Category: Uncategorized

  • जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

    भक्तपुर, पौष २३
    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिलाई पदमा पुग्ने साधन मात्र ठान्ने र कमाइखाने भाडो बनाउने कार्यले यसलाई बद्नाम गरेको बताउनुभएको हो ।
    उहाँले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद भएको बताउँदैं देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहने व्यक्तिले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    ‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन् । ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ । जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ । एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो,’ उहाँले भन्नुभयो ।
    नेपालले राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने अनुमान गर्न नसकिने बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो ।
    ‘एउटा गठबन्धन अघि बढिरहेको थियो । त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो । यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो ।


    पत्रकारले देशको समस्याबारे जनतालाई बताइरहेको तर, यो संगै समस्या समाधानको बाटो समेत सुझाउन सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । पत्रकारिता क्षेत्रलाई नेपाली जनताले असाध्यै बिश्वास गरेको बताउदै यसको पछिल्लो उदाहरण उपप्रधान एवं गृहमन्त्री बन्न सफल रवी लामिछाने भएको उहाँको भनाइ थियो । उहाँले जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिवद्ध हुनुपर्ने समेत प्रष्ट पार्नुभयो ।
    सो अवसरमा अध्यक्ष नेपालले भक्तपुर चार जना पत्रकारहरु प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठलाई नगदसहित पुरस्कृत गर्नुभएको थियो भने भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
    राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले स्थापना दिवसको अवसर पारेर पत्रकारलाई पुरस्कृत गर्नुका साथै सांसदहरुलाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको चर्चा गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पत्रकारका ट्रेड युनियन समस्या हल गर्न प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो राजनीति जीवनको लामो कालखण्ड ट्रेड युनियन आन्दोलनमा बिताएको अनुभवलाई संसदमा श्रमजिवि पत्रकारका श्रम सम्बन्धी समस्या हल गर्न र प्रेस सम्बन्धी कानुन ल्याउन पत्रकारसँग सहकार्य गरी कार्य गर्ने कोइरालाले बताउनुभयो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौंलागाई, केन्द्रीय सदस्यद्धय शान्तराम विडारी र ज्ञानप्रसाद पौडेलले बागमती प्रदेश सरकारले पत्रकार महासंघको काठमाण्डौं उपत्यका प्रदेशसँग सहकार्य नगरेको गुनासो गर्दै प्रदेश सभा सदस्यहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्यहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, किरण थापा, भुवन केशरी श्रेष्ठ, धनेश्वरी प्रजापतिले प्रदेश सभाबाट ऐन कानुन बनाउने सवालमा पत्रकारहरुले पनि मार्ग निर्देशन गर्नुपर्ने र जिल्लाको विकासका साथै प्रदेश सभाबाट प्रेस सम्बन्धी कानुन बनाउने क्रममा महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    त्यस्तै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका उपाध्यक्ष रोजिना थापा, महासंघ भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष तथा उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुरका सचिव रामहरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै पत्रकारका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
    शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे शुभचिन्तकले महासंघ भक्तपुरको गतिविधिको बारेमा चर्चा गर्नुभएको थियो ।
    कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुलोचना श्रेष्ठ राजभण्डारीलगायतको उपस्थिती रहेको थियो ।

     

  • ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो

    भक्तपुर, असार १६
    भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँ मन्दिरको बुसादाँ मनाइने परम्परालाई निरन्तरता दिँदै वर्षबन्धन पुजा गरिएको हो । पुजासँगै मन्दिरको गजुरमा नयाँ पतचाः (झण्डा) समेत फहराएको छ ।
    ङातापोल्ल्हँ मन्दिर नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले निर्माण गर्न लगाएको हो । मन्दिरमा रहेको अभिलेखमा मन्दिर निर्माण पुरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पुजा गरेको उल्लेख छ ।
    मन्दिरको सरसफाइ र मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतिन्द्र मल्लले प्रत्येक वर्ष मन्दिर निर्माण पुरा भएको दिन वर्षबन्धन पुजाको परम्परा बसाएको संस्कृतिविद् ओमप्रसाद धौभडेलले बताउनुभयो । सोही परम्पराअनुसार प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन ङातापोल्हँको वर्षबन्धन पुजा नियमित रुपमा चल्दै आएको छ ।
    बुसाँदामा भक्तपुर तलेजुका जोशी, कर्माचार्य, राजोपाध्याय र ताल्चाभँडेल जातका पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल्हँ मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको विधिपूर्वक पुजा गरेका थिए । पुजा पछि सबै पुजारीहरुले समेबजी खाई पतचाःलाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरेका थिए । अवालहरुले ङातापोल्हँ मन्दिरको गजुरमा पतचाः फहराएका थिए ।
    पतचाः फहराउन करिव एक दर्जन अवालहरु मन्दिरमाथि चढेका थिए । मन्दिरमा पतचाः फहराइनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा रहि आएको छ । पतचाः फहराउन चार जना गजुरको चार कुनामा बसेर बाँधेका थिए । करिव ३० फिट लामो हाँगासहितको बाँसमा ६६ ईन्च लम्वाई र ४४ ईन्च चौडाईको कपडाको पतचाः फहराइएको थियो । बुसाँदाका लागि आवश्यक खर्च र अवालहरुलाई पारिश्रमिक समेत गुठी संस्थानले व्यहोर्दै आएको छ ।

     

  • बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै ओमानविरुद्ध नेपालको सहज जित

    भक्तपुर, असार १
    बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध सहज जित हात पारेको छ । अमेरिकाको टेक्सासमा बुधवार बिहान सम्पन्न खेलमा नेपालले शिर्ष स्थानको ओमानलाई ७ विकेटले सहजै पराजित गरेको हो ।
    मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको मध्यम लक्ष्य नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा तिब्र गतिका बलर करण केसीको ५ विकेट र ओपनर व्याटर कुशल भुर्तेल र आसिफ शेखको ११४ रनको किर्तिमानी साझेदारीको योगदान रह्यो । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालका ओपनरबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । यसअघि ओपनरको रुपमा ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो । आसिफ र कुशले गतवर्ष ओमानविरुद्ध नै गरेका थिए ।


    ओपनर आसिफले ६२ रन बनाए भने कुशल ५६ रनमा आउट भए । आसिफले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिँदा कुशलले ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए । दुबै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।
    यस्तै देव खनाल १० रनमा आउट भए । रोहित पौडेल २१ बलमा १ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । ऐरीले विलाल खानलाई विजयी चौका प्रहार गरेका थिए । ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।


    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए । सन्दीप गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । एक समय १६.१ ओभरमा ४९–५ को कमजोर अवस्थामा पुगेको ओमानलाई छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
    ओपनर कश्याप प्रजापति २, ओपनर जतिन्दर सिंह २३, अयान खान शुन्य, शोएब खान २, खवर अली १, नसिम खुसी १०, कलिमुल्लाह १ रनमा आउट भए ।


    ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । मोहम्मद अदिल आलमले कुनै विकेट लिन नसकेपनि १० ओभरमा २ मेडनसहित २२ रन मात्र खर्चे ।
    तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । करणले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहिबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।


    जितसँगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । नेपालको १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक भएको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका २३ खेलमा १० मा जित र १२ मा हारका साथ २१ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

     

  • जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा

    नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही अनुसार क्रमिकरुपले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुनेछ ।
    यसै प्रसंगमा अधिवेशनको तयारीलगायतका विषयमा न्यूज अफ साप्ताहिकले आइतवार पार्टी जिल्ला सभापति दुर्लभ थापासँग उहाँकै कार्यकक्षमा कुराकारी गरेको थियो । प्रस्तुत छ, न्यूज अफ साप्ताहिकका सम्पादक जगत प्रजापतिले गरेको कुराकानीको सम्पादित अंश ः
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित तालिका अनुसार हुने पक्कापक्की भएको छ । भदौं १८ गते स्थानीय पालिकाका वडा तहको अधिवेशन हुँदैछ । भक्तपुरमा यसको तयारी के छ ?
    भक्तपुरमा अधिवेशनको लागि तयारी लगभग पुरा भएको छ । हामी १८ गते वडा तहको अधिवेशन गर्ने पूर्ण तयारीमा छौं । केन्द्रीय प्रतिनिधि चयन भइसकेको छ उहाँसँग पार्टीको सम्पर्क भइसकेको छ । भदौ १४ गते केन्द्रीय प्रतिनिधिसहितको जिल्ला समितिको बैठक बसी सकेपछि वडादेखी जिल्लासम्मको अधिवेशन शुरु गर्नेछौं । त्यसका लागि प्रत्येक वडामा प्रतिनिधि खटाउने छौं । निर्वाचन अधिकृत पनि चयन गरी पठाउने छौं । पहिलो चरणमा वडाको अधिवेशन गर्छौ । भक्तपुरका चार स्थानीय तहका ३८ वटा वडामा अधिवेशनका लागि तयारी पुरा गरेका छौं ।
    पार्टीको विधान अनुसार स्थानीय तहका वडा इकाइ कमिटीका पदाधिकारी र वडाबाट चुन्ने क्षेत्रीय प्रतिनिधिहरुको संख्या ठूलो छ । निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि छनोट गर्नुपर्ने अवस्था आए, निर्वाचनको व्यवस्थापन गाह्रो र जटिल होला । कसरी व्यवस्थापन गर्ने तयारी छ ?
    पार्टीको अधिवेशन हो । अधिवेशनको एउटा पाटो निर्वाचन पनि हो । निर्वाचनमार्फत नेतृत्व चयनका लागि प्राविधिकरुमा पनि हामी तयार छौं ।
    नेपाली कांग्रेस पहिलो पार्टी हो, जसले नेपालको संविधान अनुसार समानुपातिक र समावेशी विधान निर्माण गरेको छ । त्यो आधारमा पनि वडा तहबाट प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । यसलाई व्यवस्थापन गर्न कठिनाई त छ । तर यसलाई पार लगाउनुको विकल्प छैन । त्यसको पनि व्यवस्था मिलाउँछौं ।
    यसमा के छ भने वडा तहको अधिवेशनमा जिल्ला तहका नेतृत्वले हस्तक्षेप नगर्ने, स्थानीय वडाका नेता कार्यकर्ताहरु नै बसेर नेतृत्व चयनलगायतका कार्य सम्पन्न गरुन भन्ने उद्देश्य लिएका छौं । जिल्लामा नेतृत्व लिने आकांक्षा गर्ने नेताहरुले वडामा हस्तक्षेप नगर्ने हो भने धेरै भन्दा धेरै वडामा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्ने अपेक्षा गरेका छौं ।
    किनकी यसको पनि केही आधारहरु छन । जस्तो यसपटक एउटै वडाबाट कम्तिमा १५ जना र बढीमा क्रियाशील सदस्यताको आधारमा ६५ जनासम्म प्रतिनिधि चयन हुने अवस्था छ । सोही अनुसार वडा इकाई समितिका पदाधिकारी र सदस्यहरु चयन गर्नुपर्ने छ । यस्तो अवस्थामा वडा वडामा निर्वाचन नै हुन्छ भन्ने मलाई लाग्दैन ।
    अर्को म जिल्ला सभापति पनि भएको हिसावले सबै नेता कार्यकर्ताहरुलाई सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न आव्हान गरेको छु । यद्यपी लोकतान्त्रिक पार्टीमा कोही इच्छुक हुन्छ भने उसलाई निषेध गर्न सकिन्न । यस्तो अवस्थामा निर्वाचनको प्रक्रियामा जानुपर्ने हुन्छ ।
    अधिवेशन लगत्तै स्थानीय तहको निर्वाचन आउँदैछ । अहिले वडा वडामा समेत प्यानल बनाएर निर्वाचनमार्फत नेतृत्व चयन हुँदै गर्दा त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्छ । त्यसैले वडामा सर्वसम्मत गर्ने प्रयास पनि भएको होला । यसमा के कस्तो तयारी छ ?
    पार्टीको अधिवेशनमा निर्वाचन मार्फत नेतृत्व चयन हुँदा स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा असर हुन्छ भन्ने कुरामा कुनै तुक र दम देख्दिन । पार्टीभित्र विवाद नगरौं, एकमत कायम गरौं भन्दा भन्दै पनि मत भएपछि मतान्तर हुनु स्वभाविक हो । मतान्तर हुँदैमा विवाद भन्न मिल्दैन ।
    अधिवेशनमा कांग्रेसले कांग्रेस छान्ने हो । स्थानीय तहको निर्वाचनमा कांग्रेस र कांग्रेसको रुख छान्ने की, सूर्य, हलो वा अन्य कुनै चिह्न छान्ने भन्ने हो । निर्वाचनमा जाँदा पार्टी विधान र अनुशासनलाई पनि कडारुपमा लागु गर्नुपर्छ । मास बेस पार्टी हो । आफ्नो पक्षले उम्मेदवारी नपाउने वित्तिकै रुखमा नहाली अन्त मतदान गर्ने जुन प्रवृत्ति छ, त्यो विकृति हो, त्यसको अन्त्य गर्नुपर्छ ।
    जसरी फुटबलको टुनामेन्टको तयारी गर्दा आपसमा प्रतिष्पर्धा गरी तयारी गर्ने हो भने विपक्षी टीमसँग प्रतिष्पर्धा गर्दा टिम स्पिरिटका साथ प्रतिष्पर्धा गरेर विजयी हुने हो, त्यसरी नै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा प्रतिष्पर्धा गर्ने हो ।
    यो तथ्य आम कांग्रेसी कार्यकर्ता, नेता, समर्थक र शुभचिन्तकहरुले बुझेका छन । त्यसकारण अधिवेशनमा हुने प्रतिष्पर्धाले स्थानीय, प्रदेश र संघको निर्वाचन असर गर्छ जस्तो मलाई लाग्दैन ।


    यसपटक भक्तपुरमा क्रियाशील सदस्यता वितरण र नविकरणमा विगतमा जस्तो विवाद देखिएन । यसले पनि आसन्न अधिवेशन सौहार्दपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्छ की ?
    कांग्रेसको मेरुदण्ड भनेकै क्रियाशील सदस्य हो । भक्तपुरमा यसअघिका हरेक अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विवाद भएको थियो । पार्टी नेतृत्व इमान्दार हुने हो भने यस्तो विवाद नआउने रहेछ भन्ने यो एउटा उदाहरण पनि हो यसपालीको क्रियाशील सदस्य नविकरण र वितरण ।
    नेतृत्वमा हुने नेताले म पछि नेतृत्वमा मेरो मान्छे वा फलानो नै हुनुपर्छ भन्ने सोच र मान्यता राख्छ भने वडातहदेखी नै त्यही ढंगको तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि सदस्यता वितरण र नविकरणदेखी त्यस्तो खालको गतिविधि गर्नुपर्ने हुन्छ । त्यस्ता नेतृत्वले इमान्दार कार्यकर्ता माथि पनि विश्वास नगरी वडाबाट आफ्नै श्रीमति, छोरा वा भतिजा प्रतिनिधि ल्याएने प्रवृत्ति पनि छ । त्यसले गर्दा विवाद सिर्जना हुँदो रहेछ ।
    विगतमा विधान अनुसार सदस्यता वितरण नगर्ने, अधिवेशनका बेला मुठाका मुठा क्रियाशील लुकाउने, दराजमा थन्काउने, अधिवेशनमा गएका प्रतिनिधि रित्तो झोला फर्कनु पर्ने अवस्थामा पनि नभएको होइन ।
    यसवर्ष विधान र पार्टी केन्द्रको निर्देशन अनुसार क्रियाशील नविकरण र सोही अनुसार शतप्रतिशत नयाँ सदस्य वितरण गर्ने काम भएको छ । प्रक्रियागत ढंगले काम भएको छ । प्राविधिकरुपमा त्रुटी भएका बाहेक यसपटक जिल्लामा क्रियाशीलमा कुनै तलमाथि गरिएको छैन । यसले गर्दापनि विवादरहित ढंगले काम सम्पन्न भएको हो ।
    प्राविधिकरुपमा गल्ती भएकोलाई पनि प्रतिनिधिसँग बसेर छलफल गरी उचित निकास निकाल्ने छौं । कोही कार्यकर्तालाई अन्याय हुने छैन ।
    त्यो बाहेक १४ औं अधिवेशनका दौरान विगतमा के के कमजोरी भए, राजनीतिकरुपमा, सांगठनिक, कांग्रेसको मुल्य मान्यतामा कहाँ के कस्ता कमजोरी भए त्यो बारेमा पनि धनीभुत छलफल गर्नेछौं ।
    काम गर्नेबेला मेरा पनि कमीकमजोरी भए होलान । मेरै पालामा तीनै तहको निर्वाचनमा पार्टीले पराजय भोग्नु परेको छ । त्यसमा सबै दोष सभापतिको मात्र हो की होइन ? मेरा बारेमा अनेक आरोप, टिका टिप्पणी भए होलान । त्यसमा मैले पनि स्पष्ट पार्नुपर्ने होला । यसपटक कांग्रेसका क्रियाशीलले यस्ता कुरालाई पनि ध्यान दिनेछन ।
    अधिवेशन हो, अधिवेशनमा प्रतिष्पर्धा गर्न पाईयो । पार्टीमा नेतृत्वमा जान, प्रतिनिधि जाने प्रयास गर्न पाईयो । यो अधिवेशनमा पार्टीका अग्रज नेताहरुदेखी सबैलाई समेटेर जाने कोशिष रहन्छ । यसपटक धेरै पदहरुपनि छन । कतै छुटीहाले पनि अर्कोमा स्थान पाउन सकिन्छ । महाधिवेशन प्रतिनिधिनै दुई क्षेत्रमा गरी झण्डै ५० जनाको हाराहारीमा जान सकिन्छ । प्रदेश समिति छ, केन्द्रीय समिति छ, केन्द्रीय विभाग छन ।
    त्यसैले अधिवेशनमा त्यस्तो विवाद हुने म देख्दिन र नहुनेमा विश्वस्त पनि छु । भक्तपुरमा कांग्रेसका सबै अग्रजहरु मिल्ने हो भने पनि सबै अट्ने वातावरण छ । नेतृत्वमा जान सकिन्छ । तर यही भक्तपुरमा मात्र बस्ने, रुमलिने, पार्टी र पार्टी सभापतिलाई अफ्ठ्यारो पार्ने मात्र हो भने अलग कुरा हो । होइन भने यहाँ विवाद गर्नुको औचित्य देख्दिन ।
    तपाई अहिले पार्टी सभापतिको जिम्मेवारीमा रहनु भएको छ । तपाई फेरी पनि जिल्ला सभापतिमा नै दोहोरिनु हुन्छ की प्रदेश समिति वा केन्द्रीय समिति कतै जाने तयारीमा हुनुहुन्छ ?
    व्यक्तिगतरुपमा मैले केही तयारी गरेको छैन । जिल्ला अधिवेशन हुन अझै एक महिना बाँकी छ । जिल्ला अधिवेशनसम्म सौहार्दपूर्ण वातावरणमा अधिवेशन गराउनुपर्ने जिम्मेवारी मेरो काँधमा छ । नेतृत्वमा आउन चाहनेले आफ्नो टिम बनाउने, सम्पर्क कार्यालय खोल्ने कार्यलाई मैले स्वभाविकरुपमा लिएको छु । क्षेत्रीय अधिवेशनसम्म सम्पन्न गरौं । त्यसपछि के गर्ने भन्ने बारे योजना बनाउने योजना छ ।
    तर एउटा कुरा के हो भने जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा दुर्लभ थापा बाधक बन्दैन । म बाहिर बसेर सर्वसम्मत हुन्छ भने म बाहिरै बस्न पनि तयार छु । प्रतिष्पर्धा गर्नैपर्ने, जिल्ला सभापतिमा लड्नै पर्ने परिस्थिती बन्यो भने पनि दुलर्भ थापा पछि भने हट्दैन ।
    मैले विगतको स्थानीय निर्वाचनमा सूर्यविनायकको नगरप्रमुखको टिकट ल्याउन पनि सक्थें होला । प्रदेशसभाको टिकट छोडेरै आएँ । हुन त मलाई ५० लाखमा टिकट छोडेको भन्ने आरोप पनि लाग्यो । त्यसमा मेरो भन्नु केही पनि छैन ।
    म धेरै पदको लोभी पनि होइन । मैले नै खानु पर्छ, मैले नै पाउनुपर्छ भन्ने मान्यता पनि छैन । फेरी पनि भन्छु, म भक्तपुरमा सहमतिको बाधक बन्ने छैन । भक्तपुरमा पार्टी संगठन केही कमजोर अवस्थामा छ । अधिवेशन लगत्तै स्थानीय तह, प्रदेश र संघको निर्वाचन पनि आउँदैछ । त्यसैले अहिले यो ढंगले जाउँ भन्दा एउटा परिस्थिती बन्न सक्छ । यसमा दुर्लभ थापा बाधक बन्दैन ।
    प्रतिष्पर्धामा गईसकेपछि जित्नु हार्नु एउटा पक्ष रहला तर केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्न पनि मलाई कुनै समस्या छैन । प्रदेश समितिमा जान पनि समस्या छैन । सबै पक्ष बसेर सरसल्लाह गरौं, छलफल गरौं । मै लड्नुपर्छ, दोस्रो पटक पनि मेरै पालो हो भन्ने स्थितीमा म छैन ।
    यो बारेमा क्षेत्रीय अधिवेशन सकेपछि सबै आकांक्षीसँग एक दुई चरण बसेर छलफल गर्छु । जिल्ला सभापति भएका नाताले पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्छु । छलफल गर्दा सर्वसम्मत हुने परिस्थिती रह्यो भने म बाधक बन्ने पक्षमा छैन । तर यस्तै परिस्थिती रहयो, भक्तपुरमा फेरी एकपटक पार्टी नेतृत्व गर्नुपर्ने अवस्था आए आम कार्यकर्ताहरुसँग छलफल गरेर निर्णय गर्नेछु र पछि पनि हट्ने छैन ।
    मेरो कुनै कोहीसँग प्रतिष्पर्धा छैन । मेरो प्रतिष्पर्धा भनेको लोकतान्त्रिक मुल्य मान्यता र आदर्शसँग छ । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको आँच आउने काम म बाट हुने छैन ।
    अन्तमा केही ?
    अन्तमा म के भन्न चाहन्छु भने । पार्टीको १४ औं महाधिवेशनको संघारमा छौं । यसलाई भव्य र सभ्यरुपमा सफलतापूर्वक सम्पन्न गर्ने आम नेपाली कांग्रेसप्रति आस्थावान नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, पेशा व्यवसायकर्मी, युवा विद्यार्थीहरुको जिम्मेवारी पनि हो ।
    कांग्रेसको यो महाधिवेशनलाई सफल बनाउन सबैले आ–आफ्नो तह र तप्काबाट ईमान्दार ढंगले लागी परौं भनी आह्वान गर्न चाहन्छु र सक्षम, इमान्दार, स्वच्छ छवी भएका, पार्टीलाई सही ढंगले नेतृत्वदायी भूमिका निभाउन सक्ने नेतृत्व चयन गरौं भन्ने आह्वान पनि गर्न चाहन्छु ।

  • पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

    –नारायणप्रसाद सुवेदी

          मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने त्यो पात्र नै आमा हो । आमाले सन्तानहरूलाई दिने माया र त्यसैका कारण उठाएको दुःख कष्ट, भोगेको मान अपमान तथा कतिपय जोखिमहरू सबै अमूल्य छन् । त्यसको बदलामा आमालाई केही दिएर चुकाउँछु भनेर यदि कुनै सन्तानले भन्छ भने त्यो जति महामूर्ख सायदै यस संसारमा भेटिएला । गर्भावस्थामा राख्दा होस् या प्रशव पीडामा छटपटाइ रहँदा होस् ‘सबै पीडा र व्यथाहरू सन्तानकै खाँतिर गरेंँ र मैले जे गरेँ गर्नुपर्ने भएर गरेँ, भोग्नुपर्ने भएर भोगेँ, यो मेरो कर्तव्यको अभिन्न अंश हो’ भनेर खुसी मनले स्वीकार आमाबाहेक यो दनियाँमा अरू कसले गर्न सक्ला ?

          अहिलेको संसार व्यापारीहरूको संसार हो । सबैले यहाँ नाफा र घाटाको हिसाब किताब गरेर मानिसहरू बसिरहेका छन् । जुनसुकै बेला पनि मानिसहरूसँग तराजु साथमा रहेको हुन्छ । जुन बेला तराजु आफूँतर्फ ढल्किन्छ अनि बल्ल त्यो काम गर्ने जाँगर निकाल्छन् । यस्तो लेनदेनको दुनियाँमा आमा भन्ने एक पात्र र शब्दसमेत अमूल्य र व्यापक छ । यही मूल मर्मलाई आत्मसात गरेर नै लेखक खगराज बरालले यस उपन्यासमा आमासँगका अनुभूतिलाई अविरल बगाएका छन्, यही बगाइमा नै सकिएको छ ‘स्यानी’ ।

          आमाको मृत्युपश्चात गरिने संस्कारको दौरानमा नै रहँदा पहिलो दिन देखि तेह्रौं दिन सम्मलाई प्रतिनिधित्व गर्ने गरी १३ अध्यायहरू बनाइएका छन् । तेह्र दिने किरिया कर्मका बेला मनमस्तिष्कमा सिर्जना भएका विचार र ओतप्रोत भएका भावनाहरू यसमा मुखरित भएका छन् । यो ‘स्यानी’ उपन्यासको विजारोपण त्यही बेला नै भएको रहेछ । त्यही विजलाई भु्रणको आकार पाएपश्चात उपन्यासको रूपमा धर्तीमा जन्मिन पनि लामो समय नै लागेछ भन्नु पर्छ । बाल्यकालका प्रतिबिम्बहरू एक एक गरी उछालिएर आएका छन् । त्यस बेलाका बाल मनोभावनाका सामान्यभन्दा सामान्य कुराले मनमस्तिष्कमा हुने मथिङ्गल जस्ताको त्यस्तै उपन्यासमा उतारिएको छ । भाषा समेत आफ्नो जन्मस्थानको सेरोफेरोको नै प्रयोग भएको छ, चाहे आफ्नो परिवारको होस् चाहे यस उपन्यासको कथाले मागेअनुसारका पात्रहरूको होस् । त्यसैले पनि यस क्षेत्रका मानिसका लागि यो आफँैले बोलेको र आफ्नै बाल्यकालमा घटेका घटनाहरूसँग दाँजेर हेरिने र बाल्यकालको सम्झना आउने खालका घटनाहरू भएकाले म अहिले पनि त्यही अवस्थामा छु जस्तो लागिरहन्छ । म यो ‘स्यानी’ उपन्यास पढेर मनोरञ्जन पनि गरेँ र भावनामा पनि धेरै बगेँ, लेखकले भने जस्तै गरी झल्याँस्स बिउँझिएँ ।

          उपन्यास पढ्दै जाँदा लेखकले गरुड पुराणका विभिन्न प्रसङ्ग उल्लेख गरेका छन् । पुराणहरू यत्तिकै लेखिएका पक्कै पनि होइनन् । पुराण लेखिँदाको समयमा यससम्बन्धमा प्रशस्त बहस भएको हुनुपर्छ । पुराणहरू पौराणिक र आर्षकालका उपज हुन् । त्यस समयको विषयवस्तु वर्तमान समाजमा हुबहु उपयोग हुन पक्कै सक्दैन तर पुराणमा उल्लेख भएका समाजका हितका विषयलाई भने उपयोग गर्न सकिन्छ भन्ने मान्यता उपन्यासमा पाइन्छ । पुराणका कथा र दृष्टान्तका माध्यमबाट समाजमा केही अनुशासन कायम गर्न सकिन्छ । यसलाई आवश्यकता, स्थान र समयअनुसार प्रोत्साहन गर्न आवश्यक छ । धार्मिक संस्कारमा बैज्ञानिक कारणहरू छन् । बिना अनुसन्धान र बिना निष्कर्ष पुराणमा वर्णित कथा र दृष्टान्तलाई अन्धविश्वासको लेप लगाएर यस्ता व्यावहारहरूलाई छोड्दै आएका छौं । सदाचार र अनुशासनमा बस्ने हो भने समाजमा व्यभिचार, भ्रष्टाचार र कुशासन हुँदैनथ्यो भन्ने सन्देश मिल्दछ । सद्मार्गमा नहिँड्दा हाम्रो समुदायलाई नै घाटा भएको छ भन्ने सन्देश गरुड पुराणका अंश अंश उल्लेख गरेर त्यसको सन्देश दिन लेखक सफल रहेको देखिन्छ । आख्यानकै बीचमा एक पात्र नौली आमै देखिन्छिन् । वास्तवमा नौली आमै निकै आँटिली र जाँगरिली रहिछन् । सर्प घरमा पस्दा पनि नडराइकन बाहिर निकाल्ने प्रयास गर्छिन् । त्यहाँ एउटा गालीको वाक्य पनि छ ‘तेरो निराजो पर्ना’ । त्यहाँको समुदायमा प्रचलित यो शब्द नौलो लाग्यो तर कथाअनुसार रिस उठ्दा कसैलाई गाली गरेको भन्ने आशय बुझ्न कठिन भएन ।

          लेखकले उपन्यासको हरेक अङ्कमा सुरुतर्फ संस्मरणका कुराहरूमा खेलेका छन् । त्यसलाई आफ्नो भावनामा लगेर अन्तिममा आमासँगै जोडेका छन् । आफ्ना लागि आमाले गरेका सबै योगदान र दिएको माया ममतालाई एकातिर राखेर त्यति गरेकी आमालाई मैले केही पनि दिन सकिनँ भन्ने अनुभूति व्यक्त गरेर हरेक अङ्क टुङ्गिएको छ । पाँचौं अङ्कको अन्त्यमा ‘मलाई बचाउन दौडिएर भिरस्वाँरा पुग्ने आमालाई मैले भने केही गर्न सकिनँ’ भनेर म पात्रले आँखाबाट आँसु झरिरहेको अभिव्यक्ति एउटा उदाहरण हो ।

          यसरी सरसर्ति हेर्दा ‘स्यानी’ उपन्यास जननीप्रति एक सन्तानको अगाध आस्था र विश्वासका साथ गरिएको मायाको समर्पण हो । कतिपय अधुरा सपनाको प्रतिबिम्ब पनि हो भने अन्तर्आत्मादेखि प्रष्फुटन भएको ममताको अभिव्यक्ति पनि हो । यसमा काल्पनिक कुराहरु गुँथिएको पाइन्न । लेखकले कतिपय पात्र काल्पनिक हुन् भने पनि जे जति घटनाक्रमहरू छन् ती सबै यथार्थ नै छन् । यस्ता घटना उपन्यासका म पात्रले भोगेका होलान् कि समुदायका अन्य व्यक्तिले भोगेका होलान् ।

          स्वभाविक अभिव्यक्तिका रूपमा गाँसिएका शब्दहरू सरल वाक्यमा सहज अडिएका छन् । वाक्य गठन सरल छ । स्थानीय जनजिब्रोको प्रयोग भएको छ । जो कसैले पनि यो पढिरहँदा फेरि के भएको होला भन्ने कौतुहलता रहिरहने गरी सबै अङ्क नसकिउन्जेल विश्राम लिन मन मान्दैन । उपन्यासका हरेक विषयवस्तुले केही न केही सन्देश पनि दिएको छन् । कम्तीमा पनि हाम्रा साँस्कृतिक धरोहरहरूलाई पछ्याइ रहँदा धेरै फाइदाहरू समाजले पाएको रहेछ । यसलाई जानी नजानिकनै पनि व्यवहार गर्दा बेफाइदा पनि त केही थिएन । समुदायमा अनुशासन थियो, मर्यादा थियो, मूल्य पनि थियो तर त्यही संस्कार र संस्कतिलाई अन्धविश्वास र कथित अविकसित समाजको उपज ठानेर धुलिसात पार्दा अहिले समाजमा मानवीयताको समेत खडेरी परेको छ । नैतिकता र सच्चरित्रता कुन चराको नाउँ हो जस्तो भएको छ । त्यसैले संस्कार र संस्कृतिलाई निरन्तरता दिऔं र पुस्तान्तरण गरौं भन्ने खालको सन्देश लेखकले यस उपन्यासमार्फत दिएको पाइन्छ ।

          ‘स्यानी’ उपन्यासको महत्त्वपूर्ण पक्ष यसको वास्तविक कथा हो । यो कुनै एकादेशबाट सुरु भएको कथा होइन । यो कुनै समुदायको उदाहरणी पात्रका बारेका लेखिएको पनि होइन । उपन्यासका पात्र सामान्य छन् । घटना सामान्य छन् । लेखक आफैँ पात्र पनि बनेका छन् । यो उपन्यास बीचबाट सुरु भएको छ र बीचबाटै टुङ्गिएको छ । यो उपन्यासको कथा काल्पनिक पनि छैन । काल्पनिक र तिलस्मी कथाका आधारमा लेखिने उपन्यासभन्दा यो भिन्न हुनु नै यसको विशेषता हो । कुनै बैशालु युवतीको कथा होइन ‘स्यानी’, कुनै युवतीको रोमाञ्चित वर्णनमा घुमेको छैन स्यानी । अनावश्यक प्रकृति वर्णनमा अल्मलिएको छैन ‘स्यानी’ । स्यानी उपन्यासमा वास्तविक पात्र छन्, वास्तविक समाज छ, वास्तविक बोली लवज छ, वास्तविक रहनसहन छ, वास्तविक ठाउँ विशेष छ । समाजमा घटेका र घट्ने घटनामा आधारित छ । दैनिक जीवनमा घट्ने घटनालाई आधार बनाएर पनि उपन्यास लेखिन्छ भन्ने उत्कृष्ट नमुना हो ‘स्यानी’ । यति मात्र होइन, आँचालिकताको अति उत्कृष्ट उदाहरण बनेको पनि छ ‘स्यानी’ ।

          कुनै पनि कुरा यो संसारमा आफैँमा पूर्ण छैन । विज्ञानले स्वीकार गरेको यो सत्यता यसमा पनि लागू हुन्छ । उपन्यास पढ्दा तेस्रो कोही व्यक्तिलाई पात्रको रूपमा उभ्याउँदा केही थप थाप र आख्यानलाइ रोचक पार्न फुर्र्का गाँस्न सकिने हुँदो रहेछ । समाजका अरू पक्षलाई पनि उजागर गर्ने गरी थप सन्देश तथा मनको भावना पोख्न पाइने हुँदोरहेछ तर आफैँ पात्र बनिरहँदा त्यसमा सहज रूपमा थप भावना सिर्जना गर्न कठिनाइ हुँदोरहेछ । त्यसैले तेस्रो पात्र खडा गरेर लेखेको भए यसको रौनकता अझ बढ्ने थियो होला भन्ने मलाइ लागेको छ ।

          आमालाई स्नेह गर्ने र आमाको ममताको बारेमा गहिरिन चाहनेका लागि ‘स्यानी’ उपन्यास पठनीय छ । शोक उपन्यास भएकाले मन अलि दह्रो बनाएर पढ्नुपर्ने हुन्छ । एकपटक ‘स्यानी’ पढेर आफ्नो बाल्यकाल र आमालाई सम्झिने हो कि !

  • टोकियो ओलम्पिक – सुटिङकी कल्पनाले बनाईन राष्ट्रिय किर्तिमान, जुडोकी सोनिया पहिलो खेलमै पराजित

    भक्तपुर, साउन ९
    जापानमा जारी टोकियो ओलम्पिक २०२० मा शनिवार नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गरेका छन तर दुवै जना पहिलो चरणबाटै बाहिरिएका छन ।
    ओलम्पिकमा नेपालकी कल्पना परियारले सुटिङको महिला १० मिहटर एयर राइफल इभेन्टमा प्रतिष्पर्धा गरेका थिए भने जुडोकी सोनिया भट्ट महिला ४८ के जी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
    कल्पनाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरिन । उनले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् । उनले यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा आफैंले बनाएको ६ सय १४.५ स्कोरको राष्ट्रिय किर्तिमान तोडेकी हुन ।
    कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी कल्पनाले अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।
    आसाका सुटिङ रेन्जमा भएको खेलमा कल्पना समग्रमा ४६ औं स्थानमा रहन सफल भइन । इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र शरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् ।
    छनोटबाट शिर्ष ८ मा रहने खेलाडीहरुले मात्र फाइनल खेल्न पाउने छन । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९, दक्षिण कोरियाकी पार्क हिमुन ६३१.७, अमेरिकी मेरी टकर ६३१.४, दक्षिण कोरियाकै यूंजी क्वोन ६३०.९, फ्रान्सेली ओसिएन मुलर ६३०.७, चीनकी किआन याङ ६२८.७, स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना ६२८.५ ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
    त्यसैगरी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । सोनिया राउण्ड अफ ३२ अन्तर्गतको खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।


    १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।
    सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

  • प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

    प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

    भक्तपुर, जेठ २०

    कतारमा अर्को वर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अहिले कुवेतमा रहेको छ । नेपालले आज बिहिवार चाईनिज ताईपेईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १० बजे कुवेतको जावेद अल अहमेद स्टेडियममा हुनेछ ।
    यो खेल नेपालको लागि अत्यन्त महत्वूर्ण रहेको छ । विश्वकप छनोटको गणितिय सम्भावना बाँकी राख्न र सन् २०२३ को एसियन कप छनोटको तेस्रो चरणमा सोझै प्रवेशको लागि नेपालले ताईपेई विरुद्धको खेल जित्नैपर्ने दवाब रहेको छ ।
    यसअघि छनोटको पहिलो चरणको खेलमा नेपालले ताईपेईलाई उसैको घरमा २–० ले पराजित गरेको थियो । त्यसैले पनि नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दवाब बढेको हो भने नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पनि यो खेल अग्नी परीक्षा बनेको छ ।

    प्रशिक्षक अलमुताईरीले नेपाली टोलीमा व्यापक परिवर्तन गरेको छ । युवा खेलाडीहरुलाई मौका दिएर उनले पुराना नियमित खेलाडीलाई समेत आराम दिएको छ । अलमुताईरीले ६ नयाँ अनुहारलाई मौका दिएर सम्भवत अहिलेसम्मको युवा टोली तयार गरेका छन । खेलाडी छनोटमा धेरै आलोचना खेपेका प्रशिक्षकले नतिजाको लागि धैर्य गर्न आग्रह गरेका थिए । यही टोली गत शनिवार ईराक विरुद्ध सम्पन्न मैत्रीपूर्ण खेलमा २–६ ले पराजित भएको थियो ।
    नतिजामा नेपाल पराजित भएपनि नेपाली टोलीको प्रर्दशन भने सन्तोषजनक थियो । खेलमा नेपालले एक समय २–१ ले अग्रता बनाएको थियो तर केही सिल्ली गल्तीका कारण नेपाल फराकिलो गोल अन्तरले पराजित हुन पुगेको थियो ।
    चाईनिज ताईपेई फिफा वरियतामा नेपाल भन्दा माथिल्लो स्थानमा रहेको छ । हाल फिफा वरियतामा चाईनिज ताईपेई १४१ औं स्थान र नेपाल १७१ औं स्थानमा रहेको छ । नेपाली टोली काठमाण्डौंमा करिव दुई साताको प्रशिक्षणपछि इराकहुँदै कुवेत पुगेको हो । ताईपेईले स्वदेशमै एक महिना भन्दा लामो प्रशिक्षणपछि कुवेतको यात्रा तय गरेको हो ।
    ताईपेईले पहिलो पटक कुवेतको भुमिमा खेल्न लागेको हो । ताईपेईका लागि मुख्य चुनौती कुवेती मौसम रहेको छ । प्रतियोगिता भन्दा दुई दिन अघि मात्र कुवेत पुगेको ताईपेईलाई त्यहाँको मौसमसँग घुलमिल हुन समय लागिरहेको प्रशिक्षक वाङले बताए । उनले सबै खेलाडीहरुले कुवेतको गर्मी पचाउन प्रयासरत रहेको जानकारी दिए । वाङले नेपाल विरुद्धको खेललाई राम्रो तयारी गरेको र टोली जित्नको लागि मैदानमा उत्रने बताए । आफुहरु मैदान केन्द्रीत भएको र पहिलो पटक यति गर्मीमा खेल्न लागेको उनले बताए ।
    ताईपेईले पनि टोलीमा व्यापक परिवर्तन गर्दै नौ युवा खेलाडीलाई मौका दिएको छ । टोलीका ८ खेलाडीले मात्र १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । प्रशिक्षक वाङले पुर्णरुपमा युवा टोली तयार गरेको छ ।
    टोलीमा ६ जना नयाँ अनुहार समावेश गरेर कुवेत पुगेको नेपाली टोलीको लक्ष्य ताईपेईबाट तीन अंक खोस्नु रहेको छ । यो खेलमा नेपालले ईराकविरुद्धको खेलमा भएका गल्तीलाई सुधारेर परिपक्व खेल खेल्नुपर्ने जरुरी छ ।
    टोलीमा अञ्जन बिष्ट, मनिष डाँगी, नविन श्रेष्ठले अग्रपंक्ति सम्हाल्ने छ । सम्भवतः ईराकविरुद्धको सेटलाई नेपाली प्रशिक्षकले ताईपेईविरुद्ध मैदानमा उतार्ने सम्भावना रहेको छ ।
    अंक तालिकामा ताईपेई समूहको अन्तिम स्थानमा रहेको छ । ताईपेईले प्रतियोगितामा २ गोल गर्दा २५ गोल खाएको छ । उसले दुई गोलमा एक गोल जोर्डन र एक गोल अष्ट्रेलिया विरुद्ध गरेको हो । तर दुवै गोल गर्ने खेलाडी यो पटक टोलीमा छैन ।
    नेपालले यो प्रतियोगितामा २ गोल गर्दा १६ गोल खाएको छ । नेपालले दुवै गोल ताइपेई विरुद्ध गरेको हो ।

  • किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन  आग्रह

    किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको टोलीले शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय काठमाडौंमा पुगेर किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह ग¥यो ।
    सांसद सुवालले रोपाइँको बेला पनि किसानहरूलाई समयमा मल उपलब्ध नभएको र अहिले गहु छर्ने तथा आलु रोप्ने बेलामा पनि मलको हाहाकार भएकोले दुवै संस्थाको ध्यानाकर्षण गराउनुभयो ।
    पञ्चायतकालमा मात्र होइन बहुदल र गणतन्त्रमा समेत स्थिति उस्तै हुनुबाट सरकार र सम्बन्धित निकाय जिम्मेवार नदेखिएको उल्लेख गर्दै उहा“ले सरकारले १२ अर्ब रूपैयांको मल समयमै खरिद नगरेको हुँदा देशको कृषि उत्पादनमा खर्बौं रूपैयाँको नोक्सान भएको तर्फ सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो ।
    उहाँले भक्तपुरमा यस वर्ष गहुँ खेती बढ्ने र सोहीबमोजिम मल आपूर्ति बढाउनुपर्नेमा जोड दिनुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मलको ठेक्का प्राप्त गरी आपूर्ति नगरेकाहरूलाई पाँच करोड रूपैयाँ जरिवाना नपुग्ने भएकोले त्यसबाट भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    साल्ट ट्रेडिङ कर्पोरेसन लि.का प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाललाई आवश्यक रसायनिक मलमध्ये ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आठ वर्षदेखि आपूर्ति भइरहेको उल्लेख गर्दै तीन महिनाअगाडिको निर्देशिकाअनुसार मंसिर महिनादेखि स्थानीय तहको उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा गठित समितिबाट सिफारिस भएका सहकारीलाई मल बिक्रीको डिलर प्रमाणपत्र दिने र मल उपलब्ध गराउने बताउनुभयो ।
    कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीले ठेकेदारले मल नल्याउँदा मलको हाहाकार भएको र अबको एघार दिनभित्र पर्याप्त मल आपूर्ति हुने बताउनुभयो ।
    उहाँले मल नल्याएका पाँच ठेकेदारलाई पाँच करोड रूपैयाँको दरमा जरिवाना गरेको बताउनुभयो ।
    कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेको बताएपछि सांसद सुवालले कोटाअनुसार मल पठाएर बाँकी यही गोदाममा राख्नु उचित नभएको हुँदा कोटा सच्याइ बढाएर पठाउनुपर्ने औँल्याउनुभयो ।
    साल्ट ट्रेडिङका वरिष्ठ अधिकारी पंकज जोशी र कृषि सामग्री कम्पनीका बिक्री प्रमुख राजेन्द्रबहादुर कार्कीले पनि मल आपूर्ति गर्न तदारूकतासाथ लागिपर्ने बताउनुभयो ।