Category: Uncategorized

  • भक्तपुर नगरपालिकाले १९ लाख रुपैंया अनुदान वितरण

    भक्तपुर, असार ८
    भक्तपुर नगरपालिकाले मौलिक शैलीमा घर बनाउने ९ जनालाई करिव १९ लाख रुपैंया अनुदान दिएको छ । भक्तपुर नगरपालिकाको १६ औं नगरसभा अधिवेशनको उद्घाटन समारोहमा शुक्रवार नगरपालिकाले ती घरधनीलाई अनुदान वितरण गरेको हो ।
    अनुदान प्राप्त गर्नेहरुमा वडा नं. १ का कविन्द्र कायष्ठ एक लाख ५० हजार ३१६ रुपैंया, वडा नं. ३ का मुकुन्दलाल प्रधानांग ३ लाख, वडा नंं ३ का सुनिल प्रजापति एक लाख ४१ हजार २१४, वडा नं. ४ का पूर्णभक्त ग्वाछालाई एक लाख ६५ हजार ४५९, वडा नं. ४ का लक्ष्मीश्वरी कबु दुई लाख ४१ हजार २८७ र वडा नं. ६ का राजेन्द्र अवाल एक लाख ७० हजार ५६२ रुपैंया छन ।
    यस्तै अनुदान प्राप्त गर्नेहरुमा वडा नं. ६ का नारायणकृष्ण त्यात एक लाख ७० हजार २५६ रुपैंया, वडा नं. ६ का कृष्णबहादुर दुवाल दुई लाख ९३ हजार ३६१, वडा नं. १० केशव शिल्पकार दुई लाख ८२ हजार २६७ रुपैंया छन ।
    नगरपालिकाले उक्त रकम बराबरको काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

     

  • अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

    भक्तपुर, असोज २०
    अनलाइन बेटिङबाट करिव २४ करोड रुपैंयाँ बराबरको कारोबार गर्ने एक जनालाई काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन ।
    साहले इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेल्ने÷खेलाउन गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
    उहाँका अनुसार नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा २४ करोड १५ लाख १७ हजार एक सय ३८ रुपैंयाँ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा साहलाई झापाबाट पक्राउ गरी काठमाण्डौँ ल्याइएको हो ।
    पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौँमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

     

  • छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीमा श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० शुरु

    भक्तपुर, असोज ११
    भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा बिहिवारदेखी श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० प्रारम्भ भएको छ । आश्रमको सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञ असोज २७ गते सम्म सञ्चालन हुनेछ ।
    महायज्ञको शुभारम्भ अघि उत्तरगयाबाट कलश यात्रा शुरु गरिएको थियो । उक्त कलशयात्रा हैमादेवी, बासुकीथान, गणेश मन्दिर, कृष्ण मन्दिर, चित्तापोल खुलाल गाउँ राधाकृष्ण मन्दिर, डाँडावारी हुँदैं माझी भैरव, ऋृद्धिसिद्धी गणेशथान, गोठाले चौर, सौडोल, फैढोका भिमेश्वर मन्दिर, राम मन्दिर, विन्दवासिनी, वनमाला टोल, गणेशथान हुँदैं महायज्ञ स्थल आश्रम पुगेर समापन भएको थियो ।


    महायज्ञको समुदघाटनमा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले राज्यले पालनपोषण गर्नुपर्ने असाह्य, बेसहारा, पिडित, दुःखी, गरीव र आधारभुत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क गास, बास, कपास र स्वास्थ्य सेवा प्रदान गरेर छोरीको घर ज्येष्ठ नागरिक आश्रमले सह्रानीय कार्य गरेको बताउनुभयो ।
    उहाँले समृद्ध देशमा बाल आश्रम, बृद्धा आश्रम बनाउने र संरक्षण गर्ने कार्य सरकार स्वयमले गरेतापनि हाम्रो देशमा अझै विभिन्न संघ संस्थाले दाताको सहयोगमा सञ्चालन गर्नु परिरहेको चर्चा गर्नुभयो ।
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर नै थप उच्च बनाएको बताउनुभयो । “चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो ।” नगरप्रमुख खत्रीले भन्नुभयो, “साँस्कृतिक धरोहरले भरिपूर्ण रहेको हाम्रो नगरको शिर उच्च बनाउनको लागी हाल सञ्चालन भएको महायज्ञले पुलको काम गरेको छ ।”


    नगरप्रमुख खत्रीले छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माण गर्नको लागी चाँगु नगरबासी मिलेर साकार पार्ने बताउँदैं चाँगुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
    महायज्ञको समुद्घाटन कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता सुरेश श्रेष्ठ, बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री एवम् कांग्रेस नेता कृष्णलाल भँडेल, नेपाली कांग्रेसका जिल्ला समितिका सहसचिव यादव प्रसाद अधिकारीलगायतका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।


    महायज्ञबाट आश्रमको सञ्चालन र आश्रम निर्माणका लागि जग्गा खरिद गर्न आवश्यक आर्थिक संकलन गर्ने लक्ष्य राखिएको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर विजय मुर्ती महाराजले बताउनुभयो ।
    उहाँका अनुसार हाल ५० आना क्षेत्रफलको जग्गा भाडामा लिएर सञ्चालन भइरहेको आश्रमको भवन निर्माणका लागि ताथलीमा नै ५० आना जग्गा खरिदको प्रक्रिया अघि बढेको छ । महायज्ञबाट संकलन भएको रकम महायज्ञ अवधीमा नै निर्माण समिति गठन गरी हस्तान्तरण गरी निर्माण कार्य शुरु गरिने उहाँले जानकारी दिनुभयो ।महायज्ञमा प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नेछ ।

     

  • एक महिने गुँलापर्व आजबाट शुरु

    भक्तपुर, साउन ३२
    एक महिने गुँला पर्व आजदेखी शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाईने गर्दछ । यो पर्व यसवर्ष साउन ३२ गतेदेखी भाद्र ३० गतेसम्म मनाईने छ ।
    नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवतको नवौं महिनामा मनाईने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।
    गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भएता पनि यसपर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गरेको छ । गुँला पर्वको अवसरमा नगरका बहाः, बही, चैत्य लगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
    गुँला पर्वमा बौद्धमार्गीहरु विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोक लगायतका उपत्यकाका विभिन्न चैत्यहरुको समेत परिक्रमा गर्ने गर्दछन् । काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।
    गुँला पर्वको प्रमुख विशेषता धाः, न्याकुँ र चती बाजा बजाउनु हो । यो बाजा राँगा र भेडाको सिङबाट निर्माण गरिएको हुन्छ । विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट न्याकुँ बाजा तयार गरिन्छ भने चती बाजा भेँडाको सिङबाट निर्माण गरिन्छ ।
    पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँला पर्व मनाउने प्रचलनमा बृद्धि भएको छ, जसअनुसार बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन, भैरव र अष्टमाट्रिका लगायतका देवी देवताहरुको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्वी बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरुको परिक्रमा गर्न जान थालेका छन ।
    यसैबीच यसवर्ष पहिलो पटक मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले गुँला यात्रा निकालिएको छ । भजन खलःका गुँला पर्वको अवसरमा भदौ ४ गते सोमवार चाँगुनारायण, भदौ ६ गते बुधवार साँखु बज्रयोगिनी, भदौ १३ गते बुधवार काभ्रेपलाञ्चोकको नमो बुद्ध, भदौ २० गते बुधवार बाडेगाउँ, भदौ २७ गते बुधवार ललितपुरको जलविनायक र कार्यविनायक र अन्तिम दिन भदौ ३० गते शनिवार स्वम्भु महाचैत्यको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै दैनिकरुपमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीका विभिन्न मठ मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

     

  • बोधिचर्या विहार, बनेपाको परियत्ति केन्द्रमा पुरस्कार वितरण एवं कृतज्ञता तथा सराहना पत्र प्रदान

    सुनीता तुलाधर, बनेपा, असार १४ गते ।
    बोधिचर्या विहार, बनेपामा २०७५ देखि २०७९ सालसम्मको परियत्तिका विभिन्न तहमा उत्तीर्ण विद्यार्थीहरुलाई प्राप्ताङ्क–पत्र सहित पुरस्कार वितरण गरिएको छ । बोधिचर्या विहारको बोधिचर्या परियत्ति केन्द्रद्वारा हिजो आयोजित उक्त कार्यक्रममा नेपालका आठौं संघनायक एवं सो विहारका विहारप्रमुख भिक्षु बोधिसेन महास्थविरले बोर्डमा आउन सफल विद्यार्थीहरुलाई तक्मा, बुद्ध प्रतिमा र प्रमाण पत्र प्रदान गर्नुभयो ।


    उक्त अवसरमा संघनायक भिक्षु बोधिसेन महास्थविरले कार्यक्रममा उपस्थित भएका सबैजनाले परियत्ति पढौं, परियत्ति पढेर यसलाई बझौं र बुझिसकेपछि पालन पनि गरौं भन्नुहुँदै यसमा उमेरले कुनै रोकतोक नगर्ने बताउनुभयाे । उहाँले बुद्ध धर्म अनुसार आफूले मात्रै लिने वा सिक्ने होइन, आफूलाई प्राप्त भएको अरुलाई पनि बाँडौं भन्नहुँदै कार्यक्रममा उपस्थित नभएकाहरुलाई पनि परियत्ति पढ्न प्रेरित गरौं, गर्न सकोस भनेर मंगल कामना पनि गर्नुभयो ।


    नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले नेपाल लगायत विश्वका अन्य स्थानमा रहेकाहरुले पनि परियत्तिको लाभ लिन सकोस भनेर त्यहाँकाहरुले पनि जाँच दिन सकिने व्यवस्था गरे अनुसार अमेरिका, बेलायत, अष्टे्लिया, भारत लगायत मुलुकहरुमा परियत्ति संचालन भइरहेको जानकारी दिनुभयो ।
    परियत्ति पढ्नुका साथै व्यवहारमा समेत प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले हाल परियत्तिको कक्षा १ देखि नै लिखित परीक्षाका साथ ध्यानको प्रयोगात्मक अंक समेत जोड्ने गरी परीक्षा संचालन भइरहेको जानकारी पनि सो कार्यक्रममा उहाँले दिनुभयो। लिखितका लागि ८० अंक र प्रयोगात्मकमा २० अंक छुट्याइएको कुरा उहाँले बताउनुभयो ।


    परियत्ति कोविद (कक्षा १०) उत्तीर्ण गर्नुभएकी रुबिना मानन्धरले परियत्ति शिक्षाबाट प्राप्त ज्ञानले जीवनमा आएका समस्याहरुलाई सहजीकरण गर्दै हल गर्न सकेको बताउनुभयो ।
    कार्यक्रममा परियत्ति विद्यार्थी सोनी बज्राचार्य लगायत अरुले पनि आ–आफ्नो अनुभवहरु सुनाउनुभएको थियो ।
    साथै उक्त केन्द्रमा अध्ययनरत परियत्ति विद्यार्थी शिक्षिका यस्माली मगरले त्रिशरण गाथा, अनमोल शाक्यले चतु आरक्ष भावना लगायत विद्यार्थीहरुले धम्मपद अर्थसहित वाचन, बोज्झङ्ग सुत्र पाठ तथा ज्ञानमाला भजन समेत प्रस्तुत गरेका थिए ।

    उक्त कार्यक्रममा विभिन्न सालमा विभिन्न तहहरुमा प्रथम, दुतिय आदि ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुका साथै केन्द्रलाई सहयोग गर्नुहुने दाताहरुलाई सराहना पत्र पनि दिइएको थियो ।
    उक्त केन्द्रका सचिव कृष्ण प्रसाद मानन्धरले केन्द्रको प्रगति विवरण र कोषाध्यक्ष राम मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा बनेपाकै ध्यानकुटी विहारका राहुल महास्थविर लगायत नेपाल, श्रीलंकाका भन्तेगण एवं बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य तथा उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।

  • महेश बस्नेतले ठूला कुरा नगरे हुन्छ – जितजंग बस्नेत

    भक्तपुर, साउन ६
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका केन्द्रीय पुर्वअध्यक्ष जितजंग बस्नेतले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई ठूला कुरा नगर्न चेतावनी दिनुभएको छ ।
    नेपाल तरुण दल भक्तपुरले ४१ औं वि पि जयन्तीको अवसरमा मध्यपुर थिमि वडा नं. लोहकिल्थलीस्थित वि पि पार्कमा आयोजित विपिको पूर्ण कदको शालिकमा माल्यापर्ण र वृक्षारोपण कार्यक्रममा नेता बस्नेतले महेश बस्नेतका धेरै कतुर्त थाहा भएको बताउँदैं ठूला कुरा नगर्न चेतावनी दिनुभएको हो ।
    महेश बस्नेतले एउटा लेखमा आफुलाई केही नजान्ने नेताको रुपमा टिप्पणी गरेको भन्दै त्यसको प्रतिवाद गर्दै बस्नेतले भन्नुभयो, “म महेश बस्नेतको गाउँ नजिक आएर भन्न चाहन्छु । हामीलाई पनि धेरै कुरा थाहा छ । हनुमन्तेको काण्ड पनि थाहा छ । खोला कसरी सोझियो भन्ने पनि थाहा छ । त्यसैले महेश बस्नेतले धेरै ठूला कुरा नगरे हुन्छ । बस्नेत बस्नेत आफ्नै भएकाले पनि म धेरै कुरा भन्न चाहन्न । तर सम्पूर्ण कुरा थाहा छ । त्यसैले ठूला कुरा नगरे हुन्छ ।”

     

  • चोरी गर्ने चक्करमा दुर्घटना

    भक्तपुर, असार २०
    भक्तपुरमा एक व्यक्ति चोरी गर्ने चक्करमा दुर्घटनामा परेका छन । भक्तपुरको जगातीबाट स्कुटी चोरी गरी डोलेश्वर पुगेका बेथानचोक गाउँपालिका–४ घर भई हाल डोलेश्वर बस्ने २८ वर्षिय श्रबण खत्री सोही स्कुटीको चावीले नीजि कार चोरी गर्नेक्रममा दुर्घटनामा परेका हुन ।
    दुर्घटनामा कार र स्थानीय बलराम खाईतुको घर, घरभित्रको फ्रिजलगायत करिव ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
    घटना विवरण अनुसार खत्रीले बुधवार बिहान भक्तपुर नगरपालिका–५, आदर्शबाट बाग्मती प्रदेश नं. ०२–०२९ प ३५०४ नं. को स्कुटी चोरी गरी डोलेश्वरतर्फ लिएर गएका थिए ।


    खत्रीले डोलेश्वर पुगेर त्यहाँ रोकी राखेको प्रदेश नं. ३–०१–०२२ च ४९८९ नं. को कारको ढोका चोरी गरी लगेको स्कुटीको चावीले खाले । सोही चावीले कार चलाई क्लज डबाउने क्रममा उक्त कार उडेर बाटो मुनि रहेको बलराम खाईतुको २ तल्ले पक्की घरभित्र छिर्न पुग्यो ।
    सो घटनामा खाईतुको घरको ढोका, जस्ता र फलामको ट्रस, घर भित्र रहेको डिफ्रिज, घरको पर्खाल र कारको विभिन्न भागमा क्षति पुगेको एसपी केसीले बताउनुभयो । प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही भइरहेको जनाएको छ ।
    घटनामा संलग्न दुवै सवारी साधन कार चालक रामेछाप सुनपाति गाउँपालिका–४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ४४ वर्षिय समिन लामा र स्कुटि धनी ५४ वर्षिय सानुकाजी सिम्बन्जर प्रहरीको सम्पर्कमा आएको एसपी केसीले बताउनुभयो ।

  • क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

    भक्तपुर, असार १८
    क्षयरोगको शंका लागेपनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाईएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत वडा स्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागेपनि लक्षण नदेखिएको भन्दै परिवारले नै शंकास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।
    क्षयरोग मुक्त घोषणा अभियान अन्र्तगत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरको वडा नं. ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधी सेवन गराउन नमान्ने गरेको बताउनुभयो ।
    उहाँले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग संक्रमण देखिएको बताउँदैं त्वायनाले नगरमा अत्याधिकरुपमा क्षयरोगी लुकेर बसेको आशंका व्यक्त गर्नुभयो । उहाँले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताउनुभयो ।
    कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको संख्या ६५८ रहेको जानकारी दिनुभयो । जसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको संख्या ५७ दशमलव २ प्रतिशत र फोक्सो बाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको संख्या ४२ दशमलव ८ प्रतिशत रहेको मिजारले बताउनुभयो ।


    उहाँले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोग मुक्त अभियान स्वयंसेवकहरुलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामुलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ्ग क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समुहका वस्तीका घरदैलोमा गई स्क्रिनिङ्ग कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार संकलन तथा ढुवानी वा संभावित बिरामी प्रेषण लगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले सरकारी लक्ष्य प्राप्तीका लागि अहिलेको अभियानलाई तिव्रता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले क्षयरोग मुक्त अभियानलाई सुक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदैं अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
    कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखालगायतका प्रतिनिधिहरुले कुनै पनि बिरामीको पहिलो गन्तव्य नीजि फार्मेसी तथा मेडिकलपनि भएकाले क्षयरोगको स्क्रिनिङ्गमा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

     

  • रक्तसञ्चार सेवा भक्तपुरले एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण

    भक्तपुर, जेठ ३०
    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार सेवाले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ । विश्व रक्तदाता दिवस जुन १४ को पुर्वसन्ध्या मंगलवार आयोजित पत्रकार सम्मेलनमा शाखाका सभापति मनोजकुमार थापाले चालु आथिर्क वर्षको हालसम्म २९ हजार ३१८ पिन्ट रगत संकलन गरी विभिन्न समूहका ५१ हजार ५६ पिन्ट रगत वितरण गरेको जानकारी दिनुभएको हो ।
    रगत नपाए भक्तपुर जानु भन्ने उक्तिसहित रक्तसञ्चार सेवा शुरु गरेको रेडक्रस भक्तपुरले माग अनुसारको रगत आपुर्तीको लागि काठमाण्डौं उपत्यका बाहेक दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाको रेडक्रस शाखासँगको सहकार्यमा समेत रगत संकलन गरेको थापाले बताउनुभयो । उहाँका अनुसार ती पाँच जिल्लाबाट २ हजार १८९ पिन्ट रगत संकलन भएको छ ।
    भक्तपुरका चार वटै नगरपालिकासँग सम्झौता गरी भक्तपुर बासीलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउँदैं आएको रेडक्रसले पछिल्लो समय काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकाका बासिन्दालाई समेत निःशुल्क रगत उपलब्ध गराउँदैं आएको थापाले बताउनुभयो ।
    उहाँले जनस्वास्थ्य कार्यालय भक्तपुर, विर अस्पताल र भक्तपुर अस्पतालका विपन्न परिवार, थालासेमिया, हेमोफिलिया तथा सिंगल सेल एनिमिया र प्रसुतीका बिरामीलाई पनि निःशुल्क रगत उपलब्ध गराउँदैं आएको बताउनुभयो ।
    सरकारले तोकिएको मूल्य भन्दा पनि कम मूल्यमा रगत उपलब्ध गराउँदैं आएको जानकारी दिँदैं थापाले हाल मागको ५१ प्रतिशत मात्र रगत उपलब्ध गराउन सकिएको बताउनुभयो । उहाँले एक वर्षमा ५७५ वटा संघसंस्थासँग रगतदान कार्यक्रमको सहकार्य गरेको उल्लेख गर्दै विविध कारणले ८ हजार ३२७ पिन्ट रगत नष्ट गर्नुपरेको बताउनुभयो ।
    कतिपय अस्पतालले बिरामीका लागि आवश्यक भन्दा बढी पिन्ट रगत ल्याउन लगाउने र ती रगत फिर्ता नगर्ने परिपाटीले पनि आवश्यक बिरामीलाई रगत उपलब्ध गराउन नसकिएको अवस्था रहेको थापाले स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा रक्तसञ्चार सेवा समितिका संयोजक एवम् नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा सदस्य सोम प्रधानले २०४५ कार्तिक १२ गते रक्तसञ्चार सेवा शुरु गरेको जानकारी दिँदैं २०६० सालदेखी रक्तल्याव सञ्चालन गरी कम्पोनेन्टसहितको रक्त सेवा शुरु गरिएको बताउनुभयो ।
    उहाँले पछिल्लो समय केही नीजि अस्पतालले बिरामीलाई तोकिएको भन्दा धेरै मुल्य लिएर रगत उपलब्ध गराई रगतको व्यापार गरेको भनेर आलोचना गर्नेलाई स्थान दिएको टिप्पणी गर्नुभयो ।
    रेडक्रस शाखाको सञ्चार तथा मानवीय मुल्य प्रवद्र्धन समितिका संयोजक यज्ञविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री पर्शुराम पाण्डेले शाखाले भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी, काठमाण्डौंको जमलमा दैनिक र काठमाण्डौंकै भूगोलपार्कमा हप्ताको ४ दिन नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै रक्तदानका विविध पक्षमा जानकारी दिँदैं एकले अर्कोलाई रक्तदान गर्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

     

     

  • मध्यपुर थिमिको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न कांग्रेसको अपिल

    भक्तपुर, फागुन १५
    नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नगरको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गरेको छ । कांग्रेसले नगरको विकास निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, नागरिक अगुवाहरुलाई आव्हान गर्दै विकास निर्माणका कार्य सबै राजनीतिक दल, संघ संस्था र आम जनताको चाहना भएकोले कुनैपनि किसिमको पूर्वाग्रही सोचबाट निर्देशित भई अवरोध गर्नु गराउनु शोभनिय विषय नभएको जनाएको छ ।
    कांग्रेसले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत फागुन १४ गते बिहान नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठको उपस्थितीमा दुईपोखरी क्षेत्रमा ढुंगा छाप्ने कार्यको शुभारम्भ गर्ने क्रममा केही अराजक समूहले हुलहुज्जत गरी जनप्रतिनिधिहरु उपर नै हातपात गर्ने प्रवृत्तिको कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले उक्त घटनाको गम्भिर तरिकाले सत्य तथ्य छानविन गरी दोषी उपर कानुन बमोजिम कारवाही गर्न सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण समेत गरेको छ ।
    पार्टी सचिव राम थापामगर र रवि घजुले जारी विज्ञप्तीमा विकास निर्माण कार्यमा कांग्रेसले हरेक पार्टीसँग सहमति र सहकार्य गर्दै आइरहेको अवगत गराउँदैं विकास निर्माण जस्तो जनताको प्रत्यक्ष सरोकार रहेको विषयमा विना रोकतोक कार्यान्वयन गराई मध्यपुर थिमिको ऐतिहासिक महत्वको प्रख्यात बिस्का जात्रा सम्ममा उक्त बाटोमा ढुंगा विच्छ्याउने कार्य सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, स्थानीय संघ संस्था, नगरवासी, नागरिक अगुवा र बुद्धिजिवी वर्गको सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।