भक्तपुर, मसिर १५
नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा चार राष्ट्रका पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एसियन भलिबल संघ (काभा) को संयोजनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका दुई, भारत, माल्दिभ्स र इरानको एक÷एक गरी कुल ५ टोलीको सहभागिता हुने भएको हो ।
संघले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार च्याम्पियनसिप आगामी मंसिर २२ देखि २९ गतेसम्म आयोजना हुँदैछ ।
नेपालको तर्फबाट आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छ । यस्तै भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन् ।
च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ । काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।
यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो र त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो ।
च्याम्पियन्सिप लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने संघको अनुमान छ । त्यसमा राखेपले २५ लाख रुपैयाँ अनुदान दिने बताइएको छ ।
संघका सल्लाहकार रेशम गुरुङले १ लाख ५१ हजार, निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा र संघकी सदस्य ज्योती केसी, टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले समान १÷१ लाख रुपैयाँ दिने भएका छन् ।
भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले अर्को वर्ष एफआइभिबीको सहयोगमा काभा पुरुष भलिबल नेसन्स लिग टुडिखेलमा आयोजना हुने सम्भावना रहेको बताए । त्यो च्याम्पियनसिप आयोजना भएको खण्डमा नेपालले भौतिक पूर्वाधारमा एभआइभिबीबाट आर्थिक सहयोग पाउने सम्भावना रहेको चन्दले जानकारी दिए ।
Blog
-
काभा क्लब च्याम्पियनसिप भलिबलमा ५ टोली
-
एनपिएल विजेतालाई एक करोड ११ लाख
भक्तपुर, मसिर १५
काठमाण्डौंमा शनिवारदेखी शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताले एक करोड ११ लाख रुपैंया पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) शनिवार फ्रेन्चाइज टि–२० क्रिकेट लिग एनपिएलको विजेताले सो पुरस्कार पाउने घोषणा गरेको हो ।
क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । -
भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण प्रदान गर्ने नीति अनुसार नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर उक्त ऋण प्रदान गरेको हो ।
भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पुर्याउन ५ लाख रुपैंयासम्म सहुलियत व्याजदरमा शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो र विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि ६ सय जना विद्यार्थीहरुले नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण लिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा चालु आ.व.मा थप १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । शैक्षिक ऋण लिएर अध्ययन गरेका मध्ये ५१ जनाले ऋण चुक्ता गरिसकेको छ । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार ऋण लगानी भएको छ भने रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
चालू आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नम्बर ४ का २२ जनाले ऋण पाएका छन् भने सबैभन्दा कम वडा नम्बर ९ का सात जनाले पाएका छन ।
शैक्षिक ऋण वितरणसम्बन्धी भक्तपुर नगरपालिकाले शुक्रवार आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताउँदै नगर प्रमुख प्रजापतिले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले भक्तपुर महोत्सवको आयोजना गरी भक्तपुरको कला संस्कृति, मौलिक आदिबारे संसारमा प्रचारप्रसार गर्ने उद्देश्य राखेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले शैक्षिक ऋण बाहेक पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको प्रष्ट पार्नुभयो । उहाँले सबै विषयको समान महत्व हुने बताउँदै विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढंगले आफ्नो पढाइलाई निरन्तरता दिन पनि प्रेरित गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाको शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै लागि उदाहरणीय कार्य भएको बताउनुभयो । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरुले विदेश जाने सोचबाट टाढा रहन आग्रह गर्दै उहाँले शैक्षिक ऋण कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै विद्यार्थीहरुलाई नगरपालिका र नगरबासीहरुप्रति उत्तरदायी बन्न प्रेरित गर्नुभयो ।
शैक्षिक ऋण लिने प्रक्रिया
भक्तपुर नगरपालिकाले ७५३ स्थानीय तहमध्ये शैक्षिक ऋणको व्यवस्था गर्ने आफू पहिलो भएको दाबी गरेको छ । नगरपालिकाले ऋण दिनका लागि भक्तपुर नगरपालिका, शैक्षिक ऋणसम्बन्धी निर्देशिका, ०७५ जारी गरेको छ । शैक्षिक ऋण दिन ०७५ सालमै नगरपालिकाको चौथो नगरसभाबाट शैक्षिक ऋण निर्देशिका पारित भएको थियो । निर्देशिका १९ वैशाख ०७६ मा स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । सोही वर्षबाटै नगरपालिकाले निर्देशिकाअनुसार शैक्षिण ऋण दिँदै आएको छ ।
निर्देशिकाअनुसार शैक्षिक ऋण माग गर्ने व्यक्तिले वडा समितिमा माग पेस गरी सिफारिस लिनुपर्नेछ । सिफारिससमेत संलग्न गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ । निवेदन दिएपछि नगर प्रमुखले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन । नगर प्रमुखबाट स्वीकृत भएपछि नगरपालिका आर्थिक प्रशासन शाखाबाट ऋण रकम उपलब्ध गराइनेछ । शैक्षिक ऋणबापत प्रत्येक व्यक्तिले पाँच लाखसम्म प्राप्त गर्न सक्नेछन । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन ।
ऋण नतिरे नगरपालिकाको सेवाबाट वञ्चित
विद्यार्थीले शैक्षिक सत्र सकिएको अर्को वर्षबाट ऋण तिर्न थाल्नुपर्नेछ । निर्देशिकाअनुसार शैक्षिक वर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र ऋण रकमको न्यूनतम २५ प्रतिशत असुल हुनेछ । कोर्सको अन्तिम परीक्षा दिएको मितिले दुई वर्षभित्र ऋण रकमको न्यूनतम ५० प्रतिशत असुल हुनेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले तीन वर्षभित्र ऋण रकमको न्यूनतम ७५ प्रतिशत साँवाब्याज असुली हुनेछ । अन्तिम परीक्षा दिएको मितिले चौथो वर्षभित्र सबै ऋणको शतप्रतिशत साँवाब्याज तिर्नुपर्नेछ ।
उक्त समयावधिभित्र ऋणको साँवाब्याज नतिरे बुझाउनुपर्ने साँवाब्याजको पाँच प्रतिशत हर्जाना गरी विद्यार्थी र उसको साक्षी बसेको परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत छ । -
र्यापिड रेटिङ्ग बुद्धिचालमा पाँच खेलाडीको संयुक्त अग्रता
भक्तपुर, मंसिर १४
शंखरापुर युथ क्लबको आयोजनामा सञ्चालन भएको तेश्रो राष्ट्रब्यापी खुल्ला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता अन्तर्गत चार चरणको खेल हुँदा ५ जना राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा अग्रता लिएका छन् ।
सन गार्डेन व्यांक्वेट, मेलम्ची रोड शांखुमा आज सम्पन्न सबै खेलमा जीत दर्ता गर्दै काठमाण्डौंका सुमन लामा, सर्लाहीका कमल श्रेष्ठ, झापाका मिशन दाहाल, भक्तपुरका दामोदर गाँइजू र काठमाण्डौंका सुरज सिंहले समान ४ अंक बटुल्दै संयुक्तरुपमा अग्रता लिएका हुन ।
चौथो चरणको खेलमा सुमनले हर्क बहादुर सांम्पाङ, कमलले जसवीर सेन्धन लिम्वु, मिसनले गोपालकृष्ण श्रेष्ठलाई पन्छाउन सफल भए । यसैगरी दामोदरले शिर्ष खेलाडी जनार्दन श्रेष्ठलाई निरास पारे भने सुरजले भगवती प्रसाद शर्मा माथि जीत निकाले ।
यस्तै प्रतिस्पर्धामा बनेपाका शैलेन्द्र न्यौपाने र शांखुका रमेशवीर मालीद्वयले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन् । रमेशवीरले चौथो चरणको खेलमा समयक श्रेष्ठलाई पराजित गरे ।
कडा खेलका बिच ललितपुरका रत्न ब्यञ्जनकार, काठमाण्डौका जनार्दन श्रेष्ठ, हर्क साम्पाङ, काभ्रेका एक्स मार्सल, काठमाण्डौ सुशन गौतम, गोविन्द प्रसाद पौडेल, भक्तपुरका बृजेश रंजितकार सहित २४ जना खेलाडीले समान ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर रोशन नापितले गरेका थिए । शंखरापुर युवा क्लबका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा उप मेयर समिता श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजूले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनिका ४० जिल्लावाट १०४ जना खेलाडीहरुको सहभागीता रहेको छ । जस मध्ये २० जना खेलाडीले कूल १ लाख २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । -
गट्ठाघरमा टेलरको ठक्करले स्कुटीमा सवार महिलाको मृत्यु
भक्तपुर, मसिर १४
भक्तपुरको मध्यपुर थिमि–३ गट्ठाघर चोकमा बिहिवार बिहान १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदैं गरेको ना ८ ख २३११ नं.को १२ चक्के टेलरले बा प्र.०२–०३८प ४४०१ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार भक्तपुर नगरपालिका–५ घर भई हाल ललितपुर नखिपोट बस्ने ४१ वर्षिया नविना देउलाको मृत्यु भएको हो ।
उक्त घटनामा स्कुटी चालक जिते देउला घाईते भएका छन । उनको नागरिक अस्पताल गट्ठाघरमा उपचार भइरहेको छ । राष्ट्रिय सेवादल सुन्धारामा कार्यलय सहयोगीको रुपमा कार्यरत देउलाको घाँटी र बाया हातमा भित्री चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
मृत्यु हुने नविना जितेका पत्नी हुन । दुर्घटनामा शरिरको विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा नविनालाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको प्रनाउ नेउपानेले बताउनुभयो ।
प्रहरीले दुवै सवारी साधन र टेलर चालक मकवानपुगढी गाउँपालिका–४ बस्ने ३८ वर्षिय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखी थप कारवाही भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो । -
विदेशी खेलाडीका कारण पनि चर्चामा एनपिएल, को कस्ता छन ?
भक्तपुर, मंसिर १३
नेपाली क्रिकेटको टि–२० फ्रेन्चाइज लिज नेपाल प्रिमियर लिग (एनपिएल)मा विदेशी खेलाडीहरुको अनुबन्धनले कारण लिगको चर्चा चुलिएको छ । एनपिएल टोलीले आफ्नो क्षमता अनुसार उत्कृष्ट विदेशी खेलाडी भित्र्याएका कारण लिगको चर्चा चुलिएको हो ।
भारतीय चर्चित क्रिकेटर शिखर धवन, न्युजिल्याण्डका मार्टीन गप्टिल(जसले ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गरेका थिए), ओमनका जिसन मक्सूद, नामिबियाका कीर्तिमानी खेलाडी जन लफ्टी इटनको सहभागिताले एनपिएल चर्चाको शिखरमा मात्र पुगेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १५ गतेदेखी पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, क्यानडा, हङकङ, अफगानिस्तानदेखि नेदरल्याण्ड्स लगायतका खेलाडी अनुबन्धन भएका छन ।
एनपिएलमा ८ टोली छन । ती मध्ये एक हो विराटनगर किङ्स । विराटनगर किङ्सको मुख्य प्रशिक्षक केभिन ओब्रायन रहेका छन् । विराटनगरमा विदेशी खेलाडीहरुमा अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम समावेश छन । विराटनगरको मार्की खेलाडी सन्दिप लामिछाने हुन ।
मार्टिन गप्टिल (न्युजिल्याण्ड)
गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडी हुन् । गप्टिलसँग अन्तराष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी–२०आई खेल खेलेका छन् । उनले ३४७ टी–२० खेल खेलेका छन् । ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी–२० आईमा २ शतक प्रहार गरेका छन् । उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी–२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।
अकिब इल्यास (ओमान)
अकिबले ओमनका लागि ३२ ओडिआई तथा ५६ टी २० आई खेल खेलेका छन् । उनले ओडिआईमा २ शतकसहित १ हजार २३४ रन बनाएका छन् । यस्तै टी २० आईमा १० अर्धतशक मद्दतमा १ हजार ३३० रन बनाएका छन् । उनले ओडिआईमा २३ र टी२० आईमा ४७ विकेट समेत लिएका छन् ।
निकोलस किर्तन(क्यानडा)
उनले क्यानडाका लागि १८ ओडीआई र २५ टी–२० अन्ताराष्ट्रिय खेल खेलेका छन् । जसमा दुई अर्धशतकसहित ५६४ रन बनाएका छन् ।
क्रिस सोल (स्कटल्याण्ड)
स्कटल्याण्डका पेस बलर क्रिस सोलउनले स्कटल्याण्डका लागि १७ टी–२०आई म्याच खेल्दै १५ विकेट लिएका छन् । यस्तै सोलले ३१ ओडीआई खेलेका छन् ।
इस्मत आलम (अफगानिस्तान)
२२ वर्षीय इस्मत ब्याटिङ अलराउन्डर हुन् । उनले २० टी–२० म्याच खेल्दा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।
काठमाडौं गुर्खाज
काठमाडौँ गुर्खाजमा मार्की खेलाडी करण केसी हुन् । प्रशिक्षक वसन्त शाही रहेका छन् । काठमाडौंले माइकल लेभिट, मर्वी जेरार्ड इरसमस तथा स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।
माइकल लेभिट (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका विष्फोटक ब्याटर लेभिटलाई नेदरल्यान्ड्सका लागि ८ ओडीआई खेलमा १८४ रन र १७ टी–२० आई खेलेमा ५५० रन बनाएका छन् ।
सन इस्किनाजी (इङल्याण्ड)
३० वर्षीय विकेटकिपर ब्याटर एस्किनाजीले १ सय १० टी–२० खेलमा ३ हजार १०५ रन बनाएका छन् ।
जेरार्ड इरास्मस (नामिबिया)
अलराउण्डर जेरार्डले टी–२० अन्ताराष्ट्रियमा उनले ६३ इनिङ्स खेलेका छन् । जसमा १ शतक र ११ अर्धशतकको सहायतामा १ हजार ५५७ रन बनाएका छन् । त्यस्तै बलिङमा ४४ इनिङ्सबाट ५३ विकेट लिएका छन् ।
ड्यान डौथेवेट (इङल्याण्ड)
३९ वर्षीय बोपाराले ४७८ टी–२० खेलमा ९ हजार ४ सय ४८ रन तथा २९१ विकेट आफ्नो नाममा गरेका छन् ।
नाथन सावटर
लेगस्पिनर नाथन सोटरले १४३ टी–२० खेलमा १५४ विकेट लिएका छन् ।
८ टोली रहेका लिगमा क्रिकेटप्रेमीका लागि मंसिर १५ गतेको प्रतीक्षा रहेको छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन् ।
पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा हुनेछ । खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने ‘एलिमिनेटर’ खेलको विजेतासँग खेल्नुपर्नेछ ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै ‘एलिमिनेटर’ खेल्नेछन् । ‘एलिमिनेटर’को विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । -
एनपीएल अपडेट – विराटनगरले उपाधि जिते ३० लाख पाउने, उद्घाटन खेलको टिकट सोल्डआउट
भक्तपुर, मंसिर १३
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ । मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।
खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ ।
काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका सबै टोलीहरु काठमाडौं आइसकेका छन् । विराटनगर कंग्स र पोखरा एभेन्जर्सको टोद्यी बुधबार काठमाडौं आइपुगेका छन् ।
बुधबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच अभ्यास खेल पनि भयो । जसमा आसिफ शेख मार्की रहेको जनकपुरले रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई ९६ रनले हरायो ।
मंसिर १२ गते बुधबार एनपीएलसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । के के भयो बुधबार सबै कुराको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
विराटनगरले उपाधि जिते ३० लाख पाउने
विराटनगर किंग्सका खेलाडीको लागि खुशीको खबर । विराटनगरले एनपीएलको उपाधि जितेमा कोक्की प्रदेशले नगद ३० लाख दिने घोषणा भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
बुधबार काठमाडौं आउने विराटनगरका किंगसका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
एनपीएलको माहोल यति धेरै बढेको छ कि लिग सुरु नहुँदै विभिन्न किसिमको पुरस्कार घोषणा हुने क्रम जारी छ । तर आयोजक क्यानले भने अझै विजेताले पाउने पुरस्कार घोषणा गरेको छैन ।
मंगलबार मात्रै बेस्ट नेपाली प्लेअरलाई ओमोडाले ६२ लाखको कार दिने घोषणा गरेको थियो ।
उद्घाटन खेलको टिकट सोल्डआउट
एनपीएलको चर्चा अहिले यति धेरै छ कि मंसिर १५ गते हुने विराटनर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलको टिकट सोल्ड आउट नै भएको छ । आयोजक क्यान र टिकेटिङ पार्टनर खल्ती दुवैले पहिलो खेलको टिकट सोल्ट आउट भएको जानकारी दिएको छ ।
उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको हो । टीयू मैदानको कूल क्षमता १२ हजार जति भएपनि उद्घाटन खेलका लागि भिआईपी टिकट र नर्मल गरी १० हजार मात्र विक्री गरिएको क्यान प्रवक्ता छुम्मी लामाले जनाए ।
टियू मैदानमा मुख्य प्रायोजक सिद्धार्थ बैंकका लागि सिद्धार्थ बैंक जोन पनि छुट्याईएको लामाले जानकारी दिए ।
यसपटक क्यानले टीयूमा दर्शकहरुको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट विक्री गरेको थियो । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो । दर्शकले जोन अनुसार नै टिकट काट्नुपर्नेछ र त्यही जोनमा प्रवेश गर्ने र बाहिरिने गर्नुपर्नेछ ।
विदेशी खेलाडी आउने क्रम जारी
एनपीएल खेल्न विदेशी खेलाडी नेपाल आइपुग्ने क्रम जारी छ । बुधबार एकै दिन धेरै विदेशी खेलाडी (११) नेपाल आइपुगे । पोखराको सर्वाधिक ४ विदेशी खेलाडी काठमाडौ आइपुगे ।
जसमा नेदरल्याण्ड्सका बास डे लिड, वेष्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिटले र स्कटल्याण्डका माइकल लिस्क छन् ।
यस्तै काठमान्डु गुर्खाजका तीन विदेशी खेलाडी बुधबार आइपुगेका छन् । तीनै खेलाडी इंग्ल्याण्डका हुन् । स्टेफेन इस्कीनाजी, डान डौथगेट र नाथन सोटर बुधबार काठमाडौं आइपुगेका हुन् । गुर्खाजका अर्का विदेशी माइकल लेभिट यसअघि नै आइसकेका छन् ।
यसैगरी चितवन राइनोजका दुई विदेशी खेलाडी बुधबार काठमाडौं आइपुगे । जसमा नामिबियाका जान निकोलस लफ्टी इटन र इंग्ल्याण्डका लुक बेन्केन्सटेइन छन् । चितवनका हसन इसीखिल यसअघि नै नेपाल आइसकेका छन् ।
यस बाहेक सुदूरपश्चिम रोएल्सका इंग्लिस खेलाडी सैफ अदली जैब र न्युजिल्याण्डका स्कट कुगेलेइन पनि बुधबार काठमाडौं आइपुगेका छन् ।
मंगबालर कर्णाली याक्सका दुई विदेशी खेलाडी काठमाडौं आइपुगेका थिए । यस्तै जनकपुर बोल्ट्सका मोहम्मद मोहसिन पनि नेपाल आइसकेका छन् ।
अब बिहीबार र शुक्रबार पनि विदेशी खेलाडी आउने क्रम जारी हुनेछ । विदेशमा लिग खेलिरहेका केही खेलाडी भने एनपीएल सुरु भएपछि आउने तयारीमा छन् ।
जनकपुरले भित्र्यायो मक्सुदको स्थानमा बेन माइक
एनपीएलका लागि जनकपुर बोल्ट्सले इंग्लिस पेस बलिङ अलराउण्डर बेन माइकलाई बुधबार अनुबन्ध गरेको जनाएको छ ।
लोअर अर्डरमा खेल्ने माइकले सबैखाले टी२०मा ६७ खेल खेल्दा ५७ विकेट लिएका छन् भने ६०० भन्दा बढी रन पनि बनाएका छन् ।
जनकपुरले यसअघि अनुबन्ध गरेको पाकिस्तानका अनुभवी खेलाडी सोहेब मक्सुद नआउने भएपछि उनको स्थानमा बेन माइकलाई अनुबन्ध गरिएको जनाएको छ ।
मकसुदले फिटनेशमा समस्या भएकाले एनपीएद्यमा उपलब्ध हुन नसक्ने जनाएपछि उनको रिप्लेसमेन्ट राखिएको हो ।
जनकपुरको अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका चर्चित अलराउण्डर जिम्मी निसम, श्रीलंकन ओरिजिनका अमेरिकी खेलाडी लहिरु मिलान्था, अमेरिकी जोसुअ ट्रोम्प र पाकिस्तानका मोहम्मद मोहसिन छन् । मोहसिन यसअघि नै नेपाल आइसकेका छन् ।
सबै टोली काठमाडौं आइपुगे
एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् र सबै ८ वटै टिम काठमाडौंमा जम्मा भइसकेका छन् । यसअघि धेरै टिमले आफ्नै क्षेत्रमा प्रशिक्षण गरिरहेका थिए । त्यसमध्ये केही टिम यसअघि नै आइसकेका थिए भने पोखरा एभेन्जर्स र विराटनगर किंग्सको टोली बुधबार काठमाडौं आइपुगेको छ ।
यी दुई टोलीबीच बिहीबार अभ्यास खेल समेत हुनेछ । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने र पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल छन् ।
चितवन राइनोजका समर्थकलाई निःशुल्क बस सेवा
चितवन राइनोजका समर्थकहरुका लागि खुशीको खबर छ । त्यो पनि चितवनकै स्थानियहरुको लागि यो विशेष हुनेछ ।
चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गर्ने जनाएको छ । चितवनको खेल हुने दिन बिहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने चितवन राइनोजले जनाएको छ ।
बस चितवन मेडिकल कलेज (सीएमसी)बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ । यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ ।
समर्थकलाई खाजाको पनि व्यवस्था गरिने र खेलपछि फर्कने व्यवस्था पनि हुने जनाइएको छ ।
सीआर ७ होरा पोखराको युथ आइकन
पोखरा एभेन्जर्सले क्रिकेटलाई अझ पपुलर बनाउने लक्ष्यसहित सन्जन गौतम अर्थात सिआर ७ होरालाई हाम्रो गण्डकी युथ आइकनको रुपमा अनुबन्ध गरेको छ ।
सीआर ७ होराको नामले चर्चित सन्जन चर्चित गेमर तथा स्ट्रिमर हुन् । केही समयअघि उनको पब्जी टिम होरा स्पोर्ट्सले पब्जीको विश्व च्याम्पियनसीप पनि खेलेको थियो ।
युवा र विशेषगरी ईस्पोर्ट्स प्रेमीहरूमाझ उनको खेल र खेलको लाइभ भिडियो चर्चित छ ।
बुधबार पोखरा एभेन्जर्सको धेरै कार्यक्रम भयो । चार विदेशी खेलाडी एक साथ आगमन, एनपीएलमा जितको कामना गर्दै समर्थकको पशुपती दर्शन अनी युथ आइकनमा सीआर ७ होरा अनुबन्ध हुनु ।
यसैगरी पोखरा एभेन्जर्सको हस्पिटालिटी पार्टनरमा दी सोल्टी होटल जोडिएको छ ।
पोखरा मैदानमा प्रशिक्षण गरिरहेको एभेन्जर्सको टोली पनि बुधबारै काठमाडौं आएर सोल्टी होटलमै बसेको छ ।
पोखरा एभेन्जर्सको अब एक विदेशी खेलाडी अमेरिकन विकेटकिपर आन्द्रेस गौस मात्र आउन बाँकी छ । उनी डिसेम्बर ३ मा काठमाडौं आइपुग्ने टिमले जनाएको छ ।
सुदूरपश्चिमलाई नेपाल एअरलाइन्सको साथ
सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स जोडिएको छ । सुदूरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच बुधबार प्रायोजन सम्झौता भएको छ ।
सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे ।
नेपाल एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै एनपीएल हुनु सुखद भएको र एनपीएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने चाहना रहेको बताए । उनले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने रोएल्सलाई शुभकामना दिए ।
रोयल्सका सिइओ खड्काले नेपालीहरुको साझा ब्राण्ड रोयल्ससँग जोड्न पाउँदा खुसी व्यक्त गर्दै संस्थाले नेपाली क्रिकेटमा गरेको लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको छ ।
अनलाइनखबरबाट -
नेपाली बुद्धिचाल खेलाडी सिंगापुर प्रस्थान
भक्तपुर, मंसिर १२
नेपाली बुद्धिचाल खेलाडीको टोली सिंगापुर प्रस्थान गरेका छन । यही मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल बुधवार सिंगापुर प्रस्थान गरेका हुन ।
२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता राजन र नेपाल तृतीय शुश्रुतलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
प्रतिष्ठित सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जिया लगायतका ६० भन्दा बढी उच्च ग्राण्ड मास्टर्सहरुको सहभागीता रहनेछन् ।
भिसाको कारण नेपालले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन नपाए पछि खेलाडीको मनोवल उच्च राख्न महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पुरुषतर्फ राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो ।
यसैगरी महिला खेलाडीहरु सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शान्ति धिमाल, पूजा भण्डारी र रिया श्रेष्ठले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वल्र्ड चेस फेडेरेशनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले व्यहोरिने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी दिए । -
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवनको शिलान्यास
भक्तपुर, मंसिर १०
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा उपप्रधान मन्त्री सिंहले रोग लागिसकेपछि थप मानसिक पिडा हुने भएकाले राग लाग्न नदिन सबै जना सचेत र सजक हुनुपर्ने बताउनुभयो । सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नतीले भक्तपुर मात्र नभई छिमेकी जिल्लाका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएर आजको अवस्थामा बिस्तार गर्न योगदान दिने पूर्व जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि बिर्सन नहुने धारणा राख्न्ुभयो ।
नेपालका लागि दक्षिण कोरियाली राजदुत ताईयोङ्ग पार्कले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नेपाल र कोरिया सरकारको मित्रताको प्रतिक रहेको बताउनुभयो । उहाँले कोरियाली सरकार सदैव नेपाल र नेपालीको साथमा रहेको बताउँदैं अस्पतालको स्तर बृद्धिमा सधै सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
कोइकाका नेपालस्थित कन्ट्र«ी डाईरेक्टर मुहेन कोङ्गले नेपालको स्वास्थ्य क्षेत्रको विकास र बिस्तारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत सहयोग गर्न पाउँदा कोरियाली सरकार खुसी रहेको बताउनुभयो ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो “क्युङ्ग हि नेपाल स्वास्थ्य केन्द्रका रुपमा सन् १९९९ मा एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रुपमा मध्यपुर थिमिमा प्रवेश भई क्रमशः कोरिया नेपाल मैत्री अस्पताल हुँदै वि. सं. २०७५ सालबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रुपमा नगरवासीहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “यस अस्पताललाई दक्षिण कोरिया सरकारको ९.५ मिलियन युएस डलर (करिव १ अर्व २८ करोड बरावरको सहयोगमा निर्माण हुन गईरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीहरु लगायत आसपासका जिल्ला बासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको छु ।”
उहाँले वार्षिक रुपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गत वर्ष करिब दुई लाखलाई उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । त्यस्तै अन्य विभिन्न अस्पतालसँग पनि सहकार्य गर्दै सेवा प्रभाव हुँदै आएको जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कोरिया सरकारको निरन्तर सहयोग र स्थानीय सरकार मध्यपुर थिमि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, जनप्रतिनिधिहरुको लगाव, स्वास्थ्य सेवामा अभिरुची, निर्देशन, अनुगमनको कारण यो अस्पताल देशकै अब्बल स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये एक बन्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि गुणस्तरीय सेवाका लागि स्थानिय सरकार निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशन र मध्यपुर थिमि नगरपालिका आर्थिक विकास महाशाखा प्रमुख तुलसीभक्त तकोले दक्षिण कोरियाको १ अर्ब २८ करोडको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण हुन लागेको जानकारी दिँदैं भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको बताउनुभयो । -
प्याव्सन मध्यपुर थिमि नगर अध्यक्षमा बस्नेत निर्वाचित
भक्तपुर, मंसिर ९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मध्यपुर थिमि नगर अध्यक्षमा सुमन बस्नेत चयन हुनुभएको छ । प्याव्सन मध्यपुर थिमि नगर समितिको आइतवार सम्पन्न तेस्रो अधिवेशनले युनिक नेपाल एकेडेमी लोहकिल्थलीका बस्नेतलाई अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा लर्ड बुद्ध इङ्गलिस स्कुलका बुद्धरत्न बादे, सचिवमा तपोभुमी स्कुलका मनोज आचार्य दिक्षित, कोषाध्यक्षमा एड्भान्स एकेडेमीका सोमकृष्ण प्रजापतिलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा एक्टिभ इङ्गलिस स्कुलका आशाहरी प्रजापति, क्रियटिभ लर्नर्स एकेडेमीका कृष्णहरी घवा श्रेष्ठ र वेल फेयर एकेडेमीका अनिता कायष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष निलेश आचार्यले जानकारी दिनुभयो ।
यसअघि प्याब्सन केन्द्रिय अध्यक्ष डि के ढुङ्गानाले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा प्याब्सन केन्द्रिय उपाध्यक्ष दिपीका थापा, केन्द्रिय महासचिब आर वि कटुवाल, केन्द्रिय कोषाध्यक्ष सन्तोषमणी न्यौपाने, केन्द्रिय उप–महासचिव भुवनलाल श्रेष्ठ, केन्द्रिय सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रिय सदस्य तथा जिल्ला प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार चन्द्र अधिकारी, प्याब्सन बागमति प्रदेश उपाध्यक्ष सानुराजा कार्कीलगायतको सहभागिता रहेको थियो ।




