भक्तपुर, जेठ २६
नेपाली कांग्रेस भक्तपुरका जुझारु नेता स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण भएको छ । साथै उहाँको स्मृतिमा स्थापना भएको शहिद रोधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको भवन समेत निर्माण भएको छ ।
नेता जोन्छेंको प्रतिमा र उहाँको स्मृति भवन एक करोड १० लाखको लागतमा तयार भएको प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीले जानकारी दिनुभयो । यसका लागि सूर्यविनायक नगरपालिकाबाट पटक पटक गरी ४० लाख र अन्य रकम बागमती प्रदेश सरकार लगायत अन्य विभिन्न निकाय र दाताबाट प्राप्त भएको जोशीले बताउनुभयो ।
स्व. जोन्छेंको प्रतिमा र स्मृति भवनको आइतवार नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभयो ।
उहाँले जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गर्दै त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”
कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनुभयो । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।















