Blog

  • घरमै बसी बसी रेष्टुरेन्टको स्वाद लिन लस्कर फुड्स

    घरमै बसी बसी रेष्टुरेन्टको स्वाद लिन लस्कर फुड्स

    भक्तपुर, असार २७
    तपाईं घरमै बसी बसी रेष्टुरेन्टको मज्जा लिन चाहनुहुन्छ भने काठमाण्डौंमा अर्को अजलाइन फुड डेलिभरी सेवा सञ्चालनमा आएको छ । लस्कर फुड्सले सेवा शुरु गरेसँगै काठमाण्डौंमा थप अर्को अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा आएको हो ।
    लस्कर फुड्सको काठमाण्डौंका विभिन्न स्थानमा आफ्नै भान्सा रहेको र सो भान्साबाट ग्राहकले अर्डर गरेको खाना तोकिएको समयभित्र ताजा र स्वस्थकर खाना डेलिभरी दिने व्यवस्था भएको लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले जानकारी दिनुभयो ।
    भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति भई खानाका विभिन्न परिकारको स्वाद लिन असमर्थ उपभोक्ताहरुलाई लक्षित गरी लस्कर फुड्स सञ्चालनमा ल्याएको ओस्तीले बताउनुभयो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । ‘गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ,’ ओस्तीले भन्नुभयो ।
    बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीको दावी रहेको छ । लस्कर फुड्सले ग्राहकलाई विभिन्न अफर पनि प्रदान गरेको छ । सेवा शुरुवात भएको अवसरमा लस्कर फुड्सले निःशुल्क डेलिभरी, दुईमा एक फ्रि विरियानी अफर अघि सारेको ओस्तीले बताउनुभयो ।
    प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिनुभयो । लस्कर फुड्सले ठमेल पकनाजोलमा रहेको कार्यालयको नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ मा सम्पर्क गरेर वा लस्कर फुड्सको एपबाट खानाको अर्डर दिन सकिने व्यवस्था गरेको छ ।

  • कोपा अमेरिका कप ः ब्राजिललाई हराउँदैं अर्जेन्टिनाले जित्यो उपाधी

    भक्तपुर, असार २७
    विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले कोपा अमेरिका कप २०२१ को उपाधी जितेको छ । ब्राजिलमा आइतवार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।
    अर्जेन्टिनाले कोपाको उपाधी सन् १९९३ पछि पहिलो पटक जितेको हो । अर्जेन्टिनाले कोपाको उपाधी जितेको यो १५ औं पटक हो । स्टार खेलाडी मेसीको लागि भने यो अर्जेन्टिनाको लागि पहिलो उपाधी हो ।
    अर्जेन्टिनालाई उपाधी जिताउन मारियाले खेलको २२ औं मिनेटमा गोल गरेका थिए । उनले रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।
    निकै प्रतिस्पर्धात्मक खेलको ब्राजिलले आक्रमक शुरुवात गरेपनि गोल भने गर्न सकेन । खेलको १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिललाई अघि बढ्न रोकेका थिए ।
    त्यस्तै पहिलो हापको २९ औं मिनेटमा ब्राजिलका लागि खतरा बनेका डी मारियालाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए ।
    अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गरेका थिए । अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको थियो । उनलाई लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिएका थिए ।

  • सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

    सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

    भक्तपुर, असार २६
    सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने र आर्थिक समृद्धि तथा आत्मनिर्भरतर्फ उन्मुख हुने बताईएको छ ।
    राष्ट्रिय सञ्चार केन्द्रले शनिवार आयोजित सूर्यविनायक नगरपालिकाको पर्यटन विकास, सेवा प्रवाह र सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रियामा सहभागीहरुले पर्यटनको विकासका लागि ठोस योजना र रणनीति निर्माण गर्न समेत सुझाव दिए ।
    सूर्यविनायक नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले ऐतिहासिक रानीकोट गढीको संरक्षण, नीजि क्षेत्रको सहकार्यमा जीपलाईन सञ्चालन, धार्मिक पर्यटनको लागि शिव सर्किटको गुरुयोजना निर्माणलगायतका कार्य भएको जानकारी दिँदैं भविष्यमा नगरको मुख्य आयस्रोतको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।
    उहाँले जनप्रतिनिधिको रुपमा ४ वर्षमा नगरको पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दावी गर्नुभयो । उहाँले नगरपालिकाको योजनाहरु ९५ प्रतिशत सम्पन्न भएको र कोभिडका कारण केही बाँकी भएको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारका योजना ढिलोगरी सञ्चालन हुने परिपाटीले नगरपालिकाले असारे विकासको गुनासो सुन्नु परेको दुःखेसो समेत पोख्नु भयो । उहाँले भन्नुभयो, ‘नगरका योजना समयमा सम्पन्न भएका छन । असारे विकास गर्ने हाम्रो उद्देश्य छैन । तर केन्द्र र प्रदेश सरकारको योजनाले जनतामा असारे विकासको सन्देश गएको छ । यसको दोष नगरपालिकाले खेप्नुपरेको छ ।’
    सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले नगरपालिकाले महिला, बालबालिका, दलित तथा उत्पिडनमा परेका र ज्येष्ठ नागरिकको हितमा उल्लेख्य कार्य गरेको चर्चा गर्दै भक्तपुर नगरको अवलोकनका लागि आउने पर्यटनलाई सूर्यविनायक पनि आउने वातावरण बनाउने नगरपालिका लागि परेको बताउनुभयो ।
    कार्यक्रममा वडा नं. ८ का अध्यक्ष किरण थापाले नगरका ११ वटा प्रमुख शिवमन्दिरलाई समावेश गरी शिव सर्किटको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको, पर्यटनको विकासका लागि आवश्यक पुर्वाधारहरुको विकास गरिएको, सूर्यविनायकमा निर्माणाधिन प्राणी उद्यान, सिपाडोलमा नीजि क्षेत्रले विकास गरेको विकसित घडेरीसहितको प्लानिङलगायतले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गर्नुभयो । उहाँले नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यविधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । नगरपालिकाले हालसम्म १ करोड भन्दा माथिका ४४ वटा, ३० लाख भन्दा माथिका ८२ वटा र ५ लाखदेखि माथिका ७८६ वटा गरी जम्मा ९१२ वटा आयोजना सम्पन्न हुने अवस्थामा रहेको केसीले जानकारी दिनुभयो ।
    कार्यक्रममा गोरखापत्र दैनिकका सम्पादक जुनार बस्नेतले सूर्यविनायक नगरपालिकाको पर्यटनको सम्भावनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नगरपालिकाले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्नेमा जोड दिनुभयो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले पत्रकारहरुले पनि आफ्नो भूमिकाको बारेमा सिंहालोकन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार समाजका ऐना भएको चर्चा गर्दै पत्रकारले गर्ने गतिविधिले समाजलाई परिवर्तनको दिशामा अग्रसर बनाउनुपर्ने बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगत प्रजापतिले पर्यटनसँग स्थानीय उत्पादनलाई जोड्न सके नगरभित्र रोजगारी सृजना हुने, स्थानीय उत्पादनमा बृद्धि हुने र नगर आर्थिकरुपमा समृद्ध हुने बताउनुभयो । उहाँले यहाँको पर्यटनको विकासका लागि होटल व्यवसायीहरुसँगको साझेदारीमा विभिन्न प्याकेज कार्यक्रम बनाउनु पर्ने सुझाव दिनुभयो ।
    केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकी, सचिव संजीप घिमिरे, सहसचिव हेमराज ढकाल, पत्रकारहरु हरिसुन्दर छुंका, लोकेन्द्र भट्ट, सुदर्शन अर्याललगायतले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

  • नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने

    नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने

    भक्तपुर, असार २६
    अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले शुक्रवार ट्विटर र दुतावासको आधिकारिक फेसबुक मार्फत सो जानकारी दिएको हो ।
    आउँदा केही दिनमा अमेरिकाले १५ लाख भन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैंछ, राजदुत बेरीले भनेका छन, नेपाल अमेरिका साझेदारी ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

  • सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा

    सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा

    भक्तपुर, असार २५
    प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार सम्बन्धी रिटमा दिनुभएको जवाफलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहंकारको जगमा उभिएको जवाफको संज्ञा दिनुभएको छ ।
    संविधानको व्यख्याता सर्वोच्च अदालत भएको बताउँदैं प्रवक्ता शर्माले संविधानको व्याख्या गर्ने अदालतको आदेशलाई संविधान विपरित भन्नु अहंकारीपनको संज्ञा दिनुभएको हो ।
    उहाँले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो । ‘प्रधानमन्त्रीजीले अदालतलाई अहंकारको जगमा उभिएर जवाफ दिनुभयो । अदालतले चाँहि संविधानको जगमा उभिएर सन्देश दिएको छ,’ शर्माले भन्नुभयो, ‘त्यसकारण संविधान, कानुन, मानवीय कोणबाट समाजलाई हेरिराखेर संवैधानिक इजलासबाट संविधानलाई पुनर्जीवन दिने फैसला आउने आशा र विश्वासमा हामी छौ ।’
    प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा सर्वोच्च अदालतमा परेको मुद्दाको सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ दिँदै आदेश संविधान विपरित भएको बताउनुभएको थियो ।
    सर्वोच्च अदालतलाई दिएको जवाफ जस्तै प्रधानमन्त्री ओलीका भ्रमपूर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भईरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले न्यायालयको आदेशलाई सबैले मान्नुपर्ने बताउनुभयो ।
    संविधानको धारा ७६ (५) मा भएको व्यवस्था पार्टीले जोगाउन नसके सांसदले संसद जोगाउन सक्ने व्यवस्था भएको वकालत गर्दा कतिपयले नेपाली कांग्रेस पार्टी निर्दलीयताको अभ्यासमा जान खोजेको टिप्पणी भएको भन्दै उहाँले त्यसबारे लाञ्छित गर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

  • सरकारी गाडीमा यौनजन्य गतिविधि गर्ने तीन जना पक्राउ

    सरकारी गाडीमा यौनजन्य गतिविधि गर्ने तीन जना पक्राउ

    भक्तपुर, असार २४
    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा जाने सडकमा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् ।
    प्रहरी स्रोतका अनुसार बुधवार राती गस्तीमा गएको टोलीले सडक किनारामा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको सरकारी गाडीमा जाँच गर्नेक्रममा गाडीभित्र यौनजन्य गतिविधि गरिरहेको अवस्थामा चालक खत्री र महिलालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले चालक खत्रीलाई जंगलबाट पक्राउ गरिएको बताईएको छ । प्रहरी देख्ने बित्तिकै खत्री जंगलतर्फ भागेपछि प्रहरीले पिछा गरी पक्राउ गरेको हो ।
    प्रहरीका अनुसार गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको छ । प्रहरीले कार्कीलाई बिहीबार पक्राउ गरेको स्रोतले बताए । बुधवार राती फरार भएका कार्की चालक खत्रीका नातेदार भएको बताईएको छ ।
    प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ बमोजिम सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलाप गर्न नहुने महल (१) नम्बरको कसुरमा कारवाही प्रक्रिया शुरु गरिएको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • थिमिको साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    थिमिको साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    भक्तपुर, असार २४
    अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि–३, चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको बा ९३ प ९६५२ नं. मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया पट्टिको रेलिङमा ठोक्किँदा संखुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षिय प्रकाश भट्टराईको मृत्यु भएको हो ।
    साँझ साढे ६ बजे भएको उक्त दुर्घटनामा घाईते भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । भट्टराईको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

  • मन्त्रिपरिषद बिस्तारमा रोक लगाउनु असंवैधानिक – प्रधानमन्त्री ओली

    मन्त्रिपरिषद बिस्तारमा रोक लगाउनु असंवैधानिक – प्रधानमन्त्री ओली

    भक्तपुर, असार २४
    मन्त्रिपरिषद बिस्तार सम्बन्धी परेको रिटमा प्रधानमन्त्री के पी शर्मा ओलीले सर्वोच्च अदालतलाई बिहिवार जवाफ दिनुभएको छ । जवाफमा उहाँले मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताउनुभएको छ ।
    उहाँले सर्वोच्चको आदेशले कार्यपालिकाको प्रभावकारितामा नै असर परेको र सो आदेश संविधान विपरीत भएको दावी समेत गर्नुभएको छ । मुलुकको शासन व्यवस्थाको सञ्चालन कार्यकारीले गर्नुपर्ने र त्यस्तो काममा हुने समस्याको समाधान कार्यकारीले नै गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद थप घट गर्न रोक लगाउन नहुने जिकिर समेत गर्नुभएको छ ।
    ‘कुनै कारण कुनै मन्त्रीलाई दैवी परेको अवस्थामा समेत अर्को मन्त्री नियुक्त हुन नसक्ने अवस्था सिर्जना भई कार्यपालिकाको प्रभावकारितामा नै असर पर्छ, यस्ता दावीलाई असाधारण क्षेत्राधिकार ग्रहण गरी जारी आदेश आफैंमा संविधान विपरीत छ’ उनले लिखित जवाफमा भनेका छन् ।
    प्रधानमन्त्री ओलीले संविधानको धारा ८७ ले मन्त्रिहरुको योग्यता निर्धारण गरेको, मन्त्रीहरुको संख्या २५ जना भन्दा बढी हुन नहुने, समावेशी सिद्धान्त कायम गर्ने तथा संसदको सदस्य नभएमा मन्त्रीको हकमा ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने बाध्यात्मक व्यवस्था बाहेक अन्य कुनै किसिमको नियन्त्रण नभएको दावी गर्नुभएको छ ।
    प्रधानमन्त्रीले सर्वोच्च अदालतले दिएको आदेश नेपालको संविधान, संवैधानिक कानुन तथा नेपालले अंगीकार गरेको कार्यकारिणी प्रमुख प्रधानमन्त्रीय पद्धति विपरीत भएको पनि गर्दै आफूलाई सहज हुने कार्य फर्छ्यौट गर्न सक्ने व्यक्तिलाई मन्त्रीमा नियुक्तिको लागि सिफारिस गर्ने कार्य र अधिकार प्रधानमन्त्री हुने बताउनुभएको छ ।
    जेठ ७ गते संसद विघटन गरेका प्रधानमन्त्री ओलीले जेठ २१ र २७ मा मन्त्रिपरिषद पुनर्गठन गरी मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाउनुभएको थियो ।

    तर प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री कामचलाउ बनिसकेको अवस्थामा पुनः मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले बिस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई कार्यसम्पादन नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।
    सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री कामचलाउ भएको पनि उल्लेख गरेको थियो । सर्वोच्चको आदेशपछि दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका थिए ।

  • युरोकप २०२० – इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा प्रवेश

    युरोकप २०२० – इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा प्रवेश

    भक्तपुर, असार २४
    इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । लन्डनको वेम्बलीमा बिहिवार बिहान सम्पन्न खेलमा इंग्ल्यान्ड डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । गर्दै ५५ वर्षपछि युरोकपको फाइनलमा प्रवेश गरेको हो ।
    युरोकपको इतिहासमा एकपछि अर्को किर्तिमान गर्दै अघि बढेको इंग्ल्यान्डलाई फाइनलमा पु¥याउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । खेलको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जितका साथ उपाधी नजिक पु¥याएका हुन ।


    उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।
    यसअघि खेलको ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले डि बक्सको ठिक बाहिरबाट फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।


    इंग्ल्यान्डले खेलको ३९ औं मिनेटमा आत्माघाती गोलबाट बराबरी गरे । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।
    दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पु¥याए ।


    इंग्ल्यान्डले युरोकपको पहिलो खेलमा क्रोएसियालाई हराउँदैं ठूला प्रतियोगितामा पहिलो पटक विजयी शुरुवात गरेको थियो भने ठूलो प्रतियोगिताको पहिलो खेलमा नहार्ने क्रोएसियाको इतिहासलाई भंग गरेको थियो । त्यस्तै जर्मनीलाई पराजित गर्ने क्रममा इंग्ल्यान्डले पहिलो पटक नकआउट चरणमा जर्मनी विरुद्ध जित किर्तिमान बनाएको थियो ।
    अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

  • कोपा अमेरिका कप – इमिलियानोको उत्कृष्ट बचाउसँगै अर्जेन्टिना फाइनलमा

    कोपा अमेरिका कप – इमिलियानोको उत्कृष्ट बचाउसँगै अर्जेन्टिना फाइनलमा

    भक्तपुर, असार २३
    टाईब्रेकरमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको बुधवार बिहान सम्पन्न खेलमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना कोलम्बियालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
    टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए । कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो ।
    टाईब्रेकरमा पहिलो पेनाल्टी कोलम्वियाका जुआन कोर्डाडोले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेर खेल बराबरीमा ल्याए । डाभिन्सन सान्चेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदै कोलम्बियालाई अग्रता लिनबाट बञ्चित गरे । अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएपछि खेल पुनः बराबरी भयो ।


    यारी मिनाको प्रहारलाई पनि मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्वियाको सम्भावना जीवित राखेको थियो । लोउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्वियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजेले विफल पार्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याए ।
    यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । तर, ६१ औं मिनेटमा लुइस डियाजको गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।


    निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । कोपा अमेरिका कपमा निर्धारित समयमा खेल बराबरीमा सकिए सिधै टाईब्रेकरमा खेलको निर्णय गर्ने नियम रहेको छ । सो अनुसार भएको टाईब्रेकरमा अर्जेन्टिना ३–२ ले विजयी भयो ।
    अर्जेन्टिनाले अब उपाधिका लागि ११ जुलाईमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग फाइनल खेल्न लागेको हो । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।