Blog

  • धुमधामले मनाउँदैं यःमरी पुन्ही

    भक्तपुर, मंसिर ३०
    संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले आइतवार यःमरी पुन्ही धुमधामले मनाउँदैं छन । हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमा तथा नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
    नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पक्वानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।
    “यसपर्वमा विशेषगरी चामलको पिठोबाट बनाईने स्वादिष्ट पकवान यःमरी खाने र पुर्णिमाको दिन मनाईने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” सँस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि मार्ग शुक्ल पुर्णिमा ठूलो पर्व हो । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन । त्यस्तै उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समूदायले पनि यसदिनलाई ठूलो दिनको रुपमा कुल पुजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।
    नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
    नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाईन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।
    धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।


    यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।
    अचेल युवापुस्ताहरुले यःमरी माग्न भने जान छाडेका छन । युवावर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको सँस्कृतिकर्मीहरु बताउँछन ।
    यःमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।
    त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोली खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ ।
    यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले यःमरी पकाईन्छ । करिव ५ मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।

  • पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित

    भक्तपुर, मंसिर २९
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । महासंघको शुक्रवार सम्पन्न निर्वाचनमा शिल्पकार निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पछि पार्दै अध्यक्ष विजयी हुनुभएको हो ।
    महासंघको उपाध्यक्षमा हेमराज ढकाल, उपाध्यक्ष महिलामा नविना खर्बुजा श्रेष्ठ, सचिवमा दिपक ढुंगाना, सहसचिवमा दिनेश कार्की, सहसचिव समावेशीमा राजल छुंका (हरि सुन्दर) र कोषाध्यक्षमा रामगोपाल तमखू विजयी हुनुभयो ।
    यस्तै कार्यसमिति सदस्यहरु मध्ये महिलामा सिर्जना खतिवडा, खुल्ला सदस्यहरुमा मनोजकुमार फुँयाल, मणिराम लामिछाने, पुष्पा कुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, रामसुन्दर खाइजु, राजकुमार लामिछाने ‘चमत्कार’ विजयी भएका छन ।
    आदिवासी जनजाती सदस्यमा निशा कुस्मा र रेणु त्वानाबासुको मत बराबर भएको छ । दलित सदस्यमा अंजिरसिंह विक यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय हुुनुभएको निर्वाचन समिति संयोजक केदार खड्काले जानकारी दिनुभयो ।
    भक्तपुरमा नेपाल प्रेस युनियन–प्रेस चौतारी नेपालको गठबन्धन र निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिको नेतृत्वमा प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायतका संगठनले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।
    निर्वाचनमा प्रजापति पराजित भएपनि उनको प्यानलले बहुमत ल्याएको छ । निर्वाचित मध्ये महिला उपाध्यक्ष, सचिव, दुई सहसचिव, कोषाध्यक्ष, दलित सदस्य र ३ खुल्ला सदस्य प्रजापतिको प्यानलका हुन भने महिला सदस्यमा मत बराबर भएकाले निर्णय हुन बाँकी रहेको छ ।

     

     

  • श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा/ भाग – २

    शाक्य रत्न, पाको न्यूरोड ।

    च) सांकेटिक पाटीको महत्व
    हिलेबाट करिब सवाघण्टाको यात्रा पश्चात गलत बाटोतिर पो लागियो की भन्ने भान भएर सोधी खोजी गर्दा हामीले भोजपुरको सट्टा खोटाङ्गको बाटो समात्न पुगेका रहेछौं । यसको कारण हो, उक्त स्थानमा बाटोको संकेट दर्शाउने कुनैपनि सांकेटिक पाटी थिएन, जुन हामीले अन्त सबैतिर पायौं र त्यसैको आधारमा हामी हिलेसम्म सजिलै आइपुग्यौं । हुन त हामीले खाना खाएको होटलमा सोधेका पनि थियौं र, वहाँले गर्नु भएको ईशाराले बाँया सिधा भन्ने बुझेर बाँयातर्फको सिधा बाटो लागेका थियाैं । तर, हिलेबाट बायाँ सिधा नभई पुनः अर्को बायाँ नै मोडिने राम्रो बाटो रहेछ, जुन हामीले हेक्का राख्न सकेनौं ।
    जेहुनु भइसक्यो, अलमल गरेर थप समय व्यतित गर्नु बुद्धिमानी नदेखिएकाले हामी तत्कालै पुनः सवाघण्टाको बाटो फर्केर हिले आइपुग्यौं । यसरी हामीहरुको साढे दुइघण्टा व्यर्थमा गयो ।
    तरपनि हामीमा कुनै निराशा थिएन । किनभने एक त पहाडको स्वच्छ वातावरणको रमाइलो यात्रा, अर्को बेला–बेलामा पूजनीय भिक्षु बोधिज्ञान महास्थिविरज्यूबाट मैत्रीपूर्वक हामीहरुको स्थितिको बारेमा अभिभावकत्व लिनु भएर यात्रामा हामीलाई हौसला प्रदान गर्दै हुनुहुन्थ्यो । यही र यस्तै सुखानुभवको क्षण सँगाल्दै व्यतित समयको चिन्ता भुलेर रमाइलो साथ यात्रा गर्दै भोजपुर बजारबाट केही दूरीमा रहेको पुरानो बजार क्षेत्र टक्सारस्थित शाक्यमुनि विहारमा साँझको करिब पौने सात बजे पुग्यौं ।
    विहारमा पुगेपछि तथागत शाक्यमुनिको प्रतिमालाई वन्दना पश्चात पूजनीय भिक्षु बोधिज्ञान महास्थविर लगायत सबै अल्पकालिन प्रवजित श्रामणेहरुलाई वन्दना तथा भलाकुसारी गर्यौ । जे हुन्छ ठीकै हुन्छ भनेको कथन जस्तै हामी विहारमा पुग्दा साँझको जूम ध्यान कार्यक्रम संचालन भैरहेको रहेछ, र, यही मौकाको सदुपयोग गरी पूजनीय भन्तेको अनुमति लिएर जूममा प्रत्यक्ष बस्नु भएका योगी मित्रहरुसँग पनि साक्षात्कार गर्ने अवसर हामीलाई मिल्यो । यसरी केही क्षण सबैसँगको भलाकुसारी पछि पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट आज्ञा लिई भोलि बिहानै विहारमा पुग्ने वाचाका साथ हामी भोजपुरको “भिन्तुना लज” तर्फ लाग्यौं । जुन लज हामीले भोजपुरको यात्रा गर्नु अघि नै कल्याणमित्र “दान दाजु”को सल्लाह बमोजिम पहिले नै बुकिंग गरिसकेका थियौं । दिनभरीको यात्राबाट सबैजना थाकिसकेकोले लजमा पुगेको केहिछिन पछि बेलुकाको खाना खाएर आराम गर्यौं ।
    छ) शाक्यमुनि विहारमा सम्पादित कुशल पुण्य कार्य


    भोलिपल्ट अर्थात भोजपुर पुगेको दोश्रो दिन मिति २०८१ साल आश्विन २ गते मधुपूर्णिमा (येँयाःपुन्ही) को दिन विहानको ५ः४५ बजे हामी सबैजना तयार भएर भिन्तुना लजबाट शाक्यमुनि विहारको लागि प्रस्थान गर्यौं । यस दिन पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट हामीहरुको अनुरोधलाई अनुकम्पा राख्नु भएर स्वीकृती प्रदान गर्नु भए बमोजिम श्रद्धेय भन्तेहरुलाई तथा विहारमा श्रद्धा आस्था राखेर आउनु हुने सम्पूर्ण उपासकउपासिकाहरुलाई “जलपान – भोजन दान” गर्ने अवसर प्राप्त भयो ।


    यस्तै अन्य विभिन्न कुशल धार्मिक कार्य अन्तर्गत पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट पञ्चशील, अष्टशील ग्रहण, त्रिशरण गमन तथा बुद्ध पूजा र पुण्यानुमोदनाको साथै श्रद्धेय भन्तेहरुलाई तथा नवनिर्मित शाक्यमुनि विहारको निर्माण कार्यमा सहयोग पुगोस भन्ने कुशल मनसायले यथासक्य जिन्सी तथा नगद श्रद्धादान गर्ने अवसर प्राप्त भयो । यी सम्पूर्ण पुण्य कार्य पश्चात पूर्व निर्धारित कार्य योजनानुसार पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यूको आव्हानमा जलपान पछि हामी यात्रामा सहभागीहरुका साथै विहारका अध्यक्ष तथा उपासकउपासिकाहरु सल्लाघारी हुँदै स्वधाःहिटीसम्म चंक्रमण ध्यानको लागि श्रद्धेय भन्तेहरुसँगै लाग्यौं ।

    करिब डेढ घण्टाको चंक्रमण ध्यान विहारबाट सल्लाघारी हुँदै स्वधाःहिटीमा आएर सम्पन्न भयो । विहानको घमाइलो, स्वच्छ मौसम र प्रदूषण विनाको सफा वातावरणमा विहारबाट पक्कि सडक हुँदै सल्लाघारीको हरियाली वन तथा टक्सारबाट बजार आउजाउ गर्ने पुरानो (सडक सञ्जालको कारण ओझेलमा परेर केही समय अगाडीसम्म घाँसको झ्याँगले ढाकेर बन्द अवस्थामा रहेकोमा वर्षावास बस्नु भएका पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यूको अगुवाईमा अल्पकालिन श्रामणेर भन्तेहरु तथा विहारका स्थानीय उपासक उपासिकाहरुको टोलीले सरसफाई अभियान चलाउनु भएर हाल सफा र चिटिक्क परेको) सिंढीको बाटो हुँदै स्वधाःहिटीमा पुगेपछि चंक्रमण ध्यान सम्पन्न भयो ।
    यसरी उकालो ओरालो एकफन्को चंक्रमण ध्यानको कारण पसिना पसिना भएर थकाइको महशूस गरेका हामी प्रकृतिको वरदान उक्त स्वधाःहिटीमा पुग्ने बित्तिकै हामी सबै हिटीको पानीमा खेलेर र अमृतसमान चिसो तथा स्वादिलो पानी पिएर रमाउँदै प्यास र थकान मेटाएर पुनः विहारमा पुग्यौं ।

    विहारमा पुगेपछि विहारका सहयोगी कल्याणमित्र दिदीबहिनीहरुले तयार पारेको भोजन पूजनीय भिक्षु बोधिज्ञान महास्थविर लगायत अल्पकालिन श्रामणेर भन्तेहरुलाई श्रद्धापूर्वक भोजन दान प्रदान गरी हामीहरुले पनि भोजन खाएपछि दिनको समयमा विहारको अध्यक्ष श्री प्रकाश शाक्यको नेतृत्वमा भोजपुरको विभिन्न स्थानहरु अवलोकन गर्ने योजना बनाएर केही बेर आराम गर्यौं ।

    ज) शाक्यमुनि विहार, एक झलक
    यसै मौकामा यस शाक्यमुनि विहारको बारेमा मैले सुनेको÷बुझेको केही ऐतिहासिक महत्वका कुरा शेयर गर्नु उचित होला जस्तो ठानेर उल्लेख गर्ने जमर्को गरेको छु ।

    नेपालको बौद्ध इतिहासको चर्चित व्यक्तित्व बौद्ध ऋषि महाप्रज्ञाद्वारा, टक्सार, भोजपुरमा वि.सं. १९९३ सालमा स्थापित यो शाक्यमुनि विहार आधुनिक नेपालको सबैभन्दा पहिलो थेरवादी बुद्ध विहार रहेछ । त्यतिखेर बुद्ध धर्मको लागि जहानियाँ राणा शासनको वक्रदृष्टि परेको कारण नेपालमा बौद्ध वातावरण थिएन र बुद्ध धर्मको गतिविधिमा पाबन्दी लगार्ईएको अवस्था थियो ।
    यस्तो परिस्थितिको बावजूद बौद्ध ऋषि महाप्रज्ञाको प्रयास स्वरुप त्यतिबेलाका वहाँका चेला श्रामणेर अमृतानन्द सहितले यो विहारको स्थापना गरेरै छाडे । फलस्वरुप राणाशासकको प्रशासनले बुद्ध धर्म प्रचार गरेको आरोपमा बौद्ध ऋषि महाप्रज्ञालाई कैद गरेर भोजपुरको कारागारमा बन्दी बनाइदियो । र, चेला तत्कालिन श्रामणेर अमृतानन्दलाई घर जान आदेश दिइयो । तर बुद्ध धर्म र गुरुप्रति आस्था अनि निष्ठाका साथ अघि बढ्नु भएका तत्कालिन श्रामणेर अमृतानन्दले मेरो गुरुलाई जहाँ राखिइएको छ, म त्यहीं बस्छु भनेर ढिपी गर्नु भै गुरुसँगै कारगारमा नै बस्नुभयो ।
    यसरी बुद्ध धर्मको इतिहासको कालो पक्षको साक्षीका रुपमा रहेको यस विहारबाट पछिल्लो समय दिवंगत श्रद्धेय भिक्षुहरु शाक्यानन्द महास्थविर, सुबोधानन्द महास्थविर, प्रज्ञारश्मी महास्थविर, विवेकानन्द महास्थविर, श्रामणेर सुगतानन्द, बौद्ध ऋषि महाप्रज्ञा तथा अनागारिका सुशीला, रत्नमञ्जरी जस्ता दिग्गज भिक्षु र गुरुमाँहरु उत्पादन गरेर बुद्ध शासन चिरस्थायी गर्नको लागि ठूलो योगदान दिनुभएको छ । साथै भोजपुरको टक्सारमा जन्मनु भएर बुद्ध शासनमा लाग्नु भएका श्रद्धेय भिक्षु सागर महास्थविर (हाल ऐतिहासिक सुमंगल महाविहार) मा आवासीय भिक्षुको रुपमा रहनु भएको छ ।
    यस्तो गर्विलो इतिहास बोकेको यो शाक्यमुनि विहार पछिल्लो दिनमा भने यहाँका बौद्ध उपासकउपासिकाहरु बसाई सर्ने क्रममा उपत्यका तथा अन्यत्र जान थालेपछि आवासीय भन्ते गुरुमाँ र उपासकउपासिकाको कमीले यस विहारको गतिविधीमा पनि कमी आउन थालेको रहेछ । हालको अवस्थामा भन्नुपर्दा यस विहार तथा टक्सारका जागृत विद्वत तथा बुद्ध धर्मप्रति आस्थावान व्यक्तिहरुको विशेष पहलको कारण शाक्यमुनि विहारको नयाँ पक्कि भवन बन्दै गरेको देखेर पुनः बुद्ध धर्मको गतिविधिले गति लिनेछ भन्ने आशाका साथ हामीहरुमा हर्ष अनि प्रिती सञ्चार भएको छ । र, हामी सबैको तर्फबाट शाक्यमुनि विहारको नयाँ भवन यथाशिघ्र पूरा भई बुद्ध शासन चिरस्थायी गर्न योगदान पुगोस भनी आशिका तथा धेरै धेरै मैत्रीमंगल कामना गर्नुका साथै विहार निर्माणमा दत्तचित्त भएर लागिरहनु भएका सबैलाई यात्रामा सहभागी हामीसबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।
    झ) भोजपुरको छोटो अवलोकन भ्रमण
    केहिछिनको विश्रामपछि भोजपुरको विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराउनको लागि विहारका अध्यक्ष प्रकाश शाक्यले कुशल पथप्रदर्शकको रुपमा पूजनीय भिक्षु बोधिज्ञान महास्थविरको साथ हामीलाई भोजपुरस्थित बौद्ध गुम्बाहरु, भोजपुर बजार क्षेत्र, सप्तहिटी (सातधारा), पानीट्यांकी, सिद्धकाली मन्दिरको माथिल्लो छेउमा बनाइएको पूरै भोजपुरको दृश्यावलोकन गर्न सकिने स्थानहरुको अवलोकन भ्रमण गराउनु भयो । यसबारेमा माथिपनि अलि उल्लेख गरिसकेको कुरा अनुरोध गर्न चाहन्छु । र, अवलोकन भ्रमण सकेर साँझ ५ः०० बजे विहारमा पुगेर साँझको बुद्ध पुजा, महासतिपट्ठान पाठ तथा छोटो समयको ध्यान कार्यक्रम पश्चात पूजनीय भन्तेबाट आज्ञा लिई हामी बसेको लजतर्फ लाग्यौं । दिनभरीको विविध कार्यहरुमा सहभागीताले थकानको महशूसका साथ भोली काठमाडौं फर्किनके तयारी गरी सबैले आराम गर्यौं ।

     

     

    ञ) भोजपुरबाट दिक्तेल हुँदै हलेसी यात्रा
    दुइ रात र एक दिनको बसाई पछि मिति २०८१ साल आश्विन ३ गते विहानी बुद्ध पूजा र पूजनीय भिक्षु बोधिज्ञान महास्थविरसँग विदाई भेट गरेर काठमाडौं फर्किन विहानको ६ः०० बजे शाक्यमुनि विहार पुग्यौं । विहार पुगेपछि केही जलपान र टक्सारको प्रसिद्ध बम्बैसन (अध्यक्ष प्रकासको विशेष पहलमा राती नसुतिकनै तयार पारिदिनु भएको) मिठाई लिएर सबैसँग भलाकुसारी गरी विहानको करिब ९ः०० बजे योजनानुसार हलेसी हुँदै काठमाडौं फर्किने क्रममा हामी दिक्तेल तर्फ लाग्यौं । भोजपुरबाट हलेसी १२३ कि.मि. र हलेसीबाट काठमाडौं २१८ कि.मि.को दुरी रहेको र एकैदिनमा काठमाडौं पुगिने जानकारी पाएकोले हामी उत्साहित भएर दिक्तेल तर्फ लाग्यौं ।
    तर केही बेरको यात्रा पश्चात दिक्तेल तर्फ जाने २ वटा बाटो भएको र एउटा बाटो धेरै नै खराब तथा अर्को बाटो त्यस्तै १० कि. मि. जति ठाउँ ठाउँमा अलि अलि खराब रहेको र बाँकी बाटो राम्रो रहेको जानकारी पायौं । र, स्थानीयहरुबाट प्राप्त जानकारी अनुसार अलि अलि खराब भनेको बाटोबाट यात्रा तय गर्ने निधो गरेर हामीले यात्रा अघि बढायौं । हतार नगरीकन यात्रा गर्ने हामीहरुको स्वभाव भएकोले दिक्तेल तर्फ लागेको केही समय पश्चात बाटोमा एउटा सुन्दर झरना देखेर उक्त झरनामा फोटो सेशन र झरनाको शितलतामा रमाउँदै केही समय व्यतित गरी यात्रालाई अगाडी बढायौं । यात्रा सुरु गरेको केही समय पश्चात जानकारी पाए अनुसार पिचबाटो समाप्त भई ग्राबेलको बाटोबाट हामीहरुको यात्रा अघि बढ्यो । त्यसपछि हाम्रो जीपको गतिपनि ढिला हुन थाल्यो, गति बढाउने स्थिति पनि थिएन । त्यसैले सम्हालिंदै यात्रा गर्दै जाँदा केही दिन अगाडीको वर्षाले हिलाम्य बनाएको बाटो सुरु हुन थाल्यो । केही स्थानमा त गाडीबाट ओर्लेर गाडीको चक्का हिलोमा नफसोस भन्ने हेतुले ढुँगा राख्दै गाडीलाई सहज बनाउँदै विस्तारै यात्रा गर्यौं । कुनै ठाउँमा गाडीलाई बोझ नहोस् भनेर हिंडेर पनि सहजता बनाउँदै यात्रा गर्यौं । र, हिंडाईको क्रममा सबैले पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले अनुकम्पा राख्नु भई सिकाउनु भएको चंक्रमण ध्यान स्मरण गर्दै वहाँलाई हृदयदेखी साधुवाद अर्पण गर्दै कठीन बाटो तथा समयलाई पनि धैर्यपूर्वक पार गर्यांै । यहाँनिर नआत्तिकन धैर्य अनि सहनशिलताका साथ अगाडी बढेमा जुनसुकै समस्यालाई पनि पार लगाई सफलता हासिल गर्न सकिन्छ भन्ने बुद्ध शिक्षा श्रवण गरेकाले हामीले त्यही गुण विकास गर्न सकेको महशूस भयो । त्यसैले तथागत बुद्धको सत्य वचन मंगलसूत्रको “कालेन धम्मसवणं एतं मंगलमुत्तमं ।” भन्ने मनन गरी बेला बेलामा श्रद्धेय भन्तेहरुबाट बुद्ध शिक्षा अनि उपदेश श्रवण गर्ने गरेकाले हामीमा धैर्य र सहनशिल गुण विकास भई कठीन यात्रापनि सहजताका साथ तय गर्न सकेको महशूस भयो । हामीलाई मैत्री र कल्याण चित्तका साथ बुद्धको अमृतमय धर्म र शिक्षा दान दिनुहुने सम्पूर्ण भिक्षु तथा गुरुमाँहरुलाई सहृदय कोटी कोटी नमन तथा साधुवाद ।
    ट) दिक्तेलमा भोजन र हलेसीमा बास
    यसरी पहाडी हिलाम्य र कच्चिबाटो छिचोल्दै दिनको २ः०० बजे हामी दिक्तेल बजार पुग्यौं । दिक्तेल बजार चाहिं सानो र धुलाम्य भएको पायौं । हामीले दिनको खाना खाएका थिएनौं । त्यसैले एउटा अलि सफा पसल रोजेर खाना अर्डर गरी बाटोको थकाई मार्न विश्राम गर्यौं । केही बेर पछि खाना तयार भयो । थकान र भोकले होला खाना तयार भएको खबर पाउनासाथ ज्ञानी भएर टेबलमा बसी दायाँ बायाँ नगरी खाना खान थाल्यौं । खाना खाइवरी पैसा तिर्दै गर्दा साहुजीलाई काठमाडौं पुग्न कति समय जति लाग्ला भनेर सोधेकोमा आज हलेसीमा बास बसी भोलिमात्रै यात्रा गर्न सुझाव दिनु भयो । कारण जान्न खोज्दा हलेसीबाट काठमाडौं जाने बाटो केही किलोमिटर कच्ची भएकोले आज यात्रा गर्यो भने आधारातमा मात्रै काठमाडौं पुगिने कुरा खुलाउनु भयो । त्यसपछि सुझावको लागि धन्यवाद दिंदै हलेसीमा बास बस्ने निधोगरी हामीले यात्रा सुरु गर्यौं ।
    झण्डै डेढघण्टाको यात्रा पश्चात हामी दिक्तेल बजारबाट हलेसी पुग्यौं । हलेसी पुगेपछि जाम्बाला भन्ने रिसोर्टमा हामी बास बस्यौं । अफसिजन भएको कारण होटेलहरु खाली खाली रहेछन् । एकछिन चिया पियर फ्रेस भएपछि हलेसी महादेव मन्दिरमा हुने साँझको आरती बारे जानकारी पाईयो । धार्मिक सहिष्णुतालाई ख्याल गर्दै साँझको आरती हेर्ने र बेलुकाको खाना केही हल्काफुल्का खाने सल्लाहका साथ हामी मन्दिर तर्फ लाग्यौं । हामी पुग्दा आरती सुरु हुनै लागेको रहेछ । एकैछिनमा स्पिकरमा आरतीको गाना बजाउँदै एकजना पुजारीले आरती सुरु गर्यो । रमाइलो मानी आरती हेर्ने र फोटो लिने कार्य भयो । आरती सकिएपछि बास बसेको होटेल फर्किने क्रममा एउटा रेष्टूराँमा केही छिन यात्राको रमाइलो कुराकानी हँसिमजाक गरी हल्काफुल्का खाइवरी बाटोको थकान भुलेर भोलीको यात्राको लागि आवश्यक तयारी गरी आराम गर्यौं ।
    ठ) हलेसी मन्दिर घुमघाम गरी शिव पार्वती गुफामा ध्यान भावना


    भोलि अर्थात् मिति २०८१ साल आश्विन ४ गते शुक्रवारका दिन विहान ७ः०० बजे सबैजना तयार भएर पहिला महादेव मन्दिर अवलोकन गर्ने अनि पूजनीय भिक्षु बोधिज्ञान महास्थविरको सुझाव बमोजिम मन्दिर पछाडी रहेको गुफामा केहीछिन ध्यान बस्ने र त्यसपछि चिया नास्ता खाएर काठमाडौंको यात्रा गर्ने योजना र सल्लाह पछि हामी हलेसी महादेव मन्दिर तर्फ लाग्यौं । मन्दिर राम्रो लाग्यो, र केही महायानी लामा गुरुहरु पनि मन्दिर परिसर भित्र पाठ गरिरहेको देख्न पायौं । यस्मा मलाई आश्चर्य लागेन । किनकी महादेव अर्थात् शिव विरुपाक्षबाट बच्नको लागि तथागत बुद्धको शरणमा आएको र पछि शिक्षा ग्रहण पश्चात मोक्ष भएको भन्ने सुनेको पढेको अनि देखेको पनि छु ।
    देखेको भन्नाले काठमाडौंको डल्लु जाने बाटोमा एउटा ढलेको शिवलिंग सबैले देख्न सकिन्छ । पौराणिक शास्त्र कथनानुसार विरुपाक्षले पापमोचनको लागि शिवसँग सल्लाह माग्दा ज्यानै जाने खालको गलत सल्लाह दिएकोले क्रोधले शिवलिंग नष्ट गर्ने क्रममा डल्लुको शिवलिंग ढालेको र अन्तमा पशुपतिमा क्षति पुुर्याउन जानेक्रममा तथागत बुद्धले थाहा पाउनुभएर आफ्नो रुप प्रकट गर्नु भएको थियो । यसरी पशुपतिमा विरुपाक्षले बुद्ध विराजमान भएको देखेर ढोग गरी बाहिर छेउ मै समाधिस्थ भएको विरुपाक्षको मूर्ती अझैपनि सोही स्थानमा रहेको छ । र, यसै कथनानुसार हरेक वर्ष मुखाष्टमीको दिन पशुपतिलाई बुद्धको चतुर्मुख मुकुट (मैत्री, करुणा, मुदिता र उपेक्षा भावको) पहि¥याउने प्रचलन हालसम्म पनि चलिआएकै छ । यसको अर्थ हो विरुपाक्षबाट बच्न शिव बुद्धको शरणमा गएको र पछि बोधिसत्व भएकोले बौद्धहरुले शिवलाई बोधिसत्वको रुपमा मानिंदै आएको छ । यसैकारण तथागत बुद्धलाई “सत्था देव मनुस्सानं बुद्धो भगवा’ति” अर्थात सम्पूर्ण देव मनुष्य अमनुष्यका शास्ता (गुरु) भगवान बुद्ध हुन् भनी हामी बुद्धलाई वन्दना गर्ने गर्दछौं ।
    केहीबेर मन्दिरको अवलोकन पश्चात हामीहरु ध्यान गर्ने उद्देश्यले पछाडी पट्टी रहेको शिव पार्वती नामको गुफामा गर्यौं । उक्त गुफामा पनि लामा गुरुहरु पाठ तथा ध्यान साधनाको लागि बस्नु भएको रहेछ । र एकजना हिन्दू पुजारी पनि एउटा ठाउँमा बस्नु भएको रहेछ । हामीहरुचाहीं लामा गुरुहरुको अनुमति लिएर बीचमा बस्यौं । १५ मिनेटको छोटो ध्यान पश्चात गुफालाई राम्ररी नियालेर हेर्दा गुफाको माथि एउटा ठूलो प्वाल देख्यौं । त्यस प्वालको बारेमा सोधखोज गर्दा गुरु पद्मसंभव सोही गुफामा ध्यान बस्नु भएर पछि उक्त प्वालबाट अन्तरध्यान भएको भन्ने जानकारी पायौं । ध्यान समाप्ती पश्चात पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट हामीले सिकेको चतुआरक्खा भावना पाठ तथा पुण्यानुमोदना गरेर ध्यान कार्यक्रम समाप्त गरी केही बेर गुफामा बिताई हामी चिया नास्ताको लागि रेष्टूराँ तिर लाग्यौं । र, चिया नास्ता पछि करिब १०ः०० बजे तिर हामीले पुनः काठमाडौं तर्फको २१८ कि.मि.को यात्रा सुरु गर्यौं ।
    ड) यात्राको अविस्मरणीय पल सँगाल्दै काठमाडौं तर्फ प्रस्थान
    यात्रा गर्दै जाँदा बाटोमा त्रिशरण गमन, बुद्ध वन्दना, चतुआरक्खा भावना, ज्ञानमाला गाउँदै १२ः०० बजेतिर हामी घुर्मी भन्ने स्थानमा पुगियो । घुर्मी पुगेपछि सबैले भोक लागेको महशूस गर्न थालेकाले खाना खाएर यात्रा अघि बढाउने निधो गरी एउटा होटेलमा छिर्यौं । होटेल राम्रो लाग्यो सबैले मिक्स खाना (ढिंडो र भात) सहितको शाकाहारी खाना अर्डर गरी एकछिन बसिबियाँलो गरेपछि अर्डर अनुसारको खाना आइपुग्यो । खाना आएपछि सबैको ध्यान खाना मै केन्द्रित भयो र खाना खान थाल्यौं । खाना खाने क्रममा होटलको साहुनी हामीकहाँ आउनु भई हँसिमजाक गर्दै के थप्न ल्याउँ भनी सोध्नुहुँदा अनायासै मेरो मुखबाट मिल्ने भए घिउ थप्नु हुन्छ कि भनेको, उहाँले हाँसेर किन नहुनु भन्दै सबैलाई घिउ थपिदिनु भयो । मैले चाहिं अब पैसा ठटाउने त होलानि भनी विचार गरेको, वास्तवमा साहुनीको दिल ठूलै रहेछ, थप घिउको पैसा लिनु भएन । र, हामी सबैलाई हाँसी हाँसी विदाई गर्नुभयो । हामी पनि “ल, तपाईको जय होस् !” भन्ने नारा लगाएर काठमाडौं तर्फ हुँइकियौं ।

    यस्तै ठाउँ ठाउँको रमाइलो पल, दिक्तेलको बाहेक अरु सबै ठाउँको सडकयात्रा आनन्ददायक भएको र सबै मिलीजुली एकैस्वर, विचार र समझदारी साथ यात्रा गरेकोले तुलनात्मक रुपमा हामीहरुको काठमाडौंबाट धरान हुँदै भोजपुर, दिक्तेल हलेसी हुँदै काठमाडौंको ५ दिने यात्रा रमाइलो तथा आनन्ददायक रह्यो ।

    तस्वीर साैजन्य – शाक्य रत्न

  • बागेश्वरीको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा १६१ लाभान्वित

    भक्तपुर, मंसिर २४
    चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा कार्यालय तथा ज्येष्ठ नागरिक मिलन चौतारी वडा नं ७ को समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा १६१ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच संगै औषधि वितरण गरिएको हो ।
    निःशुल्क स्वास्थ्य शिविरमा भक्तपुर अस्पतालका हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सक, ख्वप तिलगंगा आँखा अस्पतालका आँखा जाँच गर्ने टोली र नगर अस्पतालका चिकित्सक टोलीद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा १४३ जना ज्येष्ठ नागरिकहरुको मधुमेह (सुगर) जाँच पनि गरिएको थियो ।


    शिविरबाट पहिचान भएका ७ जना मोतिया विन्दुका बिरामीलाई शल्यक्रिया गराइनेछ भने अन्य थप उपचार सेवा आवश्यक ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य नगरपालिकाको स्वास्थ्य शाखाले गर्ने भएको छ ।
    शिविरको शुरुवात गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई टोलटोलमा पु¥याउने योजना अघि बढाएको बताउनुभयो । उहाँले ताथली, सुडाल, बागेश्वरी र नगरकोटका बासिन्दालाई नगर अस्पताल पुग्न असहज र अपायक परिरहेको प्रति आफू सचेत रहेको र त्यसको ब्यवस्थापनका लागि काम भइरहेको जानकारी दिनुभयो ।
    नगर अस्पतालबाट प्रवाह हुने अन्य सेवाहरु ब्यवस्थित बन्दै लगेको र सेवाविस्तार भएकाले नगर अस्पतालमा गएर सेवालिन आग्रह पनि गर्नुभयो ।


    उहाँले नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा भक्तपुरसँग सहकार्य गरी नगरबासी विरामीलाई निःशुल्क रगत तथा नगर अस्पतालबाट निःशुल्क अक्सिजनको व्यवस्थापन गरेका जानकारी दिनुहुदै नगरबासी ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य र सक्रिय बनाउने कार्यमा नगरपालिकाले सदैव प्राथमिकता दिई कार्य गर्दै आइरहेको बताउनुभयो ।
    नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले स्थानीय तहहरुमध्ये ज्येष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखी ज्येष्ठ नागरिकहरुको लागि स्वस्थ्य बुढ्यौली (सहारा) परियोजना सञ्चालन गर्ने चाँगुनारायण भक्तपुरको एक मात्र पालिका भएको बताउनुभयो ।


    उहाँले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले समुदायसँग हातेमालो गर्दै मानवीय सेवाका गतिविधि तथा कार्यहरु गर्दै आएको बताउनुभयो । सहारा परियोजना अन्र्तगत बाँकी वडाहरुमा पनि यस प्रकारको शिविर क्रमश सञ्चालन गर्दै लगिने कुरा सभापति पाण्डेले जानकारी दिनुभयो ।
    चाँगुनारायण नगरपालिका वडा नं ७ का अध्यक्ष श्यामकृष्ण नँयाजु श्रेष्ठले नगरपालिकाले ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
    चाँगुनारायण नगर अस्पतालका मे.सु डा. अर्जुन कार्कीले नगर अस्पतालका सेवाहरुका बारेमा जानकारी दिनुहुदै नगरबासीलाई नगर अस्पतालबाट सेवालिन अनुरोध गर्नुभयो ।
    शिविरमा नगरपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य केन्द्र तथा परियोजनाका कर्मचारीहरु र नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले स्वंसेवकको भूमिकामा सहयोग गर्नुभएको थियो ।

  • बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि

    भक्तपुर, मंसिर २४
    साविक विजेता बंगलादेशले एकदिवसिय क्रिकेटको यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा बंगलादेशले आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै ंउपाधि जितेको हो ।
    फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
    बंगलादेशले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५.२ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनाएपछि भारत उपविजेतामा समिति बनेको हो ।


    भारतका कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन जोडे । हार्दिक राज २४, केपि कार्तिक्य २१, आन्द्र सिद्धार्थ २० तथा चेतन शर्मा १० रनमा आउट भए । बंगलादेशका लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।
    त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । बंगलादेशका रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । फरिद हसन ३९, जवाद अबरार २० तथा कप्तान अजिजुल हाकिम १६ रनमा आउट भए ।
    भारत यु–१९ का लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए ।

     

  • राष्ट्रिय बी बुद्धिचालको उपाधि पुरुषोत्तमले जिते

    भक्तपुर, मंसिर २२
    राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ उपाधि उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले जितेका छन । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भक्तपुरमा शनिवार सम्पन्नमा पुरुषोत्तमले ६.५ अंक जोडेर उपाधि जितेका हुन ।
    सूर्यविनायक नगरपालिकाको प्रायोजनमा होटल सिटीगाउँमा सम्पन्न ९ चरणको प्रतिष्पर्धामा काठमाण्डौंका युवा पुरुषोत्तमले ४ जीत र ५ बराबर नतिजा आत्मसाथ गर्दै अपराजित रहन पुगे ।
    २५ औं राष्ट्रिय प्रतियोगिताको छनोटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष फूँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय भए ।


    पाँच दिन सम्म चलेको प्रतियोगितामा उत्कृष्ट चौथो स्थान देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन् । प्रतिस्पर्धा मार्फत सानदार खेल प्रदर्शन गरि भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाण्डौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी २५ औं राष्ट्रिय प्रतियोगिताको छनोट भएका छन ।
    प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले स्थानीय निकायले खेलमा लगानी गरी देशको सान बढाउनु पर्ने धारणा राखे । कार्यक्रममा महासंघका महासचिव धर्मबहादुर लामा, पूर्व उपाध्यक्ष रामप्रसाद कासुला, सचिवालय सदस्यद्वय निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • पत्रकार महासंघको नेतृत्वको लागि रमेश विष्टको नेतृत्वमा प्यानल सार्वजनिक, यस्ता छन् साझा प्रतिबद्धता

    काठमाडौं, २२ मंसिर
    नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश बिष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी बिष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो । यसअघि अध्यक्षमा उम्मेद्वारी दिएका नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका कलम गिरीले आफ्नो उम्मेद्वारी फिर्ता लिएर बिष्टलाई सघाएका छन् ।
    बिष्ट नेतृत्वको प्यानललाई ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुको समर्थन रहेको जनाईएको छ । बिष्टको प्यानललाई श्रमजिवी पत्रकारहरुको साझा प्यानल नाम दिइएको छ । सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माओवादी निकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् । यस्तै, महिला उपाध्यक्षमा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेद्वारी छ । यस्तै, खुला सचिवमा उत्तरसिंह बिष्ट समेटिएका छन् ।
    मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारी समेटिएका छन् । यस्तै बिष्टको प्यालनबाट लेखा संयोजक माध्रुव रावल समेटिएका छन् ।
    बिष्टको प्यालनबाट केन्द्रीय सदस्यहरुको नाम समेत सार्वजनिक गरिएको छ । जसमा कोशी प्रदेश केन्द्रीय सदस्यहरुमा तीर्थ सिग्देल र दिपेन्द्र कुमार राई समेटिएका छन् । मधेश प्रदेश केन्द्रीय सदस्यहरुमा राजु विश्वकर्मा र संजय कुमार राउत छन् ।


    यस्तै, बाग्मती प्रदेश केन्द्रीय सदस्यमा उपत्यका बाहेकमा मणिराज गौतम र मिनकुमार दाहाल छन् । गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दिपक भट्टराई छन् । लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसि र सुमन अधिकारीको नाम समावेश छ । कर्णाली प्रदेश केन्द्रीय सदस्यहरुमा देविराम देवकोटा र यज्ञराज थापा छन् । यस्तै, यो प्यानलबाट सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यहरुमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना समेटिएका छन् ।
    यस प्यानलबाट लेखा समिति सदस्यमा गणेश प्रसाद बञ्जाडे (पुरुष) र लक्ष्मी चौधरी (महिला) छन् । उपत्यका प्रदेश केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी समेटिएका छन् । प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यहरुमा वीरेन्द्र ओली र साहास भट्ट छन् । खुला केन्द्रीय सदस्यहरुमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ समेटिएका छन् ।
    महिलाबाट रिता बुढाथोकी (दलित) मानिर्विरोध भएकी छिन् । आदिवासी, जनजातिमा सरु राना, मधेशीबाट मिनकुमारी यादव, खस–आर्य दियाचन्द छन् । दलित केन्द्रीय सदस्यमा लक्ष्मण दर्नाल (पुरुष) रहेका छन् । आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ (पुरुष) र महिलातर्फ निर्विरोध भएको जनाईएको छ । मधेशीतर्फ चन्द्रदेव कामती (पुरुष) समेटिएका छन् । यस्तै, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले र अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली छन् ।
    अध्यक्ष पदका उम्मेदवार बिष्टले आफ्नो टिम इमानदार र अनुभवी रहेको बताउनुभयो । उहाँले आफूहरु निर्वाचित भएपछिको महासंघको इमानदारिताको कसीमा प्रश्न चिन्ह खडा हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासंघको गौरवपूर्ण इतिहास र आगामी दिनमा लोकतन्त्र माथि आउने चुनौति, मानव अधिकारको क्षेत्रमा आउने चुनौति, प्रेस जगत र अभिव्यक्ति स्वतन्त्रतामा आउने चुनौतिको सामना गरेर अगाडि बढ्न आफू नेतृत्वको टिमलाई विजयी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।
    ‘नेपालको लोकतन्त्र, नागरिक अधिकार, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका गहनाहरुलाई आत्मसात् गर्दै, रक्षागर्दै र त्यसलाई प्रवद्र्धन गर्दै आजको दिनसम्म एउटा विशाल स्वरुप ग्रहण गरेको पत्रकार महासंघको नेतृत्व गर्ने र त्यो नेतृत्वले गर्ने प्राथामिकताका कार्य सूचीहरु के हुन् ? त्यसले गर्नुपर्ने कामहरु के हो ? र विगतमा हामीले प्राप्त गरेका विरासतहरु के हुन् ? नेपालको मिडियाको चुनौति, नेपालको अभिव्यक्ति स्वतन्त्रताको चुनौति, प्रेस स्वतन्त्रताको चुनौति र मानव अधिकारमा आउने चुनौतिहरुलाई कसरी भन्ने स्पष्ट दृष्टिकोणका साथ यो टिम चुनावी मैदानमा आएको छ । यो टिम इमानदार र अनुभवी छ । यो टिमको विजयपछि इमानदारिताको कसीमा प्रश्नचिन्ह खडा हुने अवस्था हामी सिर्जना हुन दिँदैनौं,’ उहाँले भन्नुभयो ।
    यस्ता छन् रमेश विष्ट प्यानलका उम्मेदवारहरूको प्रतिबद्धता
    १) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्ष प्रति गौरव गर्दै यस क्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरु प्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं ।
    २) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रूपमा अघि बढाउनेछौं साथै लोकतान्त्रिक समूदायको भरोषा योग्य नागरिक संस्थाको रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं ।
    ३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं ।
    ४) संघ, प्रदेश र स्थानीयतहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौ ।
    ५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछ ।
    ६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं ।
    ७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं ।
    ८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं ।
    ९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिँदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछ ।

     

     

  • भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त

    भक्तपुर, मंसिर २२
    भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त हुनुभएको छ । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले भक्तपुर कटुञ्जेका थापालाई गत बुधवार चार वर्षको लागि भक्तपुर अध्यक्ष नियुक्त गरेको हो ।
    परिषदका सदस्य सचिव दिपक लामाले प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली, २०७६ (संशोधन सहित)को नियम (३), उप नियम १(क)मा भएको व्यवस्था बमोजिम थापालाई ४ वर्षको लागि समितिको अध्यक्ष नियुक्त गरेको हो ।
    थापाले आइतवार दिउँसो जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रांगणमा रहेको समितिको कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

     

  • महोत्सवले मध्यपुर पर्यटनको गन्तव्यको रुपमा विकास हुन्छ – नगर प्रमुख श्रेष्ठ

    भक्तपुर, मंसिर २२
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर आउने पर्यटकहरु मध्यपुरमा पस्ने र बस्ने वातावारण निर्माण गरिने बताउनुभएको छ । नेपाल प्रेस सोसाईटीले शुक्रबार आयोजना गरेको ‘मध्यपुर महोत्सव–२०८१ बारे नगरप्रमुख सुरेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया कार्यक्रम’मा उहाँले मध्यपुर ऐतिहासिक र साँस्कृतिक नगर भएकाले पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको हो ।
    उहाँले महोत्सवलाई पर्यटन विकासको आधार विन्दूको रुपमा लिएर थप पूर्वाधारको विकास गरी पर्यटनलाई स्थानीय बासिन्दाको आयआर्जनसँग पनि जोडेर लैजाने योजना रहेको बताउनुभयो ।
    “मध्यपुर थिमि नगरपालिका काठमाण्डौं उपत्यकाको बिचमा रहेको नगरपालिका हो । यो मुर्त अमुर्त सम्पदाको धनी नगरपालिका हो । यो नगरमा हामीले अहिले आन्तरिक र बाह्य गरी ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो ।
    उहाँले महोत्सवमा स्थानीय मौलिक कला सँस्कृति, नेवारी परिकार, परम्पराष्त पेशा व्यवसाय, पुरातात्विक स्मारक क्षेत्र, परम्परागत खेल, नेवा भ्वय्, स्थानीय जीवनशैली र रहनसहन, साँस्कृति कार्यक्रम, स्थानीय उत्पादनहरुको व्यापारिक प्रदर्शनी र प्राकृतिक एवम् रमणीय पार्कहरुको अवलोकन गर्न सकिने जानकारी दिनुभयो ।
    यस्तै प्रमुख आकर्षणको रुपमा टिगनीमा परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधिको जीवन्त प्रदर्शनी, बोदे र दिगुलीमा जिब्रो छेडेने जात्राको डमी प्रदर्शन, दिगुलीमा ५ फिट अग्लोको माटोको सुकुन्दा प्रदर्शनी, दिगुलीमा माटोको हिटरको ढोका निर्माण, नेवारी सँस्कृतिमा जन्मदेखी मृत्युसम्म र विभिन्न चाडपर्व र अवसरमा खाने भोजको परिकार प्रदर्शन, बालकुमारीमा गेडागुडीको प्रदर्शन, बुद्धको अस्तुधातु, लिच्छवीकालदेखीको नेपाली मुद्रा प्रदर्शनी, दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडाकुँडाको जीवन्त प्रदर्शनी, नगदेशमा तरकारीको ढोका, लाखेलगायत रहेको र यो थप हुने क्रममा रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    मध्यपुर थिमि नगरपालिकाले यही पुष १२, १३, र १४ गते ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना गर्दैछ । महोत्सवमा ले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्व झल्काउनेगरी विविध गतिविधि समेट्ने जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र व्यापारलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे ‘शुभचिन्तक’, नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुरका अध्यक्ष रामगोपाल तमखूलगायतको सहभागिता रहेको थियो ।

     

  • बिनिताले जितिन महिला उपाधि, पुरुषतर्फ पुरुषोत्तम, आशिष र रुपेशको अग्रता

    भक्तपुर, मंसिर २२
    नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा महिलातर्फको काठमाण्डौंकी बिनिता कपालीले जितेकी छिन ।
    यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन् । उनले अन्तिम ७ औं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत दर्ता गर्दै ६.५ अंक जोडेर विजयी बनेकी हुन् ।
    यस्तै चितवनकी लक्ष्मी कँडेल ५.५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भइन् । उनले पनि राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित बनाएकी छिन । संयुक्त तेस्रो स्थान ओगट्दै छनौट हुने क्रममा नेपालगञ्जकी ईशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाण्डौकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाण्डौकी एञ्जल महर्जनले समान ४–४ अंक जोड्न सफल भए ।
    काठमाण्डौकी रिया श्रेष्ठ ३.५ अंक जोडेर ९ औं स्थान प्राप्त गर्न सफल भइन् ।रिया सँगै यी ९ खेलाडीले गत राष्ट्रिय प्रतियोगिताका शीर्ष ३ खेलाडी काठमाण्डौकी सिन्दिरा जोशी, झापाकी कृतिसारा अधिकारी र मकवानपुरकी पूजा भण्डारी सँग प्रतिस्पर्धामा गर्नेछन ।
    यसैगरी भक्तपुरको बाचमारी स्थित होटल सिटि गाउँ सभाहलमा जारी प्रतियोगितामा ८ औं चरणको खेल पश्चात पुरुष तर्फ काठमाण्डौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल समान ६ – ६ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन् ।
    काठमाण्डौका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सिएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा समान ५.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा छन् ।
    काठमाण्डौका सुरज सिंह, धनुषाका सुशील चौधरी, काठमाण्डौका विनय थापा, सिएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५ – ५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन् ।
    भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा ४० जना राष्ट्रिय खेलाडीहरुले छनौटका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
    पुरुष तर्फ जम्मा ९ जना खेलाडी छनौट भइ गत राष्ट्रिय च्याम्पियन शीर्ष तिन खेलाडी झापाका राजन सुवेदी, शुश्रुत दहाल र मकवानपुरका क्षितिज भण्डारी सँग २५ औं नेपाल च्याम्पियन प्रतिस्पर्धामा स्पर्धा गर्नेछन् ।