Tag: buddha

  • करुणा बौद्ध केन्द्र, भकुण्डेचौरमा एकदिवसिय पवित्र महापरित्राण पाठ

    सुनीता तुलाधर, मंसिर ११ गते आइतवार, काठमाण्डाै ।
    काठमाण्डौको भकुण्डेचौरस्थित करुणा बौद्ध केन्द्र (करुणा विहार)मा मंसिर १० गते शनिवार एकदिवसिय पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । काठमाण्डौ त्रिपुरेश्वर निवासी रत्नदेवी तुलाधरलगायत उज्वल राज तुलाधर, निशा तुलाधर, सम्झना स्थापित, सुशीला तुलाधर, युनिशन राज तुलाधर एवं परिवारको आयोजनामा विश्वका सम्पूर्ण सत्वप्राणीहरुको कल्याणार्थ र दुःखबाट मुक्त होस भन्ने मंगलकामना सहित तथा आफ्ना दिवंगत नातेदारहरूकाे सुगित कामना सहित सो पवित्र महापरित्राण पाठ गरिएको हो ।


    भिक्षु भद्दिय महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गरी शुभारम्भ गर्नुभएको उक्त महापरित्राण पाठको उद्देश्य, आनिशंस (फल) र महत्वबारेमा धर्मदेशना दिनुहुँदै उहाँले प्रकाश पार्नुभएको थियो ।
    उहाँले धर्मदेशनाको क्रममा परित्राण भनेको चारैदिशाबाट आउने भय, बिघ्नबाधा हटाउने होे भन्नुहुँदै दाताहरुको तर्फबाट पनि ३ वटा अंग पुरा भएको हुनुपर्ने र भिक्षुहरुको तर्फबाट पनि ३ वटा अंग पुरा भएमा मात्रै यसको पुण्यफल सही रुपमा प्राप्त गर्न सकिने बताउनुभयो ।
    त्यस्तै महापरित्राणका आयोजक उज्वल राज तुलाधरले विहारमा आउँदा भन्तेहरुको संगतबाट केही थाहा नपाएकाहरुले पनि धेरै कुराको ज्ञान लिन सक्ने बताउनुभयो । भगवान बुद्धको पवित्र वचन, धर्मदेशना महापरित्राण पाठ उपासकउपासिकाहरुको कानमा पर्दा कुनै न कुनै रुपमा उहाँहरुको हृदय परिवर्तन सकारात्मक तर्फ होस भनेर विहारमा नै कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
    अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले महापरित्राण पाठ शुरु गर्न दाताहरुलाई प्रार्थना पाठ वाचन गराउनुभएपछि शुरु भएको उक्त पाठ कार्यक्रममा शुरुको चरणमा महापरित्राण मण्डपभित्र महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर, उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविर लगायत भिक्षु महासंघद्वारा सामूहिक महापरित्राण पाठ गरिएको थियो । यसपछि दुई दुईजना भिक्षुहरुको ७ वटा समूहबाट युगल महापरित्राण पाठ गर्नुभएको थियो भने अन्तमा पुनः भिक्षुहरुले सामूहिक पाठ गर्नुभएको थियो ।
    सो समूहमा पहिलो भिक्षु संघरक्षित महास्थविर र भिक्षु मेधंकर, दोश्रो भिक्षु शान्त सिद्धार्थ र भिक्षु शान्त शोभन, तेश्रो भिक्षु भद्दिय महास्थविर र भिक्षु सागर महास्थविर, चौथोमा भिक्षु धम्मशोभन महास्थविर र भिक्षु शीलभद्र महास्थविर, पाँचौंमा भिक्षु पञ्ञासार र भिक्षु गवेसको, छैठौंमा भिक्षु नारद र भिक्षु लक्खण तथा सातौंमा भिक्षु सुमंगल, भिक्षु उत्तमो, भिक्षु प्रसन्न, भिक्षु सुद्दिको भन्तेहरुले महापरित्राण पाठ गर्नुभएको थियो ।
    भिक्षु महासंघबाट सामूहिक रुपमा आह्वान सूत्र पाठ गरी सामूहिक रुपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा दाताहरु रत्नदेवी तथा परिवार एवं उपस्थित उपासकउपासिकाहरुले भिक्षु महासंघलाई दान प्रदान पनि गरेका थिए ।


    साथै दाता रत्नदेवी तुलाधर परिवारले भिक्षु महासंघको स्वास्थ्य कोषको लागि १ लाख रकम अनेभिमका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरलाई दान गर्नुभयो । उहाँहरुले करुणा बौद्ध केन्द्रमा निर्माण हुँदै गरेको अनागारिका भवनको लागि पनि १ लाख रकम उक्त केन्द्रका अ. चन्द्रशीला गुरुमांलाई दान गर्नुभयो । उक्त कार्यक्रममा सुबन राज तुलाधरले पनि आफ्नी आमा स्व. सुनकुमारी तुलाधरको सुगतिको कामना गर्दै केन्द्रलाई नगद दान गर्नुभयो ।
    कार्यक्रमको अन्तमा भिक्षु कोण्डन्य महास्थविरले अष्ट परिष्कार भिक्षुहरुको लागि आधारभूत आवश्यक वस्तु रहेको र यो बिना भिक्षुहरुको जीवन सहज रुपमा अगाडि बढाउन गाह्रो हुने भएकोले यसको धेरै नै महत्व रहेको कुरा संक्षिप्त धर्मदेशनामा उल्लेख गर्नुभयो । साथै उहाँले यसको वाक्य वाचन गराउनुभएपछि १२ जना दाताहरुले अष्ट परिष्कार दान गर्नुभएको थियो भने उहाँले सम्पूर्ण उपासक उपासिकाहरुलाई पुण्यानुमोदन गराउनु भएपछि पवित्र महापरित्राण पाठ सु–सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विहारबाट पाल्नु भएका भिक्षुहरु, अनागारिका गुरुमांहरु तथा श्रद्धालु उपासकउपासिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।


    कार्यक्रम अघि भिक्षुहरु, अनागारिका गुरुमाहरु एवं उपासकउपासिकाहरुबाट सामूहिक बुद्धपूजाका साथ दाताहरुले पवित्र महापरित्राणको पुस्तक एवं बुद्धका प्रतिमाहरु आ–आफ्ना शीरमा राखी करुणा बौद्ध केन्द्र परिक्रमा गरेर महापरित्राण स्थलभित्र प्रवेश गरेका थिए ।
    स्मरण रहोस, महापरित्राण पाठमा भगवान बुद्धले धर्मदेशना दिनुभएको जम्मा ३० वटा सुत्रहरु भिक्षुहरु धर्ममण्डपमा बसेर दिनभरी अटुट रुपमा पाठ गरिने गरिन्छ ।

  • माझखण्ड धातुचैत्य विहारमा दोश्रोपटक कथिन चीवर दान

    सुनीता तुलाधर, कार्तिक २२ गते मंगलवार, ललितपुर ।

    माझखण्ड धातुचैत्य विहार, माझखण्ड, ललितपुरमा नेपाल सम्वत ११४३ कछलाथ्व चतुर्दशी अर्थात कार्तिक २१ गते सोमवारका दिन दोश्रोपटक कथिन चीवर भिक्षु महासंघलाई दान गरिएको छ ।
    भिक्षु बोधिज्ञान महास्थविरले सो विहारमा ३ महिना सफलतापूर्वक वर्षावास पूर्ण गर्नुभएको अवसरमा कथिनदाता अनागारिका धम्मवती गुरुमालगायत धर्मर्किति विहारका नन्दावती गुरुमा, करुणवती गुरुमा, ध्यानवती गुरुमा, सुनीता गुरुमा, वण्णवती गुरुमा, सुवण्णवती गुरुमा, क्षान्तीवती गुरुमाका साथै भियतनामका गुएन थि थांगयांग एवं भियतनामी परिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको थियो ।

    अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले उपस्थित श्रद्धालु उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि औपचारिक रुपमा शुरु भएको उक्त उत्सवमा भिक्षु बोधिज्ञान महास्थविरले बुद्धपुजा गराउनुभएको थियो ।

    भिक्षु कोण्डन्य महास्थविरले धर्मदेशना दिनुहुँदै भिक्षु बोधिज्ञान महास्थविर सो विहारमा दोश्रो पटक पनि वर्षावास बस्नुभएको कारण विहारको मुहार फेरिने क्रम निरन्तर जारी रहेको बताउनुभयो । मुहार मात्र नभइ शरीरका अंगप्रत्यंग समेत फेरिन्दै गइरहेको र हाल विहारमा अनागारिका गुरुमाहरुका लागि आराम (आवास) पनि बन्न शुरु भैसकेको कुरा उहाँले बताउनुभयो ।
    कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सकिमिला पूर्णिमासम्म एक महिनाभित्र मात्र गर्न सकिने भएकोले कालदानका रुपमा पनि लिइने यस कथिन दान एउटा विहारमा एक वर्षमा एकचोटि मात्र गर्न सकिने दान हो । यो दान जोसुकैले पनि गर्न सकिने भनेर भगवान बुद्धले प्रज्ञप्त गर्नुभएको कुरा उहाँले धर्मदेशनाका क्रममा उपदेश दिनुभयो । राजामहाराजादेखि लिएर भिक्षुभिक्षुणी, श्रामणेरश्रामणेरी वा उपासकउपासिका जोसुकै श्रद्धावान व्यक्तिले गर्न सकिने यो कथिन चीवर दान महादानका रुपमा रहेको बताउनुभयो ।

    माझखण्ड विहारका संस्थापक अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले आफू भाषण गर्न नजान्ने, काम मात्रै गर्न जान्ने भन्नुहुँदै अनगारिका गुरुमाहरुका लागि छुट्टै साढे दुइ करोड लागतमा बन्दै गरेको आवास आगामी वर्षमा पूर्ण हुनुपर्ने धारणा राख्नुभयो । त्यसको लागि उहाँले सबैको सहयोगको अपेक्षा राख्नुभयो ।
    कार्यक्रमका अतिथि बागमति गाउँपालिकाका पूनः निर्वाचित अध्यक्ष वीरबहादुर लोप्सांगले विहारमा शौचालय निर्माणका लागि ५ लाख रुपैैया गाउँपालिकाका तर्फबाट शौचालय दानका रुपमा दिएको बताउनुभयो । उहाँले माझखण्डमा बाटोको स्तरोन्नतिका लागि गाउँपालिका एक्लैले मात्रै नसकिने भएकोले संघीय सरकार र प्रदेशले पनि यसको लागि सहयोग गर्न आव्हान गर्नुभयो ।

    अनेभिमहासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले कथिन चीवरको वाक्य वाचन गराउनुभइसकेपछि कथिन दाता गुरुमाहरुले उहाँ मार्फत भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभयो । त्यस्तै उहाँले अष्ट परिष्कारको वाक्य वाचन गराउनुभइसकेपछि अष्ट परिष्कार दाताहरुले दान गर्नुभएको थियो । यसपछि भिक्षु निग्राेध महास्थविरले यस पुण्यकार्यकाे पुण्य दिवंगत भिक्षु तथा दाता परिवारका दिवंगत नातेदारहरूलाइ पनि प्राप्त हाेस भनेर पुण्यानुमाेदन गराउनु भएकाे थियाे ।

    उक्त कार्यक्रममा कथिन दाता परिवारलाई विहारका तर्फबाट अनेभिमका अध्यक्ष भिक्षुले साधुवाद पत्र प्रदान गर्नुभएको थियो । त्यस्तै बुद्धधर्म प्रचारप्रसार एवं विहारका लागि सहयोग गर्नुहुने बागमती गापाका अध्यक्ष लोप्सांगका साथै वडाअध्यक्ष नवराज तिमिल्सिना, लगायत सञ्चारमाध्यमहरु इन्यूजअफ डटकम, नेपाल फाइभ, नेपाल मण्डल टिभि, बोधि टिभि, एनबि टिभिलगायतलाई मायाको चिनोका साथ सम्मान गरिएको थियो ।


    सो कार्यक्रमको शुरुवातमा कथिनदाता गुरुमाहरुलाई खादा लगाई सम्मान गरी कथिन चीवरलाई माझखण्डको स्थानीय क्षेत्रमा भिक्षुगण, अनागारिका गुरुमाहरु एवं उपासकउपासिकाहरुले शोभायात्रा गरिएको थियो । भने कार्यक्रमको अन्त वर्षावास बस्नुभएका भिक्षु बोधिज्ञान महास्थविरलगायत केही भिक्षुहरुका साथै कथिनदाता अनागारिका गुरुमाहरु एवं उपस्थित श्रद्धालु उपासकउपासिकाहरुले विभिन्न विहारबाट आउनुभएका भिक्षुगण र गुरुमाहरुलाई दान प्रदान गरेका थिए ।
    कथिन चीवर दानका लागि माझखण्ड धातुचैत्य विहारमा उपत्यकाका विभिन्न क्षेत्रबाट दर्जनौं सवारी साधनमा सयौं भिक्षु, अनागारिका, उपासकउपासिका र सञ्चारकर्मीको उपस्थितिले एउटा ठूलै उत्सव र मेला लागेको जस्तै देखिन्थ्यो ।
    स्मरण रहोस, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम माझखण्ड देशको राजधानी जोडिएपनि अति विकट रहेको एक क्षेत्र छ । ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको उक्त क्षेत्रमा माझखण्ड धातुचैत्य विहार, जसलाई माझखण्ड बुद्ध विहार पनि भनिन्छ, जुन विहार २० वर्षसम्मको अटुट मेहेनत र कठोर परिश्रमले बनेको थेरवाद विहार हो । जहाँ हाल अनागारिका गुरुमाहरुका लागि आश्रय स्थल, आरामको निर्माण कार्य तीब्र गतिमा भैरहेको छ ।

  • मणिमण्डप महाविहारमा कथिन चीवर दानोत्सव

    सुनीता तुलाधर, ललितपुर, कार्तिक ६ गते ।

    मणिमण्डप महाविहारका विहार प्रमुख एवं अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४७ औं वर्षावास र भिक्षु गवेसकोले प्रथम वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा शनिवारका दिन उक्त विहारमा भिक्षु महासंघलाई कथिन चीवर दान गरियो ।
    ललितपुर, क्वयलाछिका ९७ वर्षिया पूर्णमाया अवाले सहित आशाराम, प्रेमरत्न, आशामाया, नानीमाया, लक्ष्मी, बिणा तथा परिवारले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरलाई कथिन चीवर दान गरेका थिए ।


    भिक्षु शीलभद्र महास्थविरले उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुका साथै बुद्धपुजा गराउनु भएको थियो भने भिक्षु सुमेध महास्थविरले कथिन दानको महत्व र आनिशंसको बारेमा धर्मदेशना गर्नुभएको थियो । धर्मदेशनाका क्रममा उहाँले भगवान बुद्धले समेत कथिन दानलाई प्रशंसा गर्नुभएको कुरा बताउनुभयो । विनयपूर्वक वर्षावास पूरा गर्नुहुने भिक्षुको कारण कथिन दातालाई कथिन चीवर दान गर्ने सौभाग्य प्राप्त हुन्छ, साथ साथै कथिन दान कसलाई किन, कहिले हुन्छ भनेर पनि भिक्षु सुमेध महास्थविरले प्रकाश पार्नुभयो ।


    उक्त कथिन दानका दिन ९८ जना उपासकउपासिकाहरुले दान गर्नुभएको अष्टपरिष्कारको सम्पूर्ण रकम लुम्बिनीमा निर्माणाधीन थेरवाद बुद्ध बिहार निर्माणका लागि आर्थिक सहयोग स्वरुप जाने जानकारी भिक्षु शीलभद्र महास्थविरले उक्त कार्यक्रममा बताउनुभयो ।
    कार्यक्रमको शुरुवातमा कथिन चीवरलाई कथिन दाताका घर च्यासल, क्वयलाछिबाट मणिमण्डप महाविहारसम्म श्रद्धालु उपासकउपासिकाहरुले कथिन जात्रा गरी ल्याई पुर्याएका थिए र अन्त्यमा विभिन्न विहारबाट आउनुभएका भिक्षु, गुरुमांहरुलाई उपासकउपासिकाहरुले दान प्रदान गरेका थिए ।

  • सुमंगल विहार, लुँखुसि ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर सहित)

    असाेज २९ गते, ललितपुर ।

    डा. भिक्षु संकिच्च महास्थविर, भिक्षु पञ्ञारतन महास्थविर, भिक्षु खेम, भिक्षु साेम र भिक्षु सुमनतिस्स विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे उपलक्ष्यमा आज भिक्षु महासंघलाइ कथिन चीवर दान गरियाे । ललितपुरकाे लुँखुसिमा रहेकाे सुमंगल विहारमा नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर समुपस्थितिमा कथिन दाता विजय बहादुर शाक्य एवं सपरिवारले भिक्षु महासंघलाइ कथिन चीवर दान गरेका थिए । (तस्वीरहरू – जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)

  • अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बुद्धनगरमा कथिन चीवर दान सम्पन्न

    सुनीता तुलाधर, असोज २९, काठमाण्डौ ।

    कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना थेरवाद बुद्धधर्ममा एकदमै महत्वको महिनाका रुपमा लिइन्छ । यो एक महिना थेरवाद परम्परा अनुसार कथिन महिना अर्थात कथिन चीवर दानको महिनाका रुपमा मनाइन्छ ।
    यसै क्रममा काठमाण्डौ, बुद्धनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा पनि आज कथिन चीवर दान सम्पन्न भयो । म्यानमारका भिक्षु सयादो ऊ इन्दक महास्थविरलगायत भिक्षुहरु विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा अष्टरत्न एवं रत्नदेवी धाख्वा तथा परिवारले भिक्षु महासंघलाई पवित्र कथिन चीवर दान गर्नुभयो ।

    उक्त भावना केन्द्रका सयादो ऊ इन्दक महास्थविरले बुद्ध पुजा एवं उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि शुरुवात भएको कार्यक्रममा उहाँले धर्मदेशना पनि दिनुभयो । उहाँले ५ प्रकारका सम्मादिठ्ठी (सम्यक दृष्टि) का बारेमा व्याख्या गर्नुहुँदै धर्मदेशना दिनुभएको थियो । सयादोले राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो प्रतिफल आउँछ, त्यसैले हामीले सँधै शरीर, वचन र मन तीनैवटा द्वारबाट राम्रो कामहरु मात्रै सम्पादन गर्नुपर्छ तथा नराम्रो कामहरुबाट अलग हुनुपर्छ भनी धर्मदेशना दिनुभयो । उहाँले म्यानमार भाषामा दिनुभएको धर्मदेशनालाई भिक्षु ञाणवुधले नेपालीमा अनुवाद गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले किताबको ज्ञानले मात्र आफ्नो चित्त वशमा राख्न नसक्ने हुनाले केन्द्रमा आएर ध्यान सिकेर ध्यान अभ्यास गर्नुभई आफूलाई चिन्न अनुरोध गर्नुभयो ।

    धर्मदेशना पश्चात नेपालका आठौं संघनायक भिक्षु बोधिसेन महास्थविरले कथिन दानको वाक्य वाचन गराउनु भएपछि कथिन दाताहरु अष्टरत्न धाख्वालगायत उहाँका छोरीहरु अनागारिका अग्गञाणी धम्मचरिय, अमिता, रमिता, सबिता, संगीता, श्रद्धा, सति र ललिता धाख्वाले संयुक्त रुपमा भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको थियो । यसपछि नेपालका संघनायकले अष्ट परिष्कारको वाक्य वाचन गराउनु भएपछि १७४ जना अष्ट परिष्कार दाताहरुले भिक्षु महासंघलाई अष्ट परिष्कार दान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा श्रद्धालु उपासकउपासिकाहरुले भिक्षुगण र अनागारिका गुरुमाहरुलाई विभिन्न वस्तुहरुसहित दान प्रदान गरेका थिए ।

    केन्द्रका सचिव ललिता धाख्वाले आजै केन्द्रको ३७ औं वार्षिक उत्सव पनि भएकोले उक्त केन्द्रले वर्षभरि गरेका विभिन्न गतिविधिहरुका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । र कार्यक्रममा सम्पूर्ण सहभागी महानुभावहरुलाई केन्द्रका उपाध्यक्ष मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गर्नुभयो ।

  • शाक्यसिंह विहार, ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

    ललितपुर, असाेज २६ गते ।

    नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविरका समपुस्थितिमा ललितपुर, थैनास्थित श्री शाक्यसिंह विहारमा आज कथिनचीवर दान सम्पन्न भएकाे छ ।

    (तस्वीरहरू – जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)

     

  • यसवर्षको पहिलो कथिन चीवर दान सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

    सुनिता तुलाधर, ललितपुर, असोज २४ ।

    यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
    बौद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दान आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्यको कार्यको रुपमा लिईन्छ ।

    बौद्धजन विहारमा काठमाण्डौ निवासी रत्नकाजी र चमेली शाक्य परिवार, राजेश्वर र बिमला बज्राचार्य परिवार, पूर्ण रत्न र नानीकेशरी बज्राचार्य परिवार, धर्मरत्न र पद्मतारा शाक्य, शान्ति शाक्य, गौतम र समुन्द्र देवी ताम्राकार, सबिता तुलाधर, अमृत रत्न तुलाधर, कविता तुलाधर, बुद्ध उपाली मानन्धर र धर्मदेवी महर्जन लगायत मुख्य दाताका रुपमा उक्त कथिन चीवर दान आयोजना गरिएको हो ।
    सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।

    कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु संकिच्च महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।
    कथिन चीवरका दाताहरु ११ जना रहेका थिए भने ८३ जना अष्ट परिष्कारका दाताहरु रहेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।

     

  • बुद्ध जयन्तीकाे अवसरमा मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण

    २५६६ औं बुद्ध जयन्ती (स्वाँया पुन्हि) काे अवसरमा ललितपुरकाे पट्काे स्थित मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण गरीयाे ।

    उक्त विहारका विहारप्रमुख श्रद्धेय भिक्षु शीलभद्र महास्थविरले धर्मदेशनाकाे क्रममा कुनै पनि अतिवादलाइ छाडेर सम्यक मार्ग अपनाउने शीक्षा भगवान बुद्धले दिएर जानुएकाे बताउनुभयाे । नेपालकाे लुम्बिनीमा आजकै दिन कपिलवस्तुका राजकुमार सिद्धार्थका रूपमा महामायाकाे काेखबाट जन्मिनु भइ बाेधगयामा बाेधिज्ञान प्राप्त गरेपश्चात बुद्धका नामबाट प्रख्यात हुनुभयाे, आजकै दिन कुशीनगरमा महापरिनिर्वाण हुनुभयाे । यसरी आजकाे दिन त्रि–संयाेग परेकाे दिनका रूपमा पनि लिइन्छ ।

    उक्त विहारमा उपस्थित भिक्षुहरू र उपासकउपासिकाहरूद्वारा बुद्धपुजा र प्राथना पनि गरिएकाे थियाे ।

    साथै उक्त विहारकाे संरक्षणार्थ र विहारमा बस्नु हुने भिक्षुहरुका लागि चतुप्रत्यय व्यवस्थापनकाे अक्षय काेषका लागि आर्थिक सहयाेग गर्नुहुने दाताहरूलाइ पनि सम्मानका साथ प्रमाणपत्र श्रद्धेय भिक्षु शीलभद्र महास्थविरले वितरण गर्नुभएकाे थियाे ।