Category: विविध

  • माझखण्ड बुद्ध (धातुचैत्य) विहारमा चौथो पटक कथिन चीवर दान सम्पन्न

    सुनीता तुलाधर, कार्तिक २१ गते, ललितपुर ।
    माझखण्ड बुद्ध विहारमा हिजो कथिन चीवर दान सम्पन्न भएको छ । भिक्षु धर्मरत्न र भिक्षु संघरत्नले पहिलो वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा कथिन दाता थाइल्याण्डका अनोङनार्ट चुएर्चन–एड, सुंगवान प्लिकामिन र नेपालका सानुलाल अवाले तथा सृजना बज्राचार्य एवं परिवारले भिक्षु महासंघलाई चीवर दान गरेका छन् ।
    ललितपुरको बागमती गाउँपालिका अन्तर्गत माझखण्डको स्थानीय क्षेत्रमा बिहानै भिक्षुगण, अनागारिका गुरुमाहरु लगायत श्रद्धालु उपासकउपासिकाहरुले कथिन चीवर शोभायात्रा गरी विहारमा पुगेपछि कार्यक्रमको औपचारिक शुरुवात भएको थियो ।
    मन, वचन र कर्म शुद्ध गर्न उपासकउपासिकाहरुले पञ्चशील प्रार्थना गरेका थिए । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले पञ्चशील प्रदान गनुभएको थियो भने भिक्षु राहुल महास्थविरले बुद्धपुजा गराउनु भएको थियो ।
    कथिन चीवर दानको महत्व र आनिशंसबारे धर्मदेशना दिनुहुँदै भिक्षु कोण्डन्य महास्थविरले “जस्तो फल रोपिन्छ, त्यस्तै फल प्राप्त हुन्छ” भन्नुभयो ।
    यादिसं वपते बीजं, तादिसं हरते फलं ।
    कल्याणकारी कल्याणं, पापकारी च पापकं ।।
    माझखण्ड जस्तो विकट पहाडी क्षेत्रमा प्रथम पटक आउँदा जिब्रो टोक्दै आएको र भोलि कसरी फर्कने भन्ने तर्कनाले राती राम्ररी सुत्न समेत नसकेको तर भोलि बिहान त्यहाँको रमणीय मनमोहक दृश्यले यो सबै डर बिर्साएको स्मरण गर्नुहुँदै उहाँले भिक्षु बोधिज्ञान महास्थविरको उक्त प्रथम वर्षावासमा माझखण्ड बुद्ध विहारका साथै माझखण्डलाई समेत विकास गर्न बोधिज्ञान भन्तेले एकपटक मात्रै नभई तिनपटक अर्थात ह्याट्रिक वर्षावास बस्नुपर्ने बताएको र बोधिज्ञान भन्तेले तीनपटक नै वर्षावास बस्नु भई विहारका साथै माझखण्डलाई नै राम्रो परिवर्तन गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
    यसपटक चौथोचोटी पनि आफूले नै उपदेश दिन पाएकोमा बोधिज्ञान भन्तेप्रति अनुग्रहीत भएको बताउनुहुँदै उहाँले वर्षावासको समयमा एकठाउँमा बस्ने, धर्मको अभ्यास गर्ने, धार्मिक चर्यालाई निरन्तरता दिने, श्रद्धालु उपासकउपासिकाहरुको भावनालाई कदर गर्ने, धार्मिक जीवनयापनमा सहजीकरण गर्ने जुन भगवान बुद्धले विनय बनाउनुभएको छ, त्यसलाई हालसम्म पनि विश्वभरका भिक्षुहरुले निरन्तरता दिइरहेको भन्नुभयो ।
    सो कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले माझखण्डमा बाटोको स्तरोन्नती कार्य गरीरहेको र अबको बाँकी २ वर्षको कार्यकालमा पनि माझखण्ड र माझखण्ड बुद्ध विहारलाई सहयोग गर्न तत्पर रहेको तथा यसका लागि विहारका निम्ति आवश्यक सहयोगको योजना बनाई गाउँपालिकामा बुझाउन हुन अनुरोध गर्नुभयो ।
    कार्यक्रममा थाई कथिनदाताहरुले आफ्नो चलन अनुसार दाताहरुद्वारा नै कथिन वाक्य वाचन गरी भिक्षु महासंघलाई कथिन चीवर दान गरेका थिए ।
    भिक्षु धर्मगुप्त महास्थविरले अष्ट परिष्कारको वाक्य वाचन गराउनुभएपछि ६३ जना दाताहरुले भिक्षु महासंघलाई अष्ट परिष्कार दान गरेका थिए । अन्तमा सो विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले पुण्यानुमोदन गराउनु भएपछि उपस्थित श्रद्धालु उपासकउपासिकाहरुले भिक्षुगण र अनागारिका गुरुमाहरुलाई दान प्रदान गरेका थिए ।

    कार्यक्रममा उक्त विहारमा यस वर्ष वर्षावास बस्नुभएका भिक्षु धर्मरत्नले वर्षावासको अनुभव सुनाउनुहुँदै सहयोग गर्नुहुने सम्पूर्णलाई साधुवाद दिनुभएको थियो भने स्वागत मन्तव्य विहारका अध्यक्ष चन्द्रबहादुर स्याङताङ्गले दिनुभएको थियो । अनागारिका पवरञाणीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
    असार पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म तीन महिना थेरवाद भिक्षुहरु वर्षावास बस्ने र त्यसको सकिमिला पूर्णिमासम्म एकभित्र एकचोटि वर्षावास बसेको विहारमा कथिन चीवर दान गर्ने विनय–नियम रहेको छ ।

  • पैदलयात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल पक्राउ

    भक्तपुर, कार्तिक २१
    भक्तपुरको सल्लाघारी चोकमा मंगलवार पैदलयात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालकलाई प्रहरीले आज बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापाती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बस्ने २६ वर्षिय दिपक मानन्धर हुन ।
    मानन्धरले चलाएको बागमती प्र.०२–०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले मंगलवार दिउँसो सल्लाघारी चोकमा बाटो पार गर्दै गरेकी भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछें घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने ६९ वर्षिया बिमला प्रधानाङ्गलाई ठक्कर दिएको थियो ।
    ठक्करबाट गम्भिर घाईते भएकी प्रधानाङ्गको उद्धार नगरी मानन्धर फरार भएको थियो । स्थानीय र प्रहरीले घाईते प्रधानाङ्गलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा उनको बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक मानन्धरलाई नियन्त्रणमा लिएर थप कारवाही अघि बढाएको प्रनाउ नेउपानेले बताउनुभयो ।

     

  • चक्रपाणि राष्ट्रव्यापी कथा प्रतियोगितामा जाजरकोटका जोशी प्रथम

    भक्तपुर, कार्तिक २०
    राष्ट्रव्यापी कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज जोशी प्रथम हुनुभएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले आयोजित उक्त प्रतियोगितामा जोशीको ‘सन्तानको फोटो’ कथा प्रथम भएको हो ।
    जोशीलाई प्रतिष्ठानले मंगलवार भक्तपुरको कटुञ्जेस्थित चक्रपाणि चालिसेको प्रतिमास्थलमा आयोजित कार्यक्रममा नगद ३० हजारसहित पुरस्कृत गरे ।
    जोशीको कथा सन्तानको फोटोमा संसारभरि बढीरहेको बुढ्यौली, निर्जन बन्दै गएको गाउँबस्ती र बौद्धिक पलायनले जर्जर नेपालको जीवन्त कथा बोकेको प्रतिष्ठानका सदस्य सचिव एवम् कथा प्रतियोगिताका प्रधान सम्पादक रामगोपाल आशुतोषले बताउनुभयो ।


    प्रतियोगितामा मनीषकुमार शर्मा ‘समित’ दोस्रो हुनुभयो । उहाँको बालमनोविज्ञानमा आधारित कथा ‘मैले नभित्राएको बुहारी’ले दोस्रो स्थान प्राप्त गरेको हो । उक्त कथामा ढिलो स्वास्थ्य उपचारका कारण गम्भिर बिरामी भएकी एक बालिकाको परम्परागत उपचार वा धामीझाँक्रीको चक्करमा मृत्यु भएको घटनालाई कथाको रुपमा प्रस्तुत गरेको छ । कथाकार समितले नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
    यसैगरी रुपक अलंकार तेस्रो हुनुभयो । उहाँको ‘बङ्गाली बाबा’ कथाले तेस्रो पुरस्कार प्राप्त गरेको हो । बङ्गाली बाबामा साधुसन्यासीको भूत र वर्तमानको रोचक कथावस्तु समेटेको छ । कथाकार अलंकारले नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।


    प्रतियोगितामा कथाकार प्रकाश नेपाली र अनिता पन्थीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रकाशको ‘मेलम्ची कहिले सुक्छ सरकार ?’ र अनिताको ‘जुगुम्सा’ले सान्त्वना पुरस्कार जितेको हो । दुवै जनाले प्रोत्साहनस्वरुप जनही ५÷५ हजार रुपैंया पुरस्कार प्राप्त गर्नुभयो ।
    प्रतियोगितामा पुरस्कृत कथाकारहरुलाई जोशीलाई वरिष्ठ साहित्यकार, प्रसिद्ध लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, जलस्रोत, सीमा एवम् प्रशासन विद, पुर्वसचिव द्धारिकानाथ ढुंगेल, प्रतिष्ठानका अध्यक्ष राममणी ढुंगेललगायतले पुरस्कृत गर्नुभएको थियो ।


    सो अवसरमा प्रतियोगितामा सहभागी कथा मध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथा संग्रह ‘साहित्य वार्षिक चक्रपाणि’ लोकार्पण गरिएको थियो ।
    यस्तै प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार–२०८१ द्धारा वरिष्ठ साहित्यकार, प्रसिद्ध लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद २० हजारसहित सम्मान गरेको थियो ।


    सो कार्यक्रममा प्रतिष्ठानले सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित सार्वजनिक र नीजि स्रोतबाट सञ्चालित विद्यालयमा अध्ययन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा नेपाली विषयमा सर्वाधिक अंक ल्याउन एक छात्र र एक छात्रालाई नगद ५ हजारसहित वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० बाट पुरस्कृत गरिएको थियो ।
    वरिष्ठ साहित्यकार बैजनाथ चालिसेले आफु र आफ्ना धर्मपत्नी शुभद्रा चालिसेको नाममा स्थापना गरेको सो पुरस्कार प्राप्त गर्ने छात्र कटुञ्जेस्थित युनिटी इङ्गलिस स्कुलका आशिष थापा हुन भने छात्रामा दधिकोटस्थित मोर्डन स्कुलका समिरा माकजू रहेका छन । कार्यक्रममा १० जना कवि एवम् कवियत्रीहरुले आ–आफ्नो कविता वाचन गरेका थिए ।

     

  • वरिष्ठ साहित्यकार, लेखक एवम् समालोचक प्रा.डा. भट्टराई भक्तपुरमा सम्मानित

    भक्तपुर, कार्तिक २०
    वरिष्ठ साहित्यकार, प्रसिद्ध लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणी स्मारक प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार–२०८१ ले सम्मान गरेको हो ।
    प्रतिष्ठानले चक्रपाणी चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणीको प्रतिमास्थलमा आयोजित कार्यक्रममा जलस्रोत, सीमा एवम् प्रशासन विद, पुर्वसचिव द्धारिकानाथ ढुंगेलले सम्मान गर्नुभएको हो ।
    कार्यक्रममा ढुंगेलले नेपाली साहित्य पनि विश्वस्तरको भएको बताउँदैं साहित्यमा रविन्द्रनाथ टेगोरले नोवेल पुरस्कार जिते जस्तै नेपाली साहित्यकारले पनि जित्ने अपेक्षा राख्नुभयो । उहाँले अहिलेका नयाँ कथाकारहरुले पुराना कथाहरुको अध्ययन गरेर त्यस्तै उत्कृष्ट कथा नेपाली साहित्यलाई दिनुपर्ने सुझाव समेत दिनुभयो ।
    सो अवसरमा वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा. डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्दै भट्टराईले नेपाली साहित्यलाई विश्वसामू चिनाउन अहम भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
    कार्यक्रममा सम्मानित व्यक्तित्व भट्टराईले चक्रपाणी स्मरण सम्मानले आफुले जीवनमा नेपाली साहित्यमा केही योगदान गरेको अनुभती भएको प्रतिक्रिया दिनुभएको थियो ।
    सो कार्यक्रममा प्रतिष्ठानले सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित सार्वजनिक र नीजि स्रोतबाट सञ्चालित विद्यालयमा अध्ययन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा नेपाली विषयमा सर्वाधिक अंक ल्याउन एक छात्र र एक छात्रालाई नगद ५ हजारसहित वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० बाट पुरस्कृत गरिएको थियो ।
    वरिष्ठ साहित्यकार बैजनाथ चालिसेले आफु र आफ्ना धर्मपत्नी शुभद्रा चालिसेको नाममा स्थापना गरेको सो पुरस्कार प्राप्त गर्ने छात्र कटुञ्जेस्थित युनिटी इङ्गलिस स्कुलका आशिष थापा हुन भने छात्रामा दधिकोटस्थित मोर्डन स्कुलका समिरा माकजू रहेका छन ।
    कार्यक्रममा १० जना कवि एवम् कवियत्रीहरुले आ–आफ्नो कविता वाचन गरेका थिए । साथै प्रतिष्ठानले आयोजित राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्ने कथाकारहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । साथै कथा प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथासंग्रह ‘साहित्य वार्षिक चक्रपाणि’को लोकर्पण समेत गरिएको थियो ।

     

  • भाषा, संस्कृति, कला र सम्पदाहरु सबै मिलेर संरक्षण गर्नुपर्छ – प्रधानमन्त्री ओली

    भक्तपुर, कार्तिक १७
    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको भाषा, संस्कृति, कला र सम्पदाहरु सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नेपाल संवत ११४५ को अवसरमा शनिवार शंखधर साख्वाः प्रतिष्ठानले मध्यपुर थिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रर्वतक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले भाषा संस्कृति, सभ्यतालाई जोगाउने दायित्व सबैको भएको बताउँदैं व्यक्तिगत र प्रधानमन्त्री दुबै हैसियतमा आफू सधैं तत्पर रहने बताउनुभएको हो ।


    उहाँले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने बताउँदैं प्रतिष्ठानका केही मागहरु जायज नै रहेको र राज्यको क्षमता अनुसार तिनलाई क्रमशः पुरा गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
    प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पुरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, अन्य मैथली, भोजपुरी भाषाजस्तै यसलाई पनि ऐच्छिक विषयको रुपमा पाठ्यक्रमा समावेश गर्न प्रबन्ध गर्न सकिन्छ ।”


    उहाँले नेपाल भाषाको संरक्षणका लागि बिभिन्न ढंगले प्रयास गरिरहेको बताउदै गत आश्विन ३० गते मात्रै सरकारले नेपाल भाषामा समाचार रासस, नेपाल टेलिभिजन, रेडियोबाट प्रशारण गरेर नयाँ सुरुवात गरेको बताउनुभयो ।
    भक्तपुरलाई जिवित सग्रहालयको रुपमा लिएको बताउदै प्रधामन्त्री ओलीले भन्नुभयो, “भक्तपुर एउटा जिउँदो संग्रहालय हो, यहाँका ऐतिहासिक कला, संस्कृति, सम्पदालगायतका यहाँका संस्कृतिलाई जिवित राख्ने र फैलाउनु पर्छ, त्यसमा तीन तहकै सरकारले काम गर्छ ।”


    उहाँले जेलमा हुँदा नेपाल संवत, नेवारी बाध्यवाधन, नेवारी सभ्यता, संस्कृति कला साहित्य बारे बुझ्ने मौका पाएको चर्चा गर्दै यसमा आफ्नोपन, मौलिकता र बिशेषता रहेको बताउनुभयो ।
    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले शंखधर साख्वाःले त्यतिबेलानै देशभक्ति र राष्ट्रियताको दर्शन, सत्कर्म, परोपरकारको दर्शन र लोकतान्त्रिक समाजवादीको दर्शन एवं सामाजिक न्याय र भातृत्व एकताको सन्देश दिएको बताउनुभयो । सरकारका तीनवटै तहले राष्ट्रिय बिभूति शंखधर साख्वाको योगदानलाई देशभरी फैलाउन सरकार तत्पराताका साथ लागिपर्ने बताउनुभयो ।


    कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले नगरपालिकाल यहाँको ऐतिहासिक कला, संस्कृति, पहिचानलाइ विश्वभर फैलाउन नगरपालिकाले पुसमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको बताउनुभयो ।
    प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्वत ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गरेपनि अझै धेरै उपलब्धीहरु हासिल गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीले ओलीले साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्नुभयो भने शंखधर बुलेटिन बिमोचन गर्नुका साथै ल्याम्हः पुच बुलेटिन पनि बिमोचन गर्नुभयो ।
    त्यसअवसरमा प्रधानमन्त्री ओलीले मध्पुर थिमिमा ६३ वर्ष पुरानो संस्था न्ह्यज्याः खलः थिमि र नेपाल सम्बतका अभियन्ता, भाषा आयोगका सदस्य एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरलाई शंखधर सम्मान प्रदान गर्नुभयो ।

     

     

  • मर्यादित रुपमा देउसी भैलो खेल्न प्रशासनको आग्रह

    भक्तपुर, कार्तिक १५
    जिल्ला प्रशासन कार्यालय भक्तपुरले मर्यादित रुपमा देउसी भैलो खेल्न आग्रह गरेको छ । प्रशासनले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै तिहारको अवसरमा खेलिने देउसी तथा भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरेको हो ।
    सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षाको भरपर्दो व्यवस्था मिलाईएकाले मौलिक परम्परा, संस्कृति र प्रचलित कानूनको पालना गरी भयरहित वातावरणमा निर्धक्क भई पारस्परिक सदभाव, एकता र मित्रता सुदृढ गर्दै हर्षोल्लासपूर्ण रुपमा चाडपर्व मनाउन समेत आग्रह गरेको छ ।
    विज्ञप्तीमा चाडपर्वको नाममा जथाभावी होहल्ला एवम् झैं झगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने÷खेलाउने, भुईचम्पा, पटाका, आतसबाजी जस्ता जोखिम निम्त्याउने र वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्जवलनशिल प्रदार्थको ओसारपसार, बिक्रि वितरण गर्ने र शान्ति सुरक्षामा नकारात्मक पुग्ने कार्यहरु नगर्न÷नगराउन हुन आग्रह गरिएको छ ।
    प्रशासनले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैं झगडा गरी शान्ति सुरक्षालाई नकारात्मक असर गर्ने गतिविधिहरु, बजारमा माल वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने तथा उपभोक्ता हकहित विपरित कार्य गर्ने कार्यहरु, जुवातास, लङ्गुरबुर्जा जस्ता रुपैंया हारजित हुने कानून विपरितका खेल खेल्ने वा खेलाउने कार्यहरु भए नजिकको प्रहरी कार्यालय जानकारी गराउन समेत आग्रह गरेको छ ।

     

  • देउसी भैलो रनिङ्ग शिल्डमा सरस्वती मावि प्रथम

    भक्तपुर, कार्तिक १४
    भक्तपुर नगरपालिका–१०, मूलढोकास्थित ईष्ट प्वाइण्ट एकेडेमीले मंगलवार आयोजना गरेको जिल्लाव्यापी देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगितामा सरस्वती माध्यामिक विद्यालय प्रथम भएको छ ।
    प्रतियोगितामा महेन्द्र विद्याश्रम दोस्रो, एड्भान्स एकेडेमी तेस्रो र विनायक शिक्षा निकेतन र जनप्रेमी उच्च माविले सान्त्वना स्थान हासिल गरेका छन ।


    प्रतियोगितामा भक्तपुरका ११ वटा विद्यालयको सहभागिता रहेको आयोजक ईष्ट प्वाइण्टका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ईष्ट प्वाइण्टले वि. सं. २०६५ सालदेखी देउसी भैलो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
    मौलिक कला संस्कृतिको जगेर्ना गर्ने र बालबालिकाहरुलाई नेपालको मौलिक संस्कृतिका बारेमा परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको उहाँले बताउनुभयो ।


    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताउनुभयो ।
    कार्यक्रममा बाजुरा जिल्लाका न्यायाधीस लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म संस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गर्नुभयो ।

     

  • श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा संस्मरण – १

    शाक्य रत्न, काठमाण्डौ, कार्तिक १४ ।
    भोजपुर जिल्लाको नाम म करिब १२ वर्षको हुँदा नै मेरो मानसपटलमा बसेको थियो । यसको कारण भोजपुरबाट त्यतिबेला मेरै नाम गरेका अर्थात संघ रत्न शाक्य भन्ने एक युवा (हाल दिवंगत भैसक्नुभयो) हाम्रो घरको छिंडी (भुईं तला) मा पसल खोल्ने र बास बस्ने गरी बस्नु भएको थियो । करिब ५२ वर्ष अघि वहाँ भोजपुरको त्यस समयको प्रख्यात स्थान टक्सारबाट काठमाडौंमा पढ्ने र व्यवसाय गर्ने उद्देश्य लिएर आउनु भएको थियो र संयोगबस हामीहरुको घरमा भाडामा बस्नु भएको थियो ।
    यसैगरी, केही समयअघि बौद्ध ऋषि महाप्रज्ञाले आफ्नो जीवनीको बारेमा लेख्नु भएको पुस्तकमा पनि भोजपुरको बारेमा पढ्ने र जानकारी लिने मौका पाईयो । वहाँको किताबमा भोजपुरको बारे गरिएको वर्णन पढेर भोजपुर त्यतिबेला अति नै विकट पहाडी जिल्ला जहाँ यातायातको व्यवस्था थिएन भन्ने भौगोलिक अवस्थाको जानकारीका साथै बौद्ध इतिहासमा सबैभन्दा पहिला वि.सं. १९९३ सालमा थेरवादी शाक्यमुनि विहारको स्थापना हुनुका साथै बुद्ध जयन्तीको पावन अवसरमा बुद्ध प्रतिमाको रथ यात्रा सहित भव्यरुपमा बुद्ध जयन्ती मनाइएको जानकारी पाइयो । तथा सोही विहार स्थापना एवं बुद्ध धर्म र शिक्षा प्रचारप्रसार गरेको अभियोगमा जहाँनिया राणा शासनले नेपालको बौद्ध इतिहास कै कालो पन्नाको रुपमा वहाँ तथा वहाँको चेला त्यतिबेला श्रामणेर अमृतानन्दलाई भोजपुरकोे जेलमा कैद गरिएको नमिठो जानकारी पनि पाईयो ।
    यी कुराहरुको कारण मेरो मनमा भोजपुर वास्तवमा कस्तो ठाउँ रहेछ अनि त्यहाँका मानिसहरु कस्ता रहेछन् भन्ने उत्सुकता रहन गयो । र यो उत्सुकता मेट्ने अवसरको खोजीमा म थिएँ ।
    तँ चिता म पुर्याउँछु भन्ने उक्ति जस्तै यसवर्ष २०८१ सालमा विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर भोजपुरमा वर्षावास बस्नुहुने खबर थाहा पाएर अब मेरो भोजपुर जाने इच्छा पुरा हुने भयो भनी मनमनै खुशी भएँ ।

    यात्राको अठोट र तयारी
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले कोरोना महामारीको समयमा कोरोना कहरले आक्रान्त सत्वप्राणीहरुको कल्याण हेतु फेसबुकमार्फत ध्यानको प्रत्यक्ष प्रसारण चलाउनु भएको थियो । र, उक्त समयदेखि मैले वहाँको निर्देशनमा सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्ने मौका पाएँ, र हालसम्म पनि पाइरहेको छु । त्यसैले वहाँ मेरो प्रथम ध्यान गुरु हुनु भएकोमा मलाई गर्व महशुस छ । वहाँ मेरो मात्र नभईकन मेरी पत्नी, ञातीबन्धुहरुका साथै अन्य धेरै ध्यानप्रेमी योगी कल्याणमित्रहरुका पनि ध्यान गुरु हुनुहुन्छ । यसरी एक शिष्यको नाताले आफ्नो गुरु जहाँ वर्षावास बस्नुहुन्छ, समय र व्यवस्था मिलेसम्म वर्षावासको समयमा कमसेकम १ दिन मात्र भएपनि गुरुको सेवा गर्ने र कुशल पुण्य कार्य गर्ने शिष्यको कर्तव्य सम्झेर वहाँ वर्षावास बस्नु भएको भोजपुरको टक्सारस्थित शाक्यमुनि विहारको धार्मिक यात्रा गर्ने अठोट लिएँ ।
    कुशल मनसायले लिएको अठोट पुरा हुने कुरामा म विश्वस्त थिएँ । यसै विश्वासको आधारमा मैले पत्नीसित सल्लाह गर्दा तत्कालै सकारात्मक उत्तर पाएपछि यात्रा गर्ने मेरो हौसला बढ्यो । कुशल पुण्यकार्यमा सँधैजसो साथ दिंदै आउनु भएका मेरा ञातिबन्धुहरुका साथै कल्याण तथा धर्म मित्रहरुसँग पनि भोजपुरको धार्मिक यात्रा बारे सरसल्लाह गर्दा सबैले तत्क्षण जाने मञ्जुरी दिएपछि मिति २०८१ साल भाद्र ३१ गते सोमबार देखि मिति २०८१ साल आश्विन ४ गते शुक्रबार सम्म ५ दिनको यात्राको योजना बनाएँ । तत्काल यात्राका लागि गाडी (जीप) भाडामा लिन चिरपरिचित पाटनका रवि शाक्यलाई सम्पर्क गरें । यात्राको बारेमा कुरा गर्दा सहज रुपमा उचित भाडा सहित वहाँले स्वीकृती दिनुभएपछि भोजपुरको धार्मिक यात्रा मनले चिताए बमोजिम नै हुने तय भयो ।
    यात्रामा जानु अघि यात्रा गर्ने स्थानको बारेमा जानकारी लिनु उचित हुने ठानेर पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यू, हाल उपत्यकामा रहनु हुने भोजपुर निवासी दाजु दान मान शाक्य तथा दिदी शान्ता शाक्यबाट आवश्यक जानकारी हासिल गर्नुका साथै थप जानकारी गुगल मार्फत लिएर विपि राजमार्ग हुँदै धरान अनि धरानबाट पुष्पलाल राजमार्ग हुँदै हिले भएर भोजपुर जाने र फर्किने बेला पुष्पलाल राजमार्गबाट दिक्तेल, हलेसी हुँदै काठमाडौं फर्किने योजना बनायौं । र, योजनामा सहमती जनाउँदै हामी सबै आठजना यात्रुहरु संघ रत्न शाक्य, सुजना शाक्य, तिर्थदेवी शाक्य, गौतम शाक्य, सुलोचना शाक्य, गंगा शिलाकार, ज्ञानीमैयाँ तुलाधर तथा रवि शाक्य (गाडी धनी /चालक) यात्राको लागि आवश्यक तयारीमा जुट्यौं ।

    भोजपुर जिल्ला
    तत्कालिन नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको सदरमुकाम (राजधानी) भोजपुर जिल्ला मध्यकालिन समयमा स्थानीय बोलिचाली भाषामा पूर्व ४ नम्बरले चिनिन्थ्यो । र, स्थानीय बोलिचालीमा हालसम्म पनि धेरैले भोजपुरलाई पूर्व ४ नम्वर नै भन्ने गरिन्छ । भौगोलिक विविधतायुक्त यस भोजपुर जिल्ला र नगर क्षेत्रले नेपालको ऐतिहासिक महत्व बोकेको छ । नेपाल एकिकरण पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक स्थल चयन गरिएको इतिहास रहेछ । वि. सं. १८७२ सालमा नेपालकै डोली पैसाको नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने कार्य भएकोले भोजपुरको यस पुरानो बजार क्षेत्रको नाम नै टक्सार रहन गएको रहेछ । त्यहाँको ट्याम्के डाँडा, चखेवा डाँडा, सल्ले अनि सुन्तले डाँडाबाट नेपालको प्रसिद्ध हिमालहरु तथा अरुण उपत्यकाको पनि अवलोकन गर्न सकिने रहेछ । र, यस स्थान पर्यटकहरुको रोजाइको स्थान पनि रहेछ । भोजपुरको भित्री बजार क्षेत्रमा चाहीं सिद्धकाली मन्दिर र पानी ट्याँकी रहेको स्थानमा दृश्यावलोकनको लागि बनाइएको स्थलबाट भोजपुरको टुँडिखेल, आधुनिक नगरपालिका भवन, बजार क्षेत्र, विमानस्थल, रंगशाला, बसपार्क तथा बन्दिगृह आदिका साथै सुन्दर वातावरणको अवलोकन गर्न सकिने रहेछ ।
    भोजपुरमा किराँती तथा नेवाः जातीको बाहुल्यता रहेतापनि अन्य जातीहरुको पनि बसोबास रहेको छ । तर हाल यहाँका पुराना बासिन्दा (विशेष गरी नेवाः जाती) हरुले बिस्तारै शहरी क्षेत्रमा बसाईं बिस्तार गरिसकेकोले यहाँ (टक्सार) का अधिकाँश घरहरु खाली छन् । बसोबास गर्ने बासिन्दा अन्यत्र बसाईं सर्न थालेकाले पहिलेको प्रख्यात टक्सार क्षेत्र हाल सुनसान हुने क्रममा छ । यो देखेर हामीहरुको मन अलि खिन्न भयो । खै, कस्लाई के भन्ने ? वास्तवमा यो अवस्था पूरै देशको हुने क्रममा छ । हाल गाउँ छाडेर शहर पस्ने, अनि शहरमा केही समय व्यतित गरी देशै छाडेर विदेश जाने रोग पूरै देशमा व्याप्त भैरहेको छ । तर जिम्मेवार नेताहरुलाई सत्ता जोगाउने र सत्तामा जाने खेल खेल्न मै फुर्सद छैन ।
    धर्म सम्बन्धी भन्नुपर्दा भोजपुरमा हिन्दू र बुद्ध धर्म, संस्कार अनि संस्कृती बढी प्रचलनमा रहेछ । त्यसैले भोजपुरमा हिन्दू मन्दिर तथा बौद्ध विहार र गुम्बाहरु भ्रमणको क्रममा देख्न पाईयो । टक्सारको शानको रुपमा रहेको शाक्यमुनि विहार, पद्य्मपाणी लोकेश्वरको मन्दिर तथा स्वधाःहिटी (तिनधारा), भोजपुर बजारमा रहेको सप्तहिटी (सातधारा) र त्यसैको माथि अर्को स्वधाःहिटी (तिनधारा) अवलोकन गर्दा हामी सबैको मन हर्षविभोर भयो । शनिवारको दिन हाम्रो बसाई भोजपुरमा नपरेकोले भोजपुरको हटिया बजारमा लाग्ने हाटबजार चाहीं हेर्न पाइएन । भोजपुरको प्रसिद्ध उत्पादनमा भोजपुरे खुकुरी, भोजपुरे करुवा, काँसका भाडावर्तन तथा बम्बईसन मिठाई रहेछ ।

    यात्राको उद्देश्य तथा धरान यात्रा
    हामीहरुको यात्राको प्रमुख उद्देश्य भनेको वि.सं. १९९३ सालमा स्थापना भएको नेपालको प्रथम थेरवादी शाक्यमुनि विहार अवलोकन गर्नुका साथै विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर उक्त विहारमा वर्षावास बस्नु भएको अवसर पारेर कुशल पुण्य कार्य सम्पादन गर्ने थियो । यही उद्देश्य साथ यात्राको पहिलो दिन मिति २०८१ साल भाद्र ३१ गते सोमवारका दिन काठमाडौंबाट विहान ६ः४५ बजे धरान तर्फको हाम्रो यात्रा सुरु भयो । विपि राजमार्गमा पर्ने बनेपा, धुलिखेल, भकुण्डे बेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, भिमान हुँदै साँझको ६ः४५ बजे हामी धरान पुग्यौं । हुनत काठमाडौंबाट धरान ३६५ कि.मी. दूरीको यात्रा साँझको करिब ४ः०० बजे नै तय हुनुपर्ने थियो । तर हामीलाई लानुहुने चालक रविभाईले हतार नगरिकन सिमित गतिमा जीप चलाई आरामदायक यात्रा गराउनु भएकोले र हामी यात्रुहरुपनि विभिन्न स्थानमा रोकिएर चिया नास्ता, खाना खाँदै आराम गर्दै यात्रा गरेको कारण सबै ठाउँमा ढीला नै पुगियो । फेरी पहिलो दिनको हाम्रो यात्राको गन्तव्य धरानसम्म मात्रै थियो । त्यसैले पनि हामीलाई खासै हतार थिएन ।
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट धरान बुद्ध विहारका श्री रमणा श्रेष्ठज्यू तथा श्री रमेश शाक्यज्यूलाई हामी आउने सूचना दिनु भएको कारण वहाँहरुबाट धरानको उक्त सुन्दर बुद्ध विहारमा नै खाना तथा बासको व्यवस्था गरिदिनु भएकोले पनि हामी अलि ढुक्क भएर यात्रा गरेका थियौं । र, धरान बुद्ध विहारमा हामीहरुले सोचेको भन्दा पनि उत्तम व्यवस्था गरिदिनु भएकोमा पुजनिय भिक्षु, रमणा श्रेष्ठज्यू तथा रमेश शाक्य दम्पत्तिलाई हामी सबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।

    दोश्रोदिन धरानबाट हिले हुँदै भोजपुरको यात्रा
    धरानको सिद्धार्थ मार्गमा अवस्थित धरान बुद्ध विहार अति नै सुन्दर तथा दर्शनिय रहेछ । उक्त विहार भित्र पाइला टेक्नासाथ हामी सबैको मुखबाट “आहा कति राम्रो रहेछ” भनी अनायास नै वाक्य निस्कियो, जुन उचित पनि थियो । किनकी स्थानीय वासिन्दा श्री रमेश शाक्य दम्पत्तिको रेखदेखमा रहेको धरान बुद्ध विहार सुन्दर, स्वच्छ तथा शान्त थियो । यस विहार भित्र पाइला टेक्नासाथ नै “बुद्ध विहार भनेको यस्तो पो हुनुपर्दछ” भन्ने सुखानुभुतीको भाव सञ्चार भएको हामी सबैले महशूस गर्यौं ।


    यस धरान बुद्ध विहारमा भक्तपुर मुनि विहारका श्रद्धेय आलोक भन्ते वर्षावास बस्नु भएको रहेछ । त्यसैले भोलिपल्ट श्रद्धेय आलोक भन्तेबाट हामी सबैले त्रिशरण गमन सहित पञ्चशील ग्रहण, बुद्ध पूजा, धर्म श्रवण, पुण्यानुमोदन तथा श्रद्धा दान कुशल कार्य सम्पादन गर्न पाएर हामी सबै धन्य भयौं ।

    यसपछि श्री रमेश शाक्य दम्पत्तिबाट तयार पार्नु भएको जलपान ग्रहण पश्चात सबैसँग मैत्री आदानप्रदान तथा साधुवाद दिँदै वहाँहरुबाट पाएको आत्मिय सत्कार हृदयमा सँगालेर बिदा मागी विहानको करिब ९ः०० बजे हामी भानुचोक हुँदै पूर्वयोजनानुसार धरानमा हाल निर्माण हुँदै गरेको श्रमपार्क अवलोकन गर्न उक्त स्थल तर्फ लाग्यौं । ठूलो क्षेत्रफल ओगटेको निर्माणाधीन श्रमपार्क वास्तवमै सुन्दर रहेछ । निर्माणाधीन क्षेत्रमा जान निषेध गरेकोले निर्माण सम्पन्न भैसकेको पार्क क्षेत्रमा हामी सबै रमाइलो मानी घुम्दा र फोटो शेसनमा रमाउँदा करिब डेढ घण्टाको समय व्यतित भएको पत्तै पाइएन ।

    यसरी पार्क भ्रमण पश्चात धरानबाट भोजपुरसम्म १५१ कि.मि.को यात्राको लागी विहानको ११ः०० बजे तिर हिलेमा खाना खाने योजनाका साथ हामी हिले तिर लाग्यौं । करिब दुई सवा दुई घण्टाको धनकुटा हिले पुष्पलाल राजमार्गको निरन्तर पहाडी रमाइलो यात्रा तय गरी दिनको १ः०० बजे हामी हिले पुग्यौं । काठमाडौं देखिको धरान र धरान देखी हिलेको लामो पहाडी यात्राबाट अलि अलि थाकिसकेका हामी सबै खाना खाएर एकछिन सुस्ताउन हतारिएका थियौं । खाना खानकोलागि होटेल खोज्ने क्रममा गुम्बा होटेल नामको सानो गुम्बासँगैको होटेलमा बस्यौं । हिलेको शितल चिसो हावा अनि लोकल चामलको भात र दाउरामा पकाएको लोकल तरकारी अनि दाल धेरै नै मिठो मानी हामी सबैले पेटभरी खायौं । हामी सबै शाकाहारी भएकाले सबैले यात्रामा शाकाहारी भोजन नै गर्यौ, सबैठाउँमा मीठो भोजन खायौं । यो हामीहरुकोलागि सकारात्मक पक्ष हुन गयो । किनकी सबै ठाउँमा भोजन स्वादिलो र सुपाच्य अनि सस्तो (प्रतिव्यक्ति रु. १८० देखि २००मात्र) थियो । खाना खाएर केही बेर सुस्ताएपछि सबैको थकान मेटियो र पुनः यात्राको लागि तयार भई भोजपुरको यात्रा सुरु गर्यौं ।

    क्रमश: ……

  • मध्यपुर महोत्सव २०८१– क्षेत्रगत समिति गठन पुरा

    भक्तपुर, कार्तिक १४
    मध्यपुर महोत्सव २०८१ लाई ऐतिहासिक रुपमा सफल बनाउन क्षेत्रगत समिति गठनले पूर्णता पाएको छ । मध्यपुर महोत्सव २०८१ मूल समारोह समितिले नगरका परम्परागत बस्ती क्षेत्रको आधारमा ६ वटा साँस्कृतिक क्षेत्रगत समिति गठन गर्ने निर्णय गरे बमोजिम मंगलवार वडा नं. ९ को टिगनीमा क्षेत्रगत समिति गठन भएसँगैं क्षेत्रगत समितिले पूर्णता पाएको हो ।
    जसअनुसार वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोलको अध्यक्षतामा दिव्यश्वरी क्षेत्रगत समिति गठन गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १, २ र ३ (तत्कालिन दिब्यश्वरी गाविस अन्तर्गतका क्षेत्र) का स्थानियहरुको भेलाले दिव्यश्वरी क्षेत्रगत समिति गठन गरेको हो ।


    भेलाले वडाअध्यक्ष डंगोलको संयोजकत्वमा वडा नं. १, २ र ३ बाट ८÷८ जना रहने गरी समिति गठन गरेको वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
    यस्तै वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठको संयोजकत्वमा बालकुमारी क्षेत्रगत समिति, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापतिको संयोजकत्वमा वडा नं. ५ र ६ को चपाचो क्षेत्रगत समिति, वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिको संयोजकतव्मा नगदेश क्षेत्रगत समिति, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठको संयोजकत्वमा बोदे क्षेत्रगत समिति र र वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबहाकको संयोजकत्वमा टिगनी र निकोशेरा क्षेत्रगत समिति गठन गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


    पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी र आयसँग जोडेर स्थानीय अर्थतन्त्रहरूलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा यही पुस १२, १३ र १४ गते तीन दिने मध्यपुर महोत्सव २०८१ को आयोजना गर्ने तयारी भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरणको आधार महोत्सवले तयार गर्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार हो ।”


    कला, संस्कृति, पेशा, प्रकृति र स्मारकहरूले भरिपूर्ण भइकन पनि पर्याप्त प्रवर्द्धनको अभावमा मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न नसकिरहेको तितो अनुभवलाई आत्मसाथ गर्दै महोत्सव मार्फत मध्यपुर थिमिमा आन्तरिक र बाह्य पर्यटकलाई आकृषित गराईने योजना रहेको उहाँले बताउनुभयो ।
    उहाँले नगरपालिकाले विगतमा आयोजना गरेको धिमे बाजा प्रतियोगिता, वः फेस्टिभलको सफलताले पनि महोत्सव आयोजना गर्ने प्रेरित गरेको बताउनुभयो ।


    महोत्सवमा स्थानीय विशेषतायुक्त सम्पदाहरूलाई केन्द्रमा राखेर निम्न रणनीतिक आयामहरू मार्फत् एक जीवन्त र दिगो पर्यटन मोडेलको सिर्जना गर्न सक्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
    महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । “नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने प्रमुख उद्देश्य महोत्सवको रहेको छ,” उहाँले भन्नुभयो ।


    भौगोलिक रुपमा महोत्सव मध्यपुर थिमि नगरपालिकाभित्रका एतिहासिक बस्तीहरू मूलतः थिमि, नगदेश, बोदे र तिगनिक्षेत्रमा आयोजना गरिनेछ भने समग्र नगरक्षेत्रलाई ६ वटा विभिन्न साँस्कृतिक क्षेत्रको रूपमा प्रस्तुत गरी नगरको सम्पूर्ण सँस्कृति प्रदर्शन गरिनेछ ।
    विषयगत रूपमा महोत्सवमा नगरभित्रका कला, संस्कृति, परम्परागत पेशा, प्रकृति र पुरातात्विक स्मारकहरूको प्रदर्शनी गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


    महोत्सवलाई व्यवस्थितरुपमा सञ्चालन गरी सफल बनाउन क्षेत्रगत समिति अन्तर्गत आर्थिक व्यवस्थापन समिति, संस्कृति तथा सम्पदा व्यवस्थापन समिति, स्थानीय परिकार र उत्पादन प्रवर्ध्दन समिति, महोत्सव प्रदर्शनी व्यवस्थापन समिति, साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति, प्रचारप्रसार तथा प्रकाशन समिति, सुरक्षा व्यवस्थापन समिति, सरसफाइ व्यवस्थापन समिति, स्वयम् सेवक तथा पार्किंङ व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समिति गरी कुल १० वटा समिति गठन गरिने छ । यस्तै सल्लाहकार समिति र महोत्सव सञ्चालन समिति पनि गठन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


    महोत्सवमा गेडागुडी, कृषि औजार, चिकंसाः, अयलाः, पोटरी, माटोको भाँडा बनाउने परम्परागत पेशा, थिमिको मौलिक उत्पादन दही, साँस्कृतिक एवम् पम्परागत बाजा, नेवाः भ्वय्, ख्वापाः, चित्र, छत्र, मैलिक परिकार, टिगनीको बजी, दाफा भजन, थिमिको परिचयसहितको डकुमेन्ट्री, जात्राको खट, यांमता, नउबाजां, गुंलाबाजं, महाकाली, भैलः, पुलुकिसी, बिस्काजात्रा डकुमेन्ट्री, साँस्कृतिक नाचलगायतको प्रर्दशनी रहने छ


    मध्यपुर थिमि नगरपालिका मूर्त, अमूर्त सम्पदाको धनी र छुट्टै पहिचान तथा मौलिकता बोकेको नगर भएता पनि पर्याप्त प्रवर्द्धनको अभावमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसकिरहेको अबस्थामा रोजगारी सिर्जना र आम्दानीको साधन बनाएर पर्यटन मार्फत नगरको अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशित बनाई स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न महोत्सव आयोजना हुने भएको हो ।

     

  • गायक मधु क्षेत्री सम्मानित

    भक्तपुर, कार्तिक १२
    वरिष्ठ गायक मधु क्षेत्री भक्तपुरमा सम्मानित भएका छन् । फूलै फूल मात्र पनि होइन रैछ जीवन, पानी खाने निउले तिम्रो घर आउला, हुरीले उडाउन सकेन, साईली र माहिली पोइला गएछन् बाउ बाजेको नाकै काटेर लगायतका थुप्रै कालजयी गीतका गायक क्षेत्रीलाई भक्तपुर सांगीतिक समाजले आइतवार सम्मान गरेको हो ।
    समाजले शुभ दीवापली, नेपाल संवत ११४५ न्हुंद र छठ पर्व २०८१ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा बरिष्ठ गायक क्षेत्रीलाई सम्मान गरिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताउनुभयो । सांगीतिक क्षेत्रमा विगत ४ दशक भन्दा बढि समयदेखि अतुलनिय योगदान पुर्याउदै आएका क्षेत्रीलाई सम्मान गर्न पाउनु खुशी र गौरबको कुरा भएको उहाँले बताउनुभयो ।
    कार्यक्रममा गायक क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आफुले पहिला रेडियो नेपालमा गरेको संघर्षदेखि आफ्ना समकालीन मित्र गायक उदितनारायण झा सँगसँगै बिताएका दिनहरु सम्झिदै आफ्नो लोकप्रिय गीत पनि गाउनुभएको थियो ।
    वरिष्ठ गीतकार तथा समाजका सल्लाहकार सुवासचन्द्र ढुंगेलले समाजले नेपाली संगीतलाई थप उचाईमा पुर्याउँदैं विभिन्न सांगीतिक कार्यक्रमको स्मरण गरे निरन्तर सक्रियताको शुभकामना ब्यक्त गर्नुभयो ।
    समाजका निवर्तमान अध्यक्ष प्रवीण शाहीले गीतकार लक्ष्मीप्रसाद कसुलाको शब्दमा र आफ्नै आवाज अनि संगीतमा भर्खरै रेकर्ड गरेको नयाँ गीत ‘आउँ नाचौ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीत संगीत र साहित्यकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।