Category: विविध

  • ठगी गरेको अभियोगमा तीन महिला पक्राउ

    भक्तपुर, भदौ २९
    सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५ वर्षिया मनमाया थापा मगर, उदयपुर आमबासी घर भई ललितपुर इमाडोल बस्ने ५४ वर्षिया चन्द्रकला विश्वकर्मा र सप्तरीको सप्तकोशी नगरपालिका–२ घर भई हाल महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ४० वर्षिया राधा विश्वकर्मा छन ।
    उनीहरुले सुनका गरगहनाको बढी तौलको नक्कली बिल बनाई बढी मूल्यमा बन्धकी राखी रकम ठगी गर्न लागेको अवस्थामा भक्तपुर नगरपालिका–२ व्यासीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणी अधिकारीले बताउनुभयो ।
    अधिकारीका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी – ४ थान, चुरा – २ थान, बाला १ थान, नाकको फुली र पेच १५.८० ग्राम, हरियो र पहेलो रंगको पोते ३०÷३० थान, विभिन्न ज्वेलर्सहरुको बिल १५ थान, बन्दकी राख्दा लिने दिने कागज चिट ३० थान, विभिन्न भिजिटिङ कार्ड ३० थान र नगद तिन लाख बयालिस हजार पाँच सय बरामद भएको छ ।
    उनीहरुलाई सम्बन्धमा प्रहरी वृत्त सातदोबाटो ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका र कारवाहीका लागि प्रहरी वृत्त सातदोवाटो पठाएको प्रनाउ अधिकारीले बताउनुभयो ।

     

  • एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा कायम रहन्छ – सांसद थापा

    भक्तपुर, भदौ २९
    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेकपा एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा भने कायम रहेको बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित १२ औं साधारणसभामा सांसद थापाले मुलुकको राजनैतिक स्थिरताको लागि एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक मूल्य मान्यता र सिद्धान्तका आधारमा एमालेसँग प्रतिष्पर्धा रहीरहने बताउनुभएको हो ।
    उहाँले एमालेसँग विकास निर्माण पनि सहकार्य हुने बताउनुभयो । “राजनैतिक मूल्य मान्यता र सिद्धान्तका आधारमा एमालेसहित सबै दलसँग प्रतिष्पर्धा हुन्छ तर विकास निर्माणमा भने सहकार्य हुन्छ,” उहाँले भन्नुभयो ।


    उहाँले खानेपानीमा राजनीति गर्न नहुनेमा जोड दिँदैं संविधानको मौलिक हकमा उल्लेखित खानेपानीलगायत शिक्षा, स्वास्थ्य र रोजगारीमा राजनैतिक आस्था र विचारका आधारमा व्यवहार गर्न नहुने बताउनुभयो ।
    उहाँले मुलुकमा राजनैतिक परिवर्तनसँगै प्राप्त उपलब्धी, विकास निर्माण र सेवा क्षेत्रको बिस्तारलाई व्यवस्थित गरी जनता समक्ष लैजान नसक्दा र बुझाउन नसक्दा अन्तराष्ट्रिय विमानस्थलको भिड देखाएर व्यवस्था विरोधी टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
    कुनैपनि संस्थाले समयमा साधारणसभालगायतका गतिविधि गरी संस्थालाई पारदर्शी बनाए चोक चोकमा वा चिया पसलहरुमा संस्था विरोधी टिका टिप्पणी नहुने भन्दै उहाँले समितिमा नयाँ कार्यसमिति आएको एक वर्ष नहुँदैं साधारण सभा हुनु सकारात्मक भएको बताउनुभयो ।


    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका १३ वटा अस्पताल, आयुर्वेद औषधालय र जनस्वास्थ्य कार्यालयको भौतिक पूर्वाधार र सेवा प्रवाहको बिस्तारमा जोड दिइरहेको बताउनुभयो ।
    उहाँले सूर्यविनायक नगरपालिकाको नगर अस्पताललाई हालै ४५ लाख रुपैंया बराबरको स्वास्थ्य उपकरण र औषधी प्रदेश सरकारले हस्तान्तरण गरेको जानकारी गराउँदैं सो अस्पतालमा छिट्टै शल्यक्रिया, आईसीयुलगायतका सेवा शुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।
    उहाँले सूर्यविनायकको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारमा आवश्यक समन्वय गरिरहेको जानकारी गराउँदैं यसका लागि सबै राजनैतिक दलहरु एकमत हुनुपर्नेमा जोड दिनुभयो ।


    समितिका पुर्वअध्यक्ष निशान ढुंगेलले समितिले नयाँ बस्ती र पुरानो बस्तीको आधारमा शुल्कमा भेदभाव गर्न नहुनेमा जोड दिँदैं समितिले विगतदेखी निक्कै कठिन र संर्घषशील समय व्यतित गरी आएकोले यसलाई पूर्णरुपमा सफलतापूवर्क सञ्चालन गरिरहन सबै उपभोक्ताहरुको उत्तिकै ठूलो दायित्व र जिम्मेवारी भएको बताउनुभयो ।
    सो अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ५ का कार्यबहाक वडाअध्यक्ष मनोज थापाले खानेपानीको विकास र बिस्तारको लागि वडा र नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र कुमार श्रेष्ठले खानेपानी समितिहरुले तत्काल गर्नुपर्ने, मध्यमस्तरीय योजना र दिर्घकालिन वा लामो समयको लागि गरी तीन तहको योजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा खानेपानीको डिप बोरिङका लागि एक पैसा एक दाम क्षेत्रफलको जग्गा दान गर्ने राधेश्याम सुवाल, समितिको कार्यालय व्यवस्थापनमा सहयोग गर्ने दाता टंकराज काफ्ले, समितिका सेवा निवृत्त कर्मचारीहरु पुर्व कार्यालय प्रमुख रञ्जनराज ढुंगेल, लेखापाल हरी बहादुर राउत, सह लेखापाल सुमित्रा थापा, पम्प अपरेटरहरु मधु नेपाल, नानीराम थापा, प्लम्बर उत्तम थापा, कार्यालय सहयोगी मैयाँ थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


    कार्यक्रममा समितिका अध्यक्ष प्रकाशराज ढुंगेलले विगत ४ वर्षदेखी नयाँ धारा जडान नहुँदा आवेदन दिएर बसेका ३५० घरमा नयाँ धारा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदैं समिति अन्तर्गतका ७ वटा पम्पमा स्वचालित प्रणाली जडान गरिएको, जिआइएस म्यापिङ गरी डिजिटल प्रणालीमा लैजाने कार्य अघि बढाएको बताउनुभयो ।
    सभाले कोषाध्यक्ष जीवन बखुन्छें र सचिव कमल प्रसाद तिमिल्सनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पारित गरेको समितिको ४ नं. क्षेत्रका अध्यक्ष रमेश खड्काले बताउनुभयो ।

  • बाल दिवसलाई लभ्ली होमले उत्सवको रुपमा मनाउने

    भक्तपुर, भदौ २६
    यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो ।
    दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा बाल दिवस मेला २०८१ को आयोजना गर्न लागेको छ । लभ्ली होमले मंगलवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेलसहित मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
    लभ्ली होम स्कूलकी संस्थापक माहेश्वरी अमात्यले बालबालिकाको बाल्यकाललाई अभिभावकहरुसँग जोड्दै विभिन्न खेल, सांस्कृतिक र विभिन्न गतिविधिहरु सहित मेलाको आयोजना गर्न लागेको बताउनुभयो । ‘हामी बालबालिकाको बाल्यकाललाई एउटा उत्सवको रुप दिन चाहन्छौं । बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप दिओस्’ संस्थापक अमात्यले भन्नुभयो ।
    अरु दिवस वा अवसरलाई उत्सवको रुपमा मनाए जस्तै बाल दिवसलाई खासै महत्व नदिइएको परिस्थितीमा फाडर्स डे, मडर्स डेलाई उत्सवको रुपमा दिने बालबालिकाको दिवसलाई उत्सव किन नबनाउने भनी अमात्यले प्रश्न गर्नुभयो ।
    कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै सिकाइ र पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट कार्यक्रममा लाखे, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले दिनुभयो । सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखे पुचःका संरक्षक उत्तम रत्न शाक्यले लाखे लगायतका स्थानीय संस्कृतिसँग जोडिएका अमूर्त सम्पदालाई रेस्टुरेन्ट, बार लगायतका ठाउँमा नचाएर दुरुपयोग गर्न नहुने तर यसको मूल्य मान्यतालाई कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राख्नुभयो ।
    ‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखय्बारे थाहा पाउँछन्, सिक्छन् । दुरुपयोग पो हुनु भएन, यसरी भविष्यका कर्णधारहरुलाई सिकाउनु त राम्रो कुरा हो’ संरक्षक शाक्यले भन्नुभयो ।
    कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ ।

     

  • सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

    भक्तपुर, भदौ २६
    जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ । राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दर्ता गर्नुभएको हो ।
    राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएउनुभएको छ ।
    श्रीमती रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेको अदालतका एक अधिकारीले जानकारी दिए ।
    प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गर्नुभएको छ । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ ।
    ‘उहाँले श्रीमतीसँग अंश सम्बन्ध विच्छेद गराउन मुद्दा दायर गर्नुभएको छ,’ जिल्ला अदालतका एक अधिकारीले भने, ‘श्रीमती सोनी सिन्धु रानीका व्यवहारले टर्चर भएको कुरा उल्लेख गर्नुभएको छ ।’
    आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा उल्लेख गर्नुभएको स्रोतले बताए ।
    २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो । पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो ।

     

  • गठ्ठाघर दुर्घटनाको ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

    भक्तपुर, भदौ २६
    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा गत साउन ३१ गते स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएको छ ।
    भक्तपुर जिल्ला अदालतको आदेशले उक्त दुर्घटनामा स्कुटरलाई ठक्कर दिने ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
    भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले गत भदौ २४ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।
    चालक श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

     

     

  • भक्तपुरमा महिला मृत फेला

    भक्तपुर, भदौ २६
    भक्तपुरको सूर्यविनायक नगरपालिका–४, चरखण्डीस्थित जंगलमा बुधवार एक महिला मृत भेटिएका छन । चरखण्डी जंगलको खोल्सामा सोही नगरपालिकाको गाम्चा बस्ने ६० वर्षिया मिठ्ठु खत्री पौडेल मृत भेटिएका हुन ।
    उनी केही दिनदेखी सम्पर्क विहिन थिइन । उनी हराएको भन्दै परिवारले खोजी गरिदिन मंगलवार प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

     

  • सर्वोच्चको फैसला पुनरावलोकनमा जान मेयर्स फोरमको माग

    भक्तपुर, भदौ २४
    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ ।
    काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा हजारौं सर्वसाधारणलाई मार पर्ने निष्कर्ष निकाल्दै उक्त फैसला पुनरावलोकनमा जान माग गरेको हो ।
    सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्न गत पुस ३ गते आदेश दिएको थियो । उक्त आदेशको पूर्णपाठले नदी किनारमा २० मिटर छाड्ने मापदण्ड अनुचित भएकाले थप २० मिटर बढाउन पनि आदेश दिएको थियो ।
    फोरमको बैठकले जनभावना विपरीत सर्वोच्च अदालतले गत पुस ३ गते गरेको निर्णयको विरुद्ध पुनरावलोकनमा जान संघीय सरकारसँग जोडदार माग गर्ने निर्णय गरेकोे फोरमका सहसचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
    सर्वोच्चको फैसलाप्रति काठमाडौं उपत्यका मेयर्स फोरमले पनि ध्यानाकर्षण भएको जनाउँदैं उहाँले विगतमा नेपाल सरकारले नै निर्धारण गरेको मापदण्डका आधारमा जमिनको कित्ताकाट, खरिदबिक्री, स्वामित्व हस्तान्तरण भइरहेकोमा हाल अदालतलको फैसलाले आजीवन संघर्ष गरी कमाएको सम्पत्तिबाट बिमुख हुनुपर्ने स्थिति आएको बताउनुभयो ।
    ‘उक्त फैसला पुनरावलोकन गर्न अतिआवश्यक भएकाले काठमाडौं उपत्यका मेयर्स फोरम उक्त पैसला पुनरावलोकनका लागि नेपाल सरकारसँग जोड्दार माग गर्दछ’, फोरमको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
    बैठकमा मेयर फोरमका १८ वटा पालिका मध्य काठमाडौँ महानगर पालिका प्रमुख बालेन शाह र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति अनुपस्थित थिए ।

     

  • पाकिस्तानी शहिदको सम्झनामा काठमाण्डौंमा कार्यक्रम

    भक्तपुर, भदौ २२
    नेपाली सेनाका कार्यबहाक प्रधान सेनापति अशोक राज सिग्देलले पाकिस्तान र नेपालबीचको बहुआयामिक द्धिपक्षीय सहयोग अन्तर्गत सैन्य सहयोग पनि रहेको बताउनुभएको छ ।
    पाकिस्तानको रक्षा तथा शहिद दिवसको अवसरमा शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा सिग्देलले पाकिस्तान र नेपालबीचको बहुआयामिक द्विपक्षीय सम्बन्ध, जसमा आर्थिक, व्यवसायिक, शैक्षिक, प्राविधिक सहयोगसँगैं सैन्य सम्बन्धहरू रहेको बताउनुभएको हो ।
    उहाँले संकटको समयमा पाकिस्तानले प्रदान गरेको सहयोगलाई उच्च प्रशंसा गर्दै मित्र राष्ट्रको रुपमा नेपाली संस्थाहरूको क्षमता विकासमा पाकिस्तानले निस्वार्थ सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको आपसी सहयोग मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो ।


    सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले रक्षा तथा शहिद दिवसको महत्वमाथि प्रकाश पार्दै मातृभूमिको रक्षाका लागि जीवन उत्सर्ग गर्ने पाकिस्तानका सशस्त्र बल, कानून प्रवर्तन निकायहरू र नागरिकहरूको बलिदानप्रति उच्च प्रशंसा र सम्मान प्रकट गर्नुभयो ।
    राजदूत हास्मीले पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वमा आफ्नो दृढ प्रतिबद्धता कायम राखेको र आतंकवादविरुद्धको संघर्ष तथा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
    पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको प्रश्नमा कहिल्यै सम्झौता नगर्ने प्रष्ट पार्दै उहाँले शहिदहरूको बलिदानीलाई मार्गनिर्देशनको रुपमा लिएर अघि बढिरहेको बताउनुभयो ।
    रक्षा सहचारी कर्णेल मोहम्मद अली अलवीले दुई देशबीचको बलियो सैन्य सम्बन्धलाई क्षेत्रीय शान्ति र स्थायित्व प्राप्त गर्ने साझा दृष्टिकोणले मार्गदर्शन गरेको बताउनुभयो ।
    कार्यक्रममा पाकिस्तानका सशस्त्र बल, रक्षा उत्पादन र पाकिस्तानको संस्कृति सम्बन्धी वृत्तचित्रहरू पनि प्रदर्शन गरिएको थियो ।
    उक्त समारोहमा वरिष्ठ नेपाली सैन्य तथा नागरिक अधिकारीहरू, राजदूतहरू, सेवानिवृत्त वरिष्ठ सेना अधिकारीहरू, पूर्व प्रधानसेनापति, शैक्षिक क्षेत्रका व्यक्तित्वहरू, कूटनीतिक निकायका सदस्यहरू, रक्षा सहचारीहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र पाकिस्तानी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।

     

  • कांग्रेस युवा नेता राणाको धिमे बाजा खलःलाई आर्थिक सहयोग

    भक्तपुर, भदौ २२
    नेपाली कांग्रेसका युवा नेता रवि राणाले सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित तिथली नगरकोटी धिमे खलःलाई आर्थिक सहयोग प्रदान गरेको छ । राणाले शनिवार धिमे खलःका संयोजक विनय नगरकोटीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
    सो अवसरमा राणाले कला संस्कृति देशको पहिचान भएकाले यसलाई बचाएर राख्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नेवार समूदायको मौलिक एवम् परम्परागत धिमे बाजा नयाँ पिढीँलाई प्रशिक्षित गरेर खलःले उल्लेख्य कार्य गरेको बताउँदैं स्थानीय कला संस्कृतिको संरक्षण गर्ने युवाहरुको कार्यमा आफ्नो सधैं साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
    संस्कृति र परम्परा जोगाउन लागिपरेका युवा पुस्तालाई सबैले प्रोत्साहित गर्नुपर्ने प्रष्ट पार्दै उहाँले यसलाई भेदभाव र पुर्वाग्रह नराख्न स्थानीय सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।


    समाजको लागि सहयोग गर्न धेरै धन होइन, ठुलो मन चाहिने भन्दै वरिष्ठ पत्रकार रमेश खड्काले रवि राणा जस्ता युवाहरु विकासका सम्बाहक भएको बताउनुभयो ।
    खलःले हाल १२ जना स्थानीय युवा युवतीहरुलाई धिमे बाजा प्रशिक्षण गराइरहेको खलःका संयोजक नगरकोटीले जानकारी दिनुभयो । ती प्रशिक्षार्थीहरुको बाजा पिथनेगु (दिक्षान्त) कार्यक्रम आगामी शनिवार हुने जानकारी दिँदैं उहाँले उक्त कार्यक्रममा नासः द्यो (नाट्श्वरी)को पुजाका साथै भोज समेत गर्नुपर्ने भएकाले सहयोगका लागि आह्वान गर्नुभयो ।
    धिमे बाजा समूहलाई दीक्षित गर्ने प्रयोजनका लागि खर्च चाहिने र त्यो खर्च माग्दा स्थानीय वडा र पालिकाले सुनुवाइ नगरेको उहाँले गुनासो गर्नुभयो । “वडा र नगरपालिकामा सहयोग माग्दा सहगोग नदिएको र दिक्षितलाई दिक्षान्त समारोह गर्न समेत नसक्ने अवस्थामा युवा नेता राणाको सहयोगले हामीलाई हौसला प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।

     

     

  • ईन्द्रजात्राको लागि यःसिं लगियो

    भक्तपुर, भदौ २१
    ईन्द्रजात्राको अवसरमा काठमाण्डौंको बसन्तपुरमा ठड्याउने यःसिं शुक्रवार भक्तपुरबाट लगिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित यःसिं गुँबाट उक्त यःसिं भक्तपुरबासीले तानेर काठमाण्डौं पु¥याएको हो ।
    भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान अर्थात यःसिं ठड्याएर आठ दिन काठमाण्डौं उपत्यकामा धुमधामका साथ ईन्द्रजात्रा मनाईन्छ । सोही ईन्द्रजात्राको लागि यःसिं लगिएको हो । यःसिं भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित यःसिं गुँदेखी ताथली, च्याम्हसिंह, जगाती, सूर्यविनायक, थिमि, कोटेश्वर, बानेश्वर, माइतीघरहुँदैं भद्रकाली पु¥याएको हो ।


    यःसिंको लागि रुख छनोट गरी काट्न नेपाली सेनाको श्री शार्दूल जंग गुल्मका गुल्मपतिको नेतृत्वको गुर्जुको पल्टन, हनुमानढोका दरवारका पुजारी ब्राम्हण, केन्द्रीय मानन्धर संघको पदाधिकारीलगायतको टोली बिहिवार साँझ ७ बजे चित्तपोलस्थित यःसिं गुँ पुगेको केन्द्रीय मानन्धर संघका सचिव एवम् सञ्चारकर्मी केके मानन्धरले बताउनुभयो ।
    टोलीले परम्परागत विधि विधान अनुसार पुजा गरी यसवर्षको यःसिंका लागि रुख छनोट गरिएको मानन्धरले बताउनुभयो । उहाँका अनुसार बिहिवार राती करिव साढे ८ बजे रुख काटिएको थियो । रूख काट्नु अघि गुरूजुको पल्टनले सलामी दिएको थियो ।


    यो वर्ष भक्तपुरस्थित साःक्वलान टोलको नमोबुद्ध बचत समूहले पूजाको लागि आवश्यक हुने क्वतः, कलश, सुकुन्दा लगायतको पूजाथाली केन्द्रीय मानन्धर संघलाई हस्तान्तरण गरेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई ईन्द्रजात्रा सम्बन्धि विभिन्न सांस्कृतिक गतिविधिहरुको शुभसाइत उल्लेख गरी पठाइएको पत्र बमोजिम जिम्मेवारी प्राप्त निकाय केन्द्रीय मानन्धर संघले यःसिंको लागि वृक्षकर्तन गरेको हो । रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्ष बढाइँ दिएको हो ।
    यो वर्ष भदौ ३० गते आइतवार बिहान ८ः२६ बजे ईन्द्र ध्वजोत्थान हुनेछ, ईन्द्रजात्रा अर्थात येँयाःको क्वहनेयाः कुमारी यात्रा असोज १ गते मंगलबार हुँदैछ ।


    ईन्द्रजात्रालाई काठमाण्डौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाउँदै आएको छ ।
    पछिल्लो समय भारतको सिक्किम, अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतमा समेत ईन्द्रजात्रा मनाउँछन् । १२औंदेखि १८औं शताब्दीमा निर्माण भएका मन्दिरहरुले भरिएको हनुमानढोका दरबार यो जात्राको उद्गम स्थल हो ।
    भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान गरी सुरु हुने ईन्द्रजात्रा चौथी अर्थात् ईन्द्रध्वज पतनसम्म ८ दिन हुन्छ । यो अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।