Category: विविध

  • नेवार समुदायले मनाए चथाः पर्व

    भक्तपुर, भदौ २१
    गणेश चतुर्थीको अवसरमा नेवार समुदायले आज (शुक्रवार) घरघरमा भगवान गणेशको पुजा गर्नुको साथै राती चथाः द्योको पुजा गरेर चथाः पर्व मनाएका छन । यो पर्वलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडका रुपमा पनि मनाउँछन ।
    यस दिन बेलुकी चन्द्रमाको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । विशेष गरि यस दिन चन्द्रमाको पुजा गरे वर्ष भरि अनाहकमा चोर दोष लाग्नबाट बच्न सक्ने जनविश्वास रहेको पाईन्छ ।
    भगवान गणेशको जन्म दिनको रुपमा समेत मनाईने चथाः पर्वमा एक थरी नेवार समूदाय चन्द्रमालाई हेर्न नहुने मान्यता राख्छन भने अर्को समूह खुल्ला आँगन वा कौशीमा बसेर चन्द्रमा उदाएपछि मात्र पुजा गर्छन ।
    चथाः पुजामा विशेषगरी विमिरो, भोगटे, भुटेको मकै, भटमास, गहुँ, चना, केराउ, बकुल्ला जस्ता गेडागुडी र काँक्रो र नासपाती चढाईन्छ ।
    पुजा सकिएपछि सोही चढाएको गेडागुडी र फलफुल प्रसादको रुपमा बाँढेर खाने प्रचलन रहेको छ । भक्तपुरका अदुवा खेती गर्ने किसानहरुले अदुवा खेतीको पुजा गरी नयाँ अदुवा झिक्ने प्रचलन समेत रहेको छ ।
    लोककथन अनुसार परापूर्वकालमा स्वर्गमा देवसभा भईरहेको समयमा चन्द्रमाले गणेशलाई हात्तीको टाउको र मुख भएको भनी ठूलो हेला र अपमान गर्दछ । सो सहन नसकी गणेशले चन्द्रमालाई तिम्रो अनुहार हेर्नेलाई चोर दोष लाग्नेछ भन्ने श्राप दिएछ । सोही श्रापका कारण चन्द्रमालाई हेर्ने र उसँग कुराकानी गर्ने कोही भएन । चन्द्रमाको ठूलो बेईज्जत हुन थाल्यो । अन्तःमा चन्द्रमाले पछुतो मानी गणेशको श्रापमाट मुक्ति पाउने अनेक उपाय सोच्न थाले । त्यसैक्रममा भगवान शिवको शरणमा चन्द्रमा पुग्यो ।
    भगवान शिवले भाद्र शुक्ल चतुर्थीको दिन दुवो, लड्डु र मुलासहित गणेशको विशेष पुजा आराधना गरे श्रापबाट मुक्ति पाउन सक्ने उपाय बताएपछि चन्द्रमाले सोही अनुसरा गणेशको सेवा गर्दछ । गणेशले खुसी भएर चन्द्रमालाई गणेश चतुर्थीको दिनमात्र चन्द्रमालाई हे¥यो भने चोर दोष लाग्ने अन्य दिन नलाग्ने वरदान दिए । सोही अनुसार चथाः मनाउने क्रममा अहिले पनि समाजमा चोर दोष लाग्ने डरले घरका ढोकाहरु बन्द गरी लुकिरहेन चलन कायम छ ।
    चथाः पर्वले कुनै पनि व्यक्तिको रुपरङ्ग नभई उसको बानी र व्यवहारका रुपमा असल खराव छुट्याउनु पर्ने सन्देश दिन खोजिएको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

     

  • सवारी ज्यान मुद्दाका फरार प्रतिवादी बालकोटबाट पक्राउ

    भक्तपुर, भदौ २१
    सवारी ज्यान मुद्दामा पाटन पुनरावेदन अदालतबाट दोषी ठहर भई कैद जरिवाना तोकिएपछि फरार रहेका प्रीतवादीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा साविक दुवाकोट गाविस–७, परिवर्तित सूर्यविनायक नगरपालिका–४ बस्ने ५४ वर्षिय लक्ष्मण श्रेष्ठ रहेका छन । उनलाई पाटन पुनरावेदन अदालतले २०७२ साउन २४ गते सवारी ज्यान मुद्दामा ३ कैद र २ हजार रुपैंया जरिवाना हुने ठहर गरी फैसला गरेको थियो ।
    अदालतको पैmसलापछि श्रेष्ठ फरार रहेकोले उच्च अदालतको फैसला कार्यान्वयन सम्बन्धी पत्रको आधारमा खोजी गर्ने क्रममा उनलाई सूर्यविनायक नगरपालिका–२, बालकोटबाट पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
    पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको एसपी आचार्यले बताउनुभयो ।

     

  • राष्ट्रिय बिमा बोर्डसँग ख्वप अस्पतालको २० करोड बाँकी

    भक्तपुर, भाद्र २०
    भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले राष्ट्रिय बिमा बोर्डसँग २० करोड रुपैंया भन्दा बढी सोधभर्ना लिन बाँकी रहेको छ । बिमा बोर्डले भुक्तानी नदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको भन्दै नगरप्रमुख सुनिल प्रजापतिले बिहिवार बोर्डका अध्यक्ष गुणराज लोहनीसँग भेट गरी सो जानकारी गराएको हो ।
    भेटमा नगरप्रमुख प्रजापतिले स्वास्थ्य बिमाको रकम समयमै भुक्तानी नहुँदा ख्वप अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या भएको प्रष्ट पार्नुभयो । उहाँले स्वास्थ्य बिमा रकम छिटो सोधभर्ना गर्न ध्यानाकर्षण समेत गर्नुभयो ।
    ख्वप अस्पतालले जनतालाई सस्तो र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले ख्वप अस्पतालले दैनिक ८०० जनाको हाराहारीमा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गदै आइरहेको जानकारी दिनुभयो ।
    सोही क्रममा बोर्डका अध्यक्ष लोहनीले समयमै स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा स्वास्थ्य बिमामा आबद्ध सरकारी अस्पतालको सेवा प्रवाह प्रभावित भएको स्वीकार्दै स्वास्थ्य बिमाको रकम छिटो भन्दा छिटो भुक्तानी दिने आश्वासन दिनुभयो ।
    उहाँले ख्वप अस्पताललाई स्वास्थ्य बिमाअन्तर्गत सोधभर्ना हुन बाँकी रकममध्ये कम्तीमा ५० प्रतिशत रकम एक महिनाभित्र भुक्तानी दिने प्रतिबद्धता जनाउनुभयो ।
    भेटकै क्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बिमा बोर्डसँग पैसा नभएकै कारण अस्पतालहरुलाई स्वास्थ्य बिमाको रकम भुक्तानी दिन नसकेको प्रष्ट पार्नुभयो ।
    उहाँले स्वास्थ्य मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग रु. ८ अर्ब ७५ करोड माग गरेको बताउँदै अस्पतालहरुलाई सक्दो चाँडो स्वास्थ्य बिमाको रकम सोधभर्ना गरिने विषय अवगत गराउनुभयो ।
    सो अवसरमा ख्वप अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ललगायतका प्रतिनिधिमण्डल बिमा बोर्ड पुग्नुभएको थियो ।

     

  • नेपाल भाषाको कालजयी गीत ‘राजमती’अब नेपाली भर्सनमा

    भक्तपुर भदौ २०
    नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको नेपाल भाषाको कालजयी गीत ‘राजमती’ अब नेपाली भाषामा सार्वजनिक भएको छ ।
    पहिलो पटक करिब ११५ बर्ष अघि भारतको कलकत्तामा रेकर्ड गरिएको ‘राजमती’को नेपाली भाषामा पुन लेखन, संगीत र एरेन्ज गरी बुधवार सार्वजनिक गरिएको हो । गीतको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गर्नु भएको हो ।
    नेपालको पहिलो गायक सेतुराम प्रधानले बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपाल भाषाका राजमती सहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीत राजमतीलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो ।


    गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपाली भाषी माझ थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ ।
    गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र शोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गर्नु भएको छ भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल हुनुहुन्छ ।


    म्युजिक नेपाल, सेन्सोडाइन टुथपेस्ट र करेन्ट चाउचाउ ले सहयोग गरेका छन् । कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बिजय रत्न तुलाधर र राष्ट्रिय युवा उद्धमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ पुरस्कृत गरिएको छ ।

  • वेलकम ब्राण्डको पानीको जारमा किरा भेटियो

    भक्तपुर, भदौ १५
    चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सिद्धार्थ मिनरल वाटर कम्पनीबाट उत्पादित वेलकम ब्राण्डको जारको पानीमा शनिवार बिहान किरा भेटिएको छ । मध्यपुर थिमि नगरपालिका–२, सानो थिमिस्थित भट्टराई टोलमा दोलखाको मैनापोखरी वैदेश्वर गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमि–७ नगदेश डेरागरी बस्ने ५२ वर्षिय ललित दाहालले जारको पानी खरिद गर्ने क्रममा पानीमा किरा भेटिएको हो ।
    पानीको जारमा किरा भेटिएको खबर प्राप्त भएपछि तत्काल मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ र प्रहरी प्रभाग सानो थिमिको प्रहरी टोली घटनास्थल पुगेर पानी ओसारपसार गर्ने बा ५ ख १७३० नं.को मिनि ट्रकसहित पानीका जार नियन्त्रणमा लिएको छ ।


    स्थानीयको समेत रोहबरमा मुचुल्का उठाई उक्त गाडी थप कारवाहीको लागि प्रहरीलाई बुझाएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रहरीले पानीको जारसहितको उक्त गाडी आइतवार जिल्ला प्रशासन कार्यालयलाई बुझाउने जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
    जिल्ला प्रशासन कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सहयोगमा पानी उद्योगमा अनुगमन र अनुसन्धान गरी कारवाही गरिने बताईएको छ ।

     

  • गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती छैन – अध्ययन समिति

    भक्तपुर, भदौ १४

    भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा गत साउन ३१ भएको सवारी दुर्घटनाको सम्बन्धमा अध्ययन गर्न गठित समितिले सो दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती कमजोरी नभएको निष्कर्ष निकालेको छ ।
    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निर्णयले गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला संयोजक रहेको समितिले करिव १० दिन लामो अध्ययन र छानविनपछि सो घटनामा ट्राफिक प्रहरीको गल्ती कमजोरी नभएको निष्कर्ष निकालेको हो ।
    यसअघि नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयले गठन गरेको छानविन समितिले पनि सो दुर्घटनामा ट्राफिकको कमजोरी नभएको र उक्त घटनामा ट्रक चालकले पनि स्कुटरलाई नदेख्दा दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
    ट्राफिक प्रहरीको सवारी जाँच भइरहेको समयमा सो दुर्घटना भएको थियो । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकको ठक्करले बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाँउपालिका–४ खहरे घर भई हाल काठमाण्डौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोईरालाको घटनास्थलमा नै मृत्यु भएको हो ।
    दुर्घटनामा पछि आक्रोशित सर्वसाधरणले ट्राफिक प्रहरीको सवारी जाँचका कारण दुर्घटना भएको भन्दै ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए । सामाजिक सञ्जालहरुमा पनि ट्राफिक प्रहरीप्रति आक्रोश पोखेका थिए ।
    विशेष गरी ट्राफिक प्रहरीप्रतिको जनआक्रोश र ट्राफिक प्रहरीको सवारी जाँचका विषयमा धेरै टिका टिप्पणी भएपछि गृहमन्त्री रमेश लेखकको निर्देशनमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै छानविन र अध्ययन समिति गठन गरेको थियो ।
    सोही अनुसार प्रजिअ श्रेष्ठले सहायक प्रजिअ निरौलाको संयोजकत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र कार्यालय राधेराधेका मेकानिकल ई. उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट पिडितका नातेदार समेत रहनुभएका तुलसीहरी कोइराला सहितको घटना सत्य तथ्य अध्ययन समिति गठन गरेको थियो ।
    सो समितिले ८ पृष्ठको अध्ययन प्रतिवेदन बिहिवार प्रजिअ श्रेष्ठलाई बुझाएको छ । प्रजिअ श्रेष्ठले तत्कालै उक्त प्रतिवेदन गृहमन्त्रालयमा पठाएको स्रोतले जानकारी दिए ।
    समितिले घटनास्थलको सीसीटिभी फुटेज, सामाजिक सञ्जालमा आएका भिडियो, ट्रकको अवस्थालगायतको अध्ययन एवम् प्रत्यक्षदर्शी, ट्रक चालक, सवारी जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग समेत सोधपुछ गरी प्रतिवेदन तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।


    अध्ययनका क्रममा ट्राफिकले दुर्घटनामा परेका दुबै सवारीलाई रोकेको नदेखिएको, सीसीटीभी फुटेज र प्र्रत्यक्षदर्शीलाई सोधपुछ गर्दा समेत दुर्घटनामा ट्राफिक प्रहरीको भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    ‘सीसीटीभी फुटेजमा दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई ठक्कर दिएर अघि बढेको देखिन्छ । सडकमा रहेका ३ जनामध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
    प्रतिवेदनमा ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले गरेको सोधपुछका क्रममा चालकले स्कुटर नदेखेको र दुर्घटना गराउने कुनै मनसाय नै नरहेको बयान दिएको उल्लेख छ । दुर्घटना गराउने मनसाय नदेखिए पनि ट्रक चालककै कमजोरीले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
    समितिले मेकानिकल इन्जिनियरको सहयोगमा ट्रकको प्राविधिक जाँच समेत गरेको थियो । त्यसक्रममा ट्रकको अवस्था भने ठीक रहेको पाएको प्रतिवेदनमा उल्लेख छ । ट्रकको बत्ती, ब्रेकदेखि अन्य पार्टपूर्जा समेत ठीक रहेको र कर तिरेकोदेखि चालकको लाइसेन्स रहेको, चालकले कुनै किसिमको मादक पदार्थ सेवन नगरेको पाईएको प्रतिवेदनमा उल्लेख छ ।
    समितिले दुर्घटनास्थलबाट ट्रक चलाएर सुरक्षित ठाउँमा पु¥याएका प्रहरीसँग समेत ट्रकको अवस्थाबारे सोधपुछ गरेको प्रतिवेदनमा उल्लेख छ ।
    समितिले ट्राफिक प्रहरीको सवारी जाँचलाई थप वैज्ञानिक बनाउन र काठमाण्डौं भक्तपुर ६ लेन सडकको ट्राफिक व्यवस्थापन थप व्यवस्थित बनाउन पनि सुझाव दिएको छ ।
    समितिले मूख्य सडकमा सवारी जाँच गर्दा कम्तीमा एक सय मिटर अगाडी प्रष्ट रुपमा देखिने गरी सवारी जाँचको संकेत वा बोर्ड राख्न, ट्राफिक जाँच तथा अनुगमनलाई वैज्ञानिक बनाउन एआईको प्रयोगदेखि स्थान विशेषमा फरक–फरक प्रकृतिको जाँच हुनुपर्ने सुझाव दिएको छ ।
    यसैगरी काठमाण्डौं भक्तपुर ६ लेन सडकको सर्भिस लेनमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन पनि सुझाव दिएको छ ।
    प्रतिवेदनमा मृतकका परिवारलाई उचित क्षतीपुर्तीको व्यवस्था गर्न सुझाव दिएको छ । क्षतपुर्ती सम्बन्धी कानूनी व्यवस्था भएपनि मृतकको परिवारको आर्थिक अवस्था, दुर्घटनाको प्रकृति समेतलाई मध्यनजर गर्दै पिडित परिवारलाई उचित क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

  • सर्वसाधारण सरह राष्ट्रपति पौडेलद्धारा भक्तपुर दरवारस्क्वायर अवलोकन(फोटो फिचरसहित)

    भक्तपुर, भदौ १४
    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार भक्तपुर दरवार क्षेत्रको अवलोकन र स्थानीय तलेजु भवानी एवम् भैरवनाथको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रमको शुभारम्भ स्वरुप पहिलो दिन भक्तपुर दरवारस्क्वायरको अवलोकन भ्रमण गर्नुभएको हो ।


    उहाँलाई दरवारस्क्वायरमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय भक्तपुरका प्रमुख उपअनुसन्धान निर्देशक टेकराज तिमल्सिना, सशस्त्र प्रहरी बल २२ नं. गण गुहेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बासुदेव ओली, जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्की, विभिन्न सरकारी कार्यालयका प्रमुखलगायत सर्वसाधरणले स्वागत गर्नुभएको थियो ।


    दरबारस्क्वायर अवलोकनका क्रममा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधारणहरूले आमनागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकले पाउन नसकेको गुनासो गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलसँग सर्वसाधारणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो समेत गर्नुभएको थियो ।
    सो क्रममा राष्ट्रपति पौडेलले आमनागरिकको गुनासो शासन सञ्चालन गर्ने कार्यपालिका प्रमुखको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो ।


    बिहान सवा ११ बजे धर्मपत्नी धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ दरवारस्क्वायर पुग्नु भएका राष्ट्रपति पौडेललाई भक्तपुर नगरपालिकाका तर्फबाट नगरपालिकाका कर्मचारी गौतम लासिवाले दरवारस्क्वायर अवलोकन गराउनुका साथै त्यहाँ भएका पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरुको विस्तृत जानकारी गराउनुभएको थियो ।
    कुनै तामझाम विना नितान्त अनौपचारिक रुपमा भ्रमणमा आउनुभएका राष्ट्रपति पौडेल पचपन्ने झ्याले दरवार, स्वर्णद्धार (गोल्डेन गेट)लगायतका पुरातात्विक सम्पदाको अवलोकन गर्दै अगाडि बढ्नुभयो र तलेजु देवीको मन्दिर प्रवेश गरी पुजाअर्चना गर्नुभयो ।
    त्यसपछि राष्ट्रिय कला संग्रहालयभित्र प्रवेश गरी संग्रहालयको अवलोकन गर्नुभएका राष्ट्रपति पौडेलले त्रिपुरासुन्दरी मन्दिरको अवलोकन गर्दै दरवारस्क्वायर पाटीमा रहेका विद्यालयका विद्यार्थीहरुसँग भलाकुसारी गर्नुभयो । उहाँले दरवारस्क्वायरबाट टौमढी जानेक्रममा पनि स्थानीयसँग भलाकुसारी गर्नुभएको थियो ।


    टौमढीमा ङातापोल (पाँचतल्ले मन्दिर)को अवलोकन गरीसकेपछि उहाँले भैरवनाथको पुजा अर्चना गर्नुभयो । सो अवसरमा उहाँलाई गुठी संस्थानका भक्तपुरका प्रमुख खिमा ओली, भैरवनाथका गुठी नाइके एवम् पुजारीहरुले स्वागत गर्नुभएको थियो । गुठी प्रमुख ओलीले राष्ट्रपतिको पुजाअर्चनाको व्यवस्था समेत गर्नुभएको थियो ।
    ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम शुरु गरिएको र सोही अन्तर्गत पहिलो कार्यक्रम भक्तपुरमा सम्पन्न गरिएको राष्ट्रपति पौडेलका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले यस्तो कार्यक्रमले राष्ट्रपतिलाई जनतासंग जोड्न सहयोग पुग्ने र जनताको छोराछोरी राष्ट्र प्रमुख भएको अनुभुती जनताले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले यस्तो कार्यक्रम हाललाई महिनामा एक पटक गर्ने योजना रहेको जानकारी दिँदैं परिस्थिती अनुसार १५ दिनमा एक पटक वा दुई महिनामा एक पटक पनि हुन सक्ने बताउनुभयो ।


    राष्ट्रपति पौडेलकी छोरी एवं स्वकीय सचिव अध्यक्षता पौडेलले राष्ट्रपति पौडेलले धार्मिक, सांंस्कृतिक एवं पर्यटकीय नगर भक्तपुरको भ्रमणप्रति आनन्द अनुभुती गरेको बताउनुभयो ।
    औपचारिक कार्यक्रम नभएकोले भिडभाड नभएको र आमनागरिक जस्तै राष्ट्रपति पौडेलले भक्तपुर अवलोकन गरेको देख्दा स्थानीय र पर्यटकहरु अचम्मित भएका थिए भने सर्वसाधारणले राष्ट्रपति पौडेललाई कौतुहलतापूवर्क हेरेका थिए ।
    अनौपचारिक कार्यक्रम भएकोले सुरक्षा व्यवस्था तुलनात्मकरुपमा खुकुलो बनाएको थियो । सोही कारण सर्वसाधारण राष्ट्रपतिको नजिक आउन र कुरा राख्न सहज भएको थियो ।

  • गठ्ठाघर घटनामा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ

    भक्तपुर, भदौ १४
    भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा गत साउन ३१ गते भएको सवारी दुर्घटनाको क्रममा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
    पक्राउ पर्नेहरुमा हाल मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने उदयपुरको चौदण्डी नगरपालिका–६ का २९ वर्षिय रोहित थापा मगर, झापाको बाह्रदर्शी गाउँपालिका–५ का ३१ वर्षिय सुवार बस्नेत, कपिलवस्तुको बुडबाटिका नगरपालिका–३ का २६ वर्षिय सुदिप पराजुली र रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षिय देवराज खत्री रहेका छन ।
    प्रहरी स्रोतका अनुसार उनीहरुलाई सीसी क्यामरा फुटेजका आधारमा गत भदौ ११ गते पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
    गठ्ठाघर घटनामा काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकको ठक्करले बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाँउपालिका–४ खहरे घर भई हाल काठमाण्डौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोईरालाको घटनास्थलमा मृत्यु भएको थियो ।
    सो घटना ट्राफिक प्रहरीको सवारी जाँचका कारण भएको भन्दै ट्राफिक प्रहरीमाथि आक्रमण भएको थियो । आक्रमणबाट बच्न नजिकको रेष्टुरेन्टलगायतका स्थानमा लुक्न गएका ट्राफिक प्रहरीमाथि समेत आक्रमण भएको थियो ।
    आक्रमणबाट जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेलगायतको बर्दी च्यातिनुका साथै सामान्य घाईते समेत भएका थिए ।

  • घरको छतबाट खसेर मृत्यु

    भक्तपुर, भदौ १३
    भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट बस्ने ५२ वर्षिय विष्णु वैद्यको बिहिवार साँझ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । आफ्नै साढे ३ तल्ले घरको छतबाट अचानक घर पछाडीको धान खेतमा खसेका वैद्यको उपचारको क्रममा मृत्यु भएको हो ।
    खसेर गम्भिर घाईते भएका वैद्यलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले बताउनुभयो ।
    वैद्यको शव पोष्टमार्तमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । घटनाको प्रहरी वृत्त थिमिको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

     

  • विपदका घटनामा केन्द्रीय सहयोगको खाँचो – नगरप्रमुख खत्री

    भक्तपुर, भदौ १३
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मनसुनजन्य विपदका कारण भएको क्षतीको पुनःनिर्माण, पुनःस्थापना र राहतका लागि केन्द्रीय स्तरको सहयोगको खाँचो रहेको बताउनुभएको छ ।
    भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकमा चाँगुनारायण नगरपालिका प्रमुख खत्रीे विपदले पु¥याएको क्षतीको पुनःनिर्माण, पुनःस्थापना र राहतका लागि स्थानीय स्रोतसाधनले धान्न नसक्ने भएकोले केन्द्रीय स्तरको सहयोगको खाँचो रहेको बताउनुभएको हो ।
    उहाँले मनसुन अघि बनाएको बजेट र कार्यक्रम मनसुनले गरेको क्षतीका कारण सार्वजनिक गर्न पनि गरौं की नगरौंको अवस्थामा पु¥याएको बताउनुभयो ।
    उहाँले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका कारण मनसुनजन्य बिपदबाट भएका घटनाहरूमा तत्काल प्रतिकार्य गरी थप क्षति हुन नदिन नगरपालिका सफल भएता पनि अधिक बर्षाका कारण गएको पहिरो, बाढी र डुबानका घटनाहरूबाट चांगुनारायण नगरपालिकाले धेरै क्षति बेहोरेको जानकारी दिनुभयो ।
    उहाँले आगामी दिनमा क्षति हुनुका मूल कारणहरु पहिचान गरी रोकथाम तथा न्यूनीकरणका उपायहरू गरिने बताउनुभयो । उहाँले दिगो विकासमा ध्यान दिदै विकास निर्माणका हरेक काममा बिपद् जोखिम न्युनीकरणलाई मूलप्रवाहीकरण गर्दै सबै सरोकारवाला निकायहरुसँग हातेमालो गर्दै बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिल्लाको विपद राहत कोषले पिडितलाई क्षतीपुर्ति स्वरुप थोरै रकम मात्र दिन सकिने व्यवस्था भएको र ठूला विपदका घटनापनि पुनःनिर्माण, पुनःस्थापनाका लागि केन्द्रीय विपद् समितिमा माग गरेर पठाउन सकिने व्यवस्था भएको जानकारी दिनुभयो ।
    उहाँले जिल्लामा भएका विपद्का घटना, जिल्ला बाहिरका घटनामा भक्तपुरका स्थानीय पिडित बनेका घटनाहरुको समेत संक्षिप्त जानकारी दिँदैं पूर्वतयारीका घटनाका कारण पनि यो वर्ष हालसम्म भक्तपुरमा मानवीय क्षती हुन नपाएको बताउनुभयो ।
    बैठकमा राजनैतिक दलका प्रतिनिधिहरुले विपदका घटना के कारणले भएका हुन सो अध्ययन गरी ती कारणहरुको निराकरण गर्न आवश्यक पहल गरी भविष्यमा विपद्का घटना नदोहोरिने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
    बैठकमा जिल्लाका चारवटै पालिकाहरुले मनसुनजन्य विपदले हालसम्म पुर्याएको क्षतीको विवरण, खोज तथा उद्धारका कार्यमा गरेका प्रयास, रोकथामका उपाय र राहत वितरणका कार्यको संक्षिप्त विवरण प्रस्तुत गरेको थियो । साथै जिल्ला स्थित सरोकारवाला निकायले पनि विपद्का घटनामा गरेका न्यूनिकरणका उपायका बारेमा जानकारी दिएका थिए ।
    बैठकले मध्यपुर थिमि १, लोहकिल्थलीस्थित खानेपानी बोरिङ माथिको बस्ती पहिरोको जोखिममा परेको र सो स्थानको पहिरो रोकथामका लागि स्थानीय तहको बजेटले धान्न नसक्ने भन्दै सो को लागि आवश्यक व्यवस्था गर्न केन्द्रीय स्तरमा लेखी पठाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले जानकारी दिनुभयो ।