Category: समाचार

  • युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

    युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

    भक्तपुर, असार १
    चेक रिपब्लिकले युरोकप फुटबलमा सोमवार स्कटल्याण्डलाई २–० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक शिकले दुई गोल गरे ।
    प्याट्रिकले खेलको ४२ औं मिनेटमा हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २–० को जित दिलाए ।


    प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको शुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए । खेलमा स्कटल्याण्डले पनि गोलको केही अवसर बनाएको थियो, तर मौकालाई सदुपयोग गर्न सकेन ।
    चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यस यता यी दुई टोली चारपटक आमनेसामने हुँदा एक खेल बराबरी भएको थियो भने तीन खेलमा चेक पराजित भएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि स्कटल्याण्डले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले जित हासिल गरेको थियो ।
    स्लोभाकिया २–१ ले विजयी
    त्यसैगरी स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाए । स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

    तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए ।
    स्पेन र स्विडेन बराबरी
    समूह ई को स्पेन स्विडेनको खेल गोलरहित बराबरीमा सकिएको छ । गएराती सेभियामा सम्पन्न खेलमा दुवै टोलीले केही अवसर बनाएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
    घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाउनु प¥यो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

  • विपक्षी गठबन्धनमा शिर्ष नेताहरुको नेपाल निवासमा भेटवार्ता

    विपक्षी गठबन्धनमा शिर्ष नेताहरुको नेपाल निवासमा भेटवार्ता

    भक्तपुर, असार १
    माधव कुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनका शिर्ष तीन नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार साँझ भेटवार्ता भएको छ ।
    भेटवार्ताका लागि देउवाले कांग्रेस महामन्त्री पुर्णबहादुर खड्कालाई साथमा लिएर जानुभएको थियो भने देउवा पुगेको केही समयपछि दाहाल नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।
    भेटवार्तामा नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल र समीक्षा भएको बताईएको छ । छलफलमा नेताहरुले गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न केन्द्रीत गर्ने प्रतिवद्धता जनाएको बताएका छन ।
    अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे पनि नेताहरुबीच छलफल भएको छ । अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न र राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउने समझदारी नेताहरूबीच भएको स्रोतले बताएको छ । नेताहरुबीच तत्काल सबैलाई पुग्ने गरी कोरोना खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गर्ने सहमति पनि भएको छ ।

  • गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

    गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

    भक्तपुर, जेठ ३१
    गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सांसद थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेपछि उहाँ पदमुक्त हुनुभएको थियो । इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश समेत दिएको छ ।
    थापाले गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको प्रस्तावमा पार्टी निर्णय विपरित हस्ताक्षर नगर्ने अडान लिएको थियो । साथै उनले हस्ताक्षर नगर्दा यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिमको संयुक्त सरकार गठन गर्ने विपक्षीको प्रयास समेत असफल भएको थियो ।
    सोही कारण राष्ट्रिय जनमोर्चाले कारवाही गरी थापालाई पदमुक्त गरेको थियो । थापा सो निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए । अदालतले यसअघि थापालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

     

  • भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

    भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

    भक्तपुर, जेठ ३१
    खाल्सा एड इन्टरनेशनलले कन्ट्रिव्युसन फर नेपालको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा र कन्ट्रिव्युसनका प्रतिनिधिहरुले आज अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
    बेलायतमा रहेको खाल्सा एड ईन्टरनेशनलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको र सोही अनुसार भक्तपुर अस्पताललाई पाँच थान कन्सन्ट्रेटर प्रदान गरिएको ‘कन्ट्रिव्युसन फर नेपाल’ का अध्यक्ष अशोक धमलाले जानकारी दिनुभयो । धमलाले आवश्यक परेमा देशैभरिका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य–सामाग्रीहरु उपलब्ध गराउन सकिने बताउनुभयो ।
    खाल्साले विशेषगरी विपतमा राहतका काम गर्दै आएको जानकारी दिँदैं अध्यक्ष धमलाले खाल्साले नेपाललाई भुकम्पलगायत प्राकृतिक विपत्तिका बेला धेरैपटक सहयोग गरेको बताउनुभयो ।

     

  • उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

    उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

    भक्तपुर, जेठ ३१
    सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक सूचना प्रकाशन गरी उपत्यकाका केही स्थानमा १२ दिनमा एक पटक पानी आउने जानकारी दिएको हो ।
    तालिका अनुसार थिमिको बोडेबाट ७ दिन बिराएर थिमि र भक्तपुर नगरमा पानी वितरण गरिने छ भने भक्तपुर वितरण केन्द्रबाट ४ दिन बिराएर सल्लाघारी, सूर्यविनायक र भक्तपुर नगरमा वितरण गरिनेछ ।
    महाँकालचौरबाट ७ दिन बिराएर पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी, सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी वितरण गरिने छ ।
    मिनभवनबाट ७ दिन बिराएर बानेश्वर, बुद्धनगर, शंखमुल, थापागाउँ र कुरियागाउँमा वितरण गरिनेछ । त्यस्तै ५ दिन बिराएर बाँसबारीबाट महाराजगंज, बाँसबारी, बालुवाटर र पानीपोखरी तथा पानीपोखरीबाट रानिबारी, लाजिम्पाट, नर्सरीचोक, गैरिधारामा खानेपानी वितरण गरिने छ ।
    बालाजु क्षेत्रमा ९ दिन बिराएर पानी आउनेछ । तालिका अनुसार एराहिटी, बनस्थली, चमती, स्वयम्भू, बाफल, ताहाचल, नयाँबजार, सोह्रखुट्टे र पकनाजोलमा बालाजुबाट पानी वितरण हुनेछ ।
    किर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी दिनेछ ।किर्तिपुरको भाजाङ्गगाल, पाँगा, चिलन्चो, उमामहेश्वर, देवढोका र त्याङ्गला किर्तिपुर वितरण केन्द्रबाट पानी वितरण गरिनेछ ।
    सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर, सानेपा, मंगलबजार, कुपन्डोलमा पानी आउने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी नआउने भएपछि पानी वितरणको कमी आएको खानेपानी लिमिटेडले जनाएको छ । सुरुङ खाली गरेर परीक्षण गर्नुपर्ने भएकोले करिब दुई महिना मेलम्ची पानी नआउने बताइएको छ ।

    हेर्नुहोस तालिका

  • गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

    गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

    भक्तपुर, जेठ ३१
    विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताउनुभएको हो ।
    जोनसनले ती खोप केही कोभ्याक्स कार्यक्रम र केही सिधै दिन सकिने जानकारी दिनुभयो । उक्त परिणाममा बेलायतले मात्र १० करोड मात्रा उपलब्ध गराईने जोनसनले बताउनुभयो । “विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम हो,” जोनसनले भन्नुभयो ।
    उहाँले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै विश्वकै सबैभन्दा लोकप्रिय खोपको संज्ञा दिनुभयो । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई ‘उदारतापूर्ण कार्य’ भएको बताउनुभयो । उहाँले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताउनुभयो ।

  • कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित

    कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित

    भक्तपुर, जेठ ३१
    दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका कपको आइतवार राती सम्पन्न खेलमा नेयमार चम्किँदा आयोजक ब्राजिलले भेनेजुएला विरुद्ध सहज जित निकालेको छ । स्टाडियो नेसनल डी ब्रासिलियामा सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो । ब्राजिलको जितमा मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक÷एक गोल गरे ।
    ब्राजिललाई खेलको २३ औं मिनेटमा मार्कविवन्होसले अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट हुलमुलमा गोल गरेका थिए ।
    खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नेयमारले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै सहजै गोल गरेका थिए । ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् ।


    खेलको ८९ औं मिनेटमा ग्याब्रिएल बार्बोसाले नेयमारको असिस्टमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । नेयमारको क्रसलाई बार्बोसाले सहजै गोल गर्दै ३–० को जितसम्म डो¥याएका थिए ।
    कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केहि कमजोर देखिएको थियो । बल पोसेसनमा कमै पकड जमाएको भेनेजुएलाले केहि अवसर सिर्जना गरेपनि ब्राजिलको डिफेन्ससामु निरिह बनेको थियो । यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा आज कोलोम्बिया र इक्वेडर भिड्दैछन् । ब्राजिलले अब अर्को खेलमा पेरुको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ ।

     

  • युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

    युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

    भक्तपुर, जेठ ३०
    युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि अन्ततः नेदरल्यान्ड्सले ३–२ को जित निकाल्न सफल भएको हो ।
    खेलमा सम्भव पाँचै गोल दोस्रो हापमा भएको थियो । पहिलो हापमा एकपछि अर्को आक्रमण बुनेर युक्रेनलाई दवाबमा राखेपनि गोलरक्षक जर्ज बुस्कान बाधक बनेपछि नेदरल्यान्ड्सले गोल गर्न सकेन ।


    दोस्रो हाफको ५२ औं मिनेटमा भने कप्तान वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक बुस्कानले बचाएपनि रिबाउन्डमा वान टचमा वाइनाल्डमले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यसको सात मिनेटपछि नै घरेलु टोलीले अग्रता दोब्बर पा¥यो । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए । गोल गर्नुअघि डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेअनि रेफ्रीले भीएआरको सहयोग लिँदा गोलले मान्यता पाएको थियो ।
    खेलको ७५ औं मिनेटमा रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । त्यसको ४ मिनेट नबित्दै यारेम्चुकले रुस्लान मालिनोभ्स्कीको क्रसलाई हेडरमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
    तर खेल सकिन ५ मिनेट बाँकी रहँदा डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए । उनले नाथन आकेको पासमा गोल गरे र टोलीलाई महत्वपूर्ण जितका साथ तीन अंक दिलाए ।
    अष्ट्रिया नर्थ म्यासेडोनियाविरुद्ध ३–१ ले विजयी
    समूह सी कै पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । अष्ट्रियालाई खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए ।


    अष्ट्रिया पुनः अग्रता लिन खेलको ७८ औं मिनेट कुर्नुप¥यो । ७८ औं मिनेटमा दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई ग्रेगोरीचले पहिलो टचमै बललाई जाली चुमाएपछि अष्ट्रिया पुनः अग्रता बनाएको हो । ८९ औं मिनेटमा कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे ।


    अष्ट्रियाले युरोपेली च्याम्पियनसिपको इतिहासमा पहिलो जित दर्ता गर्न सफल रहयो । तेस्रो पटक युरो खेलिरहेको अष्ट्रियाले डेब्यु गरिरहेको म्यासेडोनियालाई हराउनुअघि २ जित र ४ हारको नतिजा बेहोरेको थियो । यस जितसँगै अष्ट्रियाले समूह सी मा ३ अंक जोडेको छ ।

     

  • युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग

    युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग

    भक्तपुर, जेठ ३०
    युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । स्ट्रर्लिङले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
    लिड्सका मिडफिल्डर फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो ।
    त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । ६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं रिवाउन्डमा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । ६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन ।
    खेलको अन्त्यतिर क्रोसियाले लगातार इंग्ल्यान्डमाथि दवाब बढाएपनि गोल निकाल्न भने सकेन र हारलाई आत्मसाथ गर्नुप¥यो । जितसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ । इंग्ल्यान्डले जितसँगै ईतिहासको क्रमभंग भएको छ । यसअघि युरोकप ईतिहासमा इंग्ल्यान्डले पहिलो खेल जितेको रेकर्ड थिएन । यो जितसँगै इंग्ल्यान्ड युरोकपको पहिलो खेल जित्न नसकेको दाग मेट्न सफल भएको छ । यसको ठिक उल्टो क्रोसिया युरोकपको ईतिहासमा पहिलो चोटी पहिलो खेलमा पराजित भएको छ । यसअघि उसले युरोकपमा पहिलो खेल गुमाएको ईतिहास थिएन ।
  • डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

    डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

    भक्तपुर, जेठ ३०
    ‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलाइन्स’ले आइतवार संयुक्तरुपमा अपिल जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जीवन रक्षाको लागि अपिल गरेको छ ।
    प्रधानमन्त्री के पी शर्मा ओलीसहितका मन्त्रीहरुले डा. गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबिबिएस कक्षा सञ्चालन गर्ने सम्बन्धन दिन वा राजिनामा गर्न धम्क्याएको आरोप लगाउँदैं नागरिक आन्दोलन र अलाइन्सले डा. गिरीको जीवन रक्षाको लागि अपिल गरेको हो ।
    ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ अपिलमा भनिएको छ ।
    अपिलमा राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले ज्यादती गरेको भन्दै भत्सर्ना समेत गरेको छ । प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।
    ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भत्सर्ना योग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बनेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ,’ अपिलमा उल्लेख छ ।