Category: समाचार

  • कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    भक्तपुर, जेठ ३०
    सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राप्त सामग्रीमा दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका छन ।
    कटुञ्जेमा जन्मी हाल अमेरिकामा विभिन्न पेशा व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थीहरुले सहयोगमा ती संकलन गरी ती सामग्री सहयोग गरेको स्वास्थ्य चौकी सञ्चालन समितिका उपाध्यक्ष राम थापाले बताउनुभयो ।
    सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभयो । उहाँले जगताीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनको अन्तिम तयारी अवस्थामा रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि टेण्डर भइसकेको जानकारी दिनुभयो । उहाँले कोभिड संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन माग भएको २४ घण्टाभित्र सम्बोधन गर्ने व्यवस्था गरेको बताउनुभयो ।
    वडा अध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले कटुञ्जे जन्मथलो भई हाल अमेरिका बस्ने नेपालीहरुको सहयोगले स्वास्थ्य चौकीको आवश्यकता केही हदसम्म परिपुर्ती भएकोमा सहयोगीहरुलाई धन्यवाद दिनुभयो । उहाँले अहिले कोरोनाको संक्रमण केही घटेको भएता पनि जोखिम घटि नसकेकोले सबैले उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र अनावश्यकरुपमा हिँडडुल गर्न नहुनेमा जोड दिनुभयो ।

  • उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)

    उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)

    खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
    भक्तपुर, जेठ ३०

    काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारी एक साता थप गरिएको छ । कोरोना भाइरसको संक्रमण केही घटेपनि जोखिम नघटेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अनुसार मंगलवारदेखी तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
    त्यस्तै साँझ ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिने निर्णय गरेको पराजुलीले बताउनुभयो । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
    कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । निषेधाज्ञाका बारेमा विस्तृत विवरण सूचनामार्फत जानकारी दिने जनाएको छ ।

     

  • ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग

    ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग

    भक्तपुर, जेठ ३०
    चीन स्वशासित तिब्बतको शान्नान सहरले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको शान्नान शहरले करिव १ करोड ९ लाख रुपैंयाँ बराबरको ती सामग्री तातोपानी नाकामार्फत पठाएको हो ।
    ती सामग्रीहरुमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, ४० लिटरका अक्सिजन सिलिन्डर १०० वटा र आईसीयु बेड ५० वटा रहेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । ती सामग्री चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँको रहेको छ ।


    भक्तपुर नगरपालिका र शान्नान शहरबीच बि.सं. २०७३ साउन ३० गते भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई शहरबीच पटक पटक अनुभव तथा सहयोग आदानप्रदान भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
    सो सामग्री अवलोकन गर्दै नगरप्रमुख प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्टको जडान भइसकेको र परीक्षणको रुपमा उत्पादन पनि शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको छ, अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुनेछ ।’


    उहाँले चीनको छेन्दुबाट सिधै उत्पादक कम्पनीसँग सम्पर्क गरी अक्सिजन प्लान्टको सामग्री ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, छेन्दुको कम्पनीसँग सिधा सम्पर्क गरी कम्पनीको उत्पादन मुल्यमा अक्सिजन प्लान्ट ल्याएका हौं । यसमा बीचमा कुनै व्यक्ति वा कम्पनी जोडिएको छैन । यसले केही सस्तो दरमा हामीले प्लान्ट ल्याउन सफल भयौं ।’
    अक्सिजनको अभावले कोभिडका बिरामीको मृत्यु हुन थालेपछि भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने र त्यसका लागि आर्थिक सहयोग जुटाउन नगरबासीसँग सहयोगको आह्वान गरेको थियो । सो आह्वानपछि भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा. ५ करोड ५९ लाख ५ हजार ८ सय १ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भइसकेको छ ।

  • युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी

    युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी

    भक्तपुर, जेठ ३०
    युरोपका विभिन्न १० शहरमा जारी युरो कप अन्तर्गत शनिवार राती बेग्लाबेग्लै खेलमा बेल्जियम, फिनल्यान्डले विजयी शुरुवात गरेको छ भने वेल्स र स्विट्जरल्याण्डले बराबरी खेले ।
    उपाधि दावेदारको रुपमा हेरिएको र फिफा वरियतामा पहिलो स्थानमा रहेको बेल्जियमले रुसलाई ३–० ले पराजित ग¥यो । बेल्जियमको जितमा फरवार्ड रोमेलु लुकाकुको दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।
    बेल्जियमले रुसको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो हाफमा २–० को अग्रता बनाए । खेलको दशौं मिनेटमा रुसको डिफेन्सले सहज बल क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र रहेका लुकाकुले सहजै गोल गरेर बेल्जियमलाई अग्रता दिलाए ।
    खेलको ३४ औं मिनेटमा थोमस मुनिएरले बेल्जियमको अग्रता दोब्बर पारे । थोर्गन हाजार्डको क्रसलाई गोलरक्षक एन्टोन शुनिनले बचाएपनि रिबाउन्डलाई अनमार्क रहेका मुनिएरले गोलमा परिणत गरे । उनले मैदान छिरेको ७ मिनेटमा नै गोल गरेका थिए ।
    दोस्रो हाफमा लुकाकुले मुनिएरकै पासमा गोल गर्न सफल रहे । ८८ औं मिनेटमा मुनिएरले दिएको क्रसलाई लुकाकुले गोल गर्दै ३–० को जित पक्का गरेका थिए ।
    फिनल्यान्डको ऐतिहासिक जित
    यसै समूहको अर्को खेलमा युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरे । समूह बी को पहिलो खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाए । उनले जेरे उरोनेनको क्रसमा गरेको हेडर गोलरक्षक कास्पर स्माइकलको हातमा लाग्दै गोल भएको थियो । पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको फिनल्याण्डका खेलाडीले गोलको खुसी भने मनाएनन् । यसै खेलको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि उपचारका लागि अस्पताल लगिएका कारण एरिक्सनले गोलको खुसी नमनाएको हो ।


    खेलको ७३ औं मिनेटमा डेनमार्कले खेल बराबरी गर्ने मौका गुमाए । पओलोस अराजुरीले पेनाल्टी क्षेत्रभित्र युसुफ पौल्सेनलाई लडाएपछि डेनमार्कले पेनाल्टी प्राप्त गरेको थियो तर पिएर इमिल होएबिएर चुक्न पुगे । होएबिएरले आफ्नो दायाँतर्फ गरेको प्रहारलाई गोलरक्षक लुकास ह्राडेच्कीले सहजै बचाएका थिए ।
    मैदानमै ढले क्रिस्टियन एरिक्सन


    डेनमार्क र फिनल्याण्डको खेलको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भए । उनी लडेपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।
    मैदानबाट बाहिर लग्ने क्रममा नै एरिक्सनको होस आएको थियो । उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । अस्पतालबाट उनले आफ्नो सहकर्मीलाई भिडियो कलमार्फत कुरा गर्दै खेल सुचारु गर्न भनेका थिए । दुवै टोलीसँग यूईएफएले छलफल गरेपछि खेल झन्डै डेढ घण्टापछि पुनःसुचारु भएको थियो ।
    रेफ्रिले खेल जहाँ रोकिएको थियो, त्यहीबाट पुनः शुरु गरे । पहिलो हापको ४ मिनेट खेलाएर रेफ्रिले मध्यान्तरको सिटी बजाए । रेफ्रिले ५ मिनेट पछि दोस्रो हाफ शुरु गरे ।
    वेल्स र स्वीट्जरल्यान्डको रोमाञ्चक बराबरी
    युरो कप अन्तर्गत नै शनिवार साँझ भएको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँड । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
    अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवात देखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षापङ्ति तोड्न धौ धौ भएको थियो । खेलमा पकड जमाएपनि स्वीट्जरल्यान्डलाई अग्रता लिन दोस्रो हापसम्म कुर्नु प¥यो । स्वीट्जरल्यान्डलाई खेलको ४९ औं मिनेटमा ब्रिल इम्वोलोले अग्रता दिालए । इम्वोलोले जेद्रान शाकिरीको पासलाई सदुपयोग गरेका थिए ।


    एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै ७४औं बराबरी गर्न सफल भयो । जोइ मोररेलको पासमा अनमार्क रहेका किफर मुरले फ्लिक हेडर गर्दै बललाई जाली चुमाएपछि खेल १–१ को बराबरीमा सकिएको थियो । ८५औं मिनेटमा मारियो गाभरानोभिकले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिदा स्वीट्जरल्यान्डले अग्रता लिनबाट चुक्यो । मैदान प्रवेश गरेको केहिबेरमा नै गोल गरेको खुसी मनाएपनि उनी अफसाइड ठहरिएका थिए ।
    यो बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् । शुक्रबार राती टर्कीलाई ३–० ले पराजित गरेको इटालीको ३ अंक छ । यो समूहमा टर्की अंक विहीन छ ।

  • सरकारलाई दीर्घकालीन प्रकृतिका काम नगर्न पाँच पूर्वप्रधानमन्त्रीको चेतावनी

    सरकारलाई दीर्घकालीन प्रकृतिका काम नगर्न पाँच पूर्वप्रधानमन्त्रीको चेतावनी

    भक्तपुर, जेठ २९
    पाँच जना पुर्वप्रधानमन्त्रीले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिएको छ । पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिवार संयुक्त विज्ञप्ती जारी गर्दै सरकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गरेको छ ।
    विज्ञप्तीमा नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग अपिल समेत गरेको छ ।
    ढुंगा गिटी निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारी नीति ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग’ समेत गरेको छ ।
    ‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुँगा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भूबनौटमा असर पर्नगई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ । विशेषतः चुरे र महाभारत श्रुंखलामा हुने त्यस्तो उत्खनन्बाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाईरहेको छ । आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’
    पहिलो संसद विघटनको कदम सर्वोच्चले असंवैधानिक ठहर गरिसकेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको पुर्वप्रधानमन्त्रीहरुले आरोप लगाएका छन ।
    ‘प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी उहाँ काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने,संविधान सभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशिल विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रीपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन् । हामी यस्ता कार्यहरुको भत्सर्ना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    कोरोना संक्रमणका विरुद्ध दिइने खोप प्राप्त गर्न राज्य प्रणालीको स्थापित पद्धति र मान्यता अनुरुप व्यवस्थित काम नगरी प्रचारमुखी मार्ग अवलम्बन गरिएको आरोप लगाउँदैं पाँच पुर्वप्रधानमन्त्रीहरुले ‘पहिलो खोप लगाएका मानिसहरुले समयमै दोस्रो खोप नपाएर पहिलो खोप निरर्थक हुनसक्ने स्थिति उत्पन्न भएको छ । यस्तो अवस्थाप्रति गम्भीर हुँदै खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवम् समुदायलाई परिरहेको मर्का र कठिनाईप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजना सहित अग्रसर हुन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरेका छन ।

  • कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

    कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

    भक्तपुर, जेठ २९
    नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेबाट हुने भएको छ । कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यसअघि घोषित मितिमा संशोधन गर्दै महाधिवेशन भदौ १६ गते निर्णय गरेको हो ।
    बैठकले वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने प्रस्ताव गरिएको छ । पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन शुरु गर्न सक्ने अवस्था नभएको भन्दै संशोधित नयाँ कार्यतालिका प्रस्ताव गरिएको हो ।
    महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गरी टुंगाउने प्रस्ताव आएको छ । बैठकको प्रस्तावलाई थप छलफल गरी आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने जनाएको छ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री प्रकाश शरण महतले बताउनुभयो । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेल नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेल नियुक्त

    भक्तपुर, जेठ २९
    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
    नवनियुक्त मुख्यमन्त्री पोखरेलले शुक्रवार प्रदेश सभाका ३१ सांसदको हस्ताक्षर मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । अब उहाँले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

  • गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट – मुख्यमन्त्रीमा गुरुङको पनि दावी, प्रदेश सभा भंग हुने आशंका

    गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट – मुख्यमन्त्रीमा गुरुङको पनि दावी, प्रदेश सभा भंग हुने आशंका

    भक्तपुर, जेठ २९
    गण्डकी प्रदेशको मख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दावी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको पत्रसहित मुख्यमन्त्रीमा नियुक्त गरियोस भनी प्रदेश प्रमुख समक्ष शनिवार दावी प्रस्तुत गर्नुभएको हो ।
    गण्डकी प्रदेशको ठूलो दलको हैसियतले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले बिहिवार प्रदेश सभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो । प्रदेश प्रमुख सिता पौडेलले शनिवार दिउँसो ३ बजेसम्म संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने आधारसहित मुख्यमन्त्री दावी गर्न शुक्रवार आह्वान गर्नुभएको थियो ।
    सोही अनुसार शुक्रवार नै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङसहित प्रदेश सभाका बहुमत ३१ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । तर प्रदेश प्रमुख पौडेलले आवश्यक अध्ययन गरेर समयावधीभित्रै निर्णय लिने जानकारी विपक्षी गठबन्धनलाई दिएको थियो ।
    मुख्यमन्त्री र प्रदेश प्रमुखले केन्द्रमा जस्तै प्रदेश सभाका सदस्यहरुको हस्ताक्षरको विषयमा प्रश्न उठाएर अर्कै राजनीतिक चाल चाल्ने आशंकाले विपक्षीहरुले हिजो नै ३१ प्रदेश सभा सदस्यहरुलाई सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराएर हस्ताक्षर सनाखत समेत गराएका थिए ।
    मुख्यमन्त्रीमा गुरुङले समेत दावी गरेपछि गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट देखिएको छ । गुरुङको दावीले गण्डकीमा पनि केन्द्रमा जस्तै दावी नपुगेको भन्दै प्रदेश प्रमुखले प्रदेश सभा भंग गरेर मध्यावधी निर्वाचनको घोषणा गर्न सक्ने आशंका व्यक्त गर्न थालेको छ ।

  • बागमति प्रदेश सांसद वैद्यले आत्मालोचनासहित माफी मागे

    बागमति प्रदेश सांसद वैद्यले आत्मालोचनासहित माफी मागे

    भक्तपुर, जेठ २९
    बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रवार बसेको संसद बैठकमा बोल्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिनुका साथै माफी समेत माग्नुभएको छ । प्रदेश सभामुख सानुकमार श्रेष्ठसँग विशेष समय लिएर वैद्यले आफुले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिनुका साथै माफी माग्नुभएको हो ।
    वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै बोल्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन । संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहँदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु । त्यसलाई म फिर्ता लिन चाहान्छु ।’
    शुक्रबारको बैठकमा वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफु गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । उहाँको सो अभिव्यक्तिको चौतर्फी विरोध हुनुका साथै उहाँको पार्टी नेपाली कांग्रेस, नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलले समेत वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र माफी माग्न निर्देशन दिएको थियो ।
    वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएकोले आफ्नो अभिव्यक्ति फिर्ता लिएको घोषणा गर्नुभयो । ‘म महात्मा गान्धीलाई धेरै नै मान्ने मान्छे हो। बोलेर पनि कसैलाई हिंसा गर्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिले गर्दा आवेगमा आएर मैले त्यस्तो बोल्न पुगेछु ।’
    सांसद वैद्यले लिखित रुपमा अभिव्यक्ति फिर्तासम्बन्धी पत्र पढेर माफी माग्नुभएको थियो । उहाँले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

  • वैद्यलाई आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

    वैद्यलाई आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

    भक्तपुर, जेठ २९
    नेपाली कांग्रेसले आफ्ना बागमति प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई शब्द फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका नेता ईन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न र शब्द फिर्ता लिन निर्देशन दिनुभएको हो ।
    वैद्यले शुक्रवार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदैं प्रधानमन्त्री के पी शर्मा ओलीप्रति आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँले प्रदेशसभाको रोष्ट्रमबाट प्रधानमन्त्री ओलीले देश खान लागेको भन्दै नाथुराम गोड्सेको खाँचो भएको र कोही बन्न तयार नभए आफु बन्ने की भनी प्रश्न गर्नुभएको थियो । ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ उहाँले भन्नुभएको थियो । गोड्से त्यही व्यक्ति हुन जसले माहात्मा गान्धिको हत्या गरेका थिए ।

    सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने परम्परा कांग्रेसको नभएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन । शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उहाँले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्ति अराकता एउटै नभएको पनि प्रष्ट पार्नुभएको छ ।
    त्यस्तै बाँनियाले पनि वैद्यलाई पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गर्नुभएको छ । उहाँले पनि सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘कांग्रेस सांसद नरोत्तम बैद्यले वाग्मती प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।’