भक्तपुर, बोक्सीको आरोपमा राजधानीमै एक महिला निर्घात पिटिएकी छिन । ढिला गरी प्राप्त जानकारी अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहराबस्तीमा सामान्य झारफुक र ज्याला मजदुरी गर्दै आएकी मुना खनाल जेठ ८ गते शनिवार बोक्सीको आरोपमा निर्घात पिटिएकी हुन ।
कुटपिटबाट घाईते भएकी खनाल हाल मनोहराबस्तीस्थित टहरामा नै बसिरहनुभएको छ । शरीरभरी निलडाम भएकी उहाँ मुन्टो चलाउन समेत नभएको बताउनुहुन्छ । पिडित खनालको टाउको काँध, ढाड, कम्मर र खुट्टामा चोट तथा निलडाम रहेको छ । उहाँलाई हाल दुई जनाले बसाई दिन र सुताई दिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएको र कुटपिटका क्रममा आफुसँग भएको केही रकम समेत हराएकोले उपचार गराउन नसकिएको उहाँले बताउनुभयो ।
पिडित महिलाका अनुसार सोही बस्तीमा बस्ने फुलमाया भन्ने महिला केही समयदेखी काम्ने र बरबराउनेलगायतका समस्याले ग्रसित थियो । उनलाई अस्पतालमा लगेर उपचार गराउँदा समेत निको नभएपछि झारफुकको लागि खनाल समक्ष ल्यायो । फुलमायाको विदेशमा रहेका पतिले समेत उपचार गरिदिन आग्रह गरेपछि आफुले फुलमायाको उपचार गरेको खनालले बताउनुभयो । आफ्नो झारफुकबाट फुलमायाको रोग निको हुँदैं गएको खनालको दावी छ ।
सोही क्रममा जेठ ८ गते फुलमायाका बुबाले झारफुकको बहानामा फुलमायाको कोठामा बोलाएर आफ्नी छोरीलाई बोक्सी मन्त्र सिकाएर झन आक्रामक बनाउन लागेको आरोप लगाई अन्य मान्छे समेत बोलाएर कुटपिट गरेको खनालले बताउनुभयो । ‘बजारमा सब्जी खरिद गर्न गएकी थिएँ । फुलमायाको बुबालेसाँझ फोन गरेर बोलायो । म उनको घरमा पुग्ने बित्तिकै हामी ‘जय नारी महिला समूह’का हौ भन्दै एक हुल घरभित्र नै पसेर तै होइनस झाँक्री बोक्सी भन्दै कुटपिट गर्न थाले,’ खनालले भन्नुभयो ।
पिडित खनालले आफुलाई प्रहरीकै सामुन्ने पनि कुटपिट गरेको बताउनुभयो । ‘फुलमाया स्वयम्ले मेरो घरभित्र आउने तिमिहरु को हौ भनेर कुटपिट गर्ने समूहलाई बाहिर पठाएपछि प्रहरीलाई खबर गरें,’ उहाँले भन्नुभयो, ‘प्रहरी आएपछि ढोका खोलेर निस्कन लाग्दा प्रहरीकै सामुन्ने उनीहरुले पुनः कुटपिट गरे ।’
पिडित खनालले आफुलाई कुटपिट गर्ने समूहले छोरालाई पनि मार्ने धम्की दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘छोरोलाई पनि बस्तीमा पसे मार्ने धम्की दिएका छन् आफू अर्को मान्छेको सहायता नभए सुत्न बस्नसम्म पनि सक्दिन । दिशा पिसाव समेत ओछ्यानमा नै गर्न बाध्य भएकी छु । सावित्री सुवेदीको आडमा मलाई बोक्सी भनेर कुटपिट गरे । मलाई न्याय चाहियो ।’
खनाललाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर, अनिल आलेमगर, लक्ष्मी माया, टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका व्यक्तिहरुले कुटपिट गरेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रत्यक्षदर्शीले बताए । दश पन्ध्र जनाको समूहले खनाललाई बोक्सीको आरोप लगाउँदैं निर्घात कुटपिट गरेको अर्का स्थानीयले बताए ।
खनाललाई केटा मान्छेहरुले नै लातैलात्ता र मुक्का हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताउनुभयो । पिडित खनालले आफुलाई झुठा आरोप लगाउँदै केटाहरुले समेत कुटपिट गर्दा पनि न्याय नपाए आत्महत्या गर्न बाध्य हुने बताएको मायाले बताउनुभयो । ‘कुटपिटबाट पिडित महिला मानसिकरुपमा विक्षप्त भएकी छिन, न्याय नपाए आत्महत्या गर्छु भन्छन,’ उहाँले भन्नुभयो ।
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै पिडितका श्रीमानले महानगरिय प्रहरी वृत्त थिमिमा उजुरी समेत दिनुभएको छ । प्रहरीले भने घटनाको पक्षमा छानविन भइरहेको र दुवै पक्षलाई उपस्थित गराई पहिलो चरणमा छलफल गराएको जानकारी दिए।
Blog
-

बोक्सीको आरोपमा कुटिए महिला
-

भारतको सहयोगमा ८५ करोड नेपाली रुपैंयाको लागतमा बहु प्राविधिक संस्था बन्दै
सहयोगको सदुपयोग हामी सबैले गर्न सके
हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ ।
यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत हेटौंडामा २७ विगा क्षेत्रफलमा बन्ने बहु प्राविधिक अध्यापन संस्था एक हो ।
हेटौंडा वडा नम्वर ६ सल्लाघारी वन गौरिटार फाँट नजिक चित्रेपानी वन उपभोक्ता समितिको जमिनमा बनिरहेको बहु प्राविधिक अध्ययन संस्था नेपालको शैक्षिक क्षेत्रमा एक कोसेढुंगा हुने देखिन्छ ।
प्राविधिक जनशक्ती उत्पादनमा टेवा पुञ्याउने र दक्ष जनशक्ती उत्पादनमा उक्त बहु प्राविधिक संस्थाले नेपाली युवालाई ठुलो टेवा दिने पक्का छ ।
२७ विगा क्षेत्रफलमा विभिन्न प्राविधिक शिक्षालयको स्थापना सहित बन्दै गरेको उक्तं संरचनाबाट बार्षिक हजारौं दक्ष जनशक्ती उत्पादन हुने पक्का छ ।
करिव ८५ करोड नेपाली रुपैंयाको लागतमा गौरिटार फाँट नजिकक बन्ने बहु प्राविधिक संस्थामा , भवन , विभिन्न प्राविधिक शिक्षालयका लागि आवश्यक प्रयोगशाला, खेल मैदान लगायत विभिन्न संरचनाहरुको निर्माण हुने छ ।
विगतका समयमा भारतको सहयोगमा निर्माण भएका विभिन्न संस्थाहरु जस्तै यसको पनि सदुपयोग नेपाल सरकारले गर्न नसक्ने हो भने भोलीका दिनमा पनि अदक्ष जनशक्ती अरवको खाडीमा जानुको विकल्प हुने छैन ।
भारत सरकारले गरेको सहयोगको हामीले राम्रो सँग सदुपयोग गर्न सक्ने भए हामीले यस्ता बहु प्राविधिक संस्थाका मद्दतले दक्ष जनशक्ती उत्पादन तथा देशकै नमुना मानव सीप उत्पादन संस्था् बन्न सक्ने छ । निम्न आए भएका तथा कुनै पनि बर्ग लाई यो संस्था मेरुदण्डको रुपमा साबित हुनेछ । मित्रराष्ट्र भारत ले यस किसिमका संरचनाहरु जस्तैः हस्पिटलहरु , पुल , बाटो , बिद्यालय लगाएत ठुलो योजनाहरु मा सहयोग गर्दै अनुदान हरु दिदै तथा सहकार्य गर्दै आएको सर्वबिदितै छ । आउने दिनमा पनि मित्रराष्ट्र भारत ले यो भन्दा पनि ठुलो सहयोग गर्नेछ , सहकार्य गर्नेछ भन्ने बिश्वास राखेका छौ । कुनै पनि संरचना निर्माण पश्चात् प्रत्यक साल दुबै रास्ट्र का प्रतिनिधिहरु ले अनुगमन गर्नुपर्ने देखिन्छ ताकी ती सबै संरचना चुस्त दुरुस्त होस , सहि सदुपयोग होस , संरक्षण होस । दुई रास्ट्र बिचको सम्बन्ध पगाढ रहोस । -

सुभास चन्द्र ढुङेलको ‘तँ त कस्तो भाग्यमानी’ बजारमा
भक्तपुर । भक्तपुर निवासी वरिष्ठ गीतकार सुभास चन्द्र ढुङेलको रचना ‘तँ त कस्तो भाग्यमानी’ बजारमा आएको छ ।
संगीतकार हरि लम्सालको संगीत तथा युवा प्रतिभा प्रबिन भेड्वालको स्वरमा सजिएको तँ त कस्तो भाग्यमानी बोलको नयाँ गीत बजारमा आएको छ ।नेपाली संगीतलाई अत्यधिक माया गर्ने हाल क्यानाडामा निवासी महेश भट्टराईको प्रस्तुति रहेको एक पृथक धारको यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् भने म्युजिक भिडियो चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा बिकाश लामिछाने र अप्सरा तिमिल्सिनाको सुन्दर अभिनय देख्न सकिन्छ।
चोट के हो ब्यथा के होू, फूल झरे पनि कांडा झर्दैन , जति चोट दिन्छौ देउ मायालु, जस्ता असंख्या सदाबहार गीतका गीतकार ढुङेल यस गीत श्रोताहरुले असाध्यै रुचाउने कुरामा आशावादी हुनुहुन्छ।
गीत Twelve Notes को युट्युव पेजबाट सार्वजनिक गरिएको छ ।
-

सहुलियपूर्ण कर्जा लक्षित वर्ग सम्म पुगने बैंकर्स
भक्तपुर । निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो लोन दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट भने उनीहरु बञ्चीत नै रहँदै आएको बैंकर्सहरुले बताएका छन् ।
बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले आयोजना गरेको सहुलियतपूर्ण कर्जा कार्यविधी २०७५ को चुनौती र सहजताका सन्दर्भमा अन्तक्रिया कार्यक्रममा बैंकर्सहरुले लक्षित वर्गको पहुँचमा हाल सम्म पनि सहुलियतपूर्ण कर्जा पुग्न नसकेको बताएका हुन् ।
विना धितो विभिन्न शिर्षकमा उपलब्ध हुने सहुलियत कर्जाको सन्दर्भमा लक्षित वर्ग आफै अज्ञात तथा उक्त कर्जाको लागि चाहिने प्रक्रिया पुरा गर्न असमर्थ रहँदा हुने खाने तथा टाठाबाठाको पोल्टामा नै उक्त कर्जा पुगेको बैंकर्सहरुले बताएका छन् ।
सहुलियत कर्जाको सवालमा कृषि वाहेक हरेक बैंकको एक शाखाले १० जनालाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने कार्यविधी नै आएको बैंकर्स एसोसियसनका प्रतिनिधि प्रविण लाखेले बताए । उनका अनुसार हाल सम्म जति पनि सहुलियत कर्जा प्रवाह भएका छन् ति सबै बाठा टाठाको पोल्टामा नै पुगेको छ । तर किन लक्षित वर्ग सम्म यो पुग्न सकेन भन्ने विषयमा अध्ययन गर्दा उनीहरुले लोनका लागि दिने आवेदन अर्थात प्रपोजल नै तयार गर्न नसक्ने र प्रपोजल तयार गर्न असमर्थ रहेकै कारण उनीहरु हाल सम्म यो कर्जाबाट विञ्चीत हुनु परेको उनले बताए । नेपालमा हाल ४६१३ बैंकका व्रान्चहरु रहेको बताउँदै उनले उक्त व्रन्चहरुबाट ४६१३० जनामा उक्त सहुलियत कर्जा उपलब्ध हुनु पर्ने समेत जानकारी दिए । उनका अनुसार हाल सम्म सहुलियत कर्जा ६० हजार ८७९ जनाले प्राप्त गरि सकेको बताउँदै उक्त कर्जाको भार १ सय अर्व ३७ करोड भन्दा बढि भएको जानकारी समेत दिएका थिए । प्रवाहित कर्जामा ३३ अर्व भन्दा बढि कृषिमा मात्र लगानी भएको उनले बताए ।
बैंकर्सहरुका अनुसार हाल सम्म कृषि तथा पशुपालन र महिला उद्यमीको नाममा बढि सहुलियत कर्जा प्रवाह भएको छ । यस्तै विदेशबाट फर्कनेहरु, दलित लक्षित कर्जा, उच्च शिक्षा तथा प्रविधिक शिक्षाको सर्टिपिकेट राखेर लिने कर्जा, शैक्षिक कर्जा, ब्यवसायिक कर्जा लगाएतका कर्जामा भने कमैमात्र मानिसको चासो देखिएको समेत उनीहरुले बताएका थिए ।
कार्यक्रममा प्रभु बैंककी विष्णु अधिकारीले बैंकबाट विना धितो उपलब्ध हुने कर्जाको धितो राख्न सक्ने वर्गले नै प्रयोग बढि गर्दै आएको बताएकी थिईन् । उनले यो सहुलियत कर्जा धितो राख्न नसक्नेको लागि हो तथापी धितो राख्न सक्ने वर्गले नै यो कर्जा लिने तर धितो राख्न नसक्ने वर्ग जो यो कर्जाको हकदार हो उ बैंक सम्म आउन सक्ने अवस्था नै नभएको उनले बताइन ।
कार्यक्रममा राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल कुमार उप्रेतीले सहुलियत पूर्ण कर्जाको सवालमा गाउँ गाउँमा डकुमेन्टेसन लगाएतका काममा सहजता दिई तल्लो वर्गलाई उत्थानमा जोड दिनु पर्ने बताए । उनले भने गाउँमा १५ वटा २० वटा बाख्रा पाल्ने किसान प्रसस्तै फेला पर्छन जसलाई अव थप एक लाख मात्र सहुलियत कर्जा पाउन सके पनि उन्नत जातको बोका वा माउ किन्न सक्थे तर सहरमा त्यही १५ – २० वटा बाख्रा देखाएर सहुलियत कर्जा लिनेको संख्या प्रसस्त छ । यो खाडललाई मेटाउन पनि बैंकर्स तथा राष्ट्रबैंकले नियमन गर्न आवश्यक भएको उनले बताए । उनले ती किसानको पहुँचमा कसरी सहुलियत कर्जा पुञ्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्न आवश्यक भएको समेत बताए ।
कार्यक्रममा राष्ट्र बैंक, बैंकर्स एसोसियसन, विभिन्न बाणिज्य बैंकका प्रतिनिधिहरु राष्ट्र निर्माण मञ्चका प्रतिनिधिको उपस्थिती रहेको थियो । -
भक्तपुरमा सन्ध्या आरतीको थालनी
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ३ र ४ को सिमानामा रहेको शिव तथा सरस्वती मन्दिरमा सन्ध्या आरती थालनी गरिएको छ ।
शिव तथा सरस्वती सेवा समितिले पशुपती नाथमा जस्तै सन्ध्या आरतीको थालनी गरेको हो ।
भगवान शिवको महिमा सहित भजन एवं पशुपतीनाथमा सन्ध्या आरती थालनी कर्ताहरुको सल्लाहमा नै आफूहरुले पशुपतीमा जस्तै सन्ध्या आरती गर्न लागेको संस्थाका अध्यक्ष कृष्ण वहादुर खत्रीले जानकारी दिनुभयो ।
पशुपती क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव तथा वागमती गंगा आरतीका संरक्षक डा गोविन्द टण्डनको प्रमुख आतिथ्यतामा भक्तपुरमा पहिलो सन्ध्या आरती थालनी गरिएको थियो । आरती थालनी गर्दै उहाँले हरेक चोक एवं मन्दिर तथा गंगा अर्थात नदीहरुमा गंगा आरतीको थालनी गर्नु पर्ने बताउनुभयो । उहाँले हामीले यसरी नै विभिन्न मठ मन्दिरमा आरातीको थालनी गर्नु भनेको हामीले भावी पुस्ताका लागि पाठ एवं धार्मिक संहिस्णुता कायम हुने बताउनुभयो ।
कुनै समय फोहर फल्ने ठाउँका रुपमा रहेको उक्त स्थानमा हाल दर्जन भन्दा बढी देवी देवताका मूर्ती स्थापना गर्दै किरिया पुत्री भवनको तथा किरिया गर्ने प्रवन्ध समेत मिलाई कार्य गर्दै आएको शिव तथा सरस्वती सेवा समितिका अध्यक्ष कृष्ण वहादुर खत्रीले जानकारी दिनुभयो । हामीले यो पहिलो शिव तथा सरस्वती आरती गरेका छौं यसलाई निरन्तरता दिदै महिनाको एक पटक आराती गर्दै लैजाने सोचका साथ कार्य गरेको जानकारी दिनुभयो । सन्ध्या आरती खर्चिलो तथा समय लाग्ने कार्य भएका कारण यसमा सहयोग गर्न समेत उहाँले सम्पूणमा आग्र्रह गर्नुभएको थियो ।
पहिलो आरतीको एसपी ज्ञानेन्द्र राईले प्रयोजन गरी सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा राजन खतिवडाले विभिन्न शिव महिमाका भजन तथा आरती भजन उच्चारण गर्नुभएको थियो भने उहाँलाई बाँसुरीमा दुर्गा प्रसाद खतिवडा र तवला करण ढकालले साथ दिनुभएको थियो ।
सस्थाका सल्लाहकार सानुकाजी खनाल, भक्तवहादुर विष्ट,वावुराम पौडेल,चन्द्रदेवी श्रेष्ठ, डी वी लिम्वु लगाएतका महानुभावको उपस्थिती रहेको थियो ।
-

बैरागी मोक्तानको “छेवार” गीत सार्वजनिक
काठमाडौँ । बैरागी मोक्तानको छेवार गीत सार्वजनिक भएको छ ।
गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ सेलो “छेवार”गीत एक कार्यक्रम बिच सार्वजनिक भएको छ ।
संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा गायक छेवार गीत सार्वजनिक भएको हो ।
शब्द,संगीत गायक बैरागी मोक्तानको रहेको गीतमा गायक सुवास तामाङ,चर्चित गायिका शशिकला मोक्तान ,बाविता पाख्रिनका सुमधुर आवाज रहेका छन् ।
गीत एरेञ्ज पवन वाङ लामाले गरेको हो।
उक्त गीतमा तामाङ समुदायको निकै चर्चित कलाकार पुरानो देखि नयाँ कलाकारले दमदार प्रस्तुति रहेको छन् ।
सेलो चर्चित गायक प्रेम लोप्चन,चर्चित नायक अमिर दोङ,कुइसाङ रुम्बा,बैरागी मोक्तान खेम मोक्तान ,मिलन थिङ,सुस्मा मोक्तान ,पुर्णिामा थोकर,पुष्पाञ्जली लोप्चन,दिपा घिसिङ ,साइना लामाले सशक्त अभिनय गरेका छन् ।
निर्देशक अजय स्याङतान र बाबुराज केसीले गरेको भिडियोको कोरियोग्राफर अजय स्याङतानलै नै गरेका हुन् ।दिर्गा खड्का र दुर्गा पौडेलले छायांकन गरेका थिए।
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जिव वाइवा, फापरे गीतका गायक प्रेम लोप्चन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, नेपाल तामाङ अन्तरर्राष्ट्रिय परिषदका वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तेन लगाएत तामाङ समुदायको चिरपरिचित कलाकारहरुको उपस्थिति रहेको थियो ।
म्युजिक भिडियोलाई नाम्दु मिडियाबाट सार्वजनिक गरको छ । -

के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?
काठमाडौं ।
भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा , नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्या सँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ।तिनै समस्या र चुनौती लाई आत्मसात गर्दै भारतमा जम्न सफल भएकी एक नेपालि चेली जसले भारतीय टेलि सिरियलमा मात्र नभई बलिउडको चलचित्रमा समेत आफूलाई स्थापित गरेकी छन् ।
ऋतुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । आफ्नी आमालाई १२ बर्षको उमेरमा गुमाउनुको पीडाले उनको बाल्यकाल निकै पीडादायी रहेको अनुमान गर्न सकिन्छ। बुबाले नै आमाको रुपमा पालन पोषण गरेपछि शोकलाई शक्तिमा बदलेर अघि बढेकी हुन्। उनले उच्च शिक्षा हासिल गर्ने क्रममा उनी छिमेकी देश भारत पुगेकी हुन् । मेडिकल शिक्षा हासिल गर्नु एकातिर कठिन रहन्छ भने समय निकालेर आफ्नो कला प्रस्तुत गर्न झन् कठिन्। तर अबस्थीलाई कठिनाईका बाबजुद त्यहीं कडा मिहिनेतले शिक्षा सँगै अभिनयको यात्रा सहज बनायो। पेशाले उनी डक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत छिन् ।
एकातिर बिरामीको सेवामा तल्लिन रहनु पर्ने अर्को तर्फ समय निकालेर अभिनयलाई जारी राख्नु पर्ने ऋतुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उनको सफलता र त्यही सफलता हाँसिल गर्न उनले गरेको मेहेनत।
डाक्टरी सँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल , कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसकेकी छन् । आफ्नो काम र व्यक्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् ।
यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन । उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम लगायतमा काम गरिसकेकी छन्। सिरियल फिल्म सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको बिज्ञापनमा काम गर्ने अवसर पनि हात पारिन्।
५ फिट ९ इन्च हाइट भएकी ऋतुको परिचय कलाकार, मोडल र डक्टर मा मात्र सीमित छैन । ३० वर्षको उमेर सम्म आइपुग्दा उनी एक सक्षम बिजनेस उमन समेत बनिसकेकी छन् । उनले आफ्नै लज समेत संचालन गर्दै आएकी छन् ।
उनले कुनै एक शोबाट करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म पारिश्रमिक लिने गरेकी छन् । मेकअपमा सोखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् । उनी वि एम डब्लु , मर्सिडिज , भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्दछिन् । मेहनत ऋतुको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनी यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भइन् । डाक्टरी पेशा र अभिनय क्षेत्रको सफलताले उनको मात्र हैन नेपालकै नाम राख्न सफल भएकी छन्। विश्व कोरोनाको महामारीबाट गुज्रिरहेको अबस्थामा भारतबाट नेपाल आएर केही महिना देखि बिकट जिल्लामा सेवारत छिन्। आफ्नो सफलतालाई झन् उचाईमा पुरयाउन अबस्थी केही दिन मै भारत फर्किदै छिन्। आफ्नो लक्ष्य प्राप्ती पछि नेपाल फर्केर दिन दुःखीको सेवा गर्ने बताउछिन्। भारत फर्केपछि के तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा रु त्यो भने हेर्न बाँकी नै छ। -
हिट जोडी राजेश हमाल र करिश्मा यादका लहरहरुमा एकै साथ
काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं ।
म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न पाएका हौं ।
धेरै चलचित्रमा दर्शकले मन पराएका हिट जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ।‘यादका लहरहरु’मा गायिका अन्जु पन्तको स्वर, डा।प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ।
भिडियोको उत्तम हुमागाईंले छायाँकन गरेका हुन्। प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोको हरी हुमागाईंले निर्देशन रहेको हुन् ।
म्युजिक भिडियोमा देखिएका राजेश र करिश्मा जोडीलाई दर्शकले राम्रा(राम्रा कमेन्ट र लाईक गरेका छन् ।
-

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको टोलीले शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय काठमाडौंमा पुगेर किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह ग¥यो ।
सांसद सुवालले रोपाइँको बेला पनि किसानहरूलाई समयमा मल उपलब्ध नभएको र अहिले गहु छर्ने तथा आलु रोप्ने बेलामा पनि मलको हाहाकार भएकोले दुवै संस्थाको ध्यानाकर्षण गराउनुभयो ।
पञ्चायतकालमा मात्र होइन बहुदल र गणतन्त्रमा समेत स्थिति उस्तै हुनुबाट सरकार र सम्बन्धित निकाय जिम्मेवार नदेखिएको उल्लेख गर्दै उहा“ले सरकारले १२ अर्ब रूपैयांको मल समयमै खरिद नगरेको हुँदा देशको कृषि उत्पादनमा खर्बौं रूपैयाँको नोक्सान भएको तर्फ सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भक्तपुरमा यस वर्ष गहुँ खेती बढ्ने र सोहीबमोजिम मल आपूर्ति बढाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मलको ठेक्का प्राप्त गरी आपूर्ति नगरेकाहरूलाई पाँच करोड रूपैयाँ जरिवाना नपुग्ने भएकोले त्यसबाट भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लि.का प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाललाई आवश्यक रसायनिक मलमध्ये ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आठ वर्षदेखि आपूर्ति भइरहेको उल्लेख गर्दै तीन महिनाअगाडिको निर्देशिकाअनुसार मंसिर महिनादेखि स्थानीय तहको उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा गठित समितिबाट सिफारिस भएका सहकारीलाई मल बिक्रीको डिलर प्रमाणपत्र दिने र मल उपलब्ध गराउने बताउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीले ठेकेदारले मल नल्याउँदा मलको हाहाकार भएको र अबको एघार दिनभित्र पर्याप्त मल आपूर्ति हुने बताउनुभयो ।
उहाँले मल नल्याएका पाँच ठेकेदारलाई पाँच करोड रूपैयाँको दरमा जरिवाना गरेको बताउनुभयो ।
कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेको बताएपछि सांसद सुवालले कोटाअनुसार मल पठाएर बाँकी यही गोदाममा राख्नु उचित नभएको हुँदा कोटा सच्याइ बढाएर पठाउनुपर्ने औँल्याउनुभयो ।
साल्ट ट्रेडिङका वरिष्ठ अधिकारी पंकज जोशी र कृषि सामग्री कम्पनीका बिक्री प्रमुख राजेन्द्रबहादुर कार्कीले पनि मल आपूर्ति गर्न तदारूकतासाथ लागिपर्ने बताउनुभयो । -

डा. भगवान कोइरालाद्धार शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण
नुवाकोट (शिवपुरी) । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले जनाएको छ ।
उक्त तालिममा प्रशिक्षकको रुपमा प्रोफेसर डक्टर भगवान कोइराला, डा. सन्दिप थापा, डा.इस्म्रिीति शाक्य, डा. राजाराम खनाल, डा. रत्नमणि गजुरलेको उपस्थिति रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले डा. भगवान कोइराला लगायतका डक्टर सहितको टीमलाई गाउँपालिकाको समुदाय स्तरमा जनचेतना प्रदान गर्नुभएको सबै डक्टरको टीमलाई धन्ववाद प्रदान गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि यस्तै प्रकृतिको कामको अपेक्षा व्यक्त गर्दै अध्यक्ष थापाले यस्तो पवित्र कार्यका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा दशवटा स्वास्थ्य चौकीका इन्चार्ज, महिला स्वास्थ्य स्वयम् सेविका गाउँपालिकाका कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो ।