Blog

  • आर्गस एजुकेशनको सेवा भक्तपुरको सूर्यविनायकमा शुरू

    भक्तपुर, माघ १९
    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा बिस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा आर्गसको शाखा शनिवारबाट सञ्चालनमा आएको हो ।
    सो शाखाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले एजुकेशन कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई राम्रो करियर मार्गनिर्देशन गरी सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँ गरेका अध्ययन एवम् अनुभव आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
    आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ ।
    यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै आइईएलटिएस पिटिई तयारी कक्षा, करियर काउन्सेलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त व्यक्तित्वहरुले प्रदान गर्दै आएको छ ।
    विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीले आफ्नो सेवा दिदै आएको छ ।
    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका निवर्तमान अध्यक्ष गणेशभक्त गोसाई, किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवचन्द्र बज्राचार्य, रोटरी क्लब अफ भक्तपुरका पे्रसिडेन्ट नोमिनी दशरथ प्रजापति, कान्जिरोवा कलेजका प्रिन्सिपल महेन्द्र खनाल, समाजसेवी तथा राजनीतिज्ञ विनोद कायष्ठ, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बजार्चार्य र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा आर्गस एजुकेशनका सीईओ अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार साथै भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले पनि संस्थाको भावी योजना र सेवाहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

     

  • सिन्दिरा र रुपेश राष्ट्रिय बुद्धिचाल च्याम्पियन

    भक्तपुर, माघ १९
    काठमाण्डौंकी सिन्दिरा जोशी र रौतहटका रुपेश जैसवाल राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन । सिन्दिरा महिलातर्फ र रुपेश पुरुषतर्फ राष्ट्रिय च्याम्पियन बनेका हुन । हेटौंडामा एक साता सञ्चालन भएको प्रतियोगितामा सिन्दिरा १० औं महिला र रुपेश २५ औं पुरुष राष्ट्रिय च्याम्पियन बनेका हुन ।
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ चरणको खेल समाप्तिमा सिन्दिराले ९ अंक जोडिन । पुनम प्रसाईं ८ अंक जोडेर दोश्रो भएकी छिन् । निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोश्रो भएकी हुन ।
    बाँकेका इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो भइन । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बन्न् सफल भएकी हुन । काठमाण्डौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाईन ।
    यसैगरी मोरङकी शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाण्डौंका निहाना श्रेष्ठ दशौं भए ।


    यसैगरी रुपेशले पुरुषतर्फ च्याम्पियन बन्ने क्रममा सात जीत, चार बराबरी खेल्दै ९ अंक जोडे । उनले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाट खेल शुरु गरेर ३०.२ रेटिङ्ग बढाएका छन् । समग्रमा उनको उत्कृष्ट रेटिङ्ग पर्फोमेन्स २२११ रह्यो ।
    युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बने । वतर्मान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए । झापाका राजन तेस्रो स्थानमा अडिए ।
    मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन् । दोलखाका आशिष फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे । झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंकका साथ आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए ।


    महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरे ।
    सो अवसरमा वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगद सहित सम्मान गरिएको थियो ।
    कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एव अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • काठमाण्डुलाई हराउँदैं जनकपुरले जित्यो एनकेएल उपाधि

    भक्तपुर, माघ १८
    पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार सम्पन्न रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । जनकपुरले लिगमा अपराजित रहँदैं उपाधि जितेको हो ।
    अपराजित रहँदै उपाधि जित्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागमन गर्दै काठमान्डु माभरिक्सलाई ४५–४१ ले हराएको हो । । पहिलो हाफमा २५–१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२–२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४–३४ को बराबरी गरेको थियो । त्यसपछि ४१–३७ को अग्रता बनाउँदै जित नजिक पुगेपनि काठमान्डुले अग्रतालाई होल्ड गर्न सकेन ।


    खेलको पहिलो हाफमा पूर्णरूपमा जनकपुर नाइट्सले दबाब बनाएको थियो । सुरूवात देखि नै खेलमा अग्रता बनाएको जनकपुरले ४–२ को अग्रता रहेको अवस्थामा काठमान्डुका तीन खेलाडीलाई एकै पटक आउट गरेर ५ स्कोर जोड्यो । त्यसपछि निरन्तर स्कोर जोडेको जनकपुरले दोस्रो पटक काठमाण्डुलाई अल आउट गर्दै २३–१२ को अग्रता बनायो ।
    पहिलो हाफमा कमजोर देखिएको काठमाण्डुका स्टार खेलाडी तथा कप्तान घनश्याम रोक्का तीन पटक आउट भए । पहिलो हाफमा जनकपुरको पक्षमा २५–१९ को स्कोरमा सकियो ।
    यो लिगमा कमब्याक गर्न माहिर काठमाण्डुले दोस्रो हाफको सुरूवातमा अग्रता दुई स्कोरमा झारिसकेको थियो । खेल २८–२६ मा पुर्याए लगतै फेरि घनश्याम आउट भए । यसपछि पनि काठमाडौंले जनकपुरलाई चुनौती दिएको थियो ।
    पुनः घनश्याम कोर्ट छिरे र एकै पटक दुई खेलाडीलाई टच आउट गर्दै खेललाई ३४–३४ को बराबरीमा पुर्याए । लगतै काठमाण्डुले टच आउटमा अर्को स्कोर गर्दै पहिलो पटक खेलमा अग्रता बनाएको थियो ।


    फेरि एकपटक नाटकीय शैलीमा घनश्यामले फेरि दुई स्कोर गरे । यसपछि काठमाण्डुले पहिलो पटक जनकपुरलाई अल आउट गर्दै ४१–३५ को स्पष्ट अग्रता बनायो । यति खेर खेल सकिन १ मिनेट ५६ सेकेन्ड बाँकी थियो ।
    तर यसपछि फेरि जनकपुरले खेललाई ४१–४१ मा पुर्याउँदै सागर चौधरीलाई आउट गरेर ४३–४१ ले अगाडि बढ्यो । खेलको ३ सेकेन्ड बाकी छँदा जनकपुरले अल आउट गर्दै ४५–४१ ले फाइनल जित्दै च्याम्पियन बन्यो ।
    यसअघि जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा ४ खेल जित्दा काठमाण्डुसँग बराबरी खेलेको थियो । उपाधिसँगै जनकपुरले ५ लाख प्राप्त गरेको छ । पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टिमको सहभागीता रहेको थियो ।

  • राष्ट्रिय बुद्धिचालमा रुपेश र सिन्दिरा अपराजित रहँदै शिर्ष स्थानमा कायम

    भक्तपुर, माघ १८
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं राष्ट्रिय पुरुष तथा १० औं महिला बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीको अग्रता कायम रहेको छ ।
    रुपेश पुरुषतर्फ र सिन्दिरा महिलातर्फ ९ औं चरणको समाप्तिमा अपराजित रहँदै अग्र स्थानमा रहेका हुन । १२ खेलाडीबीच ११ चरणको राउण्ड रोविन लिगमा २ चरणको खेल बाँकी रहेको छ ।
    रौतहटका रुपेश र काठमाण्डौंकी सिन्दिरा दुबैले आ–आफ्नो विधामा समान ७.५ अंक बनाइ अग्रता कायम गर्ने क्रममा समान ६ जीत ३ बराबर खेल खेलेका छन् ।


    शिर्ष ३ स्थानमा रहने खेलाडी अर्को वर्षको राष्ट्रिय प्रतियोगितामा छनोट हुने प्रावधान रहेको छ । शीर्ष ३ को होडमा काठमाण्डौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोश्रो स्थानमा उभिएका छन् ।
    मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंक सहित चौथो स्थानमा, झापाका शुश्रुत दाहाल र दोलखाका आशिष फूँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन् ।
    यसैगरी महिलातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाण्डौंका एञ्जल महर्जनले ७ अंक बनाएर दोश्रो स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन् । बाँकेका इशा गिरि र झापाका पुनम प्रसाईं दुबै खेलाडी ६–६ अंक बटुल्दै शिर्ष ३ मा रहने होड कायम राखेका छन ।

     

     

  • उपप्रधान मन्त्रीहरु सिंह र पौडेलद्धारा चाँगुनारायण नगरपालिकाको अवलोकन

    भक्तपुर, माघ १८
    उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले बिहिवार चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखी ४ सम्म स्थलगत अनुगमन गर्नुभएको छ ।
    काठमाण्डौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको ईशान (उत्तर पुर्वी) भागमा निर्माण गर्न लागेको नयाँ शहर आयोजना (स्मार्ट सिटी) निर्माणको योजना कार्यान्वयनका लागि सिंह र पौडेलले स्थलगत अनलोकन गर्नुभएको हो ।
    उहाँहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट शुरु गरी वडा नम्बर २, वडा नम्बर ३ झौखेल र वडा नं. ४ चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गर्नुभएको थियो ।
    प्रस्तावित काठमाण्डौं ईशान नयाँ शहरमा चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखी ५ सम्मको पुरै भाग, वडा नं. ६, ७ र ८ को केही भाग पर्दछ । प्राधिकरणले नयाँ शहर निर्माण गर्ने निर्णय गरी प्रस्ताव गरे बमोजिम शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरी सो क्षेत्रको जग्गा कुनै भौतिक परिवर्तन गर्न र टुक्र्याउन नपाउने गरी रोक लगाएको छ ।
    सात वर्षमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरेपनि हालसम्म नयाँ शहर निर्माण शुरु नै हुन सकेको छैन, जसले गर्दा स्थानीय पिडित बन्दै आएका छन । स्थानीयले नयाँ शहर खारेज हुनुपर्ने माग गर्दै आएका छन ।
    स्थलगत अनुगमनपछि सिंह र पौडेल दुवैले नयाँ शहरको कार्य यथाशिघ्र छिटो अगाडि बढाउने बताएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
    खत्रीका अनसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको नयाँ शहरको योजना कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोलीले नगरपालिका क्षेत्रको अवलोकन गरेको हो । “स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको हो,” नगर प्रमुख खत्रीले भन्नुभयो ।
    सो अवसरमा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले भोग्नु परेका समस्याहरुको बारेमा मन्त्रीहरुलाई जानकारी गराउँदैं यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु माग गर्नुभएको थियो ।
    टोलीमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल, पूर्व सचिव मनि राम गेलाललगायत सहभागी थिए । उहाँहरुलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरुले स्वागत गर्दै स्थलगत अवलोकनमा सहजीकरण गर्नुभएको थियो ।

     

  • दिप कार्की नायक बनेपछि संकटाले जित्यो सभापति कप

    भक्तपुर, माघ १७
    गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनबाट प्रेरित संकटा क्लवले सभापति कपको उपाधि जितेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिवार सम्पन्न फाइनलमा संकटाले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
    निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३–३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । सडन डेथमा कप्तान समेत रहेका गोलकिपर दीपले बागमती लोकतान्त्रिकका गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई उपाधि दिलाएका हुन ।
    बागमती लोकतान्त्रिकका कप्तान समेत रहेका गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा शुरुको २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन पर्याप्त रहेन । विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी रोक्दै बागमतीको सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै बागमतीलाई २–० ले अघि बढाए थिए।
    त्यसपछि खेलले नाटकिय मोड लियो । तेस्रो पेनाल्टी प्रहार गर्न आएका बागमतीका कुलदीप कार्कीको पेनाल्टी दीपले रोके । उता संकटाका लागि लक्षु थापाले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । बागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले गोल गर्दै खेलमा २–२ को बराबरी गरे ।


    पाँचौ पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट बागमतीेले पुनः अग्रता बनायो । संकटाका लागि दीप आफै पाँचौं पेनाल्टी हान्न अघि बढे । उनी सफल भएर पेनाल्टीमा ३–३ को बराबरी भयो । सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे । दीपले बागमतीका गौरवको प्रहार रोके र संकटालाई च्याम्पियन बनाए ।
    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गरे ।


    प्रतियोगितामा संकटा फुटबल क्लबका कप्तान दीप कार्की सर्वोत्कृष्ट खेलाडी भएका छन् । सभापती कपमा संकटालाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी भएका दीपले नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।
    प्रतियोगितामा तीन खेलाडी सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहे । प्रतियोगिताको सर्वाधिक गोलकर्तामा संकटाका अबेकाह रिचार्ड तथा न्युरोड टिम एनआरटिका अन्जन बिष्ट र कृतिश रत्न छुन्जु रहे । उनीहरुले प्रतियोगिताभर समान २ गोल गरेका थिए ।
    सर्वाधिक गोलकर्ता तीनै खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा आयोजक टोलीका विकेश कुथु चुनिए । टोलीका कप्तान समेत रहेका विकेशले ५० हजार प्राप्त गरे । आयोजक टोलीका सन्दीप कार्की उदयीमान खेलाडी भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

     

  • उत्कृष्ट खेल पस्कँदै रुपेश र सिन्दिरा अगाडि

    भक्तपुर, माघ १७
    राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीले अग्रता लिएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आठौं चरणको खेल सम्पन्न हुँदा पुरुषतर्फ रुपेश र महिलातर्फ सिन्दिराले अग्रता लिएको हो ।
    पूर्व नेपाल च्याम्पियन रुपेशले सिएम नविन तण्डुकारलाई पराजित गर्नु पूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेल खेलेका थिए । रौतहटका रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग बृद्धि गर्न सफल भएका छन । उनले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए ।
    हेटौंडास्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाण्डौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान ५.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।


    मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ्ग बृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ्ग बृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ्ग बढाउन सफल भएका छन् ।
    अन्तिम तिन चरणको खेल बाँकी हुदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै एकल तेस्रो स्थानमा छन् । झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ्ग बृद्धि गरेका छन् । दोलखाका आशिष फूँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन् ।
    यसैगरी दशौं महिला राष्ट्रिय बुद्धिचालमा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुनः उपाधि तर्फ बढेकी छिन् । काठमाण्डौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जीत र तिन खेल बराबरी खेलेकी छिन् ।


    नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाण्डौंकी एञ्जल महर्जन दुवैले समान ६÷६ अंक जोडेका छन् । संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जीत र दुई खेल बराबर खेलेकी छिन । यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन् ।
    मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् भने किर्तिपुर काठमाण्डौंकी बिनिता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएका छन् ।

  • पारागनको वार्षिकोत्सवमा २५१ विद्यार्थी सम्मानित

    भक्तपुर, माघ १७
    भक्तपुरको पारागन एकेडेमी (ईंग्लिश सेकेण्डरी बोर्डिङ्ग स्कुल)का २५१ विद्यार्थी र पत्रकार विकास प्रहर बुधवार सम्मानित भएका छन । पारागनको २२ औं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन ।
    पारागनले ८६ जनालाई एकेडेमिक अवार्ड, ७८ जनालाई स्पोट्र्स अवार्ड, ५५ जनालाई एक्टिब स्टुडेन्ट्स अवार्ड, ३२ जनालाई एसईई सम्मान गरी कुल २५१ जनालाई सम्मान गरेको हो । साथै लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार प्रहरलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
    सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले देशमा परनिर्भरता बढ्नुमा श्रमप्रति सम्मान नगराउने गलत शिक्षा नीति जिम्मेवार भएको टिप्पणी गर्नुभयो ।
    कार्यक्रममा डा. इवामुरा अस्पतालको आकस्मिक सेवामा कार्यरत डा. विनोद दंगालले विद्यार्थीमा कुपोषण बढ्दै गइरहेको उल्लेख गर्दै बढ्दो स्वास्थ्य समस्याको मुख्य कारण खानपिन भएको बताउनुभयो । डा. दंगालले विद्यार्थीलाई जङ्कफुडबाट टाढा राख्न सके त्यसले विद्यार्थीको स्वास्थ्यका साथै पढाइमा समेत सकारात्मक प्रभाव पर्ने जानकारी दिनुभयो ।
    बाल विकासविज्ञ सानू अमात्यले विद्यार्थीको सर्वाङ्गीण विकास गराउने वातावरणयुक्त विद्यालय रोज्न अनुरोध गर्नुभयो । उहाँले विद्यार्थीको पढाइमा सुधार ल्याउनका लागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका उल्लेखनीय हुने भएकाले तीन पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
    मोटिभेस्नल स्पिकर तुल्सीहरि प्रजापतिले विद्यार्थीलाई रचनात्मक बनाउनका लागि मोबाइलको प्रयोग कम गराउनुपर्ने र सन्तानको भविष्यका लागि अभिभावकले गुणस्तरीय समय दिनुपर्ने बताउनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कमलराज गोसाईं, यूएसडिएफका अध्यक्ष श्रीराम सुवाल, अभिभावक प्रतिनिधि सुजना बासुकला, विद्यालयका व्यवस्थापक रत्नवीर किसी, पूर्व विद्यार्थी एन्जल खड्काले शैक्षिक उत्कृष्टता हासिल गर्न विद्यार्थी, अभिभावक, विद्यालय, शिक्षक शिक्षिका सबैको उत्तिकै सक्रियता आवश्यक पर्ने बताउनुभयो ।
    विद्यालयका प्रिन्सिपल पुण्यराम कवांलगायतले विद्यालयमा हाल १ हजार ६३ विद्यार्थी अध्ययनरत रहेको र ७५ जना शिक्षकहरु कार्यरत रहेको जानकारी दिनुभयो ।
    सोही कार्यक्रममा वर्ष अभिभावक सम्मान गरिएको थियो । उनीहरुलाई विद्यार्थीको पढाइमा चासो, शिक्षकसँगको अन्तरक्रिया, रचनात्मक सुझाव दिएको, शिक्षकसँग परामर्शका आधारमा छनोट गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

     

  • फागुन १४ गतेदेखि चैत ३ गतेसम्म ५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम बुद्ध जन्मभूमि लुम्बिनीमा हुने

    सुनीता तुलाधर,
    ललितपुर, माघ १६ गते ।
    बुद्ध शिक्षा जनमानसमा फैलाई सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनीमा अल्पकालिन “५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को आयोजना हुँदैछ । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इन्डिया–नेपालको संयुक्त आयोजना तथा प्रव्रज्या समाज नेपालको व्यवस्थापनमा मुलुकभरका ५०० जना कुलपुत्रहरुलाई प्रव्रजित गर्ने (श्रामणेर बनाउने) कार्यक्रमको आयोजना गर्न लागिरहेको जानकारी आज ललितपुरको पुल्चोकस्थित अक्षयश्वर महाविहारमा आयोजित एक पत्रकार सम्मेलन मार्फत दिइएको हो ।
    उक्त सम्मेलनमा बोल्नुहुँदै अखिल नेपाल भिक्षु महासंघका प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले प्रव्रज्या अवधिभर प्रव्रजित श्रामणेरहरुले शील पालना गरी बुद्ध शिक्षाका आधारभूत ज्ञान प्राप्त गरेर गहन ध्यान अभ्यास सिकिने बताउनुभयो । उहाँले राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गर्नुभएपछि कपिलवस्तुका राजा शुद्धोदनको निमन्त्रणामा २० हजार भिक्षुहरुका साथ प्रथमपटक कपिलवस्तु आगमन हुँदाको जस्तो धम्मयात्राको अनुभव पनि प्रव्रजित भएकाहरुले गर्न सक्ने जानकारी दिनुभयो ।
    धम्मकाय फाउण्डेसनका निर्देशक एवं प्रव्रज्या सामाजिक नेपालका संरक्षक थाई धर्मदूत भिक्षु थावर्न थावरोले बुद्ध शासनलाई चीरकालसम्म रहोस भनी श्रामणेर प्रव्रज्या कार्यक्रम संचालन गरीरहेको बताउनुहुँदै नेपालबाट थाइल्याण्डमा बुद्ध धर्म प्रचारप्रसार भएकोले त्यहाँका भिक्षुहरु, जनसाधारणहरु नेपालप्रति अति नै कृतज्ञ छन्, त्यसैले नेपालले पुनः धेरै भन्दा धेरै बुद्ध धर्मबाट लाभ लिन सकोस भनी नेपालमा श्रामणेर प्रव्रज्यामा सहयोग गरीरहेको भन्नुभयो ।
    अ.ने.भि. महासंघका कोषाध्यक्ष एवं प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्ध जन्मभूमि नेपालमा स्थायी प्रव्रजित भिक्षुहरुको संख्या जति हुनुपर्ने हो त्यति नभएपनि अस्थाई रुपमा भएपनि प्रव्रजित संस्कार वृद्धि होस एवं प्रव्रजितहरुको संख्या वृद्धि होस भनी श्रामणेर प्रव्रज्याको कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो ।
    त्यस्तै अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले प्रव्रजित जीवन एकचोटि अनुभव गर्नुपर्ने अवसरका रुपमा लिई प्रव्रजित हुन अनुरोध गर्नुहुँदै लुम्बिनीमा फागुन २० गते प्रव्रज्याका साथै २१ गतेदेखि २४ गतेसम्म चौथो अन्तर्राष्ट्रिय तिपिटक पाठ हुन गइरहेको जानकारी दिनुभयो । उहाँले यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा राख्नुहुँदै लुम्बिनीको महिमा, लुम्बिनीको गरिमा र नेपालीको धर्मसंस्कृति विश्वमा तरंगित गर्न यस्ता खालका कार्यक्रमहरुको आयोजना भइरहन अत्यावश्यक भएको तथा लुम्बिनीमा पर्यटकहरु आउँदा धर्मले तरंगित भएका ध्वनिहरु सुनाउन र आध्यात्मिक एवं बौद्ध विहारका जीवनको वातावरण देखाउन र धारण गर्न जरुरी रहेको बताउनुभयो ।
    पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिनुहुँदै प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले यस प्रव्रज्या कार्यक्रममा सहभागी हुन जुनसुकै समुदायका नेपाली कुलपुत्रहरु जो उमेर १६ वर्ष माथिका आफ्नो दैनिकचर्या सम्हाल्न सक्ने स्वस्थ व्यक्ति जो पनि हुनसक्ने जानकारी दिनुभयो । उहाँले यस कार्यक्रममा सहभागी हुन कुनै खर्च नलाग्ने पनि जानकारी दिनुहुँदै प्रव्रज्या कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।
    उक्त पत्रकार सम्मेलनमा अखिल नेपाल भिक्षु महासंघ, थाइ धर्मदूत इण्डिया–नेपाल, प्रव्रज्या सामाजिक नेपाललगायत लुम्बिनी विकास कोष, ललितपुर महानगरपालिका, माझखण्ड बुद्ध विहार, अक्षयश्वर महाविहार, धर्मोदय सभा, युवक बौद्ध मण्डल, नेपाल मगर बौद्ध सेवा समाज, नागबहाल टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    यस कार्यक्रमका सह आयोजकहरुमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षयश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध मण्डल नेपाल, बुद्ध समाज नेपाल, वल्र्ड एलियन्स अफ बुद्धिस्ट, लुम्बिनी विश्वविद्यालय, नागबहाल टोल सुधार समिति, धम्मकाय विश्वविद्यालय, धम्मकाय फाउण्डेसन र प्रोमिस ल्याण्ड रहेका छन् ।
    यस प्रव्रज्या कार्यक्रमको समय तालिका निम्नानुसार रहेको छ –

  • वक्तृत्वकला प्रतियोगितामा अमिनिटी स्कुलकी देउता प्रथम

    भक्तपुर, माघ १६
    शहिद दिवसको अवसरमा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मध्यपुर नगर समितिले बुधवार आयोजित मध्यपुर थिमि नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा अमिनिटी सेकेण्डरी स्कुलकी छात्रा देउता कोइराला प्रथम हुनुभएको छ ।
    ‘न्याय र स्वतन्त्रता प्राप्तीमा शहिदहरुको संघर्ष’ बिषयक उक्त वक्तृत्वकला प्रतियोगितामा नवरत्न लाईफ स्कुलकी वितिषा मानन्धर दिद्धिय हुनुभयो । प्रतियोगितामा दिव्य दिप ज्योती ईङ्गलिस स्कुलकी सन्भी भुसाल तृतिय र जनप्रेमी वल्र्ड स्कुलकी आम्सीका खड्काले सान्त्वना स्थान हासिल गरेको प्याव्सन मध्यपुर थिमि नगरसमितिका अध्यक्ष सुमन बस्नेतले बताउनुभयो ।


    प्रतियोगितामा मध्यपुर थिमि नगरभित्रका विभिन्न विद्यालयका २५ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्याव्सन भक्तपुरका अध्यक्ष राजन कसपालले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
    विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने र कितावी ज्ञानलाई व्यवहारमा उतार्ने कला विकासको लागि प्रतियोगिता आयोजना गरेको प्याव्सन मध्यपुर थिमिका अध्यक्ष बस्नेतले बताउनुभयो ।