Blog

  • चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

    चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

    लक्ष्मी गारु, भक्तपुर, असार १९

    अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल बैंकमा रहेको बैंक खातामा अहिले ४ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।
    त्यस्तै देवी माध्यामिक विद्यालयलको कक्षा १० मा अध्ययनरत सुनिता झाङ्गजुको पनि नेपाल बैंकमा रहेको खातामा ४ हजार भन्दा बढी रकम जम्मा भएको छ । देवी माविकै कक्षा ८ मा अध्ययनरत सन्ध्या बस्नेतको पनि अनामिका र सुनिताको जस्तै बैंक खातामा रकम जम्मा भएको छ ।
    अनामिका, सुनिता र सन्ध्याको मात्र होइन चाँगुनारायण नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययनरत चाँगुनारायण नगरबासी छात्राहरु सबैको बैंक खाता खोलिएको छ र त्यो खातामा सबैको ४ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ । सो खतामा यसवर्ष पनि थप चार हजार जम्मा हुने छ । यो क्रम छात्रा १२ कक्षा उत्तिर्ण नभएसम्म निरन्तर चलिरहनेछ र १२ कक्षा उत्तिर्ण भएपछि एकमुष्ट व्याजसहित झिकेर कुनै व्यवसाय वा थप उच्च शिक्षा अध्ययन गर्न लगानी गर्न सक्नेछ ।
    चाँगुनारायण नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने नगरबासी छात्राहरुको बैंक खाता हुनु र सो खातामा वर्षेनी कम्तिमा ४ हजार रुपैंया जम्मा हुनुको कारण हो नगरपालिकाको ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम ।
    सामुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, गुणस्तरीय शिक्षा प्राप्त गर्न, बालविवाह निरुत्साहित गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम शुरु गरेको हो ।
    यस कार्यक्रम अन्तर्गत चाँगुनारायण नगरपालिकाले कक्षा नर्सरीदेखी कक्षा १२ अध्ययनरत ९३७ जना छात्राहरुको बैंक खाता खोल्नुका साथै प्रत्येकको खातामा ४ हजारका दरले ३७ लाख ६८ हजार रुपैंया जम्मा गरिसकेको शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले जानकारी दिनुभयो ।
    नगरका ३५ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखी १२ कक्षासम्म अध्ययनरत ९३७ छात्राहरुले यो सुविधा प्राप्त गरेको अर्यालले बताउनुभयो । तीन वटा विद्यालयमा भने स्थानीय बासिन्दाका छोरीको संख्या शुन्य भएकोले ती विद्यालयमा यो कार्यक्रम लागु हुन नसकेको अर्यालले जानकारी दिनुभयो ।
    कार्यक्रम चाँगुनारायण नगरबासी र नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने मापदण्डका कारण तीन वटामा शुन्य भएको उहाँले बताउनुभयो । “स्थानीयको हकमा मात्र यो सेवा प्रदान गरिएको छ । यसको सुविधा लिन विद्यार्थी नपामै जन्म भएको वा चाँगुनारायण नगरपालिकाभित्र स्थायी बसोबास भएको हुनुपर्छ,” उहाँले भन्नुभयो ।
    एक छात्राले कति रकम पाउँछन ?
    यसका केही निश्चित मापदण्ड निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी छात्राको नेपाल बैंकमा खाता खोलिने छ । खातामा नगरपालिकाले प्रत्येक वर्ष ४ हजार रुपैंया जम्मा गरिदिने छ । छात्राले खाताको रकम १२ कक्षा उत्तिर्ण गरेपछि मात्र झिक्न मिल्ने गरिएको छ । बैंकले पनि प्रचिलित भन्दा केही बढी प्रतिशत व्याज दिने व्यवस्था गरिएको छ ।
    कार्यक्रम शुरु भएको वर्ष कक्षा १ मा हुने छात्राले १२ कक्षा पुग्दा नगरपालिकाबाट ४८ हजार पाउँछन । त्यस्तै अहिले कक्षा ११ मा पढ्ने छात्राले दुई वर्ष रकम पाउँछन भने कार्यक्रम शुरु हुँदा कक्षा ५ मा हुने छात्राले ८ वर्षको ४८ हजार पाउँछन । त्यसमा व्याज वापतको रकम थप हुनेछ ।
    के सबै छात्राले यो सुविधा पाउँछन ?
    यो कार्यक्रम चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दाका छोरीहरुलाई लक्षित गरी ल्याईएको हो । यस कार्यक्रममा सहभागी हुने छात्रा चाँगुनारायण नगरपालिका भित्र जन्म भएको वा नगरभित्र स्थायी बसोबास गरी नगरभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
    कार्यविधिमा ‘आर्थिक वर्ष २०७७÷०७८ देखि चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत कार्यक्रममा सहभागी हुन चाहने नगरपालिकाका स्थायी वासिन्दा छोरीहरुलाई लक्षित वर्ग सम्झनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ ।
    चाँगुनारायण नगरभित्र स्थायी बसोबास भएर नगरपालिका भन्दा बाहिरको सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले पनि यो सुविधा नपाउने शिक्षा शाखाका अधिकृत अर्यालले बताउनुभयो । त्यसैगरी चाँगुनारायण नगरपालिकाभित्र अस्थायी बसोबास गर्ने र चाँगुनारायण नगरबाहिर बसोबास गरेर नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुले पनि यो सुविधा नपाउने अर्यालले जानकारी दिनुभयो ।
    नगरप्रमुख मिश्रले पनि चाँगुनारायणका नगरबासीले तिरेको कर वापतको रकम चाँगुनारायण बासीको हितमा खर्च गर्ने नीतिका कारण यस्तो नीति बनाउनु परेको बताउनुभयो ।
    कार्यक्रमको उद्देश्य
    ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम नगरपालिकाले निश्चित उद्देश्यका साथ लागु गरेको नगरप्रमुख मिश्रले बताउनुभयो । कार्यक्रमका मापदण्डका कारण छोरीहरु ड्रप आउट हुने समस्या हट्ने र उनीहरुले कम्तिमा १२ कक्षासम्म अध्ययन गर्ने वातावरण निर्माण हुने मिश्रले बताउनुभयो ।
    त्यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्ने, छोरीहरुको उमेर २० वर्ष नपुग्दै हुने विवाह रोक्ने र जम्मा भएको रकमले भविष्यमा केही गर्न सकियोस भन्ने उद्देश्य नगरपालिकाले लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।
    कुन अवस्थामा खाताको रकम झिक्न पाईंदैन
    कार्यक्रममा सहभागी छात्राले १२ कक्षा उत्तिर्ण नगर्दै बीचमा पढाई छाडेमा, स्थायीरुपमा बसाई सराई गरेर अन्यत्र गएमा, १२ कक्षा उत्तिर्ण नहुँदै वा २० वर्ष नपुग्दै विवाह गरेमा भने खाताको रकम नपाउने शर्त रहेको नगरप्रमुख मिश्रले बताउनुभयो । यो कार्यक्रमले बालिका शिक्षामा ठूलो फड्को मार्ने विश्वास नगरप्रमुख मिश्रको रहेको छ ।
    छोरा छोरीमा विभेदको जोखिम
    यो कार्यक्रमको उद्देश्य धेरै सकारात्मक भएपनि एउटा जोखिम भने रहेको छ । समाजमा विद्यमान लैङ्गिक विभेदका कारण छोरालाई नीजि तथा बोर्डिङ विद्यालयमा पढाउने तर छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउने परम्परावादी चिन्तन हावी हुनुका साथै छोराछोरीमा विभेद हुने जोखिम भने रहेको छ । यस सम्बन्धमा नगरपालिकाले सुक्ष्म ढंगले अध्ययन गरिरहेको र यस्तो समस्या देखिए तत्काल कार्यक्रमका मापदण्ड सुधार गरी त्यस्ता प्रवृत्तिको अन्त्यका लागि नीति निर्माण गरिने नगरप्रमुख मिश्रले बताउनुभयो ।
    “समाजको विकाससँगै छोरा छोरीबीचको विभेद हट्दै आएको छ । शिक्षामा यस्तो प्रवृत्ति अत्यन्त कम छ । यो कार्यक्रमले यसमा पार्नसक्ने प्रभावका बारेमा नजिकबाट अति सुक्ष्म तरिकाले अध्ययन पनि गरिरहेका छौं,” नगरप्रमुख मिश्रले भन्नुभयो, “त्यस्तो भेदभाव नहोला । यदि त्यस्तो भएको पाईएमा छोरीको खाताको पैसा रोक्का राख्नेसम्मको तहमा पुग्छौं । तर त्यसो नहोला भन्ने विश्वास छ ।”
    विद्यार्थी र प्रधानाध्यापकको भनाई
    कार्यक्रममा सहभागी विद्यार्थी र विद्यालयका प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गरेका छन । उनीहरुले कार्यक्रमले छोरीहरुको भविष्य सुनिश्चित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन । उनीहरुले नगरपालिकाले जम्मा गरिदिएको रकमले १२ कक्षा भन्दा माथि अध्ययन गर्न उपयोगी हुने बताएका छन ।
    गणेश मावि ताथलीमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएकी अनामिका छुंकाले भन्नुभयो, “कक्षा १२ सम्म जसोतसो गरी पढे पनि त्यो भन्दा माथिको पढाई नपाले जम्मा गरिदिएको पैसाले पढ्न पाउने भएँ । म धेरै खुशी छु । यसले गर्दा मेरो परिवारलाई पनि केही हदसम्म आर्थिक भार कम हुने विश्वास गरेकी छु ।”
    देवी माविको कक्षा १० मा पढ्ने सुनिता झाङ्गजुले नगरपालिकाले यो कार्यक्रम ल्याएर छोरीहरु माथि ठूलो गुन लगाएको बताउनुभयो । “कक्षा १२ भन्दा माथि पढ्न नपाले खोली दिएको खाताको पैसाले पढ्न पाउने कुरामा अधिकासं छात्रा विद्यार्थीहरु खुशी छन् । यसले गर्दा घरमा बुबाआमा पनि निक्कै खुशी छन् । यो कार्यक्रम एकदमै राम्रो लाग्यो,” उहाँले भन्नुभयो ।
    देवी माविकै कक्षा ८ मा पढ्ने सन्ध्या बस्नेतले उच्च शिक्षा हासिल गर्न कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बुबा आमाको कमाई राम्रो छैन । सामान्य खेतीपाती हो । यसले गर्दा पछि क्याम्पस पढ्नलाई हामीलाई सजिलो हुने भयो ।”
    देवी माविका प्रधानाध्यापक राजाराम छुंकाले कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि राहत पु¥याएको बताउनुभयो । “यो कार्यक्रम गत वर्ष मात्र नपाले ल्याएको हो । एक वर्षमै हाम्रो विद्यालयमा यसको सेवा लिने ९० जना विद्यार्थी पुग्यो । यसले गर्दा विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।
    तर कार्यक्रमको मापदण्ड भित्र नपरेका विद्यार्थीका अभिभावकहरुको भने आफ्ना छोरीहरु कार्यक्रममा नपरेको भन्दै गुनासो गरेको उहाँले बताउनुभयो । उहाँले कार्यक्रमले छोरीहरुलाई पढ्नका लागि थप हौसला प्रदान गरेको बताउँदै यसवर्ष शैक्षिक शत्र शुरु भएसँगै छात्राको संख्या बढ्ने संकेत देखिएको जानकारी दिनुभयो ।
    त्यस्तै गणेश माविका सहायक प्रधानाध्यापक सानुभाई रावतले अधिकासं विद्यार्थीहरु बाहिर जिल्लाका भएका कारण कार्यक्रमको लाभ लिनबाट बञ्चित भएकोले नगरपालिकाले विभेद गरेको गुनासो आएको बताउनुभयो । आफ्नो विद्यालयमा १६ जना छात्राले कार्यक्रमको लाभ लिइरहेको जानकारी दिँदैं उहाँले यसवर्ष कार्यक्रमकै कारण यसवर्ष विद्यार्थीको संख्या बढेको बताउनुभयो । लक्ष्मी गारु

  • छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ

    छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ

    भक्तपुर, असार १९
    छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा भक्तपुरमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा डेरा गरी बस्ने १५ वर्षिया छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा ३१ वर्षिय बाबुलाई प्रहरीले बिहिवार पक्राउ गरेको हो ।
    पिडित बालिकाका अनुसार ती बाबुले गत जेठ १० गते घरमा कोही नभएको मौका पारी संबेदनशिल अंगमा छुने, समाउने कार्य गरेको थियो । त्यसपछिका दिनमा पनि एकान्तमा भेट्ने बित्तिकै सोही किसिमको हर्कत गर्न थालेपछि पिडित बालिकाले बिहिवार संरक्षकको रोहबरमा बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त दिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
    ‘सोही आधारमा ती बाबुलाई पक्राउ गरिएको हो,’ प्रनाउ गिरीले भन्नुभयो । पक्राउ परेका बाबुलाई भक्तपुर जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको जानकारी गिरीले दिनुभयो ।

     

  • युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश

    युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश

    भक्तपुर, असार १९
    आत्मघाती गोल, रातो कार्ड र ट्राइब्रेकरको रोमाञ्चकारी तथा उथलपुथलकाबीच स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शनिवार राती सम्पन्न खेलमा आत्मघाती गोलले पछि परेको स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भए पनि स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो तर ट्राइब्रेकरमा स्पेनी गोलकिपर सिमोनले उत्कृष्ट प्रदर्शन गरेपछि ३–१ ले पराजित हुँदै क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयो ।


    खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
    ट्राईब्रेकरमा पहिलो पेनाल्टी प्रहार गर्न आएका स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्कियो भने स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले कुनै गल्ती नगरी स्विट्जरल्यान्डलाई अग्रता दिलाए ।
    स्पेनमा डानिल ओल्मोले गोल गर्दै खेल बराबरीमा ल्याए भने स्विटजरल्यान्डका फावियनको प्रहार स्पेनका सिमोनले बचाएर खेलमा बराबरी कायम राखे । इटालीका रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाएपछि स्पेन अग्रता लिनबाट चुक्यो भने अकान्जीको पेनाल्टी सिमोनले बचाउँदै खेलमा स्पेनलाई बराबरीमा राखे ।


    चौंथो पेनाल्टी प्रहार गर्न आएका जेरार्ड मोरेनाले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । रुबेन भेर्गासको प्रहार पोस्ट माथिबाट बाहिरिएपछि स्विट्जरल्यान्ड दवाबमा आयो । स्पेनका तर्फबाट अन्तिम पेनाल्टी प्रहार गर्न आएका मिकेल ओयार्जबलले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए ।


    खेलको ८ औं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता लिएको थियो । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बललाई रोक्नेक्रममा स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे । खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । खेलमा स्पेनले लगातार आक्रमण गरेपनि स्विस गोलकिपर सोमेरले उत्कृष्ट प्रदर्शन गर्दै विफल बनाएका थिए । अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।

  • युरोकप २०२० – बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश

    युरोकप २०२० – बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश

    भक्तपुर, असार १९
    विश्व नम्बर एक बेल्जियमलाई पराजित गर्दै इटाली युरोकप २०२० को सेमिफाइनल प्रवेश गरेको छ । जर्मनीको एलिनाज स्टेडियममा शनिवार बिहान सम्पन्न खेलमा इटाली फिफा वरियतामा शिर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
    इटालीको जितमा निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे भने बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
    खेलमा सम्भव तीनै गोल पहिलो हापमा भएको हो । खेलमा आक्रमक शुरुवात गर्दै इटालीले अग्रता लिएको थियो । इटालीलाई खेलको १३ औं मिनेटमा लियोनार्दो बुनिचीले अग्रता दिलाए तर उनको गोललाई भीएआरले अफसाइड घोषित गरेको थियो ।


    खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका लोरेन्जोको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।


    पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा दुबै टोलीले केही अवसर बुनेपनि फिनिसिङमा चुक्दा थप गोल हुन सकेन र अन्ततः खेल २–१ ले इटालीको पोल्टामा गयो ।
    खेलमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले केही शानदार बचाउ गरेका थिए भने बेल्जियमका लुकालुले केही अवसर खेल फालेका थिए । लुकालुको कमजोर प्रदर्शनका कारण पनि बेल्जियम युरोकपको क्वाटरफाइनलबाट बाहिरिनुको कारण बन्यो । दोस्रो हाफमा गोलका लागि दुई सुन्दर अवसर पाएको थियो तर लुकालु चुक्दा बेल्जियम बराबरी गर्नबाट चुकेका थिए । बेल्जियमले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो ।
    जितसँगै इटालीको अपराजित यात्रा ३२ खेल पुगेको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो । इटाली १० अक्टोबर २०१८ मा पोर्चुगलसँग १–० गोलले पराजित भए यता कुनै पनि खेलमा पराजित भएको छैन । इटाली ३२ खेलमा अपराजित हुने क्रममा २७ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ । अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ । दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन् ।
    अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

     

  • युरोकप २०२० क्वाटरफाइनल – पहिलो हापमा स्पेनलाई आत्मघाती गोलमा अग्रता

    युरोकप २०२० क्वाटरफाइनल – पहिलो हापमा स्पेनलाई आत्मघाती गोलमा अग्रता

    भक्तपु, असार १८
    युरोकप २०२० को पहिलो क्वाटरफाइनलमा स्पेनलाई महत्वपुर्ण अग्रता मिलेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफमा स्पेनले १–० गोलको अग्रता बनाएको हो ।
    स्विट्जरल्यान्डका डेनिस जाकारियाले खेलको आठौं मिनेटमा आत्मघाती गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।


    खेलको १७ औं मिनेटमा कोकेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो भने २५ औं मिनेटमा कोकेकै कर्नरमा सेजार एज्पिलीक्वेटा हेडरलाई सोमरले सहजै बचाए । ३४ औं मिनेटमा कप्तान जेर्दान शाकिरीको कर्नरमा म्यानुएल अकान्जीको हेडरले पोस्टको दिशा लिन सकेन । ३९ औं मिनेटमा शकिरिकै कर्नरमा विडमरले बलसँग राम्रो सम्पर्क गर्न नसक्दा स्विस टोलीले खेलमा फर्कने अवसर गुमायो ।
    स्विट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो ।

  • भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान

    भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान

    भक्तपुर, असार १८
    अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटागरी कुल ६४ वटा सिसि क्यामरा जडान गरिएको छ । भक्तपुर सिसि क्यामरा जडान समितिको पहलमा सो सिसि क्यामरा जडान गरिएको हो ।
    समितिले भक्तपुरका विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान र स्थानीय तहको आर्थिक सहयोगमा सो क्यामरा जडान गरिएको समितिका संयोजक एवम् भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।
    क्यामरा जडानका लागि सूर्यविनायक नगरपालिकाले १० लाख, प्राइम बैंकले ५ लाख र अन्य विभिन्न संघसंस्थाबाट गरी कुल ८१ लाख २ हजार आर्थिक संकलन भएको समितिका कोषाध्यक्ष नविन प्रजापतिले जानकारी दिनुभयो ।
    उहाँले अरनिको राजमार्गको जडिबुटी मनोहरा पुल – साँगा खण्डको करिव १३ किलोमिटर खण्डमा सिसि क्यामरा जडान गर्न करिव ६३ लाख रुपैंया खर्च भएको बताउनुभयो । ‘सिसि क्यामरा लगायतका सामग्री खरिदमा रु. ५६ लाख ४७ हजार र अन्य प्राविधिक र विविध सामग्री खरिदमा करिव ६ लाख ५० हजार खर्च भएको छ,’ उहाँले भन्नुभयो, ‘संकलित रकम मध्ये वचत भएको १८ लाख ७२ हजार रुपैंया समितिको नामको बैंँक खातामा रहेको छ ।’ उहाँले बाँकी रकमले भक्तपुरका व्यस्त र बढी भिडभाड हुने मुख्य चोकहरुमा थप सिसि क्यामरा जडान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।


    सो सिसि क्यामरा जडानको उद्घाटन गर्दै महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानले अपराध नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले प्रहरी भित्रपनि केही खराव प्रवत्तिका मानिस हुन सक्ने भन्दै त्यस्तो पाएको खण्डमा खबर गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा प्रहरीका आचरण लगायतका धेरै विषयमा सुधार भएको छ । अझै केही त्यस्ता व्यक्ति हुन सक्छन । त्यस्तो पाईयो भने माथिल्लो निकायमा खबर गर्न आग्रह गदर्छु ।’ उहाँले प्रहरी संगठनभित्र हुने भ्रष्टाचारमा धेरै कमी आएको दावी पनि गर्नुभयो ।


    भक्तपुर प्रहरीले शान्ति सुरक्षा, कोभिड नियन्त्रण र निषेधाज्ञा पालना गराउने सवालमा उत्कृष्ट कार्य गरेको भन्दै उहाँले यसको सही मुल्यांकन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकमा जडान गरिएका सिसि क्यामराले अपराध अनुसन्धानमा प्रहरीलाई सुक्ष्म तरिकाले अनुसन्धान गर्न र अपराधिक गतिविधि नियन्त्रणमा सहयोग हुने बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले भक्तपुरको अर्को मुख्य सडक पेप्सीकोला मनोहरा पुलदेखी निकोशेरा हुँदैं कमलविनायक नगरकोट सडक, भक्तपुर प्रवेश गर्ने नाला, मुलपानी, बालकोटलगायतका नाकाहरु र जिल्लाका मुख्य मुख्य चोकहरुमा पनि सिसि क्यामरा जडान गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जडान गरिएका सिसि क्यामराको आवश्यक ममर्त सम्भारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले आफ्नो कार्यकालमा भक्तपुरमा अन्तिम कार्यक्रमको रुपमा सिसि क्यामरा जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भक्तपुरमा आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्ने र कोरोना नियन्त्रण, निषेधाज्ञाको पालना गराउने कार्यमा प्रहरीले अहम् भूमिका निर्वाह गर्न सफल भएको दावी गर्नुभयो । उहाँ आफ्नो कार्यकाल पुरा गरी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा हुनुभएको छ ।


    भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनु भएका सिसि क्यामरा जडान समितिका संयोजक प्रदिप श्रेष्ठले भक्तपुरलाई शान्त र सुरक्षित जिल्ला बनाउने अभियानमा प्रहरी र नागरिकबीचको सहकार्यको रुपमा सिसि क्यामरा जडान अभियान शुरु गरेको जानकारी दिनुभयो । शुरुमा चार जनाबीचको छलफलबाट शुरु भएको अभियानका दर्जनौ सहयोगी संघसंस्थाहरु जोडिनु आएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जारी निषेधाज्ञामा निर्माण सामग्री ढुवानीका लागि तोकिएको समयावधी व्यवहारिक नभएको भन्दै सो समयसिमा बढाएर राती ८ बजेदिखी बिहान ६ बजेसम्म निर्धारण गरिदिन प्रशासनसँग आग्रह गर्नुभयो ।
    सो अवसरमा सिसि क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने मनकारी दाताहरु, प्राविधिक कर्मचारीहरु, प्रहरी कर्मचारीहरु र समितिका पदाधिकारी तथा सदस्यहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

  • मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने

    मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने

    भक्तपुर, असार १८
    मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद र नेपाल जिम्न्यास्टिक संघबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल र संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गर्नुभएको हो ।


    कर्भड हलका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने र आवश्यक बजेट राखेप र संघले व्यवस्था गरिने सहमति भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यसका लागि नपाले ३ रोपनी ९ आना क्षेत्रफलको जग्गा उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।
    नगरप्रमुख श्रेष्ठले कभर्डहल निर्माणका लागि करिव २५ करोड रुपैंया लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । ‘थिमीमा बन्ने अन्तर्राष्ट्रिय स्तरको कर्भडहलका लागि २५ करोड बजेट इष्टिमेड गरिएको छ । बजेट अलि ठूलो रकमको भएपनि आगामी आर्थिक वर्षदेखि हल बनाउने कार्य शुरु हुन्छ,’ प्रमुख श्रेष्ठले भन्नुभयो ।
    कभर्डहल निर्माणको सम्झौता पत्रमा हस्ताक्षर गर्नु अघि कभर्डहलको बारेमा विस्तृत प्रस्तुतीकरण समेत गरिएको थियो ।

  • डेढ करोड ठगी गरेको अभियोगमा २१ वर्षिय युवक पक्राउ

    डेढ करोड ठगी गरेको अभियोगमा २१ वर्षिय युवक पक्राउ

    भक्तपुर, असार १८
    महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कामदार भिसामा क्यानडा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा काभ्रे पाँचखाल–४ तामाघाट घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई काभ्रेको बनेपा नगरपालिका–२ दाहाल गाउँबाट बिहिवार पक्राउ गरिएको महाशाखाको प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
    अधिकारीले कामदार भिसामा क्यानडा पठाएर राम्रो कम्पनीमा काम लगाई दिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई फरार भएको प्रहरीको आरोप छ ।
    अनुसन्धानको क्रममा अधिकारीले यमुना बस्नेतसहित अन्य व्यक्तिहरुसँग समेत गरी करिव एक करोड ५० लाख ठगी गरेको खुल्न आएको एसपी कोइरालाले बताउनुभयो । उहाँका अनुसार अधिकारीबाट ठगिनेहरु सम्पर्कमा आउने क्रम जारी रहेको छ ।
    अधिकारीलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर काठमाण्डौं पठाएको एसपी कोइरालाले बताउनुभयो ।

  • पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग

    पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग

    भक्तपुर, असार १८
    नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय थान र ५०० एम एलको २० थान स्यानिटाइजर सहयोग गरेको हो । मञ्चका अध्यक्ष युवराज विद्रोहीसहितको पदाधिकारी टोली महासंघको कार्यालय सल्लाघारी पुगेर सो सहयोग प्रदान गरेको हो ।
    सो अवसरमा मञ्चका अध्यक्ष विद्रोहीले कोरोना भाइरसको संक्रमणबाट पत्रकारहरुलाई जोगाउने अभियानमा मञ्चले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो ।


    महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले मञ्चबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री भक्तपुरका पत्रकारहरुलाई आवश्यकता अनुसार वितरण गर्ने जानकारी दिनुभयो । अध्यक्ष प्रजापतिले शाखाले हालसम्म ९० जना भन्दा बढी पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरी सकेको जानकारी दिँदैं शाखाका सबै सदस्यलाई आवश्यकता अनुसार वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
    उहाँले भक्तपुरमा कोरोना संक्रमणको दोस्रो लहरमा २ महिला सहित ८ जना जिल्ला सदस्यहरु संक्रमित भएको र कोरोना संक्रमित पत्रकारहरुलाई आर्थिकलगयातका आवश्यक सहयोग गर्दै आएको बताउँदैं मञ्च लगायतका संस्थालाई धन्यवाद दिनुभयो ।
    सो अवसरमा जिल्ला शाखा भक्तपुरका संस्थापक सभापति रमेश खड्का, पुर्व अध्यक्ष विकल श्रेष्ठ, महासंघ उपत्यका समितिका सचिव एवम् महासंघ भक्तपुरका पुर्व अध्यक्ष अमर भुजु, सचिव संजीव घिमिरे, सदस्य रामगोपाल तमखू उपस्थित थिए ।
    त्यस्तै मञ्चका तर्फबाट उपाध्यक्ष चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यको उपस्थिती रहेको थियो ।


    यसैबीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि महासंघ भक्तपुर शाखालाई एक हजार थान मास्क सहयोग गरेको छ । महासंघ उपत्यका समितिका अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी लगायतको टोलीले शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिलाई सो मास्क हस्तान्तरण गर्नुभएको थियो ।

  • बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न

    बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न

    भक्तपुर, असार १७
    बागमति प्रदेश सरकारको विकास निर्माणका योजना अन्तर्गत मध्यपुर थिमिमा विभिन्न योजनाहरु सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा रहेको छ । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माण कार्य अन्तर्गत मध्यपुर थिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पा मार्गको सुधार कार्य सम्पन्न भएको छ ।
    बागमति प्रदेश सशर्त अनुदान कार्यक्रम अन्तर्गत २५ लाख रुपैंयाको लागतमा बाटो ढलान गर्ने कार्य सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदिप जामन श्रेष्ठले जानकारी दिनुभयो ।
    त्यसैगरी मध्यपुर थिमि–२ को टि.आई.टि.आई. बाट वडा कार्यालय जाने १० मीटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याउने कार्य सम्पन्न भएको छ । करिव ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब ७ लाख रुपैंया संकलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताउनुभयो । उहाँले सो बाटोमा नगरस्तरीय बजेट मार्फत आगामी वर्ष कालोपत्रे गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
    बागमति प्रदेशको सशर्त अनुदान कार्यक्रम अन्तर्गत नै मध्यपुर थिमि–१, लोकन्थलीका विभिन्न भित्रि बाटोहरुमा ढुंगा छाप्ने कार्य सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री ३ फिटदेखी ८ फिट चौडाका बाटोहरुमा करिव २५ लाखको लागतमा ढुंगा छाप्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरी प्रजापतिले जानकारी दिनुभयो । गतवर्ष सो क्षेत्रका बाटोमा ढुंगा छाप्ने कार्य भएको थियो । ढुंगा छपाई कार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीय रोशनभक्त श्रेष्ठले बताउनुभयो ।
    बागमति प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुर थिमि नगरक्षेत्र भित्र एकदर्जन बढि ठाउ“मा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अति विपन्न आवाश निर्माणदेखि नारायण विलाश जोशी स्मृति भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
    प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रम अन्तर्गत मध्यपुर थिमिमा निर्माण भइरहेका अति विपन्न आवास कार्यक्रम अन्तर्गत ४ वटा १ तले घरको समेत निर्माण सम्पन्न भएको डा. श्रेष्ठले बताउनुभयो ।