Blog

  • नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह

    नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह

    भक्तपुर, जेठ २६

     चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो ।

    नगरपालिकाले राजनीतिक दल, संघ संस्था, बुद्धिजीवी, नागरिक समाज, विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारकर्मीलगायत आम नागरिकहरुलाई सामाजिक सञ्जाल, टेलिफोन, म्यासेज र इमेलमार्फत सुझाव दिन आग्रह गरेको छ ।

    ‘चाँगुनारायण नगरपालिकालाई समृद्ध बनाउन लागि के कस्ता नीति तथा कार्यक्रम आवश्यक रहेको र सो मा समावेश गर्नुपर्ने विषयहरुका सम्बन्धमा आ–आफ्नो अमूल्य सुझाव दिन अनुरोध छ’, सूचनामा उल्लेख गरिएको छ ।

    नगरपालिकाले यही जेठ मसान्तसम्म सुझाव दिन सूचित गरेको छ । नगरपालिकाले सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेको मोवाइल नं. ९८४३७२३९२४ मा सम्पर्क गरी वा नगरपालिकाको ईमेल mayor@changunarayanmun.gov.np, info@changunarayanmun.gov.np र ito.changunarayanmun@gmail.com  मार्फत सुझाव दिन सकिने जनाएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले असार १० भित्र नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने प्रावधान रहेको छ ।

  • प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैं

    प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैं

    भक्तपुर, जेठ २६
    प्रदेश नं. २ मा जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारी हुने भएको छ । त्यसका लागि तीन दलबीच मन्त्रालय बाँडफाँटका लागि छलफल चलिरहेको छ भने मन्त्री छनोटका लागि दलहरु आन्तरिक छलफलमा समेत जुटेका छन ।
    जसपाको महन्थ ठाकुर– राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रुष्ट भएको उपेन्द्र यादव समूहले प्रदेश २ को सत्ता समीकरणको लागि विगत तीन दिन देखि कसरत गर्दै थिए । सो अनुसार तीन दलबीच मंगलवार सत्ता साझेदारीका विषयमा सहमति भएको थियो । सो अनुसार मन्त्रालय फुटाएर १० पु¥याउने र जसपाले ५, कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउने भएका छन ।
    अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छ । जसपा सांसद रामआशीष यादवका अनुसार सामाजिक विकासलाई टुक्रयाएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ सञ्चार मन्त्रालय बनाउने तयारी छ ।
    त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारले तयारी गरेको छ ।
    मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिनुभयो । जसपा उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीन जना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्यको वातावरण बनेको थियो ।
    यसैबीच सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । स्रोतका अनुसार कांग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।

  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

    भक्तपुर, जेठ २६
    सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अस्वस्थ भएकाले सोमवार स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने व्यवस्था रहेको छ ।
    प्रधानन्यायाधीश राणाले पहिले गठन गरेको संवैधानिक इजलासमा विवाद भएपछि पुनः वरिष्ठताको आधारमा अर्को इजलास गठन गरेको थियो । सो इजलासका बारेमा पनि सरकार पक्षका अधिवक्ताहरुले विवाद गरेपछि निवेदन केन्द्रीत बहश समेत हुन सकेको छैन ।
    प्रधानन्यायाधीश राणाले आफुसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
    मन्त्रिपरिषद्को यही जेठ ७ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेको थियो । उक्त निर्णय असंवैधानिक भएको भन्दै ३० रिट निवेदन दर्ता भएको छ । विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरमा समेत रिट दर्ता भएको छ ।

  • शिक्षासेवी महर्जनको निधन

    शिक्षासेवी महर्जनको निधन

    भक्तपुर, जेठ २५
    भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ । कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका महर्जनको कोरोना नेगेटिभ आएपनि थप उपचारको क्रममा निधन भएको हो ।
    माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल स्व. महर्जन भक्तपुरको शिक्षा क्षेत्रको विकासमा निक्कै चिन्तित र क्रियाशिल हुनुहुन्थ्यो । उहाँले भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्य र ‘शिक्षाको पर्यटन जिल्ला’ बनाउने अभियान सञ्चालन गर्नुभएको थियो ।
    २०२६ साल कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनु भएका महर्जनले शिक्षाको विकासका लागि दुई दशक योगदान दिनु भएको छ । पत्रकारितामा समेत चासो राख्ने उहाँले लेखेका शिक्षासंग सम्बन्धित धेरै प्रेरणादायक लेखहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशित छन् ।
    बिभिन्न ठाउँमा शिक्षाको विकास र शिक्षासंग सम्बन्धित बिभिन्न विषयमा प्रशिक्षण दिदै आउनु भएका महर्जनले यूट्युव च्यानलमार्फत विद्यार्थी, अभिभावक र शिक्षाकर्मीका लागि दिने प्रेरणादायी अभिव्यक्तिहरुबाट उहाँ चर्चामा आउनु भएको थियो । स्वर्गीय महर्जनको एक पत्नी र एक छोरा रहेका छन् ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का वर्तमान् केन्द्रीय प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष महर्जनले प्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष, प्याब्सन भक्तपुरका अध्यक्षकारुपमा समेत कार्य गरिसक्नुभएको छ ।
    महर्जन नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले प्रदान गर्ने स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारका संस्थापक समेत हुनुहुन्छ । उहाँको निधनमा महासंघ भक्तपुरले शोक वक्तव्य प्रकाशन गर्दै गहिरो दुःख व्यक्त गरेको छ । महासंघका जिल्ला सचिव संजीप घिमिरेले जारी गर्नुभएको शोक वक्तव्यमा महर्जनको निधनले भक्तपुरको शिक्षा क्षेत्रले एउटा नक्षत्र गुमाएको उल्लेख गरेको छ ।

  • सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण

    सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण

    भक्तपुर, जेठ, २५
    भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत सरोकारवालाहरुको भनाई छ ।
    भक्तपुर नगरभित्र विद्युतका तार भूमिगत गर्ने विषयमा आज सम्पन्न अनलाइन बैठकमा सहभागीहरुले सरोकारवाला र जनताहरुबीच आवश्यक छलफलपश्चात योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तार भूमिगत गर्ने विषयमा आवश्यक सहकार्य र पहलको लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित तार र केबलहरुबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको छ । सम्पदा बस्तीभित्र तारहरु भूमिगत गर्ने विषय चुनौतीपूर्ण भएपनि नगरपालिका आवश्यक सहकार्य र पहल गर्न सकारात्मक छ ।”
    उहाँले यस सम्बन्धमा सम्बन्धित सरोकारवाला र जनताहरुबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने धारणा राख्नुभयो । भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा पुनः तार भूमिगत गर्ने विषयले अन्योलता ल्याएको बताउँदैं उहाँले तार भूमिगत गर्दा देखिने चुनौतीका विषयमा आयोजनाले आवश्यक ध्यान दिनुपर्ने र यथाशीघ्र आयोजनाको काम अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।
    बैठकमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत ललितपुर र भक्तपुरमा भूमिगत तार व्यवस्थाका आयोजना प्रमुख बीरेन्द्रकुमार झाले भक्तपुरको तार भूमिगत गर्ने विषयमा प्रस्तुतीकरण दिनुभयो । उहाँले भूमिगत केबलको विषयमा जनस्तरमा सूचना प्रवाह गर्न सके जनताबाट साथ र सहयोग पनि पाउने र आयोजना पनि समयमै सम्पन्न हुने बताउनुभयो ।
    आयोजनाका केदारराज सिलवालले ऐतिहासिक नगरी भक्तपुरमा अव्यवस्थित तारले नराम्रो प्रभाव पारिरहेको हुँदा तार भूमिगत गर्न सकेको खण्डमा भक्तपुर सुन्दर र सुरक्षित पनि हुने बताउनुभयो । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधिहरु र सरोकारवाला प्राविधिकहरुको उपस्थिति थियो ।

  • भूकम्पले क्षती गरेका भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

    भूकम्पले क्षती गरेका भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

    भक्तपुर, जेठ २५, लक्ष्मी गारु
    गोरखा भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षती गरेका पुरातात्विक महत्वका सम्पदाहरु मध्ये १३४ वटा साना ठूला सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ बैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षती पुगेको थियो । ती मध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ ।
    भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरका ई. मोहनसिं लामाले जानकारी दिनुभयो ।
    भूकम्पले भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै सम्पदा क्षति गरेको थियो । सम्पदाको धनी भक्तपुर नगरका १४५ वटा सम्पदामा क्षति भएको थियो । त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३, सूर्यविनायक नगरपालिकामा २९ र चाँगुनारायण नगरपालिकामा १६ सम्पदामा क्षति पुगेको ई. लामाले बताउनुभयो ।

    भक्तपुर नगरपालिकाको क्षतिग्रस्त १४५ सम्पदा मध्ये १०८ वटा सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार भक्तपुर नगरमा हालसम्म २३ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछें, ३ वटा प्रवेशद्वार, ८ वटा पोखरी, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदाहरु जीर्णोद्धारको क्रममा रहेको छ ।
    चालु आर्थिक वर्ष भक्तपुर नगरभित्र विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर (पाँचतल्ले मन्दिर) जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भक्तपुर नपा ४ स्थित चपाल भैरव द्यो छेँ पुनः निर्माण, भक्तपुर ५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा ६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा ७ स्थित गय् भिंद्यो पुललगायतका कार्यहरु सम्पन्न भएको उहाँले बताउनुभयो ।

    मध्यपुर थिमिमा ७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै २ वटाको पुनःनिर्माण भइरहेको र ४ वटाको शुरु हुने चरणमा रहेको छ । चाँगुनारायण नगरपालिकामा १० वटा सम्पदाको पुनःनिर्माण सकिएको छ । यहाँ ४ वटाको पुनःनिर्माण भइरहेको छ भने ४ वटाको शुरु गर्ने तयारी भइरहेको छ ।
    सूर्यविनायक नगरपालिकामा क्षतिग्रस्त २९ सम्पदा मध्ये हालसम्म जम्मा ९ वटाको मात्र पुनःनिर्माण भएको छ । यहाँ २ वटाको पुनःनिर्माण भइरहेको र ६ वटा पुनःनिर्माणको चरणमा रहेको ईं. लामाले बताउनुभयो ।
    चालु अर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्रिय कला संग्रहालयको जिम्मेवारीमा २८ र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा १२ वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी तोकिएको थियो । तर ती दुई वटै निकायले तोकिएको जिम्मेवारी पुरा गर्न भने नसक्ने भएको छ ।
    कला संग्रहालयको जिम्मेवारी तोकिएका २८ मध्ये १५ वटाको मात्र लागत अनुमान पेश गरिएको छ । त्यसमा ५ वटाको पुनःनिर्माण सकिएको र १० वटाको कार्य भइरहेको छ । त्यस्तै १३ वटा सम्पदाको लागत अनुमान समेत तयार हुन नसकेको ई. लामाले बताउनुभयो ।
    त्यस्तैगरी स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा परेका १२ मध्ये २ वटाको मात्र कार्य सम्पन्न भएको छ भने ९ वटाको कार्य भइरहेको छ । एउटा सम्पदाको कुनै कार्य हुन नसकेको ई. लामाले बताउनुभयो ।
    भक्तपुर खौमा र अरनिको सभाभवनका गरी दुई वटा जगन्नाथ मन्दिरको पुर्व संरचनाको सम्बन्धमा एकिन गर्न नसकिएको, निजी स्वामित्वको सम्पदा भएकाले भक्तपुर कै टेराकोटा द्यो छें र विश्वकर्मा द्यो छेंको पुनःनिर्माण रोकिएको छ ।

    यस्तै गरी भक्तपुर नगरको यक्षेश्वर महादेव संरक्षण गर्ने कार्य गत आर्थिक वर्षको अन्तिमतिर टेण्डर प्रक्रिया भई समय अभावका कारण र चालु वर्ष बजेट नभएकाले कार्य गर्न नसकिएको लामाले बताउनुभयो ।
    भक्तपुरकै बालाखु गणेश द्यो छें संरक्षण गर्ने कार्य ठेक्का सम्झौता भएको तर कार्य नगरेको कारण कार्य हुन नसकेको, स्थानीयको विरोधका कारण चाँगुनारायणको बलम्बू पाटी संरक्षण गर्ने कार्य हुन नसकेको उहाँले बताउनुभयो ।
    पुनःनिर्माण सकिएका सम्पदाहरुमा सूर्यविनायक नगरपालिका–४, तर्खगालको राधाकृष्ण मन्दिर पुनःनिर्माण र माकले पाटी संरक्षण, मध्यपुर थिमि–४ को वप्पा विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण र वडा नं. ७ नगदेशको गणेश मन्दिर तथा सत्तल पुनःनिर्माण, सूर्यविनायक ७ को रातो पाटी संरक्षण गर्ने कार्य रहेका छन ।
    समस्या र चुनौतीहरु
    सम्पदा पुनःनिर्माण र संरक्षणमा देखा परेका विभिन्न खाले समस्या र चुनौतिहरुले गर्दा पनि समयमा कार्य सम्पन्न गर्न नसकिएको ई. लामाले बताउनुभयो । उहाँका अनुसार खुल्ला प्रतिस्पर्धा भै न्यूनतम कवोल गर्ने निर्माण व्यावसायीको बोलपत्र स्वीकृत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको कारण गुणस्तरको र तोकिएका समयमा कार्य गराउन नसक्ने समस्या देखिएको छ ।
    सम्पदा संरक्षणको लागि कार्यालयबाट नै गर्ने गरी बजेट व्यवस्था हुनुपर्नेमा केन्द्रिकृत हुने परम्परा रहनु, सम्पदा संरक्षणमा चासो कम राख्ने प्रवृत्ति रहनु, क्षतिग्रस्त सम्पदाहरुको संख्या र संरक्षण एवं पुनःनिर्माणको लागि आवश्यक स्रोतको सुनिश्चितता नहुनुले पनि सम्पदा पुनःनिर्माणमा समस्या देखिएको उहाँले बताउनुभयो ।
    त्यस्तैगरी दक्ष जनशक्ति र कालिगढहरुको अभाव, परम्परागत निर्माण सामग्रीहरु आवश्यकता अनुसारको नापसाईज र परिमाण सहज रुपमा उपलव्ध हुन नसक्नु, विस्तृत संरचना प्रतिवेदन तयार गरी सोही अनुसार प्रक्रिया गर्ने परम्परा पालन हुन नसक्नु, संरक्षण÷पुनःनिर्माण कार्यमा संलग्न जिम्मेवार निकायहरु (गुठी, स्थानीय निकाय र दाताहरु ) बीच सक्रिय, संवेदनशिल र समन्वय नहुनुले पनि सम्पदा पुनःनिर्माणमा ढिलाई हुने गरेको छ ।
    बढदो शहरीकरण, व्यापारीकरण र भूमिको उच्च मूल्य बृद्धिका कारण प्राचीन स्मारकहरुलाई निजी स्वामित्व र निजी प्रयोगमा लगाई अतिक्रमण गर्ने प्रवृत्ति बढनु, संरक्षित स्मारक क्षेत्र÷स्थलहरुको प्रमाणिकता, ऐतिहासिकता, संवेदनशिलताका साथै विश्वव्यापी महत्वमा असर परी सम्पदा एवं स्थलहरुको महत्व दिन प्रतिदिन खस्कदै जानुले पनि सम्पदा संरक्षणमा चुनौति थपिएको लामाले बताउनुभयो ।
    केही सम्पदाहरुको विस्तृत अभिलेखीकरण नभएको कारण पुनःनिर्माण वा संरक्षण कार्यमा केही परिवर्तन वा थप कार्य गर्नुपर्ने बाध्यता रहनु र सम्पदाहरुको पुनःनिर्माण÷संरक्षणको क्रममा आकस्मिक रुपमा आईपर्ने विविध कठिनाई र चुनौतिहरुले गर्दा पनि सम्पदाको पुनःनिर्माणमा ढिलाई भइरहेको छ ।

  • मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    भक्तपुर, जेठ २५
    मन्त्रिपरिषद बिस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । तर सर्वोच्चले रिट निवेदकको माग बमोजिम नवनियुक्त मन्त्रीहरुलाई काम काज गर्न रोक लगाउन अन्तरिम आदेश भने दिन अस्विकार गरेको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारलाई कारण देखाऊ आदेश दिएको हो ।
    न्यायाधीश खतिवडाले अन्तरिम आदेशबारे छलफलका लागि सरकारी वकीललाई पनि झिकाउने आदेश गर्नुभएको छ । अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भनेर दुवै पक्षलाई असार ८ मा बोलाउने आदेश गरेको छ ।
    प्रधानमन्त्री के पी शर्मा ओलीले गत जेठ २१ मा गरेको मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भएको दावीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने तथा वीरेन्द्रप्रसाद शाहले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

  • म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

    म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

    भक्तपुर, जेठ २५
    नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक भएको छ । जीवन बडु र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ ।
    यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देख्न सकिन्छ । ¥यापर जगत तिरुवाको शब्द र संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुशार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिताले यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन ।


    केहि दिनअघि मात्र नायक तथा मोडल पल शाहसँग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवै सँग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन । हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ । डान्स र एक्स्प्रेसनको राम्रै तारीफ पाउने गरेको सुधिरले पनि कवितासँग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । ‘कबिताजीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउछ,’ सुधीरले भने ।
    डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता ढुक्क रहेकी छिन । निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिस्वकर्माले गरेका छन् ।

  • विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

    विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

    भक्तपुर, जेठ २५
    कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत र दोस्रो हापको शुरुमा गोल गरे भने खेलको ६८ औं मिनेटमा याजान अलअरबले गोल गरेका थिए ।


    जोर्डनसँग पराजित भएसँगै नेपाल एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । नेपालले अब शुक्रवार हुने खेलमा अष्ट्रेलियालाई पराजित गर्न सके मात्र एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना रहन्छ, त्यसका लागि अन्य समूहका खेलको नतिजा पनि अनुकुल हुनुपर्छ ।
    जोर्डन जितसँगै समूहको दोस्रो स्थानमा उक्लेको छ । जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ ।
    पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो । जोर्डनको एकपछि अर्को आक्रमणमा गोलरक्षक किरण बाधक बनेका छन ।


    खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।
    खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाए । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न भने सकेनन् ।
    खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।


    खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा सुलेमानले तीन डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो ।
    दोस्रो हाफको शुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पा¥यो । खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो ।
    नेपालले खेलको ५८ औं मिनेटमा तीन खेलाडी परिवर्तन गरेको थियो । नवयुग श्रेष्ठ, एरिक विष्ट र विशाल राईलाई पुजन उपरकोटी, सन्तोष तामाङ र दीनेश राजवंशीको स्थानमा मैदानमा प्रवेश गराएका थिए । त्यसपछि नेपालको खेलमा केही सुधार देखिएको थियो । तर ५८ औं मिनेटमा मनिष र नवयुगले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रण गर्न नसक्दा नेपालले कुनै खतरा सिर्जना गर्न सकेन ।


    ६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो । छोटो फ्रिकिकमा जोर्डनले उत्कृष्ट मुभ बनाउँदै गोल गरेको थियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए ।

    ८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

  • पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

    पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

    भक्तपुर, जेठ २४
    विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको हो ।
    रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिालएका थिए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न भने सकेनन् ।


    पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो । जोर्डनको एकपछि अर्को आक्रमणमा गोलरक्षक किरण बाधक बनेका छन ।
    खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।


    खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।


    खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा सुलेमानले तीन डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो ।