Blog

  • सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

    भक्तपुर, कार्तिक ३०
    कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
    ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउन सिपालु नेवार समुदाय कार्तिक शुक्ल पूर्णिमाको दिन घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदैं सकिमना पुन्ही मनाउने गर्दछन ।
    सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरुले विशेष पर्वको रुपमा मनाईन्छ । आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन शुरु गरेको एक महिने रात्रीकालिन भजन किर्तनलाई समापन गर्ने दिनको रुपमा पिँडालु उसिनेर खाने, नसाः (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्न)बाट भगवानका आकृति बनाउने र त्यसैलाई प्रसादको रुपमा बाँडेर खाने प्रचलन रहेको छ ।
    यसदिन नेवार समुदायमा आ–आफ्नो टोल टोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवानको आकृति बनाउँछन । आकृति बनाउँदा गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाउँछ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फुलको मालाले श्रृगार पटार गरी दक्षिणा चढाई दियो बालेर भजन किर्तन गाउने गर्छ ।
    कोजाग्रत पुर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजन किर्तन समापन हुने भएकोले नेवार समुदायमा आजको दिन ब्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पुजा चढाउँने प्रचलन पनि रहेको छ । पुजामा माल्पुवा, पुरी, नसा, गाईको दुधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायण देवतालाई प्रसादको रुपमा चढाउँछन् ।
    यसरी पुजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नसाः लिएर आउने गर्छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दुध अध्र्य दिई प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा रहको छ ।
    ऋतु अनुसारको भोजन भगवानलाई प्रसादको रुपमा चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीको दिन विषेशगरी नारायणको पुजाआराधना गरिने हुनाले नेपाल सम्वतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायण, लगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तीका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।


    वर्षभरीको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खिर र नसाःलाई प्रसादको रुपमा भगवानलाई चढाइने संस्कृतिकर्मीहरु बताउँछन् ।
    नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसाः लगायतका भोजन प्रसादको रुपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । यसले शरिरमा ताकत दिनुका साथै शरिर स्वस्थ्थ हुने जनविश्वास रहेको उहाँको कथन छ ।
    अन्नपातबाट बनाएको भगवानको आकृतिबाटै मठमन्दिर तथा भगवानको मुर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । पुरोहित राजोपाध्ययका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्डमुललाई सबै भन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थाल्यो । त्यतीबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवानको मठमन्दिरको विकास भएको थिएन । उहाँले भन्नुभयो, ‘पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि बिस्तारै यसको विकसित रुप विभिन्न मठमन्दिरहरुको निर्माण हुन थाल्योे । त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवानको आकृति बनाएर त्यसलाई पुजा गरी कण्डमुललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालेको हो ।’
    नेवार समुदायमा नसालाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाई विधिवत रुपमा पुजा गर्ने परम्परा रहेको छ । साथै गुफा राख्दा गुफा बसेका बालिकाहरुलाई सुर्यसँग विवाह गर्ने क्रममा पनि प्रसाद स्वरुप नसाः खुवाउन जाने परम्परा रहेको छ । त्यसैगरी नेवार समुदायको जन्म दिनको अवसरमा पनि भुटेको मकै, गहुँ, भटमास लगायतको समिश्रण नसाः दान गर्ने प्रचलन रहेको छ ।

     

  • भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या

    भक्तपुर, कार्तिक २९
    भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो ।
    बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझ आफन्तले घरमा हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलााई खबर गरेका थिए। ।
    बृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीकाअनुसार घटना के–कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
    घटनास्थल भक्तपुर दरवार क्षेत्रको ३ सय मिटर उत्तरमा पर्छ । मृतक विष्णुकुमारीको शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

     

  • स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिलको पहिरो नियन्त्रण भएन

    भक्तपुर, कार्तिक २८
    स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिलको पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन ।
    बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक बिस्तार तथा बाधा व्यवधानका विषयमा छलफलका लागि गएको टोलीलाई सडक डिभिजन कार्यालय भक्तपुरले स्थानीय बासिन्दा र कार्यालय तथा ठेकेदारको विवादका कारण खड्का डिलको पहिरो नियन्त्रण हुन नसकेको बताएको हो ।
    भक्तपुर क्षेत्र नम्बर १ क मा रहेका बाटोहरू निर्माण तथा मर्मत सम्भारको विषयमा बारम्बार कुरा उठ्न थालेपछि श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले विभिन्न बाटोहरूको विषयमा सडक डिभिजन कार्यालय भक्तपुरलाई जानकारी गराउँदै बाटो बन्न ढिला सुस्तीको विषयमा ध्यानाकर्षण गराएको थियो ।
    सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने प्रस्तावित वीर अस्पताल सडक, भत्केपाटी नगरकोट सडक लगायतका सडकको विषयमा उहाँहरूले जानकारी तथा निर्माणमा ढिलाइको विषयमा कार्यालयलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
    सोही क्रममा सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले प्रस्तावित वीर अस्पताल सडक अन्तर्गत दुवाकोट खड्का डिलमा भने स्थानीय बासिन्दा र सडक डिभिजनको कुरा मिल्न नसक्दा पहिरो नियन्त्रण तथा बाटो निर्माणमा ढिलाइ भएको जानकारी दिनुभएको थियो ।
    “पहिरो ठुलो छ । स्टेप स्टेप गरी नबनाई हुँदैन तर स्थानीयले प्लम बाल लगाउन पाए हुने थियो भन्ने विवादका कारण नै उक्त स्थानमा बजेट फिर्ता जान लागी सक्दा पनि काम गर्न नसकेको हो,” उहाँले भन्नुभयो । उहाँले बरु जनप्रतिनिधि तथा स्थानीयले त्यहाँको विवाद समाधान गरिदिएका खण्डमा एक साता भित्र नै काम शुरु गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
    टोलीमा प्रदेश सभा सदस्य श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव तथा पूर्व वडा अध्यक्ष राजेश खड्का, चाँगुनारायण नगर सभापति तथा पूर्व वडा अध्यक्ष शिवहरि केसी, चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की, वडा सभापतिहरू नरेन्द्र श्रेष्ठ र रिगेन कार्की लगायत चाँगुनारायणका स्थानीयको सहभागिता रहेको थियो ।

     

  • मंसिर २८ गतेदखी ५ दिन भक्तपुर महोत्सव आयोजना हुने

    भक्तपुर, कार्तिक २८
    भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आगामी मंसिर २८ गतेदेखी पौष २ गतेसम्म ५ दिन सञ्चालन हुने बुधवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि बृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
    प्रमुख प्रजापतिले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदैं महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।


    महोत्सवका मूख्य आकर्षणहरुमा सांस्कृतिक कार्यक्रम तर्फ बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाच रहेका छन ।
    यस्तै पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना
    प्रदर्शन गरिनेछ ।
    महोत्सवमा खाना महोत्सव, व्यापार मेला, दही महोत्सव, मनोरञ्जनात्मक गतिविधिमा नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकूद समेत रहने नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
    भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उहाँले बताउनुभयो ।


    भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताउनुभयो ।
    बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उ
    उहाँले महोत्सवमा ३२ वटा विधामा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउँदै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो, पुस्तक प्रदर्शनको तयारी गरेको बताउनुभयो ।
    पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरु दिनुभएको थियो ।

  • मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

    भक्तपुर, कार्तिक २८
    यसवर्षको रुद्रलाल मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी मानवअधिकार योद्धा तथा मुक्ति आन्दोलनकी नेतृ सुल्ताना कमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलाल मुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानव अधिकारका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार सुल्तानालाई प्रदान गर्नुभएको हो ।
    नेपालका अग्रज समाजसेवी तथा गान्धी प्रचारक मुल्मीले ७ दशकभन्दा बढी समय सामाजिक कार्यमा बिताउनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका मुल्मीले गान्धी आश्रम र असहाय महिलाका लागि गृह स्थापना गरेका थिए । उनलाई सामाजिक क्षेत्रमा एक प्रतिबद्ध मानव अधिकारकर्मी, समाज सुधारक र गान्धी विचार र विचारका प्रवर्द्धकका रूपमा स्मरण गरिन्छ ।
    उनैको नाममा विगत ४ वर्षदेखि प्रदान गरिंदै आएको पुरस्कार बंगलादेशकी ७२ वर्षीय योद्धा सुल्तानालाई दिइएको हो ।
    सुल्ताना पाकिस्तान र बंगलादेश विभाजन अघिका दिनदेखि प्रगतिशील आन्दोलनमा संलग्न हुनुभएको थियो । देशको सांस्कृतिक स्वायत्तताका लागि सङ्घर्ष, विश्वव्यापी धर्मनिरपेक्ष शिक्षाको आन्दोलन, सन् १९६९ को जनआन्दोलन, १९७१ को बंगलादेशको मुक्ति युद्धलगायत विभिन्न सामाजिक आन्दोलनहरूमा सक्रिय भएकी सुल्तानाले विभिन्न संघसंस्थाका अलावा शिक्षण संस्था र अस्पतालहरु स्थापना गर्न योगदान गर्नुभएको थियो ।
    उहाँ धार्मिक र जातीय अल्पसंख्यकहरूको अधिकारको लागि सक्रिय पनि हुनुहुन्छ । उहाँले धर्म निरपेक्षका लागि खेलेको भूमिकाबाट असन्तुष्ट एउटा इस्लामिक समूहले दुईपटक उहाँको घरमा बम पडकाइ मार्ने प्रयास समेत गरेको थियो ।
    पुरस्कार वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष मगरले नेपाल र बंगलादेशका मुक्ति आन्दोलनमा जनताको सक्रियता उस्तै प्रकारको रहेको र बंगलादेशसँग नेपालको सम्वन्ध तुलनात्मक रुपमा गाढा रहेको बताउनुभयो । नेपालमा र बंगलादेशमा रहेका मानवअधिकारकर्मीहरुको योगदानले गर्दा नै नेपाल र बंगलादेशमा अन्य सार्क राष्ट्रहरुका तुलनामा मानवअधिकार मजबुत रहेको उहाँले बताउनुभयो ।
    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा बंगलादेशका पूर्व राजदुत प्रा.डा. चोपलाल भुसालले बंगलादेशका जनताहरुले र सरकारले नेपाललाई अत्यन्तै मित्रवत रुपमा हेर्ने गरेको र नेपाली संस्थाले बंगालदेशकी योद्धालाई गरेको सम्मानले जनस्तरबाट सम्वन्ध मजबुत बनाउन ठोस योगदान दिने बताउनुभयो ।
    वर्क फर बेटर बंगलादेशका गौस पियरी (मुक्ति) ले नेपाली संस्थाको साथ र सहयोगमा बंगलादेशमा सुर्ती नियन्त्रण, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेको जानकारी दिनुभयो ।
    सम्मानित व्यक्तित्व सुल्तानाले आफ्नो योगदानको कदर नेपाली जनताबाट समेत भएकोमा गौरवान्वित भएको बताउनुभयो ।
    कार्यक्रममा छत्रलक्ष्मी –रुद्रलाल मुल्मी फाउन्डेसनका अध्यक्ष शान्तलाल मुल्मीले सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्ने समाजसेवीहरुको खोजी गर्दै पुरस्कार प्रदान गर्दै जाने बताउनुभयो ।
    कार्यक्रममा मानवअधिकार आयोगका सदस्या डा. लिली थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवअधिकारकर्मी प्रा. कपिल श्रेष्ठलगायतले बंगलादेश नेपालको जनस्तरको सम्वन्धबारे चर्चा गर्नुभएको थियो ।

     

  • सुन चाँदीका गरगहना चोरी गरेको अभियोगमा लोहकिल्थलीबाट एक जना पक्राउ

    भक्तपुर, कार्तिक २८
    सुन चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीबाट दोलखा शैलुङ गाँउपालिका वडा नं. ५ बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्कीलाई कार्तिक २७ गते मंगलवार पक्राउ गरेको छ ।
    गत कार्तिक १३ गते दिउँसो मध्यपुर थिमि–२ रामेश्वर मन्दिर नजिक रहेको कृष्ण बहादुर कार्कीको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई सुन, चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा कार्कीलाई पक्राउ गरेको हो ।
    चोरी भएपछि पिडितले प्रहरी वृत्त थिमिमा दिएको जाहेरीको आधारमा अनुसन्धानको क्रममा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त थिमिबाट खटिएको संयुक्त प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    कार्कीलाई चारी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

  • नेपाल युएईलाई हराउँदै यु–१९ विश्वकपमा छनोट

    भक्तपुर, कार्तिक २८
    नेपाल आइसीसी महिला यु–१९ विश्वकप त्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसियाली छनोट अन्तर्गत बुधवार संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा सम्पन्न अन्तिम खेलमा घरेलु टोली युएईमाथि ८ विकेटको ऐतिहासिक जित निकाल्दै नेपाल यु–१९ विश्वकपमा छनोट भएको हो ।
    नेपालले ६ खेलबाट १० अंक जोड्यो । युएईले पनि ६ खेलबाट १० अंक नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । नेपालले ३.९३५ नेट रनरेट रहेको छ भने युएईको ३.७४० नेट रनरेट रहेको छ ।
    छनोट भएसँगैं नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ । छनोटको अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै ८६ रन बनाउँदैं ऐतिहासिक जित निकालेको हो । दुईपल्ट यु–१९ विश्वकप छनोट खेलेको नेपालले युएईलाई पहिलोपल्ट हराएको हो ।
    नेपालको ऐतिहासिक जितमा ओपनर साना प्रभिनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले एक चौका प्रहार गरिन् । कप्तान पूजा महतो २१ रनमा आउट हुँदा सावित्री धामीले १२ रनको योगदान दिइन् । यस्तै, उपकप्तान सोनी पाख्रिन १३ रनमा अविजित रहिन् ।


    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको बनेको थियो ।
    युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
    नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
    यु–१९ टि ट्वान्टी महिला विश्वकप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । विश्वकपमा छनोट भएसँगै नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।
    यसैबीच यु–१९ नेपाली महिला टोलीले विश्वकपका साथै यु–१९ एसिया कपमा स्थान बनाएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएसँगैं आगामी महिना एसिसीको आयोजनामा हुन लागेको पहिलो संस्करणको यु–१९ महिला एसिया कपका लागि समेत छनोट भएको हो ।
    १४ देखि २१ डिसेम्बर सम्म मलेसियामा आयोजना हुने यु–१९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । यस समूहमा नेपालका अलावा पाकिस्तान र भारत रहेका छन् । समूह ए मा भने श्रीलंका, बंगलादेश र आयोजक मलेसिया रहेका छन् ।

  • लागू औषध सहित मेडिकल सञ्चालक पक्राउ

    भक्तपुर, कार्तिक २८
    अवैध लागू औषध बिक्रि वितरण गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि वडा नं. ६ नगरपालिका चोकबाट गत सोमवार औषधी पसल (मेडिकल) सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राज मेडिकलका सञ्चालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं. ३ घर भई हाल पुरानो थिमि बस्ने ३६ वर्षिय राजनारायण साह हुन ।
    साहको मेडिकलमा अवैध लागू औषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त थिमिको टोलीले छापामारी उनलाई पक्राउ गरेको हो । साहको मेडिकल प्रहरी वृत्त थिमिको सय मिटरको दुरीमा रहेको छ ।
    प्रहरीले साहको मेडिकलबाट क्लोनाजेपाम १८० ट्याब्लेट, ट्वाजोडोन हाइड्रक्लोराइड ५० एमजीको ३६० ट्याब्लेट, टपेन्डाडोल ५० एमजीको ३६ ट्याब्लेट र टपेन्डाडोल १०० एमजीको ४५ ट्याब्लेट बरामद गरिएको जिल्ला प्हरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    साहलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।

     

  • भक्तपुर महोत्सवमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता हुने

    भक्तपुर, कार्तिक २८
    भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
    महोत्सवकै अवसरमा बाँसुरी बाजा प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ५० हजार, दोस्रो पुरस्कार रु. ४० हजार, तेस्रो पुरस्कार रु. ३० हजार र सान्त्वनालाई रु. २० हजारसहित वाद्यवादनका सामाग्री पुरस्कार प्रदान गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
    बैठकमा उहाँले भक्तपुर महोत्सव प्रचारप्रसारको समय १ महिना मात्र बाँकी रहेको हुँदा भक्तपुर महोत्सवअन्तर्गत गठित विभिन्न समिति र उपसमितिहरु महोत्सव केन्द्रित गतिविधि र प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो ।
    उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको सोही क्रममा जानकारी गराउनुभयो ।
    प्रमुख प्रजापतिले महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताउँदै महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधि मार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
    बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

  • भक्तपुर प्रहरीको सुरक्षा रणनीति सार्वजनिक

    भक्तपुर, कार्तिक २६
    जिल्ला प्रहरी परिसर भक्तपुरले आइतवार पत्रकार भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित सुरक्षा योजनाको प्रगती विवरण र भावी सुरक्षा योजना सार्वजनिक गरेको छ ।
    परिसरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले यस वर्षको दशैं, तिहार र छठ पर्वमा लागू औषध अपराधका ५ घटनाबाट १० जना, बाल यौन दुरुपयोगका २, घटनाबाट २ जना, जुवाका ९ अपराधबाट ३२ जना, हुण्डीबाट १ जना, चोरीका ८ घटनाहरुबाट १५ जना, सवारी अंगभंगका ६ घटनाबाट ५ जना पक्राउ र १ जना फरार तथा ६ जना घाइते भएको जानकारी दिनुभयो ।
    यस्तै दशै तिहार र छठ पर्व अवधिभर जिल्लामा अन्दाजी ४८ हजार रुपैंया बराबरको पटका बरामद गरेको, चार पटकसम्म गरेको बजार अनुगमनले रु. १५ हजार जरिवाना, १० हजार बराबरको सामान नष्ट गरेको, ट्राफिक नियम उलघंन गर्ने २१५७ सवारी साधन कारवाहीबाट १४ लाख पचपन्न हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको र ८७ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना गम्भिर घाइते र ५१ जना सामान्य घाइते भएको नेउपानेले बताउनुभयो ।
    अपराधिक उपद्रव गर्न नहुने १ घटनामा २ जना, कर्तव्य ज्यानका २ घटनामा २ जना पक्राउ र २ जनाको मृत्य समेत भएको उल्लेख गर्दै सूचना अधिकारी नेउपानेले भवितव्य ज्यानका १८ घटनाबाट १८ जनाको ज्यान गएको बताउनुभयो ।
    यस्तै फैसला कार्यान्वय सम्बन्धी कार्वाहीमा ४३ जना पक्राउ गरी ८१ हजार ७६० जरिवाना तथा १ वर्ष ६ महिना १६ दिने कैद सजाय असुल गरिएको जानकारी दिँदैं उहाँले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि ६१७ जना प्रहरी कर्मचारीहरु परिचालन भएको बताउनुभयो ।


    कार्यक्रममा परिसर प्रमुख प्रहरी उपरीक्षक माधब बुढाथोकीले आफू सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पार्दै पत्रकारलाई सूचना माग्न आग्रह समेत गर्नुभयो । “राज्यको चौथौं अंगको रुपमा रहेको पत्रकारलाई वेवास्ता गरेर जाने कुनै गुञ्जायस छैन,” उहाँले भन्नुभयो ।
    उहाँले भावी रणनीतिक योजनाको रुपमा फैसला कर्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, लागू औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने र शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरु पनि अघि सारेको जानकारी दिनुभयो ।
    उहाँले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यसवर्ष गतवर्षको तुलनामा चोरी, सवारी दुर्घटनालगायतका घटनामा कमी आएको बताउनुभयो ।
    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रविण खत्रीले जिल्लाका मुख्य सडकहरुको ट्राफिक लाईटहरुको व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताउँदै सवारी कारवाही भन्दा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी लागिपरेको दावी गर्नुभयो ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले कुनै पनि घटनाको विवरण छिटो छरिटो माध्यमबाट सार्वजनिक गर्न, सडक दुर्घटना एवम् ट्राफिक प्रहरीले गरेका कारवाहीको विवरण जिल्लामा एकत्रित गरी राख्न, साना होटल तथा खाजाघरमा हुने यौनजन्य क्रियाकिलाप र मेडिकलहरुबाट हुने लागु औषध कारावार नियन्त्रण गर्न सुझाव दिनुभएको थियो ।