Category: विविध

  • मध्यपुर थिमिमा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिकामा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाले भक्तपुर क्यान्सर अस्प्तालको समन्वयमा मध्यपुर थिमिमा आज (सोमवार)बाट महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु गरिएको हो ।
    नगरको विभिन्न टोलमा शिविर सञ्चालन गरी सो स्क्रिनिङ शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ३० वर्षदेखी ५९ वर्षसम्मका महिलाहरु सहभागी भई स्वास्थ्य परीक्षण गरी लाभ लिन सकिने छ ।


    स्क्रिनिङको पहिलो शिविर मध्यपुर थिमि नगरपालिका वडा नं. ९ भुलाँखेलमा आयोजना गरिएको प्रजापतिले बताउनुभयो । भुलाँखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा पहिलो शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
    उहाँका अनुसार दोस्रो शिविर चैत्र २ गते शनिवार वडा नंं ७ को नगदेश स्वास्थ्य चौकी, चैत्र ६ गते बुधवार वडा नं. ८ को बोदे स्वास्थ्य चौकी र चैत्र ९ गते शनिवार वडा नं. ३ कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुलमा सञ्चालन हुनेछ ।

  • हनुमन्तेमा फेला परेको शवको पहिचान खुल्यो

    भक्तपुर, फागुन २६
    भक्तपुरको भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिवार फेला परेको शवको पहिचान खुलेको छ । शनिवार अपरान्ह पौने ४ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।
    उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुर जगाती बस्ने २१ वर्षिय रञ्जित बि.क.को भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    मृतककी दिदी पुजा वि.क. प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको डिएसपी नेउपानेले जानकारी दिनुभयो । शवको पोष्टमार्तम पश्चात भाउजु शर्मिला गजमेरले सोमवार दिउँसो पौने १२ बजे बुझी लगेको डिएसपी नेउपानेले बताउनुभयो ।
    वि.क.को शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरी अनुसन्धान शुरु गरेको थियो । मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको डिएसपी नेउपानेले बताउनुभयो ।

     

  • नगदेशको लायकू पुनःनिर्माण शुरु

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिका–७, नगदेशस्थित ऐतिहासिक लायकू (दरवार) पुनःनिर्माण शुरु भएको छ । मल्लकालमा तत्कालिन राजदरवारको रुपमा रहेको नगदेश लायकूको सोमवार शिलान्यास भएसँगैं पुनःनिर्माण शुरु भएको हो ।
    मध्यपुर थिमि नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत लायकूको पुनःनिर्माण शुरु भएको हो । लायकू तीन तल्ले र परम्परागत शैलीमा पुनःनिर्माण हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नगरको क्रमागत योजना अन्तर्गत लायकू पुनःनिर्माण हुन लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    लायकू पुनःनिर्माणका लागि यसवर्ष मध्यपुर थिमि नगरपालिकाले लागत साझेदारी अन्तर्गत ६९ लाख ९७ हजार ४१७ रुपैंया सहयोग गर्ने छ भने स्थानीय जनसहभागिताबाट ५७ हजार ८३९ रुपैंया व्यहोर्ने छ ।


    लायकूको शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने र पुनःनिर्माण गर्ने मात्र नभई अबदेखी यहाँका सम्पदाहरुलाई स्थानीयको आयस्रोतको केन्द्रको रुपमा विकास गर्ने नीति लिएको बताउनुभयो ।
    उहाँले ऐतिहासिक एवमु पुरातात्विक महत्वका सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन उद्योगको विकाससँगै स्थानीयको आय आर्जन बृद्धि गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
    उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्तित्वको संकटमा रहेको नगदेश स्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको लायकूको पुनःनिर्माणले नगदेश क्षेत्रकै महत्व बढ्ने बताउनुभयो । उहाँले नगरभित्रका अमुल्य सम्पदाहरुको निर्माण एवम् पुनःस्थापनको कार्य निरन्तर जारी रहने स्पष्ट पार्नुभयो ।
    लायकू पुनःनिर्माणका लागि स्थानीय बासिन्दाको भेलाले भाइजन बादेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । समितिले गत फागुन २५ गते नगरपालिकासँग सम्झौता गरी कार्य शुरु गरेको र आगामी २०८२ असार १० गते सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव दिनेश बादेले बताउनुभयो ।

     

  • भक्तपुरका अधिवक्ता न्यौपानेको केन्द्रिय सदस्यमा उम्मेदवारी

    भक्तपुर, फागुन २६
    भक्तपुरका अधिवक्ता किरण न्यौपानेले नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । कानुन क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएका न्यौपानेले प्रजातान्त्रिक कानून व्यासायीहरुको संस्था डिएलएको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
    न्यौपानेले लोकतान्त्रिक, प्रगतिशील, देशभक्त कानून व्यवसायी समूह को नेतृत्व गर्दै प्रा.डा. विजय प्रसाद मिश्रको अध्यक्षतामा घोषणा गरिएको समूह बाट उम्मेदवारी दिनुभएको हो ।
    पेशालाई पहिलो धर्म मान्दै, कानूनी सेवाको सुदृढीकरण र न्यायिक सुधारका पक्षमा दृढ अडान राख्दै आउनुभएका न्यौपानेले २०५२ सालदेखि कानुन व्यवसायको पेशा अंगाल्नुभएको हो । अनवरत रूपमा क्रियाशील न्यौपाने २०५७ सालमा अधिवक्ताको रूपमा अनुमोदित हुनुभएको थियो ।
    उहाँले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर नेतृत्व सम्हाल्नुका साथै नेपाल बार एसोसिएसन भक्तपुर शाखाको सचिव, जिल्ला कानुन व्यवसायी संघका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । हाल उहाँ मानव अधिकार तथा जनसरोकार समिति, भक्तपुरको संयोजकका रूपमा कार्यरत हुनुहुन्छ ।
    न्यायपालिकामा सुधार, कानुनी सेवालाई जनमुखी बनाउने तथा कानुन व्यवसायीहरूको हकहित संरक्षणका लागि आफुले उम्मेदवारी दिएको न्यौपानेले बताउनुभयो ।

     

     

  • मध्यपुर थिमिको बोडे र आस्था माविमा जोखिम न्यूनीकरण अभिमुखीकरण

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेस्थित बोडे मावि र वडा नं. ३ गठ्ठाघरस्थित आस्था महिला माविका विद्यार्थीहरुलाई जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरेको छ ।
    नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा सो विद्यालय स्तरीय अभिमुखीकरण आयोजना गरिएको हो ।
    कार्यक्रममा रेडक्रसका सहजकर्ता ऋषि खड्का र ईश्वर श्रेष्ठले सहभागी विद्यार्थी एवम् शिक्षकहरुलाई विपद्का घटनामा हुने जोखिम न्यूनीकरण र सडक सुरक्षा सम्बन्धी विभिन्न विषयमा जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरू, भूकम्प, आगलागी जस्ता प्राकृतिक विपदहरूमा सुरक्षित रहने उपायहरू, तथा विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा सहभागिहरूलाई अभिमुखीकरण गरिएको थियो ।


    विद्यार्थीहरूलाई सडक सुरक्षाका उपाय, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी जानकारी गराउने उद्देश्य लिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री धर्मराज कार्कीले बताउनुभयो ।
    बोडे माविमा आयोजित कार्यक्रममा वडा सदस्य सुरेन्द्र था श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति तथा शाखाका कर्मचारी सुदन प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।
    यस्तै आस्थामा माविमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

     

  • बढी मूल्यमा हुलाक टिकट बेच्नेलाई ३ हजार जरिवाना

    भक्तपुर, फागुन २५
    जिल्ला प्रशासन कार्यालय भक्तपुरको बजार अनुगमन टोलीले आइतवार बढी मूल्य लिई हुलाक टिकट बिक्रि गर्ने एक पसललाई ३ हजार जरिवाना गरेको छ । टोलीले राधेराधेस्थित आर्शिवाद सपोर्ट स्टेशनरीलाई ३ हजार जरिवाना गरेको हो ।
    अनुगमनका क्रममा सो स्टेशनरीले हुलाक टिकट ५० प्रतिशत बढी मूल्य लिई बिक्रि वितरण गरेको पाईएको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र राधेराधे वरपरका साइवर र स्टेशनरी पसलले सेवाग्राहीसँग बढी मूल्य लिने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।
    अनुगमनमा प्रशासनले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको राधेरोधको पनि सहभागिता गराएको थियो । अनुगमनका क्रममा टोलीले हुलाक टिकट लगायतका स्टेशनरी सामग्री तोकिएको मूल्य भन्दा बढीमा बिक्रि नगर्न सचेत गराइएको प्रशासनले जनाएको छ ।

  • भक्तपुर अद्योगिक क्षेत्रका केही उद्योगमा ताला लगाउने नगर प्रमुख प्रजापतिको चेतावनी

    भक्तपुर, फागुन २४
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आद्योगिक क्षेत्रका केही उद्योगमा ताला लगाउने चेतावनी दिनुभएको छ । नगरकोे समाज सुधार माध्यामिक विद्यालयको शुक्रवार आयोजित ५४ औं वार्षिकोत्सव समारोहमा नगर प्रमुख प्रजापतिले आद्योगिक क्षेत्रका केही उद्योगले नगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको भन्दै ताला लगाउने चेतावनी दिनुभएको हो ।
    उहाँले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरु सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरु अब उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताउनुभयो ।
    “भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरुले वर्षौंदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरुमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको छ । कर पनि नतिर्ने, जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने त्यस्ता उद्योगहरु उपत्यका बाहिर स्थानान्तरणको विकल्प छैन,” उहाँले भन्नुभयो ।
    स्थानीयले पनि केही उद्योग हटाउन माग गरेको उल्लेख गर्दै उहाँले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरु स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिनुभयो ।
    उहाँले नेपालमा दुईथरिको शिक्षा नीतिको कारण सरकारी र निजी क्षेत्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा थप बृद्धिका लागि प्रतिस्पर्धाको नीति नगरपालिकाले लिएको बताउनुभयो ।
    सामूदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा उत्कृष्टता प्रदान गर्न नसकेसम्म निजी विद्यालयहरूको औचित्य कायम रहीरहने बताउँदै उहाँले प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यार्थीहरुको अस्तित्व क्रमशः लोप भएर जानेबारे विद्यार्थीहरुलाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले विद्यार्थीहरुलाई पढाईसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरुले दिनुपर्ने बताउनुभयो ।
    सो अवसरमा उहाँले शिक्षक सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै विद्यालयले प्रकाशन गरेको स्मारिक पनि विमोचन गर्नुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्युन आय भएका अभिभावकहरुका छोराछोरी अध्ययन गरिरहेको र विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताउनुभयो ।

     

  • न्यूज अफकर्मी एवम् पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष नविना सम्मानीत

    भक्तपुर, फागुन २३
    नारी स्रष्टा समाजले न्यूज अफ साप्ताहिक तथा ईन्यूज अफ डटकमकी सह–सम्पादक एवम् नेपाल पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष नविना खर्बुजा श्रेष्ठसहित विविध क्षेत्रका नारीहरुलाई बिहिवार सम्मान गरेको छ । समाजले ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बिहिवार आयोजित स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहश कार्यक्रममा सो सम्मान गरेको हो ।
    कार्यक्रममा लम्साल बाल स्रष्टा पुरस्कार– २०८१ बाट एभरेस्ट स्कुल भक्तपुरकी सिल्भिया खड्का र अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार–२०८१ बाट देवीप्रसाद घिमिरेलाई सम्मान प्रदान गरिएको थियो ।
    त्यस्तै विभिन्न क्षेत्रमा कार्यरत रहि महत्तवपूर्ण योगदान दिनुहुने नारी स्रष्टातर्फ पत्रकार सबिता शर्मा, नबिना श्रेष्ठ, साहित्यकार मन्दिरा मधुश्री, लता केसी, कालिका त्रिपाठी पन्त र रञ्जु खनाललाई सम्मान गरिएको हो ।
    मैतिदेवी चोकमा ३२ वर्षदेखि मकै बेचेर आफ्ना सन्तानलाई उच्च स्थान पु¥याउन सफल श्रमजीवी नारी मीना घिमिरेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमलाई समाजकी सचिव रञ्जना पराजुली लम्सालले सहजीकरण गर्नुभएको थियो ।


    कार्यक्रमको दोस्रो भाग लघुकथासँग ममता मृदुल शिर्षकको लघुकथा बहस अध्याय–२ मा पाँच दशकदेखी साहित्यमा रहनुभएका लघुकथाकार तथा सृजना अभियान समाजका सचिव ध्रुव मधिकर्मीका झण्डै डेढ दर्जन लघुकथा वाचन गरिएको थियो ।
    नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा मधिकर्मीका लघुकथा ध्रुवराज थापा, ललिता दोषी, महेन्द्र न्यौपाने, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, रमेन्द्र कोइराला, बिन्दु अधिकारी ढकाल, सत्या अधिकारी, दिपक लोहनी, एन्जल निलु, रन्जु खनाल र मन्दिरा मधुश्रीले वाचन गर्नुभएको थियो ।

  • मध्यपुर थिमिमा आजबाट दुई दिन ‘एकोज इन भ्याली’ संगीत महोत्सव हुँदैं

    नविना खर्बुजा श्रेष्ठ÷लक्ष्मी गारु, भक्तपुर, फागुन २३
    ऐतिहासिक नगर मध्यपुर थिमिमा आज (शुक्रबार) र भोली (शनिबार) स्थानिय एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको सांगितिक प्रस्तुती सहितको संगीत महोत्सव ‘एकोज इन द भ्याली’ हुँदैछ ।
    मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा एकोज इन द भ्याली नामक संस्थाले सो संगीत महोत्सव आयोजना गर्न लागेको हो ।
    यस पटकको एकोज इन द भ्याली संगीत महोत्सवमा मध्यपुर थिमिको पुरानो क्षेत्र बालकुमारी, निगुपुखु, दिगुदबु, इनालाछी फल्चा, भुलाख्यो, फोसि फल्चा, चाक्ला फल्चा, अखाछें, लायकू लगायतका ठाउँहरुमा स्थानीय एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुति हुनेछ ।


    एकोजमा थिमिको मौलिक बाजागाजा, श्री राज गणेश धिमे खलः, शिवा सायमी भजन खलः, दाफा भजनको प्रस्तुती हुनेछ । संगितको साथै स्थानीय मौलिक परिकार र विभिन्न प्रकारका व्यापारिक स्टलहरु पनि रहने आयोजक एकोज इन द भ्यालीका कार्यक्रम संयोजक स्मारिका फुँयालले जानकारी दिनुभयो ।
    दुई दिने महोत्सव अन्तर्गत पहिलो दिन फागुन २३ गते शुक्रबार दिउँसो ३ः३० बजे भुलाख्यो दबुमा कबिन्द्रपुर एण्ड फ्रेण्ड्सको प्रस्तुतिबाट एकोज शुरु हुनेछ । त्यसपछि थिमि दफा भजन खलः, कपिलवस्तुको उजला सहनी र रमा शंकर रे, श्रुति व्यान्ड, नेपाल टिबेटन ल्हामु असोसिएसन, ओएमजी स्पार्कको प्रस्तुती हुने पुmँयालले बताउनुभयो । उहाँका अनुसार साँझ राष्ट्रिय कलाकार तथा वरिष्ठ गायिका ज्ञानु राणा र कुटुम्ब व्यान्डको प्रस्तुती हुनेछ । यस्तै दथुदबुमा नेवा भोयः (नेवारी भोज)को कार्यक्रम रहने छ ।


    यसैगरी दोस्रो दिन फागुन २४ गते शनिवार बिहानदेखी दिनभरी सांगितिक प्रस्तुतिहरु हुनेछन् । एकोजमा मध्यपुर थिमिको सिवाः सायमी खलःको नौ बाजा, शाही खड्गी समाज, सिद्धिगणेश दाफा न्हु धिमे खलः, श्री राज गणेश धिमे खलःको प्रस्तुती हुनेछ ।
    यस्तै कविन्द्र एण्ड फ्रेण्ड्स, जिजिविशा, कञ्चनपुरको सङ्गिता शाह देउडा समूह, अर्जेन्टिनाका लाउरा क्यटालिन, ग्यान क्वायर, पोखराका अम्बिका देवि भण्डारी र हाम्रो सपनाको नेपाल नौमती बाजा समूह, बाखा ब्यान्ड, फ्रान्सका भिन्सेन्ट मुन, द फ्लाईङ स्पिरिट्स, केलिआइडोस्कोप यु केबाट एलना मिडिलटन, क्याटलिन लियाङ म्याकइभोय्, चन्द्रेशा पान्डे र सुश्कियना गुरुङलगायतका साथै स्थानीय कलाकारहरुद्वारा सांगितिक प्रस्तुति दिनु हुने फुँयालले जानकारी दिनुभयो ।
    यस पटकको एकोजमा थिमि र बालकुमारी मन्दिर सम्बन्धी पौराणिक बाखं (कथा) पनि सुन्न पाईने उहाँले बताउनुभयो । त्यसका साथै बालबालिकाहरुको लागि चित्रकला, क्यालिग्राफी र लिम्बू समुदायको सिरिजंगा लिपीमा लेख्ने, नक्षत्र अवलोकन, चौतारी नाटक, कविता वाचन, छलफल लगायत अन्य विविध गतिविधि पनि रहेको छ ।


    मध्यपुर थिमि नगरपालिकाको आयोजनामा गत पौष १२, १३ र १४ गते सम्पन्न ‘मध्यपुर महोत्सव–२०८१’ पछिको यो अर्को ठूलो महोत्सव हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । संगीत महोत्सवले थिमिको पर्यटन विकासमा थप टेवा मिल्ने उल्लेख गर्दै थिमिको मुर्त अमुर्त सम्पदा स्थलहरुको अवलोकनका लागि ईच्छुकहरुलाई स्थानीय विज्ञद्वारा हेरिटेज टुरको समेत व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    मध्यपुर थिमिमा पहिलो पटक हुन लागेको एकोज इन द भ्याली संगीत महोत्सवले यहाँको परम्परागत र मौलिक दाफा भजन र सम्पदा स्थानको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार हुनुका साथै आन्तरिक बाह्य पयर्टन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

     

  • लुम्बिनीमा ५ सय बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम शुरु

    लुम्बिनी, फागुन २० गते ।
    भगवान बुद्ध जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आज नेपालका कुलपुत्रहरुको “५०० बृहत श्रामणेर प्रव्रज्या” समारोह सुसम्पन्न भएको छ । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको संयुक्त आयोजनामा नेपालका संघनायक भिक्षु बोधिसेन महास्थविर र थाई भिक्षु संघका प्रमुख फ्रा प्रोमसेनावडीको उपाध्यायात्वमा सो समारोह सुम्पन्न भएको हो ।

    उक्त समारोहमा कुलपुत्र धम्मदायादहरुले भिक्षु संघमा श्रामणेर प्रव्रज्याको याचना पाठ गरेपछि फ्रा प्रोमसेनावडीले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभई औपचारिक रुपमा श्रामणेर भावमा प्रव्रजित गर्नुभयो । यसअघि उनीहरुले चीवर प्राप्तीका लागि गरेको याचनापछि उहाँका साथै नेपालका संघनायक भिक्षु बोधिसेन महास्थविर, वाट थाई लुम्बिनीका भिक्षु फ्रा सुपोत कित्तिवन्नो, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविर लगायतका भिक्षुहरुले उनीहरुलाई चीवर प्रदान गुर्नभएको थियो ।
    उक्त अवसरमा फ्रा प्रोमसेनावडीले आमाको गर्भबाट जन्म लिएकाहरु भगवान बुद्ध जन्मनु भएको स्थलमा प्रव्रजित भावमा अर्को जन्म भएको छ, ब्रह्मचर्या पालन गरी शुद्ध जीवनलाई धारण गरी शुद्ध जीवन बिताउनु नै प्रव्रजित हुनुको मुख्य उद्देश्य भएको ओवाद दिनुभयो ।
    प्रव्रज्या समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएकोले थाईल्याण्डले सहकार्य गर्न सधै तयार रहेको बताउनुभयो । उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताउनुभयो ।
    प्रव्रज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।
    यसैगरी अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागु गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउनुहुँदै त्यसैका लागि प्रव्रज्या कार्यक्रम राखिएको बताउनुभयो । उहाँले बुद्धजन्मभूमि लुम्बिनीमा भएको ५ सय जनाको प्रव्रज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउनसमेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    आगामी चैत ३ गते सम्मका दिनहरुमा अल्पकालीन नव श्रामणेरहरूले पहेलो चीवर पहिरी बुद्ध धर्मका १० वटा शील (नियमहरू) पालना गरी आफूलाई बाह्य मात्र नभई आन्तरिक रुपमा पनि रुपान्तरण गर्नेछन् ।
    फागुन १४ गतेदेखि शुरु भएको प्रव्रज्यामा १५ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश छेदन गरेका थिए भने १६ गते ललितपुरको नागबहालमा भिक्षुसंघ तथा आमाबुबासँग क्षमायाचना गरी त्रिचीवर प्राप्त गरेर मंगलबजार हुँदै पुल्चोकसम्म नगरपरिक्रमा गरेका थिए । मंगलबार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुशी लागेको बताएका छन् । नवश्रामणेरहरुलाई प्रव्रजित अवधिभर बुद्ध शीक्षा, शील, विनिय तथा UG-5 (universal goodness) सिकाइनुका साथै धर्मदेशना र दैनिक ध्यान गराईने आयोजकले जनाएको छ ।
    कार्यक्रमको शुरुवातमा धम्मदायादहरु लगायत नेपाली तथा थाई उपासकउपासिकाहरुले मायादेवी मन्दिर परिसरमा शोभायात्रा गरी तीनपटक परिक्रमा गरेका थिए ।
    समारोहमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविर लगायत अ.ने.भि. महासंघका पदाधिकारीहरु, लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा. सवर्णलाल बज्राचार्य, प्र. सा. नेपालका उपाध्यक्ष राजेश शाक्य, अन्तर्राष्ट्रिय तिपिटक च्यान्टिंग काउन्सिलका वाङ्गमो दिक्सीका साथै थाई र नेपालका उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।
    सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५०० जना र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो ।
    प्रबज्या सामाजिक नेपालको व्यवस्थापनमा शुभारम्भ भएको प्रव्रज्या कार्यक्रम अन्तर्गत विहीबार लुम्बिनीको अन्तर्राष्ट्रिय सभा तथा ध्यान गृहमा भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा नेपालको झण्डा मुनि दीप प्रज्वलन, चैत २ गते रामग्राम, बुटवल तथा भैरहवाको लुम्बिनी गेटमा धम्मयात्रा, चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते आ–आफ्नो गृहनगरमा भिक्षाटन गर्ने कार्यक्रम रहेको छ ।