Blog

  • भक्तपुर चेम्बर र लायन्सको साताव्यापी रक्तदानमा ३ सयले गरे रक्तदान

    भक्तपुर चेम्बर र लायन्सको साताव्यापी रक्तदानमा ३ सयले गरे रक्तदान

    भक्तपुर, असार १२
    भक्तपुर चेम्बर अफ कमर्स र लायन्स सेवा समिति भक्तपुरले संयुक्तरुपमा आयोजना गरेको साताव्यापी रक्तदान अभियानमा ३ सय जनाले रक्तदान गरेको छ । कोभिड १९ बाट संक्रमितलाई बचाउन र संक्रमण नियन्त्रणका लागि सेवाही परमो धर्म अभियान अन्तगर्त चेम्बर र लायन्सले एक सातामा भक्तपुरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरेको थियो ।
    चेम्बरका अध्यक्ष न्हुँछेरत्न मानन्धरका अनुसार भक्तपुरको भत्केपाटीमा आयोजना गरेको रक्तदानमा ३९ जनाले रक्तदान गरेका थिए भने मध्यपुर थिमिको बालकुमारीमा ४८, सूर्यविनायकमा ३१, मध्यपुर थिमिको राधेराधेमा ३१, सल्लाघारीमा ३१ ले रक्तदान गरेका थिए । यसैगरी बोडे नर्थप्वाइन्ट मलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५८, भक्तपुरको च्याम्हसिंहमा ५१ जनाले रक्तदान गरेका थिए ।


    कोरोना भाइरसको दोस्रो लहरस“गै मुलुकभित्र देखिएको रगतको अभावलाई कम गर्न र रगतको अभावले कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले साताव्यापी रक्तदान अभियान थालेको अध्यक्ष मानन्धरले बताउनुभयो ।
    रक्तदान कार्यक्रमलाई सेवाही परमो धर्म अभियानका सहकर्मी संस्थाहरु प्याब्सन, क्याटरिगं तथा पार्टी प्यालेस संघ, विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर हार्ट एण्ड डाईविटिज् सेन्टर, त्रिनेत्र वचत तथा ऋण सहकारी संस्था, भक्तपुर जिल्लामा कार्यरत चिकित्सक एवं स्वास्थकर्मी, निरोग संघलगायतका सामाजिक संघसंस्थाहरुले सहयोग र समन्वय गरेको प्याव्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
    रक्तदान कार्यक्रमलाई आवश्यक प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी भक्तपुरले गरेको थियो ।
    यसैगरी मध्यपुर थिमि–४ शंखधरमार्ग (बायरिला“) टोलसुधार समितिले आयोजना गरेको कार्यक्रममा ३९ जनाले रक्तदान गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ र नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा १३ महिला र २६ पुरुष सहित ३९ जनाले रक्तदान गरेको बायरिला“ टोलसुधार समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
    सो अवसरमा रक्तदाता र जेष्ठ नागरिकहरुलाई एक÷एक बट्टा सर्जिकल मास्क र ५÷५ वटा साबुन वितरण गरिएको रक्तदान कार्यक्रम संयोजक ज्ञानी माया श्रेष्ठले जानकारी दिनुभयो ।
    त्यसैगरी मध्यपुर थिमि–६ स्थित भुला“खेल वचत ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखाले संयुक्तरुपमा आयोजना गरेहाके रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको छ ।
    संस्थाको सामाजिक दायित्व अन्तर्गत कोरोना महामारीको बेला देखिएको रगतको अभावलाई परिपुर्ती गर्न रक्तदान आयोजना गरेको संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।

  • ग्यास लिकभई आगलागी, पिडितलाई कांग्रेसले गरे तत्काल सहयोग

    ग्यास लिकभई आगलागी, पिडितलाई कांग्रेसले गरे तत्काल सहयोग

    भक्तपुर, असार १२
    चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको छ ।
    यसैबीच घटना लगत्तै बागमति प्रदेश नेपाली कांग्रेस संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, सचिव जनक खत्रीसहितको टोली घटनास्थल पुगेर पिडितलाई सहयोग गरेको छ । पिडित परिवारलाई कांग्रेसको टोलीले नगद ५ हजारसहित लत्ताकपडा, खाद्यान्न, ग्यास, ग्यासचूलो लगायतका सामग्री सहयोग गरेको क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिनुभयो । साथै नेपाल रेडक्रस सोसाईटी चाँगुनारायण उपशाखाले पिडित परिवारलाई भाँडावर्तन सहयोग गरेको सचिव दिवाकर पौडेलले जानकारी दिनुभयो ।


    नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको निर्देशनमा पिडित मिजार परिवारलाई सहयोग गरेको क्षेत्रीय सभापति खत्रीले बताउनुभयो । सभापति थापाको विशेष पहलमा नेपाली कांग्रेस भक्तपुरले विपतमा परेका नागरिकलाई तत्काल सहयोग गर्न कोष स्थापना गरेको छ । सो कोषमार्फत विपतमा परेका भक्तपुरका नागरिकलाई सहयोग गर्ने नीति कांग्रेसले लिएको खत्रीले बताउनुभयो ।
    कांग्रेसको यो अभियान सहयोग गर्न नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति खत्री र क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीले पार्टी शुभचिन्तक, नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभएको छ । एकलाई विपद आइपर्दा अर्कोले सहयोग गर्ने नेपाली कांग्रेसको परम्परा र नीति रहेको भन्दै जिल्ला सभापति दुर्लभ थापाले वर्षातको बेला आइपर्न सक्ने विपतिप्रति सचेत रहन विपतमा परेकालाई सहयोगका अग्रसर हुन जिल्ला सभापति थापाले आग्रह गर्नुभएको छ ।
    कांग्रेसले हालै सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले क्षति गरेका पिडितहरुलाई खाद्यान्न लगायत नगद ३ लाख ५१ हजार सहयोग गरेको थियो ।

  • युरोकप २०२० – नकआउट चरणमा डेनमार्क र वेल्स तथा इटाली र अष्ट्रिया भिड्दै

    युरोकप २०२० – नकआउट चरणमा डेनमार्क र वेल्स तथा इटाली र अष्ट्रिया भिड्दै

    भक्तपुर, असार १२
    युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप २०२० फुटबलको प्रिक्वाटरफाइनल अर्थात नकआउट चरणका खेलहरु आज (शनिबार)बाट सुरु हुँदैछ ।
    नकआउट चरणको पहिलो खेलमा शनिवार डेनमार्क र वेल्सबीच हुँदैंछ । आम्र्सटरडमको जोहान क्रुफ एरिनामा हुने यो खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ । डेनमार्क समूह बी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने वेल्स समूह ए को उपविजेता रुपमा प्रिक्वाटरफाइनल प्रवेश गरेको हो ।
    समूह चरणमा डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको डेनमार्क अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित ३ अंकका साथ समूह उपविजेता बनेको थियो ।
    त्यस्तै वेल्सले समूह ‘ए’ मा ३ खेलमा ४ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा इटालीसँग १–० ले पराजित भएको थियो ।
    डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।


    त्यस्तै शनिवार हुने दोस्रो खेलमा इटालीले अष्ट्रियाको सामना गर्दैछ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा हुने सो खेल राती १२ः४५ बजे सुरु हुनेछ । इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले समूह चरणमा टर्कीलाई ३–०, स्विट्जरल्यान्डलाई ३–० र ३ वेल्सलाई १–० ले पराजित गर्दै ३ खेलमा ९ अंक जोडेको थियो ।
    त्यस्तै अष्ट्रिया समूह चरण ३ खेलबाट ६ अंक बटुल्दै समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ र तेस्रो खेलमा युक्रेनलाई १–० पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएकोमा १० मा इटाली विजयी भएको छ भने ३ खेल बराबरीमा टुंगिएको छ ।

  • सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

    सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

    भक्तपुर, असार ११
    आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९ का सो बजेट सार्वजनिक गरेको हो ।
    उपप्रमुख बस्नेतले कुल बजेटको पूँजीगत कार्यक्रमतर्फ ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै चालुखर्चतर्फ ५१ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
    चालुतर्फ शाखागत कार्यक्रमका लागि १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षामा १४ करोड, वडागत चालू कार्यक्रमका लागि २ करोड १५ लाख र नगरपालिका चालु खर्च १६ करोड २० लाख ८२ हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ ।


    बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये नगरपालिकाको आन्तरिक राजस्व परिचालनबाट .१८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट २२ करोड ५६ लाख ८२ हजार, संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
    त्यस्तै संघ तथा प्रदेशको राजस्व बाँडफाँड १३ करोड ४ लाख ४८ हजार, सशर्त अनुदानबाट ३२ करोड ४१ लाख ९५ हजार, जिसस समपूरक कोषबाट २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड, प्रदेश समपुरक योजनाबाट तीन करोड र सडक बोर्ड तथा सशर्तका विविध कार्यक्रमबाट तीन÷तीन करोड प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बस्नेतले बताउनुभयो । नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाको लागि ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणको लागि ६ करोड विनियोजन गरेको छ ।

    वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाको लागि २ करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख, क्रमागत योजनाहरु सम्पन्न गर्न रु ९ करोड ८० लाख, अस्पताल पूर्वाधार निर्माण गर्न एक करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी संघ प्रदेश र अन्य विकास साझेदारहरुसँग साझेदारी गर्न समपुरक कोषमा ८ करोड विनियोजन गरेको छ । पूर्वाधार विकासको आयोजनाहरुमा नगद लागत साझेदारीमा अन्तर्गत ६०–४० को आयोजनाका लागि ६ करोड बजेट विनियोजन गरेको छ । नगरवासीले स्वास्थ्य विमा गर्दा प्रति परिवार एक हजार रुपैंया अनुदान दिने व्यवस्था गरेको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।


    बजेटमा कोभिड १९ ले पारेको प्रभाव र यसले आर्थिक क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्ष राजश्व र करका दरमा कुनै परिवर्तन नगरी चालु वर्षकै दरलाई यथावत कायम गरिएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो । चालु वर्षको असार मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजश्व आगामी आर्थिक वर्षको पुस मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ ।
    कर छली र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता दिईने भएको छ । हाम्रो कर हाम्रै विकासको भर अभियान सञ्चालन गरी प्रचलित कानून अनुसार निर्धारण भएको बहाल कर र व्यवसाय दर्ता तथा व्यवसाय कर संकलनका लागि व्यवसाय दर्ता तथा नविकरणको लागि घुम्ति शिविर, बहाल आय स्वघोषणा अभियान र कर सप्ताह सम्बन्धी अभियानमूलक कार्यक्रम सञ्चालन गरी सबै प्रकारका व्यवसायलाई नगरपालिकाको दायराभित्र ल्याईने बजेटमा उल्लेख छ ।
    बजेट कार्यान्वयनलाई तिव्रता दिन आवश्यक पर्ने नीति, नियम, कार्यविधि निर्देशिका, मापदण्ड र शाखागत कार्यक्रम कार्यान्वयन कार्ययोजनाको मस्यौदा सम्बन्धीत शाखाले आर्थिक वर्ष शुरु भएको पहिलो महिनाभित्र तयार गरी त्यसलाई कार्यपालिकाबाट स्विकृत गरी गराई कार्यान्वयनमा लैजाने व्यवस्था मिलाईएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

     

  • चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

    चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

    भक्तपुर, असार ११
    चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट सार्वजनिक गर्नुभएको हो ।
    बजेटमा पूँजीगतमा खर्चतर्फ एक अर्ब २४ करोड २ लाख ७४ हजार रूपैयाँ अर्थात ६५ दशमलव ५ प्रतिशत र चालु खर्चतर्फ ६६ करोड ६२ लाख ९ हजार रूपैयाँ अर्थात ३४ दशमलब शून्य ५ प्रतिशत रकम विनियोजन गरिएको छ ।
    उपप्रमुख बास्तोलाले आन्तरिक आयतर्फ २८ करोड ८४ लाख ५ हजार रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण, सिफारिश, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट सो रकम संकलन हुने अनुमान गर्नुभएको हो ।
    यस्तै बजेटमा वित्तीय समानीकरण अनुदान तर्फ संघीय सरकारबाट १७ करोड ४५ लाख र सशर्तबाट तेतिस करोड तीन लाख प्राप्त हुने जनाएको छ । राजश्व बाँडफाडबाट ८ करोड ९३ लाख ५३ हजार हजार र सबारी साधनको राजश्व बाँडफाडबाट छ करोड २ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ । जग्गा रजिष्ट्रेसनबाट ३२ करोड प्राप्त हुने वजेट बक्तव्यमा उल्लेख छ ।
    बागमती प्रदेश सरकारबाट एक करोड ५२ लाख १७ हजार, सशर्तमा दुई करोड ४१ लाख ५५ हजार, समपुरकमा २ करोड १९ लाख ८७ हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।


    पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा नगरपालिकालाई चार करोड ५५ लाख र जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ६ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
    विशेष र समपुरक अनुदान तर्फ संघीय सरकारबाट दुई करोड ४५ लाख प्राप्त भएको र समपुरक योजनामा एक करोड ३९ लाख प्राप्त हुने बताईएको छ । त्यस्तै गत वर्षको बैंक मौज्दातबाट प्राप्त हुने रकम समेत बजेटमा आयतर्फ समावेश गरिएको छ ।
    नगरपालिकाले आगामी वर्ष सम्पन्न गर्नेगरी चाँगुनारायण नगरपालिकाको भवन निर्माण लागि रु १२ करोड, सडक तथा पुल निर्माणलाई ५५ करोड ३६ लाख ६५ हजार ७६ रुपैयाँको विनियोजन गरेको छ ।
    नगरका बेरोजगार युवालाई रोजगार बनाउन मेयर उद्यमशिलता विकास कार्यक्रमलाई ३ करोड, नगरभित्रका मुख्यमुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्दै उज्यालो चाँगुनारायण कार्यक्रमलाई ६५ लाख, सडक निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधार सहित ८० करोड ८४ लाख ५६ हजार २९४ रुपैयाको बजेट विनियोजन गरेको छ ।
    उप–प्रमुख महिला लक्षित कार्यक्रममा १५ प्रकारका तालिम सञ्चालन गर्न ५० लाख, लैङ्गिक समानता तथा नेतृत्व विकास, आदिवासी जनजाति लक्षित दलित लक्षित अपाङ्ग लक्षित विभिन्न किसिमका सीप विकास सहितका बजेट सहितको कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित मिलन चौतारी निर्माण तथा अवलोकन भ्रमणका ४१ लाख, बजेट विनियोजन गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिनुभयो ।
    एक घर, एक धारा खानेपानीका लागि १३ करोड ९३ लाख ८१ हजार ८४६, सामुदायिक विद्यालयमा छात्रा शिक्षा, बालविवाह निरुत्साहन र बचत खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रमलाई ५५ लाख र प्राविधिक शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धिसमेत शिक्षामा ३ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
    नगरपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत तथा घोषणा कार्यान्वयनका लागि रु ९८ लाख ३० हजार, नपाको प्रत्येक घरको मेट्रिक सिस्टम हाउस नम्बरिङ तथा समुदायमा सुचना प्रबिधि र १० स्थानमा फ्री वाईफाईको व्यवस्था गरिएको छ ।
    नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकलाई शत प्रतिशत भत्ता बृद्धि गरिएको, सार्वजनिक सहकारी साझेदारीमा उद्यम विकासका लागि ६० लाख, ‘हाम्रो चाँगुनारायण, सफा चाँगुनारायण प्रबद्र्धन’ बनाउनकालागि वन तथा वातावरणमा एक करोड १६ लाख, सामुदायिक वनलाई आय आर्जनमा जोड्न २० लाख, पुर्ण सरसफाई उन्मुख नगरपालिका कार्यक्रमलाई ९० लाख बजेट विनियोजन गरेको उपप्रमुख बास्तोलाले बताउनुभयो ।
    कृषिमा आधारित रोजगार बृद्धिका लागि एक करोड ४४ लाख ८४ हजार, ४ वटा वडामा कोल्ड चेम्बर्स निर्माण गर्न ६० लाख, पशुको नश्ल सुधारमा ९६ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
    कोभिड–१९ बाट बच्नका निःशुल्क पिसिआर परीक्षण, संक्रमितलाई सहयोग, क्वारेन्टिनको व्यवस्थापन गर्न कोभिड नियन्त्रण कोषलाई ५० लाख, प्राकृतिक विपत्ती, विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा एक करोड ८५ लाखको बजेट विनियोन गरिएको छ । नगरवासीको गुणस्तरीय एवं पर्याप्त औषधि सहितको न्यूनतम् स्वास्थ्य सेवा उपलब्ध गराउन, विपन्न परिवारलाई नगरपालिकाको साझेदारीमा स्वास्थ्य बिमाको लागि एक करोड बजेट विनियोजन गरिएको छ ।
    कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप नगरपालिका अन्तगर्त रहेका सबै कर्मचारीहरुको संघीय सरकार तथा वागमती प्रदेशले घोषणा गरेको भन्दा मासिक तलबमा २ हजारले बृद्धि गरिने, मूल्याङ्नको आधारमा थप प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । संघीय सरकार, वागमती प्रदेश तथा जिल्ला समन्वय समिति तथा अन्य साझेदारबाट सञ्चालन हुने योजनाका लागि समपुरक कोषमा ७ करोड विनियोजन गरेको छ ।
    उपप्रमुख बास्तोलाले चाँगुनारायणको विकास प्रक्रियामा नेपाल सरकार, बागमती प्रदेश, निजी क्षेत्र, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरुले निरन्तररुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

  • जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक

    जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक

    भक्तपुर, असार ११
    भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । भक्तपुर नगरपालिका–९, कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बिहीबार आफ्नो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका–७, सुडालस्थित ठूली ब्रम्हायणी आधारभूत विद्यालय सुडालका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी मनाउनुभएको हो ।
    कोजूले विद्यालयका नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत ४५ जना विद्यार्थीलाई एक÷एक सेट पाठ्यपुस्तक प्रदान गर्नुभएको हो । विपन्न वर्गका बालबालिकाको पढन पाउने अधिकारबाट वञ्चित नहोस् भनेर जन्मदिनको अवसर पारेर पुस्तक प्रदान गरेको कोजूले बताउनुभयो ।
    सो अवसरमा रोम्वस नेशनल स्कुलका निर्देशक सरिता कोजूले स्कुलले कमाएको केही रकम सामाजिक उतरदायित्वमा खर्च गर्ने क्रममा स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी सहयोग गरेको बताउनुभयो । उहाँले करिव ५३ हजार बराबरको रकमबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गरेको जानकारी दिनुभयो ।
    ठूली ब्रम्हायणी आधारभूत विद्यालयका प्रिन्सिपल हरि राउतले प्राप्त पाठ्यपुस्तकले विपन्न वर्गका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयमा निम्न वर्गिय र विपन्न वर्गका विद्यार्थी बढी अध्ययनरत रहेको बताउनुभयो ।
    कार्यक्रममा पुस्तकका दाता डा. कोजूले आगामी दिनमा स्कुलसँंग शैक्षिक सहकार्य गरी सहयोग गर्दै जाने प्रतिवद्धता जनाउँदैं त्यसका लागि स्कुलका शिक्षकको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने बताउनुभयो ।
    दाता डा. कोजूले यसअघि अघिल्लो वर्ष पनि कृष्ण प्राविलाई यसरी नै पुुस्तक सहयोग गर्नुभएको थियो । पव्लिक प्राइभेट पार्टनरशिपको अवधारणा अनुसार आफ्नो निजी स्कुलले सरकारी स्कुललाई सहयोग गर्दै आएको र आगामी पनि दिनमा पनि त्यसलाई निरन्तरता दिने योजना रहेको डा. कोजूले बताउनुभयो ।

  • नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)

    नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)

    जगत प्रजापति, भक्तपुर असार १०
    नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति प्रदेशका संसदिय दलका उपनेता एवम् प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्रीय सभापतिद्धय जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सचिव निशान ढुंगेल, जिल्ला सदस्य सुशिल बस्नेत, भक्तपुरका वरिष्ठ नेता राजाराम खड्का, क्षेत्र नं. १ का क्षेत्रीय सचिव जनक खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितको टोली हेलम्बु गाउँपालिका ३ तारामाराङ पुगेर राहत वितरण गरेको हो ।


    राहत सामग्री उपसभापति नेपालले हेलम्बु गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी सुनारलाई हस्तान्तरण गरेपछि स्थानीय नेपाली कांग्रेसका नेता एवम् समाजसेवी नारायण गिरीको व्यवस्थापनमा स्थानीय बाढी पिडितलाई वितरण गर्नुभएको थियो ।
    गिरीले स्थानीय ६१ परिवारलाई राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो । भक्तपुरबाट कांग्रेसको टोली ९० बोरा चामल, चिउरा, तेल, दाल, सोयाविनलगायतका खाद्यान्न लिएर हेलम्बु पुगेको थियो । टोलीलाई जिल्ला सभापति दुर्लभ थापाले राहत व्यवस्थितरुपमा स्थानीय वास्तविक पिडितको हातमा पर्नेगरी वितरण गर्न निर्देशन दिनुभएको थियो ।


    राहत वितरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतले स्थानीयस्तरमा सहजीकरण गर्नुभएको थियो ।
    सो अवसरमा जिल्ला सचिव निशान ढुंगेलले गत असार १ गते मेलम्ची नदिमा आएको बाढीले हेलम्बु र मेलम्चीमा पु¥याएको क्षति अकल्पनीय र भयावह भएको पाएको बताउँदैं क्षतिमा दुःख व्यक्त गर्नुभयो । उहाँले नेता बस्नेतमार्फत ३ लाख ५१ हजार रुपैंया गाउँपालिकालाई सहयोग गरेको जानकारी दिँदैं आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    कार्यपालिका सदस्य लक्ष्मी सुनारले कांग्रेसको सहयोगले बाढी पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने कार्य भएको बताउँदैं सहयोगको लागि धन्यवाद दिनुभयो । उहाँले बाढीले गाउँपालिकामा अर्बौ रुपैंयाको क्षति गरेको र अबको सहयोग पुनर्निर्माण र पुनर्बासका लागि आवश्यक भएको बताउनुभयो ।

     

     

  • भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट सार्वजनिक

    भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट सार्वजनिक

    लक्ष्मी गारु, भक्तपुर, असार १०

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेको हो ।
    विनियोजित बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ जुन ५७ दशमलव ०५ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंया अर्थात ४२ दशमलव ९४ प्रतिशत विनियोजन गरेको उपप्रमुख जोशीले जानकारी दिनुभयो ।
    बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
    त्यस्तै बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ । संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजश्व बाँडफाट र अन्यबाट १९ करोड २२ लाख आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाबाट संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया बैंक ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
    आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकमलगायतबाट कूल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।
    बजेट वक्तव्यमा कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको प्रतिकूल अवस्थाका कारण नगरपालिकाले प्रक्षेपण गरे अनुरुप कर अनुमान गरेकोभन्दा कम मात्र उठेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययिता अपनाई आगामी आर्थिक वर्षको बजेट निर्माण गरेको उल्लेख छ । साथै कोभिड महामारीको कारण स्थानीय पर्यटन ब्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.ब. २०७८÷०७९ को शुरु ४ महिनाको व्यवसाय कर छुट दिने व्यवस्था गरेको छ ।


    वक्तव्यमा ख्वपः अस्पतालको भवन आगामी आर्थिक वर्षमा निर्माणको काम पूरा गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ । साथै ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन गर्न ३ करोड विनियोजन गरेको छ ।
    वडास्तरका योजनाहरू संचालन गर्न विगत वर्षझैं आ.व. २०७८÷७९ मा पनि प्रति वडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैया र सडक बोर्ड अन्तर्गतका योजनाहरू सञ्चालन गर्न रु. १ करोड विनियोजन गरेको छ ।
    बजेट वक्तव्यमा भक्तपुरको ऐतिहासिक न्हु पुखु (रानी पोखरी) र जलेश्वर मन्दिरसहितको भाज्या पुखु पुनः निर्माण कार्यको लागि २ करोड रुपैयाँ, सिद्ध पोखरीको उत्तरतिरको गुह्येश्वरी पाटी पुनः निर्माणका लागि ३० लाख, भनपा वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन संचालनको लागि ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि ६५ लाख, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि २ करोड ६३ लाख रुपैया र भनपा वडा नं. ८ स्थित लिवाली कभर्ड हल निर्माण कार्यका लागि ३५ लाख रुपैया विनियोजन गरेको छ ।


    यस्तै निर्माणाधीन बाराही पुल सम्पन्न गर्ने गरी २ करोड ९४ लाख रुपैयाँ, नगरको फोहर मैला व्यवस्थापन कार्यका लागि ३ करोड ३२ लाख, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि १ करोड ७० लाख, सुधारिएको शव दाह गृह निर्माणको लागि २५ लाख, खोला सुधार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ४० लाख, ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि १० लाख, नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि १० लाख, भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माण गर्न तथा भनपा ५ मा तरकारी बजार निर्माण गर्न २ करोड ६४ लाख रुपैया विनियोजन गरेको छ ।
    क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति १० हजारका दरले सहयोग गर्दै आएकोमा आ.व. २०७८÷७९ मा पाँच किसिमको दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखी १५ हजार रुपैंया दिने भएको छ ।
    भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि रु. २ करोड विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । यसको लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ ।
    विनियोजित बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत, कृषि क्षेत्रमा १.५२ प्रतिशत र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ ।
    नगरभित्रका सामुदायिक विद्यालयहरूमा वालविकास सहजकर्ता (इसीडी शिक्षक)हरूको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रति महिना ४ हजारका दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजावापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त¬लाई यथावत राखेको छ ।
    नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७८’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७८’ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले छलफलको लागि स्वीकृत गरेको छ । नगरसभाको अर्को बैठक असार १३ गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

  • युरोकप २०२० – प्रिक्वाटर फाइनलमा को को भिड्दैछन ?

    युरोकप २०२० – प्रिक्वाटर फाइनलमा को को भिड्दैछन ?

    भक्तपुर, असार १०
    युरोकप २०२० मा बुधवार रातीको समूह चरणका खेलहरु सकिएसँगै प्रिक्वाटर फाइनलमा अर्थात नकआउट पुग्ने टोलीहरुको छिनोफानो भएको छ ।
    युरोको नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
    यसपटक युरोकपको नकआउट चरणमा पुग्ने टोलीहरुमा समूह ए बाट समूह विजेताको रुपमा इटाली, उपविजेता वेल्ससँगै उत्कृष्ट तेस्रो टोलीको रुपमा स्विटजरल्यान्ड पुगेका छन । समूह बी बाट बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ भने समान ३ अंक भएपनि डेनमार्क रसिया र फिन्ल्यान्डलाई पछि पार्दै नकआउटमा प्रवेश गरे ।
    समूह सी बाट तीन टोली अन्तिम १६ मा प्रवेश गरे । यस समूहमा शतप्रतिशत जितका साथ नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउटमा प्रवेश गरे । नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको अष्ट्रिया समूह उपविजेता भन्दै नकआउटमा प्रवेश गर्दा युक्रेन पनि भाग्यमानी सावित भए । उ पनि उत्कृष्ट तेस्रो टोलीको रुपमा प्रिक्वाटर फाइनल प्रवेश गरे ।
    समूह डी बाट पनि तीन टोली नकआउटमा प्रवेश गरे । यस समूहबाट इंग्ल्यान्ड समूह विजेता, क्रोएसिया उपविजेता र चेक रिपब्लिक उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट प्रवेश गरेका हुन ।

    समूह ई स्वीडेन समूह विजेता बन्यो । उसँगै स्पेन उपविजेता बन्दै नकआउटमा स्थान बनाए । त्यस्तै समूह एफबाट विश्व विजेता फ्रान्स समूह विजेता बन्दै नकआउटमा प्रवेश गरे भने युरोकपको साविक विजेता पोर्चुगल अन्तिम खेलमा फ्रान्ससँग बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरे । यस समूहबाट जर्मनी उपविजेताहुँदै नकआउटमा पुगे ।


    प्रिक्वाटर फाइनल अन्तर्गत नकआउट चरणका खेल २६ जुनबाट हुनेछन् । नकआउट चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् । खेल आम्स्टरडममा नेपाली समयअनुसार राती ९ः४५ बजे हुनेछ । त्यस्तै राती १२ः४५ बजे इटालीले लन्डनमा अष्ट्रियाको सामना गर्नेछ ।
    जुन २७ आइतवार राती ९ः४५ बजे बुडापेस्टमा हुने खेलमा नेदरल्यान्ड्सले चेक रिपब्लिकसँग भिड्ने छन । सोही दिन राती १२ः४५ बजे सेभियामा बेल्जियमले पोर्चुगलको सामना गर्नेछ ।
    क्रोएसियाले स्पेनलाई प्रतिद्धन्द्धी पाएको छ । यी दुईबीचको खेल जुन २८ सोमवार राती ९ः४५ बजे कोपेनहेगनमा हुनेछ । त्यसैगरी सोही दिन राती १२ः४५ बजे बुकारेस्टमा फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिष्पर्धा हुने छ ।
    प्रिक्वाटर फाइनलमा इंग्ल्यान्डले जर्मनीको सामना गर्नेछ । खेल जुन २९ मंगलवार राती ९ः४५ बजे लन्डनमा हुनेछ । त्यस्तै प्रिक्वाटर फाइनलको अन्तिम खेल स्वीडेन र युक्रेनबीच जुन २९ मा राती १२ः४५ बजे ग्लास्गोमा हुनेछ । क्वाटर फाइनलका खेलहरु जुलाई २ तारिखदेखी शुरु हुनेछ ।

  • युरोकप २०२०– शानदार जितसँगै स्पेन र स्वीडेन अन्तिम १६ मा

    युरोकप २०२०– शानदार जितसँगै स्पेन र स्वीडेन अन्तिम १६ मा

    भक्तपुर, असार १०
    युरोकप २०२० अन्तर्गत समूह ई को अीनतम खेलमा स्पेन स्लोभाकियालाई ५–० हो फराकिलो जित निकाल्दै प्रिक्वाटर फाइनल अर्थात अन्तिम १६ मा प्रवेश गरेको छ । यसै समूहको अर्को खेलमा स्वीडेन पोल्यान्डलाई ३–२ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।


    नकआउटमा प्रवेश गर्न जित्नै पर्ने दवाबमा रहेको स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट अग्रता लिए । खेलको ३० औं मिनेटमा डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए ।
    यसअघि खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुकेको थियो । मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए ।
    पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २–० ले अघि बढाएका थिए । स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लिअरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए ।

    दोस्रो हाफमा थप आक्रामक देखिएको स्पेनले ५६ औं मिनेटमा तेस्रो गोल गरे । पाब्लो सराबियाले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसिङमा गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गोल गरेका थिए ।
    फेरान टोरेसले खेलको ६७ औं मिनेटमा गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका टोरेसले कर्नरबाट बनेको कोके, सराबिया र पेड्रीले बनाएको आकर्षक मुभमा गोल गरेका थिए ।
    खेलको ७१ औं मिनेटमा स्पेनले फेरी आत्मघाती गोल उपहार पाए । जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेन ५–० ले अघि बढ्यो । पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई कुच्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
    यस जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै समूहमा दोस्रो हुँदैं अन्तिम १६ को यात्रा तय गरेको छ । अर्को खेलमा स्वीडेनले पोल्यान्डलाई ३–२ ले पराजित गरेपछि स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्वीडेन भने ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।


    स्वीडेनलाई पोल्यान्डविरुद्ध जित दिलाउन एमिल फोर्सबर्गले २ र भिक्टर क्लेसनले एक गोल गरे भने पोल्यान्डका लागि लेवान्डोस्कीले २ गोल गरे ।
    स्वीडेनका लागि एमिल फोर्सबर्गले खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा डिफेन्डर असफल भएपछि फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।
    दोस्रो हाफको ५९ औं मिनेटमा फोर्सबर्गले व्यक्तिगत दोस्रो गर्दै २–० को अग्रता दिलाए । वैकल्पिक खेलाडी डेजान कुलुसेभ्सकीले अघि बढाएको आक्रमणलाई फोर्सबर्गले गोलमा परिणत गरेका थिए । कुलुसेभ्सकीले मैदानको बीच भागबाट अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र फोर्सबर्गलाई उपलब्ध गराएपछि लाइप्जिगका मिडफिल्डरले सटिक फिनिस गरेका थिए ।


    लेवान्डोस्कीले त्यसको २ मिनेटपछि नै दर्शनीय गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रको बायाँ भागबाट उनले सुन्दर प्रहार गर्दै गोलरक्षक रोबिन ओल्सनलाई कुनै अवसर नै दिएनन् । ८४ औं मिनेटमा लेवान्डोस्कीले नै पोल्यान्डलाई बराबरीमा ल्याए । फ्रान्कोसकीको क्रसमा दुवै डिफेन्डर झुक्किन पुग्दा ६ यार्ड बक्स क्षेत्रभित्र एक्लै रहेका लेवान्डोस्कीले सहज फिनिस गरेका थिए ।
    तर खेलको अन्तिम समयमा क्लेसनले गोल गर्दै स्वीडेनलाई जित दिलाए । इन्ज्युरी समयको चौंथो मिनेटमा युभेन्ट्सका फरवार्ड कुलुसेभ्सकीले पोल्यान्डको डिफेन्सलाई पुनः समस्यामा पार्दै दिएको पासमा क्लेसनले गोल गर्दै स्वीडेनलाई समूह विजेता बनाए ।