सकिने जुनसुकै काम भएपनि गरिरहनु पर्दछ । समयको सदुपयोग गरिरहनु पर्दछ । सो कुराको अवलम्वन गरि घरधन्दाबाट केही समय निकालेर सुइटर, टोपी आदि बुनी जम्मा गरेको पैसाले यो बुद्धमूर्ति किनेर दान गर्न पाएको र दान गरिसकेपछि आफू एकदम भावविभोर भएको कुरा पनि उहाँले न्यूजअफसँगको कुराकानीमा बताउनुभयो ।उक्त धार्मिक कार्यक्रममा भिक्षु सागर महास्थविर, अनागारिका अरियञाणी, दाताका तर्फबाट कुलमान शाक्य लगायत उक्त विहारका अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएका थिए ।
उक्त धार्मिक कार्यक्रमका लागि ललितपुरबाट भिक्षु, अनागारिका गुरुमा लगायत उपासकउपासिकाहरु पनि सहभागि हुनुभएकाे थियाे । -
दाेश्राे बाल ध्यान भावना शिविर अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्रमा सम्पन्न
काठमाण्डाै, माघ ६ गते ।
यही पुष ३० गतेदेखि माघ ६ गतेसम्म यसवर्षको दोश्रो बाल ध्यानभावना शिविर अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा एक समारोहका बीच आज सम्पन भएको छ । भगवान बुद्धको उपदेश अनुसार दसशील पालना गरेर उक्त शिविरमा ९ जना बालिका र १४ जना बालकहरु सामेल भएका थिए ।

शिविरको अन्तिम दिन आज शिविर अवधिभर गरिएका लिखित, मौखिक परीक्षा एवं हाजिरीजवाफ प्रतियोगीता आदिका प्रथम, द्वितीय, तृतीय भएका साधकसाधिकाहरुलाई उक्त केन्द्रका कम्मथनाचार्य सयादो ऊ इन्दक महास्थविरले पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।
भगवान बुद्धको शिक्षा साना बालअवस्था देखि नै सिक्नुपर्ने भएकाले पनि यस्ता बाल शिविरहरु महत्वपूर्ण हुने कुरा उहाँले धर्मदेशना दिनुहुँदै शिविर अवधिभर सिकेका बुद्ध शिक्षाले बालबालिकाहरुलाई नैतिकवान बनाउन मद्दत पुग्ने बताउनुभयो ।
केही श्रामणेरहरुले ध्यान शिविरमा बस्दाको ध्यान अनुभव पनि उक्त समापन समारोहमा व्यक्त गर्नुभएको थियो ।
त्यसमा ९ जना बालिकाहरु नै ऋषिणीका रुपमा र ४ जना बालकहरु श्रामणेरका रुपमा सहभागी भएका थिए ।
बाल शिविरमा प्रत्येक दिन ध्यान बस्ने लगायत भगवान बुद्धको शिक्षाका बारेमा सहभागी बालबालिकाहरुलाई सिकाउने पनि गरिएको थियो । प्रत्येक दिनको समय तालिका यस प्रकार छ ।
















