भक्तपुर, जेठ ६
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको मंगलवार उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्य अनुसार यस नगर अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसलहरु सञ्चालन गर्न दिन नहुने धारणा व्यक्त गर्दै उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरुको चर्चा गर्दै नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अन्य कार्यहरुको अतिरिक्त हरेक वर्ष एउटा नगर स्तरीय महत्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्य अनुरुप काम गर्दै आएको बताउनुभयो ।
स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह अधिकार सम्पन्न भएमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मान्यता रहेको बताउँदै उहाँले देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो भन्ने मान्यतालाई आत्मसात गर्दै जनप्रतिनिधिहरुको क्षमताले भ्याएसम्म भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्चप्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुर नरपालिकाका उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोग विना भक्तपुरको विकास सम्भव नभएको बताउँदै जनतालाई निर्वाचनको समयमा दिएको वाचा अनुसार भक्तपुर नपाले घोषणा पत्रलाई आधार बनाई काम गर्दै आएको बताउनुभयो ।
सहप्राध्यापक विश्व मोहन जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले धेरै उपलब्धीमूलक कार्यहरु गर्दै आएको बताउँदै भक्तपुर कृषि प्रधान नगर भएको हुँदा उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई जोड दिनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यान, एमआरआईजस्ता सुविधाहरु थप्दै लानुपर्ने सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप कलेज अफ इन्जिनियरिङमा स्थापनाकालदेखि हालसम्म २ हजार ७६९ विद्यार्थी भर्ना भई अध्ययन गरेकोमा हालसम्म १ हजार ५६४ विद्यार्थीहरुले अध्ययन पूरा गरिसकेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा फड्को मारिसकेको बताउँदै कम शुल्कमा गुणस्तरीय सेवा नै ख्वप अस्पतालको प्रतिबद्धता हो भन्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले ख्वप कलेज अफ ल सञ्चालन प्रारम्भ भएको ३ वर्ष अवधिमा वर्षको ६० जनाको दरले १८० जनाविद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै ल कलेजमा हाल ४२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो ।
ख्वप माविका प्रिन्सिपल लक्ष्मी प्रसाद कर्माचार्यले ख्वप मा.वि. को प्रगति प्रतिवेदन सुनाउँदै कलेज स्थापनादेखि हालसम्म २५ हजार ५३३ जना विद्यार्थीहरुले अध्ययन गरिसकेको र हरेक वर्ष रु. १ करोड ३० लाखभन्दा बढी रकम छात्रबृत्ति पनि वितरण गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु. ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तम प्रसाद मधिकर्मीलाई रु. ३ लाख, वडा नं. ५ कामनिषा साखलाई रु. १ लाख ४ हजार ५९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु. २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं. ५ का राधेश्याम तुल्सी बाख्योलाई रु. १ लाख २१ हजार १७०, वडा नं. ९ का शिव प्रसाद श्रेष्ठलाई रु. १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई रु. ३ लाख गरी कुल १४ लाख ७५ हजार १४४ रुपैयाँ रुपैंया बराबर काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।
साथै प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई र ३० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई कदर–पत्र र दीर्घ सेवा सम्मान गर्नुभयो ।
Blog
-
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा
-
चौंधौं शताब्धीको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण
भक्तपुर, जेठ ६
भक्तपुर नगरपालिकाले करिव ७ सय वर्ष पुरानो लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण गरेको छ । गःहिटीस्थिती उक्त लक्ष्मीनरसिंह मन्दिर वि. सं. १९९० सालको महाभुकम्पले पूर्णरुपमा क्षती भएको थियो ।
१४ औं शताब्धीको उक्त मन्दिर भक्तपुर नगरपालिकाले ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि ७ करोड ७७ लाख लगत इस्टमेट पारित गरेको थियो ।
मन्दिरको मंगलवार उद्घाटन तथा शिलापत्र अनावरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन समेत सार्वजनिक गर्नुभयो ।
सो अवसरमा अध्यक्ष बिजुक्छेंले जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको बताउनुभयो ।
कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्प पूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौं सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै उहाँले ‘भक्तपुरको महत्वपूर्ण सम्पदा संरक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक हो,’ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर भव्य रुपमा पुनःनिर्माण हुनुले भक्तपुरबासीकै गौरव बढाएको बताउँदै ऐतिहासिक प्रमाणको अभावमा पनि भक्तपुर नगरपालिकाले यस मन्दिरलाई मौलिक स्वरुपमै पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले उपत्यकाका मौलिक शैली जीवित राख्ने अभियानमा भक्तपुर नपा पनि अग्रसर भएर लागिरहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन सँगै देशको आर्थिक विकासमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गर्दै विनासकारी भूकम्पले सम्पदामा क्षति पु¥याए पनि जनताले यसलाई पुनः पुरानै शैलीमा पुनःनिर्माण गर्नु पनि ठूलै उपलब्धी भएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताउनुभयो ।
उहाँले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको बताउँदै सम्पदाहरुको समय सापेक्ष ढंगले जीर्णोद्धार र मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै उहाँले बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउनुभयो ।
लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणको काममा संलग्न हुन पाउनु आफैमा गौरवको विषय हो भन्दै लक्ष्मीनरसिंहको पुरानो मन्दिरको सीमित जानकारी बीच पनि अन्य मन्दिर अध्ययन अनुसन्धान गर्दै यसको प्राविधिक कार्य अगाडि बढाइएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगढबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटन पूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो । -
काँक्राबारीको अवैध प्लटिङले २२ रोपनी सामूदायिक वन अतिक्रमण गरेको निष्कर्ष
भक्तपुर, जेठ ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीमा निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले शुरु गरेको अवैध जग्गा प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको जग्गा र सामुदायिक वन अतिक्रमण गरेको पाईएको छ ।
प्लटिङ क्षेत्रमा नापी कार्यालय र डिभिजन वन कार्यालय भक्तपुरले गरेको स्थलगत अवलोकन एवम् नाप जाँचको प्रतिवेदनले उक्त अवैध प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको ६–७–०–० रोपनी जग्गा र २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरेको पाईएको हो ।
निक भुजिकिकले प्लटिङ्गको कार्य गर्दा सम्बन्धित निकायबाट कानून बमोजिम प्राप्त गर्नुपर्ने स्वीकृति प्राप्त नगरेको तथा सरकारी वन तथा सार्वजनिक जग्गा समेतमा डोजर लगाई अतिक्रमण गरेको भन्ने समेतको विषयमा प्राप्त गुनासो तथा सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु तथा सम्बन्धित विषयगत निकायका जिल्लास्थित कार्यालय प्रमुखको संयुक्त टोलीले गत बैशाख २१ गते स्थलगत निरिक्षण गरेको थियो ।
सोही क्रममा प्रजिअ गोपाल प्रसाद अर्यालले तत्कालको लागि प्लटिङको कार्य स्थगित गर्न निर्देशन दिएको थियो । साथै नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय र सूर्यविनायक नगरपालिका, डिभिजन वन कार्यालयलाई विना स्वीकृति जग्गा प्लटिङ्ग गरेको तथा वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण उपलब्ध गराउन, प्रचलित कानून विपरित भएगरेका सम्बन्धमा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाई ७ दिनभित्र सोको जानकारी जिल्ला प्रशासन कार्यालय, भक्तपुरलाई उपलब्ध गराउन गत बैशाख २४ गते पत्राचार गरिएको थियो ।
प्रजिअ अर्यालको निर्देशनमा नापी कार्यालय भक्तपुरले तयार गरेको प्रतिवेदनमा प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको ६–७–०–० रोपनी जग्गा अतिक्रमण गरेको उल्लेख छ । यस्तै डिभिजन वन कार्यालयले २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरेको प्रतिवेदन बुझाएको हो
यसैगरी निक भुजिनिकले जग्गा प्लटिङ्गको कार्य गर्दा काठमाडौँ उपत्यका विकास प्राधिकरण, अनामनगरबाट स्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति प्राप्त गरी नसकेको व्यहोरा जिल्ला आयुक्तको कार्यालय, भक्तपुरको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सोमवार प्रजिअ अर्यालयको संयोजकत्वमा बसेको सर्वदलिय बैठकले वन क्षेत्रमा भएको अतिक्रमण मुक्त गर्नको लागि सम्बन्धित नापी कार्यालयबाट निर्धारण भए बमोजिमको सीमांकनमा पुनः अतिक्रमण हुन नसक्ने गरी सूर्यविनायक नगरपालिकाको रेखदेख तथा प्राविधिक सल्लाहमा मजबुत खालको घेराबार÷पर्खाल प्राविधिक हिसाबले जे उपयुक्त हुन्छ सो व्यवस्था निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले उक्त जग्गा प्लटिङ्गको कार्य भएको तल्लोपट्टि रहेको वस्ती समेतको क्षेत्रमा सो अनधिकृत प्लटिङ्गको कारण सिर्जित प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि मात्र मजबुत खालको पर्खाल समेतको उपयुक्त संरक्षण संरचना निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल निर्माण गरी तल्लो क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई आश्वत पार्ने कार्य गर्नुपर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
उक्त कार्यको अनुगमन प्रयोजनको लागि सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा वडा नं. ९ का वडाअध्यक्ष, जिल्ला आयुक्त कार्यालयका इन्जिनियर, डिभिजन वन कार्यालय, काक्राबारी भित्रि सामुदायिक वन उपभोक्ता समुह र स्थानीय बासिन्दाको प्रतिनिधि रहने अनुगमन टोली समेत गठन गर्ने निर्णय भएको प्रजिअ अर्यालले बताउनुभयो । -
नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल
भक्तपुर, जेठ ५
नेपाल पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको छ । विश्वकप एसिया क्वालिफायर अन्तर्गत सुपर थ्रीको सोमवार सम्पन्न खेलमा चिरपरिचित प्रतिद्धन्द्धी संयुक्त अरव इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको हो ।
जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौति पछाएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर राजमति ऐरी ८ रनमा र सम्झना खड्का २१ रनना आउट भए । आश गरिएकी कविता कुँवर यो खेलमा पनि क्रिजमा टिक्न सकिनन् । उनी मात्र ५ रनना आउट हुन पुगिन् । ३८ रन जोड्दा नेपालले पहिलो क्रमका तीन खेलाडी गुमाएको थियो ।
यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतो क्रिजमा थिए । तर यी दुईले पनि ठुलो साझेदारी गर्न सकेनन् । चौथो विकेटको लागि २४ रनको साझेदारी गर्दै पुजा १३ रनना पेभेलियन फर्किन् ।
पुजा आउट भएपछि पुर्व कप्तान रूबिना क्षेत्रीले इन्दुलाई साथ दिइन् । यी दुईले पाँचौं विकेटको लागि ३७ रनको साझेदारी गरेर नेपालको जितको आधार खडा गरे । रुबिना १८ बलमा ३ चौका सहित २३ रन जोडेर आउट भईन् ।
कप्तान इन्दुले यो खेलमा पनि सुझबुझपुर्ण प्रदर्शन गरिन् । उनी अविजित ३० रनमा रहँदै नेपाललाई जित दिलाउन सफल भईन् ।
बलिङ्मा युएईका लागि मिसेल बोथा, सुरक्षा कोथे, वैश्नवी महेश र इशा ओजाले १÷१ विकेट लिए ।
यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो ।
ओपनरद्वय इशा ओजा र थ्रीता सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे । थ्रीता २१ रनमा राजमति ऐरीको बलमा आउट भइन् । पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपर्यो ।
इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन् । यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए ।
बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन् । कविता कुँवरले २ र राजमतिले १ विकेट लिइन् ।
नेपाली महिला टिमको यो ऐतिहासिक सफलता हो । नेपाल ग्लोबल क्वालिफायरमा पुगेको यो पहिलो पटक हो । एसिया छनोटको सुपर थ्रीमा आज नेपालले युएईलाई ५ विकेटले हरायो । -
सानोथिमि क्याम्पस स्ववियू अध्यक्ष ठगुन्नाले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
भक्तपुर, जेठ ४
सानो थिमि क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना क्याम्पस प्रमुख माधवकुमार श्रेष्ठको कार्यकक्षमा तोडफोड गरेका छन । गत जेठ २ गते क्याम्पसमा भएको झडको विषयमा छलफल गर्न र सिसि टिभी फुटेज हेर्न गएका स्ववियू अध्यक्ष ठगुन्नासहितको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको हो ।
ठगुन्नाको नेतृत्वमा रहेको ७÷८ जनाको समूहले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको सिसि क्यामराको मनिटर फुटाउनुका साथै सो मनिटर राख्ने टेबलसमेत तोडफोड गरेका छन ।
स्रोतका अनुसार गत जेठ २ गते स्ववियू अध्यक्ष ठगुन्ना र स्ववियू सचिव दिक्पाल कार्कीबीच हात हालाहाल भएको थियो । क्याम्पस हाताभित्र त्रिकेट खेल्ने क्रममा विवाद हुँदा स्ववियू सचिव कार्कीले ठगुन्नामाथि हातपात गरेको थियो ।
कार्कीको कुटपिटबाट ठगुन्नाको बाँया निधार सुनिएको, दाहिना हालमा भित्री चोट लागेको, टाउको पछाडी पनि चोट लागेको र दाँतबाट रगत बगेको थियो । ठगुन्नाको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भएको थियो ।
सोही घटनाको सिसि फुटेज हेर्न र क्याम्पस प्रमुखसँग छलफल गर्न ठगुन्ना ७÷८ जनाको समूह लिएर क्याम्पस प्रमुख श्रेष्ठको कार्यकक्ष पुगेका थिए । छलफलका क्रममा ठगुन्नाले जेठ २ गतेको सिसि टिभि फुटेज हेर्न पाउनु पर्ने माग राखेका थिए । तर क्याम्पस प्रमुखले सिसि टिभि बिग्रीएको बताएपछि आक्रोशित भएका ठगुन्नाको समूहले सिसि क्यामराको मनिटर फुटाउनुका साथै सो मनिटर राख्ने टेबलसमेत तोडफोड गरेको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार स्ववियू ठगुन्नालाई कुटपिट गर्ने कार्की समूह भने फरार छन । घटनाको बारेमा प्रहरीले छानविन गरिरहेको स्रोतले जानकारी दिएको छ । प्रहरीले कुटपिट र तोडफोड गरी दुई वटै घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत चैतमा सम्पन्न स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए । सोही गठबन्धनबाट अखिल क्रान्तिकारीका ठगुन्ना स्ववियू अध्यक्ष र नेविसंघका कार्की स्ववियू सचिवमा उम्मेदवार भई निर्वाचित भएका थिए । -
बि डिभिजनमा मध्यपुर युथको चौंथो जित, टर्यो रेलिगेसन
भक्तपुर, जेठ ४
मध्यपुर युथ एशोसियसनले बि डिभिजन लिगमा चौंथो जित निकालेसँगै रेलिगेसन खतरा टरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आइतवार सम्पन्न खेलमा मध्यपुर युथले बाँसबारी क्लवलाई १–० ले पराजित गर्दै रेलिगेसन खतरा टरेको हो ।
मध्यपुर युथको जितमा साहिल केसीले खेलको ६५ औं मिनेटमा गोल गरे । खेलमा थप गोल नभएपछि साहिलको गोल निर्णायक बनेको हो ।
जितसँगै मध्यपुर युथको १२ खेलबाट १५ अंक पुगेको छ र यसपटक बि डिभिजनको सिट सुरक्षित राख्न सफल भएको छ । मध्यपुर युथ अंक तालिकाको ठ औं स्थानमा उक्लेको छ । पराजित भएको बाँसबारीको पनि समान खेलबाट १५ नै अंक रहेको छ र अंक तालिकाको ८ औं स्थानमा रहेको छ । -
लुम्बिनीमा आज हावाहुरीका साथ पानी पर्नाले शीतलताको अनुभव
लुम्बिनी, जेठ २ गते ।
लुम्बिनीमा आज दिउँसो तेज हावाहुरीका साथ पानी परेको छ ।
विगत केही दिनदेखि प्रचण्ड गर्मीले जनजीवन कष्टकर भइरहेको थियो । वायुको तापक्रम ४० डिग्री नाघिरहेको अवस्थामा दिउँसो ३ बजेतिर अचानक हावाहुरीका साथ पानी पर्नाले यहाँको तापक्रम केही मात्रामा घटेको छ । जसले यहाँका स्थानीयवासीले केही राहतको महसूस गरेका छन् । -
अधुरो किरियापुत्री भवनको निर्माण पुरा गर्न गटठ्ठाघरमा महायज्ञ
भक्तपुर, जेठ १
अधुरो किरियामुत्री भवन निर्माणका लागि मध्यपुर थिमि–३, गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म गरिने किरिया कर्मका लागि निर्माण शुरु गरिएको पितृमुक्ति भवनको निर्माण कार्य आर्थिक अभावका कारण बन्द भई अधुरो भएपछि उक्त भवनलाई पुरा गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञ यही जेठ ४ गतेदेखी शुरु हुने बिहिवार गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महायज्ञ आयोजक सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको जानकारी दिनुभयो । जेठ ४ देखि सुुरु हुने महायज्ञमा मञ्जरी राधिका दाशीले कथावाचन गर्नुहुने उहाँले बताउनुभयो । श्रीमतद् भागवत महायज्ञ जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।
“किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,” उहाँले भन्नुभयो । महायज्ञ सफल पार्न विभिन्न १७ वटा उपसमिति बनाएको उहाँले बताउनुभयो ।
वि. सं. २०६९ सालमा लगाएको पुराणबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । “भवन निर्माण गर्न धेरै समाजसेवीहरुसंग सहयोग संलकन ग¥यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्येश्यले पुनः महायज्ञ लगाउनु परेको हो,”सुवेदीले भन्नुभयो । महायज्ञबाट दुई करोड भन्दा बढी संकलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
महायज्ञबाट उठेको रकमबाट बहुउद्देशीय भवन बनाउन सफल हुने र त्यसका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न दाताहरु आतुर रहेको उहाँले बताउनुभयो । “दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएका छौं,” उहाँले भन्नुभयो ।
पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकुरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । “अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,” उहाँले भन्नुभयो, “ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो । -
नक्कली कागजपत्र बनाउने गिरोह पक्राउ
भक्तपुर, जेठ १
सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई उनीहरूलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर काठमाण्डौंको तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन् ।
पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णकुमार आचार्यले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका समूहले काठमाण्डौ तारकेश्वर–७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात बनाउन र डिजाइन गर्नका लागि दुइ जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतले बताउनुभयो ।
उनीहरुले डिपेन्डेट भिसा प्रयोजनका लागि विवाहित प्रमाणपत्र समेत बनाई दिने गरेको खुल्न आएको छ । बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको साथै जापानमा विद्यार्थी भिसामा जानेहरुको लागि सहकारी संस्थाका कागजपत्र बनाएर कुरियर मार्फत जापान पठाइ दिने गरेको समेत खुल्न आएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको एसपी आचार्यले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न संस्थाको नाममा तयार पारेको शैक्षिक प्रमाणपत्र, सरकारी निकायका कागजपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमति पत्र, विवाहित प्रमाणपत्र, कम्युटर, ल्यावटप, स्ट्याम्पहरु बरामद गरेको जनाएको छ । -
लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
भक्तपुर, जेठ १
लागूऔषधसहित मध्यपुर थिमि नगरपालिका–६, सिद्धिकाली चोकबाट प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धिकालीमा डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का २३ वर्षिय दिनेश लामा र सर्लाही लालबन्दी नगरपलिका–१ का १८ वर्षिय सागर लामा रहेका छन ।
दिनेशले लागूऔषध विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिनेशको कोठामा खानतलासी गर्ने क्रममा लागूऔषध ट्रामानिल ४५१ पिस, १० एमजीको नेट्जाकेयर एक हजार १९० पिस, १० एमजीकै नेट्राभेट ७२ पिस, पोल्याण्ड भनी चिनीने लागुऔषध गाँजा जस्तो ८४० ग्राम, खैरो हिरोईन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम, मोबाइल २ वटा र नगद ७ हजार रुपैंया बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
सो सम्बन्धमा पक्राउ परेका दुवै जनालाई लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।


