Blog

  • नक्सालको भाटभटेनीबाट करिव २ लाखको सामान चोरेको अभियोगमा एक जना पक्राउ

    भक्तपुर, बैशाख २३
    काठमाण्डौंको नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा चोरी गरी फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरी विभागबाट सोमवार २ लाख रुपैंया भन्दा बढीको सामान चोरी गरी फरार भएको अभियोगमा प्रहरीले हाल मध्यपुर थिमि बस्ने दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
    उनलाई प्रहरीले मध्यपुर थिमिबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठले रक्सी, चुरोट, काजु, पिस्ता, स्याफ्रान, फिस वेल, आलमण्ड, ग्लेण्डफिडिच लगायतका सामान चोरी गरेका थिए ।
    श्रेष्ठले भाटभटेनी सुपर मार्केटबाट ब्लु लेवल मदिरा एक बोटल, ग्लेण्डफिडिच एक थान, ओल्ड दरवार मदिरा एक बोटल, सुर्य चुरोट ३० बट्टा, आलमण्ड (बदाम) १५ किलो, ८०० ग्रामको पिस्ता १२ प्याकेट, ९०० ग्रामको काजु १० प्याकेट, स्याफ्रान २५ थान र फिस वेल ६ थान गरी करिव २ लाख १७ हजार रुपैंया बराबरको सामान चोरी गरेको एसपी बोहराले बताउनुभयो ।
    पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाण्डौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिनुभयो ।

     

  • मध्यपुर थिमि सूचना प्रवाहमा उत्कृष्ट, सूचना अधिकारी सिलवाल पुरस्कृत

    भक्तपुर, बैशाख २२
    मध्यपुर थिमि नगरपालिका सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट भएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमवार सूचनाको हक कार्यान्वयनमा उत्कृष्ट कार्य गरेवापत मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद ३० हजार रहेको छ ।
    सिलवाललाई आयोगले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गर्नुभएको हो । सो अवसरमा सूचनाको हकको कार्यान्वयनमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई नगदसहित सम्मान गरिएको थियो ।


    सम्मानित हुनेमा विनय कसजु सर्वोत्कृष्ट पुरस्कार वरिष्ठ पत्रकार एवं सूचनाको हकको अभियन्ता तारानाथ दाहाललाई प्रदान गरियो । उक्त पुरस्कारको राशि रु ५५ हजार र प्रशंसापत्र रहेको छ ।
    यसैगरी, उत्कृष्ट सूचना अभियन्तातर्फ नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्रको फोटो पत्रकार कविता थापा र हरिराम कोन्डालाई पुरस्कृत गरियो । पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ ।
    नगद रु ३० हजार राशिको उत्कृष्ट सूचना अधिकारी पुरस्कार देवीप्रसाद थपलिया, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपानेलाई प्रदान गरियो । आयोगको उत्कृष्ट कर्मचारीतर्फ सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई प्रदान गरिएको छ ।
    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकार नागरिकको सूचनाको हकप्रति प्रतिबद्ध छ । यसलाई कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गराउने भन्ने कुरामा चिन्तित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक बनाउन र औचित्य पुष्टि गर्नका लागि पनि सूचनाको हकको पहुँच र प्रवर्धनकाका लागि नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको छ ।”
    सूचनाको हकको कार्यान्वयन अझै पनि फितालो रहेको भन्दै मन्त्री गुरुङले सूचनाको हकसम्बन्धी ऐनलाई समयानुकूल परिमार्जन गरी संरचनागत सुधार गरेर अघि बढ्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले सूचनाको हकसँग जोडेर सुशासन प्रवर्धन गर्ने अभियानमा सरकार प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्नुभयो । “सुशासन कायम गर्न अहिले ठुल–ठुला चुनौतीहरु छन्, त्यसलाई व्यवस्थित गर्न पनि सूचनाको हकलाई व्यवस्थित गरिनुपर्ने अपरिहार्यता छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकार र राज्यका निकायले गर्ने निर्णय पारदर्शी र जनउत्तरदायी हुनुपर्छ भन्ने हो, त्यसैले सूचनाको हकसँग सुशासन जोडिएको छ ।”


    मन्त्री गुरुङले सूचनाको हकलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न मन्त्रालय पहलकदमी लिएको जानकारी दिनुभयो । सूचनाको हकको प्रभावकारी प्रवर्धनमा तीन तहको सरकारको उत्तिकै महत्त्वपूर्ण दायित्व भएकाले सूचना आयोगको संयन्त्रलाई संघ, प्रदेश र स्थानीय तहमा संरचना विस्तारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ ।
    उक्त प्रयोजनका निम्ति हालै सञ्चारमन्त्रीको अध्यक्षतामा सातै प्रदेशका मन्त्री एवम् सरोकारवालाको बैठक बसेर संरचना विस्तारका लागि बजेट र जनशक्ति व्यवस्थापन आदि विषयमा गहन छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
    मन्त्री गुरुङले सूचना आयोगसम्बन्धी पुरानो कानुनलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सूचनाको सहज र सरल रुपमा पहुँच पु¥याउने उद्देश्यले संवैधानिक र कानुनी प्रबन्ध तथा संस्थागत र संरचनागत व्यवस्था पनि भएको तर, जनताको सूचनाको साँच्चिकै प्रत्याभूति कत्तिको गर्न सकिएको छ । त्यसको कार्यान्वयन र अनुगमन हुनसकेको छ कि छैन त्यो महत्त्वपूर्ण कुरा हो ।”
    राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले नागरिकको सूचनाको अधिकार प्रत्याभूत गर्ने दिशामा आयोग निरन्तर प्रयत्नरत रहेको उल्लेख गर्नुभयो । सुशासन र पारदर्शिता कायम गर्ने औजारका रुपमा सूचना आयोगले भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले यसको संरचनालाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न पहलकदमी भइरहेको जानकारी दिनुभयो ।
    प्रमुख सूचना आयुक्त आचार्यले सूचना लुगाउने प्रवृत्ति राज्यका तहमा मात्रै नभई निजी क्षेत्रमा पनि व्याप्त रहेको भन्दै नागरिकको सुसूचित हुने अधिकारको सूनिश्चितताका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
    सम्मानित व्यक्तिका तर्फबाट वरिष्ठ पत्रकार तारानाथ दाहालले सूचनाको हकको कार्यान्वयनको अवस्था अझै सन्तोषजनक नरहेको बताउनुभयो । सूचनाको हक विकासको सुशासनको बलियो आधार भए पनि यसको सदुपयोग हुन नसकेको उहाँको भनाइ थियो ।
    आयोगका सचिव दीर्घराज मैनालीले आयोगको गतिविधिबारे जानकारी गराउनुभएको थियो । आयोग स्थापनाताका १२ वटा सूचना नपाएको गुनासोको पुनरावेदन परेकामा हाल यो सङ्ख्या झण्डै एक हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।
    नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ ले नागरिकलाई आफ्नो वा सार्वजनिक निकायको सार्वजनिक सरोकारको सूचना प्राप्त गर्ने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ । नेपाली नागरिकको सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था छ । सोही बमोजिम विसं २०६५ मा आयोगको स्थापना भएको थियो ।

  • बालकुमारी साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार

    भक्तपुर, बैशाख २१
    मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको उत्कृष्ट सहकारीद्धारा पुरस्कृत भएको छ । बालकुमारीलाई भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.ले आ.व. २०८०÷०८१ को मध्यपुर थिमि नगरपालिका क्षेत्रको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान गरेको छ ।
    संघको शनिवार सम्पन्न साधारण सभामा बालकुमारीलाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले बालकुमारीका अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
    वि. सं. २०५७ साल असोज २ गते स्थापित बालकुमारी सहकारीलाई तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरले भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंक लि.ले उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिसकेको छ । साथै संस्थालाई सदस्यको आर्थिक जीवनकास्तरका विकासमा योगदान र सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरे बापत थुप्रै सामाजिक संघ संस्थाले सम्मानित तथा पुरस्कृत गरिसकेको संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले बताउनुभयो ।
    स्थानीय २८ जना व्यक्तिहरुले ७ लाख शेयर पूँजी राखी शुरु गरेको समुदायमा आधारित सदस्यमैत्री बालकुमारी सहकारीको २०८२ वैशाख १९ गतेसम्म आईपुग्दा २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४ सय ८९ रुपैया कुल कारोबार रहेको छ भने शेयर सदस्य ५ हजार ९ सय १५ पुगिसेको छ ।
    समय अनुसार व्याजदर समायोजन गर्दै आइरहेको बालकुमारीले सदस्यहरुलाई हाल सदस्य समृद्धि कर्जा ८ प्रतिशत, विभिन्न ऋण शिर्षकमा सुविधा ऋण ८.५ प्रतिशत (शर्त लागु हुने), बालकुमारी सुनौलो कर्जा ९.५ प्रतिशत ब्याज दरमा ऋण लगानी गर्दै आइरहेको अध्यक्ष तुईलाल श्रेष्ठले बताउनुभयो ।

     

  • स्वास्थ्य उपचारपछि सांसद थापा स्वदेश फर्किए

    भक्तपुर, बैशाख २१
    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा भारतको दिल्लीमा स्वास्थ्य उपचार पश्चात आइतवार स्वदेश फर्कनुभएको छ । उहाँ भारतको अपोलो स्पेक्ट्रा अस्पतालमा उपचारपछि स्वदेश फर्कनुभएको हो ।
    सांसद थापाको अपोलो स्पेक्ट्रा अस्पतालमा बायाँ हिपको शल्यक्रिया गरिएको हो । लामो समयदेखी हिपको समस्याले झेलिरहनुभएका सांसद थापाको अपोलो अस्पतालमा डा. सुनिल टुलिको समूहले शल्यक्रियामार्फत हिप रिप्लेस्मेन्ट गरिएको हो । गत वर्ष उहाँको दाँया हिप रिप्लेस्मेन्ट गरिएको थियो ।
    सांसद थापालाई आरामको खाँचो रहेकोले चिकित्सकले औपचारिक कार्यक्रमहरू सहभागिता नजनाउन सुझाव दिएको उहाँका स्वकिय सचिव शुभाषिस ढकालले जानकारी दिनुभयो ।
    सांसद थापालाई नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेत, सहसचिव यादव प्रसाद अधिकारी, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापतिलगायतका नेता कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेका थिए ।

     

     

  • स्रोत नखुलेको ९५ लाखसहित ४ जना पक्राउ

    भक्तपुर, बैशाख २१
    प्रहरीले स्रोत नखुलेको करिव ९५ लाख रुपैंयासहित आइतवार चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षिय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षिय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षिय सन्तोष गुरुङ र ३९ वर्षिय सन्तोष घिमिरे छन ।
    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंको प्रहरी टोलीले काठमाण्डौं पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडिबाट पक्राउ गरेको हो । दुई वटा मोटरसाइकलमा शंकास्पद तरिकाले हिँडिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैंया बरामद भएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

     

  • जुवातास खेलिरहेको अवस्थामा च्यामासिंहबाट १० जना पक्राउ

    भक्तपुर, बैशाख २१
    भक्तपुर नगरपालिका–९, च्यामासिंहमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शुक्रवार १० जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङ घर भएका ४८ वर्षीय भरत गिरीको भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा भरत समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ८ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

  • फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई

    भक्तपुर, बैशाख २१
    भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदक सहित भक्तपुरले उपाधि जितेको हो ।
    यस्तै प्रतियोगितामा मेन डोजो रंगशाला दोस्रो भएको छ । मेन डोजोले २ स्वर्ण हात पारे । १ स्वर्ण २ रजत सहित फाइट क्लब तेस्रो हुन सफल भयो ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी भने महिलातर्फ अस्मिता दोङ तामाङ र पुरुषतर्फ सुनिम श्रेष्ठ भएका थिए ।
    प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा खेल खेलाइएको थियो भने दुई वटा प्रो फाईटको आयोजना गरिएको थियो । प्रतियोगितामा भएको दुई प्रो फाइटमा सिरिस भुजु र प्रवीण मोक्तान प्रथम भएका थिए भने विशाल शाही र सुजित गुरुङ दोस्रो भएका थिए ।
    यस्तै खेलमा ५१ केजी पुरुषतर्फ सन्जु सुब्बाले स्वर्ण, अभिनव थापाले रजत, संम्योग राई र कुशल लामाले कांस्य पदक हात पारे । ५४ केजी पुरुषतर्फ स्वर्ण आशिक कोली, रजत जगदिश विश्वकर्मा, कास्य तीर्थ तामाङ र सञ्जय तामाङले हासिल गरे ।
    ५७ केजीमा विबद्र राईले स्वर्ण, ज्ञान धोज गोलेले रजत, सञ्जय लामा र सिसिर सुनारले कांस्य पदक हात पारे । ६३.५ केजीमा अर्जुन के.सीले स्वर्ण, सुजु शाहीले रजत, प्रज्जलरण पहेली र नरेन्द्र बोम्जनले कांस्य पदक हात पारे । ६७ केजी तर्फे स्वर्ण सुनिम श्रेष्ठ, रजत अनिश पुजारी र कांस्य लाल बहादुर भण्डारीले हासिल गरे ।
    यसैगरी ७५ कजी तर्फ अनिप देउलाले स्वर्ण, हार्दिक काईरालाले रजत र दिक्षान्त अधिकारीले कांस्य पदक हासिल गरे । खुलातर्फ भने उपेश देउलाले स्वर्ण, सुदिन कुमार शाहले रजत, एरेण ठेबा र उत्तम स्यान्तुले कांस्य पदक हात पारे ।
    महिलातर्फ भने ५२ केजीमा अस्मिता दोङले स्वर्ण, अनिशा मगरले रजत, अर्मिला थिङले कांस्य पदक जिते । ६० केजीमा चन्द्र कुमारी भुजेलले स्वर्ण र डोल्मा बोम्जनले रजत पदक हासिल गरे । ५७ केजी महिलामा स्वर्ण बबिता कार्कीले हात परेकी थिइन भने रजत मिना कुमारी पाण्डे र कांस्य प्रमीला थिङले हात पारेकी थिइन ।
    वर्षाका कारण खुल्ला स्थानमा नगरी सानो हलमा प्रतियोगिता सञ्चालन गर्न बाध्य भएको नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिका कोषाध्यक्ष सचितानन्द बनेपालीले बताए ।
    दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा २० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको संघका भक्तपुर अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिए । प्रतियोगितामा उत्कृट खेलाडी तथा विजेता खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले पुरस्कृत गरेको थियो ।
    प्रतियोगिता अवलोकनका लागि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, १० का वडा अध्यक्ष शिवराम राउत, बागमती प्रदेश बोर्डकी सदस्य सुनिता गौतम, किक बक्सिङका संरक्षक तथा संस्थापक अध्यक्ष दीपक श्रेष्ठ, कराते महासंघका रेफ्रि काउन्सिलका उपाध्यक्ष प्रकाश मोहन द्यौभडेल, कराते भक्तपुरका अध्यक्ष राजन चित्रकार, प्रशिक्षक सन्तोष श्रेष्ठ, रवीन्द्र लाछिमसु लगायतको उपस्थिती रहेको थियो ।

     

  • राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी, बाहिरिए कुशल र देव

    भक्तपुर, बैशाख २१
    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि शनिवार २५ जनाको नाम घोषणा गरेको छ । क्यानले आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला तथा बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई छनोट गरेको हो ।
    क्यानले पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले ती खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो । क्याम्पमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुअट लले २५ सदस्यीय खेलाडी छानेका हुन् ।
    टोलीमा लामो समयदेखि लयमा नरहेका कुशल मल्ल र देव खनाललाई हटाएको छ । यस्तै युथ १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न सफल युवराज खत्रीलाई टोलीमा समावेश गरिएको छ ।
    टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना रहेका छन ।
    नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
    क्यानका अनुसार आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको छ । ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग एकदिवसीय र टि–ट्वान्टी खेलहरू खेल्ने तालिका रहेको छ ।
    नेपालले मे १६ मा शुक्रवारका दिन कार्डिफ विश्वविद्यालय विरुद्ध कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ । यसपछि मे १९ तारिखमा एमसीसी (मेरिलबोन क्रिकेट क्लब) विरुद्ध हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेल हुनेछ ।
    भ्रमणको क्रममा मे २२ तारिखमा नेपालले एकै दिन ग्लोसेस्टरशायर विरुद्ध दुई टी–ट्वान्टी खेल खेल्ने छ । यसपछि नेपालले मे २६ तारिखमा ग्लामोर्गन विरुद्ध ग्लामोर्गनमै एकदिवसीय खेल खेल्ने तय भएको छ ।
    तीन एकदिवसीय र दुई दुई टि ट्वान्टी खेल खेलेर नेपाल स्कटल्याण्ड जानेछ । आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले मे २९ र ३१ तारिखमा स्कटल्यान्डको ‘ए’ टिमसँग दुई एकदिवसीय खेल खेल्नेछ ।
    यसपछि आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिजमा नेपालले स्कटल्यान्ड र नेडरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लिग टु मा नेपालले संघर्ष गरिरहेको छ । १२ खेलबाट ६ अंक बनाउँदै अंक तालिकाको सातौं स्थानमा रहेको छ । नवनियुक्त प्रशिक्षक स्टुवार्ट लको लागि नेपाली टिमसँग यो पहिलो भ्रमण हुनेछ ।

     

  • एपिएफलाई बागमती मुख्यमन्त्री फुटबल उपाधि

    भक्तपुर, बैशाख २०
    बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले जितेको छ । नुवाकोटको बटारस्थित आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा शनिवार सम्पन्न फाइनलमा एपिएफले अर्को विभागिय क्लव नेपाल पुलिस क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
    एपिएफको जितमा अनिता केसी नायक बनिन् । उनले खेलको इन्जुरी समयको अन्तिममा गरेको गोल नै निर्णायक बन्यो र एपिएफले उपाधि जित्न सफल भयो । निक्कै प्रतिष्पर्धात्मक खेलमा ७ मिनेटको इन्जुरी समय थप गरिएको थियो ।
    उक्त इन्जुरी समयको छैंटौं मिनेटमा एपिएफले कर्नरको मौका पायो । कप्तान अनिता केसीले प्रहार गरेको कर्नरमा अनिता केसीले हेड गोल गर्दै एपिएफलाई उपाधि सदलाएको हो ।
    एपिएफले गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि पुलिसलाई नै हराएर उपाधि जितेको थियो । एपिएफको यो वर्षको दोस्रो उपाधि हो । पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिगसहित ५ वटा उपाधि जितेको छ । लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो ।
    एपिएफले मुख्यमन्त्री कपको उपाधिसहित ५ लाख र पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
    नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको सहयोगमा प्रतियोगिता बैशाख १३ गते सुरु भएको थियो । बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता थियो ।

     

  • मध्यपुर थिमिमा सम्पदा पदयात्रा

    भक्तपुर, बैशाख २०
    मध्यपुर थिमिमा शनिवार १२ औं एनएमबी बैंक सम्पदा पदयात्रा गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा एनएमबी बैंकले नेपाल सम्पदा संघ र मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा उक्त सम्पदा पदयात्रा गरेको हो ।
    पदयात्रामा मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरु अवलोकन गरिएको थियो । मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरूको संरक्षण र सम्वर्धन एवम् प्रचार प्रसार गरी पर्यटन उद्योगको विकास गर्ने उद्देश्यका साथ सम्पदा पदयात्रा आयोजना गरिएको हो ।


    मौलिक बाजागाजासहित स्थानीय शंखधर चोकबाट शुरु भएको पदयात्रा बालकुमारी मन्दिर, लोकेश्वर मन्दिर, थिमि लायकु दरवार, दिगु भैरव मन्दिर, नगदेशको लाछिटोलस्थित सिद्धि गणेश मन्दिर, बोडेको भाँगु महालक्ष्मी मन्दिरहुँदैं बोदेको प्रसिद्ध जिब्रो छेड्ने जात्रास्थल पाचो गणेश मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।
    सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका ७५० वटा भन्दा बढी मूर्त एवम् अमूर्त सम्पदाहरुको थप प्रचार प्रचार गरी यहाँ पर्यटन उद्योगको विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
    विशेष गरी गत पुसमा सम्पन्न मध्यपुर महोत्सव पश्चात थिमिमा दैनिकरुपमा विदेशी पर्यटकको आगमन बढीरहेको चर्चा गर्दै उहाँले सम्पदा पदयात्राले पनि मध्यपुर थिमिमा पर्यटकको आगमनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले स्थानीय बासिन्दाहरुले पनि पर्यटन उद्योगको विकासका लागि होम स्टे सञ्चालन गर्ने र पर्यटकलाई आवश्यक हस्पिटालिटी विकास गर्ने योजनाहरु बन्दै गरेको जानकारी गराउनुभयो ।


    विश्व सम्पदा संघका अध्यक्ष धर्म शाक्यले संघले हरेक साल विभिन्न संघसंस्थाहरु सँगको सहकार्यमा स्थानीय स्तरमा जनतालाई सम्पदा संरक्षण सम्बन्धमा जनचेतना अभिबृद्धि गराउने उद्देश्यका साथ कार्यक्रम गर्दै आइरहेको जानकारी गराउनुभयो ।
    उहाँले पदयात्राको क्रममा मध्यपुर थिमिमा अद्धितिय र अनुपम सम्पदाहरु रहेको पाईएको चर्चा गर्दै यी सम्पदाहरुको प्रचार प्रसार गर्न सके यहाँ पर्यटन उद्योग फस्टाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो ।
    एनएमबी बैंकका सञ्चालक बन्दना पाठकले मध्यपुर थिमि सम्पदाको दृष्टिले धेरै धनी शहर रहेको पाएको चर्चा गर्दै सम्पदाका कारण नेपाल गरिव नभएको जिकिर गनर््भयो ।
    एनएमबी बैंकका कार्यकारी निर्देशक गोविन्द घिमिरेले यहाँको सम्पदाहरुको जानकारी सबैलाई दिन नसक्दा यसबाट हुने लाभ लिन नसकिरहेको बताउनुभयो । उहाँले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पनि आजको सम्पदा पदयात्रा सहायक सिद्ध हुने अपेक्षा गर्नुभयो ।


    कार्यक्रममा एनएमबी बैंकले नेपाल सम्पदा संघलाई ५ लाख रुपैंया र मध्यपुर थिमि नगरपालिकालाई सरसफाई सामग्री हस्तान्तरण गरिएको थियो ।
    १८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।
    विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाण्डौंको वसन्तपुर, ललितपुरको पाटन र भक्तपुरको भक्तपुर दरबार क्षेत्र, भक्तपुरकै चाँगुनारायण मन्दिर पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।