Tag: bodhigyan bhante

  • श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा/ भाग – २

    शाक्य रत्न, पाको न्यूरोड ।

    च) सांकेटिक पाटीको महत्व
    हिलेबाट करिब सवाघण्टाको यात्रा पश्चात गलत बाटोतिर पो लागियो की भन्ने भान भएर सोधी खोजी गर्दा हामीले भोजपुरको सट्टा खोटाङ्गको बाटो समात्न पुगेका रहेछौं । यसको कारण हो, उक्त स्थानमा बाटोको संकेट दर्शाउने कुनैपनि सांकेटिक पाटी थिएन, जुन हामीले अन्त सबैतिर पायौं र त्यसैको आधारमा हामी हिलेसम्म सजिलै आइपुग्यौं । हुन त हामीले खाना खाएको होटलमा सोधेका पनि थियौं र, वहाँले गर्नु भएको ईशाराले बाँया सिधा भन्ने बुझेर बाँयातर्फको सिधा बाटो लागेका थियाैं । तर, हिलेबाट बायाँ सिधा नभई पुनः अर्को बायाँ नै मोडिने राम्रो बाटो रहेछ, जुन हामीले हेक्का राख्न सकेनौं ।
    जेहुनु भइसक्यो, अलमल गरेर थप समय व्यतित गर्नु बुद्धिमानी नदेखिएकाले हामी तत्कालै पुनः सवाघण्टाको बाटो फर्केर हिले आइपुग्यौं । यसरी हामीहरुको साढे दुइघण्टा व्यर्थमा गयो ।
    तरपनि हामीमा कुनै निराशा थिएन । किनभने एक त पहाडको स्वच्छ वातावरणको रमाइलो यात्रा, अर्को बेला–बेलामा पूजनीय भिक्षु बोधिज्ञान महास्थिविरज्यूबाट मैत्रीपूर्वक हामीहरुको स्थितिको बारेमा अभिभावकत्व लिनु भएर यात्रामा हामीलाई हौसला प्रदान गर्दै हुनुहुन्थ्यो । यही र यस्तै सुखानुभवको क्षण सँगाल्दै व्यतित समयको चिन्ता भुलेर रमाइलो साथ यात्रा गर्दै भोजपुर बजारबाट केही दूरीमा रहेको पुरानो बजार क्षेत्र टक्सारस्थित शाक्यमुनि विहारमा साँझको करिब पौने सात बजे पुग्यौं ।
    विहारमा पुगेपछि तथागत शाक्यमुनिको प्रतिमालाई वन्दना पश्चात पूजनीय भिक्षु बोधिज्ञान महास्थविर लगायत सबै अल्पकालिन प्रवजित श्रामणेहरुलाई वन्दना तथा भलाकुसारी गर्यौ । जे हुन्छ ठीकै हुन्छ भनेको कथन जस्तै हामी विहारमा पुग्दा साँझको जूम ध्यान कार्यक्रम संचालन भैरहेको रहेछ, र, यही मौकाको सदुपयोग गरी पूजनीय भन्तेको अनुमति लिएर जूममा प्रत्यक्ष बस्नु भएका योगी मित्रहरुसँग पनि साक्षात्कार गर्ने अवसर हामीलाई मिल्यो । यसरी केही क्षण सबैसँगको भलाकुसारी पछि पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट आज्ञा लिई भोलि बिहानै विहारमा पुग्ने वाचाका साथ हामी भोजपुरको “भिन्तुना लज” तर्फ लाग्यौं । जुन लज हामीले भोजपुरको यात्रा गर्नु अघि नै कल्याणमित्र “दान दाजु”को सल्लाह बमोजिम पहिले नै बुकिंग गरिसकेका थियौं । दिनभरीको यात्राबाट सबैजना थाकिसकेकोले लजमा पुगेको केहिछिन पछि बेलुकाको खाना खाएर आराम गर्यौं ।
    छ) शाक्यमुनि विहारमा सम्पादित कुशल पुण्य कार्य


    भोलिपल्ट अर्थात भोजपुर पुगेको दोश्रो दिन मिति २०८१ साल आश्विन २ गते मधुपूर्णिमा (येँयाःपुन्ही) को दिन विहानको ५ः४५ बजे हामी सबैजना तयार भएर भिन्तुना लजबाट शाक्यमुनि विहारको लागि प्रस्थान गर्यौं । यस दिन पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट हामीहरुको अनुरोधलाई अनुकम्पा राख्नु भएर स्वीकृती प्रदान गर्नु भए बमोजिम श्रद्धेय भन्तेहरुलाई तथा विहारमा श्रद्धा आस्था राखेर आउनु हुने सम्पूर्ण उपासकउपासिकाहरुलाई “जलपान – भोजन दान” गर्ने अवसर प्राप्त भयो ।


    यस्तै अन्य विभिन्न कुशल धार्मिक कार्य अन्तर्गत पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट पञ्चशील, अष्टशील ग्रहण, त्रिशरण गमन तथा बुद्ध पूजा र पुण्यानुमोदनाको साथै श्रद्धेय भन्तेहरुलाई तथा नवनिर्मित शाक्यमुनि विहारको निर्माण कार्यमा सहयोग पुगोस भन्ने कुशल मनसायले यथासक्य जिन्सी तथा नगद श्रद्धादान गर्ने अवसर प्राप्त भयो । यी सम्पूर्ण पुण्य कार्य पश्चात पूर्व निर्धारित कार्य योजनानुसार पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यूको आव्हानमा जलपान पछि हामी यात्रामा सहभागीहरुका साथै विहारका अध्यक्ष तथा उपासकउपासिकाहरु सल्लाघारी हुँदै स्वधाःहिटीसम्म चंक्रमण ध्यानको लागि श्रद्धेय भन्तेहरुसँगै लाग्यौं ।

    करिब डेढ घण्टाको चंक्रमण ध्यान विहारबाट सल्लाघारी हुँदै स्वधाःहिटीमा आएर सम्पन्न भयो । विहानको घमाइलो, स्वच्छ मौसम र प्रदूषण विनाको सफा वातावरणमा विहारबाट पक्कि सडक हुँदै सल्लाघारीको हरियाली वन तथा टक्सारबाट बजार आउजाउ गर्ने पुरानो (सडक सञ्जालको कारण ओझेलमा परेर केही समय अगाडीसम्म घाँसको झ्याँगले ढाकेर बन्द अवस्थामा रहेकोमा वर्षावास बस्नु भएका पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यूको अगुवाईमा अल्पकालिन श्रामणेर भन्तेहरु तथा विहारका स्थानीय उपासक उपासिकाहरुको टोलीले सरसफाई अभियान चलाउनु भएर हाल सफा र चिटिक्क परेको) सिंढीको बाटो हुँदै स्वधाःहिटीमा पुगेपछि चंक्रमण ध्यान सम्पन्न भयो ।
    यसरी उकालो ओरालो एकफन्को चंक्रमण ध्यानको कारण पसिना पसिना भएर थकाइको महशूस गरेका हामी प्रकृतिको वरदान उक्त स्वधाःहिटीमा पुग्ने बित्तिकै हामी सबै हिटीको पानीमा खेलेर र अमृतसमान चिसो तथा स्वादिलो पानी पिएर रमाउँदै प्यास र थकान मेटाएर पुनः विहारमा पुग्यौं ।

    विहारमा पुगेपछि विहारका सहयोगी कल्याणमित्र दिदीबहिनीहरुले तयार पारेको भोजन पूजनीय भिक्षु बोधिज्ञान महास्थविर लगायत अल्पकालिन श्रामणेर भन्तेहरुलाई श्रद्धापूर्वक भोजन दान प्रदान गरी हामीहरुले पनि भोजन खाएपछि दिनको समयमा विहारको अध्यक्ष श्री प्रकाश शाक्यको नेतृत्वमा भोजपुरको विभिन्न स्थानहरु अवलोकन गर्ने योजना बनाएर केही बेर आराम गर्यौं ।

    ज) शाक्यमुनि विहार, एक झलक
    यसै मौकामा यस शाक्यमुनि विहारको बारेमा मैले सुनेको÷बुझेको केही ऐतिहासिक महत्वका कुरा शेयर गर्नु उचित होला जस्तो ठानेर उल्लेख गर्ने जमर्को गरेको छु ।

    नेपालको बौद्ध इतिहासको चर्चित व्यक्तित्व बौद्ध ऋषि महाप्रज्ञाद्वारा, टक्सार, भोजपुरमा वि.सं. १९९३ सालमा स्थापित यो शाक्यमुनि विहार आधुनिक नेपालको सबैभन्दा पहिलो थेरवादी बुद्ध विहार रहेछ । त्यतिखेर बुद्ध धर्मको लागि जहानियाँ राणा शासनको वक्रदृष्टि परेको कारण नेपालमा बौद्ध वातावरण थिएन र बुद्ध धर्मको गतिविधिमा पाबन्दी लगार्ईएको अवस्था थियो ।
    यस्तो परिस्थितिको बावजूद बौद्ध ऋषि महाप्रज्ञाको प्रयास स्वरुप त्यतिबेलाका वहाँका चेला श्रामणेर अमृतानन्द सहितले यो विहारको स्थापना गरेरै छाडे । फलस्वरुप राणाशासकको प्रशासनले बुद्ध धर्म प्रचार गरेको आरोपमा बौद्ध ऋषि महाप्रज्ञालाई कैद गरेर भोजपुरको कारागारमा बन्दी बनाइदियो । र, चेला तत्कालिन श्रामणेर अमृतानन्दलाई घर जान आदेश दिइयो । तर बुद्ध धर्म र गुरुप्रति आस्था अनि निष्ठाका साथ अघि बढ्नु भएका तत्कालिन श्रामणेर अमृतानन्दले मेरो गुरुलाई जहाँ राखिइएको छ, म त्यहीं बस्छु भनेर ढिपी गर्नु भै गुरुसँगै कारगारमा नै बस्नुभयो ।
    यसरी बुद्ध धर्मको इतिहासको कालो पक्षको साक्षीका रुपमा रहेको यस विहारबाट पछिल्लो समय दिवंगत श्रद्धेय भिक्षुहरु शाक्यानन्द महास्थविर, सुबोधानन्द महास्थविर, प्रज्ञारश्मी महास्थविर, विवेकानन्द महास्थविर, श्रामणेर सुगतानन्द, बौद्ध ऋषि महाप्रज्ञा तथा अनागारिका सुशीला, रत्नमञ्जरी जस्ता दिग्गज भिक्षु र गुरुमाँहरु उत्पादन गरेर बुद्ध शासन चिरस्थायी गर्नको लागि ठूलो योगदान दिनुभएको छ । साथै भोजपुरको टक्सारमा जन्मनु भएर बुद्ध शासनमा लाग्नु भएका श्रद्धेय भिक्षु सागर महास्थविर (हाल ऐतिहासिक सुमंगल महाविहार) मा आवासीय भिक्षुको रुपमा रहनु भएको छ ।
    यस्तो गर्विलो इतिहास बोकेको यो शाक्यमुनि विहार पछिल्लो दिनमा भने यहाँका बौद्ध उपासकउपासिकाहरु बसाई सर्ने क्रममा उपत्यका तथा अन्यत्र जान थालेपछि आवासीय भन्ते गुरुमाँ र उपासकउपासिकाको कमीले यस विहारको गतिविधीमा पनि कमी आउन थालेको रहेछ । हालको अवस्थामा भन्नुपर्दा यस विहार तथा टक्सारका जागृत विद्वत तथा बुद्ध धर्मप्रति आस्थावान व्यक्तिहरुको विशेष पहलको कारण शाक्यमुनि विहारको नयाँ पक्कि भवन बन्दै गरेको देखेर पुनः बुद्ध धर्मको गतिविधिले गति लिनेछ भन्ने आशाका साथ हामीहरुमा हर्ष अनि प्रिती सञ्चार भएको छ । र, हामी सबैको तर्फबाट शाक्यमुनि विहारको नयाँ भवन यथाशिघ्र पूरा भई बुद्ध शासन चिरस्थायी गर्न योगदान पुगोस भनी आशिका तथा धेरै धेरै मैत्रीमंगल कामना गर्नुका साथै विहार निर्माणमा दत्तचित्त भएर लागिरहनु भएका सबैलाई यात्रामा सहभागी हामीसबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।
    झ) भोजपुरको छोटो अवलोकन भ्रमण
    केहिछिनको विश्रामपछि भोजपुरको विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराउनको लागि विहारका अध्यक्ष प्रकाश शाक्यले कुशल पथप्रदर्शकको रुपमा पूजनीय भिक्षु बोधिज्ञान महास्थविरको साथ हामीलाई भोजपुरस्थित बौद्ध गुम्बाहरु, भोजपुर बजार क्षेत्र, सप्तहिटी (सातधारा), पानीट्यांकी, सिद्धकाली मन्दिरको माथिल्लो छेउमा बनाइएको पूरै भोजपुरको दृश्यावलोकन गर्न सकिने स्थानहरुको अवलोकन भ्रमण गराउनु भयो । यसबारेमा माथिपनि अलि उल्लेख गरिसकेको कुरा अनुरोध गर्न चाहन्छु । र, अवलोकन भ्रमण सकेर साँझ ५ः०० बजे विहारमा पुगेर साँझको बुद्ध पुजा, महासतिपट्ठान पाठ तथा छोटो समयको ध्यान कार्यक्रम पश्चात पूजनीय भन्तेबाट आज्ञा लिई हामी बसेको लजतर्फ लाग्यौं । दिनभरीको विविध कार्यहरुमा सहभागीताले थकानको महशूसका साथ भोली काठमाडौं फर्किनके तयारी गरी सबैले आराम गर्यौं ।

     

     

    ञ) भोजपुरबाट दिक्तेल हुँदै हलेसी यात्रा
    दुइ रात र एक दिनको बसाई पछि मिति २०८१ साल आश्विन ३ गते विहानी बुद्ध पूजा र पूजनीय भिक्षु बोधिज्ञान महास्थविरसँग विदाई भेट गरेर काठमाडौं फर्किन विहानको ६ः०० बजे शाक्यमुनि विहार पुग्यौं । विहार पुगेपछि केही जलपान र टक्सारको प्रसिद्ध बम्बैसन (अध्यक्ष प्रकासको विशेष पहलमा राती नसुतिकनै तयार पारिदिनु भएको) मिठाई लिएर सबैसँग भलाकुसारी गरी विहानको करिब ९ः०० बजे योजनानुसार हलेसी हुँदै काठमाडौं फर्किने क्रममा हामी दिक्तेल तर्फ लाग्यौं । भोजपुरबाट हलेसी १२३ कि.मि. र हलेसीबाट काठमाडौं २१८ कि.मि.को दुरी रहेको र एकैदिनमा काठमाडौं पुगिने जानकारी पाएकोले हामी उत्साहित भएर दिक्तेल तर्फ लाग्यौं ।
    तर केही बेरको यात्रा पश्चात दिक्तेल तर्फ जाने २ वटा बाटो भएको र एउटा बाटो धेरै नै खराब तथा अर्को बाटो त्यस्तै १० कि. मि. जति ठाउँ ठाउँमा अलि अलि खराब रहेको र बाँकी बाटो राम्रो रहेको जानकारी पायौं । र, स्थानीयहरुबाट प्राप्त जानकारी अनुसार अलि अलि खराब भनेको बाटोबाट यात्रा तय गर्ने निधो गरेर हामीले यात्रा अघि बढायौं । हतार नगरीकन यात्रा गर्ने हामीहरुको स्वभाव भएकोले दिक्तेल तर्फ लागेको केही समय पश्चात बाटोमा एउटा सुन्दर झरना देखेर उक्त झरनामा फोटो सेशन र झरनाको शितलतामा रमाउँदै केही समय व्यतित गरी यात्रालाई अगाडी बढायौं । यात्रा सुरु गरेको केही समय पश्चात जानकारी पाए अनुसार पिचबाटो समाप्त भई ग्राबेलको बाटोबाट हामीहरुको यात्रा अघि बढ्यो । त्यसपछि हाम्रो जीपको गतिपनि ढिला हुन थाल्यो, गति बढाउने स्थिति पनि थिएन । त्यसैले सम्हालिंदै यात्रा गर्दै जाँदा केही दिन अगाडीको वर्षाले हिलाम्य बनाएको बाटो सुरु हुन थाल्यो । केही स्थानमा त गाडीबाट ओर्लेर गाडीको चक्का हिलोमा नफसोस भन्ने हेतुले ढुँगा राख्दै गाडीलाई सहज बनाउँदै विस्तारै यात्रा गर्यौं । कुनै ठाउँमा गाडीलाई बोझ नहोस् भनेर हिंडेर पनि सहजता बनाउँदै यात्रा गर्यौं । र, हिंडाईको क्रममा सबैले पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले अनुकम्पा राख्नु भई सिकाउनु भएको चंक्रमण ध्यान स्मरण गर्दै वहाँलाई हृदयदेखी साधुवाद अर्पण गर्दै कठीन बाटो तथा समयलाई पनि धैर्यपूर्वक पार गर्यांै । यहाँनिर नआत्तिकन धैर्य अनि सहनशिलताका साथ अगाडी बढेमा जुनसुकै समस्यालाई पनि पार लगाई सफलता हासिल गर्न सकिन्छ भन्ने बुद्ध शिक्षा श्रवण गरेकाले हामीले त्यही गुण विकास गर्न सकेको महशूस भयो । त्यसैले तथागत बुद्धको सत्य वचन मंगलसूत्रको “कालेन धम्मसवणं एतं मंगलमुत्तमं ।” भन्ने मनन गरी बेला बेलामा श्रद्धेय भन्तेहरुबाट बुद्ध शिक्षा अनि उपदेश श्रवण गर्ने गरेकाले हामीमा धैर्य र सहनशिल गुण विकास भई कठीन यात्रापनि सहजताका साथ तय गर्न सकेको महशूस भयो । हामीलाई मैत्री र कल्याण चित्तका साथ बुद्धको अमृतमय धर्म र शिक्षा दान दिनुहुने सम्पूर्ण भिक्षु तथा गुरुमाँहरुलाई सहृदय कोटी कोटी नमन तथा साधुवाद ।
    ट) दिक्तेलमा भोजन र हलेसीमा बास
    यसरी पहाडी हिलाम्य र कच्चिबाटो छिचोल्दै दिनको २ः०० बजे हामी दिक्तेल बजार पुग्यौं । दिक्तेल बजार चाहिं सानो र धुलाम्य भएको पायौं । हामीले दिनको खाना खाएका थिएनौं । त्यसैले एउटा अलि सफा पसल रोजेर खाना अर्डर गरी बाटोको थकाई मार्न विश्राम गर्यौं । केही बेर पछि खाना तयार भयो । थकान र भोकले होला खाना तयार भएको खबर पाउनासाथ ज्ञानी भएर टेबलमा बसी दायाँ बायाँ नगरी खाना खान थाल्यौं । खाना खाइवरी पैसा तिर्दै गर्दा साहुजीलाई काठमाडौं पुग्न कति समय जति लाग्ला भनेर सोधेकोमा आज हलेसीमा बास बसी भोलिमात्रै यात्रा गर्न सुझाव दिनु भयो । कारण जान्न खोज्दा हलेसीबाट काठमाडौं जाने बाटो केही किलोमिटर कच्ची भएकोले आज यात्रा गर्यो भने आधारातमा मात्रै काठमाडौं पुगिने कुरा खुलाउनु भयो । त्यसपछि सुझावको लागि धन्यवाद दिंदै हलेसीमा बास बस्ने निधोगरी हामीले यात्रा सुरु गर्यौं ।
    झण्डै डेढघण्टाको यात्रा पश्चात हामी दिक्तेल बजारबाट हलेसी पुग्यौं । हलेसी पुगेपछि जाम्बाला भन्ने रिसोर्टमा हामी बास बस्यौं । अफसिजन भएको कारण होटेलहरु खाली खाली रहेछन् । एकछिन चिया पियर फ्रेस भएपछि हलेसी महादेव मन्दिरमा हुने साँझको आरती बारे जानकारी पाईयो । धार्मिक सहिष्णुतालाई ख्याल गर्दै साँझको आरती हेर्ने र बेलुकाको खाना केही हल्काफुल्का खाने सल्लाहका साथ हामी मन्दिर तर्फ लाग्यौं । हामी पुग्दा आरती सुरु हुनै लागेको रहेछ । एकैछिनमा स्पिकरमा आरतीको गाना बजाउँदै एकजना पुजारीले आरती सुरु गर्यो । रमाइलो मानी आरती हेर्ने र फोटो लिने कार्य भयो । आरती सकिएपछि बास बसेको होटेल फर्किने क्रममा एउटा रेष्टूराँमा केही छिन यात्राको रमाइलो कुराकानी हँसिमजाक गरी हल्काफुल्का खाइवरी बाटोको थकान भुलेर भोलीको यात्राको लागि आवश्यक तयारी गरी आराम गर्यौं ।
    ठ) हलेसी मन्दिर घुमघाम गरी शिव पार्वती गुफामा ध्यान भावना


    भोलि अर्थात् मिति २०८१ साल आश्विन ४ गते शुक्रवारका दिन विहान ७ः०० बजे सबैजना तयार भएर पहिला महादेव मन्दिर अवलोकन गर्ने अनि पूजनीय भिक्षु बोधिज्ञान महास्थविरको सुझाव बमोजिम मन्दिर पछाडी रहेको गुफामा केहीछिन ध्यान बस्ने र त्यसपछि चिया नास्ता खाएर काठमाडौंको यात्रा गर्ने योजना र सल्लाह पछि हामी हलेसी महादेव मन्दिर तर्फ लाग्यौं । मन्दिर राम्रो लाग्यो, र केही महायानी लामा गुरुहरु पनि मन्दिर परिसर भित्र पाठ गरिरहेको देख्न पायौं । यस्मा मलाई आश्चर्य लागेन । किनकी महादेव अर्थात् शिव विरुपाक्षबाट बच्नको लागि तथागत बुद्धको शरणमा आएको र पछि शिक्षा ग्रहण पश्चात मोक्ष भएको भन्ने सुनेको पढेको अनि देखेको पनि छु ।
    देखेको भन्नाले काठमाडौंको डल्लु जाने बाटोमा एउटा ढलेको शिवलिंग सबैले देख्न सकिन्छ । पौराणिक शास्त्र कथनानुसार विरुपाक्षले पापमोचनको लागि शिवसँग सल्लाह माग्दा ज्यानै जाने खालको गलत सल्लाह दिएकोले क्रोधले शिवलिंग नष्ट गर्ने क्रममा डल्लुको शिवलिंग ढालेको र अन्तमा पशुपतिमा क्षति पुुर्याउन जानेक्रममा तथागत बुद्धले थाहा पाउनुभएर आफ्नो रुप प्रकट गर्नु भएको थियो । यसरी पशुपतिमा विरुपाक्षले बुद्ध विराजमान भएको देखेर ढोग गरी बाहिर छेउ मै समाधिस्थ भएको विरुपाक्षको मूर्ती अझैपनि सोही स्थानमा रहेको छ । र, यसै कथनानुसार हरेक वर्ष मुखाष्टमीको दिन पशुपतिलाई बुद्धको चतुर्मुख मुकुट (मैत्री, करुणा, मुदिता र उपेक्षा भावको) पहि¥याउने प्रचलन हालसम्म पनि चलिआएकै छ । यसको अर्थ हो विरुपाक्षबाट बच्न शिव बुद्धको शरणमा गएको र पछि बोधिसत्व भएकोले बौद्धहरुले शिवलाई बोधिसत्वको रुपमा मानिंदै आएको छ । यसैकारण तथागत बुद्धलाई “सत्था देव मनुस्सानं बुद्धो भगवा’ति” अर्थात सम्पूर्ण देव मनुष्य अमनुष्यका शास्ता (गुरु) भगवान बुद्ध हुन् भनी हामी बुद्धलाई वन्दना गर्ने गर्दछौं ।
    केहीबेर मन्दिरको अवलोकन पश्चात हामीहरु ध्यान गर्ने उद्देश्यले पछाडी पट्टी रहेको शिव पार्वती नामको गुफामा गर्यौं । उक्त गुफामा पनि लामा गुरुहरु पाठ तथा ध्यान साधनाको लागि बस्नु भएको रहेछ । र एकजना हिन्दू पुजारी पनि एउटा ठाउँमा बस्नु भएको रहेछ । हामीहरुचाहीं लामा गुरुहरुको अनुमति लिएर बीचमा बस्यौं । १५ मिनेटको छोटो ध्यान पश्चात गुफालाई राम्ररी नियालेर हेर्दा गुफाको माथि एउटा ठूलो प्वाल देख्यौं । त्यस प्वालको बारेमा सोधखोज गर्दा गुरु पद्मसंभव सोही गुफामा ध्यान बस्नु भएर पछि उक्त प्वालबाट अन्तरध्यान भएको भन्ने जानकारी पायौं । ध्यान समाप्ती पश्चात पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट हामीले सिकेको चतुआरक्खा भावना पाठ तथा पुण्यानुमोदना गरेर ध्यान कार्यक्रम समाप्त गरी केही बेर गुफामा बिताई हामी चिया नास्ताको लागि रेष्टूराँ तिर लाग्यौं । र, चिया नास्ता पछि करिब १०ः०० बजे तिर हामीले पुनः काठमाडौं तर्फको २१८ कि.मि.को यात्रा सुरु गर्यौं ।
    ड) यात्राको अविस्मरणीय पल सँगाल्दै काठमाडौं तर्फ प्रस्थान
    यात्रा गर्दै जाँदा बाटोमा त्रिशरण गमन, बुद्ध वन्दना, चतुआरक्खा भावना, ज्ञानमाला गाउँदै १२ः०० बजेतिर हामी घुर्मी भन्ने स्थानमा पुगियो । घुर्मी पुगेपछि सबैले भोक लागेको महशूस गर्न थालेकाले खाना खाएर यात्रा अघि बढाउने निधो गरी एउटा होटेलमा छिर्यौं । होटेल राम्रो लाग्यो सबैले मिक्स खाना (ढिंडो र भात) सहितको शाकाहारी खाना अर्डर गरी एकछिन बसिबियाँलो गरेपछि अर्डर अनुसारको खाना आइपुग्यो । खाना आएपछि सबैको ध्यान खाना मै केन्द्रित भयो र खाना खान थाल्यौं । खाना खाने क्रममा होटलको साहुनी हामीकहाँ आउनु भई हँसिमजाक गर्दै के थप्न ल्याउँ भनी सोध्नुहुँदा अनायासै मेरो मुखबाट मिल्ने भए घिउ थप्नु हुन्छ कि भनेको, उहाँले हाँसेर किन नहुनु भन्दै सबैलाई घिउ थपिदिनु भयो । मैले चाहिं अब पैसा ठटाउने त होलानि भनी विचार गरेको, वास्तवमा साहुनीको दिल ठूलै रहेछ, थप घिउको पैसा लिनु भएन । र, हामी सबैलाई हाँसी हाँसी विदाई गर्नुभयो । हामी पनि “ल, तपाईको जय होस् !” भन्ने नारा लगाएर काठमाडौं तर्फ हुँइकियौं ।

    यस्तै ठाउँ ठाउँको रमाइलो पल, दिक्तेलको बाहेक अरु सबै ठाउँको सडकयात्रा आनन्ददायक भएको र सबै मिलीजुली एकैस्वर, विचार र समझदारी साथ यात्रा गरेकोले तुलनात्मक रुपमा हामीहरुको काठमाडौंबाट धरान हुँदै भोजपुर, दिक्तेल हलेसी हुँदै काठमाडौंको ५ दिने यात्रा रमाइलो तथा आनन्ददायक रह्यो ।

    तस्वीर साैजन्य – शाक्य रत्न

  • श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा संस्मरण – १

    शाक्य रत्न, काठमाण्डौ, कार्तिक १४ ।
    भोजपुर जिल्लाको नाम म करिब १२ वर्षको हुँदा नै मेरो मानसपटलमा बसेको थियो । यसको कारण भोजपुरबाट त्यतिबेला मेरै नाम गरेका अर्थात संघ रत्न शाक्य भन्ने एक युवा (हाल दिवंगत भैसक्नुभयो) हाम्रो घरको छिंडी (भुईं तला) मा पसल खोल्ने र बास बस्ने गरी बस्नु भएको थियो । करिब ५२ वर्ष अघि वहाँ भोजपुरको त्यस समयको प्रख्यात स्थान टक्सारबाट काठमाडौंमा पढ्ने र व्यवसाय गर्ने उद्देश्य लिएर आउनु भएको थियो र संयोगबस हामीहरुको घरमा भाडामा बस्नु भएको थियो ।
    यसैगरी, केही समयअघि बौद्ध ऋषि महाप्रज्ञाले आफ्नो जीवनीको बारेमा लेख्नु भएको पुस्तकमा पनि भोजपुरको बारेमा पढ्ने र जानकारी लिने मौका पाईयो । वहाँको किताबमा भोजपुरको बारे गरिएको वर्णन पढेर भोजपुर त्यतिबेला अति नै विकट पहाडी जिल्ला जहाँ यातायातको व्यवस्था थिएन भन्ने भौगोलिक अवस्थाको जानकारीका साथै बौद्ध इतिहासमा सबैभन्दा पहिला वि.सं. १९९३ सालमा थेरवादी शाक्यमुनि विहारको स्थापना हुनुका साथै बुद्ध जयन्तीको पावन अवसरमा बुद्ध प्रतिमाको रथ यात्रा सहित भव्यरुपमा बुद्ध जयन्ती मनाइएको जानकारी पाइयो । तथा सोही विहार स्थापना एवं बुद्ध धर्म र शिक्षा प्रचारप्रसार गरेको अभियोगमा जहाँनिया राणा शासनले नेपालको बौद्ध इतिहास कै कालो पन्नाको रुपमा वहाँ तथा वहाँको चेला त्यतिबेला श्रामणेर अमृतानन्दलाई भोजपुरकोे जेलमा कैद गरिएको नमिठो जानकारी पनि पाईयो ।
    यी कुराहरुको कारण मेरो मनमा भोजपुर वास्तवमा कस्तो ठाउँ रहेछ अनि त्यहाँका मानिसहरु कस्ता रहेछन् भन्ने उत्सुकता रहन गयो । र यो उत्सुकता मेट्ने अवसरको खोजीमा म थिएँ ।
    तँ चिता म पुर्याउँछु भन्ने उक्ति जस्तै यसवर्ष २०८१ सालमा विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर भोजपुरमा वर्षावास बस्नुहुने खबर थाहा पाएर अब मेरो भोजपुर जाने इच्छा पुरा हुने भयो भनी मनमनै खुशी भएँ ।

    यात्राको अठोट र तयारी
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले कोरोना महामारीको समयमा कोरोना कहरले आक्रान्त सत्वप्राणीहरुको कल्याण हेतु फेसबुकमार्फत ध्यानको प्रत्यक्ष प्रसारण चलाउनु भएको थियो । र, उक्त समयदेखि मैले वहाँको निर्देशनमा सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्ने मौका पाएँ, र हालसम्म पनि पाइरहेको छु । त्यसैले वहाँ मेरो प्रथम ध्यान गुरु हुनु भएकोमा मलाई गर्व महशुस छ । वहाँ मेरो मात्र नभईकन मेरी पत्नी, ञातीबन्धुहरुका साथै अन्य धेरै ध्यानप्रेमी योगी कल्याणमित्रहरुका पनि ध्यान गुरु हुनुहुन्छ । यसरी एक शिष्यको नाताले आफ्नो गुरु जहाँ वर्षावास बस्नुहुन्छ, समय र व्यवस्था मिलेसम्म वर्षावासको समयमा कमसेकम १ दिन मात्र भएपनि गुरुको सेवा गर्ने र कुशल पुण्य कार्य गर्ने शिष्यको कर्तव्य सम्झेर वहाँ वर्षावास बस्नु भएको भोजपुरको टक्सारस्थित शाक्यमुनि विहारको धार्मिक यात्रा गर्ने अठोट लिएँ ।
    कुशल मनसायले लिएको अठोट पुरा हुने कुरामा म विश्वस्त थिएँ । यसै विश्वासको आधारमा मैले पत्नीसित सल्लाह गर्दा तत्कालै सकारात्मक उत्तर पाएपछि यात्रा गर्ने मेरो हौसला बढ्यो । कुशल पुण्यकार्यमा सँधैजसो साथ दिंदै आउनु भएका मेरा ञातिबन्धुहरुका साथै कल्याण तथा धर्म मित्रहरुसँग पनि भोजपुरको धार्मिक यात्रा बारे सरसल्लाह गर्दा सबैले तत्क्षण जाने मञ्जुरी दिएपछि मिति २०८१ साल भाद्र ३१ गते सोमबार देखि मिति २०८१ साल आश्विन ४ गते शुक्रबार सम्म ५ दिनको यात्राको योजना बनाएँ । तत्काल यात्राका लागि गाडी (जीप) भाडामा लिन चिरपरिचित पाटनका रवि शाक्यलाई सम्पर्क गरें । यात्राको बारेमा कुरा गर्दा सहज रुपमा उचित भाडा सहित वहाँले स्वीकृती दिनुभएपछि भोजपुरको धार्मिक यात्रा मनले चिताए बमोजिम नै हुने तय भयो ।
    यात्रामा जानु अघि यात्रा गर्ने स्थानको बारेमा जानकारी लिनु उचित हुने ठानेर पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यू, हाल उपत्यकामा रहनु हुने भोजपुर निवासी दाजु दान मान शाक्य तथा दिदी शान्ता शाक्यबाट आवश्यक जानकारी हासिल गर्नुका साथै थप जानकारी गुगल मार्फत लिएर विपि राजमार्ग हुँदै धरान अनि धरानबाट पुष्पलाल राजमार्ग हुँदै हिले भएर भोजपुर जाने र फर्किने बेला पुष्पलाल राजमार्गबाट दिक्तेल, हलेसी हुँदै काठमाडौं फर्किने योजना बनायौं । र, योजनामा सहमती जनाउँदै हामी सबै आठजना यात्रुहरु संघ रत्न शाक्य, सुजना शाक्य, तिर्थदेवी शाक्य, गौतम शाक्य, सुलोचना शाक्य, गंगा शिलाकार, ज्ञानीमैयाँ तुलाधर तथा रवि शाक्य (गाडी धनी /चालक) यात्राको लागि आवश्यक तयारीमा जुट्यौं ।

    भोजपुर जिल्ला
    तत्कालिन नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको सदरमुकाम (राजधानी) भोजपुर जिल्ला मध्यकालिन समयमा स्थानीय बोलिचाली भाषामा पूर्व ४ नम्बरले चिनिन्थ्यो । र, स्थानीय बोलिचालीमा हालसम्म पनि धेरैले भोजपुरलाई पूर्व ४ नम्वर नै भन्ने गरिन्छ । भौगोलिक विविधतायुक्त यस भोजपुर जिल्ला र नगर क्षेत्रले नेपालको ऐतिहासिक महत्व बोकेको छ । नेपाल एकिकरण पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक स्थल चयन गरिएको इतिहास रहेछ । वि. सं. १८७२ सालमा नेपालकै डोली पैसाको नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने कार्य भएकोले भोजपुरको यस पुरानो बजार क्षेत्रको नाम नै टक्सार रहन गएको रहेछ । त्यहाँको ट्याम्के डाँडा, चखेवा डाँडा, सल्ले अनि सुन्तले डाँडाबाट नेपालको प्रसिद्ध हिमालहरु तथा अरुण उपत्यकाको पनि अवलोकन गर्न सकिने रहेछ । र, यस स्थान पर्यटकहरुको रोजाइको स्थान पनि रहेछ । भोजपुरको भित्री बजार क्षेत्रमा चाहीं सिद्धकाली मन्दिर र पानी ट्याँकी रहेको स्थानमा दृश्यावलोकनको लागि बनाइएको स्थलबाट भोजपुरको टुँडिखेल, आधुनिक नगरपालिका भवन, बजार क्षेत्र, विमानस्थल, रंगशाला, बसपार्क तथा बन्दिगृह आदिका साथै सुन्दर वातावरणको अवलोकन गर्न सकिने रहेछ ।
    भोजपुरमा किराँती तथा नेवाः जातीको बाहुल्यता रहेतापनि अन्य जातीहरुको पनि बसोबास रहेको छ । तर हाल यहाँका पुराना बासिन्दा (विशेष गरी नेवाः जाती) हरुले बिस्तारै शहरी क्षेत्रमा बसाईं बिस्तार गरिसकेकोले यहाँ (टक्सार) का अधिकाँश घरहरु खाली छन् । बसोबास गर्ने बासिन्दा अन्यत्र बसाईं सर्न थालेकाले पहिलेको प्रख्यात टक्सार क्षेत्र हाल सुनसान हुने क्रममा छ । यो देखेर हामीहरुको मन अलि खिन्न भयो । खै, कस्लाई के भन्ने ? वास्तवमा यो अवस्था पूरै देशको हुने क्रममा छ । हाल गाउँ छाडेर शहर पस्ने, अनि शहरमा केही समय व्यतित गरी देशै छाडेर विदेश जाने रोग पूरै देशमा व्याप्त भैरहेको छ । तर जिम्मेवार नेताहरुलाई सत्ता जोगाउने र सत्तामा जाने खेल खेल्न मै फुर्सद छैन ।
    धर्म सम्बन्धी भन्नुपर्दा भोजपुरमा हिन्दू र बुद्ध धर्म, संस्कार अनि संस्कृती बढी प्रचलनमा रहेछ । त्यसैले भोजपुरमा हिन्दू मन्दिर तथा बौद्ध विहार र गुम्बाहरु भ्रमणको क्रममा देख्न पाईयो । टक्सारको शानको रुपमा रहेको शाक्यमुनि विहार, पद्य्मपाणी लोकेश्वरको मन्दिर तथा स्वधाःहिटी (तिनधारा), भोजपुर बजारमा रहेको सप्तहिटी (सातधारा) र त्यसैको माथि अर्को स्वधाःहिटी (तिनधारा) अवलोकन गर्दा हामी सबैको मन हर्षविभोर भयो । शनिवारको दिन हाम्रो बसाई भोजपुरमा नपरेकोले भोजपुरको हटिया बजारमा लाग्ने हाटबजार चाहीं हेर्न पाइएन । भोजपुरको प्रसिद्ध उत्पादनमा भोजपुरे खुकुरी, भोजपुरे करुवा, काँसका भाडावर्तन तथा बम्बईसन मिठाई रहेछ ।

    यात्राको उद्देश्य तथा धरान यात्रा
    हामीहरुको यात्राको प्रमुख उद्देश्य भनेको वि.सं. १९९३ सालमा स्थापना भएको नेपालको प्रथम थेरवादी शाक्यमुनि विहार अवलोकन गर्नुका साथै विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर उक्त विहारमा वर्षावास बस्नु भएको अवसर पारेर कुशल पुण्य कार्य सम्पादन गर्ने थियो । यही उद्देश्य साथ यात्राको पहिलो दिन मिति २०८१ साल भाद्र ३१ गते सोमवारका दिन काठमाडौंबाट विहान ६ः४५ बजे धरान तर्फको हाम्रो यात्रा सुरु भयो । विपि राजमार्गमा पर्ने बनेपा, धुलिखेल, भकुण्डे बेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, भिमान हुँदै साँझको ६ः४५ बजे हामी धरान पुग्यौं । हुनत काठमाडौंबाट धरान ३६५ कि.मी. दूरीको यात्रा साँझको करिब ४ः०० बजे नै तय हुनुपर्ने थियो । तर हामीलाई लानुहुने चालक रविभाईले हतार नगरिकन सिमित गतिमा जीप चलाई आरामदायक यात्रा गराउनु भएकोले र हामी यात्रुहरुपनि विभिन्न स्थानमा रोकिएर चिया नास्ता, खाना खाँदै आराम गर्दै यात्रा गरेको कारण सबै ठाउँमा ढीला नै पुगियो । फेरी पहिलो दिनको हाम्रो यात्राको गन्तव्य धरानसम्म मात्रै थियो । त्यसैले पनि हामीलाई खासै हतार थिएन ।
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट धरान बुद्ध विहारका श्री रमणा श्रेष्ठज्यू तथा श्री रमेश शाक्यज्यूलाई हामी आउने सूचना दिनु भएको कारण वहाँहरुबाट धरानको उक्त सुन्दर बुद्ध विहारमा नै खाना तथा बासको व्यवस्था गरिदिनु भएकोले पनि हामी अलि ढुक्क भएर यात्रा गरेका थियौं । र, धरान बुद्ध विहारमा हामीहरुले सोचेको भन्दा पनि उत्तम व्यवस्था गरिदिनु भएकोमा पुजनिय भिक्षु, रमणा श्रेष्ठज्यू तथा रमेश शाक्य दम्पत्तिलाई हामी सबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।

    दोश्रोदिन धरानबाट हिले हुँदै भोजपुरको यात्रा
    धरानको सिद्धार्थ मार्गमा अवस्थित धरान बुद्ध विहार अति नै सुन्दर तथा दर्शनिय रहेछ । उक्त विहार भित्र पाइला टेक्नासाथ हामी सबैको मुखबाट “आहा कति राम्रो रहेछ” भनी अनायास नै वाक्य निस्कियो, जुन उचित पनि थियो । किनकी स्थानीय वासिन्दा श्री रमेश शाक्य दम्पत्तिको रेखदेखमा रहेको धरान बुद्ध विहार सुन्दर, स्वच्छ तथा शान्त थियो । यस विहार भित्र पाइला टेक्नासाथ नै “बुद्ध विहार भनेको यस्तो पो हुनुपर्दछ” भन्ने सुखानुभुतीको भाव सञ्चार भएको हामी सबैले महशूस गर्यौं ।


    यस धरान बुद्ध विहारमा भक्तपुर मुनि विहारका श्रद्धेय आलोक भन्ते वर्षावास बस्नु भएको रहेछ । त्यसैले भोलिपल्ट श्रद्धेय आलोक भन्तेबाट हामी सबैले त्रिशरण गमन सहित पञ्चशील ग्रहण, बुद्ध पूजा, धर्म श्रवण, पुण्यानुमोदन तथा श्रद्धा दान कुशल कार्य सम्पादन गर्न पाएर हामी सबै धन्य भयौं ।

    यसपछि श्री रमेश शाक्य दम्पत्तिबाट तयार पार्नु भएको जलपान ग्रहण पश्चात सबैसँग मैत्री आदानप्रदान तथा साधुवाद दिँदै वहाँहरुबाट पाएको आत्मिय सत्कार हृदयमा सँगालेर बिदा मागी विहानको करिब ९ः०० बजे हामी भानुचोक हुँदै पूर्वयोजनानुसार धरानमा हाल निर्माण हुँदै गरेको श्रमपार्क अवलोकन गर्न उक्त स्थल तर्फ लाग्यौं । ठूलो क्षेत्रफल ओगटेको निर्माणाधीन श्रमपार्क वास्तवमै सुन्दर रहेछ । निर्माणाधीन क्षेत्रमा जान निषेध गरेकोले निर्माण सम्पन्न भैसकेको पार्क क्षेत्रमा हामी सबै रमाइलो मानी घुम्दा र फोटो शेसनमा रमाउँदा करिब डेढ घण्टाको समय व्यतित भएको पत्तै पाइएन ।

    यसरी पार्क भ्रमण पश्चात धरानबाट भोजपुरसम्म १५१ कि.मि.को यात्राको लागी विहानको ११ः०० बजे तिर हिलेमा खाना खाने योजनाका साथ हामी हिले तिर लाग्यौं । करिब दुई सवा दुई घण्टाको धनकुटा हिले पुष्पलाल राजमार्गको निरन्तर पहाडी रमाइलो यात्रा तय गरी दिनको १ः०० बजे हामी हिले पुग्यौं । काठमाडौं देखिको धरान र धरान देखी हिलेको लामो पहाडी यात्राबाट अलि अलि थाकिसकेका हामी सबै खाना खाएर एकछिन सुस्ताउन हतारिएका थियौं । खाना खानकोलागि होटेल खोज्ने क्रममा गुम्बा होटेल नामको सानो गुम्बासँगैको होटेलमा बस्यौं । हिलेको शितल चिसो हावा अनि लोकल चामलको भात र दाउरामा पकाएको लोकल तरकारी अनि दाल धेरै नै मिठो मानी हामी सबैले पेटभरी खायौं । हामी सबै शाकाहारी भएकाले सबैले यात्रामा शाकाहारी भोजन नै गर्यौ, सबैठाउँमा मीठो भोजन खायौं । यो हामीहरुकोलागि सकारात्मक पक्ष हुन गयो । किनकी सबै ठाउँमा भोजन स्वादिलो र सुपाच्य अनि सस्तो (प्रतिव्यक्ति रु. १८० देखि २००मात्र) थियो । खाना खाएर केही बेर सुस्ताएपछि सबैको थकान मेटियो र पुनः यात्राको लागि तयार भई भोजपुरको यात्रा सुरु गर्यौं ।

    क्रमश: ……