Tag: ललितपुर

  • यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

    यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

    सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते ।

    यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
    ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य लगायत परिवारहरुले उक्त कथिन चीवर दानको आयोजना गरेका हुन ।
    सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।

    कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु सोमरत्नले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । कथिनदानसँग सम्बन्धित संयुक्त निकायको तिंसमत्तसुत्तका पालि गाथाहरु वाचन गर्नुहुँदै उहाँले उपासकउपासिकाहरुद्वारा गरिने यस कथिनदानका कारण भिक्षुहरुको श्रमणधर्म पालनामा सहजता हुने बताउनुभयो । यसदानको आनिशंस भिक्षुहरुलाई पनि ५ प्रकारले प्राप्त हुने तथा दाताहरुलाई पनि ५ प्रकारले नै फल प्राप्त हुने उहाँले धर्मदेशनाका क्रममा बताउनुभयो ।
    साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।

    उक्त उत्सवमा ८० जना अष्टपरिष्कारका दाताहरुले भिक्षु संघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
    कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
    थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।

    यसवर्षकाे कथिन समय तालिका

     

  • माझखण्ड बुद्ध विहारमा सत (१०० जना) कुलपुत्रहरूकाे अल्पकालिन श्रामणेर प्रव्रज्या हुने

    माझखण्ड बुद्ध विहारमा सत (१०० जना) कुलपुत्रहरूकाे अल्पकालिन श्रामणेर प्रव्रज्या हुने

    सत (१००) कुलपत्रहरूकाे १० दिने अल्पकालिन श्रामणेर प्रव्रज्या यही चैत २३ गतेदेखि बैशाख २ गतेसम्म माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा सम्पन्न हुने भएकाे छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारकाे संयुक्त आयाेजनामा हुन लागेकाे उक्त कार्यकामका लागि माझखण्डमा धमाधम तयारी हुँदै गरेकाे कुरा कार्यक्रमका आयाेजकले जनाएकाे छ ।

    केही दिनदेखि परिरहेकाे पानीका कारण कार्यक्रम समय तालिकामा केही फेरबदल भएकाे छ । नयाँ तय भएकाे कार्यक्रम अनुसार चैत २२ गते प्रव्रज्या लिन चाहनेहरू साे विहारमा पुग्नुपर्ने, चैत २३ गते प्रव्रज्या कार्यक्रम र वैशाख २ गते समापन हुनेछ ।

    यस कार्यक्रमकाे प्रत्यक्ष प्रशारण भिक्षु बाेधिज्ञान महास्थविरकाे फेसबुक पेज  https://www.facebook.com/bodhijnana4342 बाट हुनेछ ।

  • विश्वशान्ति विहारका भिक्षुसहितको टोलीले माझखण्डको पोखरी डाँडा र चिहान डाँडामा ध्यान

    सुनीता तुलाधार, ललितपुर, मंसिर २२ ।
    विश्वशान्ति विहारका विहार प्रमखु भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा भन्तेगुरुमाहरुका साथै ४५ जना श्रामणेरहरु र उपासकउपासिकाहरुले ललितपुरको बागमती गाउँपालिकास्थित माझखण्ड बुद्ध (धातुचैत्य) विहार नजिकको पोखरी डाँडा र चिहान डाँडामा ध्यान गरेका छन । भिक्षुसहितको टोलीले मंगलवार पोखरी डाँडा र बुधवार चिहान डाँडामा ध्यान गरेको हो ।
    ध्यान गर्नुअघि माझखण्ड बुद्ध (धातुचैत्य) विहारबाट स्थानीय पोखरीडाँडा र चिहान डाँडासम्म पदयात्रा गरेका थिए ।
    ‘अरण्य गतो वा रुख मूल गतो वा’ अर्थात ‘जंगलमा वा रुख मुनि’ बसी भिक्षुहरु ध्यान बस्छन भनेर महासतिपट्ठान सुत्तमा भगवान बुद्धले देशना गर्नुभएजस्तै सहभागी सबै जना रुख मुनि गएर ध्यान बस्नु भनेर भिक्षु बोधिज्ञान महास्थविरले दिनुभएको निर्देशनानुसार श्रामणेर, उपासकउपासिकाहरु रुख मुनि ध्यान बस्नु भएको थियो ।


    सो अवसरमा त्यस स्थानमा रहेका ज्ञात अज्ञात सम्पूर्ण सत्व प्राणीहरुको मंगल कामना सहित ‘चतुरारक्खा भावना’ तथा ‘त्रिरण गमन’ पाठ समेत गरिएको थियो ।
    त्यसैगरी ‘गच्छन्ति वा गच्छामिति पजानाति अर्थात गइरहेको बेला गइरहेको छु’ भनि होस राख्दै पदयात्रा गरेर चिहान डाँडाको जंगलमा ‘मरणानुस्सति ध्यान भावना’ बसेका थिए । जंगलमा, चिहान वा मसानमा ध्यान बस्दा आफूपनि एकदिन मर्नुपर्छ भन्ने विचार मनमा विकास हुने र एकान्तमा वा शून्य ठाउँमा बस्दा हुने डर त्रास हटाउन पनि यसप्रकारको ध्यान भावनाले फाइदा पुग्ने भिक्षु बोधिज्ञान महास्थविरले बताउनुभयो ।


    भगवान बुद्धको पालादेखि भिक्षुहरु समसान वा चिहानमा गएर ध्यान गर्ने गरेको बताउनु हुँदैं भिक्षु वजिरसिरिले समसानमा गएर ‘सोसानिकाङ्ग’ ध्यान गर्दा अरु विधिले भन्दापनि यसले क्लेशलाई चाँडै नै हटाउन सकिने उपदेश दिनुभयो । उहाँले राग चरित्र भएका आफ्नो शरीरप्रति अति नै आशक्त भएकाहरुलाई समसानमा गएर ध्यान गर्नु उपयुक्त हुने र मरेका मानिसहरुलाई हेरेर ध्यान गर्दा आफूपनि भोलिका दिनमा मर्नुपर्ने कुरा मनमा याद आउँदा हाम्रा मनमा रहेका कयौं क्लेशहरु कमजोर भएर हराएर जाने उपदेश दिनुभयो ।


    सो अवसरमा भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा सामूहिक रुपमा ‘मैत्री भावना’ पाठ गरिएको थियो भने त्यस स्थानमा रहेका ज्ञात अज्ञात सम्पूर्ण सत्व प्राणीहरुको मंगल कामना एवं पुण्यमा सहभागी होउन भनेर पुण्यानुमोदन पनि गरिएको थियो ।
    समूहमा गई समसानमा बसी ध्यान गर्दा पनि मनमा डर नभएको कुरा ध्यानमा सहभागीहरुको अनुभव रहेको थियो । समसानमा ध्यान गर्दा पनि भन्ते श्रामणेरहरु लगायत उपासकउपासिकाहरुको मुहार शान्त नै देखिन्थ्याे ।

     

  • माझखण्डका बासिन्दालाई ताइवानको झेन कुओ विहारको सहयोग वितरण

    सुनीता तुलाधर, ललितपुर, मंसिर २२ .
    ललितपुरको बागमती गाउँपालिकामा अवस्थित प्राचिन बौद्ध विहार माझखण्ड धातुचैत्य विहारमा बुधवार स्थानीय बासिन्दाहरुलाई ताइवानको झेन कुओ विहारका भिक्षु कुआङ्ग सिङ्गले पठाउनु भएको खाद्य सहयोग वितरण गरिएको छ ।
    विश्वशान्ति विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा पुगेको विश्व शान्ति विहारका समूहले स्थानीय ११४ घरपरिवारलाई प्रति घर २५ किलोको १ बोरा चामल, २ लिटर तेल र २ किलो मास दाल सहयोग वितरण गरेको हो ।
    सो अवसरमा भिक्षु बोधिज्ञान महास्थविरले ताइवानका भिक्षु कुओले विभिन्न स्थानका मानिसहरुलाई अन्न दान दिने क्रममा माझखण्डका बासिन्दालाई पनि अन्न दान पठाउनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार भिक्षु निग्रोध महास्थविर र विकास महर्जनको पहलमा ताइवानबाट प्राप्त उक्त सहयोग माझखण्डमा वितरण गरिएको हो ।
    कार्यक्रममा अन्न दानको विषयमा धर्मदेशना दिनुहुँदै भिक्षु वजिरसिरिले ‘संसारको सबैभन्दा ठूलो दुःख, ठूलो रोग भनेको भोको पेट हुनु हो’ भन्नुभयो । पेट भोको भएमा आनन्द नआउने र भोजनले मात्रै शरीरमा शक्ति आउने उहाँले बताउनुभयो ।


    (तस्वीरहरू – भिक्षु उत्तमाे)

    ‘सब्बे सत्ता आहारा ठितिका’ अर्थात ‘सबै प्राणीहरु आहार, खानाका कारण बाँचिरहेका छन ।’ त्यसैले स्वस्थ खानाले शरीर स्वस्थ हुनुको साथै कुशल कर्महरु गर्नका लागि मद्दत पुग्दछ भने अस्वस्थ खानाले शरीर मात्र नभई दिमागलाई पनि हानी नोक्सानी पुग्छ,’ उहाँले भन्नुभयो ।
    उहाँले शरीरलाई मात्र राम्रा खाना नभई मनलाई समेत राम्रा खाना दिनुपर्ने कुरा उपदेश दिनुभयो । यसको लागि विहारमा गएर राम्रा शिक्षा दिनुपर्ने बताउँदैं उहाँले उच्चकर्म गरी धर्मकर्म गर्नपनि राम्रो खाना खानुपर्ने र यही कारण ताइवानका भन्तेले अन्न सहयोग पठाउनुभएको जानकारी दिनुभयो ।
    कार्यक्रममा ताइवानको नेपाली प्रतिनिधि विकास महर्जन, विहारका अध्यक्ष चन्द्रबहादुर स्याङ्गताङ्ग एवं बागमती गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष नवराज तिमिल्सिना लगायतले बुद्ध धर्म र दानको महिमाबारे चर्चा गर्नुभएको थियो ।

     

  • २५६६ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ देशभर भव्य रूपमा मनाईंदै

    भगवान बुद्ध महापरिनिर्वाण हुनुभएको २५६६ वर्ष पुगेको अवसरमा विश्वभर विभिन्न कार्यक्रम भइरहँदा नेपालमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा बुद्ध जयन्ती मनाईंदै छ ।

    जन्म, बुद्धत्व र परिनिर्वाण त्रिसंयोगको दिन परेको यस बुद्ध पुर्णिमा (स्वाँया पुन्हि) को अवसर पारी सिद्र्धाथको जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना हुँदैछ । यसका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाका साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत लुम्बिनी पुगिसक्नु भएको छ ।


    यसै अवसरमा ललितपुरको न्हाय्कंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान सबेरै देखि हजारौं श्रद्धालु उपासकउपासिकाहरु लामबद्ध भई भगवान बुद्धको दर्शन र पुजा गरिरहेका छन । उक्त महाविहार यसवर्षको ललितपुरको बुद्ध जयन्ती मूल समारोह समिति हुन ।


    उक्त अवसरमा यस विहारमा श्रद्धेय भिक्षु भद्दिय महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो ।


    साथै आजै मन्ध्यान्हमा भगवान बुद्धको प्रतिमालाई खतमा राखी बाजागाजासहित श्रद्धालु उपासकउपासिकाहरुका साथ ललितपुर नगरभित्र भव्य शोभायात्रा निकाल्ने तयारी भैरहेको कुरा आयोजक संस्थाले जनाएको छ ।

    बुद्ध जयन्तीकै अवसर पारी आनन्दकुटी विहार, स्वयम्भू , काठमाण्डौ र हिरण्यवर्ण महाविहार, क्वाल्खु, ललितपुरमा बुद्धको अस्थिधातु पनि दर्शनका लागि राखिएका छन ।

  • बुद्ध जयन्तीमा नगर परिक्रमा गराइने भगवान बुद्धकाे प्रतिमा आयाेजक संस्था सुरश्चन्द्र महाविहारमा पुर्याइयाे (फाेटाे फिचर)

    सप्ताहब्यापीरूपमा विभिन्न कार्यक्रम गरी २५६६ औं बुद्ध जयन्ती मनाइरहेकाे ललितपुर, न्हायकंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान भगवान बुद्धकाे प्रतिमालाइ बाजागाजा सहित श्रद्धालु भक्तजनहरूका साथ ललितपुरकै हिरण्यवर्ण महाविहारबाट नगर परिक्रमा गरी न्हायकंबहीमा स्वागत गरी भित्र्याइयाे ।
    आयाेजकका अनुसार आजै दिउँसाे बृहत बाैद्ध सभा, साँझ मैनत्रत्ती बालेर नगर परिक्रमा गरीने छ ।