Blog

  • सिथि नखः पर्व मनाउँदैं नेवार समुदाय

    लक्ष्मी गारु, भक्तपुर, जेठ १८
    जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात नेवार समूदायले वर्षभरीको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व आज मनाउँदैंछन ।
    सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाईं) शुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइन्छ ।
    भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन नेवार समूदाय कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी –(भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ ।
    सिथि नखःको दिन नेवार समूदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन । वर्षातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दुषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।
    सिथि नखःको दिन किसानहरुले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एका बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरि सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने धार्मिक मान्यता रहेको छ ।

    नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । देवी देवताहरु मध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रोपाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको प्रा. डा. श्रेष्ठ बताउँछन ।
    नेवार समूदाय कला सँस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन । तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन । नेवारीमा प्रचलित एउटा भनाई, “मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः” अर्थात “मान्छे मरे घुमले छोपेर भएपनि पहिला धान रोपाईं सक्नुपर्छ” भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा. डा. श्रेष्ठको कथन रहेको छ ।
    धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाईंलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समूदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ । साथै नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटीहरु खाने चलन समेत रहेको छ ।
    यस दिन बारा, चटामरी, म्हुछ्यामढी लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । साथै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाईन्छ ।

  • नविन्द्र राज जोशी स्मृति बुद्धिचालमा रिसोन थापा प्रथम

    भक्तपुर, जेठ १७
    काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन् ।
    काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिसोन थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेको हो ।
    पाँच राष्ट्रका १६ विदेशी खेलाडी सहित १५४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा रिसोनले ८.५ अंक जोडेर उपाधिसँगैं नगद २५ हजार, ट्रफि र गोल्डमेडल प्राप्त गरे ।
    १० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिजमेण्ट टाइमिङ्ग थपिने ¥यापिड चेस प्रतिस्पर्धामा नेपाल कै प्रेमकृष्ण महर्जन र भारतका शुभम् कुमारले समान ७.५ अंक बनाए । ९ चरणको खेलमा प्रेमकृष्ण महर्जनले डाइरेक्ट इन्काउण्टर र बुकोल्ज्स् ५२ टाइब्रेक प्वाइन्टको आधारमा दोश्रो स्थान ओगट्न सफल बने । प्रेमकृष्णले नगद पुरस्कार रु. १५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।


    भगलपुर चेस एकेडेमी, भारतका शुभम् कुमारले उत्कृष्ट खेल मार्फत ७.५ अंक बटुल्दै बुकोल्ज्स ४५ प्वाइन्टका आधारमा तेस्रो स्थान ग्रहण गरे । भारतका शुभम कुमारले नगद १० हजार, ब्रञ्ज मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    काठमाण्डौंको इटुम्हाल चोकमा सम्पन्न प्रतियोगितामा आठ जना खेलाडीले समान ७ अंक जोडेर रोमाञ्चक नतिजा निकालेका थिए । नेपालका बिजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान प्राप्त गर्दै नगद. ७ हजार हात पारे । यस्तै नेपालका सुरज सिंले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट बनाएर नगद ६ हजार जिते ।
    यसैगरी फिलिपिन्सका खेलाडी लाउरोन जोन पाउल छैटौं, नेपालका मिसन दहाल सातौं, सिएम भगवती प्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं स्थानमा रहँदै जनही नगद ५÷५ हजार पुरस्कार प्राप्त गरे ।
    प्रतियोगितामा विधागत पुरस्कार तर्फ उत्कृष्ट कोशी प्रदेशका महेन्द्रकुमार साम्बाहाम्फे, मधेश प्रदेशका सुशील चौधरी, बाग्मती प्रदेशका पुरुषोत्तम दुवाल, गण्डकी प्रदेशका सुरजकुमार गैरे, लुम्बिनी प्रदेशका मिलनकुमार रोक्का, कर्णाली प्रदेशका निस्तम मल्ल र सुदुरपश्चिम प्रदेशका जनकराज जोशीले जनही नगद. ४÷४ हजार पुरस्कार जिते ।
    स्थानीय तर्फ नरेश स्थापित प्रथम र शुभनदीप थापा द्वितीय, अनरेटेड तर्फ राजेश राई प्रथम र इङ्ल्याण्डका खेलाडी जोसेफ इनल द्वितीय, सिनियरतर्फ जनार्दन श्रेष्ठ प्रथम र आशानारायण लवट द्वितीय बने ।
    यस्तै १८, १७, १६ रेटिङ्ग मुनि क्रमशः हर्कबहादुर चोङ्वाङ्ग, गोविन्द खड्का र उज्वल दहाल उत्कृष्ट भए । साथै यपा १८, १६, १४ र १२ वर्ष मुनि क्रमशः सम्उक श्रेष्ठ, आदित्य गजुरेल, कसिभ कार्की र दिपन मैनाली उत्कृष्ट ठहरिए ।
    महिला तर्फ उत्कृष्ट बन्दै शान्ति धिमाल प्रथम भईन भने सिन्दिरा जोशीले द्वितीय पुरस्कार हात पारिन ।

     

  • नेपाल थाइल्याण्डसँग पराजित

    भक्तपुर, जेठ १७
    फिफा वरियतामा ५२ स्थान माथिको थाइल्याण्डसँग नेपाली महिला फुटबल टोली शुक्रवार १–० ले पराजित भएको छ । बलियो थाइल्याण्डसँग नेपालले दोस्रो हापमा गोल खाँदै पराजित हुन पुगेको हो । यो अनौपचारिक मैत्रीपूर्ण खेल हो ।
    खेलमा घरेलु टोली थाइल्याण्डलाई नेपालले बलियो चुनौती पेश गरेको थियो । थाइल्याण्डमा क्लोज डोरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
    नेपालले अब सोमवार थाइल्याण्डसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ । सो खेल भने फिफा विण्डो अन्तर्गत ओपन डोरमा औपचारिक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको रुपमा रहनेछ ।


    यी दुई मैत्रिपूर्ण खेलको लागि व्यवसायीक लिग खेलिरहेका सावित्र भण्डारी (साम्बा) र रेखा पौडेल सीधै थाइल्याण्ड पुगेका थिए । कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पुजा राना भने नेपाल आएर थाइल्याण्ड गएका हुन् ।
    यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप खेल्न लागेको हो । छनोट मे ४ देखि सुरू हुनेछ । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ ।
    ३४ टिमहरूलाई छ वटा समूहमा चार–चार टिम र दुई वटा समूहमा पाँच–पाँच टिम गरी विभाजन गरिएको छ । छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन् ।
    आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन, कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन् ।

     

  • पाकिस्तान राजदूतावासमा निबन्ध र वक्तृत्वकला प्रतियोगिता

    भक्तपुर, जेठ १६
    काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गरेको १२ औं निबन्ध लेखन प्रतियोगिता तथा ८औँ वार्षिक वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई बिहीबार पुरस्कार वितरण गरिएको छ ।
    ‘कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य’ विषयको निबन्ध प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, आयुष शाह द्वितीय र सेंट जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका थिए ।
    यसैगरी ‘किताब वा प्रविधिः सिकाइको भविष्य’ विषयको वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान संस्थानकी प्रप्ता लम्साल प्रथम, काठमाण्डौंको शिवपुरी कलेजकी रित काफ्ले द्वितीय, र जावलाखेलस्थित सेंट जेभियर्स स्कुलका ऋतेश देव तृतीय भएका थिए ।


    प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्तले स्वर्ण, रजत र कांस्य पदकका साथै सम्मानपत्र र नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । साथै निबन्ध प्रतियोगिताका थप १० जना र वक्तृत्वकलाका १२ प्रतिस्पर्धीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो ।
    दुवै प्रतियोगितामा नेपालभरका करिब ४० वटा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूबाट उल्लेखनीय संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको पाकिस्तानी दुतावासले जनाएको छ । प्रतियोगिता दुई साता लामो चरणबद्ध प्रकृयामा सम्पन्न भएका थिए ।
    पुरस्कार वितरण कार्यक्रममा डा. दत्तले पाकिस्तानले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा पु¥याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै त्यसले दुई देशका युवाहरूलाई साझा मूल्य र जिम्मेवार विश्वनागरिकका रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयो ।


    पाकिस्तानका नेपालस्थित राजदूत अबरार एच. हाश्मीले विद्यार्थीहरूले जटिल विषयमा देखाएको आलोचनात्मक सोचप्रति प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताहरूले युवालाई बदलिँदो विश्वका अवसर र चुनौतीहरूमा सजग बनाउने विश्वास व्यक्त गर्नुभयो ।
    पाकिस्तानी दुतावासले पछिल्ला १२ वर्षदेखि निबन्ध तथा ८ वर्षदेखि भाषण प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्दै आइरहेको छ ।

     

  • बागमती प्रदेशस्तरीय करातेमा सूर्यविनायक नगरपालिका प्रथम

    भक्तपुर, जेठ ११
    बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिका प्रथम भएको छ । सूर्यविनायक ५ स्वर्ण र एक रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
    प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो भने काठमाण्डौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो ।
    पुरुषतर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो ।
    प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराते संघको आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो ।
    कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए । सहभागी नगरपालिकाहरूमा मध्यपुर थिमि, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाण्डौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेललगायतका नगरपालिका र बागमती गाउँपालिकाको सहभागिता रहको थियो ।


    प्रतियोगितामा पुरुषतर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्मको तौल समूहमा भएको थियो । साथै महिला–पुरुष व्यक्तिगत काता तथा टिम काता पनि समावेश गरिएको थियो ।
    प्रतियोगिताका सम्पूर्ण खेलहरू वल्र्ड कराते फेडेरेसन (डब्लुकेएफ), एसियन कराते फेडेरेसन (एकेएफ) र नेपाल कराते फेडेरेसन (एनकेएफ)को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो ।
    कार्यक्रममा कराते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा संघका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो । सूर्यविनायक नगरपालिकाको अग्रसरता, खेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ ।
    प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो भने खेलको शुरुवात बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो । समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामा, सूर्यविनायक नगरापालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्रीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

     

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवालाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने नगर प्रमुख श्रेष्ठको प्रतिवद्धता

    भक्तपुर, जेठ १०
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवालाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने बताउनुभएको छ ।
    कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र काङबुक सामसुङ अस्पतालको निमन्त्रणामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा चिकित्सा सेवा क्षमता विकास तथा नयाँ परियोजनाबाट पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न तालिम तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरि शुक्रवार स्वदेश फर्कनुभएका नगर प्रमुख श्रेष्ठले त्यहाँ सिकेका कुरालाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यान्वयन गरी अस्पताललाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने बताउनुभएको हो ।


    उहाँले दक्षिण कोरियामा प्राथमिक स्वास्थ्य उपचार सेवा, बिमा र अस्पतालमा चिकित्सा सेवा अत्यन्त ब्यवस्थित तथा नागरिक मैत्री रहेको पाएको बताउनुभयो ।
    “दक्षिण कोरियामा प्राथमिक स्वास्थ्य उपचार सेवा, विमा र अस्पतालमा चिकित्सा सेवा अत्यन्त ब्यवस्थित तथा नागरिक मैत्री रहेको पायौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि भ्रमणका क्रममा सिकेका थप सेवा नागरिक मैत्री र ब्यवस्थित गरि सञ्चालन गर्न यो वर्ष काम गर्ने गरी अगाडी बढ्ने छौ,” उहाँले भन्नुभयो ।


    उहाँले मध्यपुर थिमि नगरवासी थप सेवा र सुलभ चिकित्सा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।
    नगर प्रमुख श्रेष्ठको नेतृत्वमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. डि के रौशान, अस्पतालका प्शासन प्रमुख सरिता श्रेष्ठ, अर्थ मन्त्रालयका प्रतिनिधिसहितको टोली गत जेठ २ गते साताव्यापी भ्रमणका लागि दक्षिण कोरिया जानुभएको थियो । टोली जेठ ९ गते शुक्रवार स्वदेश फर्किएको हो ।

  • हनी ट्रयापमा पारी काठमाण्डौंमा घर–जग्गा माग गर्ने दुई महिला पक्राउ

    भक्तपुर, जेठ ८
    हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।
    उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधवार साँझ काठमाण्डौं महानगरपालिका–११, हनुमानस्थानबाट पक्राउ गरेको हो ।
    प्रहरीका अनुसार र चौगुठीले एक सरकारी कर्मचारीलाई हनी ट्रयापमा पारी ५ लाखको बैंक चेक लिएका थिए । उनीहरुले ती सरकारी कर्मचारीसँग काठमाण्डौंमा एउटा घर वा चार आना जग्गा माग गरी ब्लाकमेल गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनुभयो ।
    घटना विवरण अनुसार गत चैतमा ‘टिकटक गर्ल’को नामबाट एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । सुन्दर युवतीको तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै स्विकार गर्छन् ।
    फेसबुकमा साथी बनेको एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ– हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन– हेल्लो । हाई–हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । ती सरकारी कर्मचारीले सहमति जनाउँछन् ।उनीहरूको ठमेलमा भेट्छन र कफी खाएर छुट्टिन्छन् ।
    त्यसको एक सातापछि ‘टिकटक गर्ल’ले ठमेलमा खानपिन गर्ने प्रस्ताव गर्छन । ती सरकारी कर्मचारीले त्यसलाई स्विकार गरेर ठमेल पुग्छन । उनीहरुले खानासँगै मदिरा पनि पिउन थाल्छन । सरकारी कर्मचारीलाई बिस्तारै मदिराको नशा चढ्न थाल्छ । पिउँदापिउँदै सरकारी कर्मचारी अचेत हुन्छ । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।
    करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो त्यसलाई पनि स्विकार गर्छन । फेसबुकमा साथी बनेको केही बेरमा सरकारी कर्मचारीको म्यासेन्जरमा ठमेलमा सँगै मदिरा पिएका युवतीसँगै अर्धनग्न अवस्थामा खिचेका फोटा, भिडिओ उनको म्यासेजमा आउँछ र काठमाण्डौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्ल्याकमेलिङ शुरु हुन्छ ।
    ‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।
    त्यसपछि सरकारी कर्मचारको सम्पर्कमा दुई युवाहरु आउँछन । एक जनाले धम्काउने र अर्को सम्झाएर मिलाउने प्रयास थाल्छन । उनीहरुले सरकारी कर्मचारीलाई रकममा भए पनि केस मिलाउँ नत्र गाह्रो हुन्छ भन्दै फकाउँछन् ।
    फोटा, भिडिओ सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउनेसम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् । र, केही सिप नलागेपछि सरकारी कर्मचारी बैशाख ७ गते बुधवार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ।
    सरकारी कर्मचारीले प्रहरीलाई सबै घटनाक्रम सुनाउँछन । त्यसपछि प्रहरीको योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने प्रस्ताव गर्छन । ‘टिकटक गर्ल’ले सरकारी कर्मचारीको प्रस्ताव स्विकार गर्छन ।
    सहमती अनुसार सरकारी कर्मचारीले चेक लिन टिकटक गर्ललाई काठमाण्डौं हनुमानस्थान बोलाउँछन । सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छन ।
    अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले पक्राउ परेका टिकटक गर्ल तामाङ र चौगुठीले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको बताउनुभयो ।
    प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने कार्यमा सहयोग गर्ने दुई पुरुषको पहिचान भएता पनि बिहिवार साँझसम्म पक्राउ परेको छैन ।
    पक्राउ परेकामध्ये चौगुठी विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन् । उनीहरूले यस्तै शैलीमा अरुलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले कोही पीडित भए सम्पर्कमा आउन आग्रह गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाएको एसपी आचार्यले जानकारी दिनुभयो ।

     

  • स्कुटर चोरी गरेको अभियोगमा ९ जना पक्राउ

    भक्तपुर, जेठ ७
    प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षिय आयुष गोले, सुनसरी घर भई काठमाण्डौँ नारायणटार बस्ने १८ वर्षिय रितेश राई, कास्की पोखरा महा–नगरपालिका–१ का १८ वर्षिय सुजन गुरुङ र रौतहट घर भई हाल नारायणटार बस्ने १८ वर्षिय अनिल तामाङ रहेका छन ।
    यसैगरी मकवानपुर मनहरी–२ का १८ वर्षिय विक्रम तामाङ, मकवानपुर घर बताउने १८ वर्षिय अनमोल तामाङ र नुवाकोट त्रिशुली देउराली डाँडाका १८ वर्षिय कृष्ण तामाङलाई पनि स्कुटर चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
    नेउपानेका अनुसार गत जेठ २ गते मध्यपुर थिमि–९ बाट बा. ५७ प. ९९५७ नं.को स्कुटर र गत जेठ ४ गते मध्यपुर थिमि–८, बोदेबाट बा. ७७ प. ३३५९ नं.को रातो रङको डिओ स्कुटर चोरी भएको थियो ।
    उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले गत जेठ ५ गते सोमवार राती १० बजे ६ जना र जेठ ६ गते बिहान ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा. ५७ प. ९९५७ नं. र बा. ७७ प. ३३५९ नं.को रातो रङको डिओ स्कुटर समेत बरामद गरेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।
    घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी नेउपानले बताउनुभयो ।

     

  • प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ

    भक्तपुर, जेठ ७
    प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिछो गाउँपालिका–३ वतन भएका २३ वर्षिय सुजन गिरी हुन ।
    उनलाई प्रहरी वृत्त थिमिको टोलीले मध्यपुर थिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा रहेको नेवाः भुटु रेष्टुरेन्ट अगाडिबाट मंगलवार साँझ पक्राउ गरेको हो । गिरीले आफ्नो मोवाइलको वाल पेपरमा प्रहरी निरीक्षकको बर्दी लगाएको तस्विर राखी सर्वसाधारणलाई धाकधम्की दिनुका साथै अशान्ति फैलाएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    गिरीलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखी थप कारवाही भइरहेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।

     

     

  • बुद्धजयन्तीको विशेष समारोहमा कार्यक्रम संचालकले पञ्चशीलका शब्दहरु मनपरी ढंगले उच्चारण गरेको भन्दै दुःख प्रकट गर्दै पाल्पाका बौद्ध संस्थाहरुले ज्ञापनपत्र बुझाए

    लुम्बिनी, जेठ ६ गते ।
    गत बैशाख २९ गते बुद्ध जयन्तीका दिन भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको विशेष समारोहमा भिक्षु मैत्री महास्थविरले प्रदान गरीरहनुभएको पञ्चशील समेत कार्यक्रम संचालक एवं लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत ज्ञानिन राईबाट सही उच्चारण गर्न नसकेको मात्र नभई तथानाम, मनपरी शब्दहरु उच्चारण गरेको सन्दर्भमा पाल्पामा रहेका विभिन्न बौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा हिजो लुम्बिनी विकास कोषमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
    कोषका सदस्य सचिव सानुराजा शाक्य मार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा “लुम्बिनी उद्यान जस्तो पवित्र भगवान बुद्धको जन्मस्थलमा बुद्ध जयन्तीको गरिमामाय धार्मिक समारोहमा भिक्षुगण, विभिन्न राष्ट्रका राजदूत तथा प्रतिनिधिहरुबीच भन्तेबाट प्रदान भइरहेको पालि भाषाको पञ्चशीलका शब्द, वाक्यहरुलाई शुद्ध तरीकाले श्रद्धापूर्वक हुबहु अर्थात जस्ताको तस्तै उच्चारण गर्नुपर्नेमा लुम्बिनी विकास कोष जस्तो महत्वपूर्ण सरकारी निकायका जिम्मेवार कर्मचारीबाट सामान्य पञ्चशीलको ज्ञान समेत नभएको जस्तो गरी विभिन्न श्रव्य दृष्य संचार माध्यमबाट, सामाजिक सञ्जालबाट विश्वभरी नै गलत सन्देश प्रवाह हुनेगरी तथानामका शब्दहरु उच्चारण गरेको सुन्नु पर्दा समस्त बौद्धमार्गीहरु लज्जास्पद र अत्यन्त गहिरो दुःख लागेको” उल्लेख छ ।
    बोधार्थका रुपमा प्रधानमन्त्रीको कार्यालय, संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय, अखिल नेपाल भिक्षु महासंघ एवं धर्मादय सभालाई पठाइएको छ ।
    ज्ञापनपत्र बुझाउनेहरुमा पाल्पाका ज्ञानमाला संघ, ज्ञानमाला सभा, धर्मोदय सभा, पाल्पा, चुडाकर्म (व्रतवन्ध) संघ, बौद्ध महिला आजीवन दायक समिति, बौद्ध महिला सेवा समिति, लुम्बिनी पाल्पा बौद्ध समन्वय समिति, बौद्ध युवा संघ, धर्मचक्र बौद्ध युवा संघ , करुणा बौद्ध संघ, युवक बौद्ध मण्डल, पारिलेयक वन संरक्षण समिति, भिक्षु विमलानन्द महास्थविर मेमोरियल ट्रष्ट, नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल मगर संघौ सन्तोक बौद्ध गुम्बा, दीपज्योति बौद्ध विहार, नेपाल मगर बौद्ध सेवा समाज, गिनाव बुद्ध विहार, थेरवाद बौद्ध संघ पाल्पा रहेका छन ।