Category: विविध

  • साँगाको झोलुङ्गे पुलको टिकट काउण्टर तोडफोड गर्ने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

    भक्तपुर, असोज ९
    आफुलाई अभियन्ता बताउने आशिका तामाङलाई कानूनी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा मंगलवार जाहेरी दिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को बीचमा रहेको साँगाको झोलुङ्गे पुलमा रहेको टिकट काउण्टर तोडफोड गरी टिकट कब्जामा लिई आगजनी गरेको र गाली बेइज्जती गरेको आरोपमा नगरपालिकाले उनी विरुद्ध प्रहरीमा जाहेरी दिएको हो ।
    तामाङले सार्वजनिक स्थलको झोलुङ्गे पुल ओहोरदोहोर गर्न पनि शुल्क तिर्नुपरेको भन्दै त्यसको विरोध गर्दै त्यहाँ रहेको टिकट काउण्टर तोडफोड गर्ने, टिकट कब्जामा लिई जलाउने र नगरपालिकालाई गाली गलौज समेत गरेका थिए । उनले उक्त घटनाको भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेका थिए ।
    सोही घटनाको विषयलाई लिएर सूर्यविनायक नगरकार्यपालिकाको मंगलवार बसेको आकस्मिक बैठकले तामाङविरुद्ध कानूनी कारवाहीमा जाने निर्णय गरेको थियो । सो निर्णय बमोजिम तामाङलाई हदैसम्मको सजाय माग गर्दै प्रहरी वृत्तमा जाहेरी दिएको नगरप्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
    उहाँले साँगामा उक्त पुल त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको बताउँदैं सो पुल ठेक्कामा लगाई उठेको राजश्व सोही क्षेत्रको विकासमा खर्च गर्ने योजना अनुसार कार्य भइरहेको दावी गर्नुभयो । उहाँले सो क्षेत्रमा हाल सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरी उक्त पुल ठेक्का लगाएको जानकारी दिनुभयो । उहाँले स्थानीय वडा नं. ९ र १० का जनतालाई निःशुल्क, सूर्यविनायक नगरपालिकाका अन्य वडाका बासिन्दालाई ५० प्रतिशत छुटको व्यवस्था गरी प्रति व्यक्ति एक पटकलाई रु २० लिने गरी ठेक्का लगाएको जानकारी दिनुभयो ।
    नगरप्रमुख बासुदेव थापाले निज तामाङलाई सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, गाली बेइज्जतीलगायतमा कानूनी कारवाहीको माग गर्दै जाहेरी दिएको बताउनुभयो । “यो अराजक गतिविधि हो । सार्वजनिक रुपमा केही गुनासा भए नगरपालिकामा आएर राख्न सक्नुहुन्छ । यसरी तोडफोड आगजनी हुँदा सह्य हुँदैन । यस्ता अराजक गतिविधिलाई बेलैमा नियन्त्रण गर्नुपर्ने महशुस गरी कानूनी उपचारमा जाने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो ।
    साँगाको उक्त झोलुङ्गे पुल स्थानीय पूर्वाधार विभागले आर्थिक वर्ष २०७५÷०७६ मा ठेक्का गरी एक वर्षमा निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले आ.व. २०७९÷८० मा ३५ लाख रुपैंयामा रविचन्द्र कन्स्ट्रक्सन प्रा.लि.लाई उक्त पुलको शुल्क उठाउने ठेक्का दिएको थियो । यसवर्ष ३९ लाख ५५ हजार ५५५ रुपैंयामा त्रिशुल इन्टरनेशनल प्रा.लि.ले ठेक्का पाएको छ ।

     

  • ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

    भक्तपुर, असोज ९
    फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्¥याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएपछि २० हजार रुपैंया जरिवाना गरेको हो ।
    उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले दिएको जानकारी अनुसार क्याफेको खाद्य पदार्थ फोहोर फाल्ने डस्टबिनसंगै थियो । ‘मानिसको जीवनसंग जोडिएको खानेकुरा फोहोर मैला भएकै ठाउँमा राखेर गम्भीर लापरबाही गरेको पाइएपछी संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो,’ थापा भन्नुभयो, ‘यस्तै २५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँमा बेचेर ठगी गरेको भेटियो ।’


    यस्तै बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रीललाई पनि १० हजार जरिवाना तिराएको छ । ३५ रुपैयाँको बोतलको प्रोसेस पिउने पानीलाई सयमा बेचेको भेटिएपछी कारबाही गरेको अनुगमन अधिकृत थापाले बताउनुभयो ।
    जोयन्ट बार दर्ता प्रमाणपत्र नभएको, प्यान÷ भ्याटमा दर्ता नभएको, सामान्य विलबिजक पनि जारी नगरेको पाइएको छ । ‘जोइन्ट ग्रीलले आन्तरिक राजस्वको अन्तशुल्क प्रमाणपत्र नलिइ अल्कोहल जन्य पेय पदार्थ विक्रीवितरण गरेको भेटियो,’ थापाले भन्नुभयो, ‘उसको रक्सी पसल सिल गरिएको छ ।’ दर्ता नगरेसम्म अब विक्रीवितरण पुर्णरुपमा रोक लगाइएको उहाँले बताउनुभयो ।

     

  • जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम

    भक्तपुर, असोज ८
    मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको मूल्यांकनमा मध्यपुर थिमि प्रथम भएको हो ।
    जनस्वास्थ्य कार्यालयले जिल्लाभरीका पालिकाको स्वास्थ्य शाखा, सरकारी अस्पताल, नीजि अस्पताल एवम् स्वास्थ्य केन्द्रको वार्षिक प्रगती वितरण मूल्यांकन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखा प्रथम भएको हो ।


    जनस्वास्थ्य कार्यालयले सोमवार र मंगलवार गरी दुई दिन वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियो । सोही गोष्ठीमा जिल्लाका चार वटा पालिकाको स्वास्थ्य शाखा, नगर अस्पताल, स्वास्थ्य चौंकी, नीजि स्वास्थ्य संस्था एवम् अस्पताल र सरकारी अस्पतालले प्रगती विवरण पेश गरेका थिए ।
    सो प्रगती विवरण आधारमा गरिएको मूल्यांकनमा मध्यपुर थिमिको स्वास्थ्य शाखा प्रथम भएको जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो । समिक्षामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका संयुक्तरुपमा द्धितिय भएको खतिवडाले जानकारी दिनुभयो ।

     

  • लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम

    भक्तपुर, असोज ७
    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू औषध ओसारप्रसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत आयोजित ‘लागू औषध नियन्त्रण’ विषयको उक्त प्रतियोगितामा मेरी गोल्डकै आशुतोष पोखरेल दोस्रो हुनुभयो ।
    प्रतियोगितामा राजर्षि गुरुकुलका प्रतिशा खड्का तृतिय र गणेश माविका संजिता थापामगरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा प्रथम हुने पाण्डेले १५ हजार, दोस्रो हुनेले १२ हजार, तेस्रो हुनेले ८ हजार र सान्त्वनाले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
    प्रतियोगितामा सहभागी कविता मध्ये उत्कृष्ट १० वटा छनौट गरी प्रतिपष्र्धा गराईएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । प्रतियोगितामा अरनिको सेकेण्डरी स्कुलका दिनेश पन्थी, आदर्श मावि लाय्कू थिमिका सन्दिप राई, श्री सञ्जय साई विद्या मन्दिरका पिन्स काफ्ले, बागेश्वरी माविका श्रेया शाही, ओम माविका उत्सव तिमल्सिना र प्रथा नगरकोटीको कविता पनि छनोट भएको थियो ।


    विजयी विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
    कार्यक्रममा प्रमुख प्रजापतिले लागू औषधले मानिसको मानसिक, शारिरीक, आर्थिक अवस्थामा नकरात्मक असर पार्ने भएकोले युवा वर्गलाई त्यस्ता कूलतमा फस्न नदिन विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल बनाई राख्नुपर्ने बताउनुभयो ।
    प्रजिअ श्रेष्ठले लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरबासीलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो ।
    सो अवसरमा लागू औषध दुव्र्यसन र कुलतबाट हुने हानी नोक्सानीका बारेमा जिल्ला प्रहरी परिसर भक्तपुरले तयार पारिएको जनचेतनामूलक गिती नाटक र प्यारोडी नृत्य प्रस्तुत गरिएको थियो ।

     

  • जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ हुन ः राष्ट्रपति पौडेल

    भक्तपुर, असोज ६
    राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतवार आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण समारोहमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउने कामका लागि शासन संचालनमा बसेकाहरुलाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा पत्रकारहरुले अझै जिम्मेवार भएर काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
    स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताविना लोकतन्त्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना संप्रेषणबाट मात्र राज्यको चौथो अंगको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सकिने तथ्य स्मरण गराउनु भयो । उहाँले आम सञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको भन्दै त्यसको स्वतन्त्रता, निष्पक्षता विना लोकतन्त्र सृदृढ हुन नसक्ने बताउनु भयो । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत चल्ने मिडियालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिलले मापदण्ड बनाई काम थालेको थाहा पाउँदा आफूलाई खुशी लागेको पनि बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘आम सञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हो । स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताविना लोकतन्त्र सुदृढ हुन सक्दैन । त्यसैले पत्रकारितालाई चौथो अंगको रुपमा मान्यता प्राप्त छ । जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अंगको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सकिन्छ भन्ने म ठान्दछु । यसमा नेपाली पत्रकारहरु सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीन वटै लोकतन्त्रका आधार स्तम्भ हुन । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिताले निर्वाह गरेको भुमिका प्रशंशनीय छ । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर आँगनसम्म पु–याउने काममा शासन संचालनमा बसेकाहरुलाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईहरुले अझै जिम्मेवार भएर काम गर्नु हुनेछ भन्ने पनि मैले विश्वास लिएको छु । पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिल जस्ता निकाय स्थापना गरेर समय अनुकुल आचारसंहिता बनाउने र कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो । प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठन नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र र सृजनात्मक भुमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु । सूचना प्रविधि र इन्टेरनेटको विकाससँगै अनलाईन न्युज पोर्टल र सामाजिक सञ्जालको विकासले शिघ्र सूचना प्राप्तीको आम मानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको छ । सत्य, तथ्य, आधिकारिक र विश्वसनीय सूचना संप्रेषण नै आम सञ्चार माध्यामको व्यवसायिक र प्राथमिक दायित्व हो । तर न्यु मिडिया र बढदो सामाजिक सञ्जालसँगै तिब्र सूचना सम्प्रेषण गर्ने प्रतिष्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यक्ता हो भन्ने म चाहन्छु । यसतर्फ प्रेस काउन्सिल जस्ता अनुगमनको जिम्मेवारी पाएको र अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नेनै छ भन्ने पनि मैले विश्वास लिएको छु । सामाजिक सञ्जालमार्फत चल्ने मिडियालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिलले मापदण्ड बनाई काम थालेको थाहा पाउँदा मलाई खुशी लागेको छ । काउन्सिलले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने, लोकतन्त्रको मूल मान्यताप्रति गम्भिर बन्दै मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतिको सजगतापूर्वक सामना गर्न सकोस भन्ने पनि कामना गर्दछु ।’
    राष्ट्रपति पौडेलले मिथ्या र गलत सूचनाबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने चुनौति सामना गरेर अघि बढ्न पनि प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउनुभयो ।

     

  • मध्यपुर थिमिमा गत वर्ष ५ हजार मिटर सडक कालोपत्रे र ढलान सम्पन्न

    भक्तपुर, असोज ५
    मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार विकासतर्फ ५ हजार १५९ मिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाको शनिवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा सो जानकारी दिईएको हो ।
    यसैगरी नगरपालिकाले गतवर्ष एक हजार ५०२ मिटर ढुंगा छपाई, २ हजार ५० मिटर सडक ग्राभेल, ब्लक छपाई १९६ मिटर, बाटो सिमांकन ४५ स्थानमा र ५ स्थानमा कल ५ रोपनी ८ आना पर्ती जग्गा संरक्षण गरेको छ ।
    खानेपानी तथा सरसफाईतर्फ पाइप लाइन बिस्तार गरी थप २६५ घरधुरीमा पानी वितरण गरिएको छ । सार्वजनिक शौचालय दुई वटा निर्माण गर्नुका साथै २ हजार ९३० मिटर ढल बिस्तार गरिएको छ ।
    सार्वजनिक भवनतर्फ १५ वटा सामुदायिक भवन, १३ वटा पार्क, ४ वटा ज्येष्ठ नागरिक भवन, बस बिसौनी २, सत्तल÷पाटी २, केन्द्रीकृत भान्छाघर एक वटा निर्माण गरिएको छ ।
    यसैगरी पर्यटन, साँस्कृतिक, ऐतिहासिक एवम् धार्मिक महत्वका सम्पदाहरु मध्ये ५ वटा धार्मिक स्मारक र पुरातात्विकको जिर्णोद्धार गरिएको छ भने ११ वटा पाटी, ४ वटा पोखरी, एउटा हिटी, ४ वटा मन्दिर, २ वटा इनार, बिस्काः जात्रामा जात्रा गर्ने विभिन्न देवी देवताका ४ वटा खट, २ वटा विहार, मसानघाट एउटा र क्रियापुत्री भवन एक वटा निर्माण गरिएको छ ।
    सार्वजनिक पूर्वाधार भवनतर्फ विद्यालय भवन २ वटा, स्वास्थ्य चौकी एउटा, शिशुस्हार केन्द्र एउटा, खेलकद मैदान एउटा, मनोरञ्जन पार्क २ वटा निर्माण गरेको नगरपालिकाका योजना महाशाखा प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।
    यसैगरी मध्यपुर थिमि नगरपालिकामा गत आर्थिक वर्ष ४१८ वटा घर नक्सा दर्ता भएका छन भने डिपिसीसम्म ३१५ वटा र डिपिसी भन्दा माथि निर्माणका लागि ३८९ वटालाई स्विकृती दिएको छ ।
    घरनक्सा नामसारीका लागि १६४ वटा आवेदन परेकोमा १६३ वटा फस्र्यौट गरिएको छ । घर निर्माण सम्पन्न प्रमाणपत्रका लागि ५०२ वटा निवेदन दर्ता भएकोमा ४३४ वटा स्विकृत गरिएको छ ।
    नगरपालिकाले गतवर्ष टोल बस्तीको मौलिक नाम संकलन, अभिलेखीकरण तथा प्रतिस्थापन, शंखधर चोकको भा फल्चा परिसर सुधार, उपभोक्ता समिति गठन गरी गुरु योजना अनुसार शंखधर पार्क निर्माण, थिमि लायकु दरवार मूल ढोका निर्माण, धपहिटी परिसर सुधार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भौतिक पूर्वाधार विकास, एकीकृत जग्गा विकास कार्यक्रमको ८ स्थानको विस्तृत सम्भाव्यता अध्ययन, दुनेगः पहिरो नियन्त्रण, कुन्डोल हाडोल, ब्राइटर हनुमन्ते सडक सिमांकन तथा स्तरोन्नतीलाई उपलब्धीको रुपमा लिएको छ ।
    यसैगरी लोहकिल्थली वडा कार्यालय – धपहिटी – महेन्द्र आ. वि. सडक सिमांकन तथा स्तरोन्नती, निलवाराही चक्रपथ, पंगु देखि यमा सम्म ढुंगा छपाई, धुंची मधुचोक राजकुलो सिमांकन, विष्णुकुन्डोल सार्वजनिक जग्गा सिमांकन, भाँगु पहिरो नियन्त्रण, कुन्डोलभगवती – खरिबोट बाटो सिमांकन तथा स्तरोन्नती, बुद्धविहार पश्चिम पहिरो नियन्त्रण, सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि केन्द्रीय चमेना गृह निर्माणको थालनीलाई पनि नगरपालिकाले उपलब्धीको रुपमा लिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

     

  • विज्ञान प्रदर्शनीमा आदर्श मावि सानोथिमि प्रथम (फोटो फिचरसहित)

    भक्तपुर, असोज ४
    मध्यपुर थिमि नगरस्तरीय तेस्रो अन्तर विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगितामा आदर्श माध्यामिक विद्यालय सानोथिमि प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले शुक्रवार आयोजित प्रतियोगितामा सामूदायिक विद्यालय आदर्शले प्रथम स्थान हासिल गरेको हो ।
    यसैगरी प्रतियोगितामा जनप्रेमी वल्र्ड स्कुल कौशलटार दोस्रो भएको छ । गतवर्ष जनप्रेमी प्रथम भएको थियो । ग्लाडस्टोन एकेडेमी मिलरोडले तेस्रो स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र मावि सानोथिमि र कौशलटार ईं स्कुल सागबारीले सान्त्वना पुरस्कार प्राप्त गरेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।


    प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गर्दै शिक्षा समितिका संयोजक एवम् मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले प्रदर्शनीले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने मौका प्राप्त गरेको बताउनुभयो ।
    उहाँले सैद्धान्तिक रुपमा किताबमा बढेको विषयलाई व्यवहारमा उतार्न सक्नु नै विद्यार्थीहरुको उत्कृष्ट प्रतिभा भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने जानकारी गराउँदैं भविष्यमा अझ उत्कृष्ट नमूना प्रदर्शन गर्न सुझाव दिनुभयो ।

     

  • शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम

    भक्तपुर, असोज ३
    राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै युनिक नेपाल एकेडेमी द्धितिय भएको छ ।
    प्रतियोगितामा तपोभुमी स्कुल तृतिय भएको छ । साथै नवरत्न लाईफ स्कुल, चाणक्य स्कुल र आदर्श माध्यामि विद्यालय सानोथिमिले सान्त्वना स्थान हासिल गरेको नगरपालिकाका सामाजिक विकास महासशाखा एवम् शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताउनुभयो ।


    प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई बुधवार आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले शिक्षालाई मौलिक हकका रुपमा संविधानमा उल्ल्ेख भएपनि अझै धेरै बालबालिका शिक्षाबाट वञ्चित रहेको बताउनुभयो । उहाँले शिक्षा निःशुल्क हुनुपर्ने सैद्धान्तिक व्यवस्था भएपनि व्यहारमा अझै लागु हुन नसकेको बताउनुभयो ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नीजि क्षेत्रसँग पनि सहकार्य गरी अघि बढीरहेको बताउनुभयो ।


    उहाँले एकिकृत भान्साघर मार्फत दिवा खाजको व्यवस्था गरी सामूदायिक विद्यालयका सबै विद्यार्थीहरुको खाजामा एकरुपकता ल्याउने र गुणस्तरीय एवम् स्वस्थ खाजाको व्यवस्था गर्न नगरपालिकाले कार्य शुरु गरिसकेको बताउनुभयो ।
    उहाँले सामूदायिक विद्यालयमा विद्यार्थी भर्नादर बृद्धि गर्न र गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले विभिन्न अतिरिक्त क्रियाकलापका शिक्षकको व्यवस्थाका साथै शिशुस्याहार केन्द्रको स्थापना गर्ने नीति लिएको बताउनुभयो ।
    कार्यक्रममा एसईई २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा ४ जिपिए ल्याउन सफल एसओएसका आर्यन न्यौपाने, ३.९६ जिपिए ल्याउन सफल मातृभुमीका प्रजना लाखे, नवरत्न लाईफ स्कुलका एञ्जिला श्रेष्ठ र श्रुजिका श्रेष्ठ, हिमचुली स्कुलका पुष्पाञ्जली पोखरेल, ३.९१ जिपिए ल्याउने आदर्श मावि सानो थिमिका पौरख बाबु भण्डारी, ३.९ जिपिए ल्याउने आदर्श मावि सानोथिमिका रोशनी श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


    यसैगरी आधारभुत विद्यालय तहमा उत्कृष्ट अंक ल्याउन सफल हिमचुली स्कुलका कविराज गिरी र लुमु कालु, आदर्श मावि लायकुका सजिमा ठकुरी, गणेश मावि नगदेशका नविन सार्कीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
    यस्तै विषयगत रुपमा औषतमा उच्चतम स्तरीकृत अंक ल्याउन सफल शिक्षक र अनिवार्य विषयमा औषतमा उच्च जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो ।
    यसका साथै सामूदायिक विद्यालयहरुमा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो ।
    कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. २ का वडाअध्यक्ष एवम् शिक्षा समितिका संयोजक श्रीकृष्ण श्रेष्ठलगायतले मध्यपुर थिमि नगरपालिकाले शिक्षामा गरेका लगानी, नीतिगत योजनाका बारेमा चर्चा गर्नुभएको थियो ।

  • मध्यपुर थिमिमा आज ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ मनाईंदैं, जात्राले पशुपति परिक्रमा गर्ने

    भक्तपुर, असोज २
    आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज (बुधवार) साँझ मध्यपुर थिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ भव्यरुपमा मनाईंदैछ । जात्राले पशुपति नाथको परिक्रमा गर्ने भएको छ ।
    तेस्रो पटक जिब्रो छेडाउन तयार हुनु भएका मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठको इच्छा अनुसार जात्राले यसवर्ष पनि पशुपति नाथको परिक्रमा गर्ने भएको हो ।
    विरेन्द्र भक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर लोप हुन लागेको जात्रालाई पुनर्जिवित गर्नुभएको थियो । उहाँले दोस्रो पटक २०७९ सालको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
    स्थानीय दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा जिब्रो छेडाएर शुरु हुने यो जात्रा परिक्रमा गर्ने निश्चित मार्ग तोकिएको छैन । जात्रामा जिब्रो छेड्ने व्यक्तिको टोलको इष्ट गणेशको दर्शन पछि उसको इच्छा अनुसारको स्थानको परिक्रमा गराउने यो जात्राको एउटा विशेषता हो ।
    यसै विशेषता अनुसार गतवर्ष पनि जिब्रो छेडाएका बालकराम श्रेष्ठको इच्छा अनुसार पशुपति नाथको परिक्रमा गराईएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्र श्रेष्ठले बताउनुभयो । यो जात्राको इतिहास अनुसार भक्तपुरको चाँगुनारायणको परिक्रमा गरेको समेत पाईन्छ ।
    यसवर्ष दिगुटोलमा जिब्रो छेडाएपछि निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गराईने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । थास्मा गणेश जिब्रो छेडाउने विरेन्द्रको इष्ट गणेश हो ।
    थास्मा गणेशको दर्शनपछि तछु टोल (गाँतले), सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडीको बाटो हुँदैं गुह्ेश्वरी मन्दिरहुँदैं पशुपति नाथको दर्शन गर्ने मार्ग तय गरिएको श्रेष्ठले बताउनुभयो ।
    यसैगरी सोही मार्ग भएर फर्कने क्रममा सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदैं नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु निकालेर जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि नातुलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।


    जात्रामा पशुपति विकास कोषले चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने व्यक्तिको जिब्रोमा शुद्ध तोरीको तेल राखिदिने प्रचलन रहेको छ । सो अनुसार कोषलाई पत्राचार गरिसकेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसवर्ष पशुपतिमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले तेल हालिदिने तयारी रहेको छ ।
    जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले एक महिना अघि नकर्मीलाई नातु बनाउन आग्रह गर्नुपर्छ, त्यसका लागि जिब्रो छेडाउने व्यक्तिले पुजा सामग्रीका साथ सम्ये बजी र एउटा रातो भाले लिएर नकर्मीको घरमा जानुपर्छ ।
    जिब्रो छेडाउने व्यक्तिको आग्रह अनुसार नकर्मीले नातु तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।
    जात्राको लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।
    त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।


    डवलीमा नकर्मीले बनाएको करिव १० इन्च लामो नातुबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ ।
    यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिव्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
    मध्यपुर थिमिमा वर्षेनी दुई वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।
    जात्रा अवलोकनका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालगायतलाई आमन्त्रण गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

  • शुभकामनाको अध्यक्षमा पुनः कासुला

    भक्तपुर, भदौ ३०
    भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन भएका छन ।
    यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नुतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन ।
    यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवाँ र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएको अध्यक्ष कासुलाले बताउनुभयो ।