Category: विविध

  • मंसिर २८ गतेदखी ५ दिन भक्तपुर महोत्सव आयोजना हुने

    भक्तपुर, कार्तिक २८
    भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आगामी मंसिर २८ गतेदेखी पौष २ गतेसम्म ५ दिन सञ्चालन हुने बुधवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि बृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
    प्रमुख प्रजापतिले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदैं महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।


    महोत्सवका मूख्य आकर्षणहरुमा सांस्कृतिक कार्यक्रम तर्फ बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाच रहेका छन ।
    यस्तै पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना
    प्रदर्शन गरिनेछ ।
    महोत्सवमा खाना महोत्सव, व्यापार मेला, दही महोत्सव, मनोरञ्जनात्मक गतिविधिमा नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकूद समेत रहने नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
    भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उहाँले बताउनुभयो ।


    भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताउनुभयो ।
    बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उ
    उहाँले महोत्सवमा ३२ वटा विधामा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउँदै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो, पुस्तक प्रदर्शनको तयारी गरेको बताउनुभयो ।
    पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरु दिनुभएको थियो ।

  • मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

    भक्तपुर, कार्तिक २८
    यसवर्षको रुद्रलाल मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी मानवअधिकार योद्धा तथा मुक्ति आन्दोलनकी नेतृ सुल्ताना कमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलाल मुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानव अधिकारका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार सुल्तानालाई प्रदान गर्नुभएको हो ।
    नेपालका अग्रज समाजसेवी तथा गान्धी प्रचारक मुल्मीले ७ दशकभन्दा बढी समय सामाजिक कार्यमा बिताउनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका मुल्मीले गान्धी आश्रम र असहाय महिलाका लागि गृह स्थापना गरेका थिए । उनलाई सामाजिक क्षेत्रमा एक प्रतिबद्ध मानव अधिकारकर्मी, समाज सुधारक र गान्धी विचार र विचारका प्रवर्द्धकका रूपमा स्मरण गरिन्छ ।
    उनैको नाममा विगत ४ वर्षदेखि प्रदान गरिंदै आएको पुरस्कार बंगलादेशकी ७२ वर्षीय योद्धा सुल्तानालाई दिइएको हो ।
    सुल्ताना पाकिस्तान र बंगलादेश विभाजन अघिका दिनदेखि प्रगतिशील आन्दोलनमा संलग्न हुनुभएको थियो । देशको सांस्कृतिक स्वायत्तताका लागि सङ्घर्ष, विश्वव्यापी धर्मनिरपेक्ष शिक्षाको आन्दोलन, सन् १९६९ को जनआन्दोलन, १९७१ को बंगलादेशको मुक्ति युद्धलगायत विभिन्न सामाजिक आन्दोलनहरूमा सक्रिय भएकी सुल्तानाले विभिन्न संघसंस्थाका अलावा शिक्षण संस्था र अस्पतालहरु स्थापना गर्न योगदान गर्नुभएको थियो ।
    उहाँ धार्मिक र जातीय अल्पसंख्यकहरूको अधिकारको लागि सक्रिय पनि हुनुहुन्छ । उहाँले धर्म निरपेक्षका लागि खेलेको भूमिकाबाट असन्तुष्ट एउटा इस्लामिक समूहले दुईपटक उहाँको घरमा बम पडकाइ मार्ने प्रयास समेत गरेको थियो ।
    पुरस्कार वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष मगरले नेपाल र बंगलादेशका मुक्ति आन्दोलनमा जनताको सक्रियता उस्तै प्रकारको रहेको र बंगलादेशसँग नेपालको सम्वन्ध तुलनात्मक रुपमा गाढा रहेको बताउनुभयो । नेपालमा र बंगलादेशमा रहेका मानवअधिकारकर्मीहरुको योगदानले गर्दा नै नेपाल र बंगलादेशमा अन्य सार्क राष्ट्रहरुका तुलनामा मानवअधिकार मजबुत रहेको उहाँले बताउनुभयो ।
    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा बंगलादेशका पूर्व राजदुत प्रा.डा. चोपलाल भुसालले बंगलादेशका जनताहरुले र सरकारले नेपाललाई अत्यन्तै मित्रवत रुपमा हेर्ने गरेको र नेपाली संस्थाले बंगालदेशकी योद्धालाई गरेको सम्मानले जनस्तरबाट सम्वन्ध मजबुत बनाउन ठोस योगदान दिने बताउनुभयो ।
    वर्क फर बेटर बंगलादेशका गौस पियरी (मुक्ति) ले नेपाली संस्थाको साथ र सहयोगमा बंगलादेशमा सुर्ती नियन्त्रण, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेको जानकारी दिनुभयो ।
    सम्मानित व्यक्तित्व सुल्तानाले आफ्नो योगदानको कदर नेपाली जनताबाट समेत भएकोमा गौरवान्वित भएको बताउनुभयो ।
    कार्यक्रममा छत्रलक्ष्मी –रुद्रलाल मुल्मी फाउन्डेसनका अध्यक्ष शान्तलाल मुल्मीले सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्ने समाजसेवीहरुको खोजी गर्दै पुरस्कार प्रदान गर्दै जाने बताउनुभयो ।
    कार्यक्रममा मानवअधिकार आयोगका सदस्या डा. लिली थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवअधिकारकर्मी प्रा. कपिल श्रेष्ठलगायतले बंगलादेश नेपालको जनस्तरको सम्वन्धबारे चर्चा गर्नुभएको थियो ।

     

  • सुन चाँदीका गरगहना चोरी गरेको अभियोगमा लोहकिल्थलीबाट एक जना पक्राउ

    भक्तपुर, कार्तिक २८
    सुन चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीबाट दोलखा शैलुङ गाँउपालिका वडा नं. ५ बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्कीलाई कार्तिक २७ गते मंगलवार पक्राउ गरेको छ ।
    गत कार्तिक १३ गते दिउँसो मध्यपुर थिमि–२ रामेश्वर मन्दिर नजिक रहेको कृष्ण बहादुर कार्कीको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई सुन, चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा कार्कीलाई पक्राउ गरेको हो ।
    चोरी भएपछि पिडितले प्रहरी वृत्त थिमिमा दिएको जाहेरीको आधारमा अनुसन्धानको क्रममा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त थिमिबाट खटिएको संयुक्त प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    कार्कीलाई चारी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

  • लागू औषध सहित मेडिकल सञ्चालक पक्राउ

    भक्तपुर, कार्तिक २८
    अवैध लागू औषध बिक्रि वितरण गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि वडा नं. ६ नगरपालिका चोकबाट गत सोमवार औषधी पसल (मेडिकल) सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राज मेडिकलका सञ्चालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं. ३ घर भई हाल पुरानो थिमि बस्ने ३६ वर्षिय राजनारायण साह हुन ।
    साहको मेडिकलमा अवैध लागू औषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त थिमिको टोलीले छापामारी उनलाई पक्राउ गरेको हो । साहको मेडिकल प्रहरी वृत्त थिमिको सय मिटरको दुरीमा रहेको छ ।
    प्रहरीले साहको मेडिकलबाट क्लोनाजेपाम १८० ट्याब्लेट, ट्वाजोडोन हाइड्रक्लोराइड ५० एमजीको ३६० ट्याब्लेट, टपेन्डाडोल ५० एमजीको ३६ ट्याब्लेट र टपेन्डाडोल १०० एमजीको ४५ ट्याब्लेट बरामद गरिएको जिल्ला प्हरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    साहलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।

     

  • भक्तपुर महोत्सवमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता हुने

    भक्तपुर, कार्तिक २८
    भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
    महोत्सवकै अवसरमा बाँसुरी बाजा प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ५० हजार, दोस्रो पुरस्कार रु. ४० हजार, तेस्रो पुरस्कार रु. ३० हजार र सान्त्वनालाई रु. २० हजारसहित वाद्यवादनका सामाग्री पुरस्कार प्रदान गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
    बैठकमा उहाँले भक्तपुर महोत्सव प्रचारप्रसारको समय १ महिना मात्र बाँकी रहेको हुँदा भक्तपुर महोत्सवअन्तर्गत गठित विभिन्न समिति र उपसमितिहरु महोत्सव केन्द्रित गतिविधि र प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो ।
    उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको सोही क्रममा जानकारी गराउनुभयो ।
    प्रमुख प्रजापतिले महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताउँदै महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधि मार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
    बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

  • भक्तपुर प्रहरीको सुरक्षा रणनीति सार्वजनिक

    भक्तपुर, कार्तिक २६
    जिल्ला प्रहरी परिसर भक्तपुरले आइतवार पत्रकार भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित सुरक्षा योजनाको प्रगती विवरण र भावी सुरक्षा योजना सार्वजनिक गरेको छ ।
    परिसरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले यस वर्षको दशैं, तिहार र छठ पर्वमा लागू औषध अपराधका ५ घटनाबाट १० जना, बाल यौन दुरुपयोगका २, घटनाबाट २ जना, जुवाका ९ अपराधबाट ३२ जना, हुण्डीबाट १ जना, चोरीका ८ घटनाहरुबाट १५ जना, सवारी अंगभंगका ६ घटनाबाट ५ जना पक्राउ र १ जना फरार तथा ६ जना घाइते भएको जानकारी दिनुभयो ।
    यस्तै दशै तिहार र छठ पर्व अवधिभर जिल्लामा अन्दाजी ४८ हजार रुपैंया बराबरको पटका बरामद गरेको, चार पटकसम्म गरेको बजार अनुगमनले रु. १५ हजार जरिवाना, १० हजार बराबरको सामान नष्ट गरेको, ट्राफिक नियम उलघंन गर्ने २१५७ सवारी साधन कारवाहीबाट १४ लाख पचपन्न हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको र ८७ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना गम्भिर घाइते र ५१ जना सामान्य घाइते भएको नेउपानेले बताउनुभयो ।
    अपराधिक उपद्रव गर्न नहुने १ घटनामा २ जना, कर्तव्य ज्यानका २ घटनामा २ जना पक्राउ र २ जनाको मृत्य समेत भएको उल्लेख गर्दै सूचना अधिकारी नेउपानेले भवितव्य ज्यानका १८ घटनाबाट १८ जनाको ज्यान गएको बताउनुभयो ।
    यस्तै फैसला कार्यान्वय सम्बन्धी कार्वाहीमा ४३ जना पक्राउ गरी ८१ हजार ७६० जरिवाना तथा १ वर्ष ६ महिना १६ दिने कैद सजाय असुल गरिएको जानकारी दिँदैं उहाँले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि ६१७ जना प्रहरी कर्मचारीहरु परिचालन भएको बताउनुभयो ।


    कार्यक्रममा परिसर प्रमुख प्रहरी उपरीक्षक माधब बुढाथोकीले आफू सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पार्दै पत्रकारलाई सूचना माग्न आग्रह समेत गर्नुभयो । “राज्यको चौथौं अंगको रुपमा रहेको पत्रकारलाई वेवास्ता गरेर जाने कुनै गुञ्जायस छैन,” उहाँले भन्नुभयो ।
    उहाँले भावी रणनीतिक योजनाको रुपमा फैसला कर्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, लागू औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने र शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरु पनि अघि सारेको जानकारी दिनुभयो ।
    उहाँले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यसवर्ष गतवर्षको तुलनामा चोरी, सवारी दुर्घटनालगायतका घटनामा कमी आएको बताउनुभयो ।
    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रविण खत्रीले जिल्लाका मुख्य सडकहरुको ट्राफिक लाईटहरुको व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताउँदै सवारी कारवाही भन्दा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी लागिपरेको दावी गर्नुभयो ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले कुनै पनि घटनाको विवरण छिटो छरिटो माध्यमबाट सार्वजनिक गर्न, सडक दुर्घटना एवम् ट्राफिक प्रहरीले गरेका कारवाहीको विवरण जिल्लामा एकत्रित गरी राख्न, साना होटल तथा खाजाघरमा हुने यौनजन्य क्रियाकिलाप र मेडिकलहरुबाट हुने लागु औषध कारावार नियन्त्रण गर्न सुझाव दिनुभएको थियो ।

  • लागू औषधसहित राधेराधेबाट मेडिकल सञ्चालक पक्राउ

    भक्तपुर, कार्तिक २५
    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेस्थित सुजु मेडिकलका सञ्चालक कैलालीको धनगढी उपनगरपालिका–२ घर भएका ४८ वर्षिय गणेश प्रसाद आचार्यलाई प्रहरीले लागू औषध बिक्रि वितरण गरेको अभियोगमा शनिवार पक्राउ गरेको छ ।
    राधेराधेमा लागू औषधको बिक्रि वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका २८ वर्षिय राजेश गुरागाईंलाई पक्राउ गरेको थियो ।
    प्रहरीले गुरागाईंको साथबाट ५० एमजीको ट्याव्नाडोल ३ थान फेला परेको र उनलाई सोधपुछको क्रममा रोधरोधस्थित सुजु मेडिकलबाट खरिद गरेको बताएपछि प्रहरीले उक्त मेडिकलमा छापा मारी लागू औषधसहित आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    प्रहरीले आचार्यको सुजु मेडिकलबाट टपेनाडोल ५० एमजीको ३२० थान ट्याव्लेट र टपेनाडोल १०० एमजीको २१० थान ट्याब्लेट बरामद गरेको छ ।
    गुरागाईंलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । आचार्यलाई भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।
    यसैगरी भक्तपुर सल्लाघारीस्थित रानीपोखरी क्षेत्रबाट शुक्रवार अवैध लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाँउपालिका–६ घर भई भक्तपुर सल्लाघारी बस्ने १८ वर्षिय सुशिल कार्की र रामेछापको मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने २२ वर्षिय हिरे माझी रहेका छन ।
    प्रहरीले उनीहरुको साथबाट अवैध लागू औषध ५० एमजीको ७० थान ट्रामा बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । उनीहरुलाई भक्तपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।

     

     

  • नियम विपरित मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे – प्रदेश सांसद श्रेष्ठ

    भक्तपुर, कार्तिक २४
    बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम विपरित गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा ऋण सहकारीको शनिवार सम्पन्न १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सञ्चालकले ऐन नियम तथा सहकारीको मर्म बाहिर गएर लगानी गर्ने तथा बचत रकम चलाउँदा सहकारी धारासायी भएको बताउनुभएको हो ।
    “अहिले बिहान उठ्दादेखि नसुत्ने बेलासम्म फलानो सहकारीको यती रकम हिनामिना गरी सञ्चालक फरार जस्ता समाचार मात्र प्राथमिकतामा छन् यसमा दोष बचत कर्ताको पनि रहेको छ,” उहाँले बताउनुभयो ।


    वचत कर्ताले धेरै व्याज दिन्छ कुनै सहकारीले भने कसरी दिन्छ कहाँ बाट पैसा आउँछ र दिन्छ कहाँ कहाँ लगानी गरेको छ भनी बचत कर्ताले नहेर्दा सञ्चालकहरूले आफूखुसी जहाँ पायो त्यहाँ धितो विना नै लगानी गर्दा देश भरका सहकारीमा समस्या आएको श्रेष्ठको भनाई थियो ।
    “पवित्र उद्देश्यका साथ कहाँ कहाँ लगानी गर्नु हुने के गर्नु हुने भनी गरेको लगानीका सहकारी अहिले पनि समस्या ग्रस्त छैनन् चलेकै छन् यस बाट सहकारी समुदायमा नै आधारित हुँदा नडुव्ने रहेछ भनी प्रमाणित भएको छ,” उहाँले भन्नुभयो ।
    कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, छिन्नमस्ता महिला सहकारीकी अध्यक्ष सपना तामाङ, ग्रामीण अपागंता केन्द्रका रामकृष्ण पौडेल, चाँगु झौखेल दुवाकोट खानेपानीको अध्यक्ष प्रधुम्न पोखरेल लगायतका वक्ताले सहकारी ऐन नियम अनुसार नै चलेमा कहिले पनि नडुव्ने बताउनुभएको थियो ।
    साधारण सभामा उत्कृष्ट बचत कर्ता, शेयर सदस्य, कर्मचारी, बाल बचत कर्ता, दैनिक बचत कर्ता, निक्षेप कर्ता लगायतलाई सम्मान गरिएको थियो ।


    सो अवसरमा सहकारीले अघिल्लो आर्थिक वर्षमा २२ लाख ६ हजार २ सय ९ रुपैंया रहेको जानकारी दिईएको थियो । अघिल्लो वर्ष ३५ लाख ५८ हजार ७ सय ६४ रुपैंया नाफा कमाएको संस्थाले यो वर्ष देशमा आएको मन्दी आदिका कारण २२ लाख मात्र नाफा गर्न सकेको जनाएको छ ।
    देशभरका अधिकांश सहकारी घाटामा जाँदा पनि समुदायमा आधारित तथा समुदायमा नै सञ्चालन भएको संस्था भएका कारण एक रुपैयाँ मात्र नाफा गर्न सक्नु पनि संस्थाको उपलब्धी भएको सहकारीले जनाएको छ । चम्पकको कुल सम्पत्ति भने २३ करोड ६७ लाख ४५ हजार २ सय ९५ पुगेको संस्थाले जनाएको छ ।

  • आगामी पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव आयोजना हुने

    भक्तपुर, कार्तिक २३
    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा विकास गर्न मध्यपुर थिमि नगरपालिकाले आगामी पौष १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव आयोजना गर्ने भएको छ ।
    पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागिएको नगरपालिकाले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।


    थिमि र बोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको मध्यपुर थिमिको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीको प्रचार प्रसार गरी मध्यपुरमा पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    “महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको छ”, उहाँले भन्नुभयो ।


    पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता रहेको बताउँदैं उहाँले पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजारको रुपमा लिएको जानकारी गराउनुभयो ।
    भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न छ ।


    झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखँ (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ ।
    त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ । अधुनिकीकरण तर्फ द्रूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


    उहाँका अनुसार नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने र समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने महोत्सवको मूख्य उद्देश्य रहेको छ ।
    महोत्सवमा थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्र समेटेर करिव ५.५ किमि लामो क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिनेछ ।


    विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूको रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    महोत्सवमा क्वलाखु अजिमा (बालकुमारी) परिसर, लोकेश्वर मन्दिर परिसर, थिमि लायकू परिसर, सिवाः परिसर, दिगू परिसर, इनायक्व (सिद्धिकाली) परिसर, पाटीविहार परिसर, न्यागाः परिसर, लाछि (सिद्धिगणेश) परिसर, पाचो तथा बोदे लायकू परिसर, पलिस्वां पुखू तथा कालिका मन्दिर परिसर, विष्णुघाः परिसर, भांगु (महालक्ष्मी) परिसर, तधांटोल परिसर, नीलबाराही मन्दिर परिसर लगायतका मध्यपुरका मूख्य पुरातात्विक स्मारक क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ ।
    यसैगरी महाकाली नाच, अष्टमातृका नाच, थिमि लाखे, नागाचा प्याखं, इन्द्र अप्सरा, पुलुकिसि, जात्रा गरिने खत प्रदर्शनी गरिनेछ ।


    परम्परागत एवम् मौलिक खेलहरू लैलै (घ्वाँय् कासा वा पाँय् कासा), खिपः कासा, यकंधाला, गाडी ब्वाकेगु, घःचाः तुइकेगु, तुतुमाकचा, ह्वाकरा, पाँयचा, कसि, गुच्चा, मचाकथि, ख्वःसिंको प्रदर्शन गरिनेछ ।
    महोत्सवमा माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, परम्परागत मदिरा बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्तीकला, हस्तकलाको पनि अवलोकन गर्न सकिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    यस्तै भजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजा प्रदर्शन गरिनेछ ।
    महोत्सवमा नेवारी मौलिक परिकार समय् बजि, वः, चटांमरि, योमरी, कःचा, चाकुवासः, साखःसलां, तःखा, अयलाः, थ्वं, नेवाःभ्वय्, चौरासि व्यञ्जन भ्वय्, सजंबुजं भ्वय्को उपभोग गर्न पाईनेछ ।


    साँस्कृतिक प्रदर्शनी अन्तर्गत नेवाः भ्वयका प्रकारहरू, जिब्रो छेड्ने जात्राको डम्मी, भैलःको डम्मी, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाः समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा प्रदर्शनी गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    व्यापारिक प्रदर्शनी अन्तर्गत हस्तकला, तिकिं बजि (चिउरा), माटो र माटोको भाँडाकुँडा, सेरामिक, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरूवा, गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेलको स्टल रहनेछ । साथै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगितिक प्रस्तुतीको साँस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछ ।
    महोत्सवलाई व्यवस्थित ढंगले सु–सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ । जसअनुसार नगरप्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा मध्यपुर महोत्सव मूल समारोह समिति, सल्लाहकार समिति, महोत्सव संचालन समिति लगायत ६ वटा क्षेत्रगत समिति र उक्त क्षेत्रगत समिति अन्तर्गत १० वटा विषयगत उपसमितिहरु गठन गरिएको छ ।
    क्षेत्रगत समितिहरुमा १. दिव्यश्वरी साँस्कृतिक क्षेत्रगत समिति –संयोजक बाबुकाजी डंगोल वडाअध्यक्ष वडा नं. १, बालकुमारी साँस्कृतिक क्षेत्रगत समिति – संयोजक बालकृष्ण पात्या श्रेष्ठ वडाअध्यक्ष वडा नं. ४, चपाचो साँस्कृतिक क्षेत्रगत समिति – संयोजक ज्ञानदास प्रजापति वडाअध्यक्ष वडा नं. ५, नगदेश साँस्कृतिक क्षेत्रगत समिति – संयोजक कृष्णकुमार प्रजापति वडाअध्यक्ष वडा नं. ७, बोड साँस्कृतिक क्षेत्रगत समिति – संयोजक रमेश थापा श्रेष्ठ वडाअध्यक्ष वडा नं. ८ र टिगनी निकोशरा साँस्कृतिक क्षेत्रगत समिति – संयोजक सानुकाजी राजबहाक वडाअध्यक्ष वडा नं. ९ रहेका छन । यस्तै क्षेत्रगत समिति अन्तर्गतका १० वटा विषयगत उपसमितिहरु रहने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


    महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिव २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई करिव ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    सो अवसरमा नगर प्रमुख श्रेष्ठले महोत्सवलाई लक्षित गरी तयार पारिएको वेभसाईटको समेत शुभारम्भ गर्नुभएको छ । नगरपालिकाले महोत्सव पछि पनि मध्यपुर थिमिका कला संस्कृति, मूत अमूर्त सम्पदा, जात्रा पर्वहरुको बारेमा जानकारी गराई पर्यटकको आकर्षण बढाउन वेभसाईटको विकास गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

  • बौद्ध समकृत विहार भक्तपुरमा कथिनाेत्सव

    कार्तिक २३ गते, भक्तपुर ।
    भक्तपुरको मिनिबस पार्कस्थित बौद्ध समकृत विहारमा आज कथिन चीवर दान सम्पन्न भएको छ । उक्त विहारका विहारप्रमुख एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष सद्धम्मजोतिकधज फ्राखु विशाल भिक्षु धम्मसोभन महास्थविरले वर्षावास बस्नु भई पूरा गर्नुभएको उपलक्ष्यमा सूर्यमाया बज्राचार्य परिवार र बौद्ध समकृत विहारका उपासकउपासिकाहरुद्वारा भिक्षु महासंघलाई कथिन चीवर दान गरेका हुन ।
    उक्त अवसरमा ७५ जनाले अष्ट परिष्कार पनि दान गरेका थिए ।
    तस्वीरमा कथिनोत्सवः
    तस्वीर – नेपाल फाइभ