Blog

  • महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने

    भक्तपुर, पुस २८
    नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने जनाएको हो । प्रतियोगिता माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने छ ।
    त्रिकोणात्मक प्रतियोगिताका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ । सिरिजको खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । प्रतियोगितामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
    प्रतियोगितामा नेपाली महिला टोलीले माघ १७ गते नेदरल्याण्ड्ससँग, माघ १८ गते थाइल्याण्डसँग, माघ २० गते नेदरल्याण्ड्ससँग, माघ २१ गते – थाइल्याण्डसँग, माघ २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।
    नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि–२० प्रतियोगिता हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि–२० खेलेको थियो ।

     

  • आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित

    भक्तपुर, पुस २८
    सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ ।
    आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित ७ ए डिभिजन टोली छन् । जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब, संकटा क्लब, र एनआरटी छन् ।
    त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजक सहारा छन् । अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ । आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
    यसैबीच प्रतियोगितामा यस पटकबाट जयश्री फुड्स प्रालि पनि जोडिएको छ । जयश्री सह–प्रायोजकको रुपमा प्रतियोगितामा जोडिएको हो । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
    सम्झौता एक वर्षको लागि गरिएको जानकारी सहाराका अध्यक्ष बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्रीका जनरल म्यानेजर अग्रवालले क्लबसँग जोडिदाँ व्यवसायको पनि प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ प्रदान गर्ने छ ।

  • पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु

    भक्तपुर, पुस २८
    पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन ।
    च्याम्पियनसिपको पहिलो दिन सम्पन्न भएका दुई चरणका खेलपछि यु–१५ छात्र तर्फ हिल टाउन सेकेण्डरी स्कूलका रसिल महर्जन २ अंक जोडेर पहिलो स्थानमा उभिएका छन् । समान २ अंक बनाउदै अन्नपूर्ण सेकेण्डरी स्कूलका आयुष बोहरा, भारत सिक्किम चेस एशोसियसनका अभनिष प्रधान, त्रियोग हाई स्कूलका सक्रिट कुईकेल, आयोजक पुष्पसदन स्कूलका सागर सुप्रभ श्रेष्ठ, बज्र एकेडेमीका विभव जोशीले संयुक्त अग्रस्थान हासिल गरेका छन् ।
    यस्तै पेभेलियन चेस एकेडेमीका स्पर्श सारावगी, हिमालयन चेस एकेडेमीका रिनछेन डोम्जोन, आशिर्वाद थापा, त्रियोग स्कूलका सईस घिमिरे र ललितपुर चेस एकेडेमीका सहर्ष श्रेष्ठले अग्रता कायम गर्न सफल भएका छन् ।
    यु–१५ छात्रा तर्फ आयोजक पुष्पसदनका सबनम रिजाल २ अंकका साथ अगाडि रहेकी छिन् । उनीसँगै त्रियोग स्कूलका कृपा बेलबासे, सिक्किमका डेसियल ओङ्गमु भुटिया र हिमालयन चेसका प्रज्ञा पन्त समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल बनेकी छिन् ।


    प्रतियोगितामा यु–१३ समूह छात्र तर्फ ज्ञानोदय बालबाटिकाका प्रविर केसि, सिक्किमका निरव ढकाल लगायत १४ जना खेलाडीले संयुक्त अग्रता हासिल गरेका छन् । यु १३–छात्रा विधामा सिक्किमका मानश्वी आचार्यले २ अंक जोडेर अगाडि रहेकी छिन् भने मनकामना सेकेण्डरी स्कूलका प्रिसिअस अधिकारी, पेभेलियन चेस एकेडेमीका नेलिसा ओझा, बिएन एकेडेमीका बिविषा तामाङ्ग र त्रियोग हाई स्कूलका नोएल थापाले संयुक्त अग्रता लिएका छन् ।
    यु–११ छात्र विधामा ग्रिनल्याण्ड स्कूलका सुलभ पन्थीसँगै अन्य १५ जना २ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । यस्तै छात्रा यु–११ तर्फ सिक्किमका पालक अग्रवाल, हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ, अन्नपूर्ण सेकेण्डरीका ओजस्वी श्रेष्ठ, त्रियोग स्कूलका श्रीयश्री तुलाधर र कस्यप एकेडेमीका प्रशन्ना चौधरीले २ अंकका अग्रता लिएका छन ।
    प्रतियोगितामा नेपालका २३६ जना तथा भारतका ११ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन । तिन दिन सम्म चल्ने स्पर्धा ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सेमि क्लासिकल विधा अन्तर्गत फरक उमेर समूहका विजेता खेलाडीले ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट १० स्थान ओगट्ने खेलाडीले पनि मेडल हात पार्ने छन् ।
    यसअघि प्रतियोगिताको आयोजक पुष्पसदन आमाविका अध्यक्ष महेश श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

     

  • माघ १ गते भक्तपुरमा सम्यक महादान पर्व मनाईने

    भक्तपुर, पुस २७
    माघे संक्रान्तिको अवसरमा मंगलवार भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक महादान पर्व मनाउने भएका छन । सम्यक महादान व्यवस्थापन सहयोग समितिले शनिवार पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष झैं यसवर्ष पनि माघ १ गते सम्यक महादान पर्व मनाउने र त्यसको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
    सम्यक महादान बौद्ध धर्मालम्बीहरुले मनाउने विशेष पर्व मध्ये एक हो । यो पर्व काठमाण्डौंको स्वयम्भुमा १२ वर्षमा एक पटक र ललितपुरको नाग बहालमा प्रत्येक ५÷५ वर्षमा मनाउने गर्दछ । भक्तपुरमा भने यो पर्व प्रत्येक वर्ष माघ १ गते मनाईंदैं आएको छ ।
    सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकिर्ति महाविहार (थथुवहि) इटाछें र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात दुधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
    सम्यक महादानका क्रममा चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ ।
    यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यससँगै लामवद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।
    सम्यक महादान पर्वमा दान गर्ने वस्तुहरुमा गेडागुडीको परिकारहरुमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहत दान गरिन्छ । सागसब्जीहरुमा बेठी, मेठी, लत्तेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायतका तरकारी दान गरिन्छ ।
    यसैगरी मिठाईमा लड्डु, पुरी, घिउचाकु, पंच पकुवान, चटामरी, मासको बारा, फुलफुलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दुध, दही र भाइमसला पनि दान गरिन्छ ।
    प्रत्येक वर्ष सम्यक संघ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको समितिका सचिव राजु मान बज्राचार्यले जानकारी दिनुभयो ।
    उहाँका अनुसार यस वर्ष पर्व सम्पन्न गर्ने पालो सप्त चन्द्र बज्राचार्य लगायत उहाँको परिवारको रहेको छ । पर्वको तयारीका लागि सप्त चन्द्रको परिवार जयकीर्ति महाविहारमा हप्ता दिन अघिदेखि नै बसोबास गरी विशेष प्रकारको पुरी, लड्डु तयार गर्ने लगायत अन्य चाँजोपाँजो मिलाउने कार्यमा व्यस्त रहको सचिव बज्राचार्यले बताउनुभयो ।
    भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत ७८७ मा शुरु भएको ईतिहास पाईन्छ । भक्तपुर दरवार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित ईतिहास रहेको छ ।
    उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको ईतिहास पनि रहेको छ ।

     

     

  • चाँगुनारायण नपामा ६ महिनामा १३ करोड राजश्व संकलन, बजेट खर्च १६ प्रतिशत मात्र

    भक्तपुर, पुस २६
    चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गर्दै नगर उपप्रमुख रमेश बुढाथोकीले सो जानकारी दिनुभएको हो ।
    उहाँका अनुसार पुस २४ गतेसम्म नगरपालिकाले १३ करोड ७ लाख ३७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ३५ दशमलव ६ प्रतिशत हो । चाँगुनारायणले चालु आ.व.मा नगरपालिकाले ३६ करोड ६७ लाख २० हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य राखेको नगर उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
    यसैगरी चाँगुनारायणले चालु आ.व.को ६ महिनामा कुल बजेटको १६ दशमलव ३७ प्रतिशत खर्च गरेको छ । चाँगुनारायणको चालु आ.व.को कुल विनियोजित बजेट २ अर्व १२ करोड ३० लाख ९३ हजार ६ सय रुपैंया रहेकोमा पुस अन्तिम सातासम्म ३४ करोड ७७ लाख ३० हजार रुपैंया मात्र खर्च भएको उपप्रमुख बुढाथोकीले बताउनुभयो ।


    उहाँका अनुसार चालु तर्फ ३१ दशमलव १ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च जम्मा ६ दशमलव ४१ प्रतिशत मात्र भएको छ । चालु तर्फ ९३ करोड ७६ लाख २१ हजार ५ सय रुपैयाँ विनियोजन भएकोमा ३१ करोड १६ लाख ५५ हजार ३ सय खर्च भएको छ ।
    यस्तै पुँजीगत तर्फ १ अर्व १८ करोड ५४ लाख ७२ हजार रुपैंया विनियोजन भएकोमा हालसम्म ७ करोड ६०. लाख ७५ हजार ५ सय रुपैंया खर्च भएको छ ।
    नगरपालिकालाई वित्तीय जोखिम न्यूनीकरण तथा सुशासनयुक्त नगरपालिकाको रुपमा पहिचान गराउन कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्ने उद्देश्यले उप–प्रमुख बुढाथोकीले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९४ अंक र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) तर्फ ९२.५ अंक दावी सहित नगरपालिकाको प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिको कार्यालयमा अनुमोदनका लागि पेश गरिएको जानकारी दिनुभयो ।
    चाँगुनारायण नगरपालिका न्यायिक समितिमा हालसम्म कुल ४४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जानकारी दिँदैं उहाँले दुबै पक्षलाई राखी छलफल गराई पक्षहरुको मन्जुरी र संयुक्त निवेदनको आधारमा २ बटा निवेदनहरुमा मिलापत्रद्वारा विवाद समाधान गरिएको बताउनुभयो ।
    यसैगरी छलफलबाट मेलमिलाप हुन नसकेका एक वटा निवेदनको निर्णय गरी निरुपण गरिएको छ भने दुवै पक्षले तारेख छोडी लामो समय सम्म अनुपस्थित रहेका विभिन्न ७ बटा निवेदनको कारवाहीलाई तामेलीमा राखिएको छ । हाल समितिमा ३० वटा निवेदनहरुको कारबाही भइरहेको छ । यस्तै ४ वटा निवेदनहरु अदालत पठाउने गरी आदेश भएका छन् ।


    नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनले नगरपालिकाको अर्धवार्षिक समिक्षा प्रतिवेदन, विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक लगायत विभिन्न विधेयकहरु र सार्वजनिक महत्वका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
    सभामा विधायन समितिका संयोजक जयन्द्र खडकाले जग्गा विकास (प्लानिङं) तथा हाउजिङ निर्माण सम्बन्धी विधेयक र सामाजिक विकास समितिका संयोजक जनक खत्रीले खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०७७ को संशोधन विधेयक पेश गर्नु भएको थियो । ती विधेयक दफावार छलफलपछि सर्वसम्मतले पारित गरिएको थियो ।


    यस्तै न्यायिक समितिका सदस्य सुरेश कार्कीले अनुमोदनको लागि सभासमक्ष पेश गर्नु भएको मेलमिलापकर्ताहरुको सुची पनि सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीले जानकारी दिनुभयो ।
    सभाले विभिन्न सार्वजनिक महत्वका विषयमा पनि छलफल गरि महत्वपूर्ण निर्णय गरेको छ । सभाले नगरकोट–कमलविनायक सडकसहित वडा कार्यालय जोड्ने सडक स्तरोन्नतिका लागि विभिन्न १५ वटा योजनाहरुको बजेट सुनिश्चित गरि बुहवर्षिय ठेक्कामार्फत निर्माण गर्ने निर्णय समेत गरेको छ ।

     

  • भक्तपुर घरेलु तथा साना उद्योग संघमा श्यामसुन्दर र महिला समितिमा कमलधरी निर्वाचित

    भक्तपुर, पुस २६
    भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (रोविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न १७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
    अधिवेशनले संघको उपाध्यक्षमा हरिगोपाल त्वायना, सचिवमा श्रीजना कक्षपति, सह–सचिवमा सुमित्रा श्रेष्ठ र कोषाध्यक्षमा कृष्णमान प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
    यसैगरी रविन माक, ज्ञानेन्द्र कायष्ठ, हरिचन्द्र श्रेष्ठ, आकाश बादे, तुल्सीदेवी लाखा, हिराकाजी मानन्धर, सुमन भेले, मिना त्वानाबासु, तारादेवी धन्छा, कृष्णहरी खत्री र सुस्मा श्रेष्ठ कार्यसमिति सदस्य चयन भएको निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
    संघको विधान अनुसार प्रेमकृष्ण खर्बुजा निवर्तमान अध्यक्षको हैसियतमा कार्यसमितिमा दोस्रो वरियतामा रहनेछन भने संघको नगर समितिमा संयोजकहरु पदेन उपाध्यक्ष हुनेछन । जस अनुसार गणेशमान राजचल, दयाराम मचामसी र सोम तामाङ पदेन उपाध्यक्ष चयन भएका छन ।
    यसैगरी संघको महिला उद्यमी समितिको अध्यक्षमा कमलधरी खर्बुजा सर्वसम्मत निर्वाचित हुनु भएको छ । समितिको शुक्रवार नै सम्पन्न १६ औं अधिवेशनले खर्बुजालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा सृजना प्रजापति, सचिवमा लक्ष्मी महर्जन, सह–सचिवमा प्रतिमा अणु, कोषाध्यक्षमा उर्मिला श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, रमिला डंगोल, रामलक्ष्मी त्वायना, सरिता राई र रामकेशरी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठले बताउनुभयो ।

     

  • निर्माण कम्पनी आफैंले रद्द गरे भक्तपुर–नगरकोट सडक परियोजना सम्झौता

    भक्तपुर, पुस २६
    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएलले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरेको छ ।
    निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै निर्देशनालयले उक्त सडक निर्माणको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको बेला निर्माण कम्पनी स्वयम्ले ठेक्का रद्द गरेको घोषणा गरेको हो ।
    निर्माण कम्पनीले भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँग बारम्बार भएका सम्झौता उल्लंघन र वित्तीय समस्याका कारण सडक निर्माणको सम्झौता रद्द गरेको जनाएको हो ।
    ‘निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र यसले परियोजनाको वित्तीय स्थायित्वलाई गम्भीर रूपमा असर पारेकोले सम्झौता रद्द गर्ने निर्णयमा पुगेका हौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    विशेषगरी, गत २०८० असोज ९ गते प्रमाणित गरिएको आईपीसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकोले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर परेको निर्माण कम्पनीले जनाएको छ ।
    विज्ञप्तिमा निर्देशनालयले महत्वपूर्ण प्रस्तावहरू, जस्तै एस्फाल्ट कन्क्रिट कामहरूको स्वीकृतिमा लापरबाही गरेको र यसले परियोजनाको प्रगतिमा गम्भीर ढिलाइ ल्याएको उल्लेख गरिएको छ । ‘हामीले यस परियोजनालाई अगाडि बढाउन हरेक सम्भाव्य प्रयास गरेका थियौँ । तर, बारम्बार भएका गल्तीहरू र समाधानको अभावले हामीलाई सम्झौता रद्द गर्न बाध्य बनायो,’ विज्ञप्तिमा भनिएको छ ।
    एससीसीपीएल–एआईपीएल संयुक्त उद्यमले निर्देशनालयले बारम्बार औपचारिक सूचना दिएको भए पनि ती गल्तीहरू समाधान नगरेको भन्दै गुनासो गरेको छ । ‘हाम्रो कथा बारम्बार दबाइएको छ । यस परियोजनाका वास्तविक पीडित हामी हौँ, जसले असह्य नोक्सानको सामना गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्ने प्रयास ग¥यौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तीमा निर्देशनालयलाई सबै बाँकी भुक्तानी, वित्तीय शुल्कहरू, र संरचित रूपमा डिमोबिलाइजेसन प्रक्रिया अघि बढाउन तत्काल कदम चाल्न आग्रह गर्दै आफ्नो हकहित सुरक्षित गर्न र नोक्सानी तथा मुनाफाको क्षतिपूर्ति असुल्न कानुनी उपायहरू अवलम्बन गर्न बाध्य हुने चेतावनी समेत दिईएको छ ।
    कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
    भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक म्याद थप हुँदैं आएको थियो । ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम करिव ३६ करोड पुगेको छ ।

     

  • नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन सांसद थापाको सुझाव

    भक्तपुर, पुस २४
    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २८ औं स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा सांसद थापाले पत्रकारहरुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउँदैं नकारात्मक समाचार मात्र नदिन दिनुभएको हो ।
    उहाँले सकारात्मक समाचार बनाउन पत्रकारले कन्जुस्याई गर्दा देशमा असन्तुष्टि बढेको गुनासो समेत गर्नुभयो । उहाँले फोटोमा देखेको र क्षणिक भ्रमणमा हेरेको जस्तो विदेश राम्रो नभएको भन्दै त्यो भन्दा नेपाल धेरै राम्रो भएपनि समाचारहरुले त्यसलाई उजागर गर्न नसकेका कारण नेपालमा निराशा र असन्टुष्टि बढेको जिकिर गर्नुभयो ।
    उहाँले शिलान्यास भएर पनि पत्रकार महासंघको भवन निर्माण नहुनु दुःखद भएको बताउँदैं भवन निर्माणका लागि व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महासंघ जिल्ला शाखा स्थापनामा जोडिएको नाताले महासंघको सधैं माया लाग्ने गरेको पनि बताउनुभयो ।
    महासंघ सबै पत्रकारको साझा केन्द्र हुनुपर्नेमा जोड दिंदै उहाँले नेतृत्व चयन संगै प्रतिस्पर्धा बिर्सिएर एकतावद्ध भै अघि बढ्न सुझाव दिनुभयो । “अधिवेशनबाट कार्यसमिति चयन लोकतान्त्रिक अभ्यास हो, निर्वाचनको विषय बिर्सिएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
    सांसदको काम, कर्तव्य र अधिकार बारे आफु पूर्णरुपमा जानकार रहेको बताउँदैं सांसद थापाले आफ्नो पालामा विकास भएन भन्नेहरुलाई टेप लिएर सडक नाप्न चुनौती दिनुभयो । जनप्रतिनिधिको व्यक्तिगत जीवन नै नहुने जस्तो भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले आफ्नो स्वास्थ्य प्रतिकुलताका बाबजुद पनि आफू हरक्षण जनताको काममै व्यस्त रहेको बताउनुभयो ।
    कार्यक्रममा शाखाका अग्रज पत्रकार एवं देशान्तर साप्ताहिकका सम्पादक कविर राणा लोकतन्त्रसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडिएर आउने भएकाले महासंघ सधैं लोकतन्त्रको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
    यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका समितिका अध्यक्ष टेनिस रोकाले विगतमा भक्तपुर शाखाले वैधानिकता गुमाउने संघारमा पुगेको महासंघको रक्षा गर्न र पत्रकारका श्रमजिवि र साना लगानीका पत्रपत्रिकाको पक्षमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउनुभयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, नेपाल प्रेस युनियन भक्तपुर अध्यक्ष रोशन सिल्पकार, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगाना, प्रेस चौतारी नेपालका उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष दिनेश कार्की, जनपत्रकार संगठनका पुष्पाकुमारी साउद, अग्रज पत्रकार प्रा. डा. जगत नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।
    शाखाका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकार एवम् पुर्वअध्यक्षद्वय जगतकृष्ण प्रजापति र पुस्करराज बुढाथोकी, पूर्व अध्यक्षहरु नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको सहभागिता रहेको थियो ।
    पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर २०५४ सालमा स्थापना गरिएको भक्तपुर शाखा त्यसयता विकल प्रसाद श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर शिल्पकारको नेतृत्व रहेको छ ।
    विगतमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण सो कार्य गर्न भने नसकिएको सचिव दिपक ढुङ्गानाले जानकारी दिनुभयो ।

     

  • मानव अधिकार एलाइन्स भक्तपुरको अध्यक्षमा पुरुषोत्तम चयन

    भक्तपुर, पुस २४
    राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपाल भक्तपुर शाखाको अध्यक्षमा पुरुषोत्तम श्रेष्ठ चयन हुनुभएको छ । शाखाको मंगलवार थिमिमा सम्पन्न छैटौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । अधिवेशनले ९ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।
    शाखाको अधिवेशनले नम्रता थापा उपाध्यक्ष, बिन्दु प्रजापती सचिव, शारदा पन्त कोषाध्यक्ष चयन गरेको छ । यस्तै सदस्यहरुमा रश्मी बराल, सागर गुरागाई, रिकेश पौडेल, अप्सरा घिमिरे र शर्मिला लबजु चयन भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनमा ३३ वटा सदस्य संस्थाहरुका प्रतिनिधिहरुले भाग लिएका थिए ।
    यसअघि अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदीले मानव अधिकारको वर्तमान अवस्था र यसको रक्षाको लागि समुदाय र घर घरमा सचेतना फैलाउनु पर्ने भएकोले समुदाय सँगसँगै भन्ने नाराको सार्थक रहेको बताउनुभयो । उहाँले मानव अधिकार र सामाजिक मुद्दाहरु समुदाय हुँदै पालिका, प्रदेश र संघीय तहमा उठान गर्न एलाइन्सको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
    नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य महेश बस्नेतले कमजोर वर्गको मानव अधिकारको रक्षाको लागि एलाइन्सले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले निकै ठूलो संघर्षबाट स्थापना भएको राष्ट्रिय मानव अधिकार आयोग, दलित आयोग, मुस्लिम आयोग, महिला आयोगहरुले समाजमा पछाडि पारिएका वर्ग क्षेत्र, लिङ्ग र समुदायको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, राजिव पहारी, एलाइन्सका केन्द्रीय उपमहासचिव तिलोत्तम पौडेल, कोषाध्यक्ष पिवन्त न्यौपाने, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज किरण थापा, मानव अधिकार एलाइन्स बागमती प्रदेशका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ र नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य तथा मानव अधिकार एलाइन्स इञ्चार्ज अनिता पाण्डे लगायतले भक्तपुरमा ईंटा भट्टामा बाल मजदुर प्रयोग भएको र विद्यालयहरुमा साना बालबालिकाहरुलाई विद्यार्थी हित समूहको नाममा राजनीतिक शिक्षा लिन बाध्य पार्ने जस्ता गम्भिर मानव अधिकार उलंघनको घटनालाई एलाइन्सले उजागर गर्दै उनीहरुको मानवअधिकार रक्षाका लागि आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।

  • पूर्वप्रहरी नै सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट फिल्मी शैलीमा दिउँसै आधा किलो सुन लुटपाट

    भक्तपुर, पुस २४
    नक्कली सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट दिउँसै आधा किलो सुन लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई गत पुस १९ गते पक्राउ गरेको छ । लुटपाटका योजनाकार दुई जना भने अझै फरार छन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    पक्राउ पर्नेहरुमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाण्डौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाण्डौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाण्डौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन ।
    अनुसन्धानको क्रममा पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी भएको खुलेको छ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत नेपालीले तीन महिना अघिमात्र जागिरबाट राजीनामा दिएको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजिकुमार आचार्यले बताउनुभयो । पक्राउ परेकी अनिताले महिला प्रहरीको भूमिका निभाएकी थिइन् ।
    प्रहरीका अनुसार लुटपाट गर्ने समूहले गत पुस १४ गते भक्तपुरको सानो थिमि चोकबाट दुवईबाट आएकी एक महिलाको करिव आधा किलो सुन लुटपाट गरेको हो । सो समूहले नक्कली सीबीआई बनेर १४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको विमानबाट त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ती महिलाले लगाइको स्यानिटरी प्याडमा रहेको आधा किलो सुन लुटपाट गरेका थिए ।
    घटना विवरण अनुसार प्रहरीले भक्तपुर ‘क’ उपनाम दिएकी महिला पुस १४ गते दुवईबाट दिउँसो साढे दुई बजे त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनी विमानस्थलको सुरक्षा जाँच पास गर्दै बाहिरिएर ट्याक्सी चढेर भक्तपुर आउँदै थिइन । उनी चढेको ट्याक्सीलाई सानो थिमि चोकमा पुगेपछि त्यही प्रहरी प्रभागमा कार्यरत रही सडकमा ड्युटी गरेको प्रहरीले रोके । ट्याक्सी रोकेपछि सक्कली प्रहरीसँगै रहेका दुई युवा र एक युवतीको समूहले दुबईबाट आएकी भक्तपुर ‘क’लाई तुरुन्तै आफ्नो शरीरमा लगाएको स्यानिटरी प्याड झिकेर दिन आग्रह गरे ।
    ती तीन युवायुवतीले आफूहरू केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भएको बताउँदैं विश्वास दिलाउन प्रहरी परिचय पत्र समेत देखाएको थियो । सीआईबीको प्रहरी बताउँदै तुरुन्तै यौनाङ्गमा लगाइएको स्यानिटरी प्याड दिन धम्की दिएपछि भक्तपुर ‘क’ डराइन् । त्यसपछि उनले आफूले लगाएको प्याड ट्याक्सीभित्रै खोलेर प्रहरी बताउने समूहलाई दिइन् । त्यसपछि ट्याक्सीबाट झारेर भक्तपुर ‘क’लाई समेत लिएर तीन युवा युवतीको हिँडे ।
    तीन जनाको समूहले महिलालाई लिएर गए लगत्तै सडकमा ड्युटीमा बसेर ट्याक्सी रोक्न मद्दत गरेका प्रहरी प्रभाग सानो थिमिा प्रहरीले घटनाबारे माथिल्लो निकायलाई जानकारी गराए ।
    घटनाबारे जानकारी पाएपछि घटना शंकास्पद भएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुर र परिसर भक्तपुरमै रहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको (पीआरसीबी) को टोलीले संयुक्त रुपमा अनुसन्धान अघि बढायो । “घटनाको विश्लेषण गर्दा शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाइयो । प्रहरीले ट्याक्सी नम्बर र परिचयपत्रको नाम समेत याद गरेकाले अनुसन्धानमा थप सहज भयो,” एसपी आचार्य भन्नुभयो ।
    त्यसपछि प्रहरीले महिलाले यौनाङ्गमा लगाएको स्यानिटरी प्याड लुट्ने तीन जनाको पहिचान गरेको थियो । घटनाको चार दिनपछि १९ पुसमा प्रहरीले स्यानिटरी प्याड लुटेको आरोपमा काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँहरूबाट तीन जनालाई पक्राउ गर्न सफल भएको हो ।
    उनीहरू पक्राउ परेपछि बल्ल स्यानिटरी प्याड लुट्नुको रहस्य खुलेको हो । सुन गालेर लिक्वीड बनाएर उक्त प्याडमा लेपन लगाइएको खुल्यो । स्यानिटरी प्याडमा सुनको लिक्वीड दलेपछि ती महिलाले उक्त प्याड लगाएर दुबईदेखि आएको खुल्यो । पक्राउ परेकाहरूको डेराकोठा खानतलासी गर्दा झण्डै आधा किलो (४३६.१० ग्राम) सुन बरामद भएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।
    घटनामा संलग्न तीन जना पक्राउ परे पनि घटनाका मूख्य योजनाकारहरु दुई जना भने पक्राउ पर्न सकेको छैन । यस्तै स्यानिटरी प्याडमा सुन लुकाएर ल्याउने महिला पनि पक्राउ परेको छैन भने सुन कसको हो, कसले कसलाई दिन पठाएको हो त्यो पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
    लुटपाटका योजनाकार तथा सुन ल्याउने भरिया महिला पक्राउ नपरिकन यो सुनको वास्तविकता खुल्न नसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् । लुटपाटको आरोपमा पक्राउ परेकाहरूले आफूलाई महिलाले स्यानिटरी प्याडमा लुकाएर सुन ल्याएको भन्ने बोहक अन्य कुराहरू थाहा नभएको बताएका छन् । सुन बोकेर आउने महिलाको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
    अनुसन्धानको क्रममा फरार रहेका दुई जनाले हाल पक्राउ परेका तीन जनालाई प्रयोग गरेर सुन लुटिएको खुलेको छ । लुटपाटका मुख्य योजनाकारहरूको सुन तस्करको समूहसँग कनेक्सन भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सुन तस्करको समूहले दुबईबाट ती महिलालाई प्रयोग गरेर सुन बोकाएर पठाएको सूचना लुटपाटका योजनाकारहरूले पाएको र त्यसपछि लुट्नका लागि व्यक्ति खटाएको हुनसक्ने आशंका प्रहरीको छ ।
    प्रहरीका अनुसार घटना भएको दुई साता हुन लाग्दा समेत लुटपात भएको सुनको खोजी गर्न र सुन लुटिएको भन्दै कोही पनि प्रहरीमा आएको छैन । प्रहरीले आफ्नै सूचना संयन्त्रमार्फत अनुसन्धान गरेर लुटिएको सुन बरामद गरेको हो ।
    पक्राउ परेका तीनै जनालाई प्रहरी पसिर भक्तपुरको नियन्त्रणमा राखी ठगी र संगठित अपराधको कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुुसन्धान अघि बढाइएको छ । पुस १९ गते पक्राउ परेका तीनै जनालाई अनुसन्धान अघि बढाउन अदालतले पहिलो पटक सोही दिन ५ दिनको म्याद दिएको थियो ।
    प्रहरीले आज बुधवार दोस्रो पटक म्याद थपको लागि अदालत लैजाने प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । अहिले ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको र यताको अनुसन्धान सकिएपछि पक्राउ परेकालाई सुन सहित भन्सारमा बुझाइने जानकारी दिँदैं उहाँले भन्सारमा बुझाए पछि भन्सार ऐन अनुसार पनि थप कारवाही हुने बताउनुभयो ।