Blog

  • मध्यपुर थिमि जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका

    भक्तपुर, जेठ १
    मध्यपुर थिमि नगरपालिका जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका चार वटा पालिका मध्ये मध्यपुर थिमि सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।
    प्रतिवेदनमा मध्यपुर थिमि नगरपालिकाको बेरुजु ३ करोड ८० लाख १८ हजार रुपैंया रहेको उल्लेख छ, जुन भक्तपुरका अन्य पालिकाको तुलनामा सबैभन्दा कम हो । प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा धेरै बेरुजु चाँगुनारायण नगरपालिकाको रहेको छ । चाँगुनारायणको बेरुजु ५ करोड २१ लाख ९७ हजार रहेको महालेखाले जनाएको छ ।
    यसैगरी भक्तपुर नगरपालिकाको ४ करोड ४३ लाख ५६ हजार रुपैंया र सूर्यविनायक नगरपालिकाको ५ करोड ३ लाख ७८ हजार रुपैंया बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

     

  • लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

    भक्तपुर, जेठ १
    भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बोलकोटबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाँउपालिका–२ ओखरपौवा घर भई बालकोट डेरागरी बस्ने ३७ वर्षिय हरिनाथ कोईराला हुन ।
    कोईरालाले लागूऔषध विक्री वितरण गर्दछन भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
    प्रहरीले उनको साथबाट १ ग्राम ३२ मिलि ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । उनलाई लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।

     

  • लागूऔषधसहित पाँच जना पक्राउ

    भक्तपुर, जेठ १
    लागूऔषधसहित प्रहरीले बुधवार पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मध्यपुर थिमि–९, बोदेबाट पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका–८ घर भई हाल भक्तपुर बोदे बस्ने २५ वर्षिय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई हाल बोदे निलबाराही बस्ने २९ वर्षिय छिरीङ लामा, मध्यपुर थिमि नगरपालिका–९, बोदे बस्ने २५ वर्षिय अमिर बस्नेत, मध्यपुर थिमि नगरपालिका–७ धुन्चेपाखा बस्ने २१ वर्षिय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा बस्ने २७ वर्षिय विकास लामा रहेका छन ।
    उनीहरुलाई मध्यपुर थिमिको बोदे बस्ने स्वदेश राईको डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
    प्रहरीले उनीहरुको साथबाट लागूऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० पिस, स्टेगा १७३ पिस, पोलाण्ड ४६६ पिस, नगद ५ हजार र मोवाइल ३ थान बरामद गरेको जनाएको छ । सो सम्बन्धमा लागूऔषध कसुरमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी नेउपानले बताउनुभयो ।

     

  • सहचालकले मापसे गरी चलाएको बस घरभित्र छिर्यो

    भक्तपुर, बैशाख ३०
    भक्तपुरको मध्यपुर थिमि–९, निकोसेरामा मंगलवार राती सहचालकले मादक पदार्थ सेवन गरी चलाएको बस दुर्घटना भएको छ । सल्लाघारी दुवाकोट मोडबाट पुरानो थिमि तर्फ जाँदै गरेको बा. प. ०१–००६ ख ५९९८ नम्बरको भाडाको बस निकोसेरामा राती सवा दुई बजे दुर्घटना भएको हो ।
    तिब्र गतीमा गुडेको बस निकोसेराका स्थानीय सानुमाया धौबन्जारको चारतले पक्की घरमा ठोक्किएको हो । बसले धौबन्जारको घर अगाडि रहेको मन्दिरलाई पूर्णरुपमा क्षती गरेको छ भने घरको सटरमा समेत क्षती गरेको छ ।
    प्रहरीले बसका सहचालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका २० वर्षीय अनिल खत्रीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राति मापसे गरेर सहचालक खत्रीले बस लिएर हिंडेका थिए । बस र चालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

     

  • जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    भक्तपुर, बैशाख २७
    प्रहरी जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार मध्यपुर थिमि–३, गठ्ठाघरबाट ४ जना, मध्यपुर थिमि–१, लोहकिल्थलीबाट ७ जना र चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशीबाट ५ जनालाई शनिवार पक्राउ गरेको हो ।
    प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई पक्राउ गरेको हो । प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
    यसैगरी मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थली मनहरास्थित आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
    यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही गरिरहेको जनाएको छ ।

     

  • स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय क्रिकेट टोली घोषणा

    भक्तपुर, बैशाख २७
    नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्रिकेटका नवनियुक्त मूख्य प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली शनिवार १५ सदस्यीय टोली घोषणा गरेका हो ।
    टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्र मल्ल कप्तान हुँदा दिपेन्द्र उपकप्तान थिए । क्यानले अनुशासनको कारवाही गर्दै तत्कालिन कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्रलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि क्यानले सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो । उनी जबरजस्ती करणी सम्बन्धी मुद्दाका कारण निलम्वनमा परेपछि क्यानले रोहितलाई कप्तान बनाएको थियो ।
    टोलीमा विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् । अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।
    क्यानले लिग–२ को सिरिजपछि हुने टि–२०आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् ।
    नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल पनि रहेको छ । लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

     

  • ‘अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाइ केन्द्रको विकास’ सम्बन्धी एकदिने गोष्ठी लुम्बिनीमा सम्पन्न

    लुम्बिनी, बैशाख २७ गते ।
    नेपाल सामुदायिक सिकाइ केन्द्र परियोजना, लुम्बिनीको आयोजनामा हिजो ‘अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाइ केन्द्रको विकास’ सम्बन्धी एकदिने गोष्ठी लुम्बिनीको लंकापुरस्थित नेपाल सामुदायिक सिकाइ केन्द्र परियोजनामा सम्पन्न भएको छ ।
    परियोजनाका लुम्बिनी प्रमुख भिक्षु मैत्री महास्थविरले उद्घाटन गर्नुहुँदै उक्त केन्द्रबाट विभिन्न क्षेत्र लगायत विशेष गरी ग्रामीण क्षेत्रका विपन्न वर्गहरु लाभान्वित भइरहेकोले यसलाई अझ व्यापक र विस्तार गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
    शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक दिनेश घिमिरेले “साक्षारता, अनौपचारिक शिक्षा, जीवन पर्यन्त शिक्षा तथा सामुदायिक सिकाइ केन्द्रको विकास, विस्तार र प्रवर्धन विषयमा छलफल गर्ने” उदेश्यले सो गोष्ठीका आयोजना गरिएको जानकारी दिनुभयो ।


    सहभागीहरु मध्ये पकडी सिएलसिका सामाजिक परिचालिका भगवती पाठकले आफूकहाँ सिकाइ केन्द्रको भवन नभएका कारण स्थानीयहरुलाई केन्द्र कहाँ छ भनेर थाहा पाउन नसकेको, सामाजिक परिचालकहरुले तलव पाए नपाएको थाहा हुनुपर्ने, आफूहरुले गत साउन महिना देखि तलव नपाएको अवस्था, युनिफोर्मको व्यवस्था हुनुपर्ने, सिएलसि सक्रिय भएर कडा निगरानी राख्नु पर्ने सुझाव दिनुभयो ।


    गोष्ठीको दोश्रो सत्रमा ३ वटा समूहहरु बनाई सामूहिक छलफल गरिएको थियो । जसमा समूह ‘क’ मा पालिका प्रमुख, सामाजिक शाखा प्रमुखहरु बीच सिएलसिको दीगोपनाका लागि नीति तथा कार्यक्रमबारे छलफल गरी निश्कर्षहरु प्रस्तुत गरीएको थियो । त्यस्तै समूह ‘ख’ मा शिक्षा शाखा प्रमुखहरु बीच अनौपचारिक शिक्षा तथा वैकल्पिक शिक्षामा गर्दै आएका अभ्यासहरु र भविष्यका सम्भावनाहरुबारे तथा समूह ‘ग’ मा सामुदायिक सहभागीता, चुनौती तथा नवप्रवर्तनको विषयमा छलफल गरी राय सुझावहरु प्रस्तुत गरीएको थियो ।


    समूह ‘ख’ का प्रतिनिधिका रुपमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका लक्ष्मी पराजुलीले जनप्रतिनिधिहरुलाई सिकाई केन्द्रका बारेमा कमसेकम साधारण परिचय जानकारी भएपनि हुनैपर्ने र यसका लागि उनीहरुलाई तालिम, छलफल गर्नुपर्ने राय दिनुभयो ।
    त्यस्तै समूह ‘ग’ का तर्फबाट कपिलवस्तुका अरविन्द कुमारले सबै पालिकामा सिएलसि गठन गर्नुपर्ने, जसले त्यहाँ सबैको अनुभव साटासाट हुने र यसले सबैलाई फाइदा हुने बताउनुभयो ।
    उक्त गोष्ठीमा मर्चवारी गाउँपलिकाका अध्यक्ष ज्ञान प्रसाद बराइ, सिकाई केन्द्रका परियोजना संयोजक दिल बहादुर श्रेष्ठ, परियोजनाका कार्यक्रम अधिकृत शुक्र राज महर्जनलगायत गोष्ठीको औचित्य र उद्देश्यबारे बोल्नु भएको थियो ।
    मर्चवारी गाउँपालिकाका अध्यक्षलगायत विभिन्न पालिकाका सामाजिक शाखा प्रमुखहरु, शिक्षा शाखा प्रमुखहरुका साथै २५ वटा सामुदायिक सिकाइ केन्द्रका अध्यक्षहरु र सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।
    नेपाल सामुदायिक सिकाइ केन्द्र परियोजना २०५९ सालदेखि अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्र र जापानको युनेस्काको महासंघ ल्बतष्यलब िँभमभचबतष्यल या ग्ल्भ्क्ऋइ ब्ककयअष्बतष्यलल ष्ल व्बउबल ९ल्ँग्ब्व्० को संयुक्त रुपमा संचालन हुँदै आएको छ ।

  • कोप रापिड रेटिङ चेसको उपाधि रुपेशले जित्यो

    भक्तपुर, बैशाख २७
    नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको ९ चरणको खेलमा रुपेशले ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा उपाधि जितेको हो ।
    रुपेशले १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बिमा तथा नगद ४० हजार रुपैयाँसहित प्राप्त गरे । दुई दिन सञ्चालन भएको प्रतियोगितामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो भए ।
    एफएम क्षितिजले ७ लाख रुपैयाँ बराबरको आवधिक बिमा, २५ हजार रुपैयाँ नगद प्राप्त गरे । अन्य ८ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दस स्थानमा रहे । जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन् ।
    सिएम पुरुषोत्तम ५ लाख बराबरको जीवन बिमा र १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुयाल, भारतका आशुतोष कुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि दशौं स्थानमा रहे ।
    यसैगरी महिला विधा तर्फ ५.५ अंकमा शान्ति धिमाल विजयी भइन् । उनले ७ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो र सिन्दिरा जोशी तेस्रो भइन् ।
    उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बिमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जिते ।
    कार्यक्रममा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, फोटोग्राफर देवु राजवंशी, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, गुल्मीजी र हरिश्यामलाई सम्मान प्रदान गरिएको थियो ।
    यसैबीच विजेता खेलाडीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुरस्कार वितरण गरे । समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति थियो ।

     

  • एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक

    भक्तपुर, बैशाख २६
    अखिल नेपाल फुटबल संघ (एन्फा)ले ढिलो गरी सन् २०२५ का लागि वार्षिक कार्यक्रम र प्रतियोगिता समावेश गरी शुक्रवार क्यालेण्डर सार्वजनिक गरेको छ । एन्फाको शुक्रवार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न वार्षिक साधारणसभाले पारित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल र फुटसल प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
    एन्फाको सार्वजनिक क्यालेण्डर अनुसार आगामी जुन १० मा नेपालले लाओससँग एसियन कप छनोटको खेल खेल्ने छ । त्यसअघि हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
    सेप्टेम्बर १ देखि ९ सम्म मैत्रीपूर्ण खेलहरू हुनेछन् भने अक्टोबर ९ मा नेपालले भियतनामसँग र अक्टोबर १४ मा पुनः भियतनामसँग दोस्रो खेल खेल्नेछ । नोभेम्बर १८ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने मार्च ३१, २०२६ मा नेपालले लाओससँग खेल्ने तालिका छ ।
    महिला फुटबलतर्फ फिफा विन्डो अन्तर्गत मार्च ३१ – अप्रिल ८, मे २६ – जुन ३, अक्टोबर २० – २८ र नोभेम्बर २४ – डिसेम्बर २१ भित्र दुईवटा मैत्रीपूर्ण खेल र त्रिकोणात्मक प्रतियोगिता हुने उल्लेख गरिएको छ ।
    चिनियाँ नयाँ वर्षको अवसरमा फेब्रुअरी १० मा नेपाल र चीनबीच मैत्रीपूर्ण खेल हुनेछ । युवा स्तरमा २०२५ को साफ यू–१९ पुरुष च्याम्पियनसिप श्रीलंकामा मे ८ देखि १८ सम्म हुने छ ।
    त्यसैगरी साफ च्याम्पियनसिप २०२५ असार÷श्रावण महिनामा भारतमा आयोजना हुनेछ । उक्त प्रतियोगिता एएफसी एसियन कप २०२६, फिफा महिला विश्वकप २०२७ (ब्राजिल) र ओलम्पिक छनोट २०२८ (अमेरिका) को तयारीसँग पनि सम्बन्धित हुने एन्फाले जनाएको छ । साफ यू–२० महिला च्याम्पियनसिप २०२५ जुलाई १ देखि ११ सम्म बंगलादेशमा हुनेछ ।
    यस्तै अन्य प्रतियोगिताहरूमा एएफसी यू–२० महिला एसियन कप छनोट, एएफसी यू–१७ महिला तथा पुरुष एसियन कप छनोट, साफ यू–१७ महिला तथा पुरुष च्याम्पियनसिप, एएफसी यू–२३ एसियन कप (साउदी अरब, सेप्टेम्बर १–९) लगायतका मितिहरू समावेश गरिएको छ ।
    एन्फाले घरेलु फुटबल तथा फुटसल प्रतियोगिताहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार विभिन्न उमेर समूह, लिग तथा विद्यालयस्तरीय प्रतियोगिताहरूको आयोजनाको तयारी गरिएको छ ।
    एन्फाले सुरुमा एन्फा प्रेसिडेण्ट लिग २०२५ को आयोजना ५ जेष्ठदेखि २४ जेष्ठ २०८१ (१८ मे–७ जुन २०२५) सम्म गर्ने घोषणा गरेको छ । यो प्रतियोगितामा सातवटै प्रदेशका लिग च्याम्पियनहरू समावेश हुनेछन् । त्यसैगरी, एन्फा कप लिग कम नकआउट फुटबल च्याम्पियनसिप २० वैशाखदेखि ३ जेष्ठ २०८२ सम्म ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा सञ्चालन हुनेछ ।
    विद्यालय तहका खेलहरूमा पनि विशेष ध्यान दिइएको छ । यू–१४ र य–ू१७ पुरुष तथा यू–१४ र यू–१६ महिला अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगिता १० वैशाखदेखि १० जेष्ठ २०८२ सम्म देशभरिका ४९ जिल्लामा सञ्चालन गरिनेछ । त्यसपछि, जिल्ला विजेताबीच ५ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय प्रतियोगिता हुनेछ भने, त्यसपछि २२ असोजदेखि ३१ असोजसम्म राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।
    राष्ट्रिय लिग २०२५ को आयोजना १९ श्रावणदेखि १० असोज २०८१ (४ अगस्ट–२६ सेप्टेम्बर २०२५) सम्म गरिनेछ । त्यसबाहेक, क्लब स्तरका प्रतिष्ठित लिगहरूमा शहीद स्मारक ‘सी’ डिभिजन लिग ६ पुष २०८१ देखि १५ फाल्गुन २०८२ सम्म, ‘ए’ डिभिजन लिग १६ डिसेम्बर २०२५ देखि १४ जुन २०२६ सम्म, र ‘बी’ डिभिजन लिग ४ मार्च २०२६ देखि १४ मे २०२६ सम्म सञ्चालन हुनेछ । महिला तथा यूथ फुटबलमा पनि विविध कार्यक्रम समावेश गरिएको छ । महिला लिग २०२५ ७ सेप्टेम्बरदेखि २४ मंसिर २०८२ सम्म हुनेछ भने, महिला लिगको छनोट चरण १ असारदेखि १६ असारसम्म सञ्चालन हुनेछ । यसैगरी, यू–१४ र यू–१७ महिला लिग, यू–१६ र यू–१८ पुरुष लिग, तथा ललित स्मारक यू–१८ लिग समेत तालिकामा समावेश छन् ।
    फुटसलतर्फ हेर्दा, एन्फाले यो वर्ष पनि विशेष सक्रियता देखाएको छ । फुटसल लिग क्वालिफायर २०२५ को पहिलो राउण्ड २७ अप्रिलदेखि १५ मेसम्म, र दोस्रो राउण्ड २० मेदेखि ५ जुनसम्म सञ्चालन हुनेछ । यी चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ए डिभिजन फुटसल लिग (मध्य जुलाईदेखि मध्य अगस्ट २०२५) मा सहभागी हुनेछन् ।
    त्यसैगरी, एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप २०२५, २ नोभेम्बरदेखि २७ नोभेम्बरसम्म र महिला फुटसल च्याम्पियनसिप मंसिरको मध्यतिर आयोजना गरिनेछ । यी दुवै प्रतियोगिता काठमाडौंमा आयोजना गरिनेछ ।

     

  • इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

    भक्तपुर, बैशाख २४
    इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको मंगलवार राती सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लव बार्सिलोनालाई ३–४ गोल अन्तरले पराजित गरेको इन्टर समग्रमा ७–६ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
    यी दुई टोलीबीच बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । मंगलबार निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
    खेलमा बार्सिलोनाले २ गोलले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै एक पटक अग्रता समेत बनाएको थियो । तर खेलको अन्त्यतिर गोल गर्दै बराबरी गर्न सफल इन्टरले अतिरिक्त समयमा १ गोल थप्दै जित निकाल्न सफल भएको थियो ।
    खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । काउन्टर अट्याकमा डेन्जल डम्फ्रिजले अघि बढाएर दिएको पासलाई मार्टिनेजले सहजै गोलमा परिणत गरे ।
    पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाउ कुबार्सीले मार्टिनेजलाई लडाएको देखिएपछि रेफ्री सिमोन मार्चिनियाकले पेनाल्टी दिएका थिए ।
    दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।
    ८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनको पहिलो प्रहार गोलरक्षक सोमरले विफल पारेपनि रिवाउन्डलाई राफिन्हाले गोलमा परिणत गरे ।
    इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । खेलको ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई उपाधि नजिक पुर्याए ।
    बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन खेल्नेछन् । पहिलो लेग पिएसजीले १–० ले जितेको थियो । फाइनल मे ३१ मा हुनेछ ।