Category: समाचार

  • युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

    युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

    भक्तपुर, जेठ २८
    युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
    मिनी विश्वकपको रुपमा समेत लिईने युरो कप गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो, तर कोरोना महामारीका कारण एक वर्ष पछि सरेको हो ।
    युरोकपमा २४ टोलीले प्रतिष्पर्धा गर्दैछ । युरो कप अहिलेसम्म १० राष्ट्रले जितिसकेको छ । ती १० मध्ये यो पटक ९ पुर्वविजेता सहभागी हुँदैछ । युरो कपका पुर्वविजेताहरु मध्ये ग्रिस यसपटक छनोट हुन असफल भएको छ ।
    युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता विभिन्न देशका ११ शहरमा हुँदैछ । युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । फाइनल खेल जुलाई ११ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।
    सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् । उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड हुन ।
    पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् । यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइनल पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।
    कुन समूहमा कुन टिम ?

    समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

    समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

    समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

    समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

    समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

    समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

  • विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै

    विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै

    भक्तपुर, जेठ २८
    फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः४५ बजे शुरु हुनेछ ।
    फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपालको लागि असम्भव जस्तै छ । त्यसैले नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध उत्कृष्ट फुटबल खेल्ने लक्ष्य राखेका छन । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताईरीले भने, ‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ ।’


    अलमुताईरीले साफ च्याम्पियनसिपका लागि युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने योजना रहेको बताए । ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ,’ उनले भने ।
    अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीहरुलाई मौका दिने योजना बनाएका छन । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ उनले भने । कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् ।


    अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन । गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।
    पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । यता ६ अंकसहित चौथो स्थानमा रहेको नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।


    अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताए । ‘उनीहरु फरक शैलीमा खेलिरहेका छन् र पछाडीबाट खेल्ने कोशिस गरिरहेका छन् । प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो,’ आर्नोल्डले भने ।
    नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो । अष्ट्रेलियाको घरेलु मैदान क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल ५–० ले पराजित भएको थियो । उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । ह्यारी साउट्टरले एक गोल गर्दा नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

  • रगत व्यवस्थापनका लागि टास्कफोर्स गठन

    रगत व्यवस्थापनका लागि टास्कफोर्स गठन

    भक्तपुर, जेठ २७

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले अधिकार सम्पन्न भक्तपुर रक्तसञ्चार टास्कफोर्स गठन गरेको छ । रेडक्रसको बिहिवार भच्र्युल माध्यमबाट सम्पन्न छलफलले कोभिड महामारीको अहिलेको विषम परिस्थीमा रगतको अभाव हुन नदिन शाखाका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा टास्कफोर्स गठन गरेको हो ।

    रगतको अभावले कुनैपनि बिरामीको मृत्यु नहोस भन्ने उद्देश्यले टास्कफोर्स गठन गरिएको जिल्ला सभापति मनोजकुमार थापाले बताउनुभयो । ‘अन्य बिरामिका साथै कोरोना संक्रमितको उपचारमा समेत रगत आवश्यकता पर्न सक्छ । तर यस्तो विषम परिस्थितीमा रक्तदान कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउनुका साथै रक्तदाताहरुलाई रगत दान दिने वातावरण निर्माणका लागि पनि टास्कफोर्स गठन गरेको हो,’ उहाँले भन्नुभयो । उहाँले रगत अभावमा कसैको ज्यान नजाओस भन्ने मुख्य उद्देश्यले टास्कफोर्स गठन गरिएको बताउनुभयो ।

    टास्कफोर्सका सदस्यहरुमा रेडक्रसका विभिन्न उपशाखाका सभापतिहरु सोम प्रसाद प्रधान, राकेश थापा, कल्पदिप खड्का, दिवाकार सिलवाल, निर्मला थापा, विदुर नेपाल, संघ संस्थाहरुको तर्फबाट पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्ले छन भने सदस्य सचिवमा रेडक्रस सोसाईटी भक्तपुरका कार्यालय प्रमुख उमा थापा छन ।

  • गण्डकीमा धल्यो नेकपा एमालेको सरकार

    गण्डकीमा धल्यो नेकपा एमालेको सरकार

    भक्तपुर, जेठ २७
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । प्रदेश सभामा आज विश्वासको मत लिन असफल भएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको हो ।
    प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतले गत बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका गुरुङले प्रस्तुत गर्नुभएको विश्वासको प्रस्तावको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित भएपनि ५७ जनाले मात्र मतदान गरेका थिए ।
    गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले मतदान गरेका थिए । जनमोर्चाकै अर्का सांसद कृष्ण थापा तटस्थ बसे भन प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे उपस्थित हुनुभएन ।


    गण्डकीमा अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो । अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेश सभाका कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव आह्वान गर्नुहुनेछ ।
    उपधारा ५ मा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ । प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताउनुभयो ।
    गण्डकी प्रदेशमा अब विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री बनाउने तयारी गरेको छ । पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने सहमति रहेको छ । जनमोर्चाका कृष्ण थापाले पोखरेललाई समर्थन गर्न नसकिने बताउनुभएको छ । यस्तो अवस्थामा पोखरेललाई एक मतको आवश्यकता रहेको छ । थापाले साथ नदिने अडान लिएकाले विपक्षी गठबन्धनले राजिव गुरुङ (दिपक मनाङे)लाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेको छ । गुरुङले पनि प्रदेश सभा भंग हुन नदिन विपक्षीलाई साथ दिने बताउनुभएको छ ।

  • नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    भक्तपुर, जेठ २७
    सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

    बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र अधिवक्ता विष्णु निष्चललगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले भनेको छ– सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन आएन तसर्थ नेपाल सरकार मन्त्रिपरिषदको सिफारिस बमोजिम जेठ ९ मा सम्माननीय राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरिएको छ ।
    इजलासले नागरिकतासम्बन्धी अध्यादेश प्रतिनिधिसभा विघटनको भोलीपल्ट जारी हुनुलाई संवैधानिक इजलासले असहज भनेको छ । त्यतिमात्र होइन शक्तिपृथकिकरणको सिद्धान्त अनुकुल नभएको पनि बताएको छ ।
    ‘अघिल्लोदिन संसदको प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलीपल्ट अध्यादेश जारी गरिएको देखिँदा यसप्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रूपमा लिइयो भने संविधान प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकुल व्यवस्थित संविधानका प्रावधानहरूको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जानेसमेत देखिन्छ,’ संवैधानिक इजलासले भनेको छ ।

  • सडक निर्माण कम्पनीको लापरवाहीले ३० घरमा भेल पस्यो (भिडियो सहित)

    सडक निर्माण कम्पनीको लापरवाहीले ३० घरमा भेल पस्यो (भिडियो सहित)

    भक्तपुर, जेठ २७
    भक्तपुर–नगरकोट सडक बिस्तारको जिम्मा पाएको शैलुङ कन्ट्रक्सन प्रा. लि.को लापरवाहीले चाँगुनारायण नगरपालिका–६, बास्तोला गाउँका दुई दर्जनभन्दा बढी घरमा भेल पसेर क्षति गरेको छ । बिहिवार दिउँसो मुसुलधारे वर्षा पछि आएको भेल सडक निर्माणकर्ता ठेकेदारको लापरवाहीले स्थानीयको घरमा पसेर क्षति गरेको हो ।


    वर्षापछि नगरकोट फेदीदेखी आएको भेल बास्तोला गाउँका करिव ३० घरमा पसेको सञ्चारकर्मी समेत रहनुभएका स्थानीय जयराम बस्तोलाले बताउनुभयो । सडकको भेल घरमा पसेर  उद्धब  बास्तोला, राजकुमार बास्तोला, जयराम लामिछाने (जय बा), गोबिन्द बास्तोला, राधेश्याम लामिछाने, जनक लामिछाने, विज्ञान लामिछाने, प्रल्हाद अधिकारी, दिनेश लामिछाने, ईश्वरी लामिछाने, बत्टु लामिछाने पिडित बनेका छन । बास्तोलाका अनुसार नगरकोट फेदी गरिमा पुस्तकालय, भिरक्याफे, हाउ रोमान्टिक चोक, खरिपाटी क्षेत्रका घरमा भेल पसेको हो ।


    सडक निर्माणकर्ता ठेकेदारले सडकका पुराना कलभर्टहरु पुरेकोले पानीको निकास बन्द हुँदा स्थानीयको घरमा भेल पसेको बास्तोलाले जानकारी दिनुभयो । सडक कालोपत्रे गर्दा नाली (ड्रेन) नबनाएकोले पनि समस्या आएको उहाँले बताउनुभयो । ठेकेदारलाई पटक पटक नाली बनाउन र कल्भर्ट खोल्न आग्रह गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।

    तस्विर र भिडियो : जयराम बस्तोला

  • प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद बिस्तार

    प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद बिस्तार

    भक्तपुर, जेठ २७
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरी पूर्णता दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज आफ्नो दल नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको एक मन्त्री थप गरी मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन ।
    प्रधानमन्त्री ओलीले आज गृहमा कास्कीका खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापालाई मन्त्री नियुक्त गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री, गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह कृषिमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
    यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योग, आपुर्ती तथा वाणिज्य मन्त्री बनेका छन् भने एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

  • मन्त्रिपरिषद बिस्तार हुँदैं, गृहमा खगराज, सञ्चारमा नैनकला

    मन्त्रिपरिषद बिस्तार हुँदैं, गृहमा खगराज, सञ्चारमा नैनकला

    भक्तपुर, जेठ २७
    प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिपरिषद बिस्तार गर्नेभएको छ । प्रधानमन्त्री ओलीले आफुसँग भएका मन्त्रालयमा ७ मन्त्री र एक राज्यमन्त्री नियक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो ।
    प्रधानमन्त्री ओलीले पुर्वमाओवादी खेमाका दुई जना, माधव नेपाल समूह छाडेर आएका र जसपाका नेता राजकिशोर यादवसमेतलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो ।
    स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्रीहरुमा नारदमुनी राना वन, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृह, नैनकला थापा संचार तथा प्रविधि, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन रहेका छन भने आशा विकलाई वनराज्यमन्त्री बनाईने भएको छ ।
    नैनकला माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का श्रीमति हुन । ज्वालाकुमारी पनि पुर्वमाओवादी खेमाका हुन । त्यस्तै पहाडी माधव कुमार नेपाल समूह छाडेर आएका हुन ।
    अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा जसपा नेता राजकिशोर यादवको नाम परेको थिएन । अहिले भने राजकिशोर यादवको नाम राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुगेको बताईएको छ ।

  • चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग

    चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग

    भक्तपुर, जेठ २७
    चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पतालमा सहयोग गर्ने सहयोगीहातहरु बृद्धि हुनेक्रम जारी रहेको छ । सो अस्पताललाई बुधवार विभिन्न पाँच वटा समूहले स्वास्थ्य सामग्री र नगद सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
    ‘आज सहयोग थाप्ने दिन परेछ । अस्पतालको लागि ५ वटा सहयोग थापियो,’ नगरप्रमुख मिश्रले भन्नुभयो । सो अस्पताललाई जर्मनी सहयोगी संस्था चानचेनले ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरे ।
    सो संस्थाले अस्पतालमा आइसियु सञ्चालन गर्नका लागि आवश्यक पेसेन्ट मोनिटर, स्वास्थ्यकर्मीका लागि पीपीई, पञ्जा सहयोग गरेको संस्थाका भक्तपुर शाखाका संयोजक नरेश धौबञ्जारले बताउनुभयो । संस्थाका रामचन्द्र प्रधानाङ्गको सक्रियतामा अस्पताललाई ३ थान पेसेन्ट मोनिटर, २० थान पीपीई, ४ बाकस पञ्जा सहयोग गरेको जनाएको छ ।
    यसैगरी भक्तपुर उद्योग वाणिज्य संघले पनि अस्पतालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । ९ लिटरका ती कन्सन्ट्रेटर अत्याधुनिक प्रविधिको रहेको नगरप्रमुख मिश्रले बताउनुभयो ।
    त्यस्तै पारिजात वचत तथा ऋण सहकारी संस्थाले अस्पताललाई नगद २५ हजार, भक्तपुर बहुमुखी क्याम्पसले ५१ हजार र जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज ललितपुरले ५ लाख रुपैंयाँ सहयोग गरेको नगरपालिकाका अधिकृत विजय शर्माले बताउनुभयो ।
    त्यसैगरी ईन्फो नेपालले पनि पिपिई सेट, स्यानिटाइजर, मास्क र पञ्जालगायतका सामग्री सहयोग गरेको थियो ।