Blog

  • मध्यपुर थिमिको आन्तरिक आम्दानी ६ महिनामा १४ करोड

    भक्तपुर, माघ ४
    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा १४ करोड रुपैंया भन्दा बढी आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको छ । चालु आ.व.को साउन १ गतेदेखी गत पुस २० गतेसम्म मध्यपुर थिमि नगरपालिकाले १४ करोड २८ लाख १९ हजार ६ सय ९० रुपैंया आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको हो ।
    यो नगरपालिकाको कुल वार्षिक लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । मध्यपुर थिमि नगरपालिकाले चालु आ.व.मा ३६ करोड २८ लाख ७ हजार आन्तरिक स्रोतबाट राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
    गत आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा यसवर्ष घर नक्सा पास कम हुनुले लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गतवर्ष मध्यपुर थिमि नगरपालिकाले घर नक्साको अभिलेखीकरण र नियमित खुलाएको थियो । सोही कारण नक्सापास दस्तुर र जरिवाना वापत उल्लेख्य राजस्व संकलन भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    यसवर्ष घर नक्सा पासमा राजश्व संकलनमा कमी आएपनि व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शिर्षकमा राजश्व संकलन बृद्धि भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शिर्षकमा गत आ.व.२०८०÷०८१ को तुलनामा २ करोड ५२ लाख ८९ हजार ८ सय ८८ रुपैंया बढी राजश्व संकलन भएको छ ।
    मध्यपुर थिमि नगरपालिकाले चालु आ.व.को पहिलो ६ महिनामा सबै भन्दा धेरै असोजमा ३ करोड ६० लाख ५६ हजार ३७ रुपैंया आन्तरिक आम्दानी गरेको छ । यस्तै साउनमा ३ करोड २७ लाख ८५ हजार ४ सय ५२ रुपैंया राजश्व संकलन गरेको थियो भने भाद्रमा २ करोड ४३ लाख ५३ हजार ४ सय ७३ रुपैंया आन्तरिक आम्दानी गरेको थियो ।
    यसैगरी कार्तिकमा १ करोड ९८ लाख १२ हजार ३ सय ६६ रुपैंया, मंसिरमा २ करोड ८ लाख १६ हजार एक सय ७४ रुपैंया आम्दानी गरेको मध्यपुर थिमिले पुसमा सबैभन्दा कम ९४ लाख १७ हजार ९ सय ८१ रुपैंया मात्र राजश्व संकलन गरेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

     

  • लोहकिल्थलीस्थित मनोहरा खोलामा एक जना मृत फेला

    भक्तपुर, माघ ४
    भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ सानोथिमि डेरा गरी बस्ने ४५ वर्षिय लेल्का उराउ मृत अवस्थामा फेला परेको हो ।
    मनोहरा खोलामा पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त थिमिको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा मृतकका छोरा १८ वर्षिय समिर उराउले सनाखत गरी मृतक आफ्नो बुवा भएको बताएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।
    मृतक लेल्का गत पुस २२ गतेदेखी परिवारसँग सम्पर्क विहिन थिए । प्रहरीका अनुसार ज्याला मजदुरी गर्ने र सधै मादक पदार्थ सेवन गरी हिँड्ने लेल्का बेलाबेलामा परिवारसँग सम्पर्क विहिन भई दुई चार दिनपछि आफैं डेरामा आउने गरेको अनुसन्धानमा खुलेको छ ।
    शरीरमा कुनै चोटपटक नभएको र मृतकको मादक पदार्थ सेवन गरी हिँड्ने बानीका कारण आफैं खोलामा लड्न गई मृत्यु भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी नेउपानेले बताउनुभयो ।

     

  • भक्तपुरको सूर्यमढीमा आज नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’

    भक्तपुर, माघ २
    भक्तपुरको सूर्यमढीमा आज (बुधवार) धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट शुरु हुने परम्परा अनुसार जात्रा हुन लागेको हो ।
    सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियो भने मंगलवार माघे संक्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो ।
    ङालाकेगु जात्रामा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) हुने परम्परा रहेको छ ।
    जस अनुसार बुधवार सूर्यमढीमा बाराही प्याखं; सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं; साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्तो निकाल्ने नाच) हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ ।
    ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच); बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच); सिम्ह दुम्ह र श्वेत भैरवको ‘वस हियेगु प्याखं’ (लुगा धुने नाच) र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।

  • मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखिकरण

    भक्तपुर, माघ १
    मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरुमा स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि जनचेतना अभिवृद्धि गर्न तीन दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
    क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर उपचार गरेमा क्यान्सर रोग पनि रोकथाम गर्न सकिन्छ भने जनचेतना जागरण गर्न मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा ३ दिने सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
    मध्यपुर थिमि नगरपालिकाको सहकार्य एवम् नगरपालिकाको जनस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम बालकुमारी, भुलाँखेल र पाटीबिहारमा सञ्चालन गरिएको कार्यक्रम संयोजक कन्या मन्दिर प्रजापतिले वताउनुभयो ।
    अभिमुखीकरणमा स्थानीय गृहिणी महिलाहरूलाई क्यान्सर रोगको लक्षण, रोकथामका उपाय, उपचारमा पाईने सरकारी सेवा सुविधा, ओषधी उपचार व्यवस्था, दैनिक जीवनयापनमा अपनाउनु पर्ने स्वास्थ्य सचेतना र सतर्कता लगायतमा ज्ञान दिईएको उहाँले जानकारी दिनुभयो ।
    प्रत्येक वडाबाट ३०÷३० जना लक्षित महिलाहरु सहभागी भएको कार्यक्रम व्यवहारिक र उपलब्धिमुलक रहेको सहभागी महिलाहरुले बताएका छन । यस्ता सचेतनामूलुक कार्यक्रमहरु नगरपालिका अन्य वडाहरुमा पनि बृहत रुपमा सञ्चालन गर्नुपर्ने माग पनि सहभागीहरुले गरेको संयोजक प्रजापतिले बताउनुभयो ।
    जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापति र भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठले सहभागी महिलाहरुलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि अपनाउनु पर्ने दैनिक जीवनको व्यवहारिक पक्षमा अभिमुखिकरण र स्वास्थ्य शिक्षा दिईएको थियो ।
    अभिमुखिकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र वडा नं. ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापति लगायतले क्यान्सर रोग विरुद्ध समाजका महिलाहरूलाई सचेतनामूलक शिक्षा दिएर रोकथाम र नियन्त्रणमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै जनस्वास्थ्य र स्वास्थ्य सरोकारका सेवा सुविधामा वडाबासीहरुको सहज पहुँच पु¥याउन स्वास्थ्य संघ÷संस्थाहरुसँग सहकार्य गरेर वडा र नगर स्तरमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

     

  • घ्यू–चाकु खाँदै सष्टाले सुनाए सिर्जना

    भक्तपुर, माघ १
    माघे संक्रान्तिको अवसरमा भक्तपुरका स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना सुनाएका छन । भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कूलमा आयोजित साहित्यिक भेटघाट तथा रचना वाचन कार्यक्रममा सहभागी स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना सुनाएका हुन ।
    कार्यक्रममा गजलकार विक्रम चेतनशील राई, रामगोपाल आशुतोष, विकास प्रहर, हरिसुन्दर छुकां, उपेन्द्र तिमिल्सिना, भरत ढुंगाना, पवन चाम्लिङ राई, मनोज खड्का मिलन, स्वनाम सज्जन किरातीलयागतले गजल, मुक्तक र कविताको स्वाद पस्कनु भएको थियो ।
    धार्मिक र साँस्कृतिक महत्वका हिसाबले विशेष दिनका रूपमा रहेको माघे संक्रान्तीमा विभिन्न स्थानमा मेला लागे जस्तै लाग्ने रोम्वस सेकेण्डरी स्कूलमा साहित्यिक मेला आयोजना गरिएको स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजू बताउनुभयो । उहाँले विद्यालयले शिक्षा र साहित्यलाई सँगसँगै अघि बढाउने योजना अनुसार उक्त कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
    साहित्यको सम्वद्र्वन र प्रवद्र्धनका लागि उक्त स्कुलले आयोजना गरेको उक्त साहित्यिक भेलामा अग्रज र अनुज स्रष्टाहरूको सहभागिता रहेको थियो । आयोजक विद्यालयका प्रिन्सिपल डा. कोजूले कविता पाठ गरेर शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा स्कूलकी सहायक प्रिन्सिपल अमृता ढकालले गीतमार्फत सबैलाई स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा ताथलीको सिन्हपा तेडोल नयाँ बस्ती टोल विकास संस्थाका अध्यक्ष देवराज गुरूङले शुभकामना दिनुभएको थियो ।

  • खो खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

    भक्तपुर, माघ १
    भारतमा नयाँ दिल्लीमा जारी खो–खो विश्वकपमा नेपाली महिला टोलीले आज (मंगलवार) लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सम्पन्न खेलमा नेपालले जर्मनीलाई ७३–३४ ले पराजित गरेको हो ।
    यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले पराजित गरेको थियो ।
    समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

     

  • खो खो विश्वकपमा नेपाल भारतसँग पराजित

    भक्तपुर, माघ १
    खो खो विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३ अंकले पराजित भएको हो ।
    नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३९ ले पराजित भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल मंगलबार पेरुसँग खेल्नेछ ।
    भारतले सबै ४२ अंक अट्याकबाट जोड्दा नेपालले ३८ अंक अट्याकबाट र १ अंक डिफेण्डबाट जोडेको थियो ।


    पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अंक जोडेको थियो । त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अंक जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अंक जोड्दा नेपालले डिफेण्डबाट १ अंक जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अंक जोडेको थियो ।
    कप्तान तथा ‘वजीर’ प्रतीक वैकरको नेतृत्वमा भारतले सानदार प्रदर्शन ग¥यो । भारतले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो टर्नको ६० सेकेन्डभित्रै नेपालका तीन डिफेन्डर आउट भएका थिए । प्रतीक र रामजी कश्यपले पहिलो टर्नमा तीन मिनेट बाँकी रहँदा नेपालका दुई ब्याच डिफेन्डरलाई आउट गर्दै १४ अंकको ठूलो अग्रता दिलाए ।


    प्रतीकलाई प्रतिस्थापन गरेका सचिन भार्गोले उत्कृष्ट प्रदर्शन देखाए । उनले एक सानदार स्काइडाइभ गर्दै ब्रेकमा भारतको टच अंकलाई २४ मा पु¥याए, जसले नेपाललाई ‘ड्रिम रन’ (तीन मिनेटमा डिफेन्डर म्याटमा रहिरहने अवस्था) हासिल गर्नबाट रोक्यो ।
    नेपालले दोस्रो टर्नमा ६ अंक बनाउन लगभग दुई मिनेट लगायो । तर, बलियो पुनरागमन गर्न सफल रह्यो । भारतीय डिफेन्डरले ‘ड्रिम रन’ हासिल गर्न सकेनन्, जसका कारण नेपालले आफ्नो पालोमा २० अंक जोडेको थियो । नेपालका अलराउन्डर जोगेन्द्र राणा मुख्य आक्रामक बने । उनले दुई डाइभसहित चार अंक जोडे, जसले नेपाललाई खेलमा फर्कायो ।
    खो खो विश्वकप २०२५ को पहिलो ‘ड्रिम रन’ नेपालका भरत सारुले हासिल गरे । तर, यो जितका लागि पर्याप्त भएन । भारतले चौथो टर्नमा २१ अंकको अग्रता लियो । चौथो टर्नमा नेपालका झलक विकले उत्कृष्ट प्रदर्शन गरे । उनले भारतसँग अंकअन्तर पाँचमा झार्न सफल भएका थिए । तर, यो अन्तिम प्रयास पनि भारतलाई प्रभावशाली जित हासिल गर्न उनले रोक्न सकेनन् ।


    पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन् । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

     

  • भक्तपुरमा माघे संक्रान्तीको अवसरमा सम्यक महादान पर्व मनाउँदै

    लक्ष्मी गारु, भक्तपुर, माघ १
    भक्तपुरका बौद्ध समूदायले आज माघे संक्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन । नेवार समूदायमा हाम्ह सँलु अर्थात तिल संक्रान्तिको रुपमा परिचित माघे संक्रान्तिमाहरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक एवं साँस्कृतिक रुपले वडो हर्षउल्लासका साथ मनाइने एक मौलिक पर्व हो ।
    दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दिपंकर बुद्ध, विभिन्न बिहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पुरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो ।
    सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकिर्ति महाविहार (थथुवहि) दुधपाती र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात दुधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
    सम्यक महादानमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ । यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यससँगै लामवद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहेको छ ।

    सम्यक महादानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ ।
    विशेष गरी सम्यक महादान पर्वमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहत लगायत २५ थरीको गडागुडीको परिकार दान गरिन्छ । बेठी, मेठी, लत्तेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायतका तरकारी दान गरिन्छ । यसैगरी मिठाईमा लड्डु, पुरी, घिउचाकु, पंच पकुवान, चटामरी, मासको बारा, फुलफुलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दुध, दही र भाइमसला पनि दान गरिन्छ ।
    त्यस्तै सम्यक महादानमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धान चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य भन्टेहरुलाई भोजन, अन्न र दक्षिणा दान गरी भब्य रुपमा मनाउँदै आएको स्थानीय बुद्धरत्न शाक्यले बताउनुभयो ।
    उहाँले भन्नुभयो, “दिपंकर बुद्धलाई ठुलो ठालमा भोजन चढाइ साथमा एक पाठी सरुवा चामल चढाइन्छ । त्यसपछि स्थानीयहरुले गच्छे अनुसार दिपंकर बुद्ध, सम्यक देवता, तथागत लगायतलाई धान, चामल, गहुँ, केराउ, मास, भटमास लगायतका गेडागुडी, तीलको खीर, विस्कुट, विभिन्न थरीका मिठाई, मौसम अनुसारको फलफुल, सख्खर, घिउ तिल मुछेर बनाएको लडडु, सागपात, र दक्षिण आदि चढाइन्छ ।”
    यसरी सम्यक महादान गर्दा दिपंकर बुद्ध लगायत सम्यक देवताहरुको विधिवत पुजापाठ गरी सकेपछि स्थानिय धर्मगुरु थपाजुलाई पनि सम्यकदान दिने परम्परा छ । त्यसपछि मात्र बौद्ध धर्मालम्बीहरुको पुरोहित, बजाचार्य, शाक्यवर्गलाई सम्यकदान दिइन्छ । यसरी दान गर्दा स्थानीय भक्तजनहरु क्रमश लामबद्ध भएर दिइने परम्परा रहेको छ । यसरी सम्यकदान दिँदा मनोवान्चित फल पाउने धार्मिक विश्वास रहेको छ ।
    सम्यक दानपर्व बुद्धको पालादेखी चल्दै आएको विश्वास रहेता पनि ऐतिहासिक प्रमाणको रुपमा लिच्छवीकालिन धार्मिक राजा वृषदेवको पालामा शुरु भएको हो । काठमाण्डौं उपत्यकामा साँंस्कृतिक सम्यक दान पर्व नियमित र ऐच्छिक रुपमा चल्दै आएको छ । काठमाण्डौमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भुमा र ललितपुरमा ५ वर्षमा एकपटक नागवहालमा सम्यक महादान पर्व मनाईन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तीको दिन यो साँंस्कृतिक पर्व मनाउँदै आएको छ ।
    भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत ७८७ मा शुरु भएको ईतिहास पाईन्छ । भक्तपुर दरवार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित ईतिहास रहेको छ ।
    उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको ईतिहास पनि रहेको छ । जयरत्नले सम्यक दानपर्व नियमित रुपमा वर्षेनी आयोजना गर्न करीव ३ सय ६० रोपनी जग्गाको आयस्ता ब्यवस्था गरिएको थियो । जयरत्न पछि वहाँका छोराहरु जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भब्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरिएको थियो ।
    ने.सं.१०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवता सहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, सांगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतहरु समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनुभयो ।
    नियमित रुपमा सम्यक दानपर्वका लागि ब्यवस्था गरिएको ३ सय ६० रोपनी जग्गा मध्ये करिव २० रोपनीमात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचायले बताउनुभयो । बाँकी जग्गा राणा प्रधानमन्त्री जङ्गबहादुरदेखी विभिन्न समयमा अधिकरण गरिएकोले सम्यक दान पर्व सञ्चालन हुने स्थान साँघुरिन्दै गएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।
    सम्यक दान पर्व सञ्चालन हुने भुईख्य क्षेत्रमा अधिकरण गरी सरकारले हाल भक्तपुर अस्पताल, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालय लगायत सरकारी निकायहरु छन ।
    माघे संक्रान्तिको दिन मनाइने सम्यक महादान पनि भाद्र कृष्ण चर्तुथीमा मनाइने पञ्चदानकै रुपमा लिने स्थानीयहरु बताउँछन । पञ्चदान पर्वमा भक्तपुर नगरका सबै टोल टोलमा गई भुमीमा उब्जनी हुने पाँच किसिमका वस्तु दान दिन्छ भने सम्यक महादान पर्वमा भुईख्योमा आई भक्तजनले गच्छे अनुसारको दान दिन्छ ।
    भक्तपुरमा पञ्चदान र सम्यक महादान पर्व बडो धुमधामका साथ मनाउँदै आएको छ । यसरी धुमधामका साथ चाडपर्व मनाउन स्थानीय नेवार समुदाय, बजाचार्य, शाक्य, मानन्धर आदि हुन । यो पर्व बौद्ध धर्मका अनुयायीहरुका साथै धार्मिक संहिष्णुता भएका हिंन्दु नेवारहरुको समेत उल्लासमय पर्वका रुपमा लिइन्छ ।
    सम्यक दान गौतम बुद्धको पालादेखि चलि आएकाले लिनेदिने, भौतिकवादमा विश्वास गर्ने, आधुनिक र सभ्य भनाउँदाहरुलाई मानिसले एक अर्का प्रति दायामाया गर्नुपर्छ, दिनदुखी र असाहायलाई आवश्यक सहयोग गरी उद्दार भावना हुनु पर्ने सन्देश दिइन्छ ।
    प्रत्येक वर्ष सम्यक संघ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

     

     

  • मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

    भक्तपुर, पुस २९
    मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा जग्गा विकास योजना सञ्चालन गरी बाँकी क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने निर्णय गरेको हो ।
    मध्यपुर थिमि नगरपालिकाले वि. सं. २०५७ सालमा सुरक्षित क्षेत्र घोषणा गरी नगरका विभिन्न क्षेत्रमा घर निर्माण रोक्का राखेको थियो । नगरसभाको ११ औं अधिवेशनले ती स्थानमा बस्ती विकास योजना सञ्चालन गरी घर निर्माण फुकुवा गर्ने निर्णय गरेको हो ।


    नगरपालिकाले रोक्का क्षेत्रमा बस्ती विकास आयोजना सञ्चालन गर्न विज्ञहरुको टोलीलाई सम्भाव्यता अध्ययन गराएको थियो । उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन र नगरपालिकाबाट गठित प्राविधिक समितिबाट सम्भाव्यता देखिएका काँडाडोल, बुढाथोकी गाउँ, कोलाफाँट, गाँखु, कुण्डोल, विसन्तकी, सिद्धिगणेश, राधेराधे क्षेत्रमा तत्काल बस्ती विकास योजना सञ्चालन गर्दै जाने र सम्भाव्यता नदेखिएका क्षेत्रमा प्रतिवेदनको आधारमा नक्सा पास फुकुवा गरी प्रचलित कानून बमोजिम त्यसको नियमित र अभिलेखिकरण गर्ने निर्णय गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    नगरसभाले मध्यपुर थिमि नगरपालिकाको शिक्षा ऐन २०७९ को दोस्रो संशोधन विधेयक र मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन २०७९ को पहिलो संशोधन विधेयक सर्वसम्मतले पारित गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


    यस्तै नगरसभाले नगरपालिकाको प्रस्तावित प्रशासकीय भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी तत्काल टेण्डर प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
    नगरसभाले उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु आवश्यकता र औचित्यका आधारमा संशोधन गर्ने प्रस्ताव र आगामी तीन आर्थिक वर्षको राजश्व आय प्रक्षेपण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको आचार्यले बताउनुभयो ।

  • भक्तपुरको सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने

    भक्तपुर, पुस २८
    भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि महायज्ञ हुन लागेको हो । ऐतिहासिक र धार्मिक महत्वको उक्त मन्दिरको पुनःनिर्माणका लागि गरिने महायज्ञ यही माघको ५ गतेबाट शुरू हुने आयोजकले जनाएको छ ।
    महायज्ञका लागि श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती मूल समारोह समिति गठन गरिएको छ । सो समितिका अध्यक्ष तिर्थराज घोरसाइनेले शक्तिरुपिणी माता बालकुमारी देवीको मन्दिर निर्माण गर्ने उद्देश्य राखी आयोजना गरिने महायज्ञमा पण्डित विजय सिग्देलले कथा वाचन गर्ने जानकारी दिनुभयो ।
    माघ १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा संगीतमय कथावाचन, भजन कीर्तन, देवलीला, झाँकी, तुलादान, धान्यञ्चल, तण्डुलाचल एवम् शान्ति कलश पूजनलगायतका कार्यक्रम रहेको घोरसाइनेले बताउनुभयो ।
    चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा हुने महायज्ञले नगरकोट भ्रमण वर्ष–२०८२ को प्रचार प्रसारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
    महायज्ञ सफल बनाउन गठित समितिको उपाध्यक्ष केशवप्रसाद तिमल्सिना, सचिब साधुराम घोरसाइने, कोषाध्यक्ष शुसिला घिमिरे, र सहसचिबमा नबिन कार्की रहेका छन् ।
    यस्तै सदस्यहरूमा लक्ष्मण थापा, रामबहादुर थापा, राजकुमार कार्की, अर्जुन कार्की, भरत कार्की, कल्पना बिष्ट, शुमित्रा दाहाल, शुमित्रा घोरसाइने, महेन्द्रप्रसाद घोरसाइने, माधब प्रसाद घोरसाइने, गंगा प्रसाद अधिकारी, गंगाप्रसाद घोरसाइने, बाशुदेब घोरसाइने, रामशरण घोरसाइने, मनोज बुढाथोकी, धुर्व कार्की, राम कुमार कार्की, कृष्ण बानियाँ, सन्जिब बानियाँ , चिरन कार्की, रोशन तिमल्सिना, लोकनाथ दुलाल, रघुराम दुलाल, सन्तराम दुलाल, गोकर्ण फुयाल, जीवन दाहाल, राजु साखकर्मी, कृष्णा पियारी थापा कार्की, रन्जित रन्जिकार, बुद्द रन्जितकार, सन्तकुमार रन्जितकार, हिराकाजी रन्जितकार, सुकुराम रन्जितकार, सैलेन्द्र कुमार श्रेष्ठ, राजेश नेपाल, हरेराम दुलाल, श्यामप्रसाद घोरसाइने रहेका छन् ।