Blog

  • सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

    सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

    भक्तपुर, असार २८
    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ ।
    फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सर्वोच्चले लोकतन्त्र र नेपालको संविधानको रक्षा गरेको बताउनुभयो । सर्वोच्चले प्रधानमन्त्री के पी शर्मा ओलीको एक पछि अर्को स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक कदमलाई ब्रेक लगाएको थापाको टिप्पणी थियो ।
    सर्वोच्चले संवैधानिक सर्वोच्चता कायम गरेको भन्दै उहाँले सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत संविधान, कानुनको अन्तिम व्याख्यता हो । उसको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु सरह हो ।’
    यसैबीच संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशको स्वागतमा नेपाल तरुण दल भक्तपुरले आजै (सोमवार) साँझ ६ बजे भक्तपुरको टौमढीस्थित ङातापोल्हँ (पाँच तल्ले) मन्दिर परिसरमा दिप प्रज्वलन गर्ने भएको छ ।

  • सर्वोच्चद्धारा प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियक्त गर्न परमादेश जारी

    सर्वोच्चद्धारा प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियक्त गर्न परमादेश जारी

    भक्तपुर, असार २८
    सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरात गरेको प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त कदम असंवैधानिक भएको ठहर गर्दै बदर गरेको हो ।
    त्यस्तै सर्वोच्चले असार २९ गते ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) मा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भनी गरेको निर्णय सर्वोच्चले बदर गर्दै असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।


    संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ । ७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) अनुसार प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।
    संविधानको धारा ७६ (३) अनुसार बैशाख ३० गते प्रधानमन्त्री नियक्त भएका ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था विपरित संसदबाट विश्वासको मत पाउने अवस्था नभएको भन्दै राष्ट्रपति समक्ष धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया थाल्न सिफारिस गर्नुभएको थियो । उहाँले राजीनामा नदिई मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्री नियक्ति गर्न सिफारिस गर्नुभएको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल २४ घण्टाको समयसिमा तोकेर धारा ७६ (५)को प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दावी परेको थियो । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए । ओलीले एमाले र जसपाको समर्थन आफूलाई भएको दाबी गरेका थिए । उनले आफूसँगै जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको हस्ताक्षर बुझाएका थिए ।
    राष्ट्रपति भण्डारीले देउवा र ओली दुवैको दावी नपुगेको र नयाँ प्रधानमन्त्री नियुक्त हुन नसकेको निर्णय सार्वजनिक गरे लगत्तै जेठ ७ गते मध्यराती ओलीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मंसिर ४ गते मध्यावधी निर्वाचन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन घोषणा गर्नुभएको थियो ।
    सर्वोच्चले धारा ७६ (५)को प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ह्वीप नलाग्ने फैसला समेत गरेको छ । धारा ७६ (५)को व्याख्या गरी संवैधानिक इजलासले धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।
    सर्वोच्चको फैसला अनुसार अब देउवालाई समर्थन गर्ने एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले संसदमा देउवालाई विश्वासको मत दिन चाहे एमाले संसदीय दलको ह्वीप नलाग्ने भएको छ ।

  • अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

    अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

    भक्तपुर, असार २८
    अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाण्डौं आई पुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको हो । खोप लिएर कतार एअरवेजको जहाज काठमाण्डौं आई पुगेको हो ।
    खोप नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    जोन्सनको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ । यो खोप कुन उमेर समूहका लाई दिने भन्ने बारे मन्त्रालयले निर्णय गरिसकेको छैन ।

  • सहमतिको व्याख्यालाई लिएर एमालेमा नयाँ विवाद

    सहमतिको व्याख्यालाई लिएर एमालेमा नयाँ विवाद

    भक्तपुर, असार २८
    नेकपा एमालेमा सहमतिको मसी सुक्न नपाउँदैं सहमतिको व्याख्यालाई लिएर अर्को विवाद शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सहमतिको मर्म विपरित सर्वोच्च अदालतमा विचाराधिन संसद विघटन विरुद्धको रिटलाई प्रभाव पार्नेगरी व्याख्या गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध जनाएका छन ।
    थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवको साथमा अब निवर्तमान सांसदहरु १२३ जना मात्र बाँकी रहेको प्रतिक्रिया दिएका थिए । उहाँले नेकपा एमालेका दुई समूहबीचको सहमति सार्वजनिक नहुँदैं फेसबुकमा ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरु अब १४६–२३=१२३ मात्र । सर्वोच्चद्धारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’ भनी प्रतिक्रिया दिएका थिए ।
    उनको प्रतिक्रियापछि वरिष्ठ नेता नेपालले पनि फेसबुकमार्फत नै त्यसको प्रतिवाद गर्नुभएको छ । नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको व्याख्या मान्य नहुने प्रतिक्रिया दिनुभएको छ । उहाँले एमालेका २३ जना सांसदहरु सबै एकैसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पारेका छन ।
    उहाँले लेख्नुभएको छ, ‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्विकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको व्याख्या मान्य नहुने स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेको नेकपा (एमाले)का २३ जना सांसदहरु सबै एकैसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पार्दछु ।’

  • नेकपा एमालेमा विवाद समाधान गरी पार्टी एकताका लागि १० बुँदे सहमति

    नेकपा एमालेमा विवाद समाधान गरी पार्टी एकताका लागि १० बुँदे सहमति

    भक्तपुर, असार २८
    लामो समयदेखी आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा एमालेका दुई समूहबीच आइतवार राती १० बुँदें सहमति भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के पी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदें सहमति जुटाएको हो । उक्त सहमतिलाई सोमवार बस्ने स्थायी समितिको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
    सहमतिमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख गरिएको छ ।
    संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो मुद्दामा दुवै पक्षको बहश सकिएको र सुनुवाईको लागि सोमवार पेशी तोकिएको छ । सम्भवतः फैसला पनि आउन सक्छ ।
    त्यसको अघिल्लो दिन एमालेमा भएको सहमतिले मुद्दाको सुनुवाईमा प्रभाव पार्ने अड्कल काटिएको छ । ओली पक्षले सो मुद्दामा नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने माग गर्दै आएका थिए भने माधव नेपाल पक्षले कुनैपनि हालतमा विपक्षी गठबन्धनलाई धोका नदिने बताउँदैं आएको थियो । सो विषयमा कार्यदलले पार्टी एकताको भावनाअनुसार संस्थागत निर्णय गर्ने बताएको छ ।
    सहमतिपत्रमा पार्टी भित्रको आन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्ने उल्लेख गरिएको छ । पार्टीमा सबै तहका कमिटि, निकाय र जनसंगठन पार्टीको नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम २०७५ जेठ २ को संगठनात्मक अवस्थाबाट क्रियाशिल बनाउने र जेठ ३ गते नेकपा एमालेमा थपिएका केन्द्रीय सदस्यहरुलाई पनि मान्यता दिने सहमति भएको छ ।
    त्यस्तै २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पार्टी वैधानिक व्यवस्थासँग मेल नखाने सबै निर्णय खारेज हुने सहमति भएको छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् ।’
    तर २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमालेमा आएका माओवादी नेताहरुलाई स्वागत गर्दै नेकपामा जुन कमिटीमा थियो, त्यही कमिटीको जिम्मेवारी दिने सहमति भएको छ । ‘अन्य कमरेडहरुलाई उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ’ कार्यदलले गरेको १०बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ । कार्यदलले केन्द्रीय कमिटीको आकार बढाउने सहमति पनि जुटाएको छ । हाल कायम रहेको केन्द्रीय कमिटीको १० प्रतिशतमा नबढ्ने गरी मनोनित गर्ने सहमति छ ।
    सहमति अनुमोदन गर्न यथाशीघ्र विधान महाधिवेशन आयोजना गर्ने समझदारी समेत बनेको छ । पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।
    सहमति पत्रमा पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गर्ने उल्लेख गर्दै यसका लागि एकतावद्ध भई आ–आफूनो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न पार्टी पंक्तिलाई आव्हान गरिएको छ ।

  • युरोकप २०२० – इंग्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो च्याम्पियन

    युरोकप २०२० – इंग्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो च्याम्पियन

    भक्तपुर, असार २८
    इंग्ल्यान्डलाई उसैको मैदानमा पराजित गर्दै इटाली युरोपियन च्याम्पियन बनेको छ । लन्डनको वेम्बली स्टेडियममा सोमवार बिहान सम्पन्न युरोकप २०२० को फाइनलमा इटाली टाईब्रेकरमा इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेको हो ।
    टाईब्रेकरमा इंग्ल्यान्डका तीन खेलाडीले गोल गर्न इटाली युरोपियन च्याम्पियन बनेको हो । इटालीले सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधी उचालेको हो । इटालीले पछिल्लो पटक सन् १९६८ मा पुनः खेलाईएको फाइनलमा युगोस्लाभियालाई २–० ले पराजित गर्दै युरोकप जितेको थियो । अतिरिक्त समयमा लम्बिएको पहिलो फाइनल १–१ को बराबरीमा सकिएपछि पुनः खेलाईएको थियो ।


    पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्डलाई उपाधीबाट विमुख बनाउन मार्कुस राषफोर्ड खलनायक बने । पेनाल्टीमा उनको प्रहार पोष्टमा लागेर फर्किँदा इंग्ल्यान्ड हारको आधार बनेको थियो ।
    इटालीलाई ५२ वर्ष पछि युरोपियन च्याम्पियन बनाउन टाईब्रेकरमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।
    इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।


    यसअघि निर्धारित ९० मिनेटको समय १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा शुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो । खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।
    तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।


    टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।
    तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गरे । जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३–२ को जित दर्ता गर्दै उपाधि जित्यो ।

  • व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

    व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

    भक्तपुर, असार २७
    भक्तपुरका व्यवसायीहरुलाई अनलाइनमार्फत कर विवरण दाखिला गर्ने तालिम प्रदान गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा व्यवसायीहरुलाई अनलाईन कर विवरण दाखिला सम्बन्धी तालिम प्रदान गरिएको हो ।
    भच्र्युअल विधिबाट आयोजना भएको उक्त तालिममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गगन बहादुर विके र कार्यालयकै कम्प्युटर अपरेटर रुपक ढकालले अनलाईनबाट कर विवरण भर्ने तरिका र कर भुक्तानीका प्रक्रियाहरुका बारेमा तालिम प्रदान गर्नुभएको थियो ।
    सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे रत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरुबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने गरेकाले उहाँहरुलाई सहजीकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार रोशन भोयद्योले मौजूदा कोरोना संक्रमणको कारण भिडभाड गर्न नहुने अवस्थामा पनि आयोजक संस्थाहरुले समयानुकुल भच्र्यूअल प्रविधिबाट तालिमको आयोजना गरी उद्यमी व्यवसायीलाई सु–सुचित गराउन सक्नु प्रशंसनिय कार्य भएको बताउनुभयो ।
    भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजाले मौजुदा प्रविधि मैत्री अवस्थामा प्रविधिको उपयोग गर्न सिक्नु पर्नेमा जोड दिनुभयो । विभिन्न क्षेत्रका उद्यमी व्यवसायी र निकायका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त भच्र्युअल तालिममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष माधव प्रसाद प्रजापति र भक्तपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रदिप रत्न शाक्यले तालिमको आवश्यकता स्पष्ट पार्नुभएको थियो ।

  • ङातापोल्हँ मन्दिरको बुसाँदा सम्पन्न

    ङातापोल्हँ मन्दिरको बुसाँदा सम्पन्न

    भक्तपुर, असार २७
    विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर निर्माण आइतवार ३२० वर्ष पुरा भएको छ । सो अवसरमा ङातापोल्हँ मन्दिरको बुसाँदा गरिएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँको वर्षवर्धन पुजासँगै मन्दिरको गजुरमा नयाँ पतचाः (ध्वजा) फहराएर बुसाँदा गरिन्छ ।
    बुसाँदा गर्नु अघि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा तान्त्रिक पुजा गरी बोका वली दिइन्छ । पुजापछि सबै पुजारीहरुले समेबजी सेवनगरी पतचाःलाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरिन्छ ।


    मन्दिरमा पतचाः फहराउनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि जान नदिने परम्परा रहेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिर माथि गएर पतचाः फहराएको थियो । पतचाः राख्नको लागि चार जनाले गजुरको चार कुनामा बसेर बाँधेका थिए । करिव ३० फिट लामो हाँगा सहितको बाँसमा ६६ इन्च लम्वाई र ४४ इन्च चौडाईको कपडाको पतचाः फहराइएको थियो ।
    नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसाँदा पुजा शुरु गरी पतचाः फहराइएको इतिहास रहेको छ ।

  • आर्थिक वर्ष २०७८÷०७९ का लागि मध्यपुर थिमिको बजेट सर्वसम्मतले पारित

    आर्थिक वर्ष २०७८÷०७९ का लागि मध्यपुर थिमिको बजेट सर्वसम्मतले पारित

    भक्तपुर, असार २७
    मध्यपुर थिमि नगरपालिकाको पाँचौं नगरसभाको शुक्रवार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गर्नुभएको नगरपालिकाको १ अर्ब ९२ करोड ३४ लाख ४८ हजारसहित ३ अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैंयाको आय व्यय विवरण बजेट सर्वसम्मतले पारित गरेको छ । यसअघि नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको मध्यपुर थिमिको बजेट पनि सर्वसम्मतले पारित भएको हो ।
    नगरसभाले नगरपालिकाको एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनाको ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको ६५ करोड ९३ लाख ७६ हजार रकम समेत गरी तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट सर्वसहमतिले पारित गरेको नगरका प्रवक्ता राम थापा मगरले बताउनुभयो ।
    बजेटको चालु खर्चतर्फ २७ करोड ९१ लाख २२ हजार, वडागत योजना तथा कार्यक्रमको लागि २७ करोड ९ लाख, नगरस्तरीय सार्वजनिक निर्माण समेतका लागि ६५ करोड ५० लाख २ हजार रुपैयाँ विनियोजन गरेको छ ।
    क्रमागत आयोजनाकालागि १४ करोड ४५ लाख, संघीय हस्तान्तरित कार्यक्रमतर्फ २१ करोड ९० लाख, प्रदेश सर्सत अनुदान २ करोड ५४ लाख ९० हजार र प्रदेश समपुरक अनुदान तर्फ २ करोड २० लाख ३४ हजार, जि.स.स, सड़क बोर्ड समपुरक र म्याचिङ्ग अनुदानको लागि १५ करोड ७४ लाख विनियोजन गरिएको छ ।
    नगर सभाले खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक आय (मौज्दात समेत) बाट ८३ करोड ७१ लाख ८० हजार, राजस्व बाँडफाड संघिय र प्रदेशबाट ४० करोड ८१ लाख ५७ हजार, संघिय सरकारको समानीकरण अनुदानबाट २२ करोड ७७ लाख, समानिकरण प्रदेश सरकारबाट २ करोड ३ लाख ८७ हजार, सशर्त अनुदान तर्फ २१ करोड ९० लाख, स्थानीय तह बिशेष अनुदान १ करोड, नगद जनसहभागिता ३५ लाख, सामाजिक सुरक्षा वापत १५ करोड, सर्सत अनुदान चालु प्रदेश सरकार २ करोड ५४ लाख ९० हजार र अनुदान २ करोड २० लाख ३४ हजार रुपैयाँ व्यहोर्ने अनुमान गरिएको छ ।
    बजेटले स्वास्थ्यतर्फ वडा नं. २ र ३ मा स्वास्थ्य चौकी सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ । त्यस्तै एमआरआई, क्याथल्याव, सिटि स्क्यान मेसिन र ब्लड बैंक सञ्चालनका लागि १९ करोड, नेपाल कोरिया पुर्बाधार विकास १ करोड, कोभिड ब्यवस्थापन १ करोड, र जातिगालमा शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि ६० लाख विनियोजन गरेको छ ।
    शिक्षातर्फ महेन्द्र आधारभुत विद्यालय, जन आदर्श क्याम्पस र जनप्रेमी आधारभुत विद्यालयको भौतिक पुर्बाधार निर्माण ६५ लाख, र पुर्वाधार विकासमा ४० लाख विनियोजन गरेको छ ।
    खेलकुतर्फ सानो थिमि फुटबल मैदानका लागि १ करोड ७५ लाख, मध्यपुर युथ एशोसियसनको फुटबल कार्यक्रम सञ्चालनका लागि २० लाख, मध्यपुर कराते एकेडेमीलाई कार्यक्रम संचालन गर्न ५ लाख, खेलकुद बिकास तथा प्रतियोगिता सञ्चालन गर्न ४० लाख र लुखाफ्ल्चा कभर्ड हलका लागि ५० लाख विनियोजन गरेको छ ।
    कला संस्कृति तथा सम्पदा संरक्षणतर्फ स्थानीय चाडपर्ब पुजाआजा खर्च १० लाख, सिद्धिकाली परिसर–७५ लाख, बालकुमारी परिसर–७५ लाख, बोडे लायकु दरबार–५० लाख, भुलाख्य परिसर–५० लाख, भागु परिसर–७५ लाख, भिमसेन द्रौपदी महादेब मन्दिर परिसर–३०लाख, बिष्णुबीर परिसर–७५ लाख, सुर्यबिनायक परिसर—५० लाख, न्यागा छ्वासो परिसर–७५लाख, पाचो परिसर बोडे–६० लाख, पाटी बिहार परिसर–३० लाख, बप्पा परिसर–५० लाख, बहाखा महादेब परिसर–५० लाख, देब परिसर बोडे–७५ लाख, दिगु भैरब परिसर–५० लाख, दिगुबाहा–७५ लाख, धर्मचक्र गुम्बा–२५ लाख, नगदेश देब परिसर–३० लाख, नगदेश परिसर–७५ लाख, नगदेश बुद्ध बिहार–७५ लाख, नगदेश संग्रहालय–५० लाख, कुशल भैरब परिसर–३० लाख र लायकु सा–५० लाख विनियोजन गरेको छ ।
    पार्क निर्माणतर्फ बि.पि बाल उधान लोहकिल्थली–७५ लाख, बालबालिका तथा जेष्ठ नागरिक पार्क वडा नं.२–५० लाख, कुतिंग संजीबनी पार्क सिद्धिकाली–५० लाख, शंखधर पार्क–७५ लाख, नील बर्ण पार्क–४० लाख, कुन्डोल पार्क–२० लाख, कुमारी पार्क–५० लाख, गःहिटि पार्क–२५ लाख विनियोन गरिएको छ ।
    भौतिक पुर्बाधार तथा भवन निर्माणतर्फ कान्लाडोल ढल–१ करोड, स्व.चन्द्रकृष्ण स्मृति भवन–१ करोड ५० लाख, सानो थिमि सामुदायिक भवन–२५ लाख, ज्येष्ठ नागरिक भवन सिद्धिकाली–६० लाख, सडक स्तरउन्नति र पुर्बाधार बिकास वडा नं.१–२ करोड ५० लाख, वडा नं. २ –२ करोड वडा नं. ३–३ करोड ५० लाख, सानो थिमि बस बिसौनी १० लाख, सडक पुर्बाधार तथा ढुंगा छपाई १ करोड ५० लाख, सामुदायिक भवन लोहकिल्थली ५० लाख, वडा कार्यालय भवन निर्माण वडा नं.१–२ करोड ६५ लाख, ऊं बृद्धाश्रम, सानो थिमि–५ लाख, खानेपानी सुधार–५० लाख र मध्यपुर थिमि नगरपालिका हुलाक रोड–६२ लाख विनियोजन गरेको छ ।
    नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीहरुको समायोजनका लागि कर्मचारी समायोजन विधेयक–२०७८ स्वीकृत गरेको छ । सो विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीहरुको समायोजनका लागि बाटो खुला गरेको नगरपालिकाका प्रवक्ता राम थापामगरले जानकारी दिनुभयो ।

  • अर्जेन्टिना र मेस्सीले तोड्यो उपाधीको खडेरी

    अर्जेन्टिना र मेस्सीले तोड्यो उपाधीको खडेरी

    भक्तपुर, असार २७
    अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । शारिरीक उचाई मात्र होइन खेल्ने कला कौशल र शैलीका कारण पनि मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । व्यक्तिगत जीवनमा जति नै उत्कृष्ट प्रदर्शनसँगै अनेकौं उपाधी जितेपनि देशका लागि उपाधी दिलाउन नसक्ने कप्तानको रुपमा मेस्सीको नाम जोडिएको थियो । तर ब्राजिललाई उसैको मैदानमा हराएर अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिका कपको उपाधी जितेसँगै मेस्सीको नाममा रहेको त्यो दाग अब मेटिएको छ ।
    हो, अर्जेन्टिनाका लागि मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधी जिते आइतवार बिहान । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका हुन । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा कोपाको उपाधी जितेको थियो । त्यस यता अर्जेन्टिना चार पटक कोपा, एक पटक विश्वकप र दुई पटक कन्फ्रेडेरेसन कपको फाइनल खेलेपनि उपाधी भने जित्न सकेको थिएन ।
    पछिल्लो पटक सन् १९९३ मा ईक्वेडरमा सम्पन्न कोपा कपको फाइनलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–१ ले पराजित गर्दै उपाधी जितेको थियो । त्यस यता सन् २००४, २००७, २०१५ र २०१६ को कोपा र २०१४ को विश्वकपको फाइनलमा पुगेपनि अर्जेन्टिना उपाधी जित्न असफल भएको थियो ।


    अर्जेन्टिना सन् २००४ र २००७ को कोपामा ब्राजिलसँग र सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । ब्राजिलसँग सन् २००४ मा अर्जेन्टिना २–२ गोलमा बराबरीमा सकिएको खेलमा टाईब्रेकरमा ४–२ ले पराजित भएको थियो भने २००७ मा ३–० ले पराजित भएको थियो ।
    त्यसैगरी २०१५ र १६ मा चिलीसँग गोलरहित बराबरी खेलको अर्जेन्टिना टाईब्रेकरमा क्रमशः ४–१ र ४–२ ले पराजित हुन पुगेको थियो ।
    मेस्सीको प्रेरणादायी खेलसँगै अर्जेन्टिना सन् १९९० पछि पहिलो पटक सन् २०१४ को विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । सो खेलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा ०–१ ले पराजित भएको थियो ।


    अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने क्रममा उरुग्वेको कीर्तिमानको बराबरी गरेको छ । सन् १९९३ पछि २८ वर्षमा अर्जेन्टिनाले कुनै पनि ठूलो उपाधी जित्ने क्रममा मेस्सीले पाँचौं पटकको प्रयासमा पहिलो अन्तर्राष्ट्रिय उपाधी जित्न सफल भएको हो । मेस्सीले २००७, २०१५ र २०१६ मा कोपा र २०१४ को विश्वकप फाइनल खेलेका थिए तर कुनैमा पनि उपाधी जित्न सकेन ।
    डेढ दशकको प्रयासपछि पहिलो उपाधी जितेका मेस्सीले ब्राजिल विरुद्ध गोल गर्न भने सकेन । यद्यपी यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेर मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधी पनि हात पारे । मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु–२३ टिमले खेल्ने प्रतियोगिता थियो ।