Blog

  • जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    भक्तपुर, असार १४
    दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका– ९, चोखा बस्ने ३२ वर्षिय बसन्त दमाईलाई १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतवार साँझ पक्राउ गरेको छ ।
    आरोपी दमाईले कमलविनायकस्थित कोठामा बसिरहेकी १२ वर्षिया बालिकालाई घरमा कोही नभएको मौका पारी ललाई फकाई जबरजस्ती करणी गरेको भनी पिडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
    पिडित बालिकाको स्वास्थ्य परिक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।

  • उपत्यकामा निषेधाज्ञा – जोर बिजोर प्रणाली सार्वजनिक सवारी चल्ने

    उपत्यकामा निषेधाज्ञा – जोर बिजोर प्रणाली सार्वजनिक सवारी चल्ने

    भक्तपुर, असार १४
    काठमाडौं उपत्यकमा भोली (मंगलवार)बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमवार बसेको संयुक्त बैठकले काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाई सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
    बैठकले नीजि सवारी साधनमा जस्तै जोर बिजोर प्रणालीमा २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा उल्लेख छ ।
    बैठकले दैनिक उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खोल्न पाउने व्यवस्था गरेको छ । निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न पाईने व्यवस्था थियो । भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल भने बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाईने भएको छ ।
    त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोवाइल पार्टस् पसल पनि विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।
    अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
    त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु सञ्चालनमा लगाएको रोकलाई यथावत राखेको छ ।
    खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा लगाएको प्रतिबन्धलाई पनि यथावत राखेको छ ।
    विद्यालय र कलेजहरुले अनलाइन र भच्र्युल कक्षा सञ्चालनलाई निरन्तरता दिन आदेश गरिएको छ ।

  • चनौटे र मेलम्चीको स्थलगत रिपोर्ट – अझै त्रासमा छन स्थानीय

    चनौटे र मेलम्चीको स्थलगत रिपोर्ट – अझै त्रासमा छन स्थानीय

     

    जगत प्रजापति, भक्तपुर, असार १४
    रातो बोरामा भाँडावर्तन भरिएको थियो । छेउमै सुन्तला रंगको कुर्ता सलवार लगाएकी महिला सेतो बोराको डल्लो नियाल्दै थिइन । घरको भित्रबाट निस्किएका महिलाले सोधे, ‘के हो र त्यो ?’ ती महिलाले जवाफ दिईन, ‘खोई डल्लो परेको छ, के हो ?’ ‘खोलेर हेर न,’ नजिकै अर्जेन्टिनाको फुटबल जर्सी लगाएका अधवैंशे पुरुषले भने । ‘हुन्छ’ भन्दै ती महिलाले बोरो खोलेर हेरिन । बोराभित्र चिउरा थियो । हेलम्बु गाउँपालिकाको चनौटे बजारमा असार १० गते दिउँसो ३ बजे पुग्दा स्थानीय रामकुमारी कार्कीका परिवार पुरिएको माटो पन्छाउँदैं घरबाट सामान निकाल्दै गर्दाको संवादको दृष्य हो यो ।

    दुई तल्ले टहराको भुईतल्ला पुरै र पहिलो तल्लाको एक चौथाई भाग मेलम्चीको बाढीसँगै आएको लेदोले पुरिएको पिडित स्थानीय रामकुमारी कार्कीले बताईन । ‘हेर्दा हेर्दै खोलाले बस्तीतर्फ हान्न थाल्यो र पुरै बस्ती डुवानमा प¥यो,’ उनले भनिन, ‘ज्यान जोगाउनै धौ धौ प¥यो ।’ उनले खोलाको बहाव बढ्दै चनौटे चुरेटार पुल (रातोपुल) नै नाघेको बताईन ।
    नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री लिएर मेलम्ची बजारहुँदैं हेलम्बुको तारामाराङ पुग्दा दिउँसोको करिव १ बजेको थियो । त्यहाँ राहत ल्याउने खबरले बाढी पिडितहरु जम्मा भएर बसेका थिए । कांग्रेसले सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतसँग समन्वय गरी राहत लिएर हेलम्बु गएको थियो । बस्नेतले स्थानीय समाजसेवी एवम् कांग्रेस नेता नारायण गिरीलाई राहत लिएर भक्तपुर कांग्रेसको टोली आउँदै गरेको खबर गरे अनुसार गिरीले गत असार १ गते मेलम्ची नदिमा आएको बाढी पिडितहरुको नाम संकलन गरी तारामाराङ बजारमा जम्मा गरि राखेका थिए ।
    टोली पुगेपछि कसरी राहत वितरण गर्ने भन्ने बारे सामान्य छलफल गर्दै गर्दा हेलम्बु गाउँ कार्यपालिका सदस्य लक्ष्मी सुनार पनि आईपुगिन । टोलीले राहत सामग्री लक्ष्मीलाई हस्तान्तरण ग¥यो । सुनारले गिरीलाई जिम्मा लगाएपछि हाम्रो टोली चनौटे प्रस्थान गरेको थियो ।


    चनौटेमा पुग्दा नेपाली सेनाले बाढी रोकथामका लागि तारजालीसहित ढुंगाको बाँध बनाउने कार्य गरिरहेको थियो । त्यस्तै हेलम्बु जाने सडकमा नेपाली सेनाले नै स्काभेटरको सहायताले बाढीले थुपारेको पाँगो माटो पन्छाउँदैं थियो । केही स्थानीय आफ्नो पुरिएको घर वरिपरीको माटो पन्छाउँदैं झ्यालका सिसा फुटाउँदैं घरभित्र भरिएको माटोसँगै आफ्ना सामान निकाल्ने प्रयास गरिरहेका थिए । यस्तै मध्येकी एक हुन रामकुमारी कार्की ।
    उनले भने, ‘सेनाले मेलम्चीको धार फर्काउने कोशिष गरिरहेको छ, तर सकिरहेको छैन । धारमात्र परिवर्तन गर्न सके घर जोगिन्थ्यो की भन्ने आशा छ ।’ नदिमा पानीको बहाव उतारचढाव भएसँगै मेलम्चीले धार परिवर्तन गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘खोलाको धार एक नाशको छैन । कहिले यताबाट बग्छ, त कहिले पल्लोपट्टि पुग्छ ।’ वर्षासँगै मेलम्ची नदिमा पानीको वेग बढ्ने गरेको र यसले कटान नरोकिएको कार्कीले बताईन ।

    चनौटे बजार हेलम्बु क्षेत्रको मुख्य बजार हो । सिंगो हेलम्बु गाउँपालिकाको वडा नं. १, २, ३, ६ र ७ को मुख्य बजार नै चनौटे भएको स्थानीय बताउँछन । यो बजार अहिले बगरमा परिणत भएको छ । बाढीले बजार विलिन हुँदा विस्थापित स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न बजारको समेत अभाव भएको छ ।
    गत असार १ गते मेलम्ची नदिमा आएको भिषण बाढीले हेलम्बु गाउँपालिका चनौटे बजारमा मात्र २८ घरलाई क्षति गरेको स्थानीय कुलबहादुर कार्कीले बताए । उनको तीन तल्ले घरको करिव दुई तल्ला पुरिएको र घरका पिलर समेत मक्किएको छ । भुईंतल्लामा रहेको करिव ५० लाख बराबरको भाँडावर्तन लगायतका सामग्री पुरिएको उनले बताए । ‘घर जग्गा, गोदामको सामान समेत हिसाव गर्दा ५ करोड जतिको क्षति भएको छ,’ उनले भने । उनका अनुसार चनौटेका दुई दर्जन घरपरिवारलाई बाढीले सडकमा पु¥याउने अवस्था आएको छ ।


    गाउँ कार्यपालिका सदस्य लक्ष्मी सुनारले चनौटेमा मानविय क्षति एक जना भएको बताए । हेलम्बु रेम्बो ट्राउट तथा रिसर्च प्रा. लि.का मालिक ग्यानेन्द्र कक्षपति बाढीले बगाएर वेपत्ता भएको उनले बताए । उनका अनुसार चनौटेको मुख्य बजार भित्र रहेका २५ व्यापारिक पसल बाढीले बगाएका छन । चनौटेदेखी गणेशेसम्म ७ सय मिटर सडक, चनौटे झोलुङ्गे पुल बगाएको छ । चनौटे चुरेटार (रातो पुल) उच्च जोखिममा परेको छ ।
    गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकामा मात्र ४ महिलासहित २३ जना वेपत्ता भएको छ । ती मध्ये अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा ३ चिनिया, ३ भारतिय र दुई नेपाली कामदार छन ।


    त्यस्तै हल्देका ४ जना, ग्यानेन्द्र कक्षपति र उनको फार्मका कामदार २ सहित ३ जना, भण्डारी ट्राउट माछा फार्मका ३ जना कामदार, जयबागेश्वरी ट्राउट फार्मका ४ जना र पाल्चोक सेराकी एक महिला छिन ।
    त्यस्तै भौतिक क्षतितर्फ मोटरेवल पुल ४, झोलुङ्गे पुल ६, विभिन्न स्थानका करिव साढे ८ किलोमिटर सडक बाढीले बगाएको गाउँपालिकाले जनाएको छ । बाढीले वडा नं. १ मा २८, २ मा ११३, ३ मा ३, वडा नं. ७ को चनौटे बजारका २५ घर तथा पसल र ८ वटा ट्राउट माछा फार्म बगाएको गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साथै सयौं रोपनी खेत बगाएको छ ।


    असार १ गतेदेखी हेलम्बुमा विद्युत प्रशारण बन्द भएको छ । विद्युत नहुँदा स्थानीय जनता सञ्चार सम्पर्क विहिन छन । चनौटेदेखी हेलम्बु जाने सडक बगाउँदा स्थलमार्ग समेत अवरुद्ध छ । मोवाइल चार्ज गर्न नपाउँदा आफन्तलाई घटनाको विवरण दिन नसकिएको गाउँ कार्यपालिका सदस्य मिजारले बताईन ।
    उनले हेलम्बुमा खाद्यान्नलगायतका राहतको भन्दा पनि पुनःनिर्माण र पिडितहरुको पुनर्वासका लागि नगद र जस्तापाताको खाँचो रहेको बताए । एक स्थानीय महिलाले पनि नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यतातिर अन्नको दुःख छैन । धेरैको घर बस्न लायक नभएकोले उनीहरुको बसोबासका लागि आवश्यक सामग्रीको भने खाँचो छ ।’


    हेलम्बुको चनौटे बजार मात्र होइन मेलम्ची बजारको दृष्य पनि उस्तै छ । हाम्रो टोली चनौटेबाट फर्किएर मेलम्ची बजार पुग्दा साँझको ५ बजेको थियो । बजारमा रहेको ६ तल्ले विशाल भवनको छेउमा रहेको एक तल्ले घर पुरै पुरिएको अवस्थामा छ । त्यही घरको खोलापट्टिको एक भित्ताको माटो पन्छाउँदै झ्यालको रेलिङको प्वालबाट माटो निकाल्ने प्रयास गर्दै थिइन एक महिला ।


    सिरक डस्ना लगायतका सामान यत्रतत्र छरिएको थियो । एउटा झ्यालको रेलिङ र खापा निकालेर त्यहीबाट माटो पन्छाउँदैं सामान निकालेको ती महिलाले बताईन । उनले भनिन्, ‘ओत लाग्ने ठाउँको के कुरा गर्नु, हामीलाई त सुत्नलाई ओढ्ने ओछ्याउने र फेर्ने लुगा समेत छैन ।’ यति भन्दा भन्दै उनको गला अवरुद्ध भयो ।
    मेलम्चीको बसपार्क पृथ्वीको गर्भमा विलिन भएको छ । मेलम्ची बजार र बसपार्क पुगेको जो कोही अहिले त्यहाँ पुग्ने हो भने त्यहाँ कुनै बेला बसपार्क थियो भन्ने पत्याउनै गा¥हो पर्छ । केही घरका वारी र पारी दुवैतर्फ मेलम्ची बगीरहेको छ, मानौं मानिसले नदिको बीचमा गएर घर बनाएको हो । मेलम्चीको सुन्दर बजार मरुभुमी जस्तो बगरमा परिणत भएको छ । पक्की र झोलुङ्गे पुल बगाउँदा मेलम्ची वारी पारीको सम्पर्क टुटेको छ ।


    बाढी आएको दुई साता बित्न लाग्दा पनि मेलम्चीदेखी चनौटेसम्म सरकारले नदि नियन्त्रण र विस्थापितको पुनर्बास तथा पुनर्निर्माणको कार्यलाई गति दिन सकेको छैन । अवरुद्ध विद्युत सूचारु गर्न र अवरुद्ध सडक खुलाउने केही काम भइरहेको छ । चनौटे र मेलम्ची बजारमा तारजाली हालेर नदिको धार नियन्त्रण गर्ने प्रयास भएपनि पर्याप्त देखिँदैन ।
    वास्तवमा मेलम्ची नदिको बाढीले जति क्षति गरेको छ, साँच्चै त्यो कल्पना भन्दा बाहिर छ । हेलम्बुदेखी नै उर्लिदैं बगेको मेलम्चीले धेरैतिर तहशनहश गरेको छ । सयौं परिवारलाई विस्थापित गरेको छ । स्थानीयले अर्बौको सम्पत्ती गुमाएका छन । अहिले पनि नदिले कटान गरिरहेको छ । नदिले धार परिवर्तन गरिरहँदा कति खेर फेरी अर्को विपत्ती निम्तिने हो भन्ने त्रासमा स्थानीय रहेको छ ।

  • युरोकप २०२० – बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश

    युरोकप २०२० – बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश

    भक्तपुर, असार १४
    उपाधि दाबेदार मध्ये एक नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक रिपब्लिक र साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेकले नेदरल्यान्ड्सलाई २–० र बेल्जियम पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
    हंगेरीको पुस्कास एरिनामा आइतवार राती सम्पन्न रोमाञ्चक खेलमा चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक सिकले एक एक गोल गरे । टोमसले खेलको ६८ औं मिनेटमा टोमस कालसको पासमा हेडमार्फत गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । चेकले खेलको ८० औं मिनेटमा अग्रता दोब्बर पारे । टोमस होल्सको पासमा प्याट्रिकले गोल गर्दै चेकको जित पक्का गरेका थिए ।


    खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । रोमाञ्चक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि पहिलो हापमा दुवै टोलीले गोल निकाल्न सकेन । प्रतिष्पर्धात्मक खेलको ५२ औं मिनेटमा नेदरल्यान्ड्सका मालेन गोलकिपरसँगको वान भर्सेस वानमा गोल गर्नबाट चुके । पुरा खेलको नक्सा यहीबाट बदलियो । चेकको जितमा मालेनको अवसर खेर जानु टर्निङ प्वाइन्ट बन्यो ।


    डिपायोको चलाखीपूर्ण फ्लिकमा मालेनले दुई डिफेन्डरको बीचबाट बल अगाडि बढाएर गोल किपर अघि बढेको मौकामा पनि वान भर्सेस वानमा गोल गर्न चुकेका थिए । त्यसको लगत्तै चेकले आक्रमण बुन्यो । तर नेदरल्यान्ड्सका खेलाडीले हातले बल रोकेपछि रेफ्रिले भिएआरको सहायताले रातोकार्ड दिए । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाए । बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।
    नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेकले त्यसको फाइदा उठाउँदैं लगातार आक्रमण बुन्यो र दुई गोल निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
    त्यसैगरी आइतवार राती नै सम्पन्न अर्को खेलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश ग¥यो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।


    दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगल खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।


    यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम समूह चरणका तीनै खेलमा जित निकाल्दै समूह विजेताकोरुपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।

  • प्रदेश सभा सदस्य भँडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

    प्रदेश सभा सदस्य भँडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

    भक्तपुर, असार १३
    नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलले चाँगुनारायण नगरपालिका–९ ताथलीमा भइरहेका विकास निर्माणको अनुगमन गर्नुभएको छ ।
    प्रदेश पुर्वाधार विकास कोष २०७७÷०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम गुणस्तरीय भएको÷नभएकोबारे उहाँले आइतवार अनुगमन गर्नुभएको हो ।
    उहाँले ताथलीको गिरी टोल पहिरो नियन्त्रण योजना, तःख्योचास्थित नयाँ बस्तीको सडक ढलान र राउत टोल जाने सडक ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।
    सो अवसरमा उहाँले स्थानीयसँग योजनाहरुको कामको बारेमा चासो राख्दै विकास निर्माणलाई गुणस्तरीय बनाउन स्थानीयको भूमिकाबारे स्पष्ट पार्नुभयो । उहाँले गिरी टोल पहिरो नियन्त्रण योजनाका लागि ३५ लाख रुपैयाँ, सडक ढलानका लागि क्रमशः २५ लाख र ८ लाख विनियोजन गरिएको भँडेलका स्वकीय सचिव समुद्र थापाले जानकारी दिनुभयो ।
    अनुगमनमा भँडेलका साथ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रिय सभापति जीवन खत्री, नेता शंकर गौतमलगायतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा सांसद भँडेलले विकास निर्माणका लागि आफु कटिवद्ध भएको बताउँदै अधुरा योजना र आवश्यक भएको ठाउँको विकासका लागि आफुले थप पहल गर्ने वचन समेत दिनुभएको थियो ।

  • मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने समूह पक्राउ

    मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने समूह पक्राउ

    भक्तपुर, असार १३
    मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संलग्न चार जना र खरिद गर्ने दुई जना सहित ६ जनालाई सार्वजनिक गरेको हो ।
    पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षिय सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका–२ दत्तात्रय घर भई हाल लिवाली बस्ने १९ वर्षिय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल सुर्यविनायक नगरपालिका–६, सुन्दरबस्ती बस्ने २९ वर्षिय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका–८ लिवालीका २० वर्षिय साईन भन्ने रमेश कोजु रहेका छन ।
    त्यसैगरी चोरीको स्कुटर खरिद गरेको आरोपमा सुर्यविनायक नगरपालिका–१० पलाँसे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ का २३ वर्षिय अविनाश तामाङ र दाङ लमहीका २२ वर्षिय आकाश मगर पक्राउ परेका छन ।
    भक्तपुरको कमलविनायकमा डेरा गरी बस्ने लक्ष्मणबहादुर बि. क.को डेराबाट गत जेठ ३१ गते हराएको भे ७ प ४४१३ नं. को मोटरसाइकल खोजी गर्नेक्रममा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा लिवालीबाट तामाङसहित चार जनालाई पक्राउ गरिएको हो ।
    अनुसन्धानको क्रममा तामाङको समूहले किर्तिपुर नगरपालिका–१५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी अविनाश र आकाशलाई बेचेको खुल्न आएपछि उनीहरु दुवै जनालाई पनि नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।

  • महाधिवेशन बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    महाधिवेशन बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    भक्तपुर, असार १२
    पार्टीको १४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसका केन्द्रीय समितिका पदाधिकारीहरुको बैठक आज (आइतवार) बस्ने भएको छ । महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको टुङ्गो लगाउने कार्य भइरहेको छ । केही जिल्लाबाट अझै क्रियाशिल सदस्यहरुको विवरण केन्द्रमा आईपुगेको छैन । आएका क्रियाशिल सदस्यता छानविनको काम भइरहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
    कांग्रेसले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरेर सदस्यता छानविन गरिरहेको छ । समितिले मापदण्ड बनाएर छानविन गर्ने बताएपनि छिटो टुङ्गो लगाउन पदाधिकारीसहितको बैठक बस्न लागेको कांग्रेस स्रोतले जानकारी दिए ।
    बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिनुभयो । मापदण्ड निर्माणमा सहमति हुन नसक्दा समितिले नयाँ सदस्यहरुका बारेमा परेको उजुरीमाथि छानविन गर्न नसकेको कांग्रेस स्रोतले बताए । समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ ।
    कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।
    कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । स्थानीय तहको वडा तहको अधिवेशन भने साउन १२ गते हुने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ ।
    यसैबीच नेपाली कांग्रेस थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रका क्रियाशिल सदस्यको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा–१, काभ्रे–१ र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ का पुरना नविकरण र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरुको विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

  • युरोकप २०२० – अष्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश

    युरोकप २०२० – अष्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश

    भक्तपुर, असार १३
    इटाली अष्ट्रियालाई पराजित गर्दै युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा शनिवार राती सम्पन्न खेलमा इटाली अष्ट्रियाविरुद्ध संघर्षपूर्ण २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
    निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल अतिरिक्त समयमा सम्भव भएको थियो । इटालीलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले दुवै गोल गरे ।


    अतिरिक्त समयको ९५ औं मिनेटमा फेडेरिको किएजाले इटालीलाई अग्रता दिलाए । किएजाले स्पिनाजोलाको चिप पासमा ६ यार्ड बक्स क्षेत्रभित्र राम्रो बल नियन्त्रण गर्दै तेस्रो टचमा गोल गर्दै इटालीलाई अघि बढाए । किएजाले नै खेलको १०४ औं मिनेटमा दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारेका थिए । तर त्यस बचाउपछि आएको कर्नरबाट बनेको मुभमा किउजाले गा्ल गर्दै इटालीलाई जितको नजिक पुर्याएका थिए ।
    खेलको ११५ औं मिनेटमा अष्ट्रियाले गोल फर्काउँदैं खेलमा फर्कने संकेत गरे । स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासा कालाज्डिचले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्किने आशा जगाए । उनले कर्नरमा आएको बललाई निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरेका थिए ।


    सासाको गोलसँगै लगातार ११ खेलमा गोल नखाएको इटालीको किर्तिमान भंग भएको छ । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र खेल इटालीले २–१ ले जित्यो । खेलको शुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएको थियो । खेलको दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीका फरवार्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा अष्ट्रियाको रक्षात्मक रणनीति सफल भएको थियो । पहिलो हाफमा अष्ट्रियाले निकै कम गोलको अवसर पाएको थियो ।
    इटालीले अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

  • युरोकप २०२० – डेनमार्क क्वाटरफाइनलमा प्रवेश, वेल्स ४–० ले पराजित

    युरोकप २०२० – डेनमार्क क्वाटरफाइनलमा प्रवेश, वेल्स ४–० ले पराजित

    भक्तपुर, असार १२
    डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डेनमार्क शनिवार राती भएको प्रिक्वाटरफाइनलको पहिलो खेलमा वेल्सलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
    आम्र्सटरडमको जोहान क्रुफ एरिनामा भएको खेलमा जित दिाउँदैं डेनमार्कलाई क्वाटरफाइनलमा पु¥याउन कास्पर डोलबर्गले २ र माहेल र व्रेथवेटले एक एक गोल गरे ।
    डेनमार्कले डोलबर्गको गोलले अग्रता लिएको थियो । डोलबर्गले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । उनले विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई पेनाल्टी क्षेत्र बाहिर सशक्त प्रहार गर्दै गोल गरेका थिए ।
    यसअघि आठौं मिनेटमा नै डोलबर्गले डेनमार्कलाई अग्रता दिलाउन चुकेका थिए । लगत्तै कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन चुकेको थियो । चोटका कारण नियमित फरवार्ड युसुफ पाउल्सेनले खेल गुमाएपछि मौका पाएका डोलबर्गले खेलको ३२ औं मिनेटमा गरेको प्रहार गोलरक्षक वार्डले विफल पारेका थिए ।


    दोस्रो हापको शुरुवातमा नै डेनमार्कले अग्रता दोब्बर पारे । खेलको ४८ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई पनि २–० ले अघि बढाए । उनले वेल्सका नेको विलियम्सको खराब क्लिअरेन्सलाई ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै गोल गरे ।
    खेलको ८७ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई जिततर्फ दो¥याए । वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको सुन्दर पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।
    खेलको ९० औं मिनेटमा वेल्स १० खेलाडीमा सिमित भयो । माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले वेल्सका खेलाडी ह्यारी विल्सनलाई सिधै रातो कार्ड देखाएका थिए ।
    डेनमार्कका लागि खेलको इन्ज्युरी समयको चौंथो मिनेटमा व्रेथवेटले गोल गर्दै ४–० को प्रभावशाली जित दिलाए । उनको गोललाई रेफ्रीले अफसाइड दिएपनि भीएआर रिभ्युबाट गोलले मान्यता पाएको थियो ।
    डेनमार्कले अब क्वाटरफाइनलमा चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।

  • युरोकप २०२० – डेनमार्कलाई पहिलो हापमा १–० को अग्रता

    युरोकप २०२० – डेनमार्कलाई पहिलो हापमा १–० को अग्रता

    भक्तपुर, असार १२
    युरोकप २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कले अग्रता लिएको छ । आम्र्सटरडमको जोहान क्रुफ एरिनामा भइरहेको खेलमा डेनमार्कले पहिलो हापमा वेल्सलाई १–० ले पछि पारेको हो ।
    डेनमार्कले फरवार्ड कास्पर डोलबर्गको दर्शनीय गोलमा अग्रता लिएको हो । डोलबर्गले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । उनले विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई पेनाल्टी क्षेत्र बाहिर सशक्त प्रहार गर्दै गोल गरेका थिए ।


    यसअघि आठौं मिनेटमा नै डोलबर्गले डेनमार्कलाई अग्रता दिलाउन चुकेका थिए । लगत्तै कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन चुकेको थियो । चोटका कारण नियमित फरवार्ड युसुफ पाउल्सेनले खेल गुमाएपछि मौका पाएका डोलबर्गले खेलको ३२ औं मिनेटमा गरेको प्रहार गोलरक्षक वार्डले विफल पारेका थिए । यस खेलको विजेताले क्वाटरफाइनलमा चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।