Category: विविध

  • कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने – स्वास्थ्य मन्त्रालय

    भक्तपुर, साउन ७
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज (बिहिवार) प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह समेत गरेको छ ।
    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहरको आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध छ ।’ तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शैया लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।
    विज्ञप्तीमा संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न नसकिरहेको उल्लेख गर्दै हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझी नबुझी, लुकिछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका माफदण्ड उलंघन भइरहेको जनाएको छ ।
    मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको जनाएको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या २०० भन्दा धेरै भएका जिल्लाको संख्या २६ पुगेको जनाएको छ ।

  • इनरह्वील क्लवको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

    इनरह्वील क्लवको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

    भक्तपुर, साउन ४
    वरिष्ठ गायिका तारा थापालाई अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरह्वील क्लव अफ मध्यपुरले सोमवार विशेष सम्मान गरेको छ । क्लवको छैटौं पदस्थापना समारोहमा गायिका थापालाई क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले सम्मान गरेको हो ।
    सो अवसरमा ३५० डिस्ट्रिक प्रमुख श्रेष्ठले क्लवले मध्यपुर थिमि नगरभित्रका महिलाहरुको स्वास्थ्य तथा बालबालिका क्षेत्रमा गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिनुपर्ने जोड दिनुभयो ।
    क्लवका अध्यक्ष डा. मञ्जेश्वरी उलकले क्लवका गतिविधिहरुको जानकारी दिँदैं क्लवका सहयोगीहरुलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा इनरह्वीलका राष्ट्रिय प्रतिनिधि सुनी जोशी, डिष्ट्रिक ३५० का सचिव सिमा झालगायतकाले क्लवका उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो ।इनरह्वील महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित क्लव हो ।
    सो अवसरमा क्लवको नयाँ कार्यसमिति समेत चयन भएको थियो । क्लवको बर्ष २०२१–२२ का लागि विद्यालक्ष्मी ध्याकोको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ । त्यस्तै सरस्वती राना थापा उपाध्यक्ष, सरिता लामा सचिव, अनिता प्रजापति कोषाध्यक्ष र कार्यकारी सदस्यहरुमा संस्थापक अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापति, पूर्वअध्यक्षद्वय लक्ष्मीकेशरी श्रेष्ठ, रुपा श्रेष्ठ र अमरदेवी कोजुलगायत चयन भएका छन । त्यसैगरी निवर्तमान अध्यक्ष डा. उलक आई.एस.ओ. अमृता रंजित, सम्पादक रोशनी दली चुनिएका छन ।

  • मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड

    मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड

    भक्तपुर असार ३१
    भक्तपुरमा मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहिवार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षामा सहभागीहरुले स्थानीय तह, प्रहरी, मानवअधिकारवादी संघ संस्था, नागरिक समाज, नागरिक अधिकारकर्मी र सञ्चारकर्मीसहितको कार्यशालाबाट एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिएको हो ।
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवअधिकारको रक्षा र अपराधका घटना हुन नदिन सबै स्थानीय सरकार र सरोकारवाला एकजुट हुनुुपर्ने औल्याउनुभयो । नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहनु भएका उपप्रमुख बस्नेतले जिल्लालाई अपराध मुक्त बनाउन नागरिक समाजबीच समन्वयतात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
    उहाँले नगरपालिकामा आउने उजुरी मध्ये महिला हिंसा, घरेलु हिंसाको मुद्दा २० प्रतिशतमात्रै आउने र अरु साँध सिमाना विवादका मुद्दा आउने गरेको जानकारी दिनुभयो । नगरपालिकाको न्यायिक समितिले असार मसान्तसम्म १५८ वटा मुद्दा छिनोफानो गरेको र सम्बन्ध बिच्छेदका मिलाउन नसकेका मुद्दा अदालत पठाएको बताउनुभयो ।
    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले अपराधका घटना न्यूनिकरण भए मात्रै मानवअधिकार सवल बन्ने बताउनुभयो । उहाँले समाजलाई अपराध मुक्त बनाउन प्रहरी एक्लैले नसक्ने बताउँदैं त्यसका लागि सबै क्षेत्रको साथ सहयोग र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
    अपराधलाई न्यूनिकरण गर्दै मानवअधिकारलाई बलियो बनाउन एकिकृत योजना बनाएर जानुपर्नेमा सहमत जनाउनुभयो । उहाँले लागू पदार्थ दुव्र्यसनी र मदिरा सेवन आफैंमा अपराध भएपनि यी गतिविधि धेरै अपराधका घटनाका कारक तत्वको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
    इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका महिला शाखा प्रमुख निला घिमिरे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, गैसस भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले मानवअधिकारको रक्षाको लागि सबैले प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा इन्सेकले भक्तपुरमा विगत ६ महिनामा घटेका विभिन्न अपराधका घटनाहरुको विवरण समेत सार्वजनिक गरिएको थियो । सो अनुसार भक्तपुरमा ६ महिनाको अवधिमा बालिका, किशोरी र महिला गरी २० जना बलात्कारको घटनाबाट पीडित भएका छन् । त्यस्तै गैर राज्यपक्षबाट तीन जनाको हत्या भएको र पाँच जनाको हत्या प्रयास भएको छ ।
    बलात्कार प्रयासका घट्नाबाट २ जना, बालयौन दुव्र्यबहारबाट ७ जना र बहुविवाहका घटनामा ५ जना महिला पीडित भएका छन् । समिक्षा अवधिमा मानव बेचबिखनबाट ३ जना, मानव बेचबिखनसहित बलात्कारबाट १ जना किशोरी, ठगी गरि भएको बलात्कारबाट १ जना, अपहरण गरि बलात्कारबाट १ किशोरी पीडित भएका हुन् ।
    अभद्र व्यवहारबाट ७७ जना पीडित भएको इन्सेकको तथ्याँकमा उल्लेख गरिएको छ । घरेलु हिंसाबाट १२ जना पिडित महिलाको उजुरी परेकोमा पाँच जनाको मिलापत्र भएको र ७ जनाको कारवाही प्रक्रिया चलिरहेको इन्सेकले जनाएको छ ।
    त्यसैगरी आत्महत्या दुरुत्साहनमा २ जना, सार्वजनिक स्थलमा महिलाहरुलाई दुव्र्यवहार गरी यौनाङ्ग देखाउने एक जना, अप्राकृतिक मैथुन गराई हिंसा गर्ने एक जनालाई कारवाही गरिएको छ । विष सेवनबाट १० र झुन्डिएर १७ जनाको ज्यान गएको छ । विगत ६ महिनामा बालबालिका, महिला, पुरुष गरि २१८ जना हराएकोमा १५८ मात्रै भेटिएको र २३ जना बेवारिसे भेटिएको बताइएको छ ।

  • अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

    अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

    भक्तपुर, असार २८
    अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाण्डौं आई पुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको हो । खोप लिएर कतार एअरवेजको जहाज काठमाण्डौं आई पुगेको हो ।
    खोप नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    जोन्सनको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ । यो खोप कुन उमेर समूहका लाई दिने भन्ने बारे मन्त्रालयले निर्णय गरिसकेको छैन ।

  • सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

    सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

    भक्तपुर, असार २६
    सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने र आर्थिक समृद्धि तथा आत्मनिर्भरतर्फ उन्मुख हुने बताईएको छ ।
    राष्ट्रिय सञ्चार केन्द्रले शनिवार आयोजित सूर्यविनायक नगरपालिकाको पर्यटन विकास, सेवा प्रवाह र सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रियामा सहभागीहरुले पर्यटनको विकासका लागि ठोस योजना र रणनीति निर्माण गर्न समेत सुझाव दिए ।
    सूर्यविनायक नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले ऐतिहासिक रानीकोट गढीको संरक्षण, नीजि क्षेत्रको सहकार्यमा जीपलाईन सञ्चालन, धार्मिक पर्यटनको लागि शिव सर्किटको गुरुयोजना निर्माणलगायतका कार्य भएको जानकारी दिँदैं भविष्यमा नगरको मुख्य आयस्रोतको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।
    उहाँले जनप्रतिनिधिको रुपमा ४ वर्षमा नगरको पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दावी गर्नुभयो । उहाँले नगरपालिकाको योजनाहरु ९५ प्रतिशत सम्पन्न भएको र कोभिडका कारण केही बाँकी भएको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारका योजना ढिलोगरी सञ्चालन हुने परिपाटीले नगरपालिकाले असारे विकासको गुनासो सुन्नु परेको दुःखेसो समेत पोख्नु भयो । उहाँले भन्नुभयो, ‘नगरका योजना समयमा सम्पन्न भएका छन । असारे विकास गर्ने हाम्रो उद्देश्य छैन । तर केन्द्र र प्रदेश सरकारको योजनाले जनतामा असारे विकासको सन्देश गएको छ । यसको दोष नगरपालिकाले खेप्नुपरेको छ ।’
    सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले नगरपालिकाले महिला, बालबालिका, दलित तथा उत्पिडनमा परेका र ज्येष्ठ नागरिकको हितमा उल्लेख्य कार्य गरेको चर्चा गर्दै भक्तपुर नगरको अवलोकनका लागि आउने पर्यटनलाई सूर्यविनायक पनि आउने वातावरण बनाउने नगरपालिका लागि परेको बताउनुभयो ।
    कार्यक्रममा वडा नं. ८ का अध्यक्ष किरण थापाले नगरका ११ वटा प्रमुख शिवमन्दिरलाई समावेश गरी शिव सर्किटको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको, पर्यटनको विकासका लागि आवश्यक पुर्वाधारहरुको विकास गरिएको, सूर्यविनायकमा निर्माणाधिन प्राणी उद्यान, सिपाडोलमा नीजि क्षेत्रले विकास गरेको विकसित घडेरीसहितको प्लानिङलगायतले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गर्नुभयो । उहाँले नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यविधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । नगरपालिकाले हालसम्म १ करोड भन्दा माथिका ४४ वटा, ३० लाख भन्दा माथिका ८२ वटा र ५ लाखदेखि माथिका ७८६ वटा गरी जम्मा ९१२ वटा आयोजना सम्पन्न हुने अवस्थामा रहेको केसीले जानकारी दिनुभयो ।
    कार्यक्रममा गोरखापत्र दैनिकका सम्पादक जुनार बस्नेतले सूर्यविनायक नगरपालिकाको पर्यटनको सम्भावनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नगरपालिकाले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्नेमा जोड दिनुभयो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले पत्रकारहरुले पनि आफ्नो भूमिकाको बारेमा सिंहालोकन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार समाजका ऐना भएको चर्चा गर्दै पत्रकारले गर्ने गतिविधिले समाजलाई परिवर्तनको दिशामा अग्रसर बनाउनुपर्ने बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगत प्रजापतिले पर्यटनसँग स्थानीय उत्पादनलाई जोड्न सके नगरभित्र रोजगारी सृजना हुने, स्थानीय उत्पादनमा बृद्धि हुने र नगर आर्थिकरुपमा समृद्ध हुने बताउनुभयो । उहाँले यहाँको पर्यटनको विकासका लागि होटल व्यवसायीहरुसँगको साझेदारीमा विभिन्न प्याकेज कार्यक्रम बनाउनु पर्ने सुझाव दिनुभयो ।
    केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकी, सचिव संजीप घिमिरे, सहसचिव हेमराज ढकाल, पत्रकारहरु हरिसुन्दर छुंका, लोकेन्द्र भट्ट, सुदर्शन अर्याललगायतले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

  • नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने

    नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने

    भक्तपुर, असार २६
    अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले शुक्रवार ट्विटर र दुतावासको आधिकारिक फेसबुक मार्फत सो जानकारी दिएको हो ।
    आउँदा केही दिनमा अमेरिकाले १५ लाख भन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैंछ, राजदुत बेरीले भनेका छन, नेपाल अमेरिका साझेदारी ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

  • उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

    उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

    भक्तपुर, असार २१
    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
    नयाँ व्यवस्था अनुसार मंगलवारबाट नीजि तथा सवारी साधन सञ्चालनमा लगाएको जोर बिजोर प्रणाली खारेज गरिएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु चढाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।
    यात्रुहरुले अनिर्वाय मास्क लगाउनुपर्ने, मास्क नलगाएका यात्रुलाई चढाउन नपाईने, चालक र सहचालकले अनिर्वाय मास्क, पञ्जा र भाइजर लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिर्वायरुपमा सवारी साधन दैनिकरुपमा निसंक्रमित गर्नुपर्ने व्यवस्था गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जारी सूचनामा उल्लेख गरिएको छ ।
    त्यसैगरी स्थानीय ढुवानी बिहान ९ बजेदेखी ११ बजेसम्म र बेलुकी ४ बजेदेखी ७ बजेसम्म सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक कामको लागि काठमाण्डौं उपत्यका प्रवेश गर्नेहरुको हकमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा लामो, मध्यम तथा छोटो दुरीका नीजि र सार्वजनिक सवारी साधनहरु प्रवेश गर्ने दिनेभएको छ ।
    औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने र अन्य पसलहरुको हकमा भने साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा एक पटकमा बढीमा २५ जना सहभागी गराउने र पहिलो समूह परीक्षा हलबाट पुर्णरुपमा बाहिर गएपछि मात्र अर्को समूह भित्र प्रवेश गर्ने गरी तालिका मिलाउनु पर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जारी सूचनामा उल्लेख छ ।
    होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । गोष्ठी, सेमिनार, तालिम, बैठक सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितीमा गर्नुपर्ने भए बढीमा २५ जना सहभागी हुने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    आदेशमा सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, शैक्षिक संघ संस्था, डान्सबार, दोहरी, नाचघर, क्लव, पौडी पोखरी, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।
    त्यस्तै खुल्ला स्थानमा मानिस भेला भई सभा सम्मेलन, जुलुश, भोजभतेर, जात्रा, महोत्सव गर्न पनि निषेध गरिएको छ । विवाह तथा व्रतबन्ध जस्ता सामुहिक कार्य पार्टी प्यालेसमा गर्न, पुजारीबाट हुने नित्यपुजा बाहेक धार्मिक गतिविधि गर्न निषेध गरिएको छ ।

  • धादिङ जवाङ खोला पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु

    धादिङ जवाङ खोला पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु

    भक्तपुर, असार १९
    धादिङको जवाङ खोलामा आएको पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी छन ।
    प्रजा सोही ट्रकमा मृत फेला परेका थिए भने सोनीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा आएको पहिरोले बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पी एन २८ ए ए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

  • डेढ करोड ठगी गरेको अभियोगमा २१ वर्षिय युवक पक्राउ

    डेढ करोड ठगी गरेको अभियोगमा २१ वर्षिय युवक पक्राउ

    भक्तपुर, असार १८
    महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कामदार भिसामा क्यानडा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा काभ्रे पाँचखाल–४ तामाघाट घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई काभ्रेको बनेपा नगरपालिका–२ दाहाल गाउँबाट बिहिवार पक्राउ गरिएको महाशाखाको प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
    अधिकारीले कामदार भिसामा क्यानडा पठाएर राम्रो कम्पनीमा काम लगाई दिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई फरार भएको प्रहरीको आरोप छ ।
    अनुसन्धानको क्रममा अधिकारीले यमुना बस्नेतसहित अन्य व्यक्तिहरुसँग समेत गरी करिव एक करोड ५० लाख ठगी गरेको खुल्न आएको एसपी कोइरालाले बताउनुभयो । उहाँका अनुसार अधिकारीबाट ठगिनेहरु सम्पर्कमा आउने क्रम जारी रहेको छ ।
    अधिकारीलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर काठमाण्डौं पठाएको एसपी कोइरालाले बताउनुभयो ।

  • बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न

    बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न

    भक्तपुर, असार १७
    बागमति प्रदेश सरकारको विकास निर्माणका योजना अन्तर्गत मध्यपुर थिमिमा विभिन्न योजनाहरु सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा रहेको छ । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माण कार्य अन्तर्गत मध्यपुर थिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पा मार्गको सुधार कार्य सम्पन्न भएको छ ।
    बागमति प्रदेश सशर्त अनुदान कार्यक्रम अन्तर्गत २५ लाख रुपैंयाको लागतमा बाटो ढलान गर्ने कार्य सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदिप जामन श्रेष्ठले जानकारी दिनुभयो ।
    त्यसैगरी मध्यपुर थिमि–२ को टि.आई.टि.आई. बाट वडा कार्यालय जाने १० मीटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याउने कार्य सम्पन्न भएको छ । करिव ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब ७ लाख रुपैंया संकलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताउनुभयो । उहाँले सो बाटोमा नगरस्तरीय बजेट मार्फत आगामी वर्ष कालोपत्रे गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
    बागमति प्रदेशको सशर्त अनुदान कार्यक्रम अन्तर्गत नै मध्यपुर थिमि–१, लोकन्थलीका विभिन्न भित्रि बाटोहरुमा ढुंगा छाप्ने कार्य सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री ३ फिटदेखी ८ फिट चौडाका बाटोहरुमा करिव २५ लाखको लागतमा ढुंगा छाप्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरी प्रजापतिले जानकारी दिनुभयो । गतवर्ष सो क्षेत्रका बाटोमा ढुंगा छाप्ने कार्य भएको थियो । ढुंगा छपाई कार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीय रोशनभक्त श्रेष्ठले बताउनुभयो ।
    बागमति प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुर थिमि नगरक्षेत्र भित्र एकदर्जन बढि ठाउ“मा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अति विपन्न आवाश निर्माणदेखि नारायण विलाश जोशी स्मृति भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
    प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रम अन्तर्गत मध्यपुर थिमिमा निर्माण भइरहेका अति विपन्न आवास कार्यक्रम अन्तर्गत ४ वटा १ तले घरको समेत निर्माण सम्पन्न भएको डा. श्रेष्ठले बताउनुभयो ।