Blog

  • उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण प्रथम

    भक्तपुर, पुस ७
    उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार सम्पन्न एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगितामा श्रीकृष्ण मानन्धर प्रथम भएको छ ।
    काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण प्रथम भएको हो । श्रीकृष्णले ट्रफि, नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    बनेपाको नालास्थित उग्रचण्डी वोर्डिङ्ग स्कुल प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा ६ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय, प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं स्थानमा रहन सफल हुँदैं पुरस्कार हात पार्न सफल बने ।
    प्रसतयोगितामा काभ्रेका ७८ जना खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगितामा विधागततर्फ यु–१२ मा आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, यु–१४ मा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र यु–१६ मा आर्यन वादे प्रथम, प्रजिल मानन्धर द्वितीय बने ।
    यसैगरी छात्रा तर्फ कृपा पौडेलले प्रथम स्थान हात पारे भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरे । राइजिङ्ग स्टारको उपाधि आर्यस गिरिले जिते ।
    काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्व महासचिव रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई नगद २० हजार पुरस्कार प्रदान गरे ।
    पुरस्कार वितरण समारोहमा बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री (बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

     

  • दीपेन्द्रसिंहले जिते कार, ललितलाई इलेक्ट्रिक बाइक

    भक्तपुर, पुस ६
    नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् । यस्तै एनपिएलमा उत्कृष्ट बलिङ गरेका जनकपुर बोल्ट्सका स्पिनर ललित राजबंशीलेले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पाएका छन ।
    सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार प्राप्त गरेका हुन् । टोलीलाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्रले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए । उनले खेल अवधिभर बलिङतर्फ ९ विकेटसमेत लिएका थिए ।
    ललितले उत्कृष्ट बलर बापत नगद पाँच लाख सहित अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पुरस्कार पनि प्राप्त गरे । उनले १० खेलमा १७ विकेट लिए । सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए ।
    सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए । प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए ।


    एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे । उनले दुई लाख रुपैयाँ पुरस्कार पाए । २०४ भन्दा माथिको स्ट्राइकरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले पनि दुई लाख रुपैयाँ नगद पाए ।
    १६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

     

  • जनकपुरले जित्यो एनपिएलको उपाधि

    भक्तपुर, पुस ६
    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्ले जितेको छ । किर्तिपुरस्थित टियु मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदुरपश्चिम रोयल्स्लाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।
    उपाधिका लागि सुदुरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै उपाधि जितेको हो । जनकपुरलाई उपाधि दिलाउन ओपनर लाहिरु मिलन्थाले आक्रामक अर्धशतक बनाए । उनले सर्वाधिक ८७ रन जोडे ।
    मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । लिगको दोस्रो अर्धशतक उनले ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए ।
    त्यो समयमा मिलान्था ६५ रन बनाएका थिए । पहिलो विकेटका लागि मिलान्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।


    आसिफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले २४ बलमा २ छक्काका साथ नट आउट ३० रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।
    जेम्स निशम ४ रन जोड्दै कप्तान दीपेन्द्रको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि दीपेन्द्र, स्कट कुग्गेलेइन, जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जेबले एनपिएलमा आफ्नो दोस्रो अर्धशतक ३३ बलमा पूरा गरे ।
    १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यो समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अन्तिम बलमा जेब बाउन्ड्री नजिकै ललितबाट समातिए ।
    पहिलो विकेटका लागि जेबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपूर्ण साझेदारी गरे । जेब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोदले ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।
    हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो । कप्तान दीपेन्द्र ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए ।
    जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललित र जेम्स निशमले समान १ विकेट लिए ।
    उपाधिसँगै जनकपुरले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ नगद पुरस्कार पाए । एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरे ।
    जनकपुरले लिग चरण र पहिलो क्वालिफायरमा भएको हारको बदला लिँदैं उपाधि जितेको हो । जनकपुर सुदुरपश्चिमसँग लिन चरणमा ७२ रन र क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो । लिगमा पहिले व्याटिङरेको सुदुरपश्चिमले १२३ रन बनाएको थियो भने जवाफमा जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदैं अलआउट भएको थियो ।
    यस्तै फाइनल प्रवेशका लागि भएको पहिलो क्वालिफायरमा जनकपुरले पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जवाफमा सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदैं १४१ रन बनाई खेल ८ विकेटले जित्दै फाइनल प्रवेश गरेको थियो । जनकपुरले त्यसपछि दोस्रो क्यालिफायरमा कर्णाली याक्सलाई रोमाञ्चक प्रतिष्पर्धामा २ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

     

  • पर्यटक पथ प्रदर्शकले गरे मध्यपुरका सम्पदा अवलोकन

    भक्तपुर, पुस ६
    पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाईड)हरुले शनिवार मध्यपुर थिमिका सम्पदा एवम् ऐतिहासिक बस्तीहरुको अवलोकन गरेका छन । यही पौष १२, १३ र १४ गते हुने मध्यपुर महोत्सवको प्रचार प्रसार एवम् मध्यपुर थिमिमा पर्यटन उद्योगको विकासका लागि आयोजित सम्पदा पदयात्रा कार्यक्रम अन्तर्गत पर्यटक पथ प्रदर्शकहरुले मध्यपुरका सम्पदा अवलोकन गरेका हुन ।
    मध्यपुर थिमिमा पर्यटन उद्योगको विकास गरी स्थानीय कला सँस्कृति, सम्पदा, रहनसहन एवम् जीवनशैली, परम्परागत पेशा व्यवसायलाई पर्यटनसँग जोडेर स्थानीयको आय आर्जन बृद्धि गरी समृद्ध मध्यपुर निर्माण गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव–२०८१ आयोजना गर्दैछ ।


    सोही महोत्सवका दौरान नगरपालिकाले टुरिष्ट गाइड एशोसियसन नेपाल (टुरगान)सँग सहकार्य गरी पर्यटक पथ प्रदर्शकहरुलाई मध्यपुर थिमिको अवलोकन गराईएको हो ।
    स्थानीय शंखधर चोकस्थित ऐतिहासिक भाफल्चाबाट शुरु भएको पदयात्रा बालकुमारी लोकश्वर, लायकू, दिगु बहाः, चपाचोको पोटरी क्षेत्र, न्यागा, नगदेशको लाछिस्थित लुँझ्या (सुनको झ्याल), बोदेको लाछि, पाँचो, भाँगु र तिगनी निलबाराहीमा पुगेर समापन भएको थियो ।


    पदयात्राको शुरुवात गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले मध्यपुर लिच्छवीकालिन बस्ती एवम् सम्पदाहरुले भरिपूर्ण शहर भइकन पनि पयर्टन उद्योग फस्टाउन नसकिरहेको अवस्थामा यहाँका कला सँस्कृति एवम् सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटनको विकास गर्न मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभयो ।
    उहाँले पयर्टक पथ प्रदर्शकहरुको आजको पदयात्राले आगामी दिनमा मध्यपुरमा विदेशी पर्यटन भित्र्याउने ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।


    नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर पनि एउटा पर्यटकिय गन्तव्य स्थल भएको चर्चा गर्दै मध्यपुरमा विदेशी पर्यटन ल्याउन सहयोग गर्न पर्यटक पथ प्रदर्शकहरुलाई आग्रह गर्नुभयो ।
    पदयात्राका क्रममा मध्यपुर थिमिका संस्कृतिविदहरु ई. राजेन्द्र श्रेष्ठ, धर्मसुन्दर बज्राचार्य, प्रदिप श्रेष्ठलगायतले मध्यपुर थिमिका सम्पदाहरुको ऐतिहासिक, धार्मिक एवम् पौराणिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
    पदयात्रामा करिव एक सय जना पर्यटक पथ प्रदर्शकहरुको सहभागिता रहेको मध्यपुर थिमि नगरपालिका आर्थिक विकास महाशाखा प्रमुख एवम् महोत्सव सञ्चालक समितिका सदस्य सचिव तुलसीभक्त तकोले जानकारी दिनुभयो ।

     

  • मध्यपुर महोत्सवको प्रचारका लागि साइकल र्‍याली

    भक्तपुर, पुस ६
    मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पौष १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने मध्यपुर महोत्सव–२०८१ को प्रचार प्रसारका लागि शनिवार बृहत साइकल र्‍याली आयोजना गरिएको छ ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्य, मध्यपुर थिमिका पुर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठलगायतले साइकल चढेर र्‍यालीको शुभारम्भ गर्नुभएको हो ।
    थिमिको शंखधरचोकबाट शुरु भएको साइकल र्‍याली भक्तपुरको सल्लाघारी, सूर्यविनायक, जगाती, च्याम्हसिंह, दत्तात्रय, टौमढी, भर्वाचो गेट, सल्लाघारी, निकोशेरा, पुरानो थिमि बहाखाबजार, बोदे हुँदैं काठमाण्डौंको मूलपानी प्रवेश गरेको छ ।


    र्‍यालीले काठमाण्डौंको मुलपानी, जोरपाटी, बौद्ध, चावहिल, सिफल, सानो गौचरण, नक्साल, ठमेल, क्षेत्रपाटी, बसन्तपुर, जैसीदेवल, टेकु र थापाथलीको भ्रमण गरिनेछ ।
    थापाथलीबाट ललितपुर प्रवेश गरेको साइकल र्‍याली पाटनढोका, नागबहाल, ग्वार्को, लुभु हुँदैं पुनः भक्तपुरको चित्रपुर प्रवेश गरी दक्षिण बाराही हुँदैं शंखधरचोकमा पुगी समापन हुने आयोजकले जनाएको छ ।
    र्‍यालीमा करिव ३ सय साइकल यात्री सहभागी भएका छन । र्‍यालीका क्रममा उपत्यकाका विभिन्न स्थानमा धिमे बाजा बजाई प्रचार गर्ने र ती स्थानमा महोत्सवका प्रचार सामग्री र निमन्त्रणा पत्र समेत वितरण गर्ने कार्यक्रम रहेको साइकल र्‍यालीका संयोजक सुशान चक्रधरले बताउनुभयो ।
    मध्यपुर साइकल ग्रुपको संयोजनमा मध्यपुर थिमि नगरपालिका र साइकल कनेक्ट भक्तपुरले संयुक्तरुपमा आयोजित साइकल र्यालीले ४४ किलोमिटर दुरी तय गर्ने चक्रधरले जानकारी दिनुभयो ।

  • “मध्यपुर महोत्सव – २०८१” पुष १२, १३ र १४ गते

    सुनीता तुलाधर,
    मध्यपुर थिमि, पुष ५ गते ।

    मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ यही पुष १२ गतेदेखि १४ गतेसम्म गर्न लागिएको “मध्यपुर महोत्सव – २०८१” को तयारी भईरहेको जानकारी हिजो मध्यपुर थिमिको लाय्कूमा गरिएको पत्रकार सम्मेलनमा दिइएको छ । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको सो पत्रकार सम्मलेनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय मौलिक सँस्कृति, जीवनशैली र यससँग सम्बन्धित विभिन्न कार्यहरुको प्रदर्शनी तथा स्थानीय उत्पादनहरुको व्यापारिक प्रदर्शनी समेत गर्न लागिएको बताउनुभयो ।
    नगरप्रमुख श्रेष्ठले “न्यूजअफ” सँग कुराकानी गर्नुहुँदै महोत्सवको विशेषता भनेको नै मध्यपुरको सभ्यतालाई उजागर गराउनु रहेको र यसको इतिहास, सँस्कृतिबारे थप जानकारी दिन विज्ञहरुको समूहद्वारा छलफल कार्यक्रम पनि सञ्चालन गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।

    साथै उहाँले संयुक्त राष्ट्र संघमा नेपालको पहिचान स्थापित गर्न भूमिका खेलेको लिपि नेपालको “रञ्जना लिपि” लेखनको तालिम २ वर्षदेखि नगरपालिकाले सञ्चालन गरिरहेको र उक्त तालिममा सहभागीहरुद्वारा नै थिमि लाय्कू परिसरमा रञ्जना लिपि लेखनको प्रदर्शनी पनि गर्न लागिरहेको बताउनुभयो ।
    यो महोत्सव नयाँ थिमिको शंखधरचोकबाट शुरु भई बालकुमारी, चापाचो, नगदेश, बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रसम्म महोत्सवका विभिन्न प्रदर्शनीहरु सञ्चालन हुनेछ । स्थनीय कला सँस्कृति, पेशा, व्यवसाय, खेल तथा नेवाः भ्वय् लगायत विभिन्न नेवाः परिकारहरुको मिठो स्वाद पनि यस महोत्सवमा चाख्न सकिनेछ ।

  • भक्तपुरमा बुबाले गरे छोराको हत्या

    भक्तपुर, पुस ३
    भक्तपुरमा बुबाले चक्कु प्रहार गरेर छोराको हत्या गरेको छ । भक्तपुर नगरपालिका–२ शहिद स्मृति खेल मैदान नजिक एक घरमा डेरा गरी बस्ने ६३ वर्षिय दिपबहादुर शाहीले ३१ वर्षिय छोरा नरेन्द्र बहादुर शाहीको हत्या गरेको हो ।
    मादक पदार्थ सेवन गरि घर पुगेका बुवाले आफ्नै छोरामाथि तरकारी काट्न प्रयोग हुने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट दाहिने पट्टिको छातिमा लागेको नरेन्द्र बहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरीले चक्कु प्रहार गर्ने दिपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।

     

  • ग्वंगःको ‘मै एक मै अनेक’ निबन्धसंग्रह विमोचन

    भक्तपुर, पुस १
    संस्कृतिविद् एवम् साहित्यकार तेजेश्वरबाबु ग्वंगःको निबन्धसंग्रह ‘मै एक मै अनेक’ सोमवार विमोचन भएको छ । ग्वंगःको उक्त निबन्धसंग्रह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा विमोचन गर्नुभएको हो ।
    सो अवसरमा अध्यक्ष बिजुक्छेँले व्यक्तिको अभिव्यक्ति फरक फरक शैलीमा प्रतिबिम्बित हुने बताउँदै साहित्यकारहरुले शब्द, बिम्ब र प्रतिकको रुपमा साहित्यहरु सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । प्रगतिशील साहित्यबाट देश र जनताको हित हुने दावी गर्दै उहाँले साहित्यलाई प्रचारको माध्यमको रुपमा लिनुपर्ने बताउनुभयो ।
    उहाँले साहित्यकारहरु कहिल्यै पनि राजनीतिबाट अलग हुन नसक्ने चर्चा गर्दै साहित्यकारले प्रत्यक्ष देखेको र भोगेको स्पष्ट रुपमा कथा, कविता, नाटक आदि मार्फत कलम चलाउनुपर्ने धाराण राख्नुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला र संस्कृति प्रचारप्रसारमा साहित्यकार तेजेश्वर ग्वंगःको उल्लेखनीय योगदान रहेको र ग्वंगद्वारा लिखित भक्तपुर सम्बन्धी लेख रचनाले भक्तपुरको जीवन्त चित्रण गरेको जानकारी गराउनुभयो ।
    प्रमुख प्रजापतिले भक्तपुर कला र संस्कृतिको सहर भएकोले भक्तपुर महोत्सवमार्फत अध्ययन अनुसन्धानकर्ताहरुको लागि महोत्सव एउटा अवसरको रुपमा रहेको बताउँदै भक्तपुरमा रहेका मुर्त अमुर्त सम्पदा अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि महोत्सवले मद्दत पुर्याउने बताउनुभयो ।
    साहित्यकार तेजेश्वरबाबु ग्वंगःले विगतका आफ्ना साहित्य लेखनको अनुभव सुनाउँदैै आफुले नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा सहित्य लेख्दै आएको समेत बताउनुभयो ।
    वरिष्ठ निबन्धकार एवं पुस्तकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न भएको पुस्तक विमोचन कार्यक्रममा सुन्दर स्वदेश प्रकाशनका अध्यक्ष ऋषिराम पाण्डे र प्रदिप सापकोटाले पनि बोल्नुभएको थियो ।

     

  • नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश

    भक्तपुर, पुस १
    नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो ।
    पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सुपर ४ मा प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
    १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।


    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् ।
    नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् ।
    नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे ।
    नेपालले मंगलबार समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ । सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।

     

  • एनपिएलको प्लेअफ समीकरण पूरा

    भक्तपुर, पुस १
    नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणका खेल सोमवार सकिएसँगै प्लेअफ समीकरण पनि पूरा भएको हो ।
    लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भएका छन ।
    सुदूरपश्चिमले लिगका ७ खेलबाट १२ अंक जोडेको छ । जनकपुरले लिगमा ५ जित, दुई हार व्यहोर्दै १० अंक जोड्यो भने चितवन, कर्णाली र काठमाण्डौं गुर्खाजको समान ८ अंक रहेको छ । समान ८ अंक भएपनि नेटरनरेटको आधारमा चितवन र कर्णाली प्लेअफमा पुगेको हो ।
    लिगमा समान ४ अंक जोडेको विराटनगर किंग्स र पोखरा एभेन्जर्स, २ अंक जोडेको लुम्विनी लायन्स् प्लेअफबाट बाहिरिएका छन ।
    एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । त्यो इलिमिनेटर खेल हुनेछ ।
    त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।
    बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ । त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
    पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल शनिवार दिउँसो १२ बजे सुरु हुनेछ ।