Blog

  • मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुईंचो, दोस्रो दिन दुई लाख ५० हजारले अवलोकन गरे (फोटो फिचरसहित)

    भक्तपुर, पु्स १३
    मध्यपुर थिमि नगरपालिकाको आयोजनामा जारी मध्यपुर महोत्सवमा शनिवार अवलोकनकर्ताहरुको घुईंचो लागेको छ । शुक्रवार शुरु भएको महोत्सवको दोस्रो दिन शंखधर चोकदेखी थिमिको बहाखाबजार, नगदेश, बोदे र टिगनीमा अवलोकर्ताहरुको घुईंचो लागेको हो । महोत्सव आइतवारसम्म चल्ने मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
    बिहान १० बजे शुरु भएको महोत्सवमा बिहानैदेखी अवलोकनका लागि भिड लागेको थियो । दोस्रो दिन महोत्सव करिव दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    “तीन दिने महोत्सव करिव ५ लाखले अवलोकन गर्ने अपेक्षा थियो । जसमध्ये पहिलो दिन एक लाख २५ हजार, आज दोस्रो दिन करिव दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान छ,” उहाँले भन्नुभयो, “आइतवार हाम्रो लक्ष्य पुरा हुने अपेक्षा गरेका छौं ।”


    महोत्सव हेर्न आएका अवलोकनकर्ताको भीड र उत्साहले पर्यटन प्रवद्र्धनमा सकारात्मक उर्जा थपेको बताउँदै नगर प्रमुख श्रेष्ठले महोत्सवले यहाँको आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    “नगरमा दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँदै स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “यसले स्थानीयको जीवनस्तर उकास्न टेवा पु¥याउनुका साथै नगरको दिगो विकासमा सहयोगी बन्नेछ ।”


    महोत्सव क्षेत्रमा हजारौंको भिडले ठेलमठेल जस्तै भएको थियो । शंखधरचोक, बालकुमारी, चपाचो र बहाखाबजारसम्म मानवसागर नै उर्लेको जस्तो देखिन्थ्यो । नगदेश, बोदे, टिगनीमा भने तुलनात्मकरुपमा भिड कम थियो ।
    महोत्सवमा यति धेरै मानिसहरुको भिड यसअघि कहीँ नदेखिएको पूर्व मिस नेवाः एवम् सञ्चारकर्मी नितु डंगोलले बताउनुभयो । शनिवार साँझ चपाचोका भेटिनुभएका डंगोलले भन्नुभयो, “अन्य स्थानमा पनि यस्तो महोत्सवको अवलोकन गरियो, तर मध्यपुरमा जस्तो मानिसको भिड अन्त कतै देखिएन ।”


    महोत्सव अवलोकनमा लागि शनिवार पनि प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला एवम्र कानून मन्त्री सुरज चन्द्र लामिछाने, बागमती प्रदेशसभा सदस्य सांसद सुरेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरु लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
    महानगर प्रमुख महर्जनले मध्यपुर महोत्सवमा अवलोकनकर्ताको भीडले मौलिक कला सँस्कृति र स्थानीय परिकारले सबैलाई आकर्षित गरेको स्पष्ट भएको प्रतिक्रिया दिनुभयो । उहाँले महोत्सवले मध्यपुरमा बाह्य र आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    चन्दागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले मध्यपुरको कला सँस्कृति अनुपम रहेको प्रतिक्रिया दिँदैं महोत्सवमा स्थानीयको सहभागिता उदाहरणीय रहेको बताउनुभयो । उहाँले महोत्सवले मध्यपुरलाई एकतावद्ध, एकआपसमा सहकार्य गराएको अनुभव भएको बताउनुभयो ।


    स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धनलाई जोड दिन आयोजित महोत्सवमा २६ वटा सांस्कृतिक बाजागाजा, एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटी पौवामा दाफा भजनलगायत कला, संस्कृति समावेश गरिएको छ ।
    भगवान् गौतमबुद्धको अस्थी धातु, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा छन् । यस्तै लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँच फिट अग्लो सुकुन्दा प्रदर्शनका साथै नेपालको पहिलो माटोको हिटर ‘आशा हिटर’, चपाचोमा माटोका भाँडाकुँडा र गमला, नगदेशमा हरियो तरकारीको स्वागतद्धार निर्माण गरिएको छ ।


    टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, बोदेमा नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार, चादेमा सामूहिक व्रतवन्धको झल्को दिने गरी माटोको प्रतिमूर्ति, दथुटोलमा ओस्ला नेपालको प्रस्तुतीमा नेवार समूदायमा प्रचलित ३५ प्रकारका भोजको प्रदर्शनी रहेको छ ।
    यसका साथै करिव ३ सय वर्ष पुरानो मल्लकालिन माटोका भाँडा बनाउने ढुंगाको चाखा, चपाचोमा नेवारी कलासँस्कृति, बाजागाजा र देीनक जीवनमा उपयोग हुने भाँडाकुँडालगायतको सग्रहालयले पनि अवलोकनकर्तालाई आकर्षित गरेको थियो ।


    विशेष गरी योमरी, बारा, चटामरी, समेबजीलगायतका नेवारी खानाका स्टलमा अवलोकनकर्ताहरुको विशेष भिड लागेको थियो । महोत्सवमा आउनेहरूको आकर्षणमा नेवारी परम्परागत मदिरा ऐला पनि परेको थियो । यसका अलावा ल्याम्हः पुचःले आयोजना गरेको नेवारी भोज जहाँ ३८ प्रकारका परिकार समावेश रहेको भोजले पनि आकर्षण गरेको थियो ।

  • सम्पदाहरूको बजारीकरण गर्न सके देशमै अवसर सिर्जना हुन्छ – उप प्रधानमन्त्री सिंह (फोटो फिचरसहित)

    भक्तपुर, पुस १२
    मध्यपुर थिमि नगरपालिकाको आयोजना तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि शुरू भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
    महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो । उहाँले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन र अवसर सिर्जनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


    ‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका जुन सिप, संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पु¥याउँछ भन्ने मलाई विश्वास छ,’ सिंहले भन्नुभयो, ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउन महोत्सवले प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’
    कला संस्कृतिले सम्पन्न मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई महोत्सवले विश्वसामु ल्याउन मद्दत गर्ने उहाँले बताउनुभयो ।


    ‘मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनका लागि महोत्सव आयोजना भएको छ । महोत्सवका लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ,’ उहाँले भन्नुभयो ।
    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिलाई समृद्ध बनाउने तीन क्षेत्र मध्ये एउटा मध्यपुरको कला सँस्कृति, पेशा व्यवसायको प्रवद्र्धन गरी पर्यटनको विकास भएकाले यस्तो महोत्सवले समग्र मध्यपुरलाई समृद्ध बनाउने बताउनुभयो ।


    प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले यस्ता महोत्सवले आम नागरिकलाई एक अर्कोमा जोड्ने विश्वास व्यक्त गर्दै महोत्सवले मध्यपुरलाई चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
    बागमती प्रदेशका सांसद एवम् पूर्वमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले मध्यपुर थिमिका कला सँस्कृति, रहनसहन जीवनशैलीलाई समेट्दै संग्रहालय बनाउने आफ्नो चाहना रहेको बताउनुभयो ।
    मध्यपुर थिमि नगरपलिकाका पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठले महोत्सवले मध्यपुरमा पर्यटन उद्योगको विकासमा टुवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति हरीदास प्रजापतिले नगरको समग्र विकासको लागि आयोजना गरिएको महोत्सवमा राजनैतिक रंग दिने वा अनेक अफवाह पैmलाउने प्रयास भएकाले त्यस्तो नगर्न चेतावनी दिनुभयो ।


    नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले कला सँस्कृति र सम्पदाहरुको संरक्षणका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास निर्माणका काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
    नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवद्र्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै ती समयमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।


    महोत्सवका कार्यक्रमहरू शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा सञ्चालन भएका छन् । महोत्सवमा तीन सय ४७ स्टल छन् । यीमध्ये स्थानीय कला, संस्कृति, परम्परा, र हस्तकला प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रदर्शन तीन दिनसम्म हुनेछ ।
    महोत्सवमा साँस्कृतिक नाच प्रदर्शन अन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, इन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन भएका छन ।


    बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजन लगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन हुने नगरपालिकाले जनाएको छ । यसका साथै नेवारी वेशभूषा र परम्परागत सामग्री प्रदर्शनीमा नेवारी संस्कार र वेशभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनीमा राखिएका छन् ।
    नेवाः संस्कारका अलवा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन भइरहेका छन् ।
    यसैगरी मध्यपुर महोत्सवको उद्घाटनको अवसरमा मध्यपुर थिमि नगरपालिकाले प्रकाशन गरेको फोटो पुस्तक ‘हाम्रो मध्यपुर थिमि’को उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विमोचन गर्नुभएको थियो । उक्त पुस्तकको लेखक र तस्विर राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको रहेको छ भने सम्पादन जगतकृष्ण प्रजापतिको रहेको छ ।

     

  • मध्यपुर महोत्सव आजबाट शुरु हुने, यी हुन महोत्सवमा आकर्षणहरु

    भक्तपुर, पुस १२
    मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले आज (शुक्रवार)बाट मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ शुरु हुँदैंछ । वडा नं. ४ स्थित बालकुमारी मन्दिर परिसरमा बिहान १० बजे उद्घाटनपछि हुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    महोत्सवका प्रमुख आकर्षणहरुमा बालकुमारीमा ५३ थरीका गेडागुडी प्रदर्शनी, ओस्ला नेपालको संयोजनमा नेवार समूदायमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य पर्वहरुमा खाने भोजका करिव ३५ प्रकारमा भोजको प्रदर्शनी, हिटरको प्रवेश द्धार, सामूहिक व्रतबन्धको प्रतिकात्मक प्रदर्शनी रहेको छ ।

    यस्तै गमलाको प्रवेश द्धार, माटोका भाँडाुकँडा प्रवेश द्धार, भैलः (भैरव)को प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिको प्रतिमूर्ति, बुद्धको अस्थि धातुको दर्शन, माटोको भाँडा बनाउने ३०० वर्ष पुरानो ढुंगाको चक्का, नेपाली मुद्रा र सिक्काको प्रदर्शन, माटोको करिव ५ फिट अग्लो सुकुन्दा पनि आकर्षण केन्द्र बन्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    उपत्यकाका चार प्रख्यात उत्पादन मध्येको एक टिगनीको टिगनी बजी (चिउरा) कुट्ने विधिको जिवित प्रत्यक्ष अवलोकन गर्न सकिने वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी रावबहाकले जानकारी दिनुभयो ।


    महोत्सवलाई आकर्षक बनाउन नगदेशमा तरकारीको प्रवेश द्धार निर्माण गरिएको छ । थिमिको लाय्कूमा दरवारभित्र बिस्काः जात्रा गरिने विभिन्न देवी देवताका खट प्रदर्शन गर्ने भएको छ । नगदेशको सिद्धि गणेश द्यछेंस्थित लुँझ्या (सुनको झ्याल) महोत्सवको अर्को आकर्षण बन्ने छ ।
    बोदेको शैक्षिक प्रदर्शनीले पनि युवा विद्यार्थीहरुलाई आकर्षित गर्ने मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । नगरपालिकाको शिक्षा शाखाको संयोजन र नीजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याव्सन) मध्यपुरको सहकार्यमा आयोजित शैक्षिक प्रदर्शनीमा विद्यालयस्तरी लोकनृत्य प्रतियोगितामा सहभागी सबै नाच, चित्रकला प्रतियोगितामा विद्यार्थीहरुले स्थलगतरुपमा तयार गरेका चित्रको प्रदर्शनीलगायत शैक्षिक गतिविधि शैक्षिक प्रदर्शनीमा हुनेछ ।


    ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर(साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाचलगायतका २५ वटा नाच प्रदर्शन हुनेछ ।
    बासुरी बाजा, धिमे बाजा, गुँला बाजा, नाय्खी बाजालगायतका साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ । युवाहरुको समूहले बिस्काः जात्राको झल्को दिनेगरी सिन्दुरसहितको जात्रा नगर परिक्रमा गर्नेछ । निकोशेराको समूहले शनिवार घिन्ताङघिसी नाच नगर परिक्रमा गराईने भएको छ ।


    भजनकिर्तन प्रदर्शनीतर्फ ४५ स्थानमा कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजनको प्रस्तुती रहनेछ । घरेलु तथा साना उद्योगको प्रदर्शनमा ६० स्टल रहनेछ ।
    यसका साथै टोल टोलमा नेवारी खानाका स्टल, चापाचो क्षेत्रमा सेरामिक्स र माटोका भाँडाकुँडाका उत्पादन, परम्परागत खेलहरु, चपाचोस्थित आँखाछें संग्रहालय, मूर्ति र मूर्तिकला, काष्ठकला, हस्तकलाका प्रदर्शनी पनि महोत्सवका आकर्षक हुनेछन ।
    महोत्सवलाई व्यवस्थितरुपमा सञ्चालन गर्न महोत्सव क्षेत्रका पार्टी प्यालेस, विद्यालय, कलेजहरुको प्रांगण, शंखधरचोक, पाटी बिहार नजिकको खेल मैदान, सिद्धिकालीको खेल मैदान लगायतका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको छ ।


    महोत्सवलाई लक्षित गरी विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ । यसका लागि नगरभित्र फोहोर मैलाको क्षेत्रमा कार्यरत चार वटा संघसंस्था, नगर प्रहरी र नगरको द्रुत सहयोगीको समूह परिचालन गरिएको छ ।
    महोत्सवका बेला शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, शसस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी, नेपाली सेनाको गठ्ठाघर व्यारेक र भैरवनाथ गुल्म, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय लगायतका निकायसँग सहकार्य र समन्वय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


    महोत्सवलाई भव्य, सभ्य र व्यवस्थितरुपमा सञ्चालन गर्न स्थानीय स्काउट, नगरको युवा क्लव र युवा क्लव सञ्जाल, विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा परिचालन गरिएको छ । यसका साथै महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुको सुविधाको लागि महोत्सव क्षेत्रमा निःशुल्क बसको व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

  • बालकोटमा बुबा र भाई हत्या गर्ने युवक महाराजगञ्जबाट पक्राउ

    भक्तपुर, पुस १०
    भक्तपुरको बालकोटमा बुवा र भाईको हत्या गरी फरार भएका युवकलाई प्रहरीले मंगलवार काठमाण्डौंको महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ घर भई हाल बालकोटमा बस्ने २६ वर्षिय मिलन आचार्य हुन ।
    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसारले उनले हत्या स्विकार गरिसकेको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले तनावका कारण बुवा र भाईको हत्या गरी आफुले पनि आत्महत्या गर्ने प्रयास गरेको तर नसकेको बयान दिएको प्रहरी स्रोतले बताए ।
    “पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बुवा पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको र सोही तनावका कारण हत्या गरेको बयान मिलनले दिएका छन,” स्रोतले भन्यो ।
    कुलप्रसाद कार्यालयको कामको शिलशिलामा केही दिन अघि मात्र छोराहरुको डेरा बालकोट आएका थिए । गत शनिबार पनि कुलप्रसाद आफ्ना छोराहरुसँगै बालकोटस्थित कोठामा बसेका थिए । त्यस राति उनीहरुले मासु पकाएर समेत खाएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।
    सोमवार बिहान मात्र स्थानीयले प्रहरीलाई खबरगरी ताला फोरी हेर्दा कुलप्रसाद र प्रविण अलग अलग कोठामा मृत फेला परेका थिए । मिलन भने फरार थिए ।
    अनुसन्धानका क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो ।
    त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । मोबाइल समेत अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । उनी कोठाबाट निस्कँदाको झोलासहित मंगलबार महाराजगञ्जमा फेला परेका थिए ।
    काठमाण्डौंको महाराजगञ्जस्थित भाटभटेनी क्षेत्रमा कालो झोला भिरी हिडिरहेको अवस्थामा मिलनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    मिलनलाई मंगलवार नै प्रहरी वृत्त थिमि ल्याई कर्तव्य ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिनुभयो ।

  • राष्ट्रिय क्लब टिम बुद्धिचाल आजबाट शुरु हुने

    भक्तपुर, पुस १०
    नेपाल बुद्धिचाल महासंघको ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आज (बुधवार)बाट राष्ट्रिय क्लब टिम बुद्धिचाल च्याम्पियनसिप ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरु हुने भएको छ । च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
    महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेण्ट कोड ३९१८७३ रहेको छ । खेल क्लासिकल स्टाण्डर्ड ९० मिनेट ३० सेकेण्ड ईन्क्रिजमेण्टको हुनेछ ।
    प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल संघ, काठमाण्डौं चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर, कास्की जिल्ला बुद्धिचाल संघ र कोशी प्रदेश बुद्धिचाल संघको सहभागिता रहने छ ।
    यसैगरी गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल संघ, पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर थिमि चेस एशोसियशन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश संघ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी ब्, माउन्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमी गरि कूल २० सहभागी चेस टोलिको नाम दर्ता भइसकेको प्रवक्ता ताम्राकारले जानकारी दिए ।
    क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा हरेक टोलीवाट ५ जना खेलाडी र एक जना टिम ब्यबस्थापक रहने छ । अन्तर्राष्ट्रिय फर्म्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्ला तर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहनेछ ।
    प्रतियोगितामा ७ चरणको लिग खेल सञ्चालन हुनेछ । लिग खेलवाट शीर्ष ४ टोली सेमिफाइनलका लागि छनौट हुनेछन् । सेमिफाइनल जित्ने २ टोलीले फाइनल खेल्ने छन् । जसका विजेताले पुरस्कार रकम नगद २ लाख सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र
    यस्तै उप विजेता टिमले नगद १ लाख २० हजार हात पार्नेछन् । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ६० हजार , चौथो टिमले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ । कूल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ ।
    नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले पूर्व घोषणा गरेका राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरिसकेको बताए । पूर्व घोषित राष्ट्रिय ब्लिट्ज , राष्ट्रिय रापिड, राष्ट्रिय सिनियर, राष्ट्रिय एमेच्योर, उमेर समूहका सबै राष्ट्रिय खेल, ९ औं महिला राष्ट्रिय च्याम्पियन, १४ औ राष्ट्रिय प्रतियोगिता सकिसकेको छ । उहाँले यो राष्ट्रिय टिम पनि सम्पन्न हुने चरणमा रहेको बताउदै आगामी जनवरी देखि नयाँ क्यालेण्डरमा खेल सञ्चालन गरिने जानकारी दिए ।
    अध्यक्ष महर्जनले टिम खेल मार्फत खेलाडीहरुलाई व्यवसायिक खेल तर्फ अग्रसर गर्ने प्रयास गरेको बताउदै राम्रा खेलाडीले अक्सन कै शैलीमा पारिश्रमिक पाउन सफल भएको बताए ।
    पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

     

  • बालकोटमा बन्द कोठामा बाबु छोरा मृत फेला, हत्याको आशंकामा अनुसन्धान शुरु

    भक्तपुर, पुस ८
    भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा बाबु छोरा मृत फेला परेका छन । स्थानीय एक घरमा डेरा गरी बस्ने खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षिय कुलप्रसाद आचार्य र उनका २२ वर्षिय छोरा प्रविन आचार्य मृत फेला परेका हुन ।
    प्रहरीका अनुसार साढे तीन तल्ले पक्की घरको तल्लो तलामा डेरा गरी बसेका आर्चाय परिवार मध्ये बाबु छोरा दुवै जना अलग अलग कोठामा मृत फेला परेका हुन । दुई जनाकै कोठामा बाहिरबाट ताला लगाएको पाईएकोले दुवै जनाको हत्या भएको आशंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ । एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
    बिहान करिव १० बजे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो । गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए । उक्त तलामा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका छन । शनिबार खाना खाएर सुतेका आचार्य परिवारको कोठामा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।
    कोठामा बाहिर ताला लागेकाले उक्त तलामा बस्ने अन्य व्यक्तिहरूले आचार्य परिवार कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म आचार्य परिवारका कोही नदेखिनु र कोठामा पनि नआएपछि सँगैको कोठामा डेरा गरी बस्नेहरुले प्रहरीलाई खबर गरेका थिए ।
    त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका हुन् । शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
    घटनास्थलमा प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, काठमाण्डौं उपत्यका अपराध नियन्त्रण कार्यालयको प्रहरी टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।
    प्रहरीका अनुसार मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको प्रनाउ नेउपानेले बताउनुभयो । हुलाक विभागमा कार्यालयको कामले कुलप्रसाद केही दिन अघि छोराहरुको डेरामा आएका थिए । विगत तीन वर्षदेखि कुलप्रसादका दुई छोराहरु प्रविण र मिलन दुई वटा कोठा भाडामा लिएर अध्ययन गर्दै आएका थिए ।

    तस्विर ः थाहाखबरबाट

  • महोत्सवलाई लक्षित गरी युवालाई पर्यटक सचेतकर्ता तालिम प्रदान

    भक्तपुर, पुस ८
    मध्यपुरमा पर्यटन उद्योगको प्रवद्र्धनका लागि मध्यपुर थिमि नगरपालिकाले स्थानीय युवाहरुलाई पहिलो पटक पर्यटक सचेतकर्ता तालिम प्रदान गरेको छ । मध्यपुर महोत्सव–२०८१ को दौरान महोत्सवमा आउने पर्यटकहरुलाई स्वागत सत्कार गरी यहाँको कला सँस्कृति, सम्पदाहरुको बारेमा संक्षिप्त जानकारी दिने र भविष्यमा मध्यपुर थिमिमा पर्यटन विकासको लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।
    चार दिने उक्त तालिमको संयोजन नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका तालिम अधिकृत रतन बहादुर साउदले संयोजन गर्नुभएको हो । तालिममा प्रशिक्षकहरु अजयकुमार ढकाल, कृष्ण खरेल, डम्बरराज भट्ट, रामबहादुर कुँवर, ई राजेन्द्र तुँबजा श्रेष्ठ र धर्मसुन्दर बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो ।


    तालिममा प्रशिक्षकहरुले मध्यपुरको कलासँस्कृति, सम्पदाहरुको चिनारी र इतिहास, पर्यटन उद्योगको महत्व र यसका फाइदा, पर्यटकलाई स्वागत सत्कार गर्ने तौरतरिका, गाईडिङ टेक्निक (पथ प्रदर्शन गर्ने विधि), कम्यूनिकेसन स्किल (पर्यटकलाई सञ्चार गर्ने कला), आर्ट एण्ड आर्टिटेक्चरलगायतका विषयमा प्रशिक्षण दिनुभएको तालिम संयोजक साउदले जानकारी दिनुभयो ।
    तालिमका क्रममा सहभागीहरुलाई तीन दिन विषयगत कक्षा सञ्चालन गरी सैद्धान्तिक शिक्षा प्रदान गरिएको थियो भने चौंथो दिन मध्यपुर थिमिका विभिन्न सम्पदाहरुको स्थलगत भ्रमण गराई स्थलगत अभ्यास गराईएको थियो ।
    तालिममा मध्यपुर थिमि नगरपालिकाले गठन गरेको युवा क्लव, युवा क्लव सञ्जालमा आवद्ध युवाहरुका साथै व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु गरी कुल ४२ जनाको सहभागिता रहेको मध्यपुर महोत्सव सचिवालयका कार्यालय व्यवस्थापक एवम् मध्यपुर थिमि नगरपालिका शिक्षा शाखाका धना गिरीले जानकारी दिनुभयो ।

    तस्विर ः धना गिरी

     

  • मध्यपुर महोत्सवलाई थिमिमा बृहत सरसफाई सम्पन्न

    भक्तपुर, पुस ७
    मध्यपुर महोत्सव–२०८१ लाई लक्षित गरी शनिवार मध्यपुर थिमिमा बृहत सरसफाइ गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पुस १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने महोत्सवलाई लक्षित गरी नगरपालिकाको शिक्षा शाखाको अगुवाईमा नगरका सामूदायिक र संस्थागत विद्यालयहरु परिचालन गरि सरसफाई गरिएको हो ।
    प्याव्सन मध्यपुर नगरसमितिसँगको सहकार्यमा सञ्चालित कार्यक्रममा नगरका पुरातात्विक महत्वका सम्पदा, महोत्सव हुने क्षेत्रको टोलबस्ती, चोक, दबूलगायतका क्षेत्रमा सरसफाई गरिएको नगर शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले बताउनुभयो ।


    सरसफाईलाई बृहत र परिणाममुखी बनाउन विद्यालयहरुलाई विभिन्न सम्पदा र स्थानको जिम्मेवारी नै दिएर सरसफाई अभियान सञ्चालन गरिएको प्याव्सन मध्यपुर नगर समितिका अध्यक्ष सुमन बस्नेतले जानकारी दिनुभयो ।
    बिहान ८ बजेदेखी १० बजेसम्म सञ्चालन भएको सरसफाई क्रममा चाणक्यले शंखधरचोक, नौलो ज्योतीले वामुने टोल, वेलफेयर एकेडेमीले बालकुमारी परिसर, माउण्ट सिनाईले तछुटोल, बालप्रेमी माविले विष्णुविर परिसर, आदर्श माविले करुणामय परिसर, भक्तपुर ईङ्गलिस स्कुलले लायकू तथा इनाय गणेश परिसर, सिभिएमले दुईपोखरी क्षेत्रको सरसफाई गरिएको महोत्सव सचिवालयका फोकल पसर्न धना गिरीले बताउनुभयो ।


    उहाँका अनुसार नवरत्नले दिगुटोल र हात्तिमहांकाल, सिद्धार्थ विद्यापिठले भुँलाखेल, अर्विटले हात्तिमहांकाल र चपाचो, नालन्दले चपाचो भित्रि भाग, विनायकले चपाचो गार्चा, आदर्श मावि सानोथिमिले सुंगा पुखुः, ग्लोरीले गुंगचिवाः, एक्टिभले वडा नं. ७ कार्यालय परिसर र सुप्रिमले भिमसेन चोक गार्चामा सरसफाई गरिएको थियो ।
    यसैगरी स्मल किड्सले नगदेश लुँ झ्या परिसर, जनप्रेमी वल्र्डले नग मन्दिर परिसर, कौशलटार ईङ्गलिस स्कुलले नगदेश लाछिटोल, अमिनिटीले नगदेश बुद्ध बिहार, मातृभुमीले पाटी बिहार, गणेश माविले मिलरोड क्षेत्रको सरफाई गरेको थियो ।


    यस्तै बोदेको नर्थप्वाइन्ट मल क्षेत्रमा ग्लाडस्टोन, धोबुमा क्रियटिभले, लाछिटोलमा हिमचुली, महालक्ष्मी स्थानमा भक्तपुर निष्ट, बोदे लायकूमा युनिक नेपाल, पलेस्वाँ पुखुमा ओम ज्ञानमन्दिर, कुमारी पार्कमा दिव्य दिप ज्योती स्कुलले सरसफाई गरेको थियो भने टिगनीको तराँ टोल, निलबाराही क्षेत्रमा एडभान्स र एभरेष्ट स्कुलले सरसफाई गरेको थियो ।
    थिमिको लायकू परिसरमा तपोभुमि, दिगुटोल भित्रि परिसरका होली गार्डेन स्कुल, ग्लोबल पाठशालाले बालकुमारी, इमानुयलले बालकुमारी उकालो, जेनिथले थिमि करुणामय, आस्था महिला विद्यालयले हात्तिमहांकाल चापाचो, जनकद्धिकालीले गुंगचिवा, एरुडाइटले नगदेश गार्चा, लोटुले बोदे लाछिटोल, ज्ञानसुधाले नगदेश गणेश मन्दिर, जया माविले टिगनी, साहारा राष्ट्रिय विद्यालयले दिगुटोल र बोदे माविले पलेस्वाँ पुखु र पाचो गणेश क्षेत्रको सरसफाई गरिएको थियो ।


    यसैबीच मध्यपुर थिमि नगरपालिकाले गठन गरेको नगर युवा क्लव र युवा क्लव सञ्जालले नियमित सरसफाई अभियान अन्तर्गत वडा नं. १ को दिव्यश्वरी, सिद्धिगणेश, सिद्धिकाली मन्दिरहरुको सरसफाई गरिएको सञ्जालका अध्यक्ष सनिम द्धारेले बताउनुभयो ।

  • चाँगुनारायणको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

    भक्तपुर, पुस ७
    चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नेक्सस परियोजना अन्तर्गत विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला आयोजना गरिएको हो ।
    कार्यशालाको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील नगरपालिका बनाउनको लागि नगरपालिकाले आफ्नै ऐन, नीति, नियम, कार्यविधि र योजनाहरु बनाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो ।
    यस आर्थिक वर्षमा नगरपालिकाले विपद् व्यवस्थापनको लागि ६ करोड ३० लाख बजेट बिनियोजन गरेका जानकारी दिनुहुँदै नगर प्रमुख खत्रीले यस वर्षको मनसुनबाट क्षति भएका भौतिक संरचनाहरु पूर्ननिर्माणको लागि योजनामा छुट्याएको बजेटबाट १० प्रतिशत रकम कटौती गरी विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको बताउनुभयो ।
    उहाँले पूर्ननिर्माणको लागि आवश्यक थप बजेट तथा योजनाको लागि प्रदेश तथा संघिय सरकार समक्ष अनुरोध गरिएको पनि बताउनुभयो । नगर प्रमुख खत्रीले बार्षिक रुपमा गरिने विपद् जोखिम मूल्यांकन कार्यले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा पुरा गर्नुपर्ने मापदण्ड र क्षमता अभिवृद्धिको लागि मार्गदर्शन गर्ने बताउनुभयो ।
    नगर उपप्रमुख रमेश बुढाथोकीले विपद्को समयमा सर्वप्रथम समुदायका मानिस नै परिचालित हुने भएकाले नगरपालिकाले समुदायमा प्रथम उद्धारकर्ता तयार गरीे विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार वडास्तरमा कृत्रिम घटना अभ्यास गरेर समुदायलाई सम्भावित विपद्संग सामना गर्नको लागि सक्षम बनाउने बताउनुभयो । उहाँले यस वर्ष आगलागी, बाढी, पहिरो, हुरीबतास र जनावर आतंकबाट प्रभावित ३४ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
    आइसेट नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दिक्षितले नगरपालिकासंगको साझेदारीमा संचालित नेक्सस परियोजना मार्फत संचालित गतिविधिहरु र नगरपालिकाले आफ्नै पहलमा तय गरेका विपद् जोखिम न्यूनीकरणका गतिविधिहरुका कारण उल्लेख्य प्रगती गरेको बताउनुभयो । उहाँले नेक्सस परियोजना मार्फत चाँगुननारायण नगरपालिकासंग विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न पाएकोमा नगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
    परार्मदाता सुरेश भट्टराई तथा दिपक मरहठ्ठाले प्रकोप जोखिम न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघ कार्यालयले शहरहरुका लागि तयार गरेको विपद् उत्थानशीलता स्कोर माथिको प्रस्तुतीकरण गर्नु भएको थियो भने उहाँले अघिल्लो वर्ष चाँगुनारायण नगरपालिकाले प्राप्त गरेको अंकभार र पुरा गरेका मापदण्डको बारेमा पुनरावलोकन गर्नुभएको थियो ।
    संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण स्कोर कार्ड प्रणाली विपद् जोखिम न्यूनीकरण कार्यक्रमको लागि राष्ट्रसंघले तयार पारेको हो । यो संयुक्त राष्ट्रसंघ सचिवालयको एक अंग हो । यसले सेन्डाई ढाँचा अनुरुप विपद् जोखिम न्यूनीकरण कार्यक्रम लागू गर्न र पूनरावलोकन गर्न सहयोग गर्दछ ।
    कार्यशालाको समापन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाँइले वार्षिक रुपमा विपद् सम्बन्धी योजनाहरु अद्यावधिक गर्दै नगरपालिकाको नयाँ भवनमा स्थानीय आपत्कालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गरेको बताउनुभयो । उहाँले उपलब्ध साधन श्रोतको उच्चतम प्रयोग गर्दै नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका कामहरु गर्दै आएको बताउनुभयो ।
    उहाँले विपद् उत्थानशील समुदाय निर्माण गर्ने कार्यमा नगरपालिकालाई नेक्सस परियोजना मार्फत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनुभएकोमा आइसेट नेपाल र डिसिए नेपाल लगायत साझेदार संस्थाहरु प्रति आभार व्यक्त गर्नुभयो ।
    सहभागिहरुको तर्फबाट बोल्नुहुँदै ९ नं वडाका सदस्य विद्यापति पुवार थापाले नगरपालिका तथा वडाले विपद् व्यवस्थापनका कार्यलाई प्राथमिकता दिई कार्य गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिका परिवार, कार्यशालाका सहभागिहरु तथा आइसेट र डिसिए नेपाललाई कार्यशाला आयोजना गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।
    कार्यशालामा नगरपालिकाका जनप्रतिनिधिहरु, वडाका सचिवहरुलगायत ४० जनाको सहभागिता रहेको नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले जानकारी दिनुभयो ।

     

  • मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न

    भक्तपुर, पुस ७
    भक्तपुरको सूर्यविनायक नगरपालिका–९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ सिजन २ शुक्रवार सम्पन्न भएको छ । करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) मा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड–२०८१ घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ न्यूरोन लोहला भएका छन् । साथै सिनियर तर्फ ह्रदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड–२०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ भइ विजेता भएका छन् ।
    यसैगरी जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनरअप, अक्षा श्रेष्ठ सेकेण्ड रनरअप, श्रीयम्शी श्रेष्ठ थर्ड रनरअप भएका छन् । जुनियर छात्रतर्फ फष्ट रनरअप सविन श्रेष्ठ, सेकेण्ड रनरअप रियान लामा र थर्ड रनरअफ अभिषेक थापा भएका छन् ।


    साथै सिनियर ग्रुप छात्रातर्फ रष्मी राई फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र थर्ड रनरअप प्रसादी वस्नेत भएका छन् । सिनियर ग्रुप छात्र तर्फ फस्ट रनरअप रसिक लवजू, सेकेण्ड रनरअप सामुयल खड्का र थर्ड रनरअप जेशन बराल भएका छन् । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव–टाइटलद्वारा सम्मान गरिएको थियो ।
    मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड–२०८१ सिजन २ को उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाको नगर प्रमुख वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताउनुभयो । विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गर्नु आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका बिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता थियो ।


    अब्बल एवं अनुभवी सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गर्नुभएको थियो । ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ(कस्पाल), मोडर्न हण्ट–२०२३ का विजेता द्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए ।
    ट्यालेन्ट राउन्डको निर्णायकमा भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह–प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।
    छात्र र छात्रा तर्फको वविजेतालाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयकी सञ्चालिका शर्मिला देउजाले जानकारी दिनुभयो ।
    उक्त प्रतियोगितामा ८, ९ र १० वर्षको जुनियर समूह, एवं ११, १२ र १३ वर्षको सिनियर समूहमा २६ छात्रा र २६ छात्र गरी जम्मा ५२ जनाले प्रतिस्पर्धा गरेको मदरल्याण्डका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिनुभयो ।
    कार्यक्रमलाई मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर (बद्री थापा) र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट (ग्रीष्मा शाक्य)को सहकार्य रहेको थियो ।