Category: विविध

  • पर्यटन प्रवद्र्धनकालागि मध्यपुर महोत्सव–नगर प्रमुख श्रेष्ठ

    भक्तपुर, मंसिर २०
    मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले बुधवार आयोजना गरेको ‘रेडक्रस स्मारिका–२०८१ विमोचन एवं सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त भनाई राख्नुभएको हो ।
    नगर प्रमुख श्रेष्ठले आगामी पुस १२, १३ र १४ गते आयोजना हुने मध्यपुर महोत्सवमा रेडक्रसकर्मीहरुको भूमिकाबारे चर्चा गर्दै विप्दमा परेका मानवको उद्धार, राहत र पुनःस्थापनमा नेरेसो मध्यपुर थिमि उपशाखाको योगदानको प्रशंसा गर्नुभयो ।
    मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले उपशाखाको भवन निर्माण नपा र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा अघि बढ्ने बताउनुभयो । उपप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास भईसकेको र अस्पतालको सेवा सुविधा बृद्धि भइरहेको भन्दै मध्यपुर महोत्सव सफल पार्न सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
    कार्यक्रममा मध्यपुर थिमि वडा नं. ४ निवासी सुर्यकृष्ण थापा श्रेष्ठलाई उत्कृष्ट स्वयम्सेवक सम्मान गरिएको थियो । उहाँलाई नगर प्रमुख, उपप्रमुख दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
    सो अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको मूल्यमान्यता एवम् दायित्वबारे बुदाँगत चर्चा गर्दै मध्यपुर थिमि नगरपालिका, स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा उपशाखाको भवन शिलान्यास गरिएको जानकारी दिनुभयो ।
    कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठ, सम्मानित व्यक्तित्व सुर्यकृष्ण थापा श्रेष्ठ, उपशाखाकी उपसचिव सुशिला श्रेष्ठ लगायतका वक्ताहरुले रेडक्रसको विविध कार्यका बारेमा चर्चा गर्नुभएको थियो ।

  • नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण

    भक्तपुर, मंसिर १९
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र पुनर्निर्माणाधिन ऐतिहासिक दरवार र मठ मन्दिरहरुको निरीक्षण गर्नुभएको छ । बिजुक्छेंले मंगलवार भक्तपुर दरवार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभएको हो ।
    निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिक स्वरुप संरक्षणमा नपाको अग्रसरता प्रशंसा गर्दै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताउनुभयो ।
    उहाँले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरु संरक्षण हुने बताउनुभयो । सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतःस्फूर्त रुपमा संरक्षण र सम्बद्र्धन हुँदै जाने भन्दै उहाँले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको बताउनुभयो ।


    भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर सात सय वर्ष पुरानो देखिन आएको छ । लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ । भक्तपुर महोत्सवको तयारीस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।
    निरीक्षणमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • नेशनल बी चेस च्याम्पियनसिप भक्तपुरमा शुरु

    भक्तपुर, मंसिर १८
    नेशनल बी चेस च्याम्पियनसिप मंगलवारदेखी भक्तपुरमा शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको सहयोगमा उक्त च्याम्पियनसिप शुरु भएको हो ।
    च्याम्पियनसिप अन्तर्गत महिला तर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमालले अप्रत्याशित हार व्यहोर्न पुगेकी छिन् । झापाकी पुनम प्रसाईंसँग पराजित धनुषाकी धिमाल डिफेन्स गर्न चुकेपछि १ अंक गुमाउन पुगेकी छिन् ।
    प्रसाईंसँगै किर्तिपुरका बिनिता कपाली, पर्साका शुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरि, नयुमा मगर र निहाना श्रेष्ठले १ – १ अंक जोडेका छन् । बाचामारीस्थित होटल सिटि गाउँमा जारी च्याम्पियनसिपमा पुरुष तर्फ मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फूँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामा आफ्ना खेल जितेर शुरुआती अंक जोडेका छन् ।


    यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित दर्ता गर्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन् ।
    च्याम्पियनसिपमा ४० जना पुरुष र २० जना शीर्ष महिला खेलाडीले सहभागिता रहेको छ । नेशनल बी चेस प्रतिस्पर्धा मार्फत छनौट हुने ९ जना पुरुष र ९ जना महिला खेलाडीले नेपाल च्याम्पियनका शिर्ष तीन जना खेलाडीसँग राष्ट्रिय च्याम्पियनका लागि खेल्नेछन् । २५ औं राष्ट्रिय र १० औं महिला राष्ट्रिय च्याम्पियन आगामी माघको दोश्रो साता हुनेछ ।


    यसअघि च्याम्पियनसिपको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले भक्तपुर जिल्लाले बुद्धिचाल खेलको विकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका कारण चेस खेलमा नगरपालिकाले लगानी गर्ने वातावरण बनेको धारणा ब्यक्त गरेका थिए ।
    सो अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिपक थापा, महासंघका सहसचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य बालाराम पुन, रमिला पोखरेल, निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिती रहेको थियो ।

  • मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने

    भक्तपुर, मंसिर १८
    मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थान सम्मका ऐतिहासिक बस्तीक्षेत्रका ८० भन्दा बढी टोलबस्तीहरुमा महोत्सवका २ सय भन्दा बढी स्टल रहने भएको हो ।
    महोत्सवका लागि टोलटोलमा तयारी भइरहेको छ । महोत्सवका विशेष आकर्षणमा यहाँको लोपोन्मुख मौलिक पेशा व्यवसाय रहनेछ । महोत्सवको अवसर पारेर टिगनीको टिगनी बजी (चिउरा)लाई पुनर्जिवित गर्ने तयारी भइरहेको छ । ऐतिहासिक तथा परम्परागत टिगनी क्षेत्र बाट लोप भैसकेको टिगनी बजीलाई पुनर्जिबित गर्न स्थानिय आमा, दिदी बहिनीहरू सक्रिय भएका छन ।
    टिगनी बजी उत्पादनको जिवन्त प्रदर्शनको लागि स्थानीय महिलाहरुले परम्परागत ओखललगायतका सामग्रीहरुको संलकन शुरु गरिसकेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् मध्यपुर महोत्सव मूल समारोह समितिका सयोजक सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    “महोत्सवका बेला आगन्तुकहरुले टिगनी बजी उत्पादनका लागि धान भुट्ने, भिजाउने, चिउरा कुट्ने विधि प्रत्यक्ष हेर्न र चिउरा खरिद गरी लैजान सक्ने व्यवस्था गरिनेछ,” उहाँले भन्नुभयो ।
    यस्तै महोत्सवमा प्रदर्शन गरिने साँस्कृतिक झाँकी, परम्परागत पेशा व्यवसाय, मौलिक उत्पादनलगायतका विषय वस्तुहरुलाई विभिन्न १० वटा समूहमा विभाजन गरी सो अनुसारको स्टल व्यवस्थापन गरी प्रदर्शन गरिने उहाँले बताउनुभयो ।
    महोत्सवमा स्थानीय मौलिक कला सँस्कृति अन्तर्गत बिस्काःजात्राको खत, पुलुकिसि जात्रा, महाकाली नाच, अष्टमातृका नाच, लाखे, नागाचा प्याखं, इन्द्र अप्सरा नाचहरुको प्रदर्शनी गरिनेछ ।
    परम्परागत र मौलिक पेशा व्यवसाय अन्तर्गत माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, गेडागुडी, मूर्तिकला, सेरामिक्स, चित्रकला र काष्ठकलाको प्रदर्शन गरिनेछ ।
    नेवाी परिकारमा समय् बजि, वः (बारा), चटांमरी, योमरी लगायतका पकवानका स्टल रहनेछ ।
    पुरातात्विक स्मारक क्षेत्र एवम् सम्पदा अन्तर्गत मध्यपुरको बालकुमारी क्षेत्रमा क्वलाखु अजिमा, बिष्णुुविर, ईन्द्रायणी, लोकेश्वर मन्दिर, थिमिलायकू, बाखाछे महादेव, दिगू भैरब, निगु पुखु र बिष्णु कुण्डलगायतका मठ मन्दिर दरवारको अवलोकन गर्न पाइनेछ ।
    यस्तै चपाचो क्षेत्रमा इनायक्व (सिद्धिकाली), विश्व विनायक, दिगु बहाः, जिस्वाँ बहाः, सिद्धिकाली द्यछें, स्वगाँ पुखु, गुँगचिवाः, पाटी विहार, बहाखा भिमसेन र महादेव मन्दिरलगायतका सम्पदा रहेका छन ।
    नगदेश क्षेत्रमा सिद्धिगणेश द्यछें, लँु झ्या (सुनको झ्याल), नगदेश लायकु, सिद्धिगणेश मन्दिर, नगदेश बुद्घविहार र शिलेश्वर महादेवको दर्शन र अवलोकन गर्न सकिनेछ ।
    बोदे क्षेत्रमा बोदे लायकू, पलिस्वां पुखू (कमल पोखरी), कालिका मन्दिर, विष्णुघाः, महालक्ष्मी, र कुमारी मन्दिर रहेको छ । टिगनी क्षेत्रमा नीलबाराही द्यछें र नील बाराही मन्दिरको अलोकन गर्न सकिनेछ । दिव्यश्वरी क्षेत्रमा दिव्यश्वरी मन्दिर, कुशल भैरव र नाट्येश्वरी मन्दिर प्रख्यात । चर्चित छन ।
    महोत्सवको अर्को आकर्षणको रुपमा नेवाः भ्वय् रहनेछ । नेवा भ्वय् अन्तर्गत परम्परागत शैलीमा सुकुलमा बसेर भोज खान पाइने छ । नेवाः भ्वय्मा सुजँबुजँ भ्वय्, चौरासी ब्यञ्जन भ्वय्को समेत व्यवस्था रहनेछ ।
    महोत्सवमा मध्यपुरमा खेलिने परम्परागत र मौलिक खेलहरु लैलै (घ्वाँय् कासा), खिपःकासा, यकंधाला, घःचाः तुइकेगु, तुतुमाकुुचा, ह्वाकरा, पाँयचा, कसि खेलको अवलोकन गर्न पाइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    यस्तै स्थानीय जीवनशैली र रहनसहन अन्तर्गत महोत्सव अवधीभर टोलटोलमा भजनकीर्तन, पूजाआजाका साथै नेवारी भेषभुुषा, बाजागाजा, माटोको भाँडा बनाउने, सेरामिक्स, तरकारी उत्पादन, टिंकी बजीको जिवन्त प्रदर्शनी हुनेछ ।
    साँस्कृतिक कार्यक्रममा धिमेबाजा, बाँसुरी बाजा, दाफा भजन, ज्ञानमाला भजन,
    लोकदोहरी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।
    स्थानीय मौलिक उत्पादनहरुको व्यापारिक प्रदर्शनी अन्तर्गत हस्तकला, टिगिनी बजि (चिउरा), माटोको भाँडाकुँडा, सेरामिक्स, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरूवा, विभिन्न थरीका गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, गुुँदपाक, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेललगायत मध्यपुरमा उत्पादन हुने वस्तुको प्रदर्शनी रहने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

  • भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना

    भक्तपुर, मंसिर १६
    भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
    ३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार जनस्वास्थ्य कार्यालयले राधेराधेस्थित भाटभटेनी परिसरमा आयोजना गरिएको दिप प्रज्ज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले सो जानकारी दिनुभएको हो ।
    उहाँले एचआईभी एड्स रोग नलुकाई उपचार गर्न आग्रह गर्नुभयो । उहाँले एड्स रोग पनि अन्य रोगहरु जस्तै सामान्य रोग बन्दै गएको बताउँदैं रोगविरुद्ध जित हासिल गर्न मनोवल उच्च राख्न आग्रह गर्नुभयो । “सुरुमा रोग लाग्नै नदिनेतर्फ विशेष ध्यान दिनुपर्छ । रोग लागिसकेपछि उपचार गरेर मनोबल उच्च बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
    कार्यक्रममा नर्सिङ अफिसर रुपा प्याठले एचआईभी एड्सका तथ्यांकहरु पेश गर्दै नेपाल, एसिया प्रसान्त क्षेत्र र विश्वमै यो रोगको अवस्थाको बारेमा जानकारी दिनुभयो ।
    तथ्यांक अनुसार नेपालमा हरेक दिन एक जना मानिसहरुमा एचआईभी संक्रमित हुने गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले यसवर्षको ३७ औ विश्व एड्स दिवसको अवसरमा विश्व र नेपालमा एचआईभी र एड्सको अवस्थाको बारेमा सार्वजनिक तथ्यांक अनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।


    सन् २०२३ मा ४५७ व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।
    सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या पनि आधाले घटेको छ । सन् २०२३ को अन्त्यसम्म एसिया प्रशान्त क्षेत्रमा ६७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।
    एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा नेपाल पनि एक रहेको जनाइएको छ । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेको केन्द्रले राखेको तथ्यांकमा उल्लेख छ ।
    नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु संचालन भइरहेको छ ।
    ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार देशभर ३७ औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइएको थियो । नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिक्रियाका लागि वि स २०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द स्थापना भएको थियो ।
    सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ । नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, एचआईभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरूमा एचआईभी सम्बन्धित असमानताहरूमा कमी ल्याउने सरकारको योजना छ ।
    सन् २०२६ सम्मका उद्देश्यहरूमा अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआईभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने (२०१० को आधारमा), आमाबाट बच्चामा एचआईभीको सङ्क्रमण उन्मूलन गर्ने सन् २०२६ का उद्देश्यहरु रहेका छन् ।

  • मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ

    भक्तपुर, मंसिर १६
    मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
    मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित सनसाईन (एसएस) कलेजको शनिवार आयोजित १८ औं वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख श्रेष्ठले शिक्षाको गुणस्तरसँगैं व्यवहारिक र संस्कार पनि आवश्यक रहेको बताउनुभएको हो ।
    उहाँले नगरपालिकाले शिक्षाको गुणस्तरका साथै विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि सामूदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलापका शिक्षक नियुक्त गरी विद्यालयमा पठाएको बताउनुभयो ।


    उहाँले नगरपालिकाले आगामी पुस १२, १३ र १४ गते आयोजना गरिने मध्यपुर महोत्सव–२०८१ सफल बनाउन शिक्षक विद्यार्थी एवं शिक्षाकर्मीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    एसएस कलेजका प्राचार्य राजन प्रसाद काफ्लेले शिक्षासँगै असल संस्कार, अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका कार्यलाई एसएस कलेजले प्राथमिकता दिएको बताउनुभयो । प्राचार्य काफ्लेले एसएस कलेजले स्थापनादेखि हालसम्म बोर्ड परीक्षामा नेपाल दोस्रो, काठमाण्डौं उपत्यका पहिलो, भक्तपुर पहिलो लगायतका सफलता प्राप्त गरेको जानकारी दिँदैं नेपालका ५ दर्जन बढि जिल्लाका विद्यार्थीहरुले एसएस कलेजबाट शिक्षा हासिल गरिसकेको बताउनुभयो ।


    सनसाइन स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार भट्टराईले सबैले कर्तव्य र दायित्व सदैव पुरा गरेमा असल व्यक्ति बन्न सहज हुने धारणा राख्नुभयो ।
    एसएस कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न एसएस कलेज सदैव प्रयत्नशील रहेको बताउनुभयो ।
    कार्यक्रममा स्नातक तहको नतिजामा काठमाण्डौं उपत्यका प्रथम भएका मेधावी छात्र विशेष खड्कालाई नगद सहित सम्मान गरिएको थियो । स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पनि स्वागत गरिएको उक्त कार्यक्रममा वार्षिक विविधअतिरीक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका ७० जनाभन्दा बढि छात्रछात्रालाई प्रमाणपत्र र पदक सहित सम्मान गरिएको थियो ।
    कार्यक्रममा विद्यार्थीहरुले विविध भेषभूषामा सज्जिएर नेपाली, नेवारी, तामाङ, गुरुङ, राई, लिम्बु, मगर, सन्थाल जातजाति र भाषाभाषीको गीतमाआकर्षक नृत्यका साथै सन्देशमुलक नाटक प्रहसन प्रस्तुत गरेका थिए ।

     

  • भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान

    भक्तपुर, मंसिर १४
    भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण प्रदान गर्ने नीति अनुसार नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर उक्त ऋण प्रदान गरेको हो ।
    भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पुर्याउन ५ लाख रुपैंयासम्म सहुलियत व्याजदरमा शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो र विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    यसअघि ६ सय जना विद्यार्थीहरुले नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण लिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा चालु आ.व.मा थप १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । शैक्षिक ऋण लिएर अध्ययन गरेका मध्ये ५१ जनाले ऋण चुक्ता गरिसकेको छ । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार ऋण लगानी भएको छ भने रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
    चालू आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नम्बर ४ का २२ जनाले ऋण पाएका छन् भने सबैभन्दा कम वडा नम्बर ९ का सात जनाले पाएका छन ।
    शैक्षिक ऋण वितरणसम्बन्धी भक्तपुर नगरपालिकाले शुक्रवार आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताउँदै नगर प्रमुख प्रजापतिले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्नेमा जोड दिनुभयो ।
    भक्तपुर नपाले भक्तपुर महोत्सवको आयोजना गरी भक्तपुरको कला संस्कृति, मौलिक आदिबारे संसारमा प्रचारप्रसार गर्ने उद्देश्य राखेको बताउनुभयो ।
    उपप्रमुख रजनी जोशीले शैक्षिक ऋण बाहेक पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको प्रष्ट पार्नुभयो । उहाँले सबै विषयको समान महत्व हुने बताउँदै विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढंगले आफ्नो पढाइलाई निरन्तरता दिन पनि प्रेरित गर्नुभयो ।
    प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाको शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै लागि उदाहरणीय कार्य भएको बताउनुभयो । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरुले विदेश जाने सोचबाट टाढा रहन आग्रह गर्दै उहाँले शैक्षिक ऋण कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।
    वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै विद्यार्थीहरुलाई नगरपालिका र नगरबासीहरुप्रति उत्तरदायी बन्न प्रेरित गर्नुभयो ।


    शैक्षिक ऋण लिने प्रक्रिया
    भक्तपुर नगरपालिकाले ७५३ स्थानीय तहमध्ये शैक्षिक ऋणको व्यवस्था गर्ने आफू पहिलो भएको दाबी गरेको छ । नगरपालिकाले ऋण दिनका लागि भक्तपुर नगरपालिका, शैक्षिक ऋणसम्बन्धी निर्देशिका, ०७५ जारी गरेको छ । शैक्षिक ऋण दिन ०७५ सालमै नगरपालिकाको चौथो नगरसभाबाट शैक्षिक ऋण निर्देशिका पारित भएको थियो । निर्देशिका १९ वैशाख ०७६ मा स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । सोही वर्षबाटै नगरपालिकाले निर्देशिकाअनुसार शैक्षिण ऋण दिँदै आएको छ ।
    निर्देशिकाअनुसार शैक्षिक ऋण माग गर्ने व्यक्तिले वडा समितिमा माग पेस गरी सिफारिस लिनुपर्नेछ । सिफारिससमेत संलग्न गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ । निवेदन दिएपछि नगर प्रमुखले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन । नगर प्रमुखबाट स्वीकृत भएपछि नगरपालिका आर्थिक प्रशासन शाखाबाट ऋण रकम उपलब्ध गराइनेछ । शैक्षिक ऋणबापत प्रत्येक व्यक्तिले पाँच लाखसम्म प्राप्त गर्न सक्नेछन । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन ।
    ऋण नतिरे नगरपालिकाको सेवाबाट वञ्चित
    विद्यार्थीले शैक्षिक सत्र सकिएको अर्को वर्षबाट ऋण तिर्न थाल्नुपर्नेछ । निर्देशिकाअनुसार शैक्षिक वर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र ऋण रकमको न्यूनतम २५ प्रतिशत असुल हुनेछ । कोर्सको अन्तिम परीक्षा दिएको मितिले दुई वर्षभित्र ऋण रकमको न्यूनतम ५० प्रतिशत असुल हुनेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले तीन वर्षभित्र ऋण रकमको न्यूनतम ७५ प्रतिशत साँवाब्याज असुली हुनेछ । अन्तिम परीक्षा दिएको मितिले चौथो वर्षभित्र सबै ऋणको शतप्रतिशत साँवाब्याज तिर्नुपर्नेछ ।
    उक्त समयावधिभित्र ऋणको साँवाब्याज नतिरे बुझाउनुपर्ने साँवाब्याजको पाँच प्रतिशत हर्जाना गरी विद्यार्थी र उसको साक्षी बसेको परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत छ ।

  • गट्ठाघरमा टेलरको ठक्करले स्कुटीमा सवार महिलाको मृत्यु

    भक्तपुर, मसिर १४
    भक्तपुरको मध्यपुर थिमि–३ गट्ठाघर चोकमा बिहिवार बिहान १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदैं गरेको ना ८ ख २३११ नं.को १२ चक्के टेलरले बा प्र.०२–०३८प ४४०१ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार भक्तपुर नगरपालिका–५ घर भई हाल ललितपुर नखिपोट बस्ने ४१ वर्षिया नविना देउलाको मृत्यु भएको हो ।
    उक्त घटनामा स्कुटी चालक जिते देउला घाईते भएका छन । उनको नागरिक अस्पताल गट्ठाघरमा उपचार भइरहेको छ । राष्ट्रिय सेवादल सुन्धारामा कार्यलय सहयोगीको रुपमा कार्यरत देउलाको घाँटी र बाया हातमा भित्री चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    मृत्यु हुने नविना जितेका पत्नी हुन । दुर्घटनामा शरिरको विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा नविनालाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको प्रनाउ नेउपानेले बताउनुभयो ।
    प्रहरीले दुवै सवारी साधन र टेलर चालक मकवानपुगढी गाउँपालिका–४ बस्ने ३८ वर्षिय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखी थप कारवाही भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

     

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवनको शिलान्यास

    भक्तपुर, मंसिर १०
    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।
    सो अवसरमा उपप्रधान मन्त्री सिंहले रोग लागिसकेपछि थप मानसिक पिडा हुने भएकाले राग लाग्न नदिन सबै जना सचेत र सजक हुनुपर्ने बताउनुभयो । सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।


    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नतीले भक्तपुर मात्र नभई छिमेकी जिल्लाका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएर आजको अवस्थामा बिस्तार गर्न योगदान दिने पूर्व जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि बिर्सन नहुने धारणा राख्न्ुभयो ।


    नेपालका लागि दक्षिण कोरियाली राजदुत ताईयोङ्ग पार्कले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नेपाल र कोरिया सरकारको मित्रताको प्रतिक रहेको बताउनुभयो । उहाँले कोरियाली सरकार सदैव नेपाल र नेपालीको साथमा रहेको बताउँदैं अस्पतालको स्तर बृद्धिमा सधै सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
    कोइकाका नेपालस्थित कन्ट्र«ी डाईरेक्टर मुहेन कोङ्गले नेपालको स्वास्थ्य क्षेत्रको विकास र बिस्तारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत सहयोग गर्न पाउँदा कोरियाली सरकार खुसी रहेको बताउनुभयो ।


    त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो “क्युङ्ग हि नेपाल स्वास्थ्य केन्द्रका रुपमा सन् १९९९ मा एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रुपमा मध्यपुर थिमिमा प्रवेश भई क्रमशः कोरिया नेपाल मैत्री अस्पताल हुँदै वि. सं. २०७५ सालबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रुपमा नगरवासीहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “यस अस्पताललाई दक्षिण कोरिया सरकारको ९.५ मिलियन युएस डलर (करिव १ अर्व २८ करोड बरावरको सहयोगमा निर्माण हुन गईरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीहरु लगायत आसपासका जिल्ला बासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको छु ।”


    उहाँले वार्षिक रुपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गत वर्ष करिब दुई लाखलाई उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । त्यस्तै अन्य विभिन्न अस्पतालसँग पनि सहकार्य गर्दै सेवा प्रभाव हुँदै आएको जानकारी दिनुभयो ।
    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कोरिया सरकारको निरन्तर सहयोग र स्थानीय सरकार मध्यपुर थिमि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, जनप्रतिनिधिहरुको लगाव, स्वास्थ्य सेवामा अभिरुची, निर्देशन, अनुगमनको कारण यो अस्पताल देशकै अब्बल स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये एक बन्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि गुणस्तरीय सेवाका लागि स्थानिय सरकार निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशन र मध्यपुर थिमि नगरपालिका आर्थिक विकास महाशाखा प्रमुख तुलसीभक्त तकोले दक्षिण कोरियाको १ अर्ब २८ करोडको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण हुन लागेको जानकारी दिँदैं भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको बताउनुभयो ।

     

  • प्याव्सन मध्यपुर थिमि नगर अध्यक्षमा बस्नेत निर्वाचित

    भक्तपुर, मंसिर ९
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मध्यपुर थिमि नगर अध्यक्षमा सुमन बस्नेत चयन हुनुभएको छ । प्याव्सन मध्यपुर थिमि नगर समितिको आइतवार सम्पन्न तेस्रो अधिवेशनले युनिक नेपाल एकेडेमी लोहकिल्थलीका बस्नेतलाई अध्यक्ष चयन गरेको हो ।
    अधिवेशनले उपाध्यक्षमा लर्ड बुद्ध इङ्गलिस स्कुलका बुद्धरत्न बादे, सचिवमा तपोभुमी स्कुलका मनोज आचार्य दिक्षित, कोषाध्यक्षमा एड्भान्स एकेडेमीका सोमकृष्ण प्रजापतिलाई चयन गरेको छ ।


    यस्तै सदस्यहरुमा एक्टिभ इङ्गलिस स्कुलका आशाहरी प्रजापति, क्रियटिभ लर्नर्स एकेडेमीका कृष्णहरी घवा श्रेष्ठ र वेल फेयर एकेडेमीका अनिता कायष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष निलेश आचार्यले जानकारी दिनुभयो ।
    यसअघि प्याब्सन केन्द्रिय अध्यक्ष डि के ढुङ्गानाले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा प्याब्सन केन्द्रिय उपाध्यक्ष दिपीका थापा, केन्द्रिय महासचिब आर वि कटुवाल, केन्द्रिय कोषाध्यक्ष सन्तोषमणी न्यौपाने, केन्द्रिय उप–महासचिव भुवनलाल श्रेष्ठ, केन्द्रिय सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रिय सदस्य तथा जिल्ला प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार चन्द्र अधिकारी, प्याब्सन बागमति प्रदेश उपाध्यक्ष सानुराजा कार्कीलगायतको सहभागिता रहेको थियो ।