Category: विविध

  • आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,

    काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको ‘आनन्दकुटी आइसोलेसन केन्द्र’लाई ‘चु जि च्यारिटी फाउण्डेशन’ ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको पहलमा सो सामग्री सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ ।
    त्यसैगरी सो केन्द्रलाई सिद्धार्थ बनस्थली इन्स्टिच्यूट ‘४७ व्याच समूह’ ले पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त समूहले केन्द्रलाई आवश्यक मास्क, पञ्जा, औषधि र सर्जिकलका सामानहरु सहयोग गरेको केन्द्रका सल्लाहकार एवम् भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले जानकारी दिनुभयो । सो अवसरमा ईन्टरनेशनल बुद्धिस्ट सोसाईटी लुम्बिनीलाई पनि एक थान अक्सिजन कन्सेन्टरेटर हस्तान्तरण गरिएको थियो ।


    साथै यस आइसोलेसन केन्द्रलाई थुप्रै शुभेच्छुकहरुबाट पनि आर्थिक सहयोग प्राप्त भैरहेको छ । र हाल साधारण खालका कोविदका विरामीहरुले यहाँ उपचार पाई स्वास्थ्य लाभ पाइरहेका छन ।

    काठमाण्डौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ मोडेल स्कूल अफ नर्सिंगको व्यवस्थापनमा सो केन्द्र गत जेठ २ गते देखी सञ्चालनमा आएको हो । यहाँ सबै सेवा सुविधा निःशुल्क व्यवस्था गरिएको छ ।

  • ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने

    ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने

    भक्तपुर, जेठ २१

    अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको हो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।
    कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।
    एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा गरिएको छ ।
    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’ कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।
    अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो वाइडेनले सार्वजनिक गरेका हुन् ।

  • नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु

    नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु

    भक्तपुर, जेठ २०

    नेपालमा विगत २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ७७३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार जनाएको हो । तीमध्ये ३ हजार २११ एन्टिजन परीक्षण हो जसबाट एक हजार जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ ।
    त्यस्तै सो अवधिमा ७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ भने थप ५ हजार ९०४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
    नेपालमा कुल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये अहिले एक लाख एक हजार ८३९ जनामा सक्रिय संक्रमित छन् । हालसम्म निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० अर्थात १.३ प्रतिशत रहेको छ ।


    बिहीवार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं र नवलपरासी पूर्व जिल्लाका छन् । काठमाण्डौं उपत्यकामा थप २ हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ, ती मध्ये काठमाण्डौंमा एक हजार ६३०, भक्तपुरका १२९ र ललितपुरका २९८ जना छन । नवलपरासी पूर्वमा ७७१ जना संक्रमित थपिए । दुई सयभन्दा बढी संक्रमित थपिएका अन्य जिल्लामा सुनसरी, काभ्रे र कास्की रहेका छन् ।
    नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय संक्रमित छन भने १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
    कुल सक्रिय संक्रमित मध्ये ६ हजार ९३० जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये १ हजार ४४४ आईसीयू र ३९८ जना भेन्टिलेटरमा छन ।

  • शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने

    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने

    भक्तपुर, जेठ २०

    भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको हो ।
    मन्त्रिपरिषदको गत जेठ १३ गतेको बैठकले केन्द्रको लागि झौखेलको साविक झौखेल गाविस–३ कित्ता नं. १ को ६ रोपनी १ आना २ पैसा र झौखेल ३ खको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसा जग्गा सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ (संशोधन सहित)को दफा १२ (४) र दफा ५ को देहायको खण्ड ग बमोजिम ३० वर्षको लागि भाडामा दिने निर्णय गरेपछि केन्द्र झौखेलमा बन्ने पक्का भएको हो ।
    मन्त्रिपरिषदको निर्णयसँगै भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि पत्र समेत पठाएको छ ।
    केन्द्रलाई यसअघि चाँगुनारायणकै वडा नं. ७ बागेश्वरीमा सार्ने तयारी भएको थियो । त्यसको लागि २०७५ साउन २१ गते बागेश्वरीको करिव ७० रोपनी जग्गा केन्द्रलाई दिन सरोकारवालाहरु सहमत भएका थिए । केही समय अघि केन्द्र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा सार्ने तयारी पनि भएको थियो । कटुञ्जेको गणेशमानसिंह बाटिकाको जग्गामा केन्द्र सार्ने तयारी भएको थियो ।
    केन्द्र झौखेलमा सर्ने पक्का भएपछि चाँगुनारायण नगरपालिकाको पुर्वी भेग वडा नं. ५, ६, ७, ८ र ९ का स्थानीय तथा केही राजनीतिककर्मीले विरोध गरेका छन । उनीहरुले विकासमा न्यायोचित र समान ढंगले सबैको पहुँच हुनुपर्ने भन्दै चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुले केन्द्र बागेश्वरीमा बनाउने प्रतिवद्धता भुलेको आरोप समेत लगाएका छन ।
    चाँगुनारायण नगरपालिकाको पश्चिमी भेग वडा नं. १, २, ३ र ४ मा के एम सी अस्पताल सञ्चालनमा रहेको, विर अस्पताल बन्ने योजनामा रहेको, चाँगुनारायण अस्पताल सञ्चालनमा रहेको र अहिले केन्द्र पनि झौखेलमा सर्ने निर्णयले विकास र समृद्धिका योजना एउटै भूगोलमा सिमित भएको उनीहरुको तर्क छ ।

  • काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने

    काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने

    भक्तपुर, जेठ २०
    काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको हो ।
    काठमाण्डौंमा मेलम्चीको पानी वितरण गर्नुअघि सुरुङको प्रोटोकल पुरा गरिएको थिएन । उद्घाटनको हतारोले प्रोटोकल पुरा नहुँदैं पानी वितरण शुरु गरेको थियो । सुरुङको प्रोटोकल अनुसार सुरुङमा पानी भरेपछि ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पुरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गर्नुपर्ने थियो । त्यसैको लागि अहिले पानी बन्द गर्न लागेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो ।
    उहाँका अनुसार असार १ देखि पानी पठाउन बन्द गरेपछि सुरुङ खाली हुन १५ दिन लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान गर्नेछन् । ‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भन्नुभयो, ‘त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’
    साढे २६ किलोमिटर लामो सुरुङमा फागुन १० गते पानी भर्न शुरु गरेको थियो । सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा पानी खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

  • भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो

    भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो

    भक्तपुर, जेठ २०

    भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो । जसमध्ये ११ हजार ६२ पुरुष र ९ हजार ८४ महिला छन ।
    स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा ८५ दशमलव ४४ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका छन । यहाँ हालसम्म १७ हजार २१४ संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । संक्रमण मुक्त भएकाहरुमा ९ हजार ४४६ पुरुष र ७ हजार ७६८ महिला छन ।
    भक्तपुरमा २ हजार ६६७ सक्रिय संक्रमित छन । ती मध्ये १०५ पुरुष र ६७ महिला अस्पताल र संस्थागत आइसोलेसन केन्द्रमा उपचाररत छन । त्यस्तै एक हजार ३४० पुरुष र एक हजार १५५ महिला होम आइसोलेसनमा छन ।
    भक्तपुरमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिकाका एक पुरुष र मध्यपुर थिमि नगरपालिकाकी महिला हुन । यो सँगै भक्तपुरमा २६५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
    जिल्लामा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ९० जनाको मृत्यु भएको छ । ती मध्ये ६२ पुरुष र २८ महिला छन । त्यस्तै भक्तपुर नगरपालिकामा ४२ पुरुष र २९ महिलागरी ७१ जनाको मृत्यु भएको मिजारले बताउनुभयो । चाँगुनारायण नगरपालिकामा २३ पुरुष र ११ महिलागरी ३४ जना र सूर्यविनायक नगरपालिकामा ४४ पुरुष र २६ महिलागरी ७० जनाको मृत्यु भइसकेको छ ।

  • थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग

    थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग

    भक्तपुर, जेठ २०, सुनिता तुलाधर

    थाइल्याण्डको राजपरिवारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाई रोयल एडका रूपमा ती स्वास्थ्य सामग्रीहरू काेराेनाकाे कहर भाेगीरहेकाे नेपाललाई सहयोग गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र नेपाली राजदूतावासमार्फत थाई नरेशलाई प्राप्त भएपछि थाई नरेश महावजिरलंकन फ्रा वजिरक्लावचावयुहुआ र महारानी सुथिदा वज्रसुविमलालाक्सनाले नेपाललाई सहयोग गर्न निर्देशन जारी गर्नुभएको थियो ।

    सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन,१० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामग्री नेपाललाई उपलब्ध गराइएको छ । ती सामग्रीबाहेक थाई राजकुमारी वज्रकिटियाभा नरेनदिरादेव्यावतिले ७ हजार थान पीपीई गाउन उपलब्ध गराउनुभएको छ । यसका लागि थाइल्याण्डमा रहनुभएका नेपालका प्रा. डा. भिक्षु सुगन्ध महास्थविर र लुम्विनी विकास कोषका सदस्य सानुराज शाक्यले समेत विषेश पहल गर्नुभएको थियो ।

    सो सामग्री नेपालका लागि थाई राजदुत भोसिता भोरसाफले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।

     

  • ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

    ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

    भक्तपुर, जेठ १९

    ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार ८९ रुपैंया पुगेको नगरपालिकाले जनाएको छ ।
    भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले ब्रम्हायणीमा कोभिड युनिटसँगै आइसोलेसन केन्द्र सञ्चालन गर्दै आइरहेको छ । कोभिडका गम्भिर बिरामीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तत्काल स्थापना गर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन जनस्तरमा सहयोगको अपिल गरेको थियो ।
    सोही अपिल बमोजिम नगरका सहकारी संस्था, विद्यालय कलेज, विभिन्न संघ संस्था, व्यवसायिक संघ संगठन र नगरबासीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन । सहयोग रकम ग्रहण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभयो ।

  • निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

    निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

    भक्तपुर, जेठ १९

    काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुुकुलो बनाई एक साता लम्ब्याएको छ । उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
    गत साता थप कडा गरेको निषेधाज्ञा खुकुलो बनाई यो साता खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने व्यवस्था गरेको छ । ‘किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने गरी निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका छौं,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो । त्यस्तै तरकारी, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।
    प्रजिअ भट्टराईले विकास निर्माणका कार्य पनि खुला गरिएको बताउनुभयो । कामदारलाई कार्यक्षेत्रमा नै बस्ने व्यवस्था गरी काम गर्न खुला गरिएको छ, उहाँले भन्नुभयो, तर निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ ।
    यातायात सञ्चालनमा भने साविक व्यवस्थालाई निरन्तरता दिईएको प्रजिअ भट्टराईले बताउनुभयो । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ । व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास आवश्यक पर्नेछ ।

     

  • जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

    जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

    भक्तपुर, जेठ १९

    चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी दिनुभएको हो ।
    प्रवक्ता डा पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप दिइने छ । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसंख्या रहेको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा १० लाख खोप उपलब्ध गराएको हो । सो खोप मध्ये मंगलवार नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज (बुधबार) थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन लागेको छ ।
    मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् ।

    अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।