Category: विविध

  • काठमाण्डौं तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ

    काठमाण्डौं तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ

    भक्तपुर, असार १
    आफुलाई प्रहरीको नायव उपरिक्षक (डिएसपी) हुँ भन्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौंको तार्केश्वर नगरपालिका–६ जरंगुबाट नक्कली डिएसपी ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एस के ढुंगानालाई पक्राउ गरेको हो ।
    प्रहरीले ढुंगानाको साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
    ढंगानाले सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने गरेको पाईएको एसपी कोइरालाले बताउनुभयो । ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
    ‘उसले आफ्नो फेसबुकमा पनि डिएसपीको लुगा लगाएको फोटो राखेको रहेछ,’ एसपी कोइरालाले भन्नुभयो, ‘फेरि आफैँले आफ्नो बढुवा भएको भनेर फोटो पनि राखेको पायौं ।’


    ढुंगानाले तर्केश्वरको जरंगुमा भिक्टोरिया फार्मेसी समेत सञ्चालन गर्दै आएका छन । तर, पक्राउ परेपछि ढुंगानाले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । ढुंगानासँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ढुंगानाले आफुलाई डाक्टर एसके ढुंगाना र मेडिकल डाईरेक्टर भनेर समेत चिनाउने गरेको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले बताउनुभयो । ढुंगानाबाट कोही ठगीएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ । ढुंगानामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

    डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

    भक्तपुर, जेठ ३०
    ‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलाइन्स’ले आइतवार संयुक्तरुपमा अपिल जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जीवन रक्षाको लागि अपिल गरेको छ ।
    प्रधानमन्त्री के पी शर्मा ओलीसहितका मन्त्रीहरुले डा. गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबिबिएस कक्षा सञ्चालन गर्ने सम्बन्धन दिन वा राजिनामा गर्न धम्क्याएको आरोप लगाउँदैं नागरिक आन्दोलन र अलाइन्सले डा. गिरीको जीवन रक्षाको लागि अपिल गरेको हो ।
    ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ अपिलमा भनिएको छ ।
    अपिलमा राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले ज्यादती गरेको भन्दै भत्सर्ना समेत गरेको छ । प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।
    ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भत्सर्ना योग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बनेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ,’ अपिलमा उल्लेख छ ।

  • शताब्दी पुरुष जोशीको स्वास्थ्य सुधार

    शताब्दी पुरुष जोशीको स्वास्थ्य सुधार

    भक्तपुर, जेठ २९

    शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधार देखिएको छ । छातीमा सामान्य दुखाइ महसुस गरेपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ जेठ २६ गते अस्पताल भर्ना हुनुभएको थियो ।

    स्वास्थ्य परीक्षणका क्रममा जोशीको छातीमा सानो दाग देखिएको छ । उक्त दाग पुरानो हो की नयाँ हो भन्ने बारे थप परीक्षण भइरहेको चिकित्सकले बताएका छन ।

    शुक्रबार अपराह्न शताब्दी पुरुष जोशीलाई भेटेर फर्किएका ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएको जानकारी दिनुभयो । फोक्सोमा दायाँ भागमा पानी जमेर २०७१ सालमा जोशी लामो समय बिरामी पर्नुभएको थियो ।

  • बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ

    बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ

    भक्तपुर, जेठ २३
    सुदुरपश्चिम प्रदेशका बादी समूदायले यौन पेशा अंगाल्न पाउनु पर्ने माग गरेका छन । बादी समूदायका महिलाहरुले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले त्यसका लागि नियमानुसार कर तिर्न तयार भएको समेत बताएका छन ।
    ज्ञापनपत्रमा बादी समूदायले बाँच्न पाउने अधिकार कुण्ठित भएको उल्लेख गरेका छन । बादी महिलाहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै भन्नुभयो, ‘बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हौं ।’
    सरकारले २०६५ साल पुस २३ गते बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन नभएको बादी समूदायको ज्ञापनपत्रमा उल्लेख छ । पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उनीहरूको भनाई छ । बादी समुदायको गास, बास र कपासको व्यवस्था गर्ने सरकारले निर्णय गरे पनि कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय आउन बाध्य भएको उनीहरुको भनाई छ । पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि उनीहरु बाँच्नैका लागि भएपनि सरकारले बादी समुदायका महिलाहरूलाई स्वतःस्फूर्त यौन पेशाका लागि स्वीकृति दिनुपर्ने बताउँछन ।
    ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजोका दिनमा राज्यले गर्छौँ भनेकै माग रहेकोले प्रदेश सरकारले गर्न सक्ने जति सबै माग कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

    डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

    भक्तपुर, जेठ २३
    डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले बताउनुभयो ।
    उहाँले खोप ल्याउन सहजीकरण गरिदिन विभागका महानिर्देशकले युनिसेफलाई पत्राचार समेत गरिसकेको जानकारी दिनुभयो । डेनमार्कले दिने खोप कोभ्याक्स अन्तर्गतको भने नभएको उहाँले जानकारी दिनुभयो ।

  • प्रख्यात  कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव

    प्रख्यात कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव

    (अन्तर्रष्ट्रिय ख्याती प्राप्त हस्तकलाका मूर्धन्य कलाकार राजकुमार शाक्यको असामयिक निधनले हाम्रो देश नेपाललाइ अपूरणीय क्षति पुर्याएको छ । उहाँप्रति न्यूजअफ परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै उहाँको एक अनुपम कृति भुटानमा रहेको गुरू पद्मसम्भवको विशाल मूर्ति निर्माणबारे नेपाली टाइम्समा सन् २०१४ मा प्रकाशित एक लेख प्रस्तुत गर्दैछौं )

    नेपाली शिल्प हस्तकलाकारहरूको टीमले विश्वकै सबैभन्दा अग्लो बौद्ध प्रतिमा निर्माण गरे

    स्टीफन ह्येट

    राजकुमार शाक्य एक विशिष्ट रूपमा विनम्र नेपाली हस्तकलाका कलाकार हुन्, तर उनले भुटानमा विश्वकै सबैभन्दा ठूलो बौद्ध प्रतिमा निर्माण गरेर आफ्नो देशको गौरव उच्च बनायो ।

    उनी भूटानको लुंटचे दजोंगमा पाँच बर्ष बिताएर नेपाल फर्केका छन्, जहाँ उनले १९ नेपाली, ३० बंगाली र ८ भूटानीहरुको एक विशाल टोलीलाई बौद्ध गुरु पद्मसंभवको मूर्ति निर्माण गर्न निर्देशन दिइरहेका थिए । यस पद्मसंभवलार्इ गुरु रिम्पोछे पनि भनिन्छ।

    पद्मसंभवले काठमाडौंको बाहिरी भागमा पर्ने फर्पिंगको गुफामा ज्ञान प्राप्त गरे र उनी भूटानमा   ८ औं शताब्दीतिर देखा पर्‍यो भनिन्छ, जहाँ उनलाई “दोस्रो बुद्ध” भनेर चिनिन्छ।

    एक भूटानी लामा खेन्पो कार्पोले थाइल्याण्ड, बर्मा र भारतका अन्य थुप्रै शिल्पकर्मीहरूसँग भेटेर छलफल, विचारविमर्शपछि शाक्यलाई यो विशाल कार्यभार सुम्पिदिएका थिए ।

     

     

     

    “जब मैले २ मिटर विशाल भैरवको मुखैटा बनाएको देखे, तब मलार्इ खेन्पो कार्पोले प्रोजेक्ट म्यानेजरको रूपमा छनौट गरेका थिए।” शाक्यले स्मरण गर्दै भन्नुभयो,  “यद्यपि मैले यो भन्दा पहिले त्यस्तो ठूलो मूर्तिमा काम नगरेको भएपनि मलाई थाहा थियो कि यो मेरो लागि र नेपाली शिल्पकलाको लागि ठूलो प्रतिष्ठाको विषय हुनेछ।” 

    जब शाक्यले सन् २००५  मा मूर्तिको डिजाइन सकायो तब उनको नेपाली टोलीले पद्मसंभवको  ३ मिटर अग्लो फाइबरग्लास मोडल बनाए। लुंटचे दजोंगको ताकिलिया हिलमा बनाउन लागिएके यस विशाल मूर्तिको धातु  संरचनाहरूको योजना बनाउन भुटानी इन्जिनियरले काठमाडौंमा छ महिना बिताएका थिए ।

    ड्रुक ओडियाना फाउन्डेशनमार्फत, खेन्पो कार्पोले सिंगापुर, चीन र ताइवानका भक्तहरूबाट ४३.४ मिलियन रूपैयाँ जुटाए। ११.२ मीटर गुम्बमा जसमा मूर्ति रहेको छ, सन् २००९ मा स्थापना भएको थियो। अन्तमा काठमाडौंमा खेम्पो कार्पोलाई भेटेको छ वर्ष पछि शाक्य र उनको नेपाली टोली तामाका टुक्राहरूलाई ढाल्ने कार्य सुरु गर्न लुंटचे दजोंग आइपुगे।

    ताकीलिया पहाड भुटानको राजधानी थिम्पुबाट ५०० किलोमिटर पूर्व दुर्गम क्षेत्रमा पर्दछ। शाक्यको टोलीले निरन्तर बिजुलीको अभाव, भारतबाट सामग्रीको आपूर्तिमा ढिलाइ, मनोरञ्जनको अभाव र कहिलेकाँही खानाको अभाव पनि सामना गर्नुपर्यो। तैपनि शाक्यले यस अनुभवका सकारात्मक पक्षहरू मात्र पाएका छन्: “यस निर्माणको लागि नेतृत्वदायी भूमिका निभाइसकेपछि, अरू कुनै पनि काम मलाई सजिलो लाग्नेछ। मैले नयाँ तरिकाहरूको बारेमा अध्ययन गरी सिकें र त्यसलार्इ सफलतापूर्वक प्रयोग गरें। “

    कामदारहरूले हरेक वर्ष अक्टोबरतिर राम्रो कमाएको विश्राम लिए, यस अवधिमा नेपालीहरू दसैं र तिहार मनाउन काठमाडौं फर्केका थिए। अन्ततः परियोजना लगभग चार बर्ष पछि समाप्त भयो, समय तालिका भन्दा एक बर्ष अगाडि।

    ताकिलिया पहाडको पद्मसंभवलाई धातुको एक विशेष प्रविधि प्रयोग गरी बनाइएको छ: जुन प्रविधि न्यूयोर्कको स्ट्याचु अफ लिबर्टीको लागि प्रयोग गरिन्छ।

     

  • वरिष्ठ कलाकार शाक्यको निधन

    वरिष्ठ कलाकार शाक्यको निधन

    अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका हस्तकलाका वरिष्ठ कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको आज ५४ वर्षको उमेरमा निधन भएको छ ।
    उहाँ केही समय अगाडि कोरोना संक्रमित भइ औषोधोपचार पश्चात निको भइसकेको र केहीदिन अघि पुनः स्वास्थ्यमा खराबीका कारण अस्पताल भर्ना हुनुभएको थियो ।
    उहाँले भुटानमा ११५ फिटको पद्मसम्भव गुरुका मूर्ति स्थापना गर्ने कार्यमा प्रमुख भूमिका खेल्नुभएको थियो । जसको कारण भुटानी राजकीय सम्मान समेत उहाँले पाउनु भएको छ । उहाँले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि  पाउनु भएको थियो ।
    उहाँ वाइएमबिए धम्म स्कलरका दाता पनि हुनुहुन्छ ।
    उहाँको श्रीमति र दुइ छोरा हुनुहुन्छ ।

  • ८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु

    ८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु

    भक्तपुर, जेठ २२

    नेपालमा विगत २४ घण्टामा १६ हजार ८१४ नमुना परीक्षण गर्दा ५ हजार ४२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको र ८ हजार २४३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जनाएको छ ।
    नेपालमा पीसीआर परीक्षणबाट कुल संक्रमित संख्या पाँच लाख ८५ हजारभन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला छन । कुल संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु भएको छ । अहिलेसम्म कुल ७ हजार ७९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
    शनिवार काठमाण्डौं उपत्यकामा ९३७ जना संक्रमित थपिए, जसमध्ये काठमाण्डौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुर १४१ जना छन ।
    कुल ८६हजार २६८ सक्रिय संक्रमितमध्ये ६ हजार ६६० जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये १ हजार ४५१ आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा छन ।

     

  • नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

    नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

    भक्तपुर, जेठ २१
    नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    कुल २० हजार ८१३ नमुना परीक्षण गर्दा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये ६ हजार ६३१ एन्टिजेन परीक्षण हो जसबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
    नेपालमा कुल संक्रमित संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले ९७ हजार छ सय ९९ जनामा सक्रिय संक्रमित छन् । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला हुन् ।
    कुल संक्रमितमध्ये ८२ प्रतिशत निको भएका छन् भने मृत्यु हुनेको प्रतिशत कुल संक्रमितको १.३३ प्रतिशत रहेको छ । अहिलेसम्म कुल ७ हजार ७३१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ८०७ जना संस्थागत आइसोलेशनमा छन् । ती मध्ये १ हजार ४२२ आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
    शुक्रवार काठमाण्डौंमा ८९७, भक्तपुरका १८८ र ललितपुरमा २९९ जना गरी काठमाण्डौं उपत्यकामा १ हजार ३८४ जना संक्रमित थपिएका छन् ।
  • भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

    भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

    भक्तपुर, जेठ २१

    भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन ।
    यससँगै जिल्लामा कोरोना संक्रमित मध्ये १७ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो कुल संक्रमितको ८७ दशमलव ४० प्रतिशत हो । भक्तपुरमा बिहिवारसम्म २० हजार २५० जना संक्रमित भएका छन ।
    भक्तपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादर मिजारले बताउनुभयो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिकाका महिला छन । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट १७१ पुरुष र ९५ महिलाको मृत्यु भएको मिजारले बताउनुभयो ।