Blog

  • डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव

    भक्तपुर, पुस २३

    भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेशनल प्याब्सन भक्तुरका अध्यक्ष संजय खड्काले धेरै तडकभडकको शिक्षा भन्दा माटो सुहाउँदो सीपमूलक र संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको र अभिभावकलाई आफ्नो बालबच्चाहरुसँग गुणस्तरीय समय बिताउनको लागि पनि आग्रह गरेका थिए ।

    त्यसैगरी लाइफ कोच प्रशिक्षक विकासदेव योञ्जनले बिदेशी विद्यार्थीहरुले नेपाललाई अनुसन्धानको गन्तव्य बनाइ रहदा हाम्रा युवा विद्यार्थी आफ्ना देश छोडि विदेशिने क्रम बढ्दै गएको र यसमा अभिभावकको पनि रहर हुनु चिन्ताको विषय भएको बताए । योञ्जनले आफ्नै देशमा गर्न र पढ्न चाहे धेरै बिषयहरु भएको पनि धारणा राखे ।

    कार्यक्रममा ग्लोबल मोटिभेशनल स्पिकर, लाइफ कोच ट्रेनर विकासदेव योञ्जन तामाङको बिशेष आतिथ्यता, नेशनल प्याब्सन वागमती प्रदेशका उपाध्यक्ष तथा पारागन एकेडेमीका प्राचार्य पुण्यराम कवां, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका प्राचार्य संजय खड्का, एनप्याब्सन भक्तपुरका उपाध्यक्ष तथा ग्लिटर फ्युचर स्कूलका प्राचार्य रामप्रसाद खाताखो, एनप्याब्सन भक्तपुरका सह सचिव प्रसादी पाठशालाका प्राचार्य दिनेश शाक्य, युएसडिएफ का अध्यक्ष सेक्रेड हार्ट एकेडेमीका प्राचार्य श्रीराम सुवाल,  सरस्वती सदन स्कूलका प्राचार्य मुकेश योञ्जन, ग्लासियर इनटरनेशनल स्कूलका प्राचार्य दिवस शाक्य, विद्यालयका संरक्षक रामबहादुर लामा, नेपाल सरकारको सल्लाहकार सहप्राध्यापक इन्जिनियर रामबाबु सिंह, जनता मावी सिन्धुपाल्चोकका प्राचार्य महेन्द्र कुमार तामाङ, बिद्यालयका अभिभावक संघका अध्यक्ष निमा दोर्जे तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

    सो अवसरमा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान सहित १८१ जना विद्यार्थीलाई  विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने २७ जना शिक्षक र ३ जना कर्मचारीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

    कार्यक्रममा कक्षा नर्सरीदेखि दशसम्मका विद्यार्थीहरुले नेपाली कला, संस्कृति र रीतिरिवाज, लोक सङ्गीत झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।  त्यसै गरि साँगितिक समूहलका भाइ बहिनीहरुले आकर्षक लाइभ म्युजिक परफरमेन्स रहेको थियो विद्यालयका शिक्षकहरुको आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा विद्यालयका अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

    विद्यालयका प्रधानाध्यापक बिनोद लामाले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयलाई  २४ औँ वसन्त पार  गराउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञताज्ञापन समेत गरेका थिए।

    कार्यक्रम बिद्यालयका बिद्यालय  ब्यबस्थापन समितीका अध्यक्ष् ज्ञान बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • सुडालको सरस्वती मावि पहिलो हरित विद्यालय बन्ने

    भक्तपुर, पुस २३
    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको थाकलमाथमा रहेको सरस्वती माध्यमिक विद्यालय अब हरित विद्यालय बन्ने भएको छ । नगरपालिकाको हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसारको मापदण्ड एक वर्षभित्र पुरा गरी सरस्वती मावि हरित विद्यालय बन्न लागेको हो ।
    निर्देशिकामा सामुदायिक विद्यालयको स्वामित्वमा रहेको खाली जग्गामा अनिवार्य रूपमा बालबालिकालाई मनोरञ्जन दिने खेल सामग्री राख्नुपर्ने, विभिन्न प्रजातिका बोटबिरुवा रोपण, संरक्षण तथा सम्वद्र्धन गर्नुपर्ने प्रावधान राखिएको छ ।
    हरित विद्यालय अवधारणा अन्तरगत छात्राहरूलाई स्यानिटरी प्याड निर्माण तालिम, प्लास्टिक र प्लाष्टिकजन्य वस्तुको पुनःप्रयोग गरि विभिन्न शैक्षिक सामग्री निर्माण गर्ने कार्यक्रम रहेको छ ।
    यसैगरी विद्यार्थीहरुलाई कौशी खेती प्रवद्र्धन, च्याउखेती लगायतका सिपविकासका तालिम दिने, फोहोरमैला व्यवस्थापनका साथै बगैंचा निर्माण र आकाशेपानी व्यवस्थापनको बारेमा समेत ज्ञान दिने कार्यक्रम रहेको हरित विद्यालय निर्माण परियोजनाका सहयोगी संस्था ग्लोबल पिस फाउन्डेसनका सिनियर प्रोजेक्ट अफिसर सृजना सितिखुले बताउनुभयो ।
    यस्तै वातावरणमैत्री स्कुल बनाउने, त्यसका लागि शिक्षक, विद्यार्थीको क्षमता अभिवृद्धि गरि वायु प्रदूर्षण न्यूनीकरणका कार्यक्रम समेत गरिने र त्यस अन्तरगत प्रत्येक हप्तामा एक ÷ दुईवटा तालिम र अभिमुखीकरण गरिनेछ ।
    हरित विद्यालयको प्रावधान पुरा गर्ने विद्यालयलाई हरित विद्यालय घोषणा गर्ने नीतिअनुरुप सरस्वती मावि हरित विद्यालय बन्न लागेको चाँगुनारायण नगरपालिका खानेपानी तथा सरसफाइ स्वच्छता शाखा(वास) प्रमुख सुरेन्द्र लामिछानेले बताउनुभयो ।
    विद्यालयका प्रधानाध्यापक टीकाराम पाण्डेले हरित विद्यालयको अवधारणा पूरा गर्नका लागि विद्यालय कटिबद्ध रहेको बताउनुभयो । उहाँले वातावरण स्वच्छ राख्नपनि हरित विद्यालय कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव पुरीले हरित विद्यालय कार्यक्रमलाई पूर्णरूपमा सफल बनाउन कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
    चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं.८ का अध्यक्ष जनक खत्रीले विद्यालयको समग्र शैक्षिक स्तर उकास्नका हरित विद्यालय अवधारणा सहायक सिद्ध हुने बताउनुभयो । “हरित विद्यालयसँगै विद्यार्थी, शिक्षक र समग्र विद्यालयको स्तरमा सुधार हुनेछ । यस्तो विद्यालयलाई नगरपालिकाले थप सहयोग पनि गर्नेछ,” उहाँले भन्नुभयो ।
    नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षा उत्कृष्ट विद्यालय बन्न सफल सरस्वती मावि गत वर्षको एसईई परीक्षामा पनि जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो ।

  • जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन

    भक्तपुर, पुस २३
    भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन बनेको छ । चाँगुनारायण नगरपालिकाको सहयोगमा भक्तपुर जिल्ला सितोरियो कराते संघले सोमवार आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेर नगदेश डोजो टिम च्याम्पियन बनेको हो ।
    प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र ७ कांस्य पदक जितेर भक्तपुर मेन डोजो दोस्रो र २ स्वर्ण, ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको छ ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ नगदेशका विष्णु थापा र महिलातर्फ झौखेलकी रुविना सुलु घोषित भइन । यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भए ।


    प्रतियोगितामा विजयी खेलाडी र टोलीलाई पुरस्कृत गर्दै वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकासले असल नागरिक उत्पादन गर्न सहयोग पुग्ने बताए । उनले स्थानीय तहले खेल क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो औंल्याउँदैं राज्यले पनि खेलाडीहरुको उचित व्यवस्थाको लागि नीति बनाउनु पर्ने बताए ।
    प्रतियोगितामा २५ टिमका ३२५ खेलाडीको सहभागिता रहेको सितोरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिए ।
    तौल समूह अनुरूप खेलाइएको प्रतियोगितामा पुरुषतर्फ २० केजी तौलदेखी ६० केजी माथि तौल समूहसम्म र महिलातर्फ २० केजी तौलदेखी ५५ केजी तौल सम्मका १९ स्पर्धामा प्रतिष्पर्धा भएको थियो । यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत प्रतियोगितामा समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिए । खेल डब्ल्यु केएफ, एकेएफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले बताए ।
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले खेल र खेलाडीको वृत्ति विकासका लागि विभिन्न योजना बनाई नियमितरुपमा खेलकुद प्रतियोगिता आयोजना र सहयोग गर्दै आइरहेको बताए । यसअघि प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए ।

     

  • शुभश्री सहकारीको अध्यक्षमा श्यामसुन्दर कायस्थ चयन

    भक्तपुर, पुस २१
    मध्यपुर थिमि–४ शंखधरचोकस्थित शुभश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्याम सुन्दर कायस्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १७औं वार्षिक साधारण सभाले कायस्थलाई अध्यक्ष चयन गरेको हो ।
    सभाले संस्थाको उपाध्यक्षमा रत्नसुन्दर कायस्थ, सचिवमा सुन्दर बज्राचार्य र कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ चयन गरेको छ ।
    यसैगरी आगामी ४ वर्षका लागि सञ्चालक सदस्यहरुमा ज्ञानकृष्ण श्रेष्ठ, काशीभक्त कायस्थ, बालकृष्ण श्रेष्ठ, नन्दलाल श्रेष्ठ र संजिता धुंजु चयन हुनुभएको छ । लेखा सञ्योजकमा उत्तम श्रेष्ठ र सदस्यद्धयमा गोपाल न्हा श्रेष्ठ र शुभेच्छा बज्राचार्य चयन हुनुभएको छ ।
    सभामा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३२ लाख ९० हजार ७ सय ५० रुपैंया खुद वचत गरेको जानकारी दिनुभएको थियो । साधारण सभाले सचिव काशीभक्त कायस्थले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
    सभामा ज्येष्ठ शेयर सदस्यहरु, बाल वचतकर्ता, इसईई सम्मानका साथै बालकुमारी बाँसुरी खलःलाई पनि नगद र उपहारसहित सम्मान गरिएको थियो ।
    यसअघि सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटन विकासका लागि बजेट छुट्याएर काम गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । मध्यपुर थिमिको कला, सीप, संस्कृति, सम्पदा, पेशा व्यवसायलाई पर्यटनसँग जोड्न मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभयो ।
    सभामा भक्तपुर जिल्ला वचत संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधानाङ्ग, भक्तपुर जिल्ला वचत संघका लेखा संयोजक बालमुकुन्द उपाध्याय लगायतले सहकारी विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।

  • बालकुमारी सहकारीको खुद नाफा ३ करोड ३३ लाख

    भक्तपुर, पुस २१
    मध्यपुर थिमि–४ शंखधरचोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ३३ लाख २० हजार ५ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाले आ.व. २०८०÷०८१ मा २ अर्ब १३ करोड ३८ लाख रुपैंयाको कारोवार गर्दै उक्त नाफा आर्जन गरेको हो ।
    संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष तुईलाल श्रेष्ठले संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार ८ सय रुपैंया पुगेको जानकारी दिनुभयो ।
    साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ नेपालकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले स्थानीय बासिन्दाद्धारा समूदायमा आधारित बालकुमारी सहकारी भक्तपुर जिल्लाकै उदाहरणीय सहकारी भएको बताउनुभयो ।
    कार्यक्रममा आदर्श मावि लाय्कुमा अध्ययनरत २ जना र बालप्रेमी मावि सुँगाटोलमा अध्ययनरत २ जना गरी ४ जना छात्रछात्रालई नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी संस्थाका ज्येष्ठ शेयर सदस्यहरु महिला र पुरुष गरी ४ जनालाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।
    गतवर्षको एसर्ईई परीक्षामा उत्कृष्ट अकं हासिल गरेको शेयर सदस्यका ४ जना छोराछोरीलाई पनि नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाद्धारा आयोजित विभिन्न तालिमका प्रशिक्षकरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै शेयर सदस्यहरु मध्ये स्नातकोत्तर तह र पिएचडी उत्तीर्णहरुलाई पनि सम्मान गरिएको थियो ।
    यसैगरी येंया पुन्ही म्येप्वा खनेउ जात्रा (ईन्द्रजात्राको अवसरमा थिमिमा मनाईने जिब्रो छेड्ने जात्रा)मा जिब्रो छेडाएर पशुपतिसम्मको पैदल यात्रा गर्नुभएका साहसी विरेन्द्रभक्त गजु श्रेष्ठलाई नगद १० हजार नगद सहित विशेष सम्मान गरिएको थियो ।


    यस्तै संस्थामा कार्यरत कार्यालय सहायक प्रविण श्रेष्ठ र जुनियर सहायक नानीकेशरी प्रजापतिलाई नगद १० हजार नगदसहित वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार र व्यवस्थापक सुजेन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।
    सभाले सचिव पृथ्वीराम श्रेष्ठको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक चन्द्रमोहन जोशीको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
    कार्यक्रममा जिल्ला वचत संघ भक्तपुरका सञ्चालक एवं बालकुमारी साकोसका पूर्व अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र रञ्जित, जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला, शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठलगायतका वक्ताहरुले समुदायमा आधारित नीति, विधि र प्रविधियुक्त सहकारीमा कुनै समस्या नरहेको भन्दै बालकुमारी साकोसका सामाजिक कार्यहरुको प्रशंसा गर्नुभएको थियो ।

     

  • मध्यपुरका गायक आश्रयसहित ७ जना नेवा आइडलको फाइनल प्रवेश

    भक्तपुर, पुस २१
    मध्यपुर थिमिका युवा गायक आश्रय रञ्जित ‘नेवाः आइडल सिजन २’ को फाइनल प्रवेश गरेको छ । आश्रयसँगैं सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयामी र अनिशराज श्रेष्ठ पनि सांगीतिक रियालिटी शो ‘नेवाः आइडल २’ को फाइनल प्रवेश गरेको ।
    फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । फाइनल माघ ५ गते हुने छ । ठमेलस्थित नेपा सा जिए ए हलमा दिउँसो २ बजेदेखि फाइनल शुरू हुने आयोजक फाल्कन इभेन्टले जनाएको छ ।
    आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा छन् । आइडलको निर्देशन अन्जीता खड्गीले गर्नुभएको छ । आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिने छ ।


    विजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले ५० हजार पाउँदा तेस्रोले २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै चौथो र पाँचौंले १०÷१० हजार प्राप्त गर्नेछन् । नेवाः आइडल पहिलो सिजनको विजेता मन्जिल शाक्य घोषित भएका थिए ।
    नेपाल भाषाको संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल गरिएको आयोजकको भनाइ छ । साथै लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाःहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।
    यसैबीच ‘नेवाः आइडल सिजन २’ को भोटिङ शुरु भएको छ । आइडल विजेता ५० प्रतिशत दर्शकको भोटिङका आधारमा पनि हुने भएकाले भोटिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।
    फाइनल प्रवेश गरेका आश्रयाको भोटिङ कोड एनआई ००४ रहेको छ । आश्रयले यस अघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेको छ । उहाँले चर्चित भारतीय गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौं संस्कारको सेमिफाइनलसम्मको यात्रा तय गर्नुभएको थियो ।

     

     

  • शहीद बैकुण्ठहरि स्मृति पत्रकारिता पुरस्कार थापालाई प्रदान

    भक्तपुर, पुस २१
    पत्रकार बलराम थापालाई शहीद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल भक्तपुर शाखाले शहीद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार थापालाई शनिवार सम्पन्न सेन्टरको तेस्रो जिल्ला अधिवेशनको क्रममा प्रदान गरिएको हो ।
    पुरस्कारको नगद राशी १० हजार रुपैंया रहेको छ । मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्ग पक्षमा कलम चलाएर योगदान दिएको भन्दै थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।


    सो अवसरमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले कुर्सी, पद र प्रतिष्ठालाई केन्द्रमा राखी सत्ताधारीहरु शत्रुतापूर्ण व्यवहारमा ओर्लिएको आरोप लगाउनुभयो । उहाँले नेपालमा नेतान्याहु जन्मने खतरा रहेको औल्याउदै प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा जोड दिनुभयो । “बहुदलीय व्यवस्थामा दलहरूबीच समन्वय हुनुपर्नेमा निषेधको सोच बढ्नु प्रत्युत्पादक हो,” उहाँले भन्नुभयो, “यस्तो सोच विरुद्ध प्रेस जगतले बेलैमा खबरदारी गर्नुपर्छ ।”
    उहाँले दलाल पूजीवादले सर्वसत्तावादलाई बढावा दिएको बताउदै विश्व साम्राज्यवादको लाइन पनि यहीँ भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको आरोप लगाउनुभयो । वर्गीय अन्तर्विरोध पहिचान गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै उहाँले तबमात्र समाजवाद सम्म पुग्न सकिने विचार व्यक्त गर्नुभयो ।
    प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरलाई सरकार समर्थक दुई ठुला संगठनले रोक्न खोज्दाखोज्दै पनि सान्दार जीत हासिल गरेको भन्दै देशको राजधानी रहेको उपत्यकामा सेन्टरको एकलौटी जित भएको बताउनुभयो ।


    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, जिल्ला संयोजक सुनिल बासु, प्रेस सेन्टरका उपाध्यक्ष एवम् उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल लगायतले प्रेस सेन्टरले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
    यसैबीच अधिवेशनले मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्ष चयन भएका छन ।
    अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि र बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको सेन्टरका निवर्तमान अध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ले बताउनुभयो ।

  • तारा स्काउटको दिक्षान्त समारोह सम्पन्न

    भक्तपुर, पुस २१
    तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दिक्षा दिइएको छ । चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दिक्षा दिइएको हो ।
    नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटलाई दिक्षा दिंदै स्काउट स्वयंसेवी भावनामा ओतप्रोत हुने र पैसाका लागि नभइ समाजका लागि काम गर्ने र मेहनती हुनुपर्ने बताउनुभयो ।
    भक्तपुर नगरपालिका वडा नं ४ का अध्यक्ष उपेन्द्र सुवालले प्रत्येक विद्यालयमा स्काउट शिक्षा पु¥याउन सकेको खण्डमा बालबालिकाहरु कुलतमा नफस्ने बताउँदै देशभक्त नागरिक उत्पादन भइ राष्ट्रलाई टेवा पुग्ने धारणा राख्नुभयो ।


    भक्तपुर नगरपालिका स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले स्काउट कर्तव्यनिष्ठ र निडर हुने धारणा राख्दै विश्वासयोग्य बन्नका लागि मेहनत तथा परिश्रम गरी अर्ध सैनिकजस्तो भएर कार्य गर्नुपर्ने बताउनुभयो ।
    स्थानीय सदस्यता बृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटले अप्ठ्यारो र समस्यामा आफू बचेर अरुलाई उद्धार गर्ने भएकाले यो शिक्षा हरेक व्यक्तिले लिन आवश्यक रहेको बताउनुभयो ।
    राष्ट्रिय प्रशिक्षकद्वय अच्युत प्रजापति र रत्ना चवालले स्काउटले कसैंलाई भेदभाव नगरिकन तन मन र कर्मले पवित्र हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायना र पूर्व प्रधानाध्यापक पुष्पलाल सुजखुले दिक्षित विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

  • आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि नेपाली टोलीको घोषणा

    भक्तपुर, पुस २१
    नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि शनिवार १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले पुजा चितवनमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये बाट महतोको कप्तानीमा कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
    टोलीमा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत रहेका छन ।
    यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय भने अहिले टिममा छैनन् । उनी एसिया कपमा पनि टिममा थिइनन् । विश्वकप छनोट नखेलेका किरण कुमारी कुँवर र अनु कडायत भने विश्वकप खेल्ने टिममा अटाएका छन् ।
    आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकप मलेसियामा यही जनवरी १८ देखि सुरु हुँदैंछ । फेब्रुअरी २ सम्म सञ्चालन हुने यु–१९ महिला टि–२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । यु–१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो ।


    नेपाल समूह डी मा छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।
    चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ ।
    गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यु–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यु–१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नपालले यु–१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो ।

     

  • एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८०, करातेकी एरिका र उसुका विजय सर्वोत्कृष्ट घोषित

    भक्तपुर, पुस २०
    एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली सर्वोत्कृष्ट घोषित भएका छन । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गरेको १९ औं एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा एरिका महिलामा र विजय पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन ।
    तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा आयोजित अवार्ड कार्यक्रममा एरिका र विजय जनही नगद एक÷एक लाख रुपैंयाले पुरस्कृत भए ।
    त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मा कबड्डीका मनमती विष्टलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
    तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपैयाँ प्रदान गरियो । गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ । एनएनआपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । रघुराज र सरिता दुवैले प्रशंसा पत्रसहित समान ३५ हजार रुपैयाँ पुरस्कार पाए ।


    यसका साथै १९ औं एसियाली खेलकुदमा समावेश गरिएको विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।
    अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोट्र्सका श्याम महर्जन, इस्पोट्र्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगिता चौधरी रहे ।
    त्यस्तै जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले जनही १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
    उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, स्थानिय आयोजक समेत रहेको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले पुरस्कृत गरे । अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।