Blog

  • भ्रष्टाचार रोक्न शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्छ ः प्रदेश मन्त्री खड्गी

    ललिता साह, भक्तपुर, मंसिर ९
    बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीले भ्रष्टाचार न्यूनिकरणका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवार स्क्वायरस्थित श्री पद्म माविको १०१ औं र पद्म कलेको १५ औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खडगीले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न सके भ्रष्टाचार मुक्त देश निर्माण गर्न सक्ने बताउनुभएको हो ।
    उहाँले सामुदायिक विद्यालय अब्बल बनाउँदैं थोरै कमाएर महँगो विद्यालय पढाउनु परेको बाध्यता अन्त्य गर्न बागमती प्रदेशले निःशुल्क रुपमा गुणस्तरीय शिक्षाको निति लिएको बताउनुभयो ।
    विश्व अघि बढ्नुमा विज्ञान ÷ प्रविधिको भूमिका रहेको छ । पछिल्लो समय युवाहरू पलायन हुँदै गर्दा देश वृद्धाश्रम तर्फ धकेलिराखेको निराशाको दृश्य छ । युवालाई आफ्नै देशमा राख्न विदेशको आइटी विज्ञान प्रविधि भित्र्याउनुपर्छ, उहाँले भन्नुभयो ।


    उहाँले विद्यार्थीहरुको भविष्यका लागि बागमती प्रदेशले ल्याएको पढ्दै कमाउँदै सिक्दै कार्यक्रम प्रदेशको सबै विद्यालयहरूले लागू गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशले प्रादेशिक शिक्षालय संचालनको अवधारणामा काम गरिरहेको बताउँदैं उहाँले पद्म माविको भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी प्रदेश सरकारको भएकोले त्यसमा लाग्ने बजेट दिने प्रतिबद्धता जनाउनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशीले सभापतित्वमा सम्पन्न समारोहमा प्राचार्य राम हाडाले विद्यालयको वार्षिक शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
    पद्म मावि २०७३ मा नमुना विद्यालय घोषणा भएको हो । पद्मको कथा उज्यालोको शताब्दी पार गरिरहँदा विद्यालयले नमुना अब्बल र असल अभ्यासहरुमा देशमै अग्रस्थान ओगटेको छ ।


    विद्यालय ३१ रोपनी १४ आना बढी जग्गा क्षेत्रफलमा फैलिएको छ । बागमती प्रदेशबाट भौतिक संरचनाको लागि डिपिआर भएर भवन निर्माणको लागि १६ करोड विनियोजन भएपनि हाल बजेट कार्यन्वयन प्रकृया रोकिएकोले प्रदेश सरकारको तर्फबाट सो बजेट निकासाको प्रकृया अघि बढाइदिन प्राचार्य हाडाले मन्त्री खड्कीसँग आग्रह गरेका छन् ।
    समारोहमा विद्यालयको आधारभूत तहदेखि स्नातक तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने २० वर्षसम्म विद्यालयमा अनवरत सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।
    समारोहमा बागमती बागमती प्रदेशका प्रदेश सभा सदस्यहरू विभिन्न पेशागत संघ संगठनका प्रमुखहरू , विद्यालयका पूर्व प्रधानाध्यकहरु , छात्रवृति दाताहरू ,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पत्रकार , समाजसेवी , राजनितिज्ञ , नागरिक समाज तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

     

  • कबड्डीको फ्रेन्चाइज लिग एनकेएलको लोगो र ट्रफी सार्वजनिक

    भक्तपुर, मंसिर ८
    कबड्डीको आसन्न फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो र ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । एनकेएलको मुख्य प्रायोजकको रूपमा रहेको एक्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले लोगो र ट्रफी सार्वजनिक गरिएको हो । गृहमन्त्री रमेश लेखक, खेलकुदमन्त्री तेजुलाल चौधरी, प्रायोजकका अध्यक्ष अमित बेगानीलगायतले संयुक्तरुपमा लोगो र ट्रफी सार्वजनिक गरेका हुन ।
    एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष बेगानीले नेपालको कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्य साथ लिगको आयोजना गर्न लागिएको बताए । उनले भने, ‘एनकेएल कबड्डी खेलमात्र नभएर सबै नेपालीको सपना हो । गाउँको कुना कन्दरादेखि सहरसम्म फैलिएको नेपाली कबड्डीलाई विश्व मञ्चमा पु¥याउने हाम्रो प्रयास हो । यसका लागि यो ऐतिहासिक कदम भएको छ ।’
    गत वर्ष चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डीले ऐतिहासिक कांस्य पदक जितेको थियो । नेपालले टिम खेलबाट एसियाडमा कांस्य जितेको यो पहिलोपल्ट थियो ।
    उक्त सफलतापछि अखिल नेपाल कबड्डी संघले नेपाली कबड्डीको विकास र बिस्तारका लागि फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा गरेको थियो ।
    पहिलो संस्करणमा भाग लिने ६ सहर नामसमेत सार्वजनिक गरिएको छ । एनकेएलमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल सहरको नाम टिमहरूले सहभागिता जनाउने छन् । प्रतियोगिताको मिति र खेलाडी छनोट लगायतका कार्यक्रम पछि सार्वजनिक गरिने आयोजकले जनाइएको छ ।
    एनकेएल लिगका लागि कबड्डी संघले गत वर्ष नोभेम्बरमा एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षे सम्झौता गरेको थियो । महिला कबड्डी लिगका लागि पनि एस्ट्रोनिक्ससँगै सम्झौता भइसकेको छ ।
    संघकी अध्यक्ष तुलसी थापाले देशको माटो सुहाउँदा खेल भए पनि जुन रूपमा विस्तार हुनुपर्ने हो त्यो हुन नसकेको प्रस्ट्याउँदै अब एनकेएल आयोजनाले गति लिने विश्वास व्यक्त गरिन् ।
    १३ औं सागमा रजत जितेको महिला कबड्डीले ११ र १२ औं सागमा पनि कांस्य जितेको थियो । पुरुष कबड्डीले ११ औं सागमा कांस्य जितेको थियो । ढाकाको बंगबन्धु कबड्डी प्रतियोगितामा पनि नेपाली पुरुष टोलीले उपविजेता भएको थियो ।
    गृहमन्त्री लेखकले कबड्डी नेपालको मौलिक खेलको रूपमा रहेको चर्चा गरे । उनले आफूले देखेको र खेलेको पहिलो खेल नै कबड्डी भएको प्रसंग उप्काउँदै सबैको मनमनमा कबड्डी खेल रहेको बताए ।

     

  • सर्वोच्चले नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने फैसलालाई पुनरावलोकन गर्ने

    भक्तपुर, मंसिर ७
    सर्वोच्च अदालतले काठमाण्डौं उपत्यकाका नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।
    सर्वोच्च अदालतले बागमतीलगायत काठमाण्डौं उपत्यकाका नदि र खोलानाला वरपर थप २० मिटर क्षेत्रमा कुनै निर्माण अनुमति नदिन सरकारका नाममा आदेश दिएको थियो । उक्त फैसला पुनरावलोकन हुनुपर्ने माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संघीय मामिला मन्त्रालयले छुट्टाछुट्टै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
    सोही निवेदनको सुनुवाई गर्दै बिहिवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान गरेको हो । सर्वोच्चले पुनरावलोकन हुने अनुमति प्रदान गरेपछि अब उक्त मुद्दा पुनरावलोकनको अनुमति प्रदान गर्ने न्यायाधीश बाहेकको ३ सदस्यीय पूर्ण इजलासमा पेश हुनेछ ।
    बाग्मती संरक्षणसँग जोडिएको रिट निवेदनमा भएको फैसला त्रुटिपूर्ण र नजीरको प्रतिकूल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको थियो ।
    रिट निवेदकले जिकिर नै नगरेको विषयमा वागमती, विष्णुमतीलगायत नदीमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने भनी फैसला गरेको, कानूनको प्रतिकूल नै नभएको विषयमा खोला किनारमा खुला क्षेत्र छाड्ने आदेश गरेको लगायतका आधार देखाउदै सरकारले फैसला पुनरावलोकनको निवेदन दिएको थियो ।
    सर्वोच्चले ३ पुस, २०८० मा बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरुलाई अन्यत्र सार्नुपर्ने फैसला गरेको थियो । गत २४ भदौ २०८१ मा भएको भेलामा काठमाडौं उपत्यका मेयर फोरमले सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने भनी आवाज उठाएको थियो ।
    वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले बागमतीलगायतका नदी संरक्षणको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । १३ वर्ष पुरानो रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ‘घर निर्माणपछि संरचना बनाउँदा मापदण्ड पालना भए÷नभएको प्रभावकारी अनुगमन गराउन’ आदेश जारी गरेको थियो । संयुक्त इजलासले नदी अतिक्रमण गरेर बसेका वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने औंल्याएको थियो ।
    त्यस्तै काठमाण्डौंका नदी र खोला किनाराको जग्गा अतिक्रमण भएको भन्दै उसले २०५२ सालमा पूर्वसचिव रामबहादुर रावलको नेतृत्वमा गठित रावल आयोगको प्रतिवेदन अनुसार जग्गा संरक्षण गर्नुपर्ने औंल्याएको थियो ।

     

  • भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन

    भक्तपुर, मंसिर ६
    भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन गरिएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा बुधवार भएको एक भेलाले निलेश आचार्यको अध्यक्षतामा महासंघको जिल्ला कार्यसमिति गठन गरिएको हो ।
    नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कर्माचार्य र मिना महर्जन, सचिवमा सुमन बस्नेत, कोषाध्यक्षमा विना पाण्डे चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण भक्त ङाखुसी, मनोज आचार्य दिक्षित, रुपेश कुमार बिष्ट, राजु प्रजापति, दिनेश पाण्डे र रामबाबु रेग्मी रहेका छन् ।
    विद्यालयमा खेलकुद विकासका लागि पहिलोपटक भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले समितिमा भक्तपुरका नीजि तथा सामूदायिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
    उहाँले पछिल्लो समय नेपालले क्रिकेट, महिला फुटबल, भलिबललगायतका खेलमा गरेको प्रगती र उपलब्धीलाई निरन्तरता दिन विद्यालयस्तरमा नै खेलकुद गतिविधि बृद्धि हुनुपर्ने खाँचोलाई मनन गरी भक्तपुरमा पनि विद्यालयस्तरमा खेल गतिविधि बृद्धि गरी नयाँ र प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले महासंघको जिल्ला समिति गठन गरिएको जानकारी दिनुभयो
    उहाँले तदर्थ समितिको रुपमा गठन गरिएको समितिलाई आगामी दिनमा थप विद्यालय सञ्चालक र प्रधानाध्यापकहरुको सहभागिता गराई सबैलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दै महासंघले भक्तपुरका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित लैजाने रहेको योजना रहेको बताउनुभयो ।
    यसैबीच महासंघ जिल्ला कार्यसमितिको बुधवार नै बसेको पहिलो बैठकले प्याव्सनका केन्द्रीय सदस्य रहनुभएका चन्द्रकुमार अधिकारी र स्थानीय व्यवसायी किशोर हेकालाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

     

  • स्वास्थ्य मन्त्री पौडेलद्धारा भक्तपुरको रक्त सञ्चार केन्द्र निरीक्षण

    भक्तपुर, मंसिर ६
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार नेपाल रेडक्रस सोसाईटी भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको निरीक्षण गरी केन्द्रले प्रदान गर्दै आइरहेको सेवाको बारेमा जानकारी लिनुभएको छ ।
    सो अवसरमा मन्त्री पौडेललाई नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले केन्द्रले कसरी रगत सङ्कलन देखि यसको वितरणको काम गर्दै आएको छ भनी जानकारी दिनुभएको थियो । उहाँले भक्तपुर रेडक्रसले वर्षमा २४ हजार पिन्ट भन्दा बढी रगत सङ्कलन तथा ५२ हजार पिन्ट भन्दा बढी वितरण गर्दै आएको मन्त्री पौडेललाई जानकारी दिनुभयो ।


    ‘न्याय नपाए गोर्खा जानु’ भने जस्तै ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारा तय गरी सो नारालाई यथार्तमा परिणत हुने गरी रेडक्रस र रक्तसञ्चार केन्द्रले काम गरिरहेको सभापति पाण्डेले जानकारी गराउनुभयो । पाण्डेले रक्त संकलन तथा वितरकको रूपमा भक्तपुरको रक्तसञ्चार केन्द्र नेपालको दोस्रो ठूलो भएको पनि जानकारी दिनुभएको थियो ।
    निरीक्षणपछि मन्त्री पौडेलले भक्तपुर रेडक्रसले उत्कृष्ट कार्य गरेको भन्दै आम रक्तदाताहरूको रगतलाई भक्तपुर रक्तसञ्चार केन्द्रले न्याय गरेको पाएको बताउनुभएको थियो । उहाँले संघीय सरकारको तर्फबाट मन्त्रालयमार्फत केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    सो अवसरमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, रेडक्रस भक्तपुरका सदस्य एवम् रक्तसञ्चार केन्द्र व्यवस्थापन समितिका संयोजक तथा चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सोम प्रधान, रेडक्रस भक्तपुरका मन्त्री धर्मराज थापालगायतको सहभागिता रहेको थियो ।

     

  • नेपाल संवत नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा – राष्ट्रपति पौडेल

    भक्तपुर, मंसिर ४
    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवतलाई नेपालको मौलिक र राष्ट्रिय संवत भएको बताउनुभएको छ । समाज सुधारक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा मंगलवार राष्ट्रपति भवनमा आयोजित शंखधर दिवस विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाल संवत ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको संवत भएकोले यो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको हो ।
    बागमती प्रदेशको संस्कृति, पर्यटन र सहकारी मन्त्रालयको आयोजना र राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठान थिमिको संयोजनमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा समेत भएको बताउनुभयो ।


    राष्ट्रपति पौडेलले भन्नुभयो, “बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवतको भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।”
    राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो ।


    उहाँले भन्नुभयो, ‘‘उहाँको उक्त ऐतिहासिक कार्य लोककल्याणकारी समाज निर्माणको दिशामा अघि बढ्नका लागि आजका दिन पनि हामी सबैका लागि प्रेरणादायी रहँदै आएको छ । राष्ट्रपति पौडेलले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग यति लामो समय समीप रहँदै आएको नेपाल संवत्को आरम्भ गर्नुहुने व्यक्तित्व श्री शंखधर साख्वाः लोककल्याण एवं परोपकारी भावनाका एक शिखर पुरुष हुनुहुन्छ । नेपाल संवत् स्थापनाको ऐतिहासिक सन्दर्भसँग सम्बन्धित उहाँको कर्मगाथा आफैमा गरिमामयी रहेको पाइन्छ ।’’
    साख्वाःको योगदानको स्मरणले सबैलाई सामाजिक सेवामा लाग्ने प्रेरित गर्ने पनि राष्ट्रपति पौडेलको भनाई रहेको छ । उहाँले नेपाल संवतको प्रयोगलाई व्यापक बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।


    सो अवसरमा वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शंखधर साख्वाःले १ हजार १ सय ४५ वर्ष अघि नेपाल संवत् चलाउनु अघि गरिब किसान, मजदुरको ऋण तिर्ने साख्वा साँचो अर्थमा समाज सुधारक रहेको बताउनुभयो । उहाँले विविधता बोकेको नेपालमा नेपाल संवत् इतिहासकै गौरवपूर्ण संवत रहेको बताउँदैं नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन र शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्ने अभियान चलाउन सबै अभियन्ताप्रति आभार प्रकट गर्नुभयो ।
    वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फैलाउन सरकारले चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्न बताउँदैं चालू आर्थिक वर्षमा मध्यपुर शंखधर पार्क र प्रतिष्ठानको लागि ४० लाख, रामघाटमा शंखधरको सालिक निर्माणको लागि २० लाख र हेटौडामा शंखधर पार्कको लागि ७५ लाख रुपैयाँ विनियोजित गरेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशभित्र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धन, नेपाल भाषा र तामाङ भाषाको विकासको लागि सरकारप्रतिबद्ध रहेको बताउनुभयो ।


    वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फराकिलो बनाउनुपर्ने खाँचो औंल्याउनुभयो । साख्वाःले काठमाण्डौंका जनताको ऋणमोचन गरी नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासको स्मरण गर्दै मन्त्री ठकुरीले भन्नुभयो, “सामाजिक न्यायको इतिहासमा अविस्मरणीय साख्वाःको योगदानलाई फराकिलो बनाउन उहाँको नाउँमा राष्ट्रिय गौरवको आयोजना र विभिन्न परियोजना सञ्चालन गर्नुपर्दछ ।
    वागमती प्रदेश सरकारले साख्वाःको देनलाई व्यापक बनाउने विभिन्न नीति तथा योजना ल्याउने पनि मन्त्री ठकुरीले उद्घोष गर्नुभयो । सामाजिक समानता र एकताको लागि साख्वाःले पुर्याउनुभएको योगदानको स्मरणले सबैलाई सामाजिक सेवा लाग्न उत्प्रेरित गर्ने पनि मन्त्री ठकुरीको विश्वास रहेको छ ।


    प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर दिवस तथा नेपाल संवत् नयाँ वर्प मनाउने कार्य तीन वटै सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । शंखधरको योगदान फैलाउने कार्यले मानिसमा सामाजिक भावना बृद्धि गर्ने र नेपाल संवतले राष्ट्रियता बृद्धि गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले यस कार्यमा संघ, प्रदेश र स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
    सो अवसरमा नेपाल संवत र शंखधर साख्वाको बारेमा जनचेतना जनाउने र उनको योगदानको कदर गर्दै साख्वाको प्रचार प्रसारमा सहकार्य गरेकोमा काठमाण्डौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर थिमि नगरपालिकालाई राष्ट्रपति पौडेलले विशेष सम्मान गर्नुभएको थियो

  • फुटबलमा १३ वर्षपछि अफगानिस्तानमाथि नेपालको जित

    भक्तपुर, मंसिर १
    नेपालले पुरुष फुटबलमा १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । फिफा अन्तराष्ट्रिय विण्डो अन्तर्गत ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
    नेपालको जितमा जिलेस्पीजंग कार्की र रोहित चन्दले एक एक गोल गरे । पहिलो हाप बराबरीमा सकिएको खेलको दोस्रो हापको शुरूआतमै जिलेस्पीजंगले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
    खेलको ७८ औं मिनेटमा रोहितले नेपालको अग्रता दोब्बर पारे । सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितको राष्ट्रिय टोलीको लागि पहिलो गोल हो । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।


    खेलको ८७ औं मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २–० को स्थितिमा राखे । उनले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पारेका थिए । नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको थियो ।
    नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो । एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११)को जित निकालेको थियो ।
    त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल मध्ये दुवैमा नेपाल पराजित भएको थियो । ती दुवै हार साफको सेमिफाइनलमा भएको थियो । पहिलो नयाँ दिल्लीमा सन् २०११ र काठमाडौं २०१३ को भेटमा अफगानिस्तानले बाजी मारेको थियो ।
    काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो । तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए ।
    नेपालले कार्तिक २८ गते बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो । अफगानिस्तानले मंगलबार ताजिकिस्तानसँग खेल्ने छ ।
    नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले पनि दोस्रो खेलमै जितको स्वाद चाखेका छन् ।
    अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ ।

  • मध्यपुर थिमिमा मठमन्दिर सरसफाई अभियान शुरु

    भक्तपुर, मंसिर १
    मध्यपुर थिमि नगरपालिकाले गठन गरेको युवा क्लव सञ्जालले शनिवारबाट साप्ताहिक मठमन्दिर सरसफाई अभियान शुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सवलाई लक्षित गरी युवा सञ्जालले सरसफाई अभियान शुरु गरेको हो ।
    अभियानको बालकुमारी मन्दिरमा शुरुवात गर्दै मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले अभियानको शुरुवात गरेको बताउनुभयो । उहाँले युवाहरु आधुनिकताको नाममा ईन्टरनेट र मनोरञ्जनमा मात्र सिमित हुँदा सामाजिक कार्य ओझेलमा पर्न थालेको बताउँदैं नगरपालिकाले युवाहरुलाई विभिन्न गतिविधिमा संलग्न गराउने उद्देश्यले कार्य गरिरहेको जानकारी दिनुभयो ।


    उहाँले आजका युवाहरु भोली स्थानीय तह र देशको नेतृत्व गर्ने वर्ग भएकाले अहिलेदेखी उनीहरुलाई सामाजिक कार्यका साथै नागरिकसँग हेलमेल हुने कार्यमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।
    अभियान अन्तर्गत मध्यपुर महोत्सवको पूर्व तयारीका लागि युवा सञ्जाल र हरेक वडाका युवा क्लबहरुको सहभागितामा प्रत्येक शनिवार मध्यपुर थिमिका पुरातात्विक, ऐतिहासिक एवम् धार्मिक महत्वका मठमन्दिर एवम् सम्पदाहरुको सरसफाई गर्ने सञ्जालका अध्यक्ष सनिम द्धारेले बताउनुभयो । कार्यक्रममा नगर प्रहरीको पनि सहभागिता रहेको थियो ।

     

  • भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    भक्तपुर, मंसिर १
    भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको हो ।
    दुर्घटनामा गम्भिर घाईते भएका सुवाललाई भक्तपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाण्डौंको अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । त्यही उनको उपचारको क्रममा मृत्यु भएको हो ।
    उक्त दुर्घटनामा पाँच जना घाईते भएकोमा भक्तपुर नगरपालिका–२ व्यासीका ४८ वर्षीय गणेश सुवालको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । चार जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    उपचारपछि डिस्चार्ज हुने घाईतेहरुमा चाँगुनारायण नगरपालिका वडा नं. ५ .बस्ने ३५ वर्षिय राधिका अवाल, ६० वर्षिय गोपाल कोजु, ४४ वर्षिय राधेश्याम सितिखु र ७४ वर्षिया पूर्णकेशरी शिल्पकार रहेका छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

  • एन प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक शिक्षिका सम्मानित

    भक्तपुर, मंसिर १
    राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याव्सन) भक्तपुरले शुक्रवार ८३ जना शिक्षक शिक्षिकालाई ‘दीर्घ शिक्षा सेवा’ले सम्मान गरेको छ । एन प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा आफ्ना सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी सेवा गरेका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको हो ।
    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सम्मान पत्र र एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले दोसल्ला ओढाई शिक्षक शिक्षिकहरुलाई सम्मान गर्नुभएको थियो ।
    सो अवसरमा मन्त्री थापाले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीजि विद्यालयहरुका संगठन एन प्याव्सन, प्याव्सन, हिसानलगायतका संघसंस्थाहरुले एक आपसमा भक्तपुरको शिक्षाको गुणस्तर बृद्धि गर्ने विषयमा प्रतिष्पर्धा गरी भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सुझाव दिनुभयो ।


    उहाँले आफू स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्था बारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागि परेको बताउनुभयो ।
    उहाँले नीजि विद्यालयहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी बागमती प्रदेशले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति निर्माण गरिरहेको बताउनुभयो । “सामूदायिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौं । अब नीजि विद्यायहरुमा पनि स्वास्थ्य शिविर मार्फत बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिएको छ,” उहाँले भन्नुभयो ।
    उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान जडानको लागि भवन निर्माण गर्ने विषयमा भक्तपुर नगरपालिकासँग छलफल भइरहेको र नगर प्रमुख समेत सकारात्मक भएकोले छिट्टै सिटि स्क्यान मेसिन जडान हुने बताउनुभयो ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले एन प्याव्सन भक्तपुरले शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेर उदाहरणीय कार्य गर्नुका साथै यस्तो सम्मानले शिक्षक शिक्षिकाहरुको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।
    एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सदस्य विद्यालयको जस्तो सुकै परिस्थितिमा पनि साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा रहेर अध्यापन गराउनु हुने शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताउनु भयो ।
    कार्यक्रममा एन प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, एन प्याव्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष रामप्रसाद खाताखो र सचिव कुमार थापामगरलगायतले एन प्याव्सन भक्तपुरका विविध गतिविधिको चर्चा गर्दै भक्तपुरको शिक्षा विकासमा सधैं तत्पर रहने बताउनुभएको थियो ।
    यसैबीच नवौं वार्षिक साधरण सभाले कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । सभाले अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरेको छ ।