Category: विविध

  • नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै

    भक्तपुर, असोज १७
    नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो दिन आज (बिहिवार) घरघरमा घटस्थापना गरी जमरा राखेर बडादशैंको शुरुवात गरिन्छ ।
    घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोका दरबारसहित देशैभरका दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी विशेष पूजा गरिन्छ ।
    वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
    जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन । तर कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने छ ।
    यसवर्ष घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
    नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा
    घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
    बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।
    दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
    यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

     

  • थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख

    भक्तपुर, असोज १३
    मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार ४ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष दिलकृष्ण प्रजापतिले वार्षिक आर्थिक प्रतिवेदन पेश गर्दै सो जानकारी दिनुभएको हो ।
    कोषाध्यक्ष प्रजापतिले ‘वचतले हाम्रो भविश्य सुखी बनाउँछ’ भन्ने नारालाई सार्थक बनाउन संस्थाले सहकारीका सिद्धान्त र मूल्यमान्यतालाई सदैव आत्मसाथ गर्दै आइरहेको बताउनुभयो ।
    सभामा संस्थाका सचिव विनोद प्रजापतिले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गर्दै सहकारीका नीति सिद्धान्त अनुसार सञ्चालित थिमि स्वावलम्बन सहकारीले सहकारी अभियानलाई अघि बढाएको बताउनुभयो ।
    सभामा वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापतिले वडाले गरेका सरसफाई, विकास निर्माणबारे जानकारी दिदैं सबैको साथ, सहयोग अनि सल्लाह र सुझाव अनुसार आफूहरुले कार्य गर्ने बताउनुभयो ।
    संस्थाका अध्यक्ष कृष्णबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न जिल्ला वचत संघ भक्तपुरका कोषाध्यक्ष कान्छाभक्त घजु, मध्यपुर थिमि नपा सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जित, विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति लगायतले सहकारी क्षेत्रको पछिल्लो अवस्थाको बारेमा चर्चा गरेका थिए ।
    कार्यक्रममा चपाचो बाँसुरी खललाई नगद रु.१५ हजार सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट वचतकर्ता र असल ऋणिलाई पनि सम्मान गरिएको थियो ।

  • ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व हो – नगरप्रमुख श्रेष्ठ

    भक्तपुर, असोज १३
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व भएको बताउनुभएको छ । मध्यपुर थिमि–६, बहाखाबजारस्थित भिमसेन मन्दिरसँगैंको बारा पुखु (पोखरी) तथा बुंगा (कुवा) पुनर्निर्माण सम्पन्न भएको अवसरमा शनिवार आयोजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मौलिक एवम् ऐतिहासिक सम्पदाहरु हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको भएको बताउनुभएको हो ।
    उहाँले यहाँको सम्पदाहरुको प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनको विकासका लागि मध्यपुर महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदैं पर्यटनलाई यहाँको नागरिकको आय आर्जनसँग जोडेर लैजाने नगरपालिकाको योजना रहेको बताउनुभयो ।
    बहाखाबजारस्थित उक्त सम्पदाहरु पुनर्निर्माणका लागि नगरपालिकाले २२ लाख रुपैंया आर्थिक सहयोग गरेको थियो भने बाँकी रकम स्थानीय समाजसेवीहरुले सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष महेश कारञ्जितले बताउनुभयो ।


    नगरप्रमुख श्रेष्ठले ५० हजार भन्दा बढि आर्थिक सहयोग गर्ने दातालाई दोसल्ला सहित चाँदीको फ्रेम भएको प्रमाणपत्रद्धारा विशेष सम्मान गर्नुभएको थियो । त्यसैगरी ५ हजार रुपैंयाँदेखी माथि सहयोग गर्ने करिव एक सय जनालाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि भौगोलिक हिसावले सानो नगरपालिका भएपनि कला सँस्कृति र सम्पदामा धनी पालिका भएको बताउनुभयो ।
    स्थानीय समाजसेवी जीपकृष्ण चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, पूर्व उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापति, महिला वडासदस्य अरुणा कारञ्जीत लगायतले परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रममा राजेश कारञ्जित, सुर्जेलक्ष्मी श्रेष्ठलगायत पुखुः र बुंगा पुनर्निर्माणका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।

     

  • भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार

    भक्तपुर, असोज १२ ।
    दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
    पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालिकोट सानी त्रिवेणी नगरपालिका–१ घरभई हाल सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको परिवारका ३ जनाको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षिया दमिला शाही, बमकी ४ वर्षिया छोरी रिया बम र साली १४ वर्षिया मनिसा शाही छन ।
    त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नैचालमा पनि पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षिय मनु तामाङ र ५० वर्षिया मसली तामाङ भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

    भक्तपुरमा पहिरोमा परेर एक जना घाईते भएका छन । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै भक्तपुर आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुई जनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ ।
    यसैगरी विभिन्न स्थानको डुवान र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष गरी ४१ जनाको उद्धार गरिएको निरौलाले बताउनुभयो ।


    जिल्लामा विपदका घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५० जना, सशसत्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।
    उहाँले वर्षा हुने क्रम नरोकिएको र खोला तथा नदी नालाको सतह बढ्ने क्रमसँगै डुवान, बाढी पहिरोको जोखिम थप बढेकोले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
    उहाँले बाढीको अवलोकन गर्ने क्रममा नदिका पुलहरुमा नबस्न पनि आग्रह गर्नुभ    एको छ । “बाढीले सबै पुलहरु उच्च जोखिममा परेको छ । पुलमा बसेर बाढीको अवलोकन गर्दा अप्रिय घटना हुन सक्छ,” उहाँले भन्नुभयो ।


    जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत खोज तथा उद्धार, राहत सामग्री वितरण लगायतका कार्यमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका करिव १ हजार स्वयम् सेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले बताउनुभयो ।
    रेडक्रसले २० परिवारलाई राहत वितरण गरेको सभापति पाण्डेले बताउनुभयो । उहाँका अनुसार सूर्यविनायक नगरपालिकाको वडा १ र ४ मा दुई÷दुई सेट, वडा नं. ८ मा १० सेट र वडा नं. ५ मा ५ सेट गैरखाद्य सामग्री वितरण गरिएको छ । उक्त सेटमा ५ जनालाई पुग्ने लत्ताकपडा, खाना पकाउने भाँडा वर्तन, ओढ्ने मण्डी, त्रिपाल, प्लाष्टिकको बाल्टिनलगायतका सामग्री रहेको छ ।
    यसैगरी चाँगुनारायण नगरपालिकाका विभिन्न वडामा ५ थान त्रिपाल र ३०० मिटर प्लाष्टिक वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो ।
    अविरल वर्षाले भक्तपुरको हनुमन्ते, खस्याङखुसुङ लगायतका नदि एवम् खोलामा पानीको सतहले बढेर भक्तपुरको मूख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला सडक अवरुद्ध भएको छ ।
    अरनिको राजमार्गको थिमि राधेराधे खण्डमा पानी पसेका कारण एक लेनमात्र चालु रहेको छ भने सल्लाघारी–पेप्सीकोला सडकको दुवाकोट मोडमा कासंखोलाको सतह बढेकोले सो सडक पनि अवरुद्ध भएको छ । त्यसैगरी कौशलटारबाट बालकोट जाने पुलमा जोखिम बढेकाले यातायात सञ्चालनमा रोक लगाएको छ ।
    यसैबीच भक्तपुर उद्योग वाणिज्य संघले राहत सामग्री उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा संघले १० बोरा चामल, नुन, तेल र दाल उपलब्ध गराएको हो । उक्त सामग्री तत्काल पिडितलाई वितरण गरिने सहायक प्रजिअ निरौलाले बताउनुभयो ।

  • भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

    भक्तपुर, असोज ११
    भक्तपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार नेपालीहरुको मूख्य चाडपर्वहरु बडादशैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा योजना सार्वजनिक गरेको हो ।
    सुरक्षा योजनाको उद्देश्य
    चाडपर्व लक्षित सुरक्षा योजनाको मूख्य उद्देश्य २०८१ सालको बडादशै, तिहार, तथा छठ पर्व लगायतका चाडपर्व अवधिभर कुनै पनि प्रकृतिका अपराधिक गतिविधि एवं अप्रिय घटनाहरु हुन नदिई जिल्लाको समग्र शान्ति सुरक्षालाई व्यवस्थित तथा भरपर्दो बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराई सौहार्दपूर्ण वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउने रहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणी अधिकारीले बताउनुभयो ।
    जिल्लाको सुरक्षा चुनौती
    भक्तपुर क्षेत्रफलको हिसावले सानो जिल्ला भएपनि यहाँको जनघनत्व, विविध साँस्कृतिक परिवेशका कारण विविध खाले सुरक्षा चुनौती रहेको प्रनाउ अधिकारीले बताउनुभयो । उहाँले भक्तपुरमा मादक पदार्थ तथा लागूऔषध सेवनबाट सृजित अन्य अपराध, झै झगडा एवं होहल्ला गरी शान्ति सुरक्षामा असर पुग्ने खालको उच्श्रृंखल क्रियाकलापहरु हुन सक्ने चुनौती रहेको बताउनुभयो ।
    यसैगरी चोरी, विभिन्न बैंकहरुको एटिएम फुटाई चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, बगलीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई ठगी तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, चन्दा असुली, जुवातास लगायतका अपराधहरु बढ्न सक्ने, विभिन्न हातहतियारको प्रयोग समेत गरी अपराधिक घटना घटाउन सक्ने खतरा रहेको छ ।
    मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउने, तिब्र गति, ओभरलोड लगायतका अन्य ट्राफिक नियम समेत उलंघन गरी सवारी चलाउदा दुर्घटनाका घटनाहरु बढ्न सक्ने, सार्वजनिक यातायातमा बढी भाडा असुली, यात्रुहरुसँग दुव्र्यवहार एवं ठगी गर्न सक्ने चुनौती रहेको छ ।
    यसैगरी आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने तथा पटका पड्काई आगलागीका घटना घट्न सक्ने कारण मानवीय तथा आर्थिक क्षती हुन सक्ने, दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्नेलगायतका अपराधिक घटना हुन सक्ने आंकलन गरिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
    सुरक्षा योजना अनुसार सम्पादन गरिने मूख्य कार्य
    सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा व्यवस्थाका लागि ६१७ जना प्रहरी परिचालन गरिने प्रनाउ अधिकारीले बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि जनचेतनामुलक जिङ्गल बजाउने, विभिन्न मठ मन्दिर, शक्तिपिठ, जात्रा निस्कने स्थानहरुमा हुन सक्ने अवैध घरेलु मदिरा तथा लागू औषध ओसारपसार तथा विक्रि वितरणलाई न्यूनिकरण गर्न प्रभावकारी प्रहरी परिचालन गरिने छ ।
    यसैगरी चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, बगलीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न सूचना संकलन तथा विश्लेषण गरी पिकेटिङ, नियमित चेकिङ, आकस्मिक चेकिङ, आकस्मिक तथा विस्तृत खानतलासी, क्यूआरटी, पैदल तथा सवारी साधनबाट गस्ती बढाईने छ ।
    आम नागरिकहरुसँग समन्वय तथा सहकार्य गर्ने, ट्राफिकसँग सहकार्य गरि बढी सवारी दुर्घटना हुने समय, स्थानहरुको पहिचान गरी मा.प.से., ओभरस्पिड तथा ओभरलोडलाई लक्षित गरि नियमित तथा आकस्मिक चेकिङ प्रभावकारी बनाईने प्रनाउ अधिकारीले बताउनुभयो ।
    यस्तै बसपार्क, सवारी चाप बढी हुने स्थानहरु टिकट बुकिङ काउन्टरहरुमा यातायात व्यवसायी, ट्राफिक प्रहरीसहितको प्रहरी संयुक्त हेल्प डेस्क राख्ने र यात्रुहरु ठगिन सक्ने कुरालाई ध्यानमा राखी निगरानी बढाईनेछ ।
    पटका भण्डारण, ओसारपसार तथा विक्रिवितरण गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गर्ने, कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायहरुसँग समन्वय गरी सूचना संकलन समेत गरी निरन्तर बजार अनुगमन गर्ने, सिसि क्यामरा निगरानीलाई प्रभावकारी बनाई अपराध नियन्त्रण तथा रोकथाममा प्रयोग गर्ने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गरी आमनागरिकमा सचेतनाको अभिबृद्धि गर्ने योजना रहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।
    उहाँले जनचेतना अभिबृद्धिका लागि १० हजार पर्चा पम्प्लेट छापेर वितरण गरिनेछ भने मध्यपुर थिमि १, लोहकिल्थली र जगाती चोकमा गरी २ वटा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।
    सवारी साधनमा पाकेटमारी नियन्त्रणका लागि सेफ्टी पिन प्रहरी परिचालन, शक्तिपिठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको सुरक्षा डिउटी, महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षा डिउटी व्यवस्था मिलाउने र उपत्यका प्रवेश नाकामा जाँच गरिने छ ।
    जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल बढ्दै गईरहेको सन्दर्भमा जनताले भयरहित वातावरणमा अपराध मुक्त चाडपर्व सुरक्षित तथा हर्षोल्लास तवरबाट मनाउनका साथै सम्भावित चोरी, डकैती, लुटपाट, पाकेटमार अपहरण जस्ता विविध शान्ति सुरक्षासँग जोडिएका अपराधलाई नियन्त्रण गरि आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
    उहाँले जनस्तरसम्म सचेतना कार्यक्रम, २४ सैं घण्टा प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाईन्ट, पिकेट, सरप्राईज चेकिङ्गको लागि यस परिसर तथा मातहत प्रहरी ईकाईहरुमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी अपराधिक घटना नियन्त्रण गरी आमनागरिकलाई भयरहित वातावरणमा चाडपर्व मनाउने वातारवण निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

  • भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाको स्वागत

    भक्तपुर, असोज ११
    ४५ औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पहिलो दुई विदेशी पर्यटकलाई उपहारसहित स्वागत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा फिनल्याण्ड र अष्ट्रेलियाका दुई पर्यटकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभएको हो ।
    यसैगरी नगर प्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । आज बिहानै नगर प्रवेश गर्ने १४ जनाको विदेशी पर्यटक टोलीलाई पनि भक्तपुर नपाले नगर प्रवेशद्वारमा स्वागत गरिएको थियो ।


    ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा नगर प्रवेश गरेका पहिलो दुई जना पर्यटकलाई लाखे प्याखं र जंगली प्याखंको प्रस्तुतीले समेत स्वागत गरिएको थियो ।


    सो अवसरमा नगर प्रमुख प्रजापतिले पर्यटक भनेका विश्व प्रचारक पनि हुन् भन्दै पर्यटक लक्षित गतिविधिमा भक्तपुर नपाले जोड दिंदै आएको बताउनुभयो । भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै विश्वकै हेर्न र घुम्न लायक आकर्षक गन्तव्यस्थलको रुपमा विकास गरी देश विदेशमा भक्तपुर आकर्षित गर्ने योजनाले काम गर्दै आइरहेको बताउनुभयो ।


    कार्यक्रममा भक्तपुर प्रवेश गर्ने अष्ट्रेलियाका रागबीर कालसी र फिनल्याण्डका ईलका रोईट्टोले नगरपालिकाको स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै नेपाल भ्रमणका क्रममा भक्तपुर घुम्न र यहाँका सम्पदाहरु अवलोकनबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
    वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, नगरको पर्यटन सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवालगायतले पर्यटकले भक्तपुरको अवलोकनपछि आ–आफ्नो देशमा भक्तपुर बारे सकारात्मक प्रचार गरिदिन आग्रह गर्नुभयो ।

  • पाँच दिने भक्तपुर महोत्सव हुने

    भक्तपुर, असोज १०
    आगामी मंसिर अन्तिम साता पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका मंसिर २८ गतेदेखी पुस २ गतेसम्म भक्तपुर महोत्सव हुन लागेको हो ।
    भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिमा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, बुद्धिजीवीहरु, संघ संस्था प्रमुखहरु र अन्य प्रतिष्ठित व्यक्ति रहने व्यवस्था छ ।
    महोत्सवलाई सफल बनाउन नगर प्रमुख प्रजापतिको संयोजकत्वमा प्रकाशन समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा स्वयम्सेवक तथा खेलकुद व्यवस्थापन समिति, वडाध्यक्ष हरिप्रसाद बासुकलाको अध्यक्षतामा खाना महोत्सव व्यवस्थापन तथा सहकारी संस्थाहरुसँग समन्वय समिति, वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा हस्तकला तथा जीवनशैली प्रदर्शनी व्यवस्थापन समिति गठन गरिएको छ ।
    यस्तै वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा निर्माण तथा मर्मत समिति, वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा खानेपानी तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा व्यापार मेला व्यवस्थापन समिति, वडाध्यक्ष कृष्णप्रसाद कोजुको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको संयोजकत्वमा नौका बिहार र दिपावली व्यवस्थापन समिति र कार्यपालिका सदस्य रोशनमैंया सुवालको संयोजकत्वमा बालमैत्री गतिविधि व्यवस्थापन समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।

  • कार्यबहाक प्रधानमन्त्री सिंह र नदिको मापदण्ड पिडित मध्यपुर थिमिका जग्गाधनीबीच भेटवार्ता

    भक्तपुर, असोज ९
    कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाण्डौं उपत्यकाको नदि किनारको दाँयाबाँया थप २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको आदेश प्रति सरकार गम्भिर रहेको बताउनुभएको छ । नदिको नयाँ मापदण्डबाट पिडित बनेका मध्यपुर थिमिका जग्गाधनी तथा किसानहरुसँग बुधवार भक्तपुरमा भेट गरी उहाँले सो बताउनुभएको हो ।
    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको पहलमा उहाँकै निवास सल्लाघारीमा भएको भेटमा सर्वोच्च अदालतले गत पुसमा नै पैmसला गरेपनि साउनमा मात्र पूर्णपाठ आएको बताउँदैं सिंहले सरकार गम्भिर बनेकै कारण सर्वोच्चमा उक्त आदेशको पुनरावलोकनका लागि निवेदन दिएको जानकारी गराउनुभयो ।


    उहाँले सर्वोच्चको आदेश कार्यान्वयन गर्दा देशको करिव ८ वर्षको पुँजीगत बजेट उपत्यकाका नदि किनारको घरजग्गा अधिग्रहणमा खर्च हुने भन्दै यो राज्यले पनि धान्न नसक्ने भएकोले पनि पुनरावलोकनमा जानु परेको स्पष्ट पार्नुभयो ।
    उहाँले शहरी विकास मनत्रालयले नै कार्यदल गठन गरेको र सोही कार्यदलको प्रतिवेदनका आधारमा आदेश पुनरावलोकनका लागि आवेदन दिएको बताउनुभयो ।
    भेटमा नदिको मापदण्ड पिडितको तर्फबाट दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको सहयोग समितिका संयोजक रहनुभएका नगदेशका स्थानीय विष्णुमान सायँ, हनुमन्ते करिडोर पिडित संघर्ष समितिका संयोजक ओमप्रकाश श्रेष्ठले पिडितहरुको धारणा राख्नुभएको थियो ।
    सो अवसरमा सांसद दुर्लभ थापाले सर्वोच्चको आदेशप्रति सरकार गम्भिर बनेकोले पुनरावलोकनमा गइसकेको अवस्था र अदालतमा विचाराधिन रहेको अवस्थामा सर्वोच्चको निर्णय धैर्यताका साथ पर्खन पिडितहरुलाई आग्रह गर्नुभयो ।

     

  • लोहकिल्थलीमा ‘पूर्ण राई एण्ड दाजुभाइ’ र कुमा सागरको कन्सर्ट हुने

    भक्तपुर, असोज ९
    बडादशैंको अवसर पारेर भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा सांगीतिक कन्सर्ट हुने भएको छ । असोज १८ गते ट्रिम्फ इभेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा कुमा सागर ख्वप, पूर्ण राई एण्ड दाजुभाइहरु, रक हेड र स्थानीय ब्यान्डले मनोरञ्जन प्रदान गर्नेछन् ।
    कार्यक्रम लोहकिल्थलीको क्लब मध्यपुरमा हुनेछ । मध्यपुर थिमिलाई चिनाउने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको आयोजक संस्थाका कृष डंगोलले जानकारी दिनुभयो ।
    कन्सर्टमा सहभागी हुन साधारणतर्फ ७०० रुपैयाँ र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट राखिएको छ ।

     

  • संविधानको भावना र मर्म विपरित संविधान संशोधन हुँदैन–का.वा.प्रधानमन्त्री सिंह

    भक्तपुर, असोज ९
    कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्म विपरित संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको बुधवार उद्घाटन गर्दै उहाँले आफैंले ल्याएको संविधानको मर्म र भावना विपरित कांग्रेस र एमाले नजाने स्पष्ट पार्नुभएको हो ।
    “हामीले प्रजातन्त्रको लागि धेरै लामो संघर्ष गरेका छौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नै अहिलेको व्यवस्था ल्याएको र संविधान पनि निर्माण गरेको हो,” उहाँले भन्नुभयो, “त्यसैले अहिलेको लोकतान्त्रिक संविधानको भावना र मर्म विपरित कांग्रेस एमाले जान सक्दैन ।”
    उहाँले देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउँदै त्यसैका लागि कांग्रेस एमाले मिलेर सरकार निर्माण गरेको बताउनुभयो । “गत निर्वाचनको परिणामले नौ÷नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति दिन थाले । नेपाल केही हुन्न भन्ने भाष्य निर्माण गर्न खाजे । त्यसैले राजनीतिक स्थितिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन कांग्रेस र एमालेको सरकार बनेको हो,” उहाँले भन्नुभयो ।


    उहाँले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दावी गर्नुभयो । उहाँले संसदमा लामो समय अडकिएको कानुनहरु पास हुन थालेको बताउँदैं बिस्तारै अर्थतन्त्र सुधारोन्मुख भएकोले लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
    उहाँले महोत्सव भइरहेको सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको जग्गा धेरैले धेरै प्रयोजनको लागि प्रस्ताव गरेको बताउँदैं यसमा स्थानीय राजनैतिक दल, स्थानीय सरकार, सरोकारवाला, नागरिक समाज सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय हुन सक्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीजि क्षेत्रलाई पनि अनुसन्धान गर्न सकिने गरी भ्रष्टाचार निवारण सम्बन्धी विधेयक आउनुले नीजि क्षेत्रलाई त्रसित बनाएको बताउनुभयो ।
    अन्तराष्ट्रिय चेम्बर्स अफ कमर्श नेपालका उपाध्यक्ष राजेन्द्र मल्लले देशको अर्थतन्त्रको बाह्य सूचांकका सकारात्मक भएपनि मुलुकभित्र आर्थिक गतिविधि सुस्त हुँदा लगानीको वातावरण बन्न नसकेको बताउनुभयो ।


    कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, सन्तोष परियार, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख उपअनुसन्धान निर्देशक टेकराज तिमिल्सिना, सशस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी दुवाकोटका सशस्त्र प्रहरी उपरिक्षक बासुदेव लोहनी, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतको उपस्थिती रहेको थियो ।
    सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकिय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरुको प्रवद्र्धन एवम् बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरेको बताउनुभयो ।
    असोज १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलगअलग स्टल व्यवस्था गरिएको छ । दशैको मुखमा आयोजना भएको महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै विशेष छुटको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।
    महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी एक सय ६० स्टलहरु रहेको महोत्सव व्यवस्थापक सगुन इभेन्ट म्यानेज्मेन्ट प्रा.लि.का अध्यक्ष संगम लामाले बताउनुभयो ।
    महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।
    महोत्सव अवधिभर करिब दुई लाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुले समेत लाभ लिने विश्वास गरिएको छ ।