Blog

  • डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै

    डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै

    भक्तपुर, असार २३
    जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण गर्नेभएको छ । पिडितको माग र आवश्यक सिफारिसका आधारमा माग भएको रकम शिवपुरी वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट रकम निकासा भई आइसकेको र असार मसान्तभित्र वितरण गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले बताउनुभयो ।
    यसवर्ष खाद्यान्न बालीतर्फ १३ लाख ४६ हजार २८८ रुपैंया र पशुधनतर्फ ४० हजार राहत वापत रकम वितरण गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसवर्ष खाद्यान्न बालीतर्फ १३८ जना र पशुधनतर्फ ४ जना किसानहरुले राहत पाउने भएका छन ।
    वन कार्यालयले राहत सिफारिस समितिको सिफारिसको आधारमा राहत वितरण गर्दै आएको खनालले बताउनुभयो । यसवर्ष जंगली बँडेलले मकैलगायत तरकारी बाली नष्ट गरेको र चितुवाले खसी बाख्रा मारेको भनी प्राप्त सिफारिसको आधारमा राहत वितरण गर्न लागेको उहाँले बताउनुभयो ।
    वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, ध्वाँसे चितुवा, ब्वासो, जंगली कुकुर, जंगली बँडेल, अर्ना, मगरगोही, अजिंगर र गौरीगाईले बाली वा पशुधन तथा मानवको क्षति गरेमा क्षतिपुर्ती पाउने व्यवस्था गरेको छ ।
    निर्देशिकाले मानवीय क्षति भएमा घाईतेलाई १० हजारदेखी २ लाखसम्म र मृत्यु हुनेलाई १० लाख राहत दिने व्यवस्था गरेको छ । त्यस्तै पशुधनतर्फ गाई भैंसीको हकमा बढीमा ३० हजार अन्यको हकमा १० सम्म राहत दिने व्यवस्था छ । खाद्यान्न बालीतर्फ क्षतिको अवस्था हेरी बढीमा १० हजारसम्म राहत दिने व्यवस्था रहेको छ ।
    वन कार्यालयले स्थानीय तहको सिफारिस, प्रहरी प्रतिवेदन, सामुदायिक वन उपभोक्ता समितिको सिफारिस, पशू सेवा र कृषि सेवा सम्बन्धी प्राविधिकको मूल्यांकन प्रतिवेदनको आधारमा राहत दिने व्यवस्था छ ।

  • युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश

    युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश

    भक्तपुर, असार २३
    इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा स्पेनलाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
    निर्धारित ९० मिनेटको समय र थप गरिएको ३० मिनेटमा पनि एक एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको हो ।
    ट्राइब्रेकरमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
    ट्राइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।
    इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती नगरी गोल गरेर खेल २–२ को बराबरी गरे । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार इटालियन किपर डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे । इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।


    ट्राइब्रेकरमा जानु अघि दुबै टोलीले निर्धारित समयको पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा स्पेनले बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेको थिएन । इटालीले भने पहिलो हाफको अन्त्यतिर अग्रता लिने अवसर चुकाएको थियो । एमर्सनको प्रहार पोस्टमा लागेर बाहिरिंदा टोली अघि बढ्नबाट बन्चित भएको थियो । उनले इन्सिगनेको पासमा गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टमा लाग्दै बाहिरियो ।
    दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।
    तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।
    निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९८ औं मिनेटमा डोनारुम्माले सुन्दर बचाउ गर्दै स्पेनलाई अघि बढ्न दिएनन् । उनले ओल्मोको प्रहारलाई विफल पारेपछि रिबाउन्डमा भने इटालियन डिफेन्सले क्लियर गर्यो ।


    यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
    इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

  • उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

    उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

    भक्तपुर, असार २१
    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
    नयाँ व्यवस्था अनुसार मंगलवारबाट नीजि तथा सवारी साधन सञ्चालनमा लगाएको जोर बिजोर प्रणाली खारेज गरिएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु चढाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।
    यात्रुहरुले अनिर्वाय मास्क लगाउनुपर्ने, मास्क नलगाएका यात्रुलाई चढाउन नपाईने, चालक र सहचालकले अनिर्वाय मास्क, पञ्जा र भाइजर लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिर्वायरुपमा सवारी साधन दैनिकरुपमा निसंक्रमित गर्नुपर्ने व्यवस्था गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जारी सूचनामा उल्लेख गरिएको छ ।
    त्यसैगरी स्थानीय ढुवानी बिहान ९ बजेदेखी ११ बजेसम्म र बेलुकी ४ बजेदेखी ७ बजेसम्म सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक कामको लागि काठमाण्डौं उपत्यका प्रवेश गर्नेहरुको हकमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा लामो, मध्यम तथा छोटो दुरीका नीजि र सार्वजनिक सवारी साधनहरु प्रवेश गर्ने दिनेभएको छ ।
    औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने र अन्य पसलहरुको हकमा भने साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा एक पटकमा बढीमा २५ जना सहभागी गराउने र पहिलो समूह परीक्षा हलबाट पुर्णरुपमा बाहिर गएपछि मात्र अर्को समूह भित्र प्रवेश गर्ने गरी तालिका मिलाउनु पर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जारी सूचनामा उल्लेख छ ।
    होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । गोष्ठी, सेमिनार, तालिम, बैठक सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितीमा गर्नुपर्ने भए बढीमा २५ जना सहभागी हुने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    आदेशमा सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, शैक्षिक संघ संस्था, डान्सबार, दोहरी, नाचघर, क्लव, पौडी पोखरी, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।
    त्यस्तै खुल्ला स्थानमा मानिस भेला भई सभा सम्मेलन, जुलुश, भोजभतेर, जात्रा, महोत्सव गर्न पनि निषेध गरिएको छ । विवाह तथा व्रतबन्ध जस्ता सामुहिक कार्य पार्टी प्यालेसमा गर्न, पुजारीबाट हुने नित्यपुजा बाहेक धार्मिक गतिविधि गर्न निषेध गरिएको छ ।

  • माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने

    माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने

    भक्तपुर, असार २१
    बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि विद्युत उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न लागेको हो । पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।
    आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । त्यसका लागि आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
    तामाकोशीको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोड्का लागि जिआइएस समेत चार्ज गरिएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।
    आयोजनाले असार मसान्तभित्रै अर्को एक युनिट सञ्चालनमा ल्याउने तयारी समेत गरेको जनाएको छ । आयोजनामा कुल ६ युनिट रहेका छन् ।
    आयोजनाको शुरुआती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँ हाराहारी पुगेको छ । आयोजना तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको थियो ।
    आयोजनाको सोमवार साँझ ४ बजे प्रधानमन्त्री के पी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसको सम्पूर्ण तयारी पुरा भएको छ ।
    तामाकोशी पूर्णतया नेपाली लगानीमा तयार भएको सबैभन्दा ठूलोे आयोजना हो । यसको निर्माण करिव १० वर्ष अघि शुरु भएको हो । यसमा लगानी जुटाउन दोलाखा जिल्लाका सबै नागरिकलाई शेयर वितरण गरेको थियो ।

  • सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला

    सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला

    भक्तपुर, असार २०
    भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको पुरुषको शव घाँटी र चिलाउनेको रुखमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको अवस्था फेला परेको हो ।
    प्रहरीका अनुसार रुखको हाँगा भाँच्चिएर भुईमा झरेको छ । शव सड्न र गल्न थालेको कम्तिमा चार पाँच दिन अघि झुण्डिएर मृत्यु हुन सक्ने महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
    अन्दाजी ४० वर्षिय ती पुरुषको पहिचान खुल्न सकेको छैन । प्रहरीले शवलाई पोष्टमार्तमका लागि के एम सी अस्पताल दुवाकोट पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु

    निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु

    भक्तपुर, असार २०
    मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको भ¥याङबाट अचानक खसेर सोही घरमा काम गर्न र रेखदेख गर्न भनी बसेकी सिन्धुली दुधौलीकी ३० वर्षिया लिला सदाको घटनास्थलमा नै मृत्यु भएको हो ।
    मृतक लिला पति रामकुमार सदा र छोरीसहित सो घरमा बस्दै आएका थिए । शनिवार बेलुकाको खाना खाएर लिला छतमा सुत्न जान्छु भनी गएका थिए । घरको भ¥याङमा रेलिङ नभएको र अचानक खसेर उनी भुईंतल्लामा बजारिन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
    प्रहरीले मृतकको शब पोष्टमार्तमका लागि के एम सी अस्पताल दुवकोट पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • युरोकप २०२० – शानदार जितसँगै इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा

    युरोकप २०२० – शानदार जितसँगै इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा

    भक्तपुर, असार २०
    कप्तान ह्यारी केनको दुई गोल मद्दतले इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।
    इटालीको रोममा आइतवार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई जित दिलाउन कप्तान केनले दुई तथा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।
    केनले खेलको शुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे ।
    इंग्ल्यान्डले दोस्रो हाफको पहिलो मिनेटमा अग्रता दोब्बर पारे । खेलको ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरे ।


    खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को अग्रता दिलाए । उनले शकै पासमा हेडमार्फत गोल गरे । त्यसपछि युक्रेनले रक्षात्मक खेल खेल्न थाल्यो । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हेन्डरसनले खेलको ६३ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए । राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
    इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कसँग प्रतिष्पर्धा गर्नेछ । डेनमार्क चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।


    चेकविरुद्ध डेनमार्कले पनि खेलको शुरुवातमै अग्रता लिएको थियो । खेलको ५ औं मिनेटमा थोमस डेलानेले हेडरमार्फत गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले उत्कृष्ट हेडर गोल गरे ।
    त्यसपछि खेलको ४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।


    दोस्रो हाफको शुरुवातमा नै चेकले गोल फर्काउँदै खेललाई थप रोमाञ्चक बनाए । चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरे ।
    दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन ।

  • युरोकप २०२० – डेनमार्कलाई चेक रिपब्लिक विरुद्ध २–० को अग्रता

    युरोकप २०२० – डेनमार्कलाई चेक रिपब्लिक विरुद्ध २–० को अग्रता

    भक्तपुर, असार १९
    युरोकप २०२० अन्तर्गत बाकुमा जारी तेस्रो क्वाटरफाइनलको पहिलो हापमा डेनमार्कले चेक रिपब्लिक विरुद्ध २–० को अग्रता लिएको छ ।
    खेलमा डेनमार्कले ५ औं मिनेटमा अग्रता लिएको हो । थोमस डेलानेले हेडरमार्फत गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले उत्कृष्ट हेडर गोल गरे ।


    त्यसपछि खेलको ४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।
    चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २–० गोलको जित निकालेको थियो । डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।

  • एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव

    एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव

    भक्तपुर, असार १९
    नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा नेता महेश बस्नेतले संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेता बस्नेतले बैठकमा ८ बुँदे प्रस्ताव पेश गर्दै संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने बताउनुभएको हो ।
    नेता बस्नेतको प्रस्तावमा मुलुकको विशिष्ट पहिचान घोषणा गर्ने, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने, दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था गर्नुपर्ने, पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
    उहाँले पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन, विधान र चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गर्नुभएको छ ।
    यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । तर प्रधानमन्त्री के पी शर्मा ओलीका विश्वासपात्र बस्नेतले पार्टीकै बैठकमा यसलाई प्रवेश गराउनुले एमाले संस्थानपक्ष संघियता र धर्म निरपेक्षताबारे समिक्षा गर्न चाहेको हो की भन्ने सन्देश गएको छ ।

     

  • धादिङ जवाङ खोला पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु

    धादिङ जवाङ खोला पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु

    भक्तपुर, असार १९
    धादिङको जवाङ खोलामा आएको पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी छन ।
    प्रजा सोही ट्रकमा मृत फेला परेका थिए भने सोनीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा आएको पहिरोले बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पी एन २८ ए ए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।