Blog

  • हेटौंडाका कृष्ण थापाले जिते टोखा र्यापिड चेस उपाधि

    भक्तपुर, पुस २०
    टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । नेपाल र भारतका गरी १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा सिएम कृष्ण थापाले अन्तिम चरण बराबरी खेल्दै ७ दशमलब ५ अंक टाइब्रेकका आधारमा उपाधि जितेका हुन । उनले आकर्षक ट्रफी, गोल्ड मेडल सहित नगद रु.१५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
    भक्तपुरका निकेन कुसाथाले समान ७.५ अंक जोडेर दोश्रो स्थान ओगट्न सफल भए । निकेनले ट्रफी, सिल्भर मेडल र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई तेस्रो हुँदै ट्रफी, ब्रञ्ज मेडल र नगद ६ हजार पुरस्कार हात पार्न सफल भएका छन् ।
    शिर्ष दशौं स्थान सम्म प्राप्त गरेका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएकोमा झापाका वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सर्लाहीका कमल श्रेष्ठ, काठमाण्डौंका सिएम नवीन तण्डुकार, मोरङका उमेश राई, शंखरापुरका सन्देश श्रेष्ठ समान ७ अंक बनाउदै क्रमशः आठौं स्थानमा रहन पुगे । ६.५ अंकमा ललितपुरका बद्रीलाल नेपाली नवौं तथा राजन पुरी दशौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन् ।
    अन्य ११ विधा मध्ये बेष्ट लोकल अष्टनारायण लवट, वेष्ट टोखा यु–१६ छात्र अर्जुन परियार, छात्रा निरुता परियार, सिनियर ५५ वर्षमा सिएम भगवती प्रसाद शर्मा, अनरेटेड रजिन महर्जन उत्कृष्ट छानिएका छन् ।
    यस्तै रेटिङ १९ सय मुनि दोलखाका राजीव कार्की, १८ सय मुनि सुरज सिंह, १७ सय मुनि भारतका राजन राजीव उत्कृष्ट बने । नितेन मेमोरियल विद्यालयकी निलम कोइराला उत्कृष्ट महिला, वनस्थलीका मदन दाहाल यु–१६, अनामनगरका दिपन मैनाली यु–१४ उत्कृष्ट बन्दै नगद पुरस्कार जितेका छन् ।
    क्लबका अध्यक्ष राजीव श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता खेलाडीहरुलाई पुरस्कृत गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बुद्धिचाल खेललाई पाठ्यक्रममा राखिनु पर्ने धारणा ब्यक्त गरे ।
    समापन समारोहमा सल्लाहकार रणबहादुर डंगोल, रामराज श्रेष्ठ, टोखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, शिक्षा तथा युवा शाखा प्रमुख बाबुराम गौतम, अधिकृत खगेन्द्र सिं धामी, सहकारी प्रतिनिधि शान्ति श्रेष्ठ, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजू, यज्ञप्रसाद पन्त, एफए सोराज ताम्राकार, एनए असुन राजकर्णीकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • ईप्सन भक्तपुरको पाँचौं अधिवेशनले खड्का अध्यक्ष चयन

    भक्तपुर, पुस २०
    एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । भक्तपुर ११ वटा संस्थागत विद्यालय सदस्य रहेको ईप्सनको अधिवेशनले क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्कालाई अध्यक्ष चयन गरेको छ ।
    यस्तै उपाध्यक्षमा सुर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य, सचिवमा पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा, सहसचिवमा ग्लोवल एकेडेमी का प्रिन्सिपल के. वी. ङाखुसी र कोषाध्यक्षमा हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा मदरल्याण्ड ईङ्गिलस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्गिलस स्कुलका प्रिन्सिपल जयप्रकाश राई, सेन्ट जोन्स ईङ्गिलस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, विमल मेमोरियल विद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्गिलस स्कुलका प्रिन्सिपल विपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग चयन हुनुभएको छ ।
    एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत पठनपाठन, संयुक्त परीक्षा सञ्चालन, शिक्षक सशक्तिकरण कार्यक्रम, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप लगायतका सञ्चालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था वि.स. २०५७ मा स्थापना भएको हो ।
    अधिवेशनले ईप्सनलाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष सञ्चालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना पारित गरेको नवनिर्वाचित अध्यक्ष खड्काले बताउनुभयो ।

     

  • बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम

    भक्तपुर, पुस २०
    बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको छ । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती पस्कँदैं ताथली धिमे खलः प्रथम हुन सफल भएको हो ।
    विजेता ताथलीले नगद रू. ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या पुरस्कार प्राप्त गरे ।
    यस्तै प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ ताथलीको फैकावु गणेश साँस्कृतिक समूह दोस्रो हुन सफल भएको छ । फैकावुले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या पुरस्कार प्राप्त गरे ।
    प्रतियोगितामा नियो फ्यूजन बाजा समूह भक्तपुर तेस्रो हुन सफल भएको छ । तेस्रो हुने नियो फ्यूजनले नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्राप्त गरे ।
    बनेपा काभ्रेको देउला बासुरी बाजा धिमे खलःले प्रतियोगितामा उत्कृष्ट चौंथो स्थान हासिल गरी सान्त्वना पुरस्कार जित्न सफल भएको छ । सान्त्वना पुरस्कार जित्न सफल देउला बासुरी बाजा धिमे खलःले नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान प्राप्त गरे ।
    प्रतियोगितामा उत्कृष्ट पाँचौंका साथै निर्णायकको उत्कृष्ट छनोटमा वाङ्ख्यो दाफा भजन खलः काभ्रे बनेपा पर्न सफल भएको छ । उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थानले पुरस्कृत गरे ।


    प्रतियोगितामा उत्कृष्ट छैंटौं देखी १० औ स्थानमा क्रमशः लाय्कू धिमे खलः पनौती, सिवा साय्मी खलः मध्यपुर थिमि, तलेजु बाजा खलः लुभु, बालकुमारी धिमे खलः काठमाण्डौं, सौडोल साँस्कृतिक बाजा खलः ताथली सौडोल पर्न सफल भएको छ । उत्कृष्ट छैंटौं देखी १० औं स्थानसम्म पर्न सफल टोलीले एक एक थान भुस्या पुरस्कार स्वरुप प्राप्त गरे ।
    प्रतियोगितामा विजेता र उत्कृष्ट हुन सफल टोलीलाई पुरस्कृत गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले धिमे बाजा प्रतियोगिताले आउँदो नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले नगरको साँस्कृतिक बाजागाजा र कला सँस्कृति जगेर्ना गर्न पनि मद्दत पुगेको बताउनुभयो ।
    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सुचीकृत चाँगुनारायण मन्दिर र रमणीय पर्यटकीय स्थल नगरकोट रहेकोले चाँगुनारायणमा पर्यटनको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२ मनाउन लागिएको जानकारी दिनुभयो ।
    उहाँले धिमे बाजा प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जसरी सबैले साथ सहयोग गरे त्यसरी नै नगरकोट भ्रमण वर्ष सफल बनाउन पनि सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

     

  • डलर देखाई ठगी गर्ने पक्राउ

    भक्तपुर, पुस १९
    अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षिय सुजित मिजारलाई पक्राउ गरेको छ ।
    मिजारलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी थिमिबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सल्लाघारीबाट बिहिवार पक्राउ गरेको हो ।
    प्रहरीले उनको साथबाट वारदातमा प्रयोग भएको माईक्रोम्याक्स कम्पनीको मोबाइल, चाँदीको ब्रासलेट एउटा र चाँदीको औठी दुई वटा बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
    मिजारले गत पुस ३ गते मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर अस्पताल नजिक हनुमन्ते खोला छेउको एकान्तमा काठमाण्डौ महानगरपलिका वडा नं. ९ धुम्बाराही बस्ने ५५ वर्षिय हरी कृष्ण बराललाई अमेरिकी डलर देखाई ५ लाख रुपैंया ठगी गरी फरार भएको एसपी आचार्यले बताउनुभयो ।
    “मिजारले फोन सम्पर्क गरी बराललाई मध्यपुर अस्पताल नजिक हनुमन्ते खोलाको छेउ एकान्त ठाँउमा बोलाई योजनाबद्ध तरिकाले रातो रुमालले बेरेको अवस्थामा रहेको पैसाको आकारमा काटिएको कागजको बिटो देखाई नेपाली रुपैंया ५ लाख ठगी गरी फरार भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो,” एसपी आचार्यले भन्नुभयो ।
    मिजारलाई प्रहरी वृत्त थिमि ल्याई थप कारबाही र अनुसन्धान भइरहेको एसपी आचार्यले बताउनुभयो ।

     

  • सानो थिमिमा भएको स्कुटर दुर्घटनाका घाईते मध्ये एकको उपचारका क्रममा मृत्यु

    भक्तपुर, पुस १९
    भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ मृत्यु भएको छ ।
    सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२–०२८ प ६६१० नं को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सानो थिमि धुन्चोपाखा बस्ने ३१ वर्षिय निश्चल प्रकाश राजभण्डारी र उनको श्रीमती २८ वर्षिय पुजा श्रेष्ठ घाईते भएका थिए ।
    सो दुर्घटनामा बेहोश भएका राजभण्डारीको बाँया खुट्टामा भित्री चोट, टाउको र अनुहारमा धसारीएको चोट र ढाँडमा भित्री चोट लागेको थियो भने बोल्न सक्ने अवस्थाका श्रेष्ठको बाँया खुट्टा भाँचिएको थियो ।
    घाईते भएका दुवै जनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटार लगिएको थियो । राजभण्डारीलाई थप उपचारका लागि बिहिवार दिउँसो नर्भिक अस्पताल काठमाण्डौं रिफर गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    घाईते श्रेष्ठको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

  • चाँगुनारायणको ताथलीमा पुस २० गते धिमे बाजा प्रतियोगिता

    भक्तपुर, पुस १७
    सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वको चाँगुनारायण नगरपालिकाले यही पुस २० गते वडा नं. ९ ताथलीमा वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ ।
    नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गरि ताथलीको ताथली फाँटमा सो धिमे प्रतियोगिता आयोजना गर्न लागिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो ।
    “चाँगुनारायण नगरपालिकामा रहेका मूर्त– अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्याउन तथा नगरपालिकाले आगामी २०८३ सालमा गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि वडा नं . ९ मा धिमे बाजा प्रतियोगिता गर्न लागेका हौं,” उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो प्रतियोगिताले नगरकोट भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि सहयोग पुग्नेछ ।”
    नगरपालिकाले उक्त प्रतियोगिताका लागि वडा नं. ९ स्तरीय व्यवस्थापन समिति पनि गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
    सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई २५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या, तृतिय हुनेलाई नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्रदान गरिनेछ ।
    यस्तै सान्त्वनालाई नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १–१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
    चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको सो प्रतियोगितामा सहभागी हुन प्रति समूह दर्ता शुल्क १ हजार रूपैयाँ निर्धारण गरेको छ ।
    प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयोजकले जनाएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले धिमे बाजा प्रतियोगिताले समग्र नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
    प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ । प्रतियोगितामा काठमाण्डौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।


     

     

  • थापाथली चेस पार्क क्लबले जित्यो राष्ट्रिय टिम चेस उपाधि

    भक्तपुर, पुस १६ 

    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । च्याम्पियनसिपको मंगलवार सम्पन्न फाइनलमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई पराजित गर्दै थापाथलीले उपाधि जितेको हो ।
    थापाथलीले ¥यापिड चरणमा ललितपुर स्पोट्र्सलाई पराजित गर्दै उपाधि जितेको हो । ¥यापिड चरणमा ललितपुरका सजिन महर्जनसँग रिजेन्द्र राजभण्डारी पराजित भए पनि थापाथलीका सुशील चौधरी, आशिष फुँयाल र सिन्दिरा जोशीले आ–आफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउँदै टोलीलाई उपाधि दिलाए ।
    यसअघि थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २–२ अंक बराबर गर्दै ¥यापिड चरण सम्म धकेल्न सफल भएको थियो । पहिलो बोर्डमा थापाथलीका रिजेन्द्र ललितपुरका सिएम सजिनसँग हार व्यहोरे । चौथो बोर्डको स्पर्धामा नेसनल वमेन च्याम्पियन सिन्दिरा जोशी विनिता कपालीसँग पराजित भइन् ।
    टिम गेममा थापाथली २ अंक गुमाउँदाको दबाब झेल्दै दोश्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित निकाल्दै १ अंक जोडे । तेस्रो बोर्डमा आशिषले रिसोन थापालाई टाइम आउट गराउँदै टिमको स्कोर २–२ बनाए पछि खेल¥यापिड चरणमा प्रवेश गरेको थियो ।
    उपाधि सहित थापाथलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएको आयोजक ललितपुर स्पोट्र्सले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको ललितपुर महानगरपालिका टोली तेस्रो हुँदै ६० हजार र चौथो भएको दोलखा चेस होमले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।
    राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
    घिसिङले खेलकुद सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले दिने निर्देशन सबैले निःशर्त पालना गर्नुपर्ने बताए । उनले भने,’ बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउँछ । यसलाई सबैले समयमै अनुसरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ ।’
    आयोजक नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न आग्रह गर्दै बुद्धिचाल सबै भन्दा बढि गतिविधि गर्ने संघ भएको दाबी गरे ।
    महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति थियो ।

     

  • भक्तपुरमा नगर र वडा स्तरमा शुरु नै नभई सकियो कांग्रेसको सय दिने अभियान

    भक्तपुर, पुस १६
    नेपाली कांग्रेसको सय दिने विशेष अभियान भक्तपुरका कतिपय स्थानीय तहको वडा र पालिकामा शुरु नै नभई मंगलवार समापन गरिएको छ । गत असोज ७ गते शुरु भएको सय दिने अभियान ४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा समापन गरिएको हो ।
    पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी कांग्रेसले सय दिने अभियान शुरु गरेको थियो ।
    अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक÷सम्मेलन राख्ने, जिल्ला मातहतका निकायमा प्रतिनिधि खटाउने, पार्टीका वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय समितिहरुको बैठक राख्न लगाउने जस्ता कार्य योजना थियो ।
    अभियान अन्तर्गत भक्तपुरमा केन्द्रीय सदस्य बलबहादुर केसी प्रतिनिधिको रुपमा खटिनु भएको थियो । बडादशैं, तिहार जस्ता ठूला चाडपर्वका कारण प्रभावित बनेको अभियानका कार्यक्रम केन्द्रीय प्रतिनिधि केसीको अस्वस्थताका कारण पनि भक्तपुरमा अभियान प्रभावित भएको थियो ।


    भक्तपुरमा कांग्रेसको सय दिने अभियानका कार्यक्रम मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरभित्र शुरु नभएको वडा सभापतिहरुले बताएका छन । अभियान अन्तर्गत जिल्ला समितिको बैठक बस्ने, जिल्लामा विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक बस्ने, सूर्यविनायकमा पालिका र वडा स्तरमा अभियान सञ्चालन, चाँगुनारायणमा नगरसमिति, क्षेत्रीय समितिको संयुक्त बैठक बस्ने कार्यहरु भएका छन ।
    तर भक्तपुर र मध्यपुर थिमिमा नगर समितिको बैठक समेत बस्न नसकेको कांग्रेस नेताहरुले बताएका छन । यस्तै चाँगुनारायणका वडा समितिमा पनि कार्यक्रम नभएको बताईएको छ ।
    सूर्यविनायकमा भने सय दिने अभियानका क्रममा ‘टोल टोलमा कांग्रेस’ अभियान सञ्चालन गरी संगठन बिस्तारको कार्य गरेका छन । सो अभियानमा प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, स्थानीय जनप्रतिनिधि र स्थानीय कार्यकर्ताबीच अन्तरक्रिया, छलफल गर्नुका साथै पार्टी भित्र रहेका विविध समस्याका बारेमा समेत छलफल भएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
    अभियानको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठले कांग्रेसले जननायक विपि कोइरालाले देशको सार्वभौम सत्ताको रक्षाको लागि आफ्नो जीवनलाई दाउमा राखेर मेलमिलाप नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको बताउनुभयो ।
    जिल्ला सभापति एवं संघीय सांसद थापाले पार्टीको क्रियाशिल नविकरण सन्तोषजनक नभएको गुनासो गर्दै पार्टीका केन्द्रीय सदस्य, पुर्वसभापतिहरुले नै क्रियाशिल सदस्यता नविकरण नगरेको बताउनुभयो ।
    उहाँले जनप्रतिनिधिको रुपमा रहेका वडाअध्यक्षहरुले फोन नउठाउने गरेको गुनासो बढी आउने गरेको चर्चा गर्दै जनप्रतिनिधिहरुलाई जनताको काममा ध्यान दिन निर्देशन दिनुभयो । उहाँले पार्टीको सय दिने अभियानका क्रममा सहभागी नहुने नेताहरूलाई निर्वाचनमा भोट नदिन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

     

  • भव्य र सभ्य रुपमा मध्यपुर महोत्सव सम्पन्न, ५ लाख भन्दा बढीले गरे अवलोकन

    भक्तपुर, पुस १५
    मध्यपुर थिमि नगरपालिकाको आयोजनामा शुक्रबारबाट शुरु भएको ‘मध्यपुर महोत्सव–८१’ आइतबार सम्पन्न भएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारीमा उद्घाटन गरी शुरु गरेको महोत्सव आइतवार साँझ बोदेको पलेस्वाँ पुखुः कमलपोखरीमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले समापन गर्नुभएको हो ।
    काठमाण्डौँ उपत्यकाको बीचमा रहेको मध्यपुर थिमि नगरपालिका ऐतिहासिक एवम् साँस्कृतिक शहर भएतापनि अपेक्षाकृत रुपमा पर्यटनको विकास हुन नसकेको अवस्थालाई ध्यान दिँदैं महोत्सव आयोजना गरिएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “मध्यपुर थिमिले भौतिक पूर्वाधारको विकास गरे पनि पर्यटकीय विकास गर्न सकेको थिएन, यस्तो अवस्थामा यो महोत्सवको आयोजना गर्यौँ, महोत्सवबाट पर्यटकीय नगर बनाउन र आर्थिक विकासमा पनि अगाडि बढ्न टेवा पुर्याएको छ । अब पर्यटन प्रबद्र्धनका लागि मध्यपुर अगाडि बढेको छ ।”


    नगर प्रमुख श्रेष्ठले अब मध्यपुर नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउन हरेक महिना कुनै न कुनै पर्यटकीय गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्सवको समय अपुग भएकाले थप गर्न माग भएता पनि त्यसलाई नसकिएको उल्लेख गर्दै उहाँले तीन दिनको महोत्सवमा पाँच लाख आगन्तुक आउने अपेक्षा गरिएकामा आठ लाखभन्दा बढीले अवलोकन गरेको बताउनुभयो ।
    महोत्सवको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मध्यपुर महोत्सवले साँस्कृतिक क्षेत्रमा अभूतपूर्व कार्य गरेको बताउनुभयो । उहाँले तीन दिनसम्म चलेको महोत्सवले परम्परागत नेवारी जीवनशैलीलाई माथि उठाएको बताए । यसले अन्तराष्ट्रिय जगतलाई पनि सन्देश दिएको भन्दै महोत्सव अदितिय भएको चर्चा गर्नुभयो ।


    महोत्सवमा थिमिका रैथाले चालचलन, नाच, भजन, खानपानलाई संग्राहलयको रुपमा प्रस्तुत गरिएको थियो । लिच्छविकालीन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरूमा पुराना पुस्ताले नयाँपुस्तालाई सिप हस्तान्त्रण गरिरहेका दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याएको मात्रै थिएन, सँस्कृतिको समेत जगेर्ना भइरहेको दृष्य महोत्सवमा देखिएका थिए ।


    महोत्सवमा नगरको कला, संस्कृति, परम्परागत पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीका करिव ४ प्रदर्शनी स्थल रहेका थिए । विशेष गरी ५३ प्रकारका गेडागुडी, ३५ प्रकारका नेवारी भोज, जिब्रो छेड्ने जात्रा र भैलःको प्रतिमूर्ति, सामूहिक व्रतवन्धको प्रतिमूर्ति, नेवारी सँस्कृतिको जन्मदेखी जंकुसम्मको प्रदर्शनीले अवलोकनकर्ताहरुलाई आकर्षित गरेको थियो ।


    यस्तै पुलुकिसी, ईन्द्र अप्सरा, महाकाली, सलँचा, वाःपिज्या, द्योविर, नागचा, जोगीप्याखँ लगायतका नाचहरुले पनि आगन्तुकहरुको ध्यानाकर्षण गराएको थियो । ठाउँठाउँका पाटी र डबलीमा भइरहेको भजनकिर्तन, फोटो प्रदर्शनी, भगवान गौतम बुद्धको अस्थीधातुले पनि महोत्सवमा आगन्तुकहरुलाई आकर्षित गरेको थियो ।
    बोदेमा राखिएको शैक्षिक प्रदर्शनी र टिगनीमा टिगनी बजी (चिउरा) कुट्ने प्रविधिको जिवन्त प्रदर्शनीले पनि यस पटकको महोत्सवमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिती भएको हो ।


    यस्तै नगदेशमा तरकारी, चपाचोमा माटोका भाँडाकुडा र गमला, दिगुलीमा माटोको हिटरको स्वागतद्धार पनि आकर्षक थियो । चपाचोको आखछेंले पनि अवलोकर्ताहरुलाई लोभ्याएको थियो । चपाचोमा नै करिव ३ वर्ष पुरानो ल्हों चाःखा (ढुंगाको चक्का)मा माटोको भाँडा बनाउनेहरुको भिड नै लागेको थियो ।
    महोत्सवमा पम्परागत खेल खेलिरहेको बालबालिका र बत्ति काट्ने, धुप बाट्ने, चर्खा, कपडा बुन्ने धागो तयार गर्दै गरेका आमाहरुले पनि अवलोकनकर्ताहरुको ध्यान खिचेको थियो ।बालकुमारी र चपाचोमा रहेको घरेलु तथा साना उद्योगहरुको प्रदर्शनीमा पनि घुईचो लागेको थियो ।


    ल्याम्ह पुचःको आयोजनामा ३५ थरी विभिन्न परिकारसहितको नेवारी भोजले पनि पाहुनाहरुलाई आकर्षित गरेको थियो । महोत्सव अवधीभर योमरी, बारा, चटामरी, सम्येबजीलगायतका नेवारी खाजा एवम् स्थानीय परिकारका स्टलमा विशेष भिड लागेको थियो ।
    महोत्सवमा घरेलु उत्पादन नेवारी ऐला (रक्सी), थ्वों (जाँड), ताकु थ्वों (बाक्लो जाँड) विशेष आकर्षण बनेको थियो । ठाउँ ठाँउमा थ्वों र ताकु थ्वों निःशुल्क सेवनको व्यवस्था गरिएको थियो । मध्यपुर थिमिको विशेष उत्पादन चाकु वासः र नगदेशको गुँडपाक पसलमा ग्राहकको भिड थियो ।


    महोत्सव अवलोकनमा लागि प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, बागमती प्रदेश सांसद सुरेश श्रेष्ठ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरेश चन्द्र लामिछाने, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्व सभामुख अग्नी प्रसाद सापकोटा, पूवृमन्त्री शशी श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख एवम् मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जन, काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, किर्तिपुर नगरपालिकाका प्रमुख बसन्त नकर्मी, ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, सूर्यविनायकका उप–प्रमुख सरिता तिमल्सिना, नेपाल सरकार र प्रदेश सरकारका विभिन्न पदमा रहनुभएका विशिष्ट व्यक्तिहरुले पनि महोत्सव अवलोकन गर्नुभएको थियो ।
    यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि महोत्सवको अन्तिम दिन आइतवार अवलोकन गर्नुभएको थियो ।

     

  • राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा

    भक्तपुर, पुस १४
    राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार सम्पन्न लिगका ७ चरणका खेलको समाप्तीसँगैं सेमिफाइनल समिकरण पुरा भएको हो ।
    च्याम्पियनसिपमा ललितपुर महानगरपालिका १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० र ललितपुर स्पोट्र्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका हो ।
    स्वीस लिग तालिकाले सातौं चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोट्र्स क्लब तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश बिच प्रतिस्पर्धा भएको थियो ।
    नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोट्र्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिपको विजेताले २ लाख, दोस्रोले १ लाख २० हजार तेस्रोले ६० हजार र चौथोटोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
    प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
    आइतवार सेमिफाइनलमा ललितपुर महानगर र ललितपुर स्पोट्र्स क्लब तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच प्रतिस्पर्धा हुनेछ ।