Category: समाचार

  • आइसिसी लिग टु मा नेपालको लगातार दोस्रो जित

    भक्तपुर, जेठ २२

    आइसिसी विश्वकप लिग टुमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदैं लगातार दोस्रो जित निकालेको हो ।
    स्कटल्याण्डले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालले जितमा आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । खेलमा आरिफ प्लेयर अफ द म्याच घोषित भए ।
    टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई जिततर्फ दो¥याएका थिए ।
    ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।


    नेदरल्याण्ड्सका माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए ।
    त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो । नेदरल्याण्ड्का नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।
    कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।
    नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो । पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।
    नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो ।
    तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडेका थिए ।
    ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए ।
    नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।
    सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।
    नेपालले अर्को खेल घरेलु टोली स्कटल्याण्डसँग जेठ २५ गते खेल्ने छ भने जेठ २७ गते पुनः नेदरल्याण्ड्ससँग खेल्ने छ ।

     

     

  • आरसीबीले जित्यो पहिलो पटक आईपीएल उपाधि

    भक्तपुर, जेठ २१
    इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितेको छ । आईपीएलको मंगलवार राती सम्पन्न फाइनलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
    यसअघि तीन पटक फाइनल प्रवेश गरेको आरसीबी उपाधि भिडन्तमा पराजित हुँदै उपविजेतामा सिमित बन्दै आएको थियो । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको आरसीबी उपाधिबाट वञ्चित भएको थियो । आरसीबीले १८ वर्षे इतिहासमा चौंथो प्रयासमा आईपीएलको उपाधि जितेको हो । आरसीबी सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित हुँदैं उपाधि विहिन बनेको थियो ।
    पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रहेको हो । २०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
    नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आरसीबीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।


    शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । आरसीबीका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिए ।
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
    पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिए ।
    लिग चरणमा पञ्जाब पहिलो र आरसीबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसीबी फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसीबीसँगको भेट पक्का गरेको थियो ।
    आरसीबी च्याम्पियन भए पश्चात आइपीएलले ८औं च्याम्पियन टिम पाएको छ । यसअघि ७ टोलीले आइपीएल जितेको छ ।

  • जडिबुटीमा यातायात व्यवसायी र प्रहरीबीच झडपको स्थिती (भिडियोसहित)

    भक्तपुर, जेठ २०
    काठमाण्डौंको जडिबुटीमा मंगलवार साँझ यातायात व्यवसायीहरुले सडकमा अवरोध गरेका छन । बन्दको बेला मयुर र साझा यातायात, ट्याक्सीले यात्रु ओसारपसार गरेको भन्दै जडिबुटीस्थित पुर्व अरनिको यातायातसँग सम्बन्धित व्यवसायीहरुले सडक अवरोध गरेको हो ।
    व्यवसायीहरुले अरनिको राजमार्ग जडिबुटी–लोहकिल्थली सडक खण्डको जडिबुटी चोक नजिक अरनिको बसपार्क अगाडिको मूल सडकमा जम्मा भई सडक अवरोध गरेको हो । व्यवसायीहरुले बनेपाबाट यात्रु लिएर आएको मयुर यातायातको बस र प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो ।
    मुठभेडको अवस्था आएपछि प्रहरीको थप टोली जडिबुटीमा परिचालन भएको थियो । प्रहरीको थप टोली आएपछि स्थित नियन्त्रणमा आएको थियो ।

     

     

  • मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

    भक्तपुर, जेठ २०
    नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको राजधानी बैंकमा सोमवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो । यसअघि गत १७ गते सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपाल १–० ले पराजित भएको हो ।
    अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा विण्डो अन्तर्गत थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।


    खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । नेपालले दुवै गोल दोस्रो हापमा खाएको हो । पहिलो हाफमा नेपालले आक्रमणमा केही अवसर सिर्जना गरेता पनि दोस्रो हाफमा भने दवाबमा परेको थियो ।
    थाइल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले जम्प गरेर बल रोक्ने प्रयास गरेपनि बलसम्म पुग्न नसक्दा गोल भएको हो ।


    त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । ३ भर्सेस ३ को अवस्थामा दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेकी रोडथोंगले पहिलो टचमै बललाई गोलमा परिणत गरेकी थिइन् ।
    नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ ।

     

  • स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

    भक्तपुर, जेठ २०
    करण केसीको अलराउण्डर प्रदर्शन मद्दतले आइसिसी विश्वकप लिग टु मा नेपालले स्कटल्याण्ड माथि रोमाञ्चक जित हासिल गरेको छ । लिग टु अन्तर्गत स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सोमवार राती सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १ विकेटको सनसनीपूर्ण जित निकालेको हो । लिग टु मा यो नेपालको तेस्रो जित हो ।
    स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जितका लागि अन्तिम बलमा १ रन आवश्यक थियो । मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालको जित भएको हो ।
    अन्तिम बलमा करण सिंगल रन लिन दौडिदा विकेटकिपरले रिजन ढकाललाई रनआउट गरेका थिए तर अम्पायरले वाइड दिएपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।


    करणले नटआउट रहँदै अर्धशतक बनाए । ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।
    कुशलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफ ३३ बलमा २ चौकासहित २० रन बनाए ।
    गुलशन कुमार झाले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन जोडे । टोलीका लागि सामूहिक प्रदर्शन गर्नेमा भीम सार्कीले ४८ बलमा ३ चौकासहित ४० तथा कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रन थपे ।
    स्कटल्याण्डका ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।


    त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो । स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो ।
    टोलीका चाल्र्स टिएरले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । करणले ८० रनमा खेलिरहेका उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए ।
    फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्कासहित ५५ रन बनाए । उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा आउट भए । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।


    म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रन बनाए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोडे । लिस्क रिजनको बलमा भीमबाट क्याच भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । सोमपालले उनलाई बासिर अहमदबाट क्याच गराए ।
    रिजनले १२ रन बनाएका ओपनर जर्ज मुन्सीको विकेट लिए। मुन्सी लामो सटको प्रयासमा सोमपालबाट समातिए । नेपाली टोलीका सोमपाल, करण र रिजनले समान २ तथा सन्दीपले १ विकेट लिए ।
    जितपछि लिग टुको अंक तालिकामा नेपाल पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालको १३ खेलमा ८ अंक छ । ८ टोली रहेको लिग टु मा १७ खेलमा २० अंकका साथ स्कटल्याणड चौथो स्थानमा छ ।
    विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको समाप्तिमा शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नु पर्नेछ । त्रिकोणात्मक सिरिजमा अर्को टोली नेदरल्याण्ड्स छ ।

     

  • एरिकालाई कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक

    भक्तपुर, जेठ १९
    करातेका एरिका गुरुङले कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छिन । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूहमा फ्रान्सका पिए क्लेमेन्सलाई ६–२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।
    एरिकाले पहिलो सहभागितामै पदक दिलाउँदै दुर्लभ इतिहास आफ्नो नाम गरेकी छिन् । विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेकी हुन् ।
    कास्य पदकको खेलमा एरिकाले सुरुवातदेखि नै काउन्टर अट्याकको रणनीति लिँदै खेलेकी थिइन् । सुरुवातमा दुवैले युको जोडेपछि अर्को युको जोड्दै एरिकाले सेन्शु आफ्नो नाम गरिन् । त्यसपछि विपक्षीले लगातार आक्रमण गर्न खोजेपनि उनले लगातार विपक्षीको आक्रमण रोक्दै काउन्टरमा युको जोडी रहिन् । अन्त्यमा एरिकाले ६–२ को जित दर्ता गरिन् ।
    विश्व कराते महासंघले विश्वका ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ । एरिकाले पछिल्लो समय एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि मोरक्कोको रबातमा भएको प्रिमियर लिगमा सहभागिता जनाउने अवसर पाएकी थिइन् । नेपाली खेलाडीको पहिलो सहभागितामै एरिकाले पदक दिलाउँदै अर्को इतिहास रचेकी छिन् ।
    एरिकाले सुरुवाती चरणको रुपमा रहेको पुल ६ को खेलमा टर्कीकी जेना गाबालासँग २–२ र इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराउँदा साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को बराबरी खेलेकी थिइन् ।
    त्यसपछि इजिप्टकी हैदी महघुबलाई ८–२ ले हराएकी उनी स्पेनकी मारिया टोरेस गार्सियासँग भने ५–५ को बराबरीमा पछि परेकी थिइन् । त्यसपछि तेस्रो स्थानको खेलमा उनले क्लेमेन्सलाई हराइन् । एरिकालाई सेमिफाइनलमा हराएकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४–२ ले हराएर स्वर्ण जितिन् ।

     

  • थिमिमा लोकेश्वरको जात्रा सम्पन्न

    भक्तपुर, जेठ १९
    मध्यपुर थिमिमा आइतवार सिथि नखःको साँझ पद्यपाणी लोकेश्वर (करुणामय)को खट जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमि–४ मरुटोलको हिरण्यवर्ण महाविहारमा अवस्थित करुणामयलाई सिथि नखःको दिन चपाचोस्थित जिस्वाः बहाबाट खटमा राखी जात्रा गरेर पुनः हिरण्यवर्ण महाविहारमा विराजमान गराईएको हो ।
    जात्राका क्रममा बाजागाजासहित करुणामयलाई हात्ती महांकाल, दिगुटोल, दुईपोखरी, लाय्कू, दथुटोल, मरुटोल, बालकुमारीको परिक्रमा गराईएको थियो ।
    जात्रा अघि लोकेश्वरलाई वस्त्र र गरगहनाद्वारा सजाई सानो खटमा राखेर स्थानीय गणेशपाटीमा विराजमान गराईएको थियो । त्यहाँ थिमि, बोदे, नगदेश क्षेत्रका स्थानीयवासीले यसै वर्ष आआफ्नो खेतवारीमा उब्जनी भएका तरकारी, खाद्यान्न चढाएका थिए ।
    मध्यपुर थिमिको लोकेश्वर करुणामयलाई ललितपुरकोे रातो मत्स्येन्द्रनाथको रुपमा लिईन्छ । पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार किराँतकालिन थिमि शहरमा ललितपुरका बज्राचार्यहरुको बसोबास भएपछि लोकेश्वरको जात्रा शुरु भएको भनाई पाइन्छ । तर लोकेश्वरको स्थापना र जात्रा कहिले शुरु भएको भन्ने बारे हालसम्म धार्मिक एवम् ऐतिहासिक तथ्य फेला परेको छैन ।
    जात्रा गर्नु केही दिन अघि लोकेश्वरलाई ‘न्हवं’ अर्थात महास्नान गराईन्छ । ‘न्हवं’ गर्दा पाटनको रातो र काठमाण्डौंको सेतो मत्स्येन्द्रनाथलाई जस्तै लोकेश्वरलाई पनि दुध, दही, घिउ, मह र पानीले स्नान गराइन्छ । पुजारी वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि लोकेश्वरलाई चपाचोस्थित जिस्वां बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।

     

  • मुम्बई स्तब्ध, पञ्जाब फाइनलमा, उपाधिका लागि रोयलसँग भिड्ने

    भक्तपुर, जेठ १९
    पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । अहमदावादमा आइतवार राती सम्पन्न दोस्रो क्वालिफायरमा पञ्जाव मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो । पञ्जावले मंगलवार हुने फाइनलमा उपाधिका लागि रोयल च्यालेञ्जर्स बेंगलुरुसँग भिड्ने छ ।
    पानी परेर करिव २ घण्टा शुरु भएको खेलमा २०४ रनको लक्ष्य पछ्याएको पञ्जावले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा ग¥यो । पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले । ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए ।
    नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए । ओपनर प्रियांश आर्याले २० रन जोडे । जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए ।
    मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे ।
    त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए ।


    बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे। तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे। तिलक पनि १४औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए ।
    नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छोएको थियो। कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ बनाए ।
    पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १–१ विकेट लिए ।
    पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ । दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आईपीएले नयाँ विजेता पाउने भएको छ ।

     

  • पिएसजी जित्यो पहिलो पटक च्याम्पियन्स लिग

    भक्तपुर, जेठ १८
    फ्रान्सेली क्लव पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिगको शनिवार राती सम्पन्न फाइनलमा पिएसजीले इटालियन क्लव इन्टर मिलानलाई ५–० ले हराउँदै पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
    फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलमा मजबुत नियन्त्रण बनायो ।
    डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे । उनले मैदान प्रवेश गरेको ३ मिनेटपछि गोल गरेका हुन् । इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।
    लुइस एररिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
    लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको छ ।
    पिएसजीले यसअघि सन् २०२० मा च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।

     

  • खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक

    भक्तपुर, जेठ १८
    खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतवार सार्वजनिक भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरी सार्वजनिक गरेको हो ।
    नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यही दुई स्वर्ण पदक जित्दाको विषयलाई समावेश गर्दै वज्राचार्यले स्वर्णकथा नेपाली फुटबलको लेखेका हुन् ।
    ती दुवै स्वर्ण पदक जित्दाका २ खेलाडी मध्येका एक हुन् शाक्य । अर्का सदस्य उमेश प्रधान अमेरिकामा बस्छन् । शाक्य छैटौं संस्करणमा टोलीको कप्तान नै थिए । उही शाक्यले पुस्तकको विमोचन गरेको हो ।
    फुटबल इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । सागको नवौं संस्करणबाट यु २३ टोलीले यसमा प्रतिस्पर्धा गर्छ । नेपाल १२ औं र १३ औं संस्करणको पनि विजेता हो । युवा टोलीले १२ औं सागमा स्वर्ण पदक जित्दा शाक्य त्यसको प्रशिक्षक थिए ।
    नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो नै पहिलो पुस्तक हो ।
    लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन् । कान्तिपुर दैनिकमा आबद्ध खेल पत्रकार वज्राचार्य दुई दशक भन्दा लामो समयदेखि फुटबल रिपोर्टिङ गर्दै आएका छन् । बुकहिलले प्रकाशन गरेको सो पुस्तकको विक्री पनि सुरु भएको छ ।