Category: विविध

  • भक्तपुर महोत्सव–२०८१ मूल समारोह समितिको बैठक सम्पन्न

    भक्तपुर, कार्तिक ८
    भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक बिहिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको हो ।
    बैठकमा प्रमुख प्रजापतिले ‘भक्तपुर महोत्सव’ भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरका जनताको महोत्सव भएको बताउनुभयो । उहाँले आगामी २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको जानकारी गराउनुभयो ।


    भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गरिएको जानकारी दिँदैं उहाँले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।


    प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।


    भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँच दिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महोत्सवलाई २०७२ को महाभूकम्पले क्षती गरेका सम्पदा पुननिर्माण भइसकेको सन्देश विश्वव्यापी रुपमा दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सवपछि भक्तपुरमा रात्रीकालिन साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदैं पर्यटकहरु भक्तपुरमा बास बस्ने वातावरण तयार गर्नुपर्ने, हनुमन्ते सफाईमा नगरपालिकाले ध्यान दिनुपर्ने र महोत्सव अवधीमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।


    बैठकमा भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    बैठकमा उपस्थित विभिन्न समितिका सदस्यहरुले भक्तपुर महोत्सव सभ्य र भव्य रुपमा सफल पार्न आ–आप्mनो तर्पmबाट रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।

     

  • ‘माखायात ग्वंगः माः’ म्यूजिक भिडियो सार्वजनिक

    ललितपुर, कार्तिक ४ गते ।

    नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानबाट गाइएको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । बिहिबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा ललितपुरमा एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, वरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधर, कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन लगायतले नेपालभाषाको संगीत क्षेत्रको दायरा फराकिलो हुँदै गएको विचार राखे । सार्वजनिक गरिएको गीतको संगीत संयोजक हरिशरण सायमिले गीत र म्यूजिक भिडियो निर्माण पक्षको बारे जानकारी गराए । गायक महर्जनको मन्तव्य भने भिडियो सामग्रीमार्फत राखिएको थियो । कार्यक्रममा गीत एवम् म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ कलाकार श्रेष्ठले कलाकार र प्राविधिकहरुलाई सम्मान पत्र प्रदान गरे ।
    सोही कार्यक्रममा संगीतकर्मी हरिशरण सायमि, गायक सतिश महर्जन, यमन श्रेष्ठ, बानिका प्रधान लगायतले गीत र कलाकार कृष्णभक्त महर्जनले नृत्य प्रस्तुत गरेका थिए । सार्वजनिक भएको गीत ‘माखायात ग्वंगः माः’ का रचनाकार र संगीतकार पनि गायक महर्जन नै हुन् । किरण जोशी र आराध्यालक्ष्मी खड्गी अभिनित म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन् । छायाङ्कन र दृश्य सम्पादन शैलेस श्रेष्ठ लुभुले गरेका छन् । केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

  • कथिन दानोत्सवको दोश्रो दिन मणिमण्डप, कुटि विहार लगायत ११ स्थानका विहारहरुमा कथिन चीवर दान सम्पन्न

    सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
    कथिन चीवर दानको दोश्रो दिन आज ललितपुरको मणिमण्डप महाविहार, काठमाण्डौको कुटी विहारलगायत अन्य विहारहरुमा दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका छन् ।
    अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष एवं मणिमण्डप महाविहारका विहारप्रमुख अग्गमहासद्धम्मजोतिकधज भिक्षु शीलभद्र महास्थविर र भिक्षु गवेसको विनयपूर्वक ३ महिना वर्षावास बस्नुभई पूर्ण गर्नुभएको उपलक्ष्यमा उपासिका नूतन बज्राचार्य, निशा शाक्य बज्राचार्य, शोभा शाक्य परिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको छ ।


    ललितपुरको पट्कोस्थित उक्त विहारमा आज बिहान सम्पन्न सो कथिनोत्सवमा यसको महत्व एवं उद्देश्यबारे प्रकाश पार्नुहुँदै भिक्षु संकिच्च महास्थविरले महाअष्टकुशल पुण्यकार्य मध्ये पहिलो एवं श्रेष्ठ पुण्य कथिन पुण्यकार्य रहेको र यसबाट प्राप्त फल आनन्तरे कर्मबाहेक अन्य कुनैपनि कर्म वा शक्तिद्वारा रोक्न–छेक्न नसक्ने धर्मदेशना दिनुभयो ।
    कथिनको अर्थ एकदमै दरिलो, एकदमै बलियो एकदमै शक्तिशाली भएको बताउनुहुँदै उहाँले विनयलंकार टिकामा उल्लेख गरिए अनुसार कथिनको तीन प्रकारको अर्थ रहेको जसमा यसबाट प्राप्त हुने फल स्थिर हुने भन्नुभयो । साथै यसबाट पाँचवटा आनिशंस फल प्राप्त हुने बताउनुभयो ।
    भिक्षु शीलभद्र महास्थविरले उपस्थित उपासकोपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभई शुरु भएको उक्त उत्सवमा भिक्षु भद्दिय महास्थविरले सामूहिक बुद्धपुजा गराउनुभएको थियो । अ.ने भि. महासंघका अध्यक्ष फ्राखु बिसाल धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनुभएपछि दाता परिवारले भिक्षु महासंघलाई चीवर दान गरेका थिए । उहाँले नै अष्ट परिष्कारको पनि वाक्य वाचन गराउनुभएपछि दाताले अष्ट परिष्कार दान गनुभएको थियो ।

    साथै आजै दिउँसो काठमाण्डौको कोटेश्वरस्थित कुटी विहारमा भिक्षु रेवतो वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा कथिन दाता रमिता शाक्य, रत्नशोभा शाक्य र रोशनी शाक्यले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका थिए ।
    सो अवसरमा धर्मदेशना दिनुहुँदै भिक्षु कोण्डन्य महास्थविरले वर्षावासको इतिहास तथा कथिन चीवर दान शुरु भएको बुद्धकालिन घट्ना उल्लेख गर्नुहुँदै एकचोटी कथिन दान गरेका फलस्वरुप ३० महाकल्पसम्म पनि नरकीय लोकमा दुःख भोग्न नपरेको कुरा नागित भन्तेले भगवान बुद्धलाई बताउनुभएको कुरा सुनाउनुभयो ।
    सो कार्यक्रममा भिक्षु सुमेध महास्थविरले कथिनदानको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका थिए भने अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले अष्टपरिष्कारको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई अष्टपरिष्कार दान गरेका थिए ।

  • थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा सम्पन्न

    सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
    थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ र सो वर्षावासपछि उक्त विहरमा भिक्षु संघलाई दाता उपासकोपासिकाले कथिन चीवर दान गर्ने परम्परा रहेको छ । यो कथिन दान कोजाग्रत पूर्णिमाको भोलिदेखि सकिमिला पूर्णिमासम्म एक महिना (१) भित्रमा सम्पन्न गर्नुपर्दछ ।
    यही नियमानुसार हिजो कौलागा पारुका दिनदेखि देशभरका थेरवादी विहारहरुमा कथिन चीवर दान शुरु भएको छ । यसक्रममा हिजो ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा कथिन दान सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नुभएर पुरा गर्नुभएको उपलक्ष्यमा बुद्ध धर्म संघ जूम परिवारले उक्त दानको आयोजना गरेका हुन ।
    उक्त विहारका विहारप्रमुख भिक्षु धर्मगुप्त महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी कार्यक्रम शुभारम्भ गर्नुका साथै धर्मदेशना पनि गर्नुभएको थियो भने भिक्षु नन्द महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।
    उहाँले भिक्षुहरुले धारण गर्ने चीवरको रंग अरहत ध्वजाको प्रतीक, अनित्यताको स्वभाव प्रकट गरेको, आगोको प्रतीक, गाँठो नभएको – निग्रन्थ आदिको प्रतीक रहेको बताउनुहुँदै दानको महिमा, आनिशंसका बारेमा उहाँले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो ।
    सो कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई चीवर दान गरेका थिए । उहाँले नै अष्टपरिष्कारको वाक्य पनि वाचन गराउनुभएको थियो ।
    साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनुभएको थियो ।
    उक्त उत्सवमा ८९ जना अष्टपरिष्कारका दाताहरुले भिक्षु महासंघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
    कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
    थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।

  • स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ

    भक्तपुर, कार्तिक १
    भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई हुन ।
    उनलाई विशेष सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चौलागाईंले बोकेको झोलाबाट स्रोत नखुलेको नेपाली रुपैंया ८ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    नेउपानेका अनुसार चौलागाईंमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ‘क’ अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

  • मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)

    भक्तपुर, असोज २७
    पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा गरिएको हो ।


    दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको हो ।
    तत्कालिन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।


    जात्राको क्रममा बडादसैंको महानवमीमा तलेजु भवानीलाई बली चढाएको खःम्ये (राँगा)को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईएको थियो । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।


    जात्रामा खःम्येको टाउकोको साथमा हिकोँचा (रगत भरिएको घ्याम्पा) समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समूदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पुजा गरेर भेँडा बली दिएर भोज खाने परम्परा रहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


    जात्राका अवसरमा बालकुमारीमा भुईफसी (कुभिण्डो) मार हानेर बली दिईएको थियो । बली दिइएको भुईफसी प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई ‘भुईफसी पालेगु जात्रा’ पनि भनिन्छ ।


    मल्लकालिन समयमा तत्कालिन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा साँस्कृतिक जात्रा पर्वमा लाय्कू प्रमुखको उपस्थिती अनिवार्य मानिन्छ । लाय्कू प्रमुखलाई नायो पमाः र अन्य सहायकलाई पमाः भनिन्छ । लाय्कूको नायो पमाः नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल थिमि लायकूका नायो पमाःं श्यामकाजी पःमां श्रेष्ठ हुन् ।


    थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारिया प्रशासकको रुपमा र कुटु÷प्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे ।


    यसैगरी विजयादशमीको मध्यराती मध्यपुर थिमिको नगदेशमा खाँ पिहाँवइगु जात्रा मनाईएको थियो । नगदेशको लाय्कूबाट मध्यराती राजखड्गसहित हातहतियार प्रदर्शन गर्दै जात्रा मनाईएको थियो ।
    नगदेशको लाय्कूका नायो पमाःको नेतृत्वमा निस्किएको जात्राले सिद्धिगणेश परिसरमा कुभिण्डो (भुईफसी) मार हानेको थियो । जात्रामा सहभागीहरुले परम्परागत सेतो जामा लगाएका थिए ।
    जात्राको अवलोकनका लागि मध्यपुर थिमिमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, गुठी संस्थान भक्तपुरमा प्रमुख खिमा ओलीलगायतको सहभागिता रहेको थियो । उहाँहरुलाई स्थानीय समेत हनुभएका जिल्ला समन्वय समिति भक्तपुरमा उपप्रमुख सुजाता बादेर वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले स्वागत गर्नुभएको थियो ।

     

  • नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’

    भक्तपुर, असोज २५
    कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार समूदायले बलीसहित अस्त्रशस्त्र, ज्यावल, सवारी साधन र मेशनरी सामानको पुजा गरी शक्तिको आराधना गर्दै स्याक्वट्याक्व मनाएका हुन ।
    यस अवसरमा आज बिहानैदेखी भक्तपुरका विभिन्न धार्मिक तिर्थस्थल, शक्तिपिठ र टोलटोलका मठमन्दिरहरुमा भक्तजनको भिड लागेको थियो ।
    कौलाथ्व पारु अर्थात आश्विन शुक्ल प्रतिपदाको दिन नलास्वाँ (जमरा) राखेपछि शुरु हुने मोहनी नखःको महत्वपूर्ण र प्रमुख दिन हो महानवमी अर्थात स्याक्वट्याक्व । स्याक्वट्याक्व मनाउनु अघि महाअष्टमीको रातीलाई कालरात्रीको रुपमा मनाएका थिए । यस अवसरमा शक्तिपिठहरुमा बली पुजा गरेका थिए ।


    यसवर्ष पञ्चाङ्गको पात्रो अनुसार महाअष्टमी र महानवमी आज एकै दिन परेको थियो । तर नेवार समूदायले महाअष्टमीको दिन बिहान दशैंको मासु भित्र्याई साँभल कुछि भ्वय् खानुपर्ने, राती कालरात्री मनाउनुका साथै महानवमीको दिन बलीसहितको पुजा गरी स्वाक्वट्याक्व मनाउनु पर्ने भएकाले भक्तपुरमा एक दिन अगाडि अर्थात हिजो नै महाअष्टमी बनाएका थिए ।
    कालरात्रीमा शक्तिपिठहरुमा राँगा, हाँस, कुखुरा, बोकालगायतका पशुपन्छीहरुको बली दिएर भगवतीको आराधना गरेपछि घरघरमा स्याक्वट्याक्वको रुपमा मोहनी नखः मनाउने प्रचलन रहेको छ । जसअनुसार नेवार समूदायले यसदिन बिहानै गणेशको पुजाबाट मोहनी नखःको पुजा शुरु गर्ने प्रचलन रहेको छ ।


    त्यसपछि आफ्ना ईष्टदेव, टोलछिमेकका विभिन्न देवीदेवताहरुको पुजा सम्पन्न गरेपछि घरघरमा भिमसेन, नवदुर्गा भगवती, ज्यावल, अस्त्रशस्त्र, औजार, मेसिन, सवारीसाधनमा पुजा गरी बली दिईन्छ । ज्यावल, अस्त्रशस्त्र, औजार, मेसिन, सवारीसाधनमा पुजा गरी बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ ।
    यसरी पुजा गर्नेक्रममा एक विशेष प्रकारको कालो टिकाको रुपमा मोहनी राख्ने गरिन्छ । तान्त्रिक विधिद्धारा पुजा गरी तयार गर्ने मोहनी सिन्ह (टिका)कै कारण यसपर्वलाई मोहनी नखः भनिएको सँस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।
    मोहनी नखःमा नेवार समूदायले विशेष खालको कालो टिका तयार गर्दछन । यही टिकालाई मोहनी भनिन्छ । दशैंमा तान्त्रिक विधिद्धारा पुजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ, त्यस दियो माथी सली घोप्टो पारेर राखिन्छ । सली माथी पुजा गरिन्छ । यसरी सलीको भित्रि भागमा दियोको ध्वाँसो जम्मा गरेर तयार गरिने टिका नै मोहनी सिन्ह हो । यस टिकालाई पहिले तान्त्रिक विधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।
    “सली (माटाका सानो प्याला) दियोको ध्वाँसो जम्मा गरेर तयार पारिएको एक प्रकारको टीकालाई नेपाल भाषामा मोहनी सिन्ह भनिन्छ । मोहनी सिन्ह अरू पूजामा पनि तयार पार्ने गरिएको छ,” सँस्कृतिकर्मी धौभडेलले भन्नुभयो ।


    मोहनी सिन्ह अत्यन्तै महत्वपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन छ । यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने, भुतप्रेत, पिचासले छुन नसक्ने र शत्रु नाश हुने विश्वास छ । मोहनी सिन्हनै वास्तवमा शक्तिको प्रतीक हो ।
    मोहनी नखःमा नेवार समूदायले विशेषगरी तुलजा भवानीको पुजा गरिन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंह देव मुसलमानहरुको आक्रमण झेल्न नसकेपछि भागेर नेपाल मण्डल प्रवेश गरे । उनले आफ्ना इष्टदेवी तुलजा भवानीलाई पनि साथै ल्याए । उनले ती तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो । भक्तपुरपछि क्रमशः काठमाण्डौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर निर्माण गरिएका छन् ।
    मोहनी नखःको सम्बन्ध अर्को ठूलो पर्व स्वन्ती नखः (तिहार)सँग पनि रहेको छ । मोहनी नखःको दिन नवदुर्गा भवानीलाई चढाएको बली दिइएको पशुपन्छीको एक टुक्रा मासु लक्ष्मीको भाग भनी अलग्गै छुट्याइएको हुन्छ । त्यो मासुको टुक्रालाई खंला भनिन्छ । लक्ष्मीपूजाका दिन त्यही खंला चढाएर लक्ष्मीको पूजा गरिन्छ ।

     

  • नेवार समूदायले आजै मनाए महाअष्टमी

    भक्तपुर, असोज २४
    भक्तपुरका नेवार समूदायले आज (बिहिवार) मोहनी नखः अर्थात बडादशैंको महाअष्टमी पर्व मनाएका छन । पञ्चाङ्गको पात्रो अनुसार भोली शुक्रवार महाअष्टमी भएता पनि नेवार समूदायले आजै मनाएका हुन ।
    तिथि मितिमा घटबढ भएका कारण महानवमी पनि भोली शुक्रवार एकै दिन परेको छ । नेवार समूदायले महाअष्टमीको राती कुछि भ्वय् खाई कालरात्री पुजा गर्नुपर्ने र महानवमीको दिन हातहतियार, कृषि औजार, मेसिनरी सामानमा बली पुजा गरी स्याक्वट्याक्व मनाउनु पर्ने भएकाले भक्तपुरको तलेजुका मुल पुजारी र ज्यातिषविज्ञहरुले तिथि गणना गरी आज महाअष्टमी र भोली महानवमी मनाउने निर्णय गरेको थियो । सो निर्णय बमोजिम नेवार समूदायले आजै महाअष्टमी मनाएका हुन ।
    महाअष्टमीको दिन नेवार समूदायले बिहान विधिवतरुपमा दशैंको मासु भित्र्याएर राती कुछी भ्वय खाई महाअष्टमी पर्व मनाउँछन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार अष्टमीको बिहान दशैंको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मुलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।
    विशेष गरेर महाअष्टमीलाई कुछि भ्वय्, महानवमीलाई स्याक्वट्याक्व नखः र विजयादशमीलाई चाँलको रुपमा भवानीको प्रसाद ग्रहण र टिकासँगै नेवार समूदायले मोहनी नखः मनाईन्छ ।
    आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात जमरा राखेर नेवार समुदायले मोहनी नखःको शुरुवात गर्दछन भने अष्टमीको दिन कुछि भ्वय् खाँदै मोहनी नखःको भोजको शुरुवात गर्दछन ।
    वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखः मनाउन घर परिवारदेखी टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेहरु समेत घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाईहरु पनि घरका जेष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखः मनाउने गर्दछ ।
    विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समूदायमा अष्टमीको दिन खाने कुछी भ्वय्को विशेष महत्व रहेको छ । यसको परिकार समेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ ।
    कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला (पोलेको मासु) पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउनुभयो । कुछी भ्वय्मा फलफुलमा अम्बा र केरा अनिर्वाय मानिन्छ ।
    कुछि भ्वय् खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । थापिँचा स्वने बेला माटोको सानो घैंटोलाई सलिँचाले घैंटोलाई छोप्ने र त्यसमाथि राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादको रुपमा खाईन्छ । यो प्रसाद खाँदा पेट सम्बन्धी विकार हट्ने विश्वास रहेको छ ।
    आफन्तको मृत्यु भएर जुठो परेपनि कुछी भ्वय् खानु पर्ने मान्यता केही नेवार समूदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । नयाँ बुहारी ल्याएको घरमा दाजुभाईलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई कुछि भ्वय्मा सहभागी नगराउने प्रचलन समेत रहेको छ ।
    नेवार समूदायमा कुछि भ्वय्को सन्दर्भमा दुई वटा भनाई प्रचलनमा रहेको छ । एकथरी भनाई अनुसार कुछिको अर्थ दुई माना हो भने भ्वय्को अर्थ भोज हो । दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाई रहेको छ भने अर्को थरी संस्कृतीकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाई रहेको छ ।

     

  • सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग

    भक्तपुर, असोज २३
    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी–पहिरो पिडितलाई मंगलवार खाद्यान्न सहयोग गरेको हो ।
    थापाको सचिवालय मार्फत उक्त खाद्यान्न सहयोग गरेको हो । बडादशैंको मुखमा गत असोज १० गते रातीदेखी परेको अविरल वर्षाका कारण सूर्यविनायक नगरपालिकाको ८, ९ र १० मा बाढी पहिरोले ५ जनाको मृत्यु हुनुका साथै ठूलो क्षती गरेको थियो ।


    थापाका स्वकीय सचिव शुभाशिष ढकाल अनुसार चामल, दाल, नुन, तेल, मसला लगायतका खाद्य सामाग्री वितरण गरिएको हो । ढकालले वास्तविक पिडित पहिचान गरी खाद्यान्न सामाग्री वितरण गरिएको बताउनुभयो । बडादशैंको मुखमा बाढी–पहिरोले आहत भएका पिडित परिवारलाई खाद्यान्न सहयोगले पिडामा मलहम लगाएको अनुभुती भएको उहाँले बताउनुभयो ।
    खाद्यान्न वितरणका लागि थापाका स्वकीय सचिव ढकाल, नेपाली कांग्रेस प्रदेश सभा सभापति एवम् सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाअध्यक्ष प्रदिप कार्की, वडा नं. ९ का वडाअध्यक्ष भगवान केसी, नेपाली कांग्रेस सूर्यविनायक नगर सचिव विश्वराम थापालगायतको सहभागिता रहेको थियो ।

     

  • बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती

    भक्तपुर, असोज २१
    बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार असोज २४ गते फुलपाती मनाईने उल्लेख भएतापनि भक्तपुरमा एक दिन अघि नै फुलपाती मनाईन लागेको हो ।
    कुनै चाडपर्व मनाउने क्रममा तिथिमिति विवाद उत्पन्न भए भक्तपुरमा तलेजुका मूल पुजारी र आचाजुहरुको निर्णय अनुसार चाडपर्व मनाउने परम्परा रहेको छ । सो अनुसार यसवर्ष असोज २५ गते शुक्रवार एकै दिन महाअष्टमी र महानवमी दुई वटा पर्व मनाउनु पर्ने तिथि परेकोले सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका मूलपुजारी र सरोकारवालाहरुको बैठक बसी असोज २३ गते नै फुलपाती मनाउने निर्णय गरेको हो ।
    बैठकले २०८१ आश्विन २३ गते बुधबार विहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुँदा सोही दिन फुलपाती मनाउने, आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुँदा अष्टमी पूजा गरी कुछि (कुलछि) भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुँदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार चालँ (विजया दशमी) पूजा गर्ने निर्णय गरेको हो
    बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुका पुजारीहरू प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
    सोही क्रममा भक्तपुर नगरपालिकाले स्थानीय पुजारीहरुको सल्लाहअनुसार असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


    यसैबीच मध्यपुर थिमिमा पनि असोज २३ गते फुलपाती मनाउन आग्रह गरिएको छ । थिमिको लाय्कूस्थित तलेजुमा नायो पमा श्यामकृष्ण श्रेष्ठले बडादशैंको तिथि गणना अनुसार २३ गते नै फुपाती मनाउन आग्रह गर्नुभएको हो ।
    उहाँले पनि असोज २४ गते महाअष्टमी, २५ गते महानवमी र २६ गते विजयादशमी मनाउन आग्रह गर्नुभएको हो ।
    यस्तै मध्यपुर थिमिको बोदेस्थित लाय्कूका नायो पमा माइला भासिंकले पनि असोज २३ गते फुलपाती, असोज २४ गते महाअष्टमी, २५ गते महानवमी र २६ गते विजयादशमी मनाउन आग्रह गर्नुभएको छ ।