Blog

  • युरोकप – शानदार जित सँगै नेदरल्यान्ड्स र अष्ट्रिया नकआउटमा प्रवेश

    युरोकप – शानदार जित सँगै नेदरल्यान्ड्स र अष्ट्रिया नकआउटमा प्रवेश

    भक्तपुर, असार ८
    नेदरल्यान्ड्स युरोकप अन्तर्गत सोमवार राती भएको खेलमा नर्थ म्यासेडोनियामाथि शानदार जित निकाल्दै समूह विजेताकोरुपमा नकआउट चरणमा प्रवेश गरेको छ । अर्को खेलमा अष्ट्रिया पनि युक्रेनमाथि १–० को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरे ।
    नेदरल्यान्ड्सलार्ई म्यासेडोनियामाथि ३–० को सहज जित दिलाउन कप्तान जर्जिनियो वाइनाल्डमले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे । घरेलु मैदान योहान क्रुएफ एरिनामा दुई महत्वपुर्ण अवसर गुमाएको नर्थ म्यासेडोनियाले २४औं मिनेटमा पहिलो गोल खायो । डोनेल मालेनले काउन्टर अट्याकमा मिलाइदिएको पासमा मेम्फिस डिपाएले गोल गर्दै डच टोलीलाई १–० को अग्रता दिलाए ।
    खेलको ५१औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डमले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । उनले मेम्फिस डिपाएको पासमा ६ यार्ड भित्रबाट सहज गोल गरेका थिए । खेलको ५८औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डच टोलीलाई ३–० ले अघि बढाए । मालेन हुदै डिपाएलाई आएको पासलाई वाइनाल्डमले जाली चुमाए । ६२औं मिनेटमा वाइनाल्डम ह्याट्रिकबाट चुक्यो । उनले प्रहारलाई स्टोल डिमिट्रिभेस्कीले बचाइदिए ।
    खेलको ७३ औं मिनेटमा इनिस बार्दीको पासमा डार्काे चुर्लिनोभले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काउने प्रयास गरे । तर भिएआरले आफसाइड घोषणा गरे ।
    यसै समूहको अर्को खेलमा अष्ट्रियाले युक्रेनलाई १–० ले पराजित गर्दै अीनतम १६ मा प्रवेश गरे । समूह सी को अन्तिम खेलमा अष्ट्रियालाई जित दिलाउन खेलको २१ औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गरे । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बाउमगार्टनरको कप्तान डेविड अलाबाको असिस्टमा गोल गरेका थिए । अलाबाले प्रहार गरेको कर्नरमा बाउमगार्टनरले डिफेन्डर जबर्नीको चुनौतीलाई पछि पार्दै गोल गर्न सफल रहेका थिए ।


    खेलको ८७ औं मिनेटमा यारेमचुकले खेल बराबर गर्ने अवसर पाएपनि उनको प्रहारले गोलरक्षकलाई कुनै कठिनाइ उत्पन्न गरेन । यारेमचुक नै इन्ज्युरी समयमा अफसाइड ठहर भएपछि युक्रेनको सम्भावना सकिएको थियो ।
    जितसँगै अष्ट्रिया अंक तालिकाको दोस्रो स्थानमा उक्लँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियाको ३ खेलमा ६ अंक तथा युक्रेनको ३ खेलमा ३ अंक छ । युक्रेन तेस्रो स्थानमा रहेपनि उत्कृष्ट ४ टोलीको माध्यमबाट अर्को चरणमा अघि बढ्ने झिनो सम्भावना भने बाँकी रहेको छ । अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ए को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

  • युरोकप – समूह विजेता बन्दै बेल्जियम र गोलअन्तरमा डेनमार्क अन्तिम १६ मा प्रवेश

    युरोकप – समूह विजेता बन्दै बेल्जियम र गोलअन्तरमा डेनमार्क अन्तिम १६ मा प्रवेश

    भक्तपुर, असार ८
    युरोकप २०२० मा बेल्जियम र नेदरल्यान्ड्स आ–आफ्नो समूहमा समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने डेनमार्क र अष्ट्रियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन ।
    रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमवार राती सम्पन्न खेलमा बेल्जियम फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गर्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमलाई समूह चरणमा शतप्रतिशत जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल आत्मघाती उपहार पाए ।
    पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा बेल्जियमले आत्मघाती गोलबाट अग्रता लिएको थियो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गरे ।
    अर्को खेलमा डेनमार्क रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।


    डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलले अग्रता लिए । उनले पिएरे इमिलको पासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए । रुसका डिफेन्डरले दिएको ब्याक पासमा उनले गोल गरे ।
    खेलको ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए भने ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।
    यस जितसँगै डेनमार्क भाग्यमानी सावित भए । अघिल्लो दुई खेलमा पराजय भोगेको डेनमार्क पहिलो जितसँगै गोल अन्तरमा फिनल्यान्डलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजय भोगेको थियो ।

  • मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    भक्तपुर, असार ७
    मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
    मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधि बहाल भएको पाँच वर्षमा पहिलो पटक विवाद रहित ढंगले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । विगतका वर्ष नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूहमा विभाजित हुँदा नगरसभा पनि विवादित हुने गर्दथ्यो । गतवर्ष नगरसभा बैठकै नबसी बहुमत नगरसभा सदस्यहरुको हस्ताक्षर संकलन गरी नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो भने दुई वर्ष अघिको नगरसभा बैठक उपप्रमुखलगायतका जनप्रतिनिधिले बहिष्कार गरेको थियो ।


    प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने जोखिम रहेको र तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने विभिन्न अध्ययन र विज्ञहरुको निष्कर्ष समेतलाई ध्यानमा राख्दै बालबालिकाहरूको लागि बिशेष वार्डको ब्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी कोभिड–१९ को पिसिआर परीक्षण वडाको सिफारिसमा नेपाल केरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क गर्ने, बोडेस्थित कृषि बिकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा अक्सिजन सहितको प्राथमिक उपचारको व्यवस्था गर्ने, नगरभित्रका गरिब असाहयहरुको कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्ने र कोभिड विरूद्धको खोप खरिद र अनुदान प्राप्तिको लागि पहलकदमी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


    त्यसैगरी वडास्तरिय बजेटबाटै लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने, मापदन्ड पुरा भएका विद्यालयहरूलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने, उपभोक्ताको काम कारबाही ब्यवस्थित पारदर्शी र नतिजामुलक बनाउन उपभोक्ता समिति गठन, संचालन र ब्यवस्थापन सम्बन्धी कार्यविधि बनाई यसै वर्षबाट लागु गरिने नीति लिएको नगरपालिकाका प्रवक्ता राम थापामगरले जानकारी दिनुभयो ।
    नगरपालिकाले सार्बजनिक जग्गाको संरक्षण गरी र उपभोग गर्न वडा स्तरबाटै कार्यक्रम कार्यान्वयनमा ल्याईने भएको छ । सैनिक ब्यारेक गठ्ठाघर देखि मनोहरा पुल सम्म ३ ओटा बस बिसौनीमा विश्रामस्थल निर्माण गर्ने भएको छ ।


    नगरभित्र फोहोरको वर्गिकरण गरी संकलन गर्ने कार्य वडास्तरबाटै गरिने नीति लिएको प्रवक्ता थापाले बताउनुभयो । स्थानीय स्वायत्त शासन ऐन–२०५५ बमोजिम स्थायी रूपमा कार्यरत कर्मचारीहरूको स्तर बृद्धि र समायोजन यसै बर्षदेखि शुरु गर्ने, वडास्तरबाट नै खेलकुद गतिबिधिको लागि बजेट विनियोजन गर्ने, राधे–राधे, गठ्ठाघर र सानोठिमी मा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने, ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पुर्बी भागमा संजिबनी पार्क निर्माण गर्ने, घर नक्सा पास प्रकियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन सेवा ईबिपिएस प्रणाली लागु गर्ने भएको छ ।
    काँलाडोल–बुढाथोकि गाउँ, हनुमन्ते, मनोहरा–निलबाराही लगायतका स्थानमा जग्गा एकिकरण आयोजना लागु गर्न उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने, करको दर बृद्धि नगरी करको दायरालाई फराकिलो पार्दै ब्यवसाय दर्ता अभियान चलाउने नीति नगरपालिकाले लिएको छ ।

  • नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

    नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

    भक्तपुर, असार ७
    नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको छ । राष्ट्रिय प्रयोगशालाले देशका विभिन्न भागबाट गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी ४८ वटा नमूना संकलन गरी भारतस्थित डब्लुएचओ मान्यताप्राप्त प्रयोगशालामा गरेको परीक्षणमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको जनाएको हो । संकलित नमुना जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो ।
    ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको जनाएको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको हो, जसलाई ए वाई .१ नाम पनि दिईएको छ ।
    हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ ।
    यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाईएको मन्त्रालयले जनाएको छ । केही समयअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यही म्युटेसन हुन सक्ने बताईएको छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन अपिल गरेको छ ।

  • धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ

    धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ

    भक्तपुर, असार ७
    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ ।
    चौलागाईंलाई काठमाण्डौं सुन्धारामा लुकीछिपि बसेको अवस्था पक्राउ गरिएको हो । चौलागाईंले पिडित बालिकालाई धुलिखेलबाट घुम्न जाउँ भनी ललाई फकाई गत असार ५ गते भक्तपुरको गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको पिडित बालिकाले दिएको बयानका आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
    घटना विवरण अनुसार सो बालिका गत असार ५ गते बिहान १० बजे हराएका थिए । बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौको प्रहरी टोलीले आइतवार बालिकालाई सुन्धारामा फेला पारेको थियो ।
    बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईले ललाई फकाई घुम्न जाउ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती करणी गरेको बयान दिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
    घटनाको बारेमा थप अनुसन्धान गर्दै पक्राउ परेका चौलागाईंलाई कानुनी कारवाहीको प्रक्रिया चलिरहेको प्रनाउ गिरीले बताउनुभयो ।

     

  • युरोकप – समूह ए बाट इटालीसँगै भाग्मानी सावित हुँदैं वेल्स अन्तिम १६ मा प्रवेश

    युरोकप – समूह ए बाट इटालीसँगै भाग्मानी सावित हुँदैं वेल्स अन्तिम १६ मा प्रवेश

    भक्तपुर, असार ७
    युरोकप अन्तर्गत समूह ए को अन्तिम चरणको खेलमा आइतबार राती इटालीसँग वेल्स १–० पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गरेपनि वेल्स अन्तिम १६ मा प्रवेश गरेको हो ।
    इटालीलाई समूह चरणमा शतप्रतिशत जित दिलाउन म्याटियो पेस्सिनाले खेलको ३९ औं मिनेटमा गोल गरे । पेस्सिनाले मार्को भेराट्टीको फ्रिकिकमा हल्का बलको दिशा परिवर्तन गर्दै गोलरक्षक ड्यानी वार्ड झुक्याएर गोल गरेका थिए ।


    खेलमा वेल्सले पनि केही काउन्टरमा गोल गर्ने अवसर बुनेको थियो । तर कप्तान ग्यारेथ बेलले केही अवसरमा फिनिसिङ निकाल्न नसक्दा वेल्स पराजित हुन बाध्य भए ।
    अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गरेपनि भाग्यमानी बन्न सकेन । पहिलो खेलमा वेल्ससँग १–१ को बराबरी खेलेको स्विट्जरल्यान्ड इटालीसँग ३–० ले पराजित भएको थियो भने टर्कीलाई ३–१ ले पराजित गरेको थियो । वेल्सले टर्कीलाई २–० ले पराजित गरेको थियो । समग्रमा टर्की र स्विट्जरल्यान्डले १ जित, १ बराबरी र १ पराजय भोगेको थियो । तर वेल्सले ३ गोल गर्दा २ गोल खाएको थियो भने स्विट्जरल्यान्डले ४ गोल गरेपनि ५ गोल खानपुग्दा १ गोल बढी खाएको कारण सिधै अन्तिम १६ मा प्रवेश गर्न पाएन । अव स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी छ ।


    टर्की विरुद्ध स्विट्जरल्यान्डलाई जित दिलाउन जेर्डान शाकिरीले २ र हरिस सेफेरोभिले एक गोल गरे । टर्कीका लागि इरफान च्यान काभेचीले एक गोल गर्दै गोल अन्तर घटाए ।
    खेलमा स्विट्जरल्यान्डले छैटौं मिनेटमा सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । उनले स्टिभन जुबरको पासमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । २६ औं मिनेटमा शाकिरीले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारे । जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । शकिरीले आफ्नो बायाँ खुट्टाले गरेको प्रहारलाई गोलरक्षक उगुर्कान साकिरले बचाउने कुनै अवसर नै पाएनन् ।


    दोस्रो हाफको ६२ औं मिनेटमा इरफान च्यान काभेचीले गोल अन्तर घटाउँदै टर्कीलाई खेलमा फर्काउने प्रयास गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
    ६८ औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई जिततर्फ डो¥याए । जुबरले झाकासँग पास साटफेर गर्दै बनाएको मुभमा गोल सम्भव भएको थियो । जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई जितनजिक पु¥याएका थिए ।

     

  • उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने – जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने, बार अनुसार पसल खोल्न पाईने

    उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने – जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने, बार अनुसार पसल खोल्न पाईने

    भक्तपुर, असार ६
    काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारी एक साता लम्ब्याउने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार कसेको संयुक्त बैठकले उपत्यकामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा र अन्य व्यवसाय तथा पसलहरु समेत खोल्न पाउनेगरी निषेधाज्ञा खुकुलो बनाई एक साता लम्ब्याउने निर्णय गरेको हो ।
    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब बार अनुसार सातामा तीन दिन सबै प्रकारका पसल खोल्न पाउने भएको छ । ‘एक साता निषेधाज्ञा थपिएको छ, जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन चल्न दिने निर्णय भएको छ, बारअनुसार सबै पसलहरु खुल्ने छन् ’ उहाँले भन्नुभयो । उहाँले यो निर्णय ८ गते मंगलबारबाट लागु हुने जानकारी दिनुभयो । जारी निषेधाज्ञाको समयावधी ७ गते राती १२ बजे सकिँदै छ ।
    नयाँ व्यवस्था अनुसार एक दिन बिराएर आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीको पसल खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार भने ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।
    खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।
    हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाईने छ । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने व्यवस्था गरिएको छ । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सिमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको प्रजिअ भट्टराईले बताउनुभयो ।

  • महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग

    महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग

    भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको जगतीस्थित रेडियो हिमालयनमा कार्यरत महिला पत्रकारलाई गत असार ४ गते बिहान कार्यस्थलमा जाँदैं गर्दा अरनिको राजमार्ग आदर्श चोक नजिक बाटो छेकेर दुर्व्यवहार गरेको घटनामा दोषीलाई कारवाहीको माग गरेको हो ।
    ‘यहीँ असार ४ गते सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको रेडियो हिमालयनको बिहान ६ बजेको समाचार वाचनका लागि कार्यस्थलतपर्फ जाँदै गर्दा उहाँमाथि दुर्व्यवहार भएको घटनाले जिल्लामा महिला हिंसाको डरलाग्दो अवस्था समेत उजागर गरेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
    सूर्यविनायकदेखि जगातीसम्म जानेक्रममा अरनिको राजमार्गकै आदर्श चोक नजिक विपरीत दिशाबाट आउँदै गरेको अल्फाबेट नखुलेको ९५७३ नम्बरको मोटरसाइकलमा आएका पुरुषले बाटो छेकी अश्लील शब्द प्रयोग गर्दै दुब्र्यबहार गरेको घटना सभ्य समाजका लागि चिन्ताको विषय बनेको भन्दै महासंघले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराएपनि हालसम्म दोषिलाई पक्राउ गरी कार्वाहीको दायरामा नल्याएको प्रति आपत्ती प्रकट गरेको छ ।
    ‘उक्त घटनाले नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने हक र मानवअधिकारको समेत गम्भिर उलंघन भएको ठहर महासंघको रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकाबिहानै राजमार्गमै महिलाले आफू असुरक्षित महशुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सम्वन्धीत सवै पक्षसँग महासंघ आग्रह गर्दछ ।

  • नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र

    नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र

    भक्तपुर, असार ६
    नेपाल पत्रकार महासंघ भक्तपुरले आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै महासंघले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष जगतकृष्ण प्रजापतिले बताउनुभयो ।
    ज्ञापनपत्रमा ‘निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमति प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको हाम्रो ठहर छ, विज्ञप्तीमा उल्लेख छ ।
    प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आमसञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड रुपैंयाँ विनियोजन गर्नु प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको महासंघ भक्तपुर शाखाले आरोप लगाएको छ ।
    ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमति प्रदेश सरकार आफैले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे छ, ज्ञापनपत्रमा उल्लेख छ ।
    देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै महासंघ भक्तपुर शाखाले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदैं सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरेको छ ।
    ज्ञापनपत्र बुझाउन शाखा अध्यक्ष प्रजापतिको नेतृत्वमा शाखाका संस्थापक सभापति रमेश खड्का, पुर्वअध्यक्षहरु विकल प्रसाद श्रेष्ठ, महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् शाखाका पुर्वअध्यक्ष अमर भुजु, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, शाखा उपाध्यक्ष सुन्दर शिल्पकार, शाखा सचिव संजीप घिमिरे, सदस्य विकास थापालगायतको उपस्थिती थियो ।
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महासंघको प्रेस ताथ अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारमाध्यमहरु प्रतिको निष्ठाको उच्च सम्मान गर्दै ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो

    युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो

    भक्तपुर, असार ६
    युरोपेली च्याम्पियनसिप युरोकपमा जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ भने स्पेन पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।
    समूह डी को खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो । खेलमा पोर्चुगलले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । जर्मनीको जितमा हाभर्ट्ज, रोबिन गोसेन्सले गोल गरे भने दुई गोल आत्मघाती उपहार पाए । उता पोर्चुगलबाट भने कप्तान क्रिस्टियानो रोनाल्डो र जोटाले गोल गरेका थिए ।
    खेलको १४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए ।
    तर खेलको ३५ औं मिनेटमा जर्मनीले बराबरी गोल गरे । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासले क्लिअर गर्नेक्रममा बल गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले अर्को आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोले बल क्लिअरेन्स गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
    हाभर्ट्जले खेलको ५१ औं मिनेटमा जर्मनीलाई ३–१ ले अघि बढाए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए । ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४–१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरे ।
    खेलको ६६ औं मिनेटमा जोटाले गोल गर्दै गोल अन्तर कम गरे । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
    जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।
    यसैगरी समूह ई को शनिवार राती सम्पन्न खेलमा स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १–१ को बराबरीमा रोकिएको हो ।


    स्पेनले अल्भारो मोराटाको गोलले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा नै गोल गरेका थिए । रेफ्रीले सुरुवातमा असिस्टेन्ट रेफ्रीको झन्डा उठेपछि अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएका थिए ।
    पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले अग्रता दोब्बर पार्ने अवसर चुकाए । जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसमा मोरेनोको प्रहारले पोस्टको बाहिरी नेटमा लागेको थियो ।
    खेलको ५४ औं मिनेटमा नै पोल्यान्डले रोबर्ट लेवान्डोस्कीको हेडर गोल मार्फत खेल बराबरीमा ल्याए । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गरेका थिए । स्पेनका खेलाडीले लेवान्डोस्कीले हेडर प्रहार गर्नुअघि डिफेन्डर एमेरिक लापोर्टलाई फल गरेको भन्दै विरोध जनाएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

    खेल बराबर भएको ४ मिनेटपछि नै स्पेनले अग्रता लिने अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र याकुब मोल्डरले मोरेनोलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै स्पेनलाई पेनाल्टी दिएका थिए । मोरेनो आफैंले गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डमा मोराटाको प्रहारले पुनः बाहिरियो ।


    बराबरीसँगै स्पेनको २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेनको ४ अंक छ भने स्लोभाकियाको ३ अंक रहेको छ । समूहको अन्तिम खेलमा स्पेनले स्लोभाकियाको र स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।