Blog

  • जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

    जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

    भक्तपुर, जेठ १९

    चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी दिनुभएको हो ।
    प्रवक्ता डा पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप दिइने छ । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसंख्या रहेको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा १० लाख खोप उपलब्ध गराएको हो । सो खोप मध्ये मंगलवार नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज (बुधबार) थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन लागेको छ ।
    मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् ।

    अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

  • भक्तपुरका पाँच राजनीतिक गठबन्धनले ११ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए

    भक्तपुरका पाँच राजनीतिक गठबन्धनले ११ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए

     

    भक्तपुर, जेठ १९
    भक्तपुरका पाँच राजनीतिक गठबन्धनले बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा माग र कोभिडको माहामारी विरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार असंवैधानिक कदम चाल्दै प्रतिगमनको बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन ।
    ज्ञापनपत्रमा पाँच दलिय गठबन्धनले विभिन्न ११ वटा माग समेत अघि सारेको छ । ज्ञापनपत्रमा नेपाली जनतासँग गम्भिर आत्मा आलोचना गरी संविधान कुल्चिएर गरिएका सबै असंवैधानिक कदम खारेज गरी देशलाइ संवैधानिक बाटोमा हिडाउन, कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न, कोभिड विरुद्ध तत्काल निःशुल्क खोपको ब्यवस्था गर्न, कोभिडका कारण बिरामी भएका सबै नागरिकको निःशुल्क उपचारको ब्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधी र उपकरणको ब्यवस्थापन गर्न, लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाइ तत्काल राहत दिन, कोभिड विरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्र सेवकको मनोबल उच्च राख्न शत प्रतिशत भत्ताको ब्यवस्था गर्न माग गरिएको छ ।
    त्यस्तै लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक ब्यवस्था गर्न, किसानहरुलाई सहजरुपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमा मल, बिउ बिजनको सहज रुपमा सुपथ मुल्यमा उपलब्ध गराउन, लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरुलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुर्न कर्जाको ब्यवस्था गर्न, विकास आयोजनाहरुलाई सम्पन्न गर्न आवश्यक ब्यवस्था मिलाउन र कृतिम मूल्यबृद्धि नियन्त्रण गरी आपुर्तीको सहज वातावरण निर्माण गर्न माग गरिएको छ ।
    ‘कोभिडको माहामारीमा सबै शक्ति एकताबद्ध भएर त्यसका विरुद्ध राष्ट्रिय एकताका साथ लड्ने वातावरण निर्माण गर्नुपर्ने बेलामा तपाईंको सरकारले असंबैधानिक र अलोकतान्त्रिक तबरले जनताको जनप्रतिनीधि संस्था प्रतिनिधि सभाको विघटन गरेर प्रतिगमनको बाटो लिएको देखिन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

    गठबन्धनले राष्ट्रपति समेत तटस्थ र संबैधानिक दायित्वबाट च्युत भएको ठहर गरेको छ । ‘मध्यरातमा सरकारले असंबैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटनको सिफारिसमा ल्याप्चे ठोकेर सम्माननिय राष्ट्रपति आफ्नो तटस्थ र संबैधानिक दायित्वबाट च्युत हुनु भएको हाम्रो ठहर रहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
    संविधानको धारा ७६ (४) को प्रावधानको कार्यान्यनको नगरी धारा ७६ (५) बमोजिमको सरकार निमार्ण गर्न अपिल गर्नु आफैमा एउटा गलत नजिर भएको र संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधि सभाका माननिय सांसद शेर बाहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना माननिय सांसदको हस्ताक्षर सहित गरिएको दावीलाइ अस्विकार गरीनु संविधान, कानुन र लोकतान्त्रिक मुल्य मान्यताको ठाडो उलंघन भएको पाँच दलिय गठबन्धनले जनाएको छ ।
    राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीकै कार्यालयबाट नेपाली जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको र यस माथि निरन्तर प्रहार भइरहेको गठबन्धनले ज्ञापनपत्रमा आरोप लगाएको छ ।
    कोभिड–१९ का कारण नेपाली जनताको जिवन संकटमा परेको उल्लेख गर्दै ज्ञापनपत्रमा लामो लकडाउनका कारण नेपाली जनता रोग र भोक दुबैबाट मर्न बाध्य हुने परिस्थिति बनेको उल्लेख गरिएको छ ।
    ज्ञापनपत्रमा नेपाली कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डि पि ढकाल, नेकपा एमालेका अध्यक्ष रजन के.सी., जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरी नेपालले हस्ताक्षर गर्नुभएको छ ।
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पाँच दलको मागसहितको ज्ञापनपत्र नेपाल सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

    चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

    भक्तपुर, जेठ १९
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ ।
    सिनोभ्याक कम्पनीले बनाएको यो खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले जनाएको छ ।
    अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ । सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो ।
    सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ । सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ । अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ ।
    भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन । गत महिना डब्लुएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति दिएको थियो ।
    बिबिसीबाट

  • स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सुची सार्वजनिक गर्न निर्देशन

    स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सुची सार्वजनिक गर्न निर्देशन

    भक्तपुर, जेठ १९
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मुल्य सुची सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मंगलवार यस्तो निर्देशन दिएको हो ।
    महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले पठाएको पत्रमा ‘सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्र पठाई कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको वन्दोवस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य समग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, हेलो सरकार र स्वास्थ्य मन्त्रालयमा समेत आएकोले सो सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको’ जनाइएको छ ।
    ‘बिरामीको उपचार वापतको लाग्ने रकम बारे जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानुनी एवम् नैतिक कर्तव्य हो,’ पत्रमा उल्लेख गरिएको छ ।
    पत्रमा ‘७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शिर्षक समेत उल्लेख भएको मूलय सुची (शुल्क) सञ्चालक समिति÷बोर्ड÷आधिकारिक निकायबाट निर्णय गराई अनिर्वाय रुपमा आ–आफ्नो वेभसाइट मार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र सो को जानकारी स्वास्थ्य संस्था सञ्चालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु हुन अनुरोध छ,’ उल्लेख छ ।

  • कुवेतमा नेपाली फुटबल टोली प्रशिक्षणमा व्यस्त

    कुवेतमा नेपाली फुटबल टोली प्रशिक्षणमा व्यस्त

    भक्तपुर, जेठ १८
    फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गरेको छ । शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार राती स्थानिय समय अनुसार करिब १० बजे कुवेत पुगेको थियो ।
    नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल तथस्त मैदानको रुपमा कुवेत सारिएको हो ।
    नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ ।
    हेरौं नेपाली टोलीको प्रशिक्षणका केही झलकहरु :
    तस्विर : एन्फा

  • भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

    भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

    भक्तपुर, जेठ १८
    भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले बताउनुभयो ।
    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत बैशाख ४ गतेदेखी १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।
    ‘जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो’, डा. लासिवाले भन्नुभयो, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा नं. १० कार्यालय भवन पछाडी नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं ।’

    डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उहाँहरुको लागि अलग बन्दोबस्त गरिने जानकारी दिनुभयो । त्यस्तै यसअघि भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई दोस्रो मात्रा खोपको सूचना नआएकोले केही समय धैर्य गर्न आग्रह पनि गर्नुभयो ।
    नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिसिल्डको दोस्रो मात्रा २ हजार ४३९ जनालाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसंगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाहरुले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र उहाँहरुमध्ये अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा. लासिवाको भनाइ थियो । खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी नै छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् । खोप लगाउन नपाएका सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेभसाइट धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गई अनलाइन माध्यमबाट फाराम भर्न सार्वजनिक आह्वान गरिएको छ । फाराम भर्नेहरुलाई खोपको पहिलो मात्रा दिने सम्बन्धमा छिटै नै अर्को सूचना प्रकाशित हुने बताइएको छ ।

    वडागत रुपमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको विवरण ः
    वडा नंं. महिला    पुरुष      जम्मा
    १       ६१५       ७१८       १३३३
    २       ७७२       ८४२       १६१४
    ३       ३९२       ४५७        ८४९
    ४       ८५२      १०००      १८५२
    ५       ६४८      ७७१       १४१९
    ६      ६६१       ७७४       १४३५
    ७      ७४६       ८३०       १५७६
    ८     ८९३      १०१२       १९०५
    ९     ९७१      १०४७       २०१८
    १०    ८५०     १०६७       १९१७
    जेठ १८ गते कमलविनायक ६६ ६८ १३४
    जम्मा    ७४६६   ८५८६   १६०५२
    स्रोत ः भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र, २०७८ जेठ १८ गते

  • ७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

    ७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

    भक्तपुर, जेठ १८
    बेली रानीले परिचित नेपालका चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्स अनलाइन कार्यशाला सञ्चालन गर्नेभएको छ । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी दिनुभएको हो ।
    पछिल्लो समय युवावर्गमा बेली डान्सप्रतिको अभिरुची बढ्दै गएको पाईएको र निषेधाज्ञाका बेला युवाहरुलाई व्यस्त बनाउन आफुले अनलाइनमार्फत बेली डान्सको कार्यशाला राखेको शाक्यले बताउनुभयो ।
    आफ्ना इन्स्ट्राग्राम र फेसबुकका प्लोअर्सहरुले पनि बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक कार्यशाला राखिएको उहाँले बताउनुभयो । कार्यशाला जुन ६ देखी १२ तारिख हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ । कार्यशालाको पुरा जानकारीको लागि फोन नम्बर ०११–४९५१०१ मा सम्पर्क गर्नहुनु अनुरोध गरिएको छ ।

  • कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु

    कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु

    भक्तपुर, जेठ १८
    नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । १७ हजार १ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
    त्यसैगरी नेपालभर विगत २४ घण्टामा ६ हजार ८९८ जना संक्रमण मुक्त भएका छन । सोही अवधीमा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको यो संख्या तीन साता यताको सबैभन्दा न्यून हो । यसअघि गत बैशाख २५ गते शनिबार ५३ जनाको मृत्यु भएको थियो । जेठ ५ गते सबैभन्दा धेरै २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै सोमबार १ सय १४, आइतबार १ सय ९ र शनिबार १ सय १६ जनाको मृत्यु भएको थियो ।
    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९७ हजार ७ सय ४ जना होम आइसोलेसन र ७ हजार ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९१ जनाको आइसियु र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )

    विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )

    भक्तपुर, जेठ १८
    विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेर मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।
    थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उहाँको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था भने जटिल बनेको थियो ।
    उपचारका लागि आर्थिक अभाव भएपछि गत जेठ १४ गते उहाँको उपचारका आर्थिक सहयोगको आव्हान गरिएको थियो । सो अनुसार शुभेच्छुकहरुले ५० लाख हाराहारी सहयोग जुटाएका थिए ।
    थापा नेपालमा वैकल्पिक राजनीति शक्ति स्थापना गर्ने अभियानमा थिए । उहाँ विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक हुन ।
    नेपालमा युवा नेतृत्वसहितको वैकल्पिक दल स्थापना उद्देश्यले उहाँले २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गर्नुभएको थियो ।

    यस्ताे छ परिवारकाे विज्ञप्ति

    हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबीच रहनु भएन।

    हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

    उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू: नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु: युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो। उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

    उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ। यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ। तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ।

    अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ।​

    उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

    २०७८ जेठ १८ गते

  • अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित

    अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित

    भक्तपुर ः जेठ १८
    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमवार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।
    बैठकपछि पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तीमा दुई दुई पटक स्पष्टिकरण सोध्दा पनि ठाकुरसहितका नेताहरु पार्टीको सम्पर्कमा नै नआएको उल्लेख गरिएको छ ।
    विज्ञप्तीमा प्रधानमन्त्री के पी शर्मा ओलीको सरकार गठनको प्रारम्भदेखी नै लोकतन्त्र, गणतन्त्र, संघियता, समावेशीता, धर्मनिरपेक्षतालगायतका संवैधानिक मूल्य मान्यताप्रति सकारात्मक नभएको र ठाकुरसहितका नेताहरुले ओली सरकारले मधेशका माग सम्बोधन गरेको भ्रम छर्दै संकटग्रष्ट ओली सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने कार्य गरेको आरोप लगाएको छ ।
    यता ठाकुर पक्ष भने बबरमहलस्थित पुर्व राजपा पार्टी कार्यालयमा सरकारमा समावेश हुनेबारे छलफल भइरहेको बताईएको छ ।